हामी कसरी सद्गुण खेती गर्नसक्छौं
आधुनिक शब्दकोशहरूले “सद्गुणलाई” “नैतिक श्रेष्ठता; भलाइ” भनेर परिभाषित गर्छन्। त्यो “ठीक काम र सोचाइ; नैतिक चरित्रको भलाइ” हो। कोशकार मार्भिन आर. भिन्सेन्टले “सद्गुण” भनेर अनुवाद गरिएको युनानी शब्दको मूल साहित्यिक अर्थले “कुनै पनि प्रकारको श्रेष्ठतालाई” बुझाउँछ भन्छन्। त्यसकारण, चतुऱ्याइँ, साहस, आत्म-अनुशासन, निष्पक्षता, अनुकम्पा, लगनशीलता, इमानदारी, विनम्रता वफादारी जस्ता गुणलाई बेला बेलामा सद्गुण भनेर प्रशंसा गरिनुमा छक्क पर्नुपर्ने कुनै कारण छैन। सद्गुणलाई “सही स्तरअनुरूप चल्नु” भनेर पनि परिभाषित गरिएको छ।
हामीले कसको स्तरअनुसार श्रेष्ठता, भलाइ र सही स्तर निर्धारित गर्नुपर्ने हो? न्युजवीक पत्रिका भन्छ, “नैतिक दर्शनशास्त्रका अग्रजहरूअनुसार तर्कवादद्वारा प्रतिपादित सन्देहवादले सही र गलतसम्बन्धी सम्पूर्ण विचारलाई व्यक्तिगत छनौट, भावनात्मक छनौट वा सांस्कृतिक छनौटका सिमानाभित्र सीमित गरेको छ।” तर के सही वा गलत छुट्याउने सन्तोषप्रद तरिका व्यक्तिगत रुचि वा छनौट नै हो त? होइन। सद्गुण खेती गर्न हामीलाई सही र गलत छुट्याउने भरपर्दो स्तर चाहिन्छ। हो, काम, मनोवृत्ति वा गुण सही हुन् वा गलत, छुट्याउन सकिने स्तर चाहिन्छ।
नैतिक स्तरको एक मात्र साँचो स्रोत
नैतिक स्तरको एउटै मात्र साँचो स्रोत छ र त्यो स्रोत मानिसजातिको सृष्टिकर्ता यहोवा हुनुहुन्छ। पहिलो पुरुष आदम सृष्टि गरिसक्नुभएपछि यहोवाले मानिसलाई यो आदेश दिनुभएको थियो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् त्यसै दिन तँ मर्नेछस्।” (उत्पत्ति २:१६, १७) आफ्नो सृष्टिका लागि सही र गलत निर्णय गर्ने हक उहाँसित मात्र छ भनेर जनाउन यहोवा परमेश्वरले उक्त रूखलाई त्यो विशेष नाउँ दिनुभएको थियो। यसरी सही र गलतसम्बन्धी परमेश्वरको स्तर नै न्याय गर्ने अर्थात् व्यक्तिविशेषको कार्य, दृष्टिकोण र व्यक्तिगत स्वभावको मूल्यांकन गर्ने आधार हुनगयो। यस्ता स्तरहरूबिना हामी सही र गलतबीचको भिन्नता ठीकसँग छुट्याउन सक्दैनौं।
असल र खराबको ज्ञान दिने रूखसम्बन्धी आदेशले आदम र हव्वासामु एउटा छनौट राखेको थियो र त्यो थियो, आज्ञा पालन गर्ने वा नगर्ने। तिनीहरूका लागि त्यो आदेश पालन गर्नु नै सद्गुण थियो। समय बित्दै जाँदा यहोवाले आफूलाई प्रसन्न अनि अप्रसन्न तुल्याउने कुराहरू व्यक्त गर्नुभयो र यी सबै उहाँले हाम्रोनिम्ति बाइबलमा लिपिबद्ध गराउन लगाउनुभयो। यसरी, सद्गुण खेती गर्नुमा धर्मशास्त्रमा लिपिबद्ध यहोवाका धार्मिक स्तरहरूअनुरूप चल्नु समावेश छ।
परमेश्वरका स्तरहरूसित पूर्णतया परिचित हुनुहोस्
यहोवा परमेश्वरले सही र गलतको स्तर निर्धारण गर्नुका साथै बाइबलमा प्रकट गरिसक्नुभएको हुँदा के हामी ती स्तरहरूसित परिचित हुनुपर्दैन र? प्रेरित पावलले लेखे: “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र . . . सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्।”—२ तिमोथी ३:१६, १७.
उदाहरणका लागि, अघिल्लो लेखमा वर्णन गरिएका कुनिहितोले आफ्नो संस्कृतिअनुसार विनम्रता व्यक्त गर्दा सामना गर्नुपरेको अप्ठ्यारो परिस्थितिलाई विचार गर्नुहोस्। धर्मशास्त्रमा उल्लिखित स्तरहरूलाई नियालेर हेरेपछि तिनी सन्तुलित हुनसके। निस्सन्देह, बाइबलले विनम्र हुन प्रोत्साहित गर्छ तर अति विश्वस्त र अहंकारी नहुने सल्लाह पनि दिन्छ। (हितोपदेश ११:२; मीका ६:८) पावलले ‘निरीक्षक’ हुन चाहिने योग्यताहरूबारे बताउँदा ‘काम गर्न खोज्नु’ अर्थात् उक्त विशेषाधिकार हासिल गर्न खोज्नु भनेर बताएका थिए। (१ तिमोथी ३:१) यसरी ‘काम गर्न खोज्दा’ घमण्डी वा अहंकारी त हुनुहुँदैन तर आफूलाई अनावश्यक तरिकामा होच्याउने पनि गर्नु हुँदैन।
बाइबलले व्यापारिक लेनदेन हुने क्षेत्रमा देखाउनुपर्ने नैतिक श्रेष्ठताबारे के भन्छ? शंकास्पद काम गर्नु वा सरकारी नीतिनियम र कर तिर्ने जस्ता कुराहरूलाई छलेर रातारात धनी हुन खोज्नु आजकाल व्यापारजगत्मा साधारण कुरा भइसक्यो। अरूले जे सुकै गरोस् तर बाइबलको स्तरअनुसार हामीले “सबै कुरामा इमान्दारी” देखाउनुपर्छ। (हिब्रू १३:१८) अतः इमानदार भएर तथा मालिक, कामदार, क्रेता अनि सरकारी कर्मचारी आदिसित समान व्यवहार गरेर हामी सद्गुण खेती गर्छौं। (व्यवस्था २५:१३-१६; रोमी १३:१; तीतस २:९, १०) इमानदारीले पक्कै पनि भरोसा र अरूसितको राम्रो सम्बन्ध विकास गर्छ। अनि कुनै पनि सम्झौताहरू लिखित रूपमा राखिएका छन् भने “समय र अवसरले” गर्दा हुनसक्ने झन्झटलाई अक्सर पन्छाउन सकिन्छ।—उपदेशक ९:११; याकूब ४:१३, १४.
हामीले सद्गुण खेती गर्नुपर्ने अर्को क्षेत्र पहिरन तथा श्रृंगार हो। संस्कृतिअनुसार लुगा लगाउने तरिका फरक फरक हुन्छन् भने नयाँ नयाँ फेसनअनुसार चल्नैपर्ने दबाउ पनि तीव्र हुनसक्छ। तर हरेक नयाँ चलन वा नयाँ फेसनको पछि दगुर्नुपर्छ नै भन्ने छ र? बाइबल हामीलाई “संसारसित एकै चालका नहोओ” भनेर सल्लाह दिन्छ। (रोमी १२:२) नियमहरू तयार पार्नुको साटो प्रेरित पावलले प्रेरणाद्वारा यसो लेखे: “त्यही किसिमले स्त्रीहरू साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्। कपाल सिंगारेर बाटेको, सुन, मोती र बहुमूल्य लुगाहरूले ता होइन। तर असल कामहरूद्वारा (जो भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ)।” (१ तिमोथी २:९, १०) यो आधारभूत स्तर स्त्री तथा पुरुष दुवैलाई लागू हुन्छ। संस्कृति वा व्यक्तिगत रुचिअनुसार किसिम किसिमका पहिरन लगाउनै नहुने चाहिं होइन।
परमेश्वरले सरासर भर्त्सना गर्नुहुने अनैतिक कामकुराबारे पनि बाइबलले प्रस्ट पारेको छ। पहिलो कोरिन्थी ६:९, १० मा हामी यस्तो चेताउनी पाउँछौं: “अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाह छैन? न ठगियौ। व्यभिचारीहरू, मूर्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछैन।” यो शास्त्रपदले सुरुमा उल्लेख गरिएकी मारियालाई सृष्टिकर्ताले तोक्नुभएको नैतिक श्रेष्ठताको स्तरअनुसार ह्वानसितको तिनको सम्बन्ध गलत रहेछ र परमेश्वरको अनुमोदन पाउने हो भने यस सम्बन्ध तोड्नैपर्छ भनेर बुझ्न मदत गऱ्यो। स्पष्ट छ, सद्गुण खेती गर्न हामी यहोवाका स्तरहरूसित राम्ररी परिचित हुनु आवश्यक छ।
हृदयबाटै सिक्नुहोस्
गलत कुरा अस्वीकार गर्नु मात्र सद्गुण होइन। यसमा नैतिक शक्ति पनि समावेश छ। सद्गुणी व्यक्ति उपकारी हुन्छ। एक प्राध्यापकअनुसार “सद्गुण मन तथा मस्तिष्कबाट सिक्नु आवश्यक छ।” अतः सद्गुण खेती गर्न परमेश्वरको वचनसित अभ्यस्त भएर मात्र पुग्दैन। हामीले लिपिबद्ध गरिएका कुराहरू मनन गर्नु जरुरी छ किनकि यसो गर्दा हाम्रो हृदय यहोवाप्रतिको कृतज्ञताले ओतप्रोत हुनेछ र हामी आफ्नो जीवनमा धर्मशास्त्रीय सिद्धान्तहरू प्रयोग गर्न उत्प्रेरित हुनेछौं।
भजनरचयिताले यस्तो उद्गार व्यक्त गरे: “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।” (भजन ११९:९७) अनि राजा दाऊदले लेखे: “म उहिले उहिलेका दिनहरू सम्झन्छु। म [परमेश्वरका] सारा कार्यहरूमा ध्यान लगाउँछु। म तपाईंका हातको काममा विचार गर्छु।” (भजन १४३:५) हामीले पनि, बाइबल तथा बाइबल आधारित प्रकाशनहरू अध्ययन गर्दा प्रार्थनापूर्वक गरिने मननलाई यसको अनिवार्य भाग बनाउनुपर्छ।
हो, लगनशील अध्ययन र त्यसपछि मनन गर्न समय निकाल्नु चुनौती नै हुनसक्छ। तर सद्गुण खोज्ने हो भने हामीले अन्य गतिविधिबाट पनि समय निकाल्नैपर्छ। (एफिसी ५:१५, १६) चौबीस वर्षका एरन हरेक बिहान ३० मिनेट छिटो उठेर समय निकाल्ने गर्छन्। तिनी यसो भन्छन्: “सुरुमा त म आधा घण्टासम्म सरसरती बाइबल मात्र पढ्ने गर्थें। हालै मात्र मैले मनन गर्नुपर्ने आवश्यकता बुझें। त्यसकारण, अहिले म आधा घण्टामा करिब १५ मिनेट जति भर्खरै पढेको कुरा मनन गर्छु। यसो गर्नु वास्तवमा इनामदायी साबित भएको छ।” मनन अन्य समयमा पनि गर्न सकिन्छ। “रातको पहर पहरमा तपाईंको ध्यान” गर्छु भन्दै दाऊदले यहोवाको निम्ति सुरिलो स्वरमा गाए। (भजन ६३:६) अनि बाइबल यसो भन्छ: “इसहाक साँझपख ध्यान गर्न खेतमा निस्केका थिए।”—उत्पत्ति २४:६३.
सद्गुण खेती गर्न मनन अत्यावश्यक छ किनकि यसो गर्दा हामीले पनि यहोवाले जस्तै महसुस गर्ने अनि उहाँकै जस्तो दृष्टिकोण राख्ने मदत पाउँछौं। उदाहरणका लागि, परमेश्वरले व्यभिचारलाई मनाही गर्नुभएको छ भनेर मारियालाई थाह थियो। तर ‘जुन कुरा खराब छ, त्यसलाई घृणा गरेर जुन कुरा असल छ, त्यसमा लागिरहन’ तिनले बाइबलका मूल शास्त्रपदहरूमाथि मनन गर्नु आवश्यक थियो। (रोमी १२:९) ‘व्यभिचार, अशुद्धपना उद्वेग, खराब इच्छा र लोभको सम्बन्धमा आफ्ना अंगहरूलाई आत्मसंयमद्वारा वशमा पार भन्ने कलस्सी ३:५ पढिसकेपछि तिनलाई आवश्यक परिवर्तन गर्न मदत मिल्यो। मारियाले आफैलाई यस्तो प्रश्न गर्नुपरेको थियो: ‘मैले कस्तो यौन आकांक्षालाई वशमा राख्नैपर्छ? अशुद्ध इच्छाहरू उत्पन्न गर्ने के कस्ता कुराहरूलाई मैले छोड्नुपर्छ? विपरीत लिंगका व्यक्तिहरूसितको मेरो व्यवहारमा केही परिवर्तन गर्नु आवश्यक छ कि?’
मनन गर्नुमा कुनै पनि कामको परिणाम विचार गर्नु समावेश छ। पावलले मसीहीहरूलाई व्यभिचारबाट अलग रहनू अनि ‘कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी नगर्न’ आत्मसंयम धारण गर्नू भनेर आग्रह गरे। (१ थिस्सलोनिकी ४:३-७) विचार गर्नुपर्ने राम्रा प्रश्नहरू यसप्रकार छन्: ‘मैले यस्तो काम गर्दा आफू, आफ्नो परिवार वा अरूलाई कस्तो हानि पुग्नेछ? मलाई आध्यात्मिक, भावनात्मक तथा शारीरिक तवरमा कस्तो असर पर्ला? विगतमा परमेश्वरको व्यवस्था उल्लंघन गर्नेहरूले कस्तो परिणाम भोग्नुपऱ्यो?’ यसरी मनन गर्दा मारिया अझ बलियो भइन् र हामीले पनि त्यसै गऱ्यौं भने बलियो हुनसक्छौं।
उदाहरणद्वारा सिक्नुहोस्
के सद्गुण कक्षा कोठामा सिकाउन सकिन्छ? शतकौंदेखि थुप्रै विचारणीय व्यक्तिहरूलाई ताजुब पारेका प्रश्नहरूमध्ये यो एक हो। युनानी दार्शनिक प्लेटोले सकिन्छ भनेर सोचेका थिए। अर्कोतिर अरस्तुले अभ्यास गरेर सद्गुण प्राप्त गर्न सकिन्छ भन्ने तर्क गरेका थिए। एक पत्रकारले यो विवादको सार यसप्रकार प्रस्तुत गरे: “छोटकरीमा भन्ने हो भने, सद्गुणको आचारसंहिता एक्लै सिक्न सकिन्न। न त यो पाठ्यपुस्तकबाटै सिकाउन सकिन्छ। असल चरित्र त सद्गुणलाई प्रोत्साहन तथा इनाम दिने समाजमा बसेर सिकिन्छ।” तर हामी साँच्चै सद्गुणी व्यक्तिहरू कहाँ पाउनसक्छौं? थुप्रै संस्कृतिले कमसे कम आफ्ना पौराणिक कथा तथा काल्पनिक पात्रहरूद्वारा मात्र भए पनि सद्गुणीका केही उदाहरणहरू दिएका छन् तर बाइबलमा भने यस्ता थुप्रै सत्य उदाहरण पाइन्छन्।
सद्गुणीको बेजोड उदाहरण त स्वयम् यहोवा हुनुहुन्छ। उहाँ सधैं सद्गुणी व्यवहार गर्नुहुन्छ र उहाँ धार्मिक अनि असल कार्य गर्नुहुन्छ। “परमेश्वरका देखा-सिकी गर्ने” भएर हामी सद्गुण खेती गर्नसक्छौं। (एफिसी ५:१) अनि परमेश्वरका पुत्र येशू ख्रीष्टले हामीलाई ‘उहाँको पाइलामा टेकेर हिंड्नलाई एक उदाहरण दिनुभयो।’ (१ पत्रुस २:२१) यसबाहेक, बाइबलमा अब्राहाम, सारा, युसूफ, रूथ, अय्यूब अनि दानियल र तिनका तीन मित्रलगायत थुप्रै विश्वासी व्यक्तिको विवरण पाइन्छन्। यस्तै प्रकारले यहोवाका वर्तमान सेवकहरूको सद्गुणी उदाहरणहरूलाई पनि बिर्सन सकिन्न।
हामी सफल हुनसक्छौं
परमेश्वरको नजरमा जे सद्गुणी छ, त्यो गर्न के हामी साँच्चै सफल हुनसक्छौं? वंशाणुगत असिद्धता भएकोले कहिलेकाहीं हामीभित्र मन र तनको अर्थात् सद्गुणी काम गर्ने चाहना र पापी झुकाउहरूबीच घमासान युद्ध चल्नसक्छ। (रोमी ५:१२; ७:१३-२३) तर परमेश्वरको मदतद्वारा यो युद्ध जित्न सकिन्छ। (रोमी ७:२४, २५) यहोवाले उहाँको वचन तथा बाइबल आधारित प्रकाशनहरू उपलब्ध गराउनुभएको छ। लगनशील भई धर्मशास्त्र अध्ययन गर्दा र प्रार्थनापूर्वक तिनमा मनन गर्दा हामी हृदयमा शुद्ध हुनसक्छौं। यस्तो शुद्ध हृदयबाट सद्गुणी विचार, शब्द र क्रियाकलाप निस्कन्छन्। (लूका ६:४५) यहोवा परमेश्वर अनि येशू ख्रीष्टको उदाहरण हेरेर हामी ईश्वरीय व्यक्तित्व विकास गर्नसक्छौं। अनि आज विश्वासी भई परमेश्वरको सेवा गर्ने व्यक्तिहरूबाट पनि हामी पक्कै थुप्रै कुरा सिक्नसक्छौं।
प्रेरित पावलले आफ्ना पाठकहरूलाई सद्गुण र अन्य प्रशंसनीय कुराहरूमा “विचार गर” भन्ने आग्रह गरेका थिए। यसो गर्दा पक्कै परमेश्वरको आशिष् पाइन्छ। (फिलिप्पी ४:८, ९) यहोवाको मदत पाएर हामी सद्गुण खेती गर्न सफल हुनसक्छौं।
[पृष्ठ ६-मा भएको चित्र]
आफ्नो बाइबल अध्ययनमा मननलाई पनि समावेश गर्नुहोस्
[पृष्ठ ७-मा भएको चित्र]
ख्रीष्ट येशूको अनुकरण गर्दै ईश्वरीय व्यक्तित्व विकास गर्नुहोस्