अध्याय १३
“सबै थोक परमेश्वरकै महिमाको निम्ति गर”
हामी परमेश्वरका समर्पित सेवक हौँ। त्यसैले हाम्रो बोली र व्यवहार उहाँको महिमा हुने किसिमको हुनुपर्छ। प्रेषित पावलले जीवनको हरेक पक्षमा लागू हुने यस्तो सिद्धान्तबारे बताए: “चाहे तिमीहरू खाओ वा पिओ वा अरू जेसुकै गर, सबै थोक परमेश्वरकै महिमाको निम्ति गर।” (१ कोरि. १०:३१) यो सिद्धान्त लागू गर्नुमा यहोवाका धार्मिक स्तरहरूबमोजिम चल्नु समावेश छ, जुन स्तरहरूले उहाँको त्रुटिरहित व्यक्तित्व झल्काउँछ। (कल. ३:१०) परमेश्वरको पवित्र जनहरूको रूपमा हामीले उहाँको देखासिकी गर्नुपर्छ।—एफि. ५:१, २.
२ यसै कुरामा जोड दिँदै प्रेषित पत्रुसले यस्तो लेखे: “परमेश्वरको ज्ञान नपाउँदा तिमीहरू जुन इच्छाअनुसार चल्थ्यौ, अब आज्ञाकारी बालकहरू भएर त्यसअनुसार चल्न छोड। तर तिमीहरूलाई बोलाउनुहुने पवित्र परमेश्वरजस्तै तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ किनभने यस्तो लेखिएको छ: ‘तिमीहरू पवित्र हुनै पर्छ किनकि म पवित्र छु।’” (१ पत्रु. १:१४-१६) प्राचीन समयका इस्राएलीहरूजस्तै ख्रिष्टियन मण्डलीका सबै जना पवित्र हुनुपर्छ। यसको मतलब तिनीहरू पाप गर्न लगाउने कुराहरूदेखि र संसारका मानिसहरूको तौरतरिकाअनुसार चल्नदेखि अलग रहनुपर्छ अनि आफूलाई निष्खोट र स्वच्छ राख्नुपर्छ। यसरी तिनीहरू पवित्र सेवाको लागि छुट्ट्याइएका जन हुन्छन्।—प्रस्थ. २०:५.
३ पवित्र बाइबलमा स्पष्टै औँल्याइएको यहोवाको नियम र सिद्धान्तअनुरूप चलेर हामी पवित्र रहन सक्छौँ। (२ तिमो. ३:१६) बाइबलको अध्ययन गरेर हामीले यहोवा कस्तो परमेश्वर हुनुहुन्छ र उहाँको तौरतरिका कस्तो छ भनेर सिक्यौँ अनि उहाँसित नजिक भयौँ। यहोवाको राज्यलाई पहिलो स्थान दिइरहनुपर्छ अनि उहाँको इच्छा पूरा गर्नुलाई सबैभन्दा महत्त्वपूर्ण कुरा ठान्नुपर्छ भनेर सिक्यौँ। (मत्ति ६:३३; रोमी १२:२) यसैकारण हामीले पुरानो व्यक्तित्व त्यागेर नयाँ व्यक्तित्व धारण गऱ्यौँ।—एफि. ४:२२-२४.
आध्यात्मिक र नैतिक तवरमा स्वच्छ रहनुहोस्
४ यहोवाका धार्मिक स्तरहरूअनुसार जीवन बिताउनु सधैँ सजिलो हुँदैन। हाम्रो शत्रु सैतान हामीलाई यहोवादेखि टाढा लैजान खोज्छ। यस संसारको दुष्ट प्रभाव अनि आफ्नै पापी झुकावले गर्दा कहिलेकाहीँ परमेश्वरले चाहनुभएअनुसार गर्न गाह्रो हुन्छ। समर्पणअनुरूप जीवन बिताउन हामीले आध्यात्मिक लडन्त लड्नुपर्छ। विरोध वा परीक्षा आइपर्दा अचम्म मान्नु पर्दैन भनी बाइबलमा बताइएको छ। परमेश्वरका धार्मिक स्तरहरूबमोजिम चलेको कारण हामीले दुःख भोग्नुपर्ने हुन्छ। (२ तिमो. ३:१२) परीक्षाहरू आइपर्दा हामी आनन्दित हुन्छौँ किनभने हामीलाई थाह छ, यस्ता परीक्षाहरू हामी परमेश्वरको इच्छाबमोजिम चलिरहेका छौँ भन्ने कुराको प्रमाण हो।—१ पत्रु. ३:१४-१६; ४:१२, १४-१६.
५ येसु त्रुटिरहित हुनुहुन्थ्यो तैपनि उहाँले आफूले भोगेका दुःखकष्टबाट आज्ञाकारी हुन सिक्नुभयो। उहाँ न सैतानको प्रलोभनमा फस्नुभयो न त संसारमा नाम-दाम कमाउने कुराको पछि लाग्नुभयो। (मत्ति ४:१-११; युह. ६:१५) उहाँले कहिल्यै यहोवाको सेवामा सम्झौता गर्ने विचारसमेत गर्नुभएन। वफादार भई यहोवाको सेवा गर्नुभएकोले उहाँलाई संसारले घृणा गऱ्यो। तैपनि उहाँले सधैँ यहोवाका धार्मिक स्तरहरू पालन गर्नुभयो। आफ्ना चेलाहरू पनि घृणाको सिकार हुनेछन् भनेर येसुले आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि बताउनुभयो। त्यस समयदेखि संसारले येसुका अनुयायीहरूलाई खेदो गरेको छ। तर तिनीहरू साहसी हुन सकेका छन्। किनभने परमेश्वरको छोरा येसुले संसारलाई जित्नुभएको छ भन्ने कुरा तिनीहरूलाई थाह छ।—युह. १५:१९; १६:३३; १७:१६.
६ यस संसारको भाग नहुन हाम्रा गुरु येसुजस्तै हामी पनि यहोवाका धार्मिक स्तरहरूअनुरूप चल्नुपर्छ। यस संसारको राजनैतिक र सामाजिक मामिलामा मुछिनु हुँदैन। साथै नैतिकतासम्बन्धी संसारको खस्कँदो मनोभावको प्रतिरोध गर्नुपर्छ। हामीले याकुब १:२१ मा पाइने यो सल्लाह गम्भीरतासाथ पालन गर्नुपर्छ: “सबै अशुद्धता र खराबीको हरेक दागलाई हटाओ अनि परमेश्वरले तिमीहरूलाई बचाउन सक्ने वचन तिमीहरूमा रोप्नुहुँदा त्यसलाई नम्रतासाथ स्विकार।” बाइबलको अध्ययन गर्दा र सभाहरूमा उपस्थित हुँदा परमेश्वरले हाम्रो मनमस्तिष्कमा सत्यको ‘वचन रोप्दै हुनुहुन्छ’ भनेर महसुस गर्नेछौँ। अनि संसारले दिने कुराहरूको लालसासमेत गर्नेछैनौँ। चेला याकुबले यस्तो लेखे: “यस संसारसितको मित्रता परमेश्वरसितको शत्रुता हो भनेर के तिमीहरूलाई थाह छैन? त्यसकारण जो यस संसारको मित्र हुन चाहन्छ, उसले आफूलाई परमेश्वरको शत्रु बनाइरहेको हुन्छ।” (याकु. ४:४) त्यसैले यहोवाका धार्मिक स्तरहरूअनुरूप चल्नु र यस संसारबाट अलग रहनुलाई बाइबलमा निकै जोड दिइएको छ।
७ लाजमर्दो र अनैतिक आचरणबाट अलग रहने सन्दर्भमा परमेश्वरको वचनमा हामीलाई यस्तो चेतावनी दिइएको छ: “जस्तो कि पवित्र जनहरूको निम्ति उचित हुन्छ, तिमीहरूमाझ अवैध यौनसम्बन्ध अनि हरकिसिमका अशुद्धपन वा लोभको नामसमेत नलिइओस्।” (एफि. ५:३) त्यसकारण हामीले मनमा छाडा, लाजमर्दो वा भ्रष्ट कुराहरू खेलाउनु हुँदैन। अनि आफ्नो कुराकानीलाई यस्ता विषयतर्फ मोडिन दिनु हुँदैन। यसरी हामी नैतिकतासम्बन्धी यहोवाको स्वच्छ र धार्मिक स्तरहरूअनुरूप चल्न चाहन्छौँ भनेर देखाइरहेका हुन्छौँ।
शारीरिक रूपमा स्वच्छ रहनुहोस्
८ आध्यात्मिक र नैतिक तवरमा स्वच्छ रहनुका साथै शारीरिक रूपमा स्वच्छ रहनु पनि महत्त्वपूर्ण छ भनेर ख्रिष्टियनहरूले बुझेका छन्। पवित्र परमेश्वर यहोवाले इस्राएलीहरूलाई छाउनी सफा राख्न निर्देशन दिनुभएको थियो। हामी पनि स्वच्छ हुनै पर्छ ताकि यहोवाले हामीबीच “कुनै अशुद्ध कुरा देख्न नपरोस्।”—व्यव. २३:१४.
९ बाइबलअनुसार पवित्र रहनु र शारीरिक रूपमा स्वच्छ रहनुबीच नजिकको सम्बन्ध छ। उदाहरणका लागि, पावलले यस्तो लेखे: “हे प्रियहरू हो, . . . तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पारौँ र परमेश्वरको डर राख्दै पूर्णतया पवित्र होऔँ।” (२ कोरि. ७:१) त्यसैले ख्रिष्टियनहरूले आफूलाई शारीरिक रूपमा स्वच्छ राख्न नियमित रूपमा लुगा धुने र नुहाउने गर्नुपर्छ। देशअनुसार परिस्थिति फरक-फरक होला तर हामीमध्ये कोही पनि आफू र आफ्ना बालबच्चाको लागि साबुन-पानीको बन्दोबस्त गर्नै नसक्ने अवस्थामा छैनौँ।
१० हाम्रो प्रचारकार्यले गर्दा हाम्रो टोलछिमेकका प्रायजसो मानिसले हामीलाई चिन्छन्। हाम्रो घरभित्र र बाहिर सफा अनि चिटिक्क छ भने यसले पनि हाम्रा छिमेकीहरूलाई साक्षी दिन्छ। घरलाई सफा र चिटिक्क राख्न परिवारका सबैले मदत गर्नुपर्छ। ख्रिष्टियन दाजुभाइहरूले घर र घरवरपर सफा-सुग्घर राख्न विशेष ध्यान दिनुपर्छ किनकि सफा घर-आँगनले अरू मानिसलाई राम्रो साक्षी दिन्छ। आध्यात्मिक गतिविधिका साथै सरसफाइमा पनि ध्यान दिँदा परिवारको शिरले घरपरिवारको राम्ररी अगुवाइ लिइरहेका छन् भन्ने कुरा देखिन्छ। (१ तिमो. ३:४, १२) ख्रिष्टियन दिदीबहिनीले विशेषगरि घरको रेखदेख गर्ने जिम्मेवारी पाएका छन्। (ति. २:४, ५) आमाबुबाबाट राम्रो प्रशिक्षण पाएका केटाकेटीहरू फोहोरी भएर बस्दैनन्। उनीहरू आफ्नो कोठा सफा अनि चिटिक्क राख्छन्। यसरी एकअर्कालाई सहयोग गर्दै पूरै परिवारले सरसफाइ गर्ने बानी बसाल्न सक्छ। परमेश्वरको राज्यले ल्याउने नयाँ संसारमा यस्तै बानी भएका मानिसहरू बस्नेछन्।
११ आज थुप्रै यहोवाका साक्षी सभामा जान सवारीसाधन चलाउँछन्। कुनै-कुनै ठाउँमा त प्रचारमा जान गाडी नभई हुँदैन। हामीले आफ्नो सवारीसाधनलाई सफा र ठीक अवस्थामा राख्नुपर्छ। हाम्रो घर र सवारीसाधनले हामी यहोवाका स्वच्छ र पवित्र जनहरू हौँ भन्ने कुराको प्रमाण दिनुपर्छ। प्रचारमा जाँदा बोक्ने झोला र बाइबल पनि सफा अनि चिटिक्क हुनुपर्छ।
१२ हाम्रो पहिरन र कोरीबाटी परमेश्वरले दिनुभएको सिद्धान्तअनुरूप हुनुपर्छ। उच्च ओहदाका व्यक्तिलाई भेट्न जाँदा हामी झुत्रेझाम्रे वा लथालिङ्ग भएर जाँदैनौँ। विचार गर्नुहोस्, प्रचारमा जाँदा वा मञ्चबाट भाषण दिँदा हामीले यहोवाको प्रतिनिधित्व गरिरहेका हुन्छौँ। त्यसोभए यी अवस्थाहरूमा हाम्रो पहिरन र कोरीबाटी राम्रो हुनुपर्दैन र? हाम्रो पहिरन र कोरीबाटीले यहोवाको उपासनालाई अरू मानिसले हेर्ने दृष्टिकोणमा निकै असर गर्छ। त्यसैले अभद्र पहिरन लगाउनु र कोरीबाटी गर्नु वा अरूलाई कस्तो लाग्छ भनेर विचारै नगर्नु ठीक होइन। (मिका ६:८; १ कोरि. १०:३१-३३; १ तिमो. २:९, १०) प्रचार, सभा, सम्मेलन र अधिवेशनमा जान तयारी गर्दा हामीले शारीरिक स्वच्छता र भद्र रूपरङबारे बाइबलले बताएको कुरा मनमा राख्नुपर्छ। किनभने हामी सधैँ यहोवाको आदर र महिमा गर्न चाहन्छौँ।
हामी परमेश्वरका समर्पित सेवक हौँ। त्यसैले हाम्रो बोली र व्यवहार उहाँको महिमा हुने किसिमको हुनुपर्छ
१३ यहोवाका साक्षीहरूको मुख्यालय वा शाखा कार्यालयमा घुम्न जाँदा पनि हाम्रो पहिरन र कोरीबाटी भद्र हुनुपर्छ। नबिर्सनुहोस्, बेथेलको अर्थ “परमेश्वरको घर” हो। त्यसकारण सभाहरू जाँदा हाम्रो पहिरन, कोरीबाटी र आचरण जस्तो हुनुपर्छ, बेथेल जाँदा पनि त्यस्तै हुनुपर्छ।
१४ मनोरञ्जनमा भाग लिँदा पनि हाम्रो पहिरन र कोरीबाटी ख्रिष्टियनहरूलाई सुहाउने हुनुपर्छ। हामीले आफैलाई यस्तो प्रश्न सोध्नुपर्छ: “कसैलाई अनौपचारिक साक्षी दिने मौका पाउँदा के मेरो पहिरनले गर्दा मलाई अप्ठ्यारो लाग्नेछ?”
स्वास्थ्यकर खेलकुद तथा मनोरञ्जन
१५ स्वस्थ र सन्तुलित रहनको लागि आराम र खेलकुद महत्त्वपूर्ण छ। एक चोटि येसुले चेलाहरूलाई एकान्तमा लगेर भन्नुभयो, “केहीबेर आराम गर।” (मर्कु. ६:३१) आराम गर्दा अनि स्वास्थ्यकर खेलकुद वा मनोरञ्जनमा भाग लिँदा हामी स्फूर्ति पाउँछौँ। यस्तो स्फूर्तिले हामीलाई आफ्नो कामकुरामा लाग्न थप जोस दिन्छ।
१६ मनोरञ्जन गर्ने थुप्रै तरिका छन्। त्यसैले ख्रिष्टियनहरूले बाइबलमा दिइएको बुद्धिमानी सल्लाह लागू गर्दै मनोरञ्जन छान्नुपर्छ। हुनत मनोरञ्जन महत्त्वपूर्ण छ तर यो नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा भने होइन। “अन्तको दिनमा” मानिसहरू “परमेश्वरलाई नभई सुखविलासलाई प्रेम गर्ने” हुनेछन् भनी बाइबलमा बताइएको छ। (२ तिमो. ३:१, ४) आज मानिसहरू जुन कुरालाई खेलकुद वा मनोरञ्जनको नाम दिन्छन्, तीमध्ये थुप्रै यहोवाका धार्मिक स्तरहरूअनुरूप चल्न चाहनेहरूका लागि अनुचित छ।
१७ प्रथम शताब्दीका ख्रिष्टियनहरूले पनि संसारको नराम्रो प्रभावको प्रतिरोध गर्नुपरेको थियो किनभने त्यतिबेला थुप्रै मानिस मोजमस्तीमा चुर्लुम्म डुबेका थिए। रोमका रङ्गमञ्चहरूमा दर्शकहरू अरूको पीडा हेरेर रमाउँथे। त्यहाँ दर्शकहरूको मनोरञ्जनको लागि हिंसा, रक्तपात र यौन अनैतिकताजस्ता घृणित कुराहरू देखाइन्थ्यो। तर ख्रिष्टियनहरू यस्ता कुराहरूबाट अलग रहे। अहिले पनि मानिसहरूको तृष्णा मेट्न संसारका अधिकांश मनोरञ्जनमा यस्तै घृणित कुराहरू देखाइन्छ। त्यसैले हामी सबैले आफू कसरी हिँडिरहेको छु भनेर ‘होसियार भई ध्यान दिनुपर्छ’ र खराब मनोरञ्जनबाट अलग रहनुपर्छ। (एफि. ५:१५, १६; भज. ११:५) कुनै-कुनै किसिमको मनोरञ्जन गलत नभए तापनि त्यहाँको वातावरण ख्रिष्टियनहरूको लागि अनुपयुक्त हुन सक्छ।—१ पत्रु. ४:१-४.
१८ ख्रिष्टियनहरूलाई सुहाउने किसिमका खेलकुद तथा मनोरञ्जन पनि छन्। यस सन्दर्भमा हाम्रा प्रकाशनहरूमा दिइएको बाइबलमा आधारित सल्लाह र व्यावहारिक सुझाव लागू गरेर थुप्रैले लाभ उठाएका छन्।
१९ सरसङ्गतिको लागि कहिलेकाहीँ केही परिवारलाई घरमा बोलाउन सकिन्छ। अथवा दाजुभाइ दिदीबहिनीलाई विवाह भोज वा अन्य जमघटहरूमा बोलाउन पनि सकिन्छ। (युह. २:२) यस्ता जमघट व्यवस्थित गर्ने काम निम्तो दिने व्यक्तिले नै गर्नुपर्छ। ठूलठूला जमघटहरू आयोजना गर्दा होसियार हुनुपर्छ। मोजमस्ती गर्ने धुनमा कसै-कसैले ख्रिष्टियनलाई नसुहाउने काम गरेका छन्। जस्तै, ज्यादै खाने र पिउने। कसै-कसैले त गम्भीर गलत कामसमेत गरेका छन्। यो कुरालाई विचार गर्दै समझदार ख्रिष्टियनहरूले जमघटमा कति जनालाई बोलाउने अनि कति समय रमाइलो गर्ने भनेर तोकेका छन्। जमघटमा रक्सी पनि राखिएको छ भने ठिक्क मात्रामा खानुपर्छ। (फिलि. ४:५) जमघटलाई रमाइलो र आध्यात्मिक तवरमा स्फूर्तिदायी बनाउन चाहने ख्रिष्टियनले त्यस्ता अवसरहरूको मुख्य उद्देश्य खानु र पिउनु हो भनेर सोच्दैनन्।
२० अतिथि-सत्कार गर्नु राम्रो कुरा हो। (१ पत्रु. ४:९) खाना खान, रमाइलो गर्न वा सरसङ्गति गर्न अरूलाई घरमा बोलाउँदै छौँ भने आर्थिक तवरमा कमजोर दाजुभाइ दिदीबहिनीलाई बिर्सनु हुँदैन। (लुका १४:१२-१४) यस्ता अवसरहरूमा निम्तो पाएका छौँ भने हामीले मर्कुस १२:३१ मा दिइएको सल्लाहसित मेल खाने आचरण देखाउनुपर्छ। हामीलाई निम्तो दिनेहरूको दयालु मनोभावको सधैँ कदर गर्नुपर्छ।
२१ हामीले जीवनको आनन्द उठाउन सकौँ भनेर परमेश्वरले हामीलाई प्रशस्त वरदानहरू दिनुभएको छ। हामी ‘खान, पिउन र आफ्नो सबै परिश्रमबाट सन्तुष्टि लिन’ सक्छौँ। (उप. ३:१२, १३) जमघटहरूमा “सबै थोक परमेश्वरकै महिमाको निम्ति” गऱ्यौँ भने निम्तो दिने र पाउने सबैले त्यस जमघटलाई आध्यात्मिक तवरमा स्फूर्तिदायी क्षणको रूपमा सम्झनेछन्।
स्कुलका गतिविधि
२२ तपाईँको छोराछोरीले स्कुलमा लेखपढ गर्न सिक्छन्। साथै त्यहाँ पढाइने अन्य विषयहरूले तिनीहरूलाई आध्यात्मिक लक्ष्य हासिल गर्न मदत गर्छ। स्कुलमा पढ्दै गर्दा पनि युवाहरूले आध्यात्मिक कुरालाई पहिलो स्थान दिएर ‘आफ्नो महान् सृष्टिकर्ताको सम्झना गर्न’ सक्दो कोसिस गर्नुपर्छ।—उप. १२:१.
२३ यदि तपाईँ स्कुलमा पढ्दै हुनुहुन्छ भने बाहिरका साथीहरूसित अनावश्यक रूपमा सङ्गत नगर्न होसियार हुनुहोस्। (२ तिमो. ३:१, २) हाम्रो सुरक्षाको लागि यहोवाले आवश्यक कुराहरूको प्रबन्ध गर्नुभएको छ, त्यसैले संसारको प्रभावबाट जोगिन तपाईँले गर्न सक्ने कुराहरू थुप्रै छन्। (भज. २३:४; ९१:१, २) यहोवाले प्रबन्ध गर्नुभएका कुराहरूको पूरापूर सदुपयोग गरेर आफूलाई सुरक्षित राख्नुहोस्।—भज. २३:५.
२४ यस संसारदेखि अलग रहन धेरैजसो ख्रिष्टियन युवाले स्कुलको अतिरिक्त क्रियाकलापहरूमा भाग नलिने निर्णय गरेका छन्। तिनीहरूका साथी र शिक्षकहरूले तिनीहरूले यस्तो निर्णय गर्नुको कारण नबुझ्न सक्छन्। तर महत्त्वपूर्ण कुरा भनेको यहोवालाई खुसी पार्नु हो। यसको लागि तपाईँले बाइबल प्रशिक्षित अन्तस्करण चलाउनुपर्छ अनि प्रतिस्पर्धी वा देशभक्तिको भाव झल्किने गतिविधिमा भाग नलिने सङ्कल्प गर्नुपर्छ। (गला. ५:१९, २६) आमाबुबाले बाइबलबाट सल्लाह दिँदा ध्यान दिएर सुन्नुहोस् अनि मण्डलीका दाजुभाइ दिदीबहिनीसित सङ्गत गर्नुहोस्। यसो गर्दा तपाईँ केटाकेटी अनि युवाहरू यहोवाका धार्मिक स्तरहरूअनुरूप चलिरहन सक्नुहुनेछ।
जागिर र साथी-सङ्गति
२५ बाइबलअनुसार परिवारको हेरविचार गर्ने जिम्मेवारी पति तथा बुबाहरूको हो। (१ तिमो. ५:८) तैपनि परमेश्वरको सेवक भएकोले जागिरलाई भन्दा परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिनुपर्छ भनेर तिनीहरूले बुझेका छन्। (मत्ति ६:३३; रोमी ११:१३) त्यसैले तिनीहरू खान, लाउन र बस्न पाएपछि त्यसैमा सन्तुष्ट भएर परमेश्वरको भक्ति गर्छन्। यसो गर्दा तिनीहरू भौतिकवादी जीवन बिताउँदा आइपर्ने चिन्ता र पासोबाट जोगिन्छन्।—१ तिमो. ६:६-१०.
२६ जागिर खाने सबै ख्रिष्टियनले बाइबलमा दिइएका सिद्धान्तहरू मनमा राख्नुपर्छ। ख्रिष्टियनहरू इमानदार हुनुपर्छ। मतलब, हामी परमेश्वरको नियम वा आफ्नो देशको कानुन उल्लङ्घन हुने कुनै पनि काम गर्दैनौँ। (रोमी १३:१, २; १ कोरि. ६:९, १०) खराब सङ्गतमा लाग्दा कस्तो खतरा छ भन्ने कुरा पनि हामीले मनमा राख्नुपर्छ। हामी ख्रिष्टका सिपाहीहरू हौँ। त्यसैले परमेश्वरको स्तरसित नमिल्ने, ख्रिष्टियन तटस्थतामा सम्झौता गर्नुपर्ने वा यहोवासितको हाम्रो सम्बन्धलाई खतरामा पार्ने कुनै पनि व्यापारिक कारोबारमा हात हाल्दैनौँ। (यसै. २:४; २ तिमो. २:४) अनि हामी “महान् बेबिलोन” अर्थात् झूटो धर्मसित कुनै सम्बन्ध राख्दैनौँ।—प्रका. १८:२, ४; २ कोरि. ६:१४-१७.
२७ परमेश्वरका धार्मिक स्तरहरूअनुरूप चल्छौँ भने उपासना गर्ने ठाउँलाई हामी आफ्नो व्यापार-व्यवसायको लागि वा अन्य व्यक्तिगत कामकुराको लागि प्रयोग गर्नेछैनौँ। सभा, सम्मेलन तथा अधिवेशनमा दाजुभाइ दिदीबहिनीसित सङ्गत गर्नुको एक मात्र उद्देश्य यहोवाको उपासना गर्नु हो। त्यहाँ हामी उहाँको टेबुलबाट खान्छौँ र “एकअर्कालाई प्रोत्साहन” दिन्छौँ। (रोमी १:११, १२; हिब्रू १०:२४, २५) त्यसैले त्यस्ता जमघटहरू आध्यात्मिक विषयमा मात्र केन्द्रित हुनुपर्छ।
एकतामा रहनुहोस्
२८ यहोवाका धार्मिक स्तरहरूअनुरूप चल्ने मानिसहरू “शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्तिद्वारा पाइने एकतामा” रहनुपर्छ। (एफि. ४:१-३) हामीले आफ्नो खुसी मात्र हेर्नुको सट्टा अरूको भलाइ हुने काम गर्नुपर्छ। (१ थिस्स. ५:१५) तपाईँले पक्कै पनि आफ्नो मण्डलीमा यस्तो मनोभाव पाउनुभएको छ। हाम्रो जातीय, राष्ट्रिय, सामाजिक, आर्थिक वा शैक्षिक पृष्ठभूमि जस्तोसुकै भए तापनि हामी सबै जना एउटै धार्मिक स्तरअनुरूप चल्छौँ। बाहिरका मानिसहरूले समेत यहोवाका सेवकहरूको एकताको प्रशंसा गरेका छन्।—१ पत्रु. २:१२.
२९ यस्तो एकता सम्भव हुनुको कारणबारे प्रेषित पावलले अझै यस्तो लेखे: “शरीर एउटै छ, पवित्र शक्ति पनि एउटै छ, जसरी तिमीहरू जुन आशाको निम्ति बोलाइएका थियौ, त्यो पनि एउटै छ। एकै जना प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा अनि सबै जनाका परमेश्वर र बुबा पनि एकै जना, जो सबैभन्दा माथि हुनुहुन्छ अनि जसले सबैद्वारा र सबैमा काम गर्नुहुन्छ।” (एफि. ४:४-६) पावलका यी शब्दहरूबाट बाइबलको आधारभूत शिक्षाका साथै गहिरा-गहिरा कुराहरूको सम्बन्धमा हाम्रो बुझाइ एउटै हुनुपर्छ भनेर स्पष्ट हुन्छ। हामी सबैको बुझाइ एउटै छ भने हामीले यहोवाको सार्वभौमिकतालाई स्विकारिरहेका हुन्छौँ। यहोवाले आफ्ना जनहरूलाई सत्यको शुद्ध भाषा सिकाउनुभएको छ। यसले तिनीहरूलाई काँधमा काँध मिलाएर सेवा गर्न मदत गरेको छ।—सप. ३:९.
३० मण्डलीमा छाएको शान्ति र एकता यहोवाका सबै उपासकको लागि स्फूर्तिको स्रोत हो। यहोवाको यो प्रतिज्ञा पूरा भएको हामीले आफ्नै आँखाले देख्न पाएका छौँ: “गोठका भेडाहरूलाई जस्तै, . . . म तिनीहरूलाई एक बनाउनेछु।” (मिका २:१२) यहोवाका धार्मिक स्तरहरूअनुरूप चलेर हामी यो एकता सधैँभरि कायम राख्न चाहन्छौँ।
३१ यहोवाको स्वच्छ मण्डलीको भाग हुन पाउनु साँच्चै खुसीको कुरा हो! यहोवाको नामद्वारा चिनिन पाउने सुअवसरको तुलनामा हामीले गरेका त्यागहरू केही पनि होइनन्। यहोवाका धार्मिक स्तरहरूअनुरूप चल्न सक्दो प्रयास गरेर अनि अरूलाई पनि त्यसै गर्न मदत गरेर हामी यहोवासितको आफ्नो अनमोल सम्बन्धलाई बलियो बनाइराख्न सक्छौँ।—२ कोरि. ३:१८.