अध्याय तीन
स्थायी वैवाहिक जीवनको दुइटा कुञ्जी
१, २. (क) वैवाहिक सम्बन्ध कहिलेसम्म कायम रहनका लागि रचिएको थियो? (ख) यो कसरी सम्भव छ?
परमेश्वरले प्रथम पुरुष र स्त्रीको विवाह गर्नुहुँदा यो सम्बन्ध अस्थायी हुनेछ भन्ने कुनै संकेत दिनुभएन। आदम र हव्वा आजीवन सँगै रहनु परेको थियो। (उत्पत्ति २:२४) परमेश्वरको स्तरअनुरूप आदरणीय विवाह त्यो हो जहाँ एउटा पुरुष र एउटी स्त्रीको मिलन हुन्छ। दुइमध्ये एक वा दुवैले घोर यौन अनैतिकता गरेमा मात्र पारपाचुके र सम्भवतः पुनर्विवाह गर्ने अनुमति शास्त्रले दिन्छ।—मत्ती ५:३२.
२ के दुइ व्यक्ति आनन्दसाथ अनिश्चित अथवा लामो समयसम्म सँगै बस्नु सम्भव छ र? छ। अनि यसलाई सम्भव पार्ने दुइटा खास कुञ्जीहरू पनि बाइबलमा प्रस्तुत छन्। यी दुइ कुञ्जीहरूलाई पतिपत्नीले चलाएमा तिनीहरू आनन्द तथा अन्य आशिष्को पात्र बन्नसक्छन्। अब यी दुइ कुञ्जीहरू के के हुन्?
प्रथम कुञ्जी
३. पतिपत्नीहरूले कुन तीन प्रकारको प्रेम खेती गर्नुपर्छ?
३ प्रथम कुञ्जी हो प्रेम। चाखलाग्दो कुरा, बाइबलमा अनेक किसिमको प्रेम उल्लेख गरिएको छ। एउटा हो, न्यानो तथा व्यक्तिगत स्नेह अक्सर मित्रहरूबीच पाइने। (यूहन्ना ११:३) अर्को प्रेम चाहिं परिवारका सदस्यहरूबीच हुन्छ। (रोमी १२:१०) तेस्रो प्रकारको प्रेम पुरुष र स्त्रीबीच हुने रोमान्टिक प्रेम हो। (हितोपदेश ५:१५-२०) निस्सन्देह, पतिपत्नीले यी जम्मै किसिमका प्रेम खेती गर्नुपर्छ। तर यीभन्दा अझ महत्त्वपूर्ण, चौथो किसिमको प्रेम पनि छ।
४. चौथो किसिमको प्रेम के हो?
४ मसीही युनानी धर्मशास्त्रको मूल भाषामा यो चौथो किसिमको प्रेमलाई अगापे भन्छ। यही शब्द १ यूहन्ना ४:८ मा चलाइएको छ जहाँ “परमेश्वर प्रेम हो” भनिएको छ। निस्सन्देह, “हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।” (१ यूहन्ना ४:१९) मसीहीले यस्तो किसिमको प्रेम पहिले यहोवा परमेश्वर अनि आफ्ना सहमानवहरूप्रति बढाउनुपर्छ। (मर्कूस १२:२९-३१) अगापे भन्ने शब्द एफिसी ५:२ मा पनि यसरी प्रयोग गरिएको छ: “औ जसरी ख्रीष्टले पनि तिमीहरूसित प्रेम गर्नुभयो . . . आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो, त्यसरी तिमीहरू पनि प्रेममा चल।” यस्तो किसिमको प्रेम येशूका अनुयायीहरूको चिनारी हुनेछ भनी देखाउँदै उहाँले स्वयं यसो भन्नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३५) फेरि १ कोरिन्थी १३:१३ मा पनि यो अगापे शब्दको प्रयोगलाई विचार गर्नुहोस्: “तर विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, र यिनमा सर्वोत्तम चाहिं प्रेम [ अगापे ] हो।”
५, ६. (क) विश्वास र आशाभन्दा प्रेम किन सर्वोत्तम हो? (ख) प्रेमले वैवाहिक जीवनलाई किन स्थायित्व प्रदान गर्नसक्छ?
५ यो अगापे प्रेम विश्वास र आशाभन्दा किन सर्वोत्तम छ? किनभने सिद्धान्तहरू अर्थात् परमेश्वरको वचनमा पाइने सही सिद्धान्तहरूमा यसप्रकारको प्रेम अडेको हुन्छ। (भजन ११९:१०५) अरूका लागि परमेश्वरको नजरमा जे ठीक र असल छ, त्यो निःस्वार्थपूर्वक गर्न अगापे प्रेम इच्छुक हुन्छ। प्रेम पाउने व्यक्ति योग्य छ वा छैन, अगापे-ले वास्ता गर्दैन। यस्तो प्रेमले पतिपत्नीलाई बाइबलको यो सल्लाह व्यवहारमा उतार्ने मदत दिन्छ: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।” (कलस्सी ३:१३) मायालु दम्पतीहरूले “आपसमा प्रगाढ़ प्रेम” [ अगापे ] राख्छन् “किनभने प्रेमलेनै असंख्य पापहरू ढाक्तछ।” (१ पत्रुस ४:८) हो, प्रेमले गल्तीहरूलाई ढाक्छ। तर प्रेमले गल्तीहरू मेटाउँदैन किनभने कुनै पनि असिद्ध मानव दोषमुक्त हुनसक्दैन।—भजन १३०:३, ४; याकूब ३:२.
६ पतिपत्नीले यस्तो प्रेम परमेश्वर तथा एकअर्काप्रति खेती गर्दा तिनीहरूको विवाह स्थायी र आनन्ददायक हुनेछ। किनकि “प्रेम कहिल्यै टल्दैन।” (१ कोरिन्थी १३:८) प्रेम “सिद्धताको गाँठो” हो। (कलस्सी ३:१४) तपाईं विवाहित हुनुहुन्छ भने, तपाईं तथा तपाईंको जीवनसाथीले यस्तो प्रेम कसरी खेती गर्न सक्नुहुन्छ? परमेश्वरको वचन सँगै बसेर पढ्नुहोस्। त्यसबारे चर्चा गर्नुहोस्। येशूको प्रेमको उदाहरण अध्ययन गर्नुहोस्। उहाँको अनुकरण गर्ने कोसिस गर्नुहोस्। उहाँले जस्तै सोच्ने र व्यवहार गर्ने प्रयास गर्नुहोस्। परमेश्वरको वचनबारे सिकाइने मसीही सभाहरू धाउनुहोस्। यस्तो उच्चस्तरीय प्रेम परमेश्वरको पवित्र आत्माको फल हो। यसको खेती गर्न परमेश्वरलाई प्रार्थनाद्वारा सहायता माग्नुहोस्।—हितोपदेश ३:५, ६; यूहन्ना १७:३; गलाती ५:२२; हिब्रू १०:२४, २५.
दोस्रो कुञ्जी
७. आदर के हो र वैवाहिक जीवनमा आदर कसले देखाउनुपर्छ?
७ पतिपत्नी एकअर्कासित साँच्चै प्रेम गर्छन् भने, तिनीहरूले एकअर्काको आदर पनि गर्नेछन्। किनकि सुखी वैवाहिक जीवनको दोस्रो कुञ्जी आदर हो। आदरको परिभाषा “अरूप्रति विचारशील हुनु तथा अरूको मान गर्नु” हो। परमेश्वरको वचनमा पतिपत्नीलगायत सबै मसीहीहरूलाई यो सल्लाह दिइएको छ: “मानमा एउटाले अर्कोको बढ्ता कदर गर।” (रोमी १२:१०) प्रेरित पत्रुसले पनि यसप्रकार लेखे: “हे पति हो, त्यसैगरि जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर दिई बुद्धिमानीसाथ तिम्रा पत्नीसँग बस।” (१ पत्रुस ३:७) पत्नीलाई पतिको “गहिरो आदर” गर्ने सल्लाह दिइएको छ। (एफिसी ५:३३, NW) तपाईं कसैको आदर गर्न चाहनुहुन्छ भने, ती व्यक्तिप्रति तपाईं दयालु हुनुहुनेछ। तिनको मान राख्नुहुनेछ। तिनको विचारको कदर गर्नुहुनेछ। तिनको हर मनासिब अनुरोध पूरा गर्न तयार हुनुहुनेछ।
८-१०. वैवाहिक सम्बन्धलाई आदरले कुन कुन ढंगमा स्थायी अनि आनन्ददायी बनाउनसक्छ?
८ सुखी वैवाहिक जीवन चाहनेहरूले आ-आफ्नो जीवनसाथीप्रति आदर जनाउँछन्। “आफ्नै कुरामा मात्र होइन तर . . . अरूको [आ-आफ्नो जीवनसाथीको] कुरामा पनि ध्यान” दिने गर्छन्। (फिलिप्पी २:४) तिनीहरू स्वार्थी भएर आफ्नो भलाइ मात्र खोज्दैनन्। बरु आफ्नो जीवनसाथीको लागि सबैभन्दा राम्रो के हुन्छ, त्यो पनि विचार गर्छन्। हो, तिनीहरूले आफ्नो जीवनसाथीको भलाइलाई नै प्रथम स्थान दिन्छन्।
९ एकअर्कालाई आदर गर्ने पतिपत्नी आपसी भिन्नताहरूलाई स्वीकार्न तयार हुन्छन्। दुइ मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन। जुन कुरा पतिका लागि महत्त्वपूर्ण होला त्यो पत्नीका लागि नहोला र पत्नीले रुचाउने चीज पतिलाई मन नपर्ला। तापनि यहोवाका नियम वा सिद्धान्तहरू उल्लंघन नहोऊञ्जेल हरेकले एकअर्काको रुचि तथा दृष्टिकोणलाई कदर गर्नुपर्छ। (१ पत्रुस २:१६; तुलना गर्नुहोस् फिलेमोन १४) साथै एकअर्काको मान राख्नु पनि आवश्यक छ। एकान्तमा होस् वा अरूको सामु, एकअर्कालाई होच्याउने किसिमको टिप्पणी वा छेडपेच गर्नु उचित होइन।
१० हो, परमेश्वरका लागि प्रेम र एकअर्काका लागि आदर सुखी वैवाहिक जीवनका दुइ मुख्य कुञ्जीहरू हुन्। यी कुञ्जीहरूलाई वैवाहिक जीवनका अझ केही महत्त्वपूर्ण क्षेत्रहरूमा कसरी प्रयोग गर्न सकिन्छ?
ख्रीष्टको जस्तै अगुवाइ
११. शास्त्रअनुसार वैवाहिक जीवनको अगुवा को हो?
११ बाइबल भन्छ, सफल पारिवारिक अगुवा हुने गुनहरूसहित पुरुषको सृजना गरिएको थियो। अतः आफ्नी पत्नी तथा छोराछोरीको आध्यात्मिक तथा शारीरिक कुशलताका लागि पुरुष नै यहोवासमक्ष जिम्मेवार हुन्छ। उसले फैसलाहरू गर्दा यहोवाको इच्छालाई प्राथमिकता दिनुपर्छ। ऊ स्वयं ईश्वरीय आचरणको उदाहरण बन्नुपर्छ। “ए पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा बस। किनकि पत्नीको शिर पति हुन् जस्तो ख्रीष्ट शरीरको मुक्तिदाता भई मण्डलीका शिर हुनुहुन्छ।” (एफिसी ५:२२, २३) तथापि, बाइबलअनुसार पतिमाथि पनि एक जना अर्को अगुवा हुनुहुन्छ। यी अगुवाले पतिमाथि अधिकार जमाउनुहुन्छ। यसबारे प्रेरित पावल लेख्छन्: “तर तिमीहरूले यो जान भन्ने म चाहन्छु कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष हो, र ख्रीष्टका शिर परमेश्वर हुनुहुन्छ।” (१ कोरिन्थी ११:३) बुद्धिमान पतिले आफ्नो अगुवा ख्रीष्ट येशूको अनुकरण गर्दै अगुवाइ गर्न सिक्छन्।
१२. अधीनता देखाउने र अगुवाइ लिने, यी दुवैको राम्रो उदाहरण येशूले कसरी कायम गर्नुभयो?
१२ येशूमाथि पनि शिर अथवा अगुवा, यहोवा हुनुहुन्छ र येशू उहाँको अधीनमा बस्नुहुन्छ। येशूले भन्नुभयो: “म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा खोज्दछु।” (यूहन्ना ५:३०) कस्तो उत्कृष्ट उदाहरण! येशू “सारा सृष्टिको जेठो” हुनुहुन्छ। (कलस्सी १:१५) उहाँ मसीह हुनुभयो। उहाँ अभिषिक्त मसीही मण्डलीका शिर, परमेश्वरको राज्यको राजा र सारा स्वर्गदूतहरूभन्दा उच्च हुन रोजिनुहुनेथियो। (फिलिप्पी २:९-११; हिब्रू १:४) यस्तो उच्च ओहदा र महान् भविष्य पाउनुभएर पनि येशू मानिस हुनुहुँदा कहिल्यै कठोर, जिद्दी अथवा अरूबाट कडा माग गर्नुहुन्न थियो। उहाँ तानाशाह हुनुहुन्न थियो। उहाँले आफ्ना चेलाहरूलाई हर बखत उहाँको आज्ञा पालन गर्न लाउनुभएन। येशू मायालु र दयावन्त हुनुहुन्थ्यो। विशेषगरि थिचोमिचोमा परेकाहरूप्रति। उहाँले यसो भन्नुभयो: “हे सबै मेहनत गर्ने र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र म सँग सिक, किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।” (मत्ती ११:२८-३०) उहाँसित संगत गर्नु साँच्चै आरामदायी हुन्थ्यो।
१३, १४. मायालु पतिले येशूको अनुकरण गर्दै कसरी अगुवाइ गर्नेछ?
१३ सुखी परिवार चाहने पतिले येशूका गुनहरूलाई राम्ररी विचार गर्नु आवश्यक छ। असल पति कहिल्यै कठोर अथवा तानाशाह हुँदैन। उसले अधिकार छ भन्दैमा पत्नीलाई थिचोमिचो गर्दैन। बरु उसले पत्नीलाई प्रेम गर्छ, आदर गर्छ। येशू “विनयी” हुनुहुन्थ्यो भने पति त्योभन्दा अझ विनयी हुनुपर्छ। किनकि येशूबाट कहिल्यै कुनै गल्ती हुँदैन थियो। तर पतिहरूबाट चाहिं गल्ती हुन्छ। गल्ती हुँदा उसलाई पत्नीको सहानुभूति चाहिन्छ। “माफ पाऊँ; तिम्रो कुरा ठीकै रहेछ” भन्न गाह्रो भए तापनि नम्र पतिले आफ्नो गल्ती स्वीकार्छ। घमण्डी तथा अटेरी पतिको भन्दा यस्तो नम्र र विनयी पतिको अगुवाइ स्वीकार्न पत्नीलाई पनि धेरै सजिलो लाग्नेछ। र पतिको आदर गर्ने पत्नीले पनि गल्ती गर्दा माफी माग्छे।
१४ परमेश्वरले स्त्रीलाई पनि सुखी वैवाहिक जीवनमा योगदान पुऱ्याउने गुनहरूसहित सृजनुभएको थियो। यसलाई ध्यानमा राख्दै बुद्धिमान पतिले पत्नीलाई दबाउन खोज्नेछैन। स्त्रीहरू प्रायः अनुकम्पापूर्ण तथा संवेदनशील हुन्छन्। परिवारको हेरचाह गर्दा तथा मानिस मानिसबीचको सम्बन्धलाई बलियो पार्न यी गुनहरू आवश्यक छन्। साधारणतया स्त्रीले नै घरलाई आकर्षक तथा बस्ने योग्य बनाउँछे। हितोपदेश ३१ मा वर्णन गरिएकी “सुयोग्य पत्नी[का]” थुप्रै गुन तथा खास योग्यताहरू थिए। ती गुन तथा योग्यताहरूबाट उसको परिवारले पूरा लाभ उठाउनसक्यो। किन? किनभने उसको पतिले ऊमाथि “पूरा भरोसा” गर्छ।—हितोपदेश ३१:१०, ११.
१५. पतिले पत्नीप्रति ख्रीष्टले झैं कसरी प्रेम तथा आदर देखाउनसक्छ?
१५ कुनै कुनै समाजमा पतिको अधिकारलाई चाहिंदोभन्दा बढी महत्त्व दिइन्छ। यहाँसम्म कि उसलाई प्रश्न सोध्नु पनि उसको अनादर गरे सरह ठानिन्छ। उसका लागि पत्नी दास बराबर हुन्छे। अगुवाइको यस्तो दुरुपयोगले गर्दा पत्नीसित मात्र होइन तर परमेश्वरसित पनि उसको सम्बन्ध राम्रो हुनसक्दैन। (तुलना गर्नुहोस् १ यूहन्ना ४:२०, २१) तर अर्कोतिर केही पतिहरू अगुवाइ लिंदैनन्। तिनीहरूले पत्नीलाई नै परिवारमाथि अधिकार जमाउन दिन्छन्। तर ख्रीष्टको अधीनमा बस्ने पतिले पत्नीको शोषण गर्दैन। नता उसले पत्नीको अपमान नै गर्छ। बरु उसले येशूको आत्मत्यागी प्रेमको अनुकरण गर्दै पावलको यो सल्लाहबमोजिम काम गर्छ: “ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।” (एफिसी ५:२५) ख्रीष्ट येशू आफ्ना अनुयायीहरूलाई अत्यन्त माया गर्नुहुन्थ्यो। उहाँ तिनीहरूका लागि मर्नुभयो। सोही निःस्वार्थ मनोवृत्तिको अनुकरण गर्न असल पतिले कोसिस गर्नेछ। कडा मागहरू गर्नुको साटो उसले पत्नीका गुनहरूमाथि ध्यानाकृष्ट गर्नेछ। पतिले ख्रीष्टजस्तै अधीनमा बसेर ख्रीष्टले जस्तै प्रेम र आदर प्रदर्शित गर्न खोज्दा पत्नीले पनि पतिको अधीनमा बस्ने प्रेरणा पाउँछे।—एफिसी ५:२८, २९, ३३.
पत्नीको अधीनता
१६. पत्नीले पतिसित व्यवहार गर्दा कुन कुन गुन प्रदर्शित गर्नुपर्छ?
१६ आदम सृजिएको केही समयपश्चात् यहोवा परमेश्वरले “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु” भन्नुभयो। (उत्पत्ति २:१८) परमेश्वरले हव्वालाई आदमको “प्रतियोगी” होइन “सहयोगी” हुन सृजनुभयो। वैवाहिक जीवन दुइ जना प्रतियोगी कप्तान भएको जहाज जस्तो हुनु थिएन। पति मायालु अगुवा हुनुपर्थ्यो र पत्नीले चाहिं प्रेम, आदर र स्वेच्छासाथ अधीनता व्यक्त गर्नुपर्ने थियो।
१७, १८. पत्नीले पतिको सहायता कुन कुन ढंगमा गर्नसक्छे?
१७ तथापि, अधीनता व्यक्त गर्दैमा असल पत्नी हुँदैन। उसले वास्तवमा सहायता दिने कोसिस गर्नुपर्छ। पतिका फैसलाहरूलाई उसले समर्थन गर्नुपर्छ। निस्सन्देह, ती फैसलाहरूसित आफै सहमत छे भने, त्यो समर्थन जनाउनु पत्नीलाई सजिलो हुनसक्छ। तर आफू सहमत नहुँदा पनि उसले सक्रियरूपमा सहयोग तथा समर्थन जनाउनसक्छे। यसबाट उसको पतिको फैसला अझ सफल हुनसक्छ।
१८ पत्नीले पतिलाई विभिन्न ढंगमा राम्रो अगुवा हुने मदत दिनसक्छे। पतिको आलोचना गर्नुको साटो अथवा उसको कामसित सधैं असन्तोष प्रकट गर्नुभन्दा उसले गरेको अगुवाइको प्रशंसा गर्न सकिन्छ। पतिसित सकारात्मक रीतिले व्यवहार गर्दा पत्नीले “नम्र र शान्त आत्माको . . . मानिस” पतिको दृष्टिमा मात्र होइन “परमेश्वरको दृष्टिमा” पनि “ठूलो मोलको हुन्छ” भन्ने कुरा बिर्सनु हुँदैन। (१ पत्रुस ३:३, ४; कलस्सी ३:१२) तर पति विश्वासमा छैन भने नि? ऊ विश्वासमा होस् नहोस्, धर्मशास्त्रअनुसार पत्नीहरू “आफ्ना आफ्ना पतिहरूलाई स्नेह गर्न, आफ्ना बाल-बच्चाहरूलाई माया गर्न . . . , आत्मसंयमी, पतिव्रता, घरजाम गर्नसक्ने, दयालु, आफ्ना आफ्ना पतिको अधीनमा रहने” हुनुपर्छ। यसो गर्दा “परमेश्वरको वचनको निन्दा” हुनेछैन। (तितस २:४, ५) अन्तस्करणसम्बन्धी प्रश्नहरू उठ्दा पत्नीले आफ्नो अडान “नम्रता र डरसँग [गहिरो आदर, NW ]” व्यक्त गर्नसक्छे। यस्तो हुँदा विश्वासमा नभएको पतिले पनि पत्नीको अडानलाई मान्यता दिनसक्छ। विश्वासमा नभएका केही पतिहरू आफ्ना “पत्नीहरूका चाल-चलनले गर्दा, विना वचनले भए पनि [तिनीहरूका] डरसहितको पवित्र चाल-चलन देखेर विश्वास गर्ने” भएका छन्।—१ पत्रुस ३:१, २, १५; १ कोरिन्थी ७:१३-१६.
१९. पतिले पत्नीलाई परमेश्वरको आज्ञा उल्लंघन गर्न अह्राएमा के गर्न सकिन्छ?
१९ तर पतिले परमेश्वरबाट निषेधित कुनै कुरा अह्रायो भने नि? यस्तो हुँदा पत्नीले आफ्नो सर्वोच्च शासक परमेश्वर हुनुहुन्छ भनेर बिर्सनु भएन। उसले प्रेरितहरूको उदाहरण अनुकरण गर्नुपर्छ। तिनीहरूलाई पनि अख्तियारवालाहरूले परमेश्वरको नियम भंग गर्न अह्राएका थिए। तर तिनीहरूले के गरे, त्यो प्रेरित ५:२९ मा यसरी उल्लेख गरिएको छ: “पत्रुस र प्रेरितहरूले भने, ‘हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ।’ ”
राम्रो पारस्परिक कुराकानी
२०. अर्को कुन मुख्य क्षेत्रमा पनि प्रेम र आदर अत्यावश्यक हुन्छ?
२० वैवाहिक जीवनको अझ अर्को क्षेत्र हो पारस्परिक कुराकानी। यहाँ पनि प्रेम र आदर अत्यावश्यक हुन्छ। मायालु पतिले पत्नीसित उसका कामकुरा, समस्या तथा विचारहरूबारे कुरा गर्नेछ। यस्तो कुराकानी पत्नीलाई चाहिन्छ। पत्नीसित कुरा गर्ने र पत्नीको कुरा सुनिदिने पतिले साँचो प्रेम र आदर प्रदर्शित गर्छ। (याकूब १:१९) तथापि, आ-आफ्ना पतिहरूले आफूसित कुरा गर्न समय बिताउँदैनन् भनी केही पत्नीहरू सिकायत गर्छन्। यो वास्तवमा दुःखलाग्दो कुरा हो। यी व्यस्त समयहरूमा पतिले घरबाहिर काममा धेरै समय बिताउनु परेको हुनसक्छ। आर्थिक समस्या झेल्न पत्नीले पनि जागिर खान आवश्यक पर्नसक्छ। तापनि, पतिपत्नीले एकअर्काका लागि समय छुट्याउनैपर्छ। नत्रभने तिनीहरू एकअर्कादेखि टाढा हुनसक्छन्। तिनीहरूले आफ्नो पति वा पत्नीबाहेक अरू नै व्यक्तिलाई सहानुभूतिको स्रोत तथा मित्र बनाउन बाध्य भएमा गम्भीर समस्याहरू उठ्नसक्छन्।
२१. उचित बोलीले वैवाहिक जीवनलाई कसरी सुखी बनाउनसक्छ?
२१ पतिपत्नीबीच कुरा गर्ने शैली पनि महत्त्वपूर्ण हो। “दयालु वचन तपतप चुहुने मह जस्तै हो, . . . शरीरलाई स्वास्थ्यकर बनाउने त्यो हुन्छ।” (हितोपदेश १६:२४) आफ्नो पति वा पत्नी विश्वासमा होस् या नहोस्, बाइबलको यो सिद्धान्त लागू हुन्छ: “तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्।” (कलस्सी ४:६) अर्थात् हाम्रो कुराकानी शिष्ट हुनुपर्छ। आफ्नो जीवनसाथीबाट सहानुभूतिपूर्ण एकदुइ शब्द सुन्दा दिनभरिको थकान धेरै कम हुनसक्छ। “ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो।” (हितोपदेश २५:११) आवाज र शब्दको छनौट पनि अत्यावश्यक हुन्। उदाहरणका लागि, झर्को लागेको स्वरमा तथा आदेश दिए जस्तैगरि “ढोका बन्द गर!” भन्न सकिन्छ। तर तपाईंले शान्त र विवेकशील ढंगमा “कृपया ढोका बन्द गर्नसक्छौ कि?” भन्नुभयो भने त्यो अवश्य “नूनले स्वादिलो पारेको” बोली हुनेछ।
२२. राम्रो पारस्परिक कुराकानी कायम राख्न पतिपत्नीले कस्तो मनोवृत्ति अपनाउनुपर्छ?
२२ जहाँ शान्तपूर्वक बोलिएका शब्दहरू, करुणामय हेराइ र इशारा, दया, समझ तथा कोमलता हुन्छ, त्यहाँ पारस्परिक कुराकानी फस्टाउँछ। राम्रो पारस्परिक कुराकानी कायम राख्न परिश्रम गरेमा पतिपत्नी दुवैले आ-आफ्ना आवश्यकताहरू एकअर्कालाई जाहेर गर्न सक्नेछन्। निराशाजनक तथा तनाउग्रस्त परिस्थितिहरूमा तिनीहरूले एकअर्कालाई सान्त्वना र मदत दिन सक्नेछन्। परमेश्वरको वचनले भन्छ: “हरेस खानेलाई दिलाशा देओ।” (१ थिस्सलोनिकी ५:१४) कुनै बेला पति निराश हुन्छ भने कहिले पत्नी उदास हुनसक्छे। यस्तो हुँदा तिनीहरूले एकअर्कालाई “दिलाशा” तथा ढाडस दिनसक्छन्।—रोमी १५:२.
२३, २४. आपसमा कुरा नमिल्दा प्रेम तथा आदर कसरी मदतकारी हुनसक्छ? उदाहरण दिनुहोस्।
२३ प्रेम र आदर प्रदर्शित गर्ने दम्पतीहरूले कुनै कुरा मिलेन भन्दैमा ठूलो बबाल खडा गर्नेछैनन्। एकअर्काप्रति “कठोर” नहुने हरेक प्रयास गर्नेछन्। (कलस्सी ३:१९) “मीठो जवाफले क्रोधलाई शान्त गर्छ” भनी तिनीहरू दुवैले सम्झिराख्नुपर्छ। (हितोपदेश १५:१) आफ्नो जीवनसाथीले हृदयको वेदना पोखाउँदा उसको खिसी नगर्नुहोस्। उसलाई नहोच्याउनुहोस्। बरु यसलाई उसको दृष्टिकोण तथा मर्म बुझ्ने मौका ठान्नुहोस्। दुवै मिलेर भिन्नताहरू मेटाउने कोसिस गर्नुहोस्। सामञ्जस्यपूर्ण निष्कर्ष अपनाउने प्रयास गर्नुहोस्।
२४ सारा र अब्राहामबीच समस्या खडा हुँदा के भएको थियो, सम्झनुहोस्। समस्या समाधान गर्न साराले अब्राहामको सामु एउटा सुझाउ प्रस्तुत गरिन्। तथापि, त्यो सुझाउ अब्राहामलाई मन परेन। तापनि उसलाई परमेश्वरले यसो भन्नुभयो: “साराले तँलाई जसो भन्छ सोही बमोजिम गर।” (उत्पत्ति २१:९-१२) अब्राहामले त्यो सल्लाह माने र फलस्वरूप उनी आशिष्को पात्र भए। यस्तैगरि पत्नीले आफ्नो सोचाइसित नमिल्ने सुझाउ दिंदा पतिले कम्तीमा पनि सुन्नुपर्छ। तर यसको अर्थ, पत्नीले आफ्नै कुरा मात्र बोली रहनु हुँदैन। उसले पतिको कुरालाई पनि सुन्नुपर्छ। (हितोपदेश २५:२४) किनकि पति वा पत्नीले सधैं आफ्नै कुरामा जिद्दी गर्नु मायालुपन होइन। त्यो अनादरपूर्ण व्यवहार हो।
२५. वैवाहिक जीवनको यौन संसर्गसम्बन्धी मामिलाहरूमा पनि पारस्परिक कुराकानी कसरी मदतकारी हुनसक्छ?
२५ दम्पतीको यौन सम्बन्धमा पनि राम्रो कुराकानीको महत्त्वपूर्ण भूमिका हुन्छ । वैवाहिक जीवनको यो अति नै गहिरो सम्बन्धलाई स्वार्थ तथा संयमको अभावले बिगार्नसक्छ। यसमा खुलस्त कुराकानी र धैर्य अत्यावश्यक हुन्छन्। एउटाले अर्कोको आनन्दलाई निःस्वार्थ भावसाथ प्राथमिकता दिंदा यौन संसर्ग अक्सर कुनै गम्भीर समस्यामा परिणत हुँदैन। अन्य मामिलाहरूमा झैं यस मामिलामा पनि हरेकले “आफ्नो होइन, तर आफ्नो [जीवनसाथीको] भलाई खोज्नु” पर्छ।—१ कोरिन्थी ७:३-५; १०:२४.
२६. हरेकको वैवाहिक जीवनमा माथितल भए तापनि पतिपत्नीहरूले परमेश्वरको वचनलाई ध्यान दिएर कसरी आनन्द हासिल गर्नसक्छन्?
२६ परमेश्वरको वचनले कति राम्रो सल्लाह दिन्छ! हो, हरेकको वैवाहिक जीवनमा माथितल भइहाल्छ। तर पतिपत्नीहरूले बाइबलमा उल्लिखित यहोवाको सोचाइ अपनाउँदा, पारस्परिक सम्बन्ध सैद्धान्तिक प्रेम तथा आदरमा आधारित गर्दा आफ्नो वैवाहिक जीवन स्थायी र आनन्दित हुनेछ भनी तिनीहरू विश्वस्त हुनसक्छन्। यसप्रकार तिनीहरूले एकअर्काको मात्र होइन तर वैवाहिक जीवनको आरम्भक यहोवा परमेश्वरको आदर गर्नेछन्।