कोमल अनुकम्पापूर्ण हुनुहोस्
“सहानुभूतिको [अनुकम्पा, न्युव] हृदय, दया . . . धारण गर।”—कलस्सी ३:१२.
मानिसलाई यति धेरै अनुकम्पापूर्ण डोहोऱ्याइको आवश्यकता पहिला कहिल्यै परेको थिएन। बिमारी, भोकमरी, बेरोजगार, अपराध, युद्धहरू, अराजकता र प्राकृतिक प्रकोपहरूको कारण लाखौंलाई मदत चाहिन्छ। तर त्योभन्दा गम्भीर समस्या छ। त्यो हो, मानवजातिको दयनीय आध्यात्मिक दुर्दशा। आफ्नो अल्प समय थाहा हुने शैतानले ‘सारा संसारलाई ठगिरहेको छ।’ (प्रकाश १२:९, १२) यसर्थ, साँचो मसीही मण्डली बाहिरकाहरू विशेषगरि जीवन गुमाउने खतरामा छन् र परमेश्वरको आउँदै गरेको न्यायको दिनमा नाश हुने कसैलाई पनि पुनरुत्थानको आशा बाइबलले दिंदैन।—मत्ती २५:३१-३३, ४१, ४६; २ थिस्सलोनिकी १:६-९.
२ यद्यपि, अन्तिम दिनको यस आखिरी घडीसम्म पनि यहोवा परमेश्वरले कृतघ्न र दुष्टहरूप्रति धीरज अनि अनुकम्पा देखाइ नै रहनुभएको छ। (मत्ती ५:४५; लूका ६:३५, ३६) यही कारणले गर्दा उहाँले अविश्वासी राष्ट्र, इस्राएललाई दण्ड दिन ढिला गर्नुभएको थियो। सार्वभौम प्रभु यहोवाको यो वाणी छ: “दुष्टको मृत्यु म चाहन्नँ, बरू दुष्ट मानिसले आफ्नो चाल त्यागेर जिओस् भन्ने म चाहन्छु। आफ्नो दुष्ट चाल त्याग, ती त्यागिहाल। हे इस्राएली हो, तिमीहरू किन मर्छौ?”—इजकिएल ३३:११.
३ दुष्ट निनवेबासीहरूलाई पनि यहोवाले अनुकम्पा देखाउनुभयो। आउँदै गरेको विनाशबारे तिनीहरूलाई चेताउनी दिन यहोवाले आफ्नो अगमवक्ता योनालाई पठाउनुभयो। योनाको प्रचारप्रति तिनीहरूले सकारात्मक प्रतिक्रिया देखाएर पश्चात्ताप गरे। यसले गर्दा त्यतिखेर त्यस शहरलाई नाश गर्न अनुकम्पापूर्ण परमेश्वर, यहोवा पछि हट्नुभयो। (योना ३:१०; ४:११) पुनरुत्थान हुने सम्भावना भएका निनवेबासीहरूतर्फ त परमेश्वरले दया देखा- उनुभयो भने अहिले अनन्त विनाश सामना गर्ने मानिसहरूतर्फ उहाँ कतिको अनुकम्पा महसुस गर्नुहुन्छ होला!—लूका ११:३२.
अनुकम्पाको अपूर्व कार्य
४ आफ्नो अनुकम्पापूर्ण व्यक्तित्वअनुरूप यहोवाले आफ्ना साक्षीहरूलाई “राज्यको सुसमाचार” लिएर तिनीहरूका छिमेकीहरूकहाँ गइरहने आज्ञा दिनुभएको छ। (मत्ती २४:१४) यस जीवनरक्षक कामप्रति मानिसहरूले मूल्याङ्कनसहित प्रत्युत्तर दिंदा राज्य समाचार बुझ्न यहोवाले तिनीहरूको हृदय खोलिदिनुहुन्छ। (मत्ती ११:२५; प्रेरित १६:१४) परमेश्वरको अनुकरण गर्दै जिज्ञासुहरूकहाँ पुनः गएर, सम्भव भएमा बाइबल अध्ययनद्वारा मदत दिएर साँचो मसीहीहरूले कोमल अनुकम्पा देखाउँछन्। त्यसैअनुरूप १९९३ मा २३१ मुलुकमा यहोवाका ४५ लाखभन्दा बढी साक्षीहरूले घरघर प्रचार-कार्य र आफ्ना छिमेकीहरूसित बाइबल अध्ययन गर्न एक अरबभन्दा बढी घण्टा बिताए। फलस्वरूप यी नवजिज्ञासुहरूले यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्माप्राप्त साक्षीहरूको दलमा सामेल हुने अवसर पाउँछन्। यसप्रकार शैतानको मरणशील संसारमा फँसेका सम्भाव्य चेलाहरूको खातिर अनुकम्पापूर्ण यस कार्यमा भाग लिने जिम्मेवारी ती नवजिज्ञासुहरूले वहन गर्छन्।—मत्ती २८:१९, २०; यूहन्ना १४:१२.
५ छिट्टै यहोवाले “योद्धा” झैं कार्य गर्नुहुनेछ। (प्रस्थान १५:३) आफ्नो नाउँ र आफ्ना जनहरूप्रति अनुकम्पाको खातिर उहाँले दुष्टतालाई हटाएर धार्मिक नयाँ संसार स्थापना गर्नुहुनेछ। (२ पत्रुस ३:१३) यहोवाको क्रोध सर्वप्रथम मसीहीजगतका चर्चहरूले भोग्नेछन्। बेबिलोनी राजाको हातबाट यरूशलेमको आफ्नो मन्दिरलाई समेत परमेश्वरले नाश हुन दिनु भएझैं उहाँको गलत प्रतिनिधित्व गर्ने धार्मिक सङ्गठनहरूलाई उहाँले रहन दिनुहुनेछैन। परमेश्वरले संयुक्त राष्ट्र संघका सदस्यहरूको मनमा मसीहीजगत र अन्य झूटा धर्महरूलाई ध्वस्त गर्ने विचार हालिदिनुहुनेछ। (प्रकाश १७:१६, १७) यहोवा घोषणा गर्नुहुन्छ: “मेरो नजरले तिनीहरूलाई छोड़नेछैन। म टिठाउनेछैनँ, तर म तिनीहरूको कामको बदला तिनीहरूकै शिरमा खन्याइदिनेछु।”—इजकिएल ९:५, १०.
६ समय छँदै आफ्ना छिमेकीहरूलाई परमेश्वरको मुक्तिको समाचार जोशिलो भई प्रचार गरेर यहोवाका साक्षीहरूले अनुकम्पा देखाउँछन्। अनि स्वाभाविकतः यथासम्भव भौतिक खाँचोमा परेकाहरूलाई पनि मदत दिन्छन्। तर यस सम्बन्धमा तिनीहरूको प्रथम जिम्मेवारी, आफ्नो परिवारका निकटतम सदस्यहरू र एकै विश्वासमा भएकाहरूलाई हेरचाह गर्नु हो। (गलाती ६:१०; १ तिमोथी ५:४, ८) विभिन्न विपत्तिहरू भोगेका सङ्गी विश्वासीहरूको खातिर यहोवाका साक्षीहरूले गरेका उद्धार कार्यहरू अनुकम्पाका उल्लेखनीय उदाहरणहरू साबित भएका छन्। तर कोमल अनुकम्पा देखाउन मसीहीहरूले विपत्ति कुरेर बस्नु पर्दैन। दिनचर्याका तीता मीठा क्षणहरूमा तिनीहरूले यो गुण छिट्टै प्रदर्शन गर्छन्।
अनुकम्पा, नयाँ व्यक्तित्वको एक पक्ष
७ हो, हाम्रो पापी मानव स्वभाव र शैतानी संसारको दुष्प्रभावले हामीलाई कोमल अनुकम्पापूर्ण हुनबाट रोक्छ। त्यसैकारण त बाइबलले “रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली” त्याग्न आग्रह गर्छ। बरु, परमेश्वरको स्वरूपअनुरूप अर्थात् ‘नयाँ व्यक्तित्व धारण गर्न’ हामीलाई सल्लाह दिइएको छ। सर्वप्रथम, “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता” धारण गर्न हामीलाई आज्ञा दिइएको छ। त्यसपछि यी गुणहरू प्रकट गर्ने व्यावहारिक ढङ्ग बाइबलले देखाउँछ। “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरूद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।” हामीले हाम्रा भाइहरूका लागि ‘कोमल अनुकम्पा’ खेती गरेका छौं भने क्षमा गर्न निकै सजिलो हुन्छ।—कलस्सी ३:८-१३.
८ अर्कोतिर, अनुकम्पापूर्ण क्षमा दिन नसक्दा यहोवासित हाम्रो सम्बन्ध बिग्रन्छ। कृतघ्न दासबारे येशूले दिनुभएको दृष्टान्तबाट यो स्पष्ट हुन्छ। त्यस कृतघ्न दासले “सबै ऋण नतिरुञ्जेल” मालिकले त्यसलाई झ्यालखानामा हाले। त्यो दासले यस्तो व्यवहार भोग्नु उचित थियो किनभने दयाको बिन्ती गर्ने सङ्गी दासलाई अनुकम्पा देखाउन तिनी असक्षम भए। दृष्टान्तको अन्तमा येशूले यसो भन्नुभयो: “मेरा स्वर्गका पिताले पनि, तिमीहरू हरेकले आफ्नो भाइलाई आफ्नो हृदयले माफी दिएनौ भने, तिमीहरूलाई त्यसै गर्नुहुनेछ।”—मत्ती १८:३४, ३५.
९ कोमल अनुकम्पापूर्ण हुनु प्रेमको महत्त्वपूर्ण पक्ष हो। अनि प्रेम साँचो मसीही धर्मको चिनारी हो। (यूहन्ना १३:३५) यसर्थ, नयाँ व्यक्तित्वबारे बाइबलको विवरण यसरी टुङ्ग्याइएको छ: “यी सबै कुराहरूभन्दा बढ़ी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।”—कलस्सी ३:१४.
ईर्ष्या—अनुकम्पाको अवरोध
१० हाम्रो पापी मानव स्वभावको कारण ईर्ष्यालु भावनाहरूले हाम्रो हृदयमा सजिलै जरा गाड्न सक्छ। हामीसित नभएका अन्तर्निहित दक्षताहरू अथवा भौतिक फाइदाहरूको आशिष् अरू कोही भाइ या बहिनीले पाएको हुन सक्छ। अथवा कसैले विशेष आध्यात्मिक आशिष् वा अवसरहरू पाएको हुन सक्छ। यदि त्यस्ता व्यक्तिहरूको ईर्ष्या गर्न थाल्यौं भने के हामीले तिनीहरूसित कोमल अनुकम्पापूर्ण व्यवहार गर्न सक्छौं होला? शायद सक्दैनौं। बरु, आलोचनात्मक कुराकानी अथवा निष्ठूर कार्यहरूद्वारा ईर्ष्यालु भावनाहरू अन्ततः प्रकट हुन सक्छ। किनभने मानिसहरूका स्वभावबारे येशूले यसो भन्नुभयो: “हृदयमा जे प्रशस्त हुन्छ त्यही त्यसको मुखले बोल्दछ।” (लूका ६:४५) शायद अरूले पनि त्यस्तो आलोचनाको पक्ष लेलान्। यसप्रकार परिवार अथवा परमेश्वरका जनहरूको मण्डलीको शान्ति भङ्ग हुन सक्छ।
११ एउटा ठूलो परिवारमा के भएको थियो ध्यान दिनुहोस्। याकूबका दश छोराहरूले आफ्नो कान्छो भाइ यूसुफको डाह गर्न थाले किनभने तिनी पिताको प्रिय थिए। परिणामस्वरूप, तिनीहरू “तिनीसँग राम्ररी बोल्दैन थिए।” पछि, यहोवाको अनुग्रह तिनमा भएको प्रमाणस्वरूप यूसुफले ईश्वरीय सपनाहरू देखे। यसले गर्दा तिनका दाइहरूले “तिनीसँग झन् बढ़ी दुश्मनी गर्न थाले।” तिनीहरूले आफ्नो हृदयबाट ईर्ष्यालाई नझिकेका हुनाले अनुकम्पाले कुनै ठाउँ नै पाएन र गम्भीर पाप गर्नतर्फ डोऱ्यायो।—उत्पत्ति ३७:४, ५, ११.
१२ क्रूरतापूर्वक तिनीहरूले यूसुफलाई दासत्वमा बेचे। आफ्नो गलत कार्य ढाकछोप गर्न यूसुफलाई जङ्गली जनावरले माऱ्यो भनी तिनीहरूले आफ्नो पितालाई झुक्याए। अनिकालले गर्दा तिनीहरू मिश्रमा गएर अनाज किन्न बाध्य हुँदा वर्षौंपछि तिनीहरूको पाप प्रकट भयो। अनाज प्रशासक, यूसुफलाई तिनीहरूले चिनेनन्। यूसुफले तिनीहरूलाई जासूसी गरेको आरोप लगाए र कान्छो भाइ, बिन्यामीनलाई नल्याउन्जेल मदत नमाग्नु भने। यतिन्जेल बिन्यामीन बाबुको प्यारो भइसकेको थियो र याकूबले उनलाई पठाउन चाहनेछैन भनी तिनीहरूलाई थाहा थियो।
१३ यूसुफसमक्ष खडा भएर तिनीहरूको अन्तस्करणले तिनीहरूलाई यो कुरा मानी लिन प्रेरित गऱ्यो: “साँच्चिनै हाम्रो भाइको [यूसुफ] विषयमा हामी दोषी छौं, किनकि त्यसले हामीसित बिन्ती गर्दा हामीले त्यसको मनको व्याकुलता देखेर पनि त्यसको कुरा सुनेनौं। यसकारण यो संकष्ट हामीमाथि पर्नआएको हो।” (उत्पत्ति ४२:२१) अनुकम्पापूर्ण तर दृढ व्यवहारद्वारा यूसुफले आफ्ना दाइहरूलाई साँचो पश्चात्ताप प्रमाणित गर्ने मदत दिए। त्यसपछि तिनले आफ्नो चिनारी दिएर उदारचित्तका साथ माफी दिए। पारिवारिक एकता पुनर्स्थापना भयो। (उत्पत्ति ४५:४-८) मसीहीहरूको हैसियतमा यसबाट हामीले एउटा पाठ सिक्नु पर्छ। ईर्ष्याका खराब परिणामहरू थाहा पाएर ईर्ष्यालु भावनाहरूको बदलामा ‘सहानुभूतिको हृदय’ राख्न हामीले यहोवासित मदतको निम्ति प्रार्थना गर्नुपर्छ।
अनुकम्पाका अन्य अवरोधहरू
१४ हामी अनुकम्पापूर्ण हुनमा अर्को अवरोध, अनावश्यक तवरले हिंसात्मक प्रभावमा पर्नु हुन सक्छ। हिंसा भरिएको खेलकूद र मनोरञ्जनले हिंस्रक उत्तेजना पैदा गर्न सक्छ। बाइबलकालीन रोमी साम्राज्यका रङ्गशालाहरूमा मूर्तिपूजकहरूले लडाकू र अन्य शासनाहरू नियमित तवरमा हेर्थे। एक इतिहासकारअनुसार त्यस्तो मनोरञ्जनले “मानवलाई जनावरहरूबाट छुट्याउने दुःखहरूप्रति सहानुभूतिशील भावनाहरू नै नाश गऱ्यो।” आजको आधुनिक संसारमा पाइने प्रायजसो मनोरञ्जनले पनि त्यस्तै प्रभाव पार्छ। कोमल अनुकम्पापूर्ण हुन कडा यत्न गर्ने मसीहीहरूले पाठ्यसामग्री, चलचित्रहरू र टिभि कार्यक्रमहरूको छनौट गर्दा असाध्यै होशियार हुनुपर्छ। बुद्धिमानीपूर्वक तिनीहरूले भजनसंग्रह ११:५ का यी शब्दहरूलाई मनमा राख्छन्: “अत्याचार निको मान्नेलाई उहाँको [यहोवा] आत्माले घृणा गर्छ।”
१५ स्वार्थी व्यक्तिमा पनि अनुकम्पाको अभाव हुनु स्वाभाविक हो। प्रेरित यूहन्नाले वर्णन गरेझैं यो गम्भीर कुरा हो: “संसारको सम्पत्ति हासिल गरेर पनि कसैले आफ्नो भाइलाई खाँचो परेको देखेर त्यसमाथि आफ्नो दया देखाउँदैन भनेता परमेश्वरको प्रेम त्यसमा कसरी रहन्छ?” (१ यूहन्ना ३:१७) त्यस्तैगरि, येशूले बताउनुभएको मिलनसार सामरीको दृष्टान्तमा आत्म-धर्मी फरिसी र लेवीले पनि अनुकम्पाको अभाव देखाएका थिए। आफ्नो यहूदी भाइको अधमरो अवस्था देखेर तिनीहरू अर्को छेऊ लागे। (लूका १०:३१, ३२) त्यसको विपरीत, अनुकम्पापूर्ण मसीहीहरूले आफ्ना भाइहरूको आध्यात्मिक तथा भौतिक खाँचोप्रति तुरुन्त ध्यान पुऱ्याइहाल्छन्। येशूको दृष्टान्तको सामरीझैं परदेशीहरूका आवश्यकताहरूबारे पनि तिनीहरू चिन्तित हुन्छन्। तसर्थ, चेला बनाउने कार्यलाई बढाउन तिनीहरूले खुशीसाथ आफ्नो समय, शक्ति र भौतिक सम्पत्ति खर्च गर्छन्। यसप्रकार लाखौंको मुक्तिमा तिनीहरूले योगदान पुऱ्याउँछन्।—१ तिमोथी ४:१६.
बिरामीका लागि अनुकम्पा
१६ असिद्ध, मरणशील मानवजातिको एउटा हिस्सा बिमारी हो। मसीहीहरू यसबाट मुक्त छैनन् र तिनीहरूमध्ये धेरै जना चिकित्सा क्षेत्रमा पेशेवरहरू पनि होइनन् नता केही प्रारम्भिक मसीहीहरूले झैं चमत्कारहरू गर्न ख्रीष्ट तथा उहाँका प्रेरितहरूबाट त्यस्तो शक्ति नै तिनीहरूले पाएका छन्। ख्रीष्टका प्रेरितहरू र तिनीहरूका तत्कालीन सङ्गीहरूको मरणपश्चात् त्यस्ता चमत्कारपूर्ण शक्तिहरू बितेर गए। त्यसकारण, मस्तिष्कको विकृति र मतिविभ्रमजस्ता शारीरिक बिमारी भोगिरहेकाहरूलाई मदत दिने हाम्रो क्षमता सीमित छ।—प्रेरित ८:१३, १८; १ कोरिन्थी १३:८.
१७ बिमारीको सँगसँगै प्रायजसो निराशा आउँछ। उदाहरणको लागि, ईश्वरभीरु अय्यूब गम्भीर बिमारी र शैतानले ल्याएका विपत्तिहरूको कारण निराश थिए। (अय्यूब १:१८, १९; २:७; ३:३, ११-१३) अय्यूबलाई कोमल अनुकम्पापूर्ण व्यवहार गर्ने र “दिलाशा” दिने मित्रहरू चाहिएको थियो। (१ थिस्सलोनिकी ५:१४) यसको सट्टा, नाउँ मात्रका तीन सान्त्वनादाताहरू अय्यूबकहाँ आए र सोचविचारै नगरी गलत निष्कर्षहरूमा पुगे। आफूले गरेको कुनै गल्तीको कारण उनले विपत्तिहरू भोगिरहेको हुन सक्छ भनेर तिनीहरूले अय्यूबको निराशाजनक अवस्थालाई झन् चर्काए। सङ्गी विश्वासीहरू बिरामी अथवा निराश हुँदा कोमल अनुकम्पापूर्ण भयौं भने त्यस्तै प्रकारको गल्ती दोहोऱ्याउनबाट मसीहीहरू जोगिन सक्छन्। कहिलेकाहीं त्यस्ता व्यक्तिहरूलाई सहानुभूतिशील भएर सुन्ने, कुरा बुझ्ने र मायालु शास्त्रीय सल्लाह प्रदान गर्ने प्राचीनहरू अथवा अन्य परिपक्व मसीहीहरू भेट्न आइदिए मात्र पनि पर्याप्त हुन्छ।—रोमी १२:१५; याकूब १:१९.
कमजोरका लागि अनुकम्पा
१८ विशेषगरि प्राचीनहरू कोमल अनुकम्पापूर्ण हुनुपर्छ। (प्रेरित २०:२९, ३५) बाइबलले यस्तो आज्ञा दिन्छ: “हामी बलियाहरूले निर्धाहरूका निर्बलतालाई सहनु पर्दछ।” (रोमी १५:१) असिद्ध हुनाकारण हामी सबैले गल्ती गर्छौं। (याकूब ३:२) “आफूले चालै नपाइकन गलत कदम चाल्नेसित” व्यवहार गर्दा कोमलता आवश्यक हुन्छ। (गलाती ६:१, न्युव) अव्यावहारिक ढङ्गमा परमेश्वरको व्यवस्था पालन गर्ने आत्म-धर्मी फरिसीहरूजस्तो प्राचीनहरू कहिल्यै हुन चाहँदैनन्।
१९ त्यसको विपरीत, प्राचीनहरूले यहोवा परमेश्वर र येशू ख्रीष्टको कोमल अनुकम्पापूर्ण उदाहरण पछ्याउँछन्। तिनीहरूको प्रमुख काम परमेश्वरको भेडालाई पोषण, प्रोत्साहन र स्फूर्ति दिनु हो। (यशैया ३२:१, २) असङ्ख्य नियमहरू बनाएर नियन्त्रणमा राख्नुको सट्टा प्राचीनहरू परमेश्वरको वचनका असल सिद्धान्तहरूको मदत लिन्छन्। यसर्थ, प्राचीनहरूको भूमिका आफ्ना भाइहरूलाई सुदृढ पार्नु, आनन्द दिनु र उनीहरूको हृदयमा यहोवाको भलाइप्रति मूल्याङ्कन जगाउनु हो। सङ्गी विश्वासीले सानोतिनो गल्ती गरेमा प्राचीनले प्रायजसो अरूले सुन्ने गरी उनलाई सच्याउनेछैन। कुरा गर्न आवश्यक नै परेमा त्यस व्यक्तिलाई अलग्गै बोलाएर अरूले नसुन्ने गरी कुरा गर्न तिनलाई कोमल अनुकम्पाले उत्प्रेरित गर्नेछ। (मत्ती १८:१५ तुलना गर्नुहोस्।) अरूसित व्यवहार गर्न जस्तोसुकै गाह्रो भए तापनि प्राचीन धीरजी र मदतकारी हुनुपर्छ। त्यस्तो व्यक्तिलाई मण्डलीबाट बाहिर फ्याल्ने बहाना प्राचीनले कहिल्यै खोज्न चाहँदैनन्। न्यायिक समिति गठन गर्न आवश्यक नै परेमा गम्भीर गल्ती गर्ने व्यक्तिसित व्यवहार गर्दा प्राचीनहरूले कोमल अनुकम्पा देखाउनेछन्। प्राचीनहरूको भद्र व्यवहारले त्यस व्यक्तिलाई पश्चात्ताप गर्न मदत दिन सक्छ।—२ तिमोथी २:२४-२६.
२० तर कहिलेकाहीं यहोवाको सेवकले अनुकम्पा देखाउन नमिल्ने अवस्था पनि आउँछ। (व्यवस्था १३:६-९ तुलना गर्नुहोस्।) बहिष्कृत भएको घनिष्ठ मित्र अथवा नातेदारसित “सङ्गत नगर्नू” एउटा ठूलो परीक्षा हुन सक्छ। त्यस्तो अवस्थामा दयाका भावनाहरूसमक्ष नझुक्नु महत्त्वपूर्ण छ। (१ कोरिन्थी ५:११-१३) त्यस्तो दृढताले गल्ती गर्नेलाई पश्चात्ताप गर्न प्रोत्साहन दिन सक्छ। यसबाहेक, विपरीत लिङ्गका व्यक्तिसित व्यवहार गर्दा लैङ्गिक अनैतिकतातर्फ डोऱ्याउन सक्ने अनुकम्पाका अनुपयुक्त अभिव्यक्तिहरूबाट मसीहीहरू जोगिनु पर्छ।
२१ वृद्धहरू, शोकाकुल, अविश्वासी पति या पत्नीबाट सतावट भोगिरहेकाजस्ता व्यक्तिहरूसित व्यवहार गर्दा कोमल अनुकम्पा आवश्यक पर्ने सबै क्षेत्रबारे छलफल गर्न यहाँ यथेष्ट ठाउँ छैन। कडा परिश्रम गर्ने प्राचीनहरूसित पनि कोमल अनुकम्पापूर्ण व्यवहार गर्नुपर्छ। (१ तिमोथी ५:१७) प्राचीनहरूको आदर गर्नुहोस् र तिनीहरूलाई समर्थन दिनुहोस्। (हिब्रू १३:७, १७) प्रेरित पावलले यसप्रकार लेखे: “तिमीहरू सबै . . . कोमल हृदयका होओ।” (१ पत्रुस ३:८) आवश्यक पर्ने सबै परिस्थितिमा यस्तो व्यवहार गरेर हामीले मण्डलीमा एकता र आनन्दलाई बढाउँछौं अनि बाहिरकाहरूलाई सत्यप्रति आकर्षित गर्छौं। सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यसो गर्दा हामी कोमल अनुकम्पापूर्ण पिता, यहोवाको आदर गर्छौं। (w94 11/1)
पुनरावृत्तिका प्रश्नहरू
◻ पापी मानवजातिप्रति यहोवाले कसरी अनुकम्पा देखाउनुहुन्छ?
◻ कोमल अनुकम्पापूर्ण हुनु किन महत्त्वपूर्ण छ?
◻ कोमल अनुकम्पापूर्ण हुँदा आइपर्ने केही अवरोधहरू के के हुन्?
◻ बिरामी र निराश भएकाहरूसित हामीले कस्तो व्यवहार गर्नुपर्छ?
◻ विशेषगरि कोमल अनुकम्पापूर्ण को हुनुपर्छ र किन?
[अध्ययनका लागि प्रश्नहरू]
१. आज अनुकम्पाको किन अत्यधिक खाँचो छ?
२. दुष्टहरूलाई नाश गर्नबाट यहोवा किन पछि हट्नु भयो?
३. आफ्ना जनहरूबाहेक अरूलाई यहोवाले अनुकम्पा देखाउनुभएको कस्तो उदाहरण छ र यसबाट हामी के सिक्छौं?
४. आज यहोवाले मानिसहरूलाई कसरी अनुकम्पा देखाइरहनुभएको छ?
५. ईश्वरीय अनुकम्पा चरम-सीमामा पुग्दा परमेश्वरलाई गलत प्रतिनिधित्व गर्ने धर्महरू के हुनेछ?
६. कस्ता ढङ्गहरूद्वारा अनुकम्पा देखाउन यहोवाका साक्षीहरू प्रेरित हुन्छन्?
७. (क) कलस्सी ३:८-१३ मा अनुकम्पालाई नयाँ व्यक्तित्वसित कसरी मिलान गरिएको छ? (ख) कोमल अनुकम्पाले मसीहीहरूलाई के गर्न सजिलो पार्छ?
८. क्षमाशील आत्मा हुनु किन महत्त्वपूर्ण छ?
९. नयाँ व्यक्तित्वको महत्त्वपूर्ण पक्षसित कोमल अनुकम्पा कसरी सम्बन्धित छ?
१०. (क) ईर्ष्याले हाम्रो हृदयमा कसरी जरा गाड्न सक्छ? (ख) ईर्ष्याका कस्ता खराब परिणामहरू हुन सक्छन्?
११. यूसुफका दश दाइहरूले कसरी आफ्नो हृदयमा अनुकम्पालाई ठाउँ दिएनन् र परिणामहरू कस्ता भए?
१२, १३. ईर्ष्यालु भावनाहरू हाम्रो हृदयमा प्रवेश गर्दा हामीले के गर्नुपर्छ?
१४. अनावश्यक तवरमा हिंसाको प्रभावबाट किन अलग्गै बस्नुपर्छ?
१५. (क) अनुकम्पाको गम्भीर अभावलाई एक व्यक्तिले कसरी बेवास्ता गर्न सक्छ? (ख) साँचो मसीहीहरूले आफ्ना सङ्गी विश्वासीहरू र छिमेकीहरूका आवश्यकताहरूप्रति कस्तो प्रतिक्रिया देखाउँछन्?
१६. बिमारीको सन्दर्भमा हामी कस्ता सीमितताहरू अनुभव गर्छौं?
१७. बिरामी र शोकाकुल मानिस अय्यूबप्रति गरिएको व्यवहारबाट हामी के सिक्न सक्छौं?
१८, १९. (क) कमजोर अथवा गल्ती गर्नेहरूसित प्राचीनहरूले कस्तो व्यवहार गर्नुपर्छ? (ख) न्यायिक समिति गठन गर्न आवश्यक परे तापनि गल्ती गर्नेलाई प्राचीनहरूले किन कोमल अनुकम्पापूर्ण व्यवहार गर्नुपर्छ?
२०. कस्तो अवस्थामा अनुकम्पाको भावनात्मक अभिव्यक्तिहरू अनुचित हुन्छन् र किन?
२१. अरू कुन कुन क्षेत्रहरूमा हामीले कोमल अनुकम्पा देखाउनुपर्छ र त्यसका लाभहरू के के हुन्?
[पृष्ठ १३-मा भएको पेटी]
अनुकम्पाविहीन फरिसीहरू
परमेश्वरका जनहरूको लागि विश्राम दिन आध्यात्मिक तथा शारीरिक आशिष्को दिन हुनुपर्ने थियो। तर यहूदी धार्मिक नेताहरूले विश्राम दिनसम्बन्धी परमेश्वरको व्यवस्था अनादर हुने थुप्रै नियमहरू बनाए र मानिसहरूको निम्ति त्यो बोझिलो पारे। उदाहरणको लागि, कसैको दुर्घटना अथवा कोही बिरामी पर्दा जीवन खतरामै भए मात्र उसले विश्राम दिनमा मदत पाउन सक्थ्यो।
फरिसीहरूको एउटा पन्थी विश्राम दिनको विषयमा यति कडा थिए, तिनीहरूले भने: “विश्राम दिनमा कसैले शोकाकुलहरूलाई सान्त्वना दिन अथवा बिरामीहरूलाई भेट्न जान मिल्दैन।” अन्य धार्मिक नेताहरूले विश्राम दिनमा बिरामीहरूलाई भेट्न जाने अनुमति त दिन्थे तर यो माग गर्थे: “आँसु बगाउन निषेधित छ।”
तसर्थ, न्याय, प्रेम र दयाजस्ता व्यवस्थाका अति गहन आवश्यकताहरूलाई बेवास्ता गरेकोमा पूर्ण औचित्यका साथ येशूले यहूदी धार्मिक नेताहरूलाई धिक्कार्नुभयो। उहाँले फरिसीहरूलाई यसो भन्नु कुनै छक्कलाग्दो कुरा होइन: “तिमीहरूले चलाएको रिवाजले परमेश्वरको वचनलाई बेकम्मा तुल्याएका छौ”!—मर्कूस ७:८, १३, न्युव; मत्ती २३:२३; लूका ११:४२.
[पृष्ठ ११-मा भएको चित्र]
यहोवाका साक्षीहरूले २३१ मुलुकमा मानिसहरूका घरमा, सडकमा र झ्यालखानामा समेत अनुकम्पाको अपूर्व कार्यमा भाग लिइरहेका छन्
[पृष्ठ १२-मा भएको चित्र]
टिभिमा देखाइने जस्ता हिंसात्मक प्रभावले गर्दा कोमल अनुकम्पाको अभाव हुन सक्छ