युनिस र लोइस—उदाहरणीय शिक्षिकाहरू
यहोवाका साक्षीहरू भएको नाताले आफ्ना छोराछोरीलाई प्रभावशाली धार्मिक शिक्षा दिनु गम्भीर जिम्मेवारी हो भनेर हामीलाई थाह छ। परिस्थिति सुगम हुँदाहुँदै पनि यस्तो शिक्षा दिने कामलाई अनेकौं अड्चन तथा कठिनाइहरूले घेर्नसक्छन्। धार्मिक विश्वास बेग्लै भएको घरमा यस्तो शिक्षा दिनु मसीही आमा वा बुबाका लागि झनै गाह्रो हुन्छ। यस्तो परिस्थिति नौलो कुरा होइन। धर्मशास्त्रले सा.यु. प्रथम शताब्दीमा यस्तै परिस्थितिमा परेकी एउटी आमाबारे बताउँछ।
युनिस नाउँकी महिलाको परिवार मध्य-दक्षिणी एसिया माइनरस्थित लाइकोनिया प्रान्तको लिस्त्रा भन्ने शहरमा बस्थ्यो। लिस्त्रा कम महत्त्वको एउटा प्रान्तीय शहर थियो। यो जुलिया फेलिक्स जेमिना लुस्त्रा भनिने एउटा रोमी उपनिवेश थियो। यसलाई वरपरका डाँकूहरूको क्रियाकलाप रोक्न सिजर अगस्टसले स्थापित गरेका थिए। युनिस यहूदी मसीही थिइन् र तिनी धार्मिक विश्वास बेग्लै भएको परिवारमा आफ्ना युनानी पति, छोरो तिमोथी र आमा लोइससँग बस्थिन्।—प्रेरित १६:१-३.
सायद लिस्त्रामा मुठीभर मात्र यहूदीहरू थिए होलान् किनकि त्यहाँ सभाघर थियो भन्ने विवरण बाइबलमा पाइँदैन। यद्यपि, त्यहाँदेखि करिब ३० किलोमिटर टाढा आइकोनियममा भने यहूदीहरू थिए। (प्रेरित १४:१९) अतः आफ्नो विश्वासअनुरूप जीवन बिताउनु युनिसको लागि पक्कै पनि सजिलो थिएन। तिमोथीको खतना नगरिएको हुनाले केही शास्त्रविद्हरूले तिनका पतिले खतनाप्रति विरोध जनाएका थिए भन्ने अडकल काटेका छन्।
तथापि, विश्वासमा युनिस एक्ली थिइनन्। तिमोथीलाई आफ्नी आमा र हजुरआमा लोइसले “पवित्र लेखोटहरू[बाट]” प्रशिक्षण दिएकी हुनुपर्छ।a प्रेरित पावल तिमोथीलाई यस्तो आग्रह गर्छन्: “यो कसबाट सिकेका हौ, सो जानेर आफूले सिकेका र निश्चय भएका [“फकाइफुस्लाई विश्वस्त गराइएका,” NW] कुराहरूमा लागिरह। तिमीले बाल्यकालदेखि [“शैशवकालदेखि,” NW] पवित्र लेखोटहरू जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई बुद्धिमान् तुल्याउनसक्तछ।”—२ तिमोथी ३:१४, १५.
‘शैशवकालदेखि’ शिक्षा दिने
तिमोथीले “पवित्र लेखोटहरू[बाट]” “बाल्यकालदेखि” [“शैशवकालदेखि,” NW] शिक्षा पाएका थिए भन्ने पावलको कुराबाट स्पष्टतः शिशु छँदादेखि नै शिक्षा पाएको भन्ने बुझिन्छ। सो कुरा तिनले प्रयोग गरेका युनानी शब्दअनुसार ( ब्रेफोस) बुझिन्छ जुन शब्दले साधारणतया नवजात शिशुलाई संकेत गर्छ। (लूका २:१२, १६ तुलना गर्नुहोस्।) अतः युनिसले तिमोथीलाई शैशवकालदेखि नै प्रशिक्षण दिएर आफ्नो ईश्वरप्रदत्त दायित्व गम्भीरतापूर्वक लिइन् र त्यही प्रशिक्षणले तिमोथीलाई परमेश्वरको समर्पित सेवक बन्न सहयोग गऱ्यो।—व्यवस्था ६:६-९; हितोपदेश १:८.
धर्मशास्त्रको सच्चाइमा तिमोथी “निश्चय भएका” थिए। एउटा युनानी शब्दकोशअनुसार पावलले यहाँ प्रयोग गरेका शब्दले कुनै कुरामा “दृढतासाथ निश्चित हुनु; आश्वस्त हुनु” भन्ने बुझाउँछ। परमेश्वरको वचन चलाएर तर्क गर्न, त्यसलाई विश्वास गरिरहन तिमोथीको हृदयमा त्यस्तो दृढता राख्नु आवश्यक थियो। निस्सन्देह यसो गर्न धेरै समय र प्रयास चाहियो। स्पष्टतया, युनिस र लोइस दुवैले तिमोथीलाई धर्मशास्त्रबाट सिकाउन निकै मिहेनत गरे। अनि ती ईश्वरभीरु आइमाईहरूले आफ्नो प्रयासको कस्तो राम्रो इनाम पाए! पावलले तिमोथीबारे यसरी लेख्नसके: “तिमीमा भएको निष्कपट विश्वासको सम्झना भएर, जो पहिले तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा थियो, र तिमीमा पनि छ भन्ने मलाई निश्चय छ।”—२ तिमोथी १:५.
तिमोथीको जीवनमा युनिस र लोइसले साह्रै महत्त्वपूर्ण भूमिका खेले! यस सन्दर्भमा लेखक डेविड रिड यसो भन्छन्: “तिमोथीलाई आफूले गरेको धर्म परिवर्तनबाहेक अन्य कुरा महत्त्वपूर्ण नलागेको भए प्रेरित पावलले त्यसबारे तिनलाई पहिल्यै भनिसकेको हुनुपर्छ। तर तिमोथीको विश्वासबारे कुरा गर्दा उनले सर्वप्रथम त त्यो विश्वास पहिल्यै ‘लोइस र . . . युनिसमा थियो’ भनेर बताए।” लोइस, युनिस र तिमोथीको विश्वासबारे पावलले बताएको कुराबाट अक्सर घरमा आमाबाबु र बाजेबज्यैसमेतले दिएका प्रारम्भिक धर्मशास्त्रीय शिक्षा केटाकेटीहरूको आध्यात्मिक भविष्य निर्धारण गर्न महत्त्वपूर्ण हुन्छ भन्ने देखिन्छ। यस कुराले परमेश्वर तथा आफ्ना केटाकेटीप्रतिको दायित्व पूरा गर्न के गरिरहेका छौं भनेर परिवारका सदस्यहरूलाई गम्भीरतापूर्वक सोच्न लगाउँदैन र?
सम्भवतः लोइस र युनिसले घरमा सृजना गरेको अनुकूल वातावरणबारे पनि पावलले सोचिरहेका हुनुपर्छ। तिनी करिब सा.यु ४७/४८ तिर पहिलोचोटि लिस्त्रा जाँदा तिनीहरूको घरमा गएका थिए होलान्। त्यतिखेर नै ती दुई आइमाईले मसीहीधर्म अपनाएका हुनुपर्छ। (प्रेरित १४:८-२०) तिनीहरूको घरमा अनुभव गरेका न्यानो र आनन्ददायी सम्बन्धकै कारण लोइसको कुरा गर्दा पावलले तिमोथीका “बज्यै” भनेर सम्बोधन गरेको हुनुपर्छ। शास्त्रविद् सेस्ला स्पेकअनुसार तिनले प्रयोग गरेका युनानी शब्द (प्राचीन तथा आदरार्थी शब्द टेथि-को साटो माम्मी) “केटाकेटीले लाडिएर” आफ्नी बज्यैलाई सम्बोधन गर्ने बोली हो जसले उक्त प्रसंगमा “घनिष्ठता र स्नेह” दर्शाउँछ।
तिमोथी बिदा लिन्छन्
पावल दोस्रोचोटि लिस्त्रा जाँदा (लगभग सा.यु ५०) युनिसको वैवाहिक सम्बन्ध कस्तो थियो, स्पष्ट छैन। त्यतिखेर तिनी विधवा थिइन् होला भनी थुप्रै शास्त्रविद्हरू लख काट्छन्। जे होस्, आफ्नी आमा र बज्यैको मार्गदर्शन पाएर सम्भवतः २० वर्षको उमेरमा तिमोथी एक असल वयस्क बनिसकेका थिए। “लिस्त्रा र आइकोनियमका भाइहरूमा तिनका बारेका असल नाउँ चलेको थियो।” (प्रेरित १६:२) स्पष्टतया, तिमोथीको हृदयमा परमेश्वरको राज्य सुसमाचार फैलाउने इच्छा गडिएको थियो किनकि तिनले पावल र सिलाससँग मिसनरी यात्रामा जाने पावलको निम्तो स्वीकारे।
तिमोथी बिदा लिएर हिंड्नलाग्दा युनिस र लोइसलाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस् त! पावल पहिलोचोटि त्यस शहरमा आउँदा तिनलाई ढुंगा हानेर मरणान्त बनाएको कुरा तिनीहरूलाई थाह थियो। (प्रेरित १४:१९) तसर्थ, तिमोथीलाई जान दिनु तिनीहरूका लागि सजिलो कुरा थिएन। तिमोथी अहिले गएर कहिले घर फर्कने हुन् र सकुशल घर फर्कन्छन् वा फर्कंदैनन् भनेर तिनीहरू चिन्तित भए होलान्। यस्ता सम्भाव्य फिक्रीहरूको बावजूद पनि तिनकी आमा र बज्यैले यहोवाको अझ बढी सेवा गर्ने उक्त विशेष कार्यभार स्वीकार्न तिनलाई सक्षम बनाउने प्रोत्साहन दिए।
मूल्यवान् शिक्षाहरू
युनिस र लोइसको विषयमा राम्ररी मनन गरेर धेरै कुरा सिक्नसक्छौं। विश्वासले गर्दा तिनीहरू तिमोथीलाई आध्यात्मिक तवरमा राम्ररी पालनपोषण गर्न उत्प्रेरित भए। नातिनातिना तथा अरूका लागि बाजेबज्यैहरूले बसालेका परिपक्व र अटल उदाहरण निश्चय सम्पूर्ण मसीही मण्डलीकै निम्ति फाइदाजनक हुन्छ। (तीतस २:३-५) त्यसैगरि, युनिसको उदाहरणले बेग्लै धार्मिक विश्वास भएका पति हुने आमाहरूले छोराछोरीलाई आध्यात्मिक प्रशिक्षण दिनुपर्ने जिम्मेवारीका साथै त्यसबाट प्राप्त हुने इनामको सम्झना गराउँछ। विशेषगरि, पतिले पत्नीको विश्वासलाई राम्रो दृष्टिकोणले हेर्दैनन् भने यस्तो प्रशिक्षण दिन ठूलो साहस चाहिनसक्छ। यसो गर्न चतुऱ्याइँ चाहिन्छ किनकि मसीही पत्नीले आफ्ना पतिको शिरत्वको आदर गर्नैपर्छ।
लोइस र युनिसले आफ्नो विश्वास, कोसिस र आत्मत्यागको इनाम पाए। तिनीहरूले तिमोथीको आध्यात्मिक प्रगति मात्र होइन तिनी एक उत्कृष्ट मिसनरी र निरीक्षक भएको पनि देख्न पाए। (फिलिप्पी २:१९-२२) त्यसैगरि, आज हाम्रा छोराछोरीलाई धर्मशास्त्रीय सच्चाइ सिकाउन समय, सहनशीलता र दृढ संकल्प चाहिन्छ। तर प्रयत्न त्यसै खेर जाँदैन, त्यसको मीठो फल पाउँछौं। बेग्लाबेग्लै धार्मिक विश्वास भएको घरपरिवारमा उदाहरणीय थुप्रै मसीही किशोरकिशोरीलाई “बाल्यकालदेखि पवित्र लेखोटहरू” सिकाइँदा ईश्वरभीरु आमा वा बुबाले ठूलो आनन्द प्राप्त गर्छन्। अनि हितोपदेशको यो भनाइ साँच्चै कति सत्य छ: “तँलाई जन्म दिने आमाले रमाहट गरोस्।”—हितोपदेश २३:२३-२५.
प्रेरित यूहन्नाले आफ्ना आध्यात्मिक छोराछोरीबारे यसो भने: “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्नभन्दा बढ़ता आनन्द अरू मलाई हुँदैन।” (३ यूहन्ना ४) निस्सन्देह, यी शब्दहरूमा लुकेको भाव दुई उदाहरणीय शिक्षिकाहरू युनिस र लोइसजस्तै साबित भएका धेरैले बुझेका छन्।
[फुटनोट]
a लोइस तिमोथीको बुबापट्टिकी बज्यै थिइनन् भनेर सिरियाक अनुवादले औंल्याउँछ जहाँ २ तिमोथी १:५ मा “तिम्री आमाकी आमा” भनिएको छ।