वृद्ध आमाबाबुको सम्मान गर्दा पाइने इनामहरू
परमेश्वरका सच्चा उपासकहरू आफ्ना वृद्ध आमाबाबुलाई माया गर्छन्। त्यसैले तिनीहरू उहाँहरूको आदर, सम्मान र हेरविचार गर्छन्। यो तिनीहरूको उपासनाको भाग पनि हो। बाइबल यसो भन्छ: “पहिले [छोराछोरी वा नातिनातिनीहरूले] आफ्नै परिवारमा दया देखाऊन् र आफ्ना माता-पितालाई प्रत्युपकारको साटो तिर्न सिकून्, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ।” (१ तिमोथी ५:४) हामी जवान होऔं वा वृद्ध, आफ्ना आमाबाबु र बाजेबज्यैलाई “प्रत्युपकारको साटो” टक्राउनु उचित हो। यसो गर्दा उहाँहरूले वर्षौंदेखि देखाउनुभएको माया, परिश्रम र हेरविचारप्रति मूल्यांकन व्यक्त गरिरहेका हुन्छौं। अझ भन्ने नै हो भने, उहाँहरूकै कारण हामी अस्तित्वमा छौं!
आमाबाबु र बाजेबज्यैलाई प्रत्युपकारको साटो तिर्नु “परमेश्वरको दृष्टिमा ग्रहणयोग्य” रहेछ भनेर नबिर्सनुहोस्। यो हाम्रो “ईश्वरीय भक्तिसित” सम्बन्धित छ। त्यसकारण, माथि उल्लिखित सल्लाह पालन गर्दा इनाम पाउँछौं। साथै परमेश्वरलाई खुशी तुल्याइरहेका छौं भन्ने अनुभूतिले हामीलाई सुखी बनाउँछ।
अरूलाई दिंदा आनन्द आउँछ। त्यसमा पनि हामीलाई उदारचित्त भई दिनेहरूलाई दिन पाउँदा त हामी झन् हर्षित हुन्छौं। (प्रेरित २०:३५) अतः, बाइबलको यो सिद्धान्त पालन गर्दा कत्ति धेरै इनाम पाइएला, हामी कल्पना गर्नसक्छौं: “तेरा आमा-बाबुलाई खुशी हुने केही कारण होस्, तँलाई जन्म दिने आमाले रमाहट गरोस्”!—हितोपदेश २३:२५.
त्यसोभए, हामीले आफ्ना आमाबाबु र बाजेबज्यैलाई कसरी प्रत्युपकारको साटो तिर्नसक्छौं? त्यसो गर्ने तीन तरिकाहरू छन्: भौतिक, भावनात्मक तथा आध्यात्मिक। यी तीनै पक्षका आ-आफ्नै इनामहरू छन्।
भौतिक तवरमा दिनु
नजीकका नातेदारहरूका निम्ति भौतिक साधन उपलब्ध गरिदिनु महत्त्वपूर्ण हुन्छ भनेर परमेश्वरको सेवा गर्नेहरूलाई थाह छ। प्रेरित पावलले यस्तो नसिहत दिए: “तर कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।”—१ तिमोथी ५:८.
तुन्जी र जोइ पश्चिम अफ्रिकामा बस्छन्। आर्थिक अवस्था कमजोर भए तापनि उनीहरूले जोइका वृद्ध आमाबाबुलाई आफूसितै बस्न आग्रह गरे। जोइका बुबा बिरामी हुनुहुन्थ्यो र पछि बित्नुभयो। तुन्जी पहिलेको कुरा सम्झँदै यसो भन्छन्: “बुबा बित्नुहुँदा मुमाले मेरी पत्नीलाई अँगालो हाल्दै यसो भन्नुभएको थियो: ‘मानवताको नाताले गर्नुपर्ने सबथोक तिमीहरूले गऱ्यौ। बुबा बित्नुभएकोमा तिमीहरूले आफूलाई दोषी ठान्नु पर्दैन।’ बुबाको कमी महसुस त पक्कै पनि हुन्छ तर उहाँको लागि हामीले यथाशक्य राम्रो ओखती गरेका थियौं। उहाँ हाम्रोनिम्ति बोझ हुनुहुन्न भनेर उहाँलाई बताइरहन्थ्यौं। परमेश्वरले दिनुभएको जिम्मेवारी यथासम्भव पूरा गरेकोले हामी निश्चिन्त छौं।”
हुन त सबै जना अरूलाई भौतिक मदत गर्नसक्ने अवस्थामा हुँदैनन्। नाइजेरियामा बस्ने पुरुष यसो भन्छन्: “आफ्नै पेट पाल्न धौ धौ छ भने अरूलाई कसरी पाल्ने?” धेरै मुलुकहरूमा अबको केही वर्षभित्र अवस्था योभन्दा पनि नराम्रो हुनसक्छ। संयुक्त राष्ट्र संघको अनुमानअनुसार सहारा मरुभूमिको दक्षिणतिर बसोबास गर्ने अफ्रिकीहरूमध्ये आधाजसो त असाध्यै गरिब हुनेछन्।
तपाईंको पनि आर्थिक अवस्था कमजोर छ भने खाँचोमा परेकी एउटी विधवाको सत्य घटना जानेर तपाईंलाई सान्त्वना मिल्नसक्ला। येशू पृथ्वीमा हुनुहुँदा उहाँले एउटी विधवालाई मन्दिरको ढुकुटीमा थोरै भेटी चढाएकी देख्नुभयो। तिनले “दुई पैसा” मात्र चढाएकी थिइन्। तैपनि तिनको अवस्था थाह भएको हुँदा येशूले यसो भन्नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, यस गरीब विधवाले अरू सबैले भन्दा बढ़ता चढ़ाएकी छ। किनकि यी सबैले तिनका प्रशस्तताबाट भेटी चढ़ाएका छन्, तर यसले चाहिं आफ्नो अपुगबाट आफ्ना सारा जीविकानै चढ़ाएकी छ।”—लूका २१:१-४.
त्यसैगरि, भौतिक तवरमा आफ्ना आमाबाबु वा बाजेबज्यैको यथासम्भव हेरविचार गरेका छौं भने यहोवाले त्यो सम्झनुहुन्छ र त्यसको कदर गर्नुहुन्छ। हामीले सकी नसकी गरेको उहाँ चाहनुहुन्न। शायद हाम्रा आमाबाबु वा बाजेबज्यै पनि त्यस्तै महसुस गर्नुहुन्छ होला।
भावनात्मक तवरमा दिनु
आमाबाबु वा बाजेबज्यैको निम्ति प्रबन्ध गर्नु भनेको उहाँहरूको भौतिक खाँचो पूरा गर्नु मात्र होइन। हामी सबैका आ-आफ्नै भावनात्मक आवश्यकताहरू छन्। वृद्धहरूका साथै अरूले आफूलाई माया गरेको, कदर गरेको, आवश्यकता महसुस गरेको चाहन्छन् र सबै परिवारका सम्मानित सदस्य हुन मन पराउँछन्।
केन्यामा बस्ने मेरीले आफ्नी वृद्धा सासूको स्याहारसुसार गरेको तीन वर्ष भइसक्यो। मेरी भन्छिन्: “उहाँका भौतिक आवश्यकताहरू पूरा गर्नुबाहेक हामी उहाँसित सधैं कुराकानी गर्छौं। आमाले पहिलेजस्तो घरधन्दामा सघाउन सक्नुहुन्न तर हामी आपसमा कुरा गरेर घनिष्ठ मित्र भएका छौं। कहिले परमेश्वरबारे त कहिलेकाहीं पहिले बसेको ठाउँका छिमेकीहरूबारे हामी कुरा गर्छौं। नब्बे वर्ष पार गरिसक्नुभए तापनि उहाँको स्मरण शक्ति बडो तेज छ। उहाँ सानै छँदाखेरिको समय अर्थात् १९१४ अघिका दिनहरू सम्झनुहुन्छ र त्यतिबेलाका घटनाहरू सुनाउनुहुन्छ।”
मेरी अझै यसो भन्छिन्: “उमेर ढल्किसकेकाहरूको हेरविचार गर्नु सजिलो छैन तर उहाँलाई हामीबीच पाउँदा बहुमूल्य इनामहरू पनि पाएका छौं। हाम्रो परिवारमा शान्ति र मेलमिलाप छ। मैले उहाँको ख्याल गरेको देखेर परिवारमा अरूले पनि एकअर्काको ख्याल गर्न थालेका छन्। श्रीमान्ले मलाई पहिलेभन्दा धेरै सम्मान गर्न थाल्नुभएको छ। कसैले मसित ठूलो स्वरमा बोलेको आमाले सुन्नुभयो भने, तुरुन्तै मेरो पक्षमा जवाफ दिनुभइहाल्छ। उहाँ घरमा हुनुहुँदा मसित कसैले पनि ठूलो स्वरमा बोल्न पाउँदैन!”
आध्यात्मिक तवरमा दिनु
भौतिक तथा आध्यात्मिक तवरमा दिंदा इनाम पाएजस्तै आध्यात्मिक तवरमा दिंदा पनि इनाम पाइन्छ। रोमको मसीही मण्डलीलाई प्रेरित पावलले यसो लेखे: “तिमीहरूलाई स्थिर गराउनाको खातिर केही आत्मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्न अति इच्छा गर्दछु, अर्थात् तिमीहरू र मेरो, दुवैको विश्वासबाट हामी प्रत्येकले आपसमा, मैले तिमीहरूसित र तिमीहरूमानै, सान्त्वना पाऔं।”—रोमी १:११, १२.
त्यसैगरि, परमेश्वरको सेवा गर्ने वृद्धहरूलाई आध्यात्मिक तवरमा दिंदा दुवै पक्षले उत्तिकै प्रोत्साहन पाउँछ। नाइजेरियाका ओसन्डु बताउँछन्: “बाजेबज्यैसित कुरा गर्दा उहिले उहिले समय कस्तो थियो कल्पना गर्नसक्छु। त्यसैले मलाई उहाँहरूसित कुरा गर्न रमाइलो लाग्छ। हजुरबुबाले १९५० र १९६० को दशकतिर पूर्ण-समय सेवकाई गर्नुभएको इलाकाबारे बताउनुहुँदा उहाँका आँखा खुशीले चम्कन थाल्छन्। अहिलेको मण्डली र उहाँ साक्षी बन्नुभएको समयतिरको मण्डलीबीच उहाँ तुलना गर्नुहुन्छ। उहाँका यी अनुभवहरूले मलाई अग्रगामीको रूपमा सेवा गर्न सहयोग गरेका छन्।”
वृद्धहरूलाई मसीही मण्डलीका अरूले पनि मदत दिनसक्छन्। सुरुमा उल्लेख गरिएका तुन्जीले तिनको मण्डलीमा के भयो, यसरी बताए: “जनभाषण दिन खटाइएका एक नवयुवक अग्रगामी भाइले उक्त भाषणको रूपरेखा ल्याए र मेरो ससुरा बासित मिलेर तयार गरे। प्रहरीधरहरा अध्ययन सञ्चालकले पनि बालाई यसो भने: ‘तपाईं अनुभवी हुनुहुन्छ। मैले उन्नति गर्न के कसो गर्नुपर्ला बताइदिनुहुन्छ कि?’ बाले त्यस प्राचीन भाइलाई केही व्यवहारिक सुझाउ दिनसक्नुभयो। मण्डलीमा प्रार्थना गर्दा पनि भाइहरूले बालाई सम्झनुहुन्थ्यो। यी कुराहरूले गर्दा अरूलाई आफ्नो आवश्यकता रहेछ भनेर बाले महसुस गर्नुहुन्थ्यो।”
असल आचरणले मानिसहरूलाई परमेश्वरतिर खिच्छ
आमाबाबु तथा बाजेबज्यैलाई आदर र माया गर्दा कहिलेकाहीं हामी मानिसहरूलाई परमेश्वरतिर खिचिरहेका हुन्छौं। प्रेरित पत्रुसले यस्तो लेखे: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।”—१ पत्रुस २:१२.
पश्चिम अफ्रिकाका मसीही प्राचीन, एन्ड्रु आफ्नो बिरामी बुबाको हेरविचार गर्न हप्तामा दुइ पटक ९५ किलोमिटर लामो यात्रा गर्छन्। स्मरण रहोस्, एन्ड्रुका बुबाको विश्वास भिन्नै छ। तिनी भन्छन्: “म यहोवाको साक्षी बन्दा बुबाले घोर विरोध गर्नुभएको थियो। तर उहाँ बिरामी पर्नुहुँदा मैले गरेको स्याहारसुसार देखेर उहाँले मेरा भाइबहिनीहरूलाई बारम्बार भनिरहनुहुन्थ्यो ‘तिमीहरूले पनि दाइकै धर्म पछ्याउनू’! यो कुराले तिनीहरूको मन छोयो। अहिले हामी नौ जना दाजुभाइ-दिदीबहिनी यहोवाका साक्षी भइसकेका छौं।”
वृद्ध आमाबाबुको आदर तथा हेरविचार गर्नु चानचुने कुरा होइन। अझ त्यसमा पनि आर्थिक अवस्था कमजोर छ भने त यसो गर्नु चुनौती नै हुन्छ। तैपनि मसीहीहरू त्यसै गर्ने कोसिस गर्छन् र परिणामस्वरूप धेरै आशिष् पाउँछन्। सबैभन्दा ठूलो कुरा, तिनीहरूले दिंदा खेरि आनन्द प्राप्त गर्छन्। यसका साथै “सबैका . . . पिता” यहोवा परमेश्वरलाई खुशी तुल्याइरहेका छन् भन्ने कुरा थाह पाएर सन्तुष्टि महसुस गर्छन्।—एफिसी ४:६.
[पृष्ठ ८-मा भएको पेटी]
हेरविचार पाउने तथा गर्ने दुवैका लागि ईश्वरीय सल्लाह
प्रोत्साहनदायी हुनुहोस्: “हामी हरेकले आफ्नो छिमेकीलाई उसको भलाइको निम्ति सुधार्नालाई खुश तुल्याउनुपर्छ।”—रोमी १५:२.
धीरजी हुनुहोस्: “भलाइ गर्नामा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।”—गलाती ६:९.
नम्र हुनुहोस्: ‘विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान।’—फिलिप्पी २:३.
भलाइ गर्नुहोस्: “आफ्नै होइन, तर आफ्नो छिमेकीको भलाइ खोज।”—१ कोरिन्थी १०:२४.
व्यवहारिक हुनुहोस्: “तिमीहरूको सहनशीलता [“व्यवहारिकता,” NW] सबै मानिसहरूलाई थाह होस्।”—फिलिप्पी ४:५.
सहानुभूतिशील हुनुहोस्: “एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।”—एफिसी ४:३२.
[पृष्ठ ८-मा भएको चित्र]
भर्खर भर्खरै प्राचीन नियुक्त भएकाहरूले वृद्ध जनहरूका अनुभवबाट लाभ उठाउनसक्छन्