सुरक्षित भविष्यको आशा राख्ने युवाहरू
“यो अपराध [बलात्कार] जत्तिकै भयावह र घृणित छ”—हालै एउटा मुद्दाको सभापतित्व गरिरहेका न्यायाधीशले उक्त अपराधको त्यसरी बयान गरे। चौधदेखि १८ वर्षका आठ जना किशोरहरूको जमातले लण्डन शहरभित्र एउटी पर्यटकलाई अनेकन् चोटि यौन दुर्व्यवहार गरे र त्यस पर्यटकले आफू पौडी खेल्न जान्दिनँ भन्दा भन्दै पनि नजीकैको नहरमा हुत्याइदिए। ती किशोरहरूमध्ये एक जनाको आमाले छोराको कर्तुत टिभीमा देखेपछि आफूलाई बिसन्चो भएजस्तो लाग्नुका साथै अत्यन्तै व्याकुल भएको कुरा बताउनु स्वाभाविकै हो।
दुःखको कुरा, उक्त विवरण अहिले हाम्रो समाजमा भइरहेका घटनाहरूकै एक झलक हो। अपराधिक क्रियाकलाप, घरेलु तनाउ होस् वा बाल्कन क्षेत्र, मध्य तथा पश्चिमी अफ्रिका अथवा अरू कतै भइरहेको जातीय विवादै किन नहोस्, निर्मम घटनाहरू सामान्य भइरहेका छन्। युवाहरू यस्तै वातावरणमा हुर्कन्छन् वा यस्तै घटनाहरू प्रायः सुन्ने गर्छन्। त्यसकारण, धेरैजसो युवाहरू कडा स्वभावका, “स्वाभाविक प्रेम रहितका” र “असंयमी” हुनु कुनै अचम्मको कुरा होइन।—२ तिमोथी ३:३.
“निष्ठूर”
मसीही प्रेरित पावलले सँगी प्राचीन तिमोथीलाई दोस्रो पत्र लेख्दा रोम शक्तिशाली विश्वशक्ति थियो। रोमी रंगशालाहरूमा क्रूरता र हिंसा व्याप्त थियो। यद्यपि, पावलले भविष्यमा असाध्यै “डरलाग्दो” समय आउनेछ भनी चेताउनी दिए। (२ तिमोथी ३:१) चाखलाग्दो कुरा, त्यो समयलाई “डरलाग्दो” भनी वर्णन गर्ने युनानी शब्दले “निष्ठूर” भन्ने अर्थ पनि बुझाउँछ। पावलले उक्त कुरा भन्नुभन्दा ३० वर्षअघि अर्थात् येशूको पार्थिव सेवकाईको दौडान भएको घटनाले उहाँको समयमा हिंस्रक व्यवहार हुनुको कारण बुझ्नसक्छौं।
येशू भर्खरै डुंगाबाट गालील समुद्रको पूर्वी किनारामा आउनुभएको थियो। किनारामा ओर्लनु भएपछि दुइ जना मानिस उहाँलाई भेट्न आए। तिनीहरूको जंगली रूपरंग तथा चिच्याएको ढंगले केही न केही असाध्यै गडबड थियो भनेर प्रस्ट पार्थ्यो। तिनीहरू भूतले ग्रस्त भएका हुँदा असाध्यै “डरलाग्दा” थिए।a दुष्टात्माको वशमा परेकाले तिनीहरू त्यसरी जथाभावी चिच्याइरहेका थिए। तिनीहरू यसो भन्दै चिच्याए, “हे परमेश्वरका पुत्र, हामीहरूको तपाईंसँग के सरोकार? के तपाईं बेला नपुग्दै हामीहरूलाई सताउन यहाँ आउनुभएको हो?” यी दुइ जना मानिसलाई आफ्नो वशमा राख्ने दुष्टात्मालाई कुन कुरा राम्ररी थाह थियो भने परमेश्वरले भूतहरूलाई न्याय गर्ने दिन तोकिसक्नुभएको छ। यसको अर्थ हो, तिनीहरूको अनन्त विनाश। तर त्यतिञ्जेल ती प्रेतहरूले डरलाग्दा उत्पात मच्चाउन आफ्ना असाधारण क्षमता चलाउन छोड्नेथिएनन्। येशूको चमत्कारपूर्ण कार्यले गर्दा मात्रै यी दुइ जना मानिसहरूले ती प्रेतहरूबाट छुटकारा पाए।—मत्ती ८:२८-३२; यहूदा ६.
आजका युवाहरूलगायत अरू मानिसहरूले बौलाहा ढंगमा जथाभावी व्यवहार गर्दा उक्त घटना सम्झनु बेस होला। किन? किनभने यस २० औं शताब्दीमा हामी त्यस्तै प्रकारको खतरा सामना गर्छौं। बाइबलको अन्तिम पुस्तक प्रकाश यसो भन्छ: “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” (प्रकाश १२:१२) नबिर्सनुहोस्, शैतानले यस्तो बेइज्जती भोग्नुपरेको छ र अब त्यो “ठूलो क्रोधसँग” ओर्लेको छ किनभने त्यसलाई आफ्नो समय अल्प छ भनेर थाह छ।
आक्रमण
यस पत्रिकाले अक्सर भन्दै आएअनुसार येशू ख्रीष्ट १९१४ मा परमेश्वरको राज्यका राजाको हैसियतमा स्वर्गमा सिंहासनारूढ हुनुभयो। त्यसपछि तुरुन्तै येशूले परमेश्वरको प्रमुख शत्रु शैतानको विरुद्ध कदम चाल्नुभयो। तसर्थ, दियाबल र त्यसका दूतहरू स्वर्गबाट निकालिएका छन् र तिनीहरूले पृथ्वीलाई आफ्नो आक्रमण थलो बनाइरहेका छन्। (प्रकाश १२:७-९) आफूले प्रभुत्व जमाउनसक्ने इलाका असाध्यै सीमित पारिएको हुँदा शैतान “कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ।” (१ पत्रुस ५:८) त्यसको पासोमा सजिलै फस्नसक्नेहरू को हुन्? त्यसले जीवन र मानव सम्बन्धहरूबारे कम अनुभवी व्यक्तिहरूलाई नै फसाउला नि, होइन र? यसकारण आजकाल युवाहरू दियाबलको शिकार भएका छन्। तिनीहरू प्रायजसो संगीत र मनोरञ्जनद्वारा चालै नपाइ यस अदृश्य छट्टूको इसारामा नाचिरहेका हुन्छन्।—एफिसी ६:११, १२.
युवाहरूले जीवनमा केही उपलब्धिमूलक कुरा गर्न खोज्दा पनि अनेकन् अवरोधहरू सामना गर्नुपर्ने हुन्छ। दोस्रो विश्वयुद्ध अन्त भएपछि युद्धको चपेटामा परेका थुप्रै मुलुकका मानिसहरूले आ-आफ्नो परिवारलाई सम्पन्न जीवनशैली प्रदान गरेर आफूले नपाएका भौतिक सुखसुविधाहरू दिन खोजिरहेका छन्। भौतिक धनसम्पत्ति, मनमानी सुखविलास र मनोरञ्जन नै जीवनको प्रमुख लक्ष्य हुन गएका छन्। परिणामस्वरूप धेरैले अनेकौं दुःख भोग्नुपरेको छ। पावलले तिमोथीलाई यस्तो चेताउनी दिए, “धनी हुने इच्छा गर्ने चाहिं, . . . परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै[लाई] . . . धेरै दुःखले . . . हृदय छेंड़ेका हुन्छन्।” (१ तिमोथी ६:९, १०) साधारणतया हेर्ने हो भने आजको भौतिकवादी समाजका मानिसहरू आर्थिक, वित्तीय तथा भावनात्मक पीडाले पिरोलिएका छन्। त्यसमध्ये धेरैजसो युवाहरू परमेश्वरको प्रमुख शत्रुको शिकार भएका छन्।
तर खुशीको कुरा, राम्रो खबर पनि छ। अनि यो खबर युवाहरूकै लागि हो, जसले सुरक्षित भविष्यको आशा गर्नसक्छन्। यो कसरी हुनसक्छ?
खोज र तिमीहरूले भेट्टाउनेछौ
धेरैजसो युवाहरूले ठूलठूला सपनाहरू बोकेका हुन्छन्। वयस्कहरूको खस्कँदो स्तर तिनीहरू स्वीकार्न चाहँदैनन्। शक्तिका भोका राजनीतिज्ञ तथा व्यापारीहरूको अन्यायी र निर्दयी मनोवृत्ति देखेर तिनीहरू झस्कन्छन्। तपाईं पनि जवान हुनुहुन्छ भने शायद यस्तै लाग्दो हो।
लगभग १८/१९ वर्षका सेड्रिकलाई विचार गर्नुहोस्।b यस्तो अनुभव गर्ने तिनी मात्र होइनन्। सानो छँदा तिनलाई धेरै कुरादेखि डर लाग्थ्यो र तीमध्ये एउटा, मृत्युको डर थियो। जीवनको उद्देश्य के होला भनी तिनी सोच्ने गर्थे। तिनी १५ वर्ष पुगुञ्जेलसम्म पनि यी प्रश्नहरूको जवाफ नपाएको हुँदा आफूजस्तै सोचाइ राख्ने अरू युवाहरूको हूलमा घुलमिल भएर ती प्रश्नहरूको जवाफ खोज्न थाले। तिनी ती दिनहरू सम्झँदै यसो भन्छन्, “हामी लागूपदार्थ सेवन गर्थ्यौं र घण्टौंसम्म गफ चुट्थ्यौं।” साथै, “सबैको सोचाइ समान लाग्थ्यो तर जवाफ भने कसैसित थिएन।”
अरू युवाहरूजस्तै सेड्रिक पनि जीवनमा रम्न चाहन्थे। लागूपदार्थ सेवन गरेर मात्र तिनको चाह मेटिएन। धेरै समय नबित्दै तिनले लागूपदार्थको चोरी तथा अवैध बेच-बिखन गर्न थाले। त्यति मात्र होइन, तिनले अझ नयाँ नयाँ खतराहरू मोल्न थाले। कुनै खास विषयवस्तुको लागि अरू कसैबाट अर्डर पाएपछि त्यस्ता मालतालहरू चोर्न थाले। तिनी भन्छन्, “यो सबै गर्नु मलाई निकै रमाइलो लाग्थ्यो। तर मैले सामान्य जीविकोपार्जन गरिरहेका मानिसहरूबाट कहिल्यै केही पनि चोरिनँ। गाडी चोरें भने पनि काम चलाइसकेपछि राम्रै हालतमा छोडिदिन्थें। बिमा क्षतिपूर्तिको राम्रो व्यवस्था भएको व्यापारिक संस्था मात्र लुट्ने गर्थें। यसकारण मलाई आफ्ना कार्यहरू अनुचित लाग्दैनथ्यो।” तपाईंले सेड्रिकको दुर्दशा अनुमान गरिसक्नुभयो होला, अन्तमा गएर तिनी झ्यालखानामा परे।
सेड्रिक अतीतलाई सम्झँदै यसो भन्छन्: “मसँगै बस्ने अर्को कैदी मार्क मसित कुरा गर्ने गर्थे। मेरो पाखुरामा ठूलो क्रस चिह्न खोपिएको देखेर उनले कारण सोधे। यो मेरोनिम्ति धार्मिक महत्त्वको होला भनेर उनले सोचेका थिए।” केही हप्तापछि मार्कले सेड्रिकलाई पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक दिए।c “ ‘तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ’—ती शब्दहरू मेरो मनमा ठप्प बसिहाल्यो। यसबारे हामी पहिले सधैं कुरा गर्ने गर्थ्यौं तर यसको तथ्य कुरा कहिल्यै बुझ्न सकेका थिएनौं।” झ्यालखानामा आउने यहोवाका साक्षीसित धेरै चोटि छलफल गरिसकेपछि सेड्रिकले के बुझे भने तिनले चाहेको कुरा पाउन सकिने रहेछ तर यति हो, परमेश्वरको तरिकाअनुसार हुनुपर्छ।
सेड्रिक भन्छन्, “मैले आफ्ना पुराना साथीहरूसित संगत गर्न छोडेपछि छिटछिटो प्रगति गर्नसकें।” कतिपय कुराहरू तथा साँचो आनन्दको वास्तविकता बुझ्न तिनलाई त्यति सजिलो भएको छैन। “म अझै पनि प्रगति गर्न खोज्दैछु,” भनी तिनी भन्छन्। “म आफ्नो सोचाइबारे सधैं सजग हुनुपर्छ।” हो, आदर्शवादी हुन खोज्दा दियाबलको पासोमा फसिंदो रहेछ भनी अहिले सेड्रिकले बुझेका छन्। किनभने सेड्रिकको विचारमा उत्तेजनात्मक क्रियाकलापमा भाग लिएपछि मात्र आफ्ना लक्ष्यहरू पूरा गर्न सकिन्छ भन्ने थियो।
खुशीको कुरा, सेड्रिक झ्यालखानाबाट छुटेको धेरै भइसक्यो र आफूले जे खोजेका थिए, त्यही कुरा भेट्टाउनेहरूसित नियमित संगत गर्न पाएकोमा आनन्दित छन्। अहिले तिनी यहोवाका साक्षी भएका छन् र पार्थिव प्रमोदवनमा बाँच्ने आशा अरूलाई बताउँछन्। साथै, तिनी हर प्रकारको शैतानी प्रभाव नामेट हुने दिनको प्रतीक्षामा छन्।
निस्सन्देह, सेड्रिकजस्ता जवानहरूले मात्र सुरक्षित भविष्यको आशा राख्नसक्ने होइनन्। अरू कतिपय युवाहरूलाई ईश्वरभीरु आमाबाबुले हुर्काएका छन् र यी आमाबाबुहरूले आफ्नो छोराछोरीको मनमा बाइबल सत्यप्रति प्रेम जगाइदिएका छन्।
ईश्वरीय प्रशिक्षणका लाभहरू
पुरातन समयका बुद्धिमान् राजा सुलेमानले यसो भने, “बालकलाई ठीक बाटोमा लगाऊ, र बृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।” (हितोपदेश २२:६) बाइबलका स्तरहरू पालन गर्न रोज्ने थुप्रै एकाग्रचित्त युवाहरूको जीवनमा यो चरितार्थ भएको छ।
शीला, गर्डन र साराले त्यसै गरे। आफ्ना आमाबाबुले ख्रीष्टको आज्ञा पालन गर्दै राज्यको सुसमाचार प्रचार गरेर ‘चेला बनाउने’ कार्यलाई असाध्यै महत्त्वपूर्ण ठानेको तिनीहरूले बिर्सेका छैनन्। (मत्ती २४:१४; २८:१९, २०) शीला भन्छिन्, “जुनसुकै निर्णय गर्नुपर्दा पनि आमा र म यसो भन्ने गर्थ्यौं, ‘यसले प्रचारकार्यमाथि कस्तो असर पार्ला?’ यस्तो तर्क गरेको हुँदा हामीले कतिपय कामकुराहरू पन्छायौं” भन्दै कुरा यसरी थप्छिन्, “तर अर्कोतिर थुप्रै आशिष्हरू पनि पायौं!” सुसमाचार प्रचार गर्न अरूको ढोका ढोकामा दिनभरि बिताइसकेपछि पनि शीला र तिनकी आमा गीत गुनगुनाउँदै घर फर्किरहेका हुन्थे। तिनी भन्छिन्, “मेरो आनन्दको सीमै थिएन। त्यो आनन्दको अनुभूति अहिले पनि ताजै छ।”
गर्डन पनि शनिबार आफूले बिताएका रमाइला रमाइला साँझहरू झलझली सम्झन्छन्। “मण्डलीका प्राचीनहरूको घरमा निम्त्याइन्थ्यौं र त्यहाँ असाध्यै रमाइला रमाइला हाजिरजवाफ तथा छलफलहरू गर्थ्यौं। हामीलाई बाइबलका पदहरू मुखस्त पार्न, धर्मशास्त्रीय विषयहरूबारे नहिचकिचाइ कुरा गर्न, प्रचारकार्यसित सम्बन्धित अनुभव बताउन र परमेश्वरको राज्यसम्बन्धी कार्य कसरी बिस्तार भइरहेको छ भनी सिक्न प्रोत्साहन दिइएको थियो। यी सबै कुराहरूले राम्रो जग बसाल्न तथा यहोवा परमेश्वरप्रति प्रेम जगाउन मदत गरे।”
साराले चाहिं अरू ठाउँहरूबाट आएका साक्षीहरूसित बिताएका रमाइला साँझहरूको मीठो सम्झना सँगालेकी छिन्। “हामी सँगै बसेर खाना खान्थ्यौं। त्यसपछि अन्तमा पियानो बजाउँथ्यौं र बाजाको तालमा परमेश्वरको राज्य विषयक गीतहरू गाउँथ्यौं। विशेषगरि स्कूलमा छँदा संगीतले हामीलाई निकै मदत गऱ्यो किनभने संगीतले हाम्रो परिवारलाई एकताबद्ध हुन सघायो।”
निस्सन्देह, यहोवालाई खुशी पार्न चाहने सबै युवाहरूको घरको परिस्थिति अनुकूल हुँदैन। तथापि, मण्डलीका अरू परिवारहरूसित घनिष्ठ सम्बन्ध राख्दा सुरक्षित तथा मण्डलीको भाग भएको महसुस हुन्छ।
सुरक्षित भविष्यको आधारको कदर गर्नुहोस्
आजका जवानहरूले के गर्ने, के नगर्ने भनेर रोज्नसक्छन्। तिनीहरू येशूले अगमवाणी गर्नुभएअनुसार आउँदै गरेको “महा संकष्टमा” यस दुष्ट संसारसँगसँगै विनाशको खाडलमा फाल हाल्नसक्छन्। अथवा भजनरचयिता आसापले प्रेरणाद्वारा गाएझैं ‘आफ्नो आशा परमेश्वरमा राखेर उहाँका आज्ञाहरू पालन गर्नसक्छन्।’ परमेश्वरप्रति आज्ञाकारी भएको खण्डमा तिनीहरू “अट्टेरी र वागी पुस्ता[जस्तो]” हुनेछैनन्, जसले “आफ्नो हृदय ठीक” राखेनन् अनि तिनीहरूको “हृदय परमेश्वरतर्फ स्थिर थिएन।”—मत्ती २४:२१; भजन ७८:६-८.
विश्वभरि यहोवाका साक्षीहरूका ८०,००० भन्दा बढी मण्डलीहरूमा तारिफ गर्नलायकका थुप्रै युवाहरू पाउनुहुनेछ। पावलले जवान तिमोथीलाई दिएको आज्ञाअनुरूप ‘असल गर्न, असल काममा उदारचित्त भएर धनवान् हुन, बाँडचुड गर्न तत्पर हुनुका साथै पछि आउने समयको ख्याल गरेर तिनीहरूले आफ्नोनिम्ति असल जग बनाएका छन्।’ परिणामस्वरूप, अहिले तिनीहरूले “त्यो जीवन, जो साँच्चै जीवन हो, सो पक्री” राखेका छन्। (१ तिमोथी ६:१८, १९) यी साँचो मसीहीहरूबारे अझ बढी थाह पाउन तिनीहरूका सभाहरूमा उपस्थित हुनुहोस्। अनि तपाईंले पनि सुरक्षित भविष्यको आशा राख्न सक्नुहुनेछ।
[फुटनोटहरू]
a “डरलाग्दा” र “निष्ठूर” भन्ने अर्थ बुझाउन मत्ती ८:२८ र २ तिमोथी ३:१ मा एउटै युनानी शब्द प्रयोग गरिएको छ।
b नाउँ परिवर्तन गरिएका छन्।
c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ ७-मा भएको चित्र]
येशूले निको पार्नुभएको “डरलाग्दा” मानिसहरूलाई दुष्ट आत्माहरूले तड्पाइरहेका थिए
[पृष्ठ ८-मा भएको चित्र]
“भविष्यको लागि असल जग” बसाल्ने