पाठ ३७
बाइबलले काम र रुपैयाँ-पैसाबारे के भन्छ?
के तपाईँले कहिल्यै काम वा रुपैयाँ-पैसाको चिन्ताले दबिएको महसुस गर्नुभएको छ? हामीलाई आफ्ना आवश्यकताहरू पूरा गर्नुका साथै यहोवाको उपासना गर्दै जीवन बिताउन गाह्रो हुन सक्छ। तर काम र रुपैयाँ-पैसाबारे बाइबलले दिने व्यावहारिक सुझावले हामीलाई मदत गर्न सक्छ।
१. बाइबलले कामबारे के भन्छ?
परमेश्वर हामीले कामबाट सन्तुष्टि पाएको चाहनुहुन्छ। बाइबलले “मानिसको लागि . . . आफ्नो कामबाट सन्तुष्टि पाउनुभन्दा उत्तम कुरा अरू केही छैन” भनेर बताउँछ। (उपदेशक २:२४) यहोवा मेहनती हुनुहुन्छ। हामी उहाँजस्तै मेहनती भयौँ भने उहाँ खुसी हुनुहुनेछ अनि हामीले सन्तुष्टि पाउनेछौँ।
काम महत्त्वपूर्ण छ। तर हामीले कहिल्यै पनि यहोवाको उपासनालाई भन्दा कामलाई महत्त्व दिनु हुँदैन। (युहन्ना ६:२७) हामीले उहाँलाई पहिलो स्थानमा राख्यौँ भने उहाँले हाम्रा भौतिक आवश्यकताहरू पूरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ।
२. रुपैयाँ-पैसाप्रति सन्तुलित दृष्टिकोण राख्नु भनेको के हो?
हुनत बाइबलले “रुपैयाँ-पैसाले सुरक्षा दिन्छ” भनेर बताउँछ तर त्यसले मात्र हामीलाई आनन्दित बनाउन सक्दैन भनेर पनि सजग गराउँछ। (उपदेशक ७:१२) त्यसैले रुपैयाँ-पैसालाई प्रेम नगर्न बरु “अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट” हुन प्रोत्साहन दिइएको छ। (हिब्रू १३:५ पढ्नुहोस्।) हामी आफूसित भएका कुराहरूमा सन्तुष्ट भयौँ भने अझ धेरै धनसम्पत्ति थुपार्ने चाहनाले गर्दा निराश हुनेछैनौँ। साथै हामीले अनावश्यक ऋणको भार बोक्नुपर्दैन। (हितोपदेश २२:७) त्यति मात्र होइन, हामी जुवा खेल्ने र रातारात धनी हुने प्रलोभनहरूमा पर्नदेखि जोगिन्छौँ।
३. रुपैयाँ-पैसाको सन्दर्भमा हामी कसरी उदार हुन सक्छौँ?
यहोवा उदार परमेश्वर हुनुहुन्छ। हामी “उदार” र “बाँडचुँड गर्न तत्पर” हुँदा उहाँको अनुकरण गरिरहेका हुन्छौँ। (१ तिमोथि ६:१८) हामी मण्डलीलाई सहयोग गर्न र खाँचोमा परेकाहरूलाई, विशेषगरि सङ्गी उपासकहरूलाई मदत गर्न उदारचित्त भई रुपैयाँ-पैसा प्रयोग गर्न सक्छौँ। हामीले कति दियौँ भन्ने कुरामा नभई कुन मनसायले दियौँ भन्ने कुरामा यहोवा चासो राख्नुहुन्छ। मनैदेखि उदार भई दिँदा हामी आनन्दित हुनेछौँ र यहोवालाई खुसी तुल्याउनेछौँ।—प्रेषित २०:३५ पढ्नुहोस्।
अझ खोतल्नुहोस्
कामलाई उचित महत्त्व दिँदा र आफूसित भएका कुराहरूमा सन्तुष्ट हुँदा के-के फाइदा हुन्छ, बुझ्नुहोस्।
४. यहोवाको महिमा हुने तरिकामा काम गर्नुहोस्
कामप्रतिको हाम्रो दृष्टिकोणबाट यहोवासितको मित्रतालाई हामी कत्तिको महत्त्वपूर्ण ठान्छौँ भनेर देखिनुपर्छ। भिडियो हेर्नुहोस् अनि तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्:
भिडियोमा देखाइएका जेसनले काम गर्ने ठाउँमा देखाएको मनोवृत्ति र आचरण तपाईँलाई किन राम्रो लाग्यो?
तिनले कामलाई कसरी उचित महत्त्व दिए?
कलस्सी ३:२३, २४ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
हामीले कामप्रति उचित दृष्टिकोण राख्नु किन महत्त्वपूर्ण छ?
काम महत्त्वपूर्ण छ। तर हामीले कहिल्यै पनि यहोवाको उपासनालाई भन्दा कामलाई महत्त्व दिनु हुँदैन
५. आफूसित भएका कुराहरूमा सन्तुष्ट हुँदा हाम्रै फाइदा हुन्छ
प्रायजसो मानिस धेरैभन्दा धेरै रुपैयाँ-पैसा कमाउन लागिपर्छन्। तर बाइबलको सल्लाह भने फरक छ। पहिलो तिमोथि ६:६-८ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
बाइबलले हामीलाई के गर्न प्रोत्साहन दिन्छ?
हामीसित भौतिक कुराहरू थोरै भए तापनि हामी आनन्दित हुन सक्छौँ। भिडियो हेर्नुहोस् अनि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
यी परिवारहरूसित थोरै रुपैयाँ-पैसा भए तापनि तिनीहरू किन आनन्दित छन्?
हामीसित प्रशस्तै रुपैयाँ-पैसा छ तर अझ धेरै थुपार्न चाहन्छौँ भने नि? येसुले यस्तो मनोवृत्ति कत्ति खतरनाक छ भनेर बुझाउन एउटा उदाहरण बताउनुभयो। लुका १२:१५-२१ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
येसुले बताउनुभएको उदाहरणबाट तपाईँले के सिक्नुभयो? —पद १५ हेर्नुहोस्।
हितोपदेश १०:२२ र १ तिमोथि ६:१० पढ्नुहोस् अनि तुलना गर्नुहोस्। त्यसपछि यी प्रश्नहरू छलफल गर्नुहोस्:
तपाईँको विचारमा यहोवासितको मित्रता र रुपैयाँ-पैसामध्ये कुनचाहिँ महत्त्वपूर्ण छ? किन?
रुपैयाँ-पैसाको पछि लाग्दा के-कस्ता समस्या आइपर्छन्?
६. यहोवाले हाम्रो आवश्यकता पूरा गर्नुहुनेछ
काम र रुपैयाँ-पैसाको समस्या पर्दा यहोवामाथिको हाम्रो विश्वासको जाँच हुन सक्छ। यस्तो अवस्थामा हामीले चाल्न सक्ने कदमहरूबारे जान्न भिडियो हेर्नुहोस् अनि तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्:
भिडियोमा देखाइएका भाइले कस्ता चुनौतीको सामना गरे?
तिनले ती चुनौतीहरू कसरी पार गर्न सके?
मत्ति ६:२५-३४ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहोवालाई पहिलो स्थानमा राख्ने मानिसहरूको लागि उहाँले के गर्ने प्रतिज्ञा गर्नुभएको छ?
कोही-कोही भन्छन्: “परिवार पाल्न म दिनरात खट्नुपर्छ। त्यसैले हरेक हप्ता मण्डलीका सभाहरूमा जान सक्दिनँ।”
यहोवाको उपासनालाई सधैँ पहिलो स्थानमा राख्नु उत्तम निर्णय हो भनेर विश्वस्त हुन तपाईँलाई कुन बाइबल पदले मदत गऱ्यो?
सारांश
काम र रुपैयाँ-पैसा महत्त्वपूर्ण छन्। तर यी कुराहरूले गर्दा हामी यहोवाको सेवा गर्नदेखि कहिल्यै अलमलिनु हुँदैन।
तपाईँले के सिक्नुभयो?
तपाईँलाई कामप्रति सन्तुलित दृष्टिकोण राख्न कुन कुराले मदत गर्न सक्छ?
आफूसित भएका कुराहरूमा सन्तुष्ट हुँदा तपाईँलाई कस्तो फाइदा हुन्छ?
यहोवाले आफ्ना सेवकहरूको आवश्यकता पूरा गर्नुहुन्छ भन्ने प्रतिज्ञामा भरोसा गरेको तपाईँ कसरी देखाउन सक्नुहुन्छ?
अझ धेरै जान्नुहोस्
बाइबलमा रुपैयाँ-पैसालाई खराब कुरा भनिएको छ कि छैन, जाँच्नुहोस्।
“के रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो?” (jw.org को लेख)
हामी कसरी परमेश्वरलाई खुसी बनाउने तरिकामा रुपैयाँ-पैसा प्रयोग गर्न सक्छौँ, बुझ्नुहोस्।
जुवातास खेल्नु हानिकारक छ कि छैन?
“बाइबलको दृष्टिकोण —जुवातास खेल्नु” (ब्यूँझनुहोस्!, अप्रिल २०१५)
एक जना जुवाडे र लुटेरालाई आफ्नो जीवनशैली परिवर्तन गर्न कुन कुराले उत्प्रेरित गऱ्यो, पढ्नुहोस्।
“म घोडादौड भनेपछि हुरुक्कै हुन्थें” (प्रहरीधरहरा, अप्रिल १, २०१२)