साँचो जीवनलाई जतन गर्नुहोस्
के जीवन यति नै हो? “त्यो जीवन, जो साँच्चै जीवन हो, सो पक्री राखून्” भनेर हामीलाई प्रोत्साहन दिंदा जीवन यति मात्र होइन भनी बाइबलले संकेत गर्छ। (१ तिमोथी ६:१७-१९) हाम्रो वर्तमान जीवन साँचो जीवन होइन भने कुन चाहिं हो त?
अगिल्लो शास्त्रपदको सन्दर्भले त्यो जीवन “अनन्त जीवन” हो भनी देखाउँछ जसलाई ईश्वरभीरू व्यक्तिले दह्रो गरी पक्री राख्नु पर्छ। (१ तिमोथी ६:१२) अधिकांश व्यक्तिहरूको लागि यसको अर्थ पृथ्वीमा अनन्त जीवन हुनेछ। प्रथम मानव आदमसित पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने प्रत्याशा थियो। (उत्पत्ति १:२६, २७) “असल र खराबको ज्ञान[को] रूखको फल” खाएको खण्डमा मात्र तिनी मर्नेथिए। (उत्पत्ति २:१७) तर आदम र तिनकी पत्नी, हव्वाले अनाज्ञाकारीपूर्वक त्यस रूखको फल खाएको हुँदा परमेश्वरले तिनीहरूमाथि मृत्युदण्ड सुनाउनुभयो। ‘जुन दिन तिनीहरूले त्यो फल खाए’ त्यही बेलादेखि तिनीहरू परमेश्वरको नजरमा मरे र शारीरिक मृत्युतर्फ खस्कँदै गए। त्यस उप्रान्त तिनीहरूको जीवनको गुणस्तर तिनीहरूले सुरुमा आनन्द उठाएको जस्तो भएन।
“साँच्चै जीवन[को]” मार्ग
“साँच्चै जीवन[लाई]” सम्भव पार्न यहोवा परमेश्वरले मानवजातिलाई छुटकारा दिने प्रबन्ध मिलाउनुभयो। यस प्रबन्धलाई बुझ्न एउटा सानो कारखानाको कल्पना गरौं। यहाँका सबै यन्त्रहरू त्रुटिपूर्ण छन् र सञ्चालकहरूलाई बाधा पुऱ्याउँछ किनभने वर्षौंअघि प्रथम कार्यकर्त्ताले निर्देशकको निर्देशन पुस्तिकालाई वास्ता गरेनन् र सबै यन्त्रहरू बिगारे। वर्तमान समयका सञ्चालकहरूले आफूसित उपलब्ध यन्त्रहरूबाट यथासम्भव काम मात्र गर्न सक्छन्। आफ्ना कामदारहरूलाई मदत गर्न कारखानाका मालिकले यन्त्रहरू मर्मत गर्न चाहन्छन् र त्यस उद्देश्य पूर्तिको लागि पूँजी जम्मा गरिरहेका छन्।
प्रथम ‘यन्त्र सञ्चालक’ आदमले आफूलाई सुम्पिएको जीवनलाई जतन गरेनन्। यसर्थ, काम नलाग्ने यन्त्र जस्तै असिद्ध जीवन तिनले आफ्ना सन्तानहरूलाई दिए। (रोमी ५:१२) परिस्थिति सुधार्न नसक्ने कारखानाका पछिका सञ्चालकहरूझैं आदमका सन्तानहरू आफ्नो लागि साँच्चैको जीवन प्राप्त गर्न असफल भएका छन्। (भजनसंग्रह ४९:७) हेर्दा आशाहीन देखिने परिस्थिति सुधारेर मानवजातिको निम्ति अनन्त जीवन पुनः उपलब्ध गराउन यहोवाले आफ्नो एकमात्र पुत्रलाई पृथ्वीमा पठाउनुभयो। (लूका १:३५; १ पत्रुस १:१८, १९) मानवजातिको खातिर बलिदानरूपी मृत्यु भोग्नु भएर परमेश्वरको एकमात्र पुत्र, येशू ख्रीष्टले आदमले गुमाएको जीवन बराबरको पूँजी प्रदान गर्नुभयो। (मत्ती २०:२८; १ पत्रुस २:२२) यस मूल्यवान बलिदानले गर्दा अब यहोवासित साँच्चैको जीवन प्रदान गर्ने आधार छ।
आज्ञाकारी मानवजातिको लागि येशूको छुटकाराको बलिदानको अर्थ पार्थिव प्रमोदवनमा अनन्त जीवन हुनेछ। (भजनसंग्रह ३७:२९) आर-मागेडान भनी उल्लेख गरिएको “परमेश्वरको ठूलो दिनको लड़ाइँ[मा]” बाँच्ने सबैको निम्ति यो आशा खुला छ। (प्रकाश १६:१४-१६) यसले पृथ्वीबाट सारा दुष्टता नामेट गर्नेछ। (भजनसंग्रह ३७:९-११) परमेश्वरको स्मरणमा भएका जति पनि व्यक्तिहरू आर-मागेडोन पहिले मर्छन् तिनीहरू पुनःस्थापित पार्थिव प्रमोदवनमा पुनरुत्थान गरिनेछन् र परमेश्वरको आज्ञा पालन गर्ने सबैले आनन्द उठाउन सक्ने साँचो जीवनको प्रत्याशा तिनीहरू सामु हुनेछ।—यूहन्ना ५:२८, २९.
हाम्रो वर्तमान जीवनलाई कदर गर्नुपर्ने आवश्यकता
यसको अर्थ हामीले हाम्रो वर्तमान जीवनको पवित्रतालाई औचित्यसाथ बेवास्ता गर्न सक्छौं भनेको होइन। यन्त्रको रेखदेख नगर्ने कामदारको लागि के कारखानाको मालिकले समय र पैसा खर्च गरेर यन्त्र मर्मत गर्छ? बरु, पुरानो यन्त्रलाई राम्रो रेखदेख गर्ने मानिसको हातमा मर्मत गरिएको यन्त्र मालिकले सुम्पँदैन र?
जीवन यहोवाले दिनुभएको मूल्यवान वरदान हो। उहाँ त्यस वरदानको परोपकारी स्रोत हुनाकारण हामीले त्यसको कदर गरेको चाहनुहुन्छ। (भजनसंग्रह ३६:९; याकूब १:१७) पृथ्वीका मानिसहरूप्रति यहोवाको चासोबारे येशूले यसो भन्नुभयो: “तिमीहरूको कपालको केशसमेत गनिएका छन्।” (लूका १२:७) यहोवाले इस्राएलीहरूलाई हत्या नगर्ने आज्ञा दिनुभयो जसमा स्वाभिवकतः आफूलाई हत्या नगर्ने आज्ञा समावेश थियो। (प्रस्थान २०:१३) यसले आत्महत्या एउटा छनौटको रूपमा हेर्नबाट हामीलाई जोगाउँछ।
हाम्रो हितको लागि यहोवाका मायालु चासोहरू थाहा पाएर ईश्वरभीरू मानिसहरूले वर्तमान प्रचलनहरूमा बाइबलका सिद्धान्तहरू अपनाउँछन्। उदाहरणको लागि, ‘शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफूलाई शुद्ध पार्न र परमेश्वरको डर राखेर पवित्रतालाई सिद्ध पार्न’ साँचो मसीहीहरूबाट माग गरिएकोले तिनीहरू सुर्ती र मस्तिष्कलाई खलल पार्ने लागू पदार्थहरू खाँदैनन्।—२ कोरिन्थी ७:१.
परमेश्वरले मानिसहरूलाई “शान्त मन” कायम गर्न र अनैतिक आचरणबाट अलग बस्न सल्लाह दिनुहुन्छ। यसबाट मानव जीवनप्रति परमेश्वरको चासो अझ प्रष्टिन्छ। (हितोपदेश १४:३०; गलाती ५:१९-२१) यी उच्च स्तरहरू पालन गर्नाले हामीहरू स्वास्थ्य घातक क्रोध र यौनजन्य रोगहरूबाट सुरक्षित हुन्छौं।
घिचुवापन र मतवालापनबाट अलग बस भन्ने सल्लाहबाट पनि मानिसहरूको जीवनप्रति यहोवाको चासो प्रमाणित हुन्छ। (व्यवस्था २१:१८-२१; हितोपदेश २३:२०, २१) लोभी मानिसहरू र जँड्याहाहरू परमेश्वरको राज्यको हकदार हुनेछैनन् भनी मसीहीहरूलाई चेताउनी दिइएको छ। त्यसको अर्थ हो, तिनीहरूले साँच्चैको जीवन कहिल्यै अनुभव गर्नेछैनन्। (१ कोरिन्थी ६:९, १०; १ पत्रुस ४:३) विनयी हुन प्रोत्साहन दिनुभएर यहोवाले हाम्रै भलाइको लागि सिकाउनुहुन्छ।—यशैया ४८:१७.
परमेश्वरको स्तरअनुरूप जीवन बिताउँदा हामी हाम्रो वर्तमान जीवनलाई जतन गर्छौं भनी देखाउँछौं। निस्सन्देह, साँचो जीवन अझ बढी उल्लेखनीय छ। त्यो अनन्त जीवन हुनाले साँचो मसीहीहरू त्यसलाई वर्तमान जीवनभन्दा बढी महत्त्व दिन्छन्। येशू ख्रीष्टले आफ्नो जीवन बलिदान दिनुहुँदा उहाँ यहोवाको इच्छाको अधीनमा हुनुभयो। पृथ्वीको जीवनभन्दा पिताप्रति आज्ञाकारी हुनु उहाँको निम्ति बढी महत्त्वपूर्ण थियो। येशूको मार्गले गर्दा उहाँको पुनरुत्थान र स्वर्गमा अमर जीवन प्राप्त गर्न सम्भव भयो। (रोमी ६:९) उहाँको मृत्युको अर्थ उहाँको छुटकाराको बलिदानमा विश्वास गर्ने आज्ञाकारी मानवजातिको निम्ति अनन्त जीवन पनि हो।—हिब्रू ५:८, ९; १२:२.
रगतसम्बन्धी अत्यावश्यक नियम
येशूका अनुयायीहरूले उहाँको सोचाइ प्रतिबिम्बित गर्छन् भनेर सजिलै बुझ्न सकिन्छ। ख्रीष्टले जस्तै तिनीहरू सबै कुरामा परमेश्वरलाई खुशी तुल्याउन खोज्छन्। केही डाक्टरहरूको भनाइअनुसार जीवनदायी रक्तक्षेपणलाई तिनीहरूले इन्कार गर्नुको कारण यसैबाट प्रष्ट हुन्छ। आउनुहोस्, रक्तक्षेपण इन्कार गरेर एक व्यक्तिले साँचो जीवनलाई कसरी जतन गर्छ हेरौं।
येशू ख्रीष्टजस्तै साँचो मसीहीहरू पनि परमेश्वरको नजरमा जीवित हुने इच्छा गर्छन् र त्यसो गर्न उहाँप्रति पूर्ण आज्ञाकारिता आवश्यक हुन्छ। परमेश्वरको वचनले ख्रीष्टका अनुयायीहरूलाई यस्तो आज्ञा दिन्छ: “तपाईंहरू मूर्तिहरूलाई बलि चड़ाएको प्रसाद, रगत, गला अँठ्याएर मारेको जन्तुको मासु र व्यभिचारबाट अलग रहनुहोस्।” (प्रेरित १५:२८, २९) मसीहीहरूमाथि लागू हुने आज्ञाहरूमध्ये रगतसम्बन्धी यो आज्ञा पनि किन समावेश गरिएको?
इस्राएलीहरूलाई दिइएको व्यवस्थाअनुसार रगतबाट अलग बस्नु आवश्यक थियो। (लेवी १७:१३, १४) मसीहीहरू मोशाको व्यवस्थाको अधीनमा छैनन्। तर रगत नखानू भन्ने आज्ञा उपरोक्त आज्ञाभन्दा अघि दिइएको हो भनी तिनीहरूलाई थाहा छ; जलप्रलयपश्चात् त्यो आज्ञा नूहलाई दिइसकेको थियो। (उत्पत्ति ९:३, ४; कलस्सी २:१३, १४) पृथ्वीका सबै जातिहरू नूहकै सन्तान हुनाले यो आज्ञा सबैमाथि लागू हुन्छ। (उत्पत्ति १०:३२) यस अलावा, रगतको पवित्रतामाथि परमेश्वरले जोड दिनु भएको कारण बुझ्न हामीलाई मोशाको व्यवस्थाले मदत गर्छ। कुनै प्राणीको रगत खान इस्राएलीहरूलाई मनाही गरिसक्नु भएपछि परमेश्वरले यसो भन्नुभयो: “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। मैले रगतचाहिं वेदीमा तिमीहरूको प्रायश्चित गर्नलाई दिएको छु, किनभने त्यसमा प्राण भएको हुनाले रगतद्वारा प्रायश्चित गरिन्छ।” (लेवी १७:११) वेदीमा बलिदानहरू चढाउन परमेश्वरले रगतलाई छुट्टयाउनु भएको थियो। रगतको पवित्रतासम्बन्धी उहाँको नियमले पृथ्वीका सारा प्राणीहरूमाथि उहाँको अख्तियार प्रकट गर्छ। (इजकिएल १८:४; प्रकाश ४:११) हाम्रो जीवनलाई यहोवाको नजरबाट हेर्दा त्यो हाम्रो होइन तर केवल परमेश्वरले हामीलाई सुम्पनु भएको हो भनी हामी बुझ्छौं।
हाम्रो उदाहरणमा यन्त्रको लागि सञ्चालक जिम्मेवार भएझैं हामीलाई हाम्रो वर्तमान जीवन सुम्पिएको छ। तपाईंको यन्त्र बिग्रियो र निर्देशन पुस्तिकामा किटेरै निषेध गरिएका पाटपुर्जाहरू प्रयोग गरेर मर्मत गर्ने सुझाव मिस्त्रीले दियो भने तपाईं के गर्नुहुनेछ? निर्देशन पुस्तिकाका निर्देशनअनुसार यन्त्र बनाउन सकिन्छ कि सकिंदैन भनेर के तपाईं अरू मिस्त्रीहरूसित सरसल्लाह गर्नुहुन्न र? मानव जीवन एउटा यन्त्रभन्दा अति नै महत्त्वपूर्ण र जटिल छ। मानवहरूलाई जीवित राख्ने निर्देशन पुस्तिका, उहाँको प्रेरित वचनमा हाम्रो सृजनहारले जीवन धान्न रगतलाई निषेधित गर्नुभएको छ। (व्यवस्था ३२:४६, ४७; फिलिप्पी २:१६) त्यो निर्देशन पुस्तिकाको आवश्यकताअनुसार चल्नु के तर्कसंगत कुरा होइन र?
वास्तवमा, रगतबिनाको उपचारविधि माग्ने मसीही आमाबाबुहरूले सम्पूर्ण चिकित्सा उपचारविधिहरूलाई इन्कार गरिरहेका हुँदैनन्। तिनीहरूले वर्तमान र भविष्य दुवै जीवनप्रति आदर देखाउने उपचारविधि खोजिरहेका हुन्छन्। मसीहीहरूले लिएको अडानलाई साहसीपूर्वक आदर गर्ने डाक्टरहरूले तिनीहरूको मागअनुसार उपचार गर्दा हुने लाभहरूको पुष्टि दिन्छन्। पहिले असाध्यै रगत प्रयोग गर्ने एक शल्यचिकित्सक यसो भन्छन्: “यहोवाका साक्षीहरूलाई भेट्दा मैले मूल्यवान कुराहरू सिक्न पाएँ।” अहिले तिनी गैरसाक्षीहरूलाई पनि रगत प्रयोग नगरी उपचार गर्न खोज्छन्।
साँचो जीवनलाई जतन गर्ने
यहोवाका साक्षीहरूलाई उपचार गर्दा यस शल्यचिकित्सकले सिकेका मूल्यवान कुराहरू के थिए? एक जना बिरामीको उपचार गर्नु भनेको उसको शरीरको रोगी भाग मात्र नभई सम्पूर्ण व्यक्तिलाई नै उपचार गर्नु आवश्यक हुन्छ भनी तिनले अहिले बुझेका छन्। एक जना बिरामीलाई उसको शारीरिक, आध्यात्मिक तथा भावनात्मक हितको लागि सर्वोत्तम उपचारको माग गर्ने अनुमति दिनु पर्दैन र?
प्राणघातक ल्युकेमियाले पीडित १५ वर्षीया कुमिकोको लागि उपचारस्वरूप रक्तक्षेपण सम्भाव्य सबैभन्दा नराम्रो विकल्प थियो। यस माध्यमद्वारा केही हप्ता, महिना अथवा वर्षजति जीवन लम्बिए तापनि उनले चुकाउनु पर्ने दीर्घकालीन मूल्यको दाँजोमा कुनै मोलको थिएन। यहोवाको साक्षीको हैसियतमा आफ्नो जीवन समर्पण गरिसकेको हुँदा उनी जीवन र रगतको पवित्रतालाई आदर गर्थिन्। उनको बुबा र नातेदारहरूले कडा विरोध गरे तापनि कुमिको आफ्नो अडानमा दृढ रहिन्। उनको डाक्टरले उनलाई एक पटक सोधेका थिए: “तिम्रो परमेश्वरले गलतीहरू माफी दिनुहुन्छ भने तिमीले रक्तक्षेपण स्वीकार्दा के उहाँले तिमीलाई माफी दिनुहुन्न र?” कुमिकोले सम्झौता गरेर बाइबलमा आधारित विश्वासलाई त्याग्न इन्कार गरिन्। “जीवनको वचन” दृढतापूर्वक पक्रेर कुमिको आफ्नो अडानमा दृढ बसिन्। (फिलिप्पी २:१६) उनकी अविश्वासी हजुरआमाले भनेझैं “कुमिको आफ्नो विश्वास त्याग्न तयार थिइनन्।” चाँडै उनका बुबा र हजुरआमा लगायत उनलाई उपचार गरिरहेका डाक्टरहरूको मनोवृत्ति परिवर्तन भयो।
मृतकहरूबाट पुनरुत्थान गर्न सक्नुहुने यहोवा परमेश्वरमाथि कुमिकोको बलियो विश्वासले गर्दा धेरै मानिसहरूको हृदय परिवर्तन भयो। जीवित छँदा उनले आफ्नो बुबालाई यसो भनेर बिन्ति गरिन्: “म अहिले मरे तापनि प्रमोदवनमा मेरो पुनरुत्थान हुनेछ। तर तपाईं आर-मागेडोनमा नाश हुनु भयो भने म तपाईंलाई देख्न पाउँदिन। त्यसकारण कृपया बाइबल अध्ययन गर्नुहोस्।” उनको बुबाले केवल यसो भनिरहे: “जब तिमी निको हुन्छौ तब म अध्ययन गर्नेछु।” निष्ठूर रोगले गर्दा जब कुमिकोको मृत्यु भयो उनको बुबाले मुर्दा हाल्ने बाकसमा यस्तो लेखिएको टिपोट हाले: “कुमिको, म तिमीलाई प्रमोदवनमा भेट्नेछु।” शोक-सभापश्चात् उनले त्यहाँ उपस्थित भएकाहरूलाई सम्बोधन गर्दै यसो भने: “प्रमोदवनमा भेट्नेछु भनी मैले कुमिकोलाई प्रतिज्ञा गरेको छु। मैले यथेष्ट अध्ययन नगरेको हुनाले म यसमा अझै विश्वास गर्न सक्दिनँ तर यसलाई राम्ररी जाँच्न मैले दृढ निश्चय गरेको छु। कृपया मलाई मदत गर्नुहोस्।” उनको परिवारका अन्य सदस्यहरूले पनि बाइबल अध्ययन गर्न थाले।
कुमिको जीवनलाई साँच्चै आदर गर्थिन् र बाँच्न चाहन्थिन्। उनले आफ्नो वर्तमान जीवनलाई बचाउन डाक्टरहरूले गरेका सबै कुराको मूल्यांकन गरिन्। सृष्टिकर्त्ताको निर्देशन पुस्तिकाअनुसार जीवन बिताएर साँचो जीवनलाई जतन गर्छिन् भनेर उनले प्रमाणित गरिन्। लाखौंको निम्ति त्यसको अर्थ पार्थिव प्रमोदवनमा अनन्त जीवन हुनेछ। के तपाईं तिनीहरूमध्ये एक हुनुहुनेछ?