स्वस्थकर शिक्षालाई आफ्नो जीवनपद्धति बनाउनुहोस्
“[ईश्वरीय, न्यु व.] भक्तिचाहिं . . . सबै कुराको निम्ति उपयोगी हुन्छ।”—१ तिमोथी ४:८.
जीवनको मूल्यवान सम्पत्तिमध्ये सुस्वास्थ्य एक हो भनी धेरै मानिसहरूले सजिलै मानिलिन्छन्। आफूलाई शारीरिक तवरमा स्वस्थ राख्न मानिसहरूले प्रशस्त समय र पैसा खर्च गर्छन् अनि आफूलाई चाहिएको बेला उचित चिकित्सा सहयोग प्राप्त गर्न चाँजो मिलाउँछन्। उदाहरणको लागि, संयुक्त राज्यमा हालसालको वार्षिक स्वास्थ्य खर्च नौ खरब डलर थियो। त्यसको अर्थ प्रत्येक पुरुष, स्त्री र बच्चाको निम्ति प्रतिवर्ष ३,००० डलरभन्दा बढी खर्च हुन्छ। त्यो रकम विकसित राष्ट्रहरूमा प्रति व्यक्तिको सालाखाला आयस्रोत जत्तिकै छ।
२ यत्तिका समय, शक्ति र पैसाको खर्चले के फाइदा भएको छ? समष्टिगत रूपमा भन्ने हो भने, मानव इतिहासको सबैभन्दा उन्नत चिकित्सा प्रबन्ध र स्रोतहरू भएको समयमा अहिले हामी बाँचिरहेका छौं। यद्यपि, यसो हुँदैमा स्वतः प्राप्त स्वस्थकर जीवन हुँदैन। वास्तवमा, प्रस्तावित स्वास्थ्य हेरचाह कार्यक्रमको भाषणमा संयुक्त राज्यका राष्ट्रपतिले औंल्याउँदै भने, “यस देशमा हिंसाले गर्दा हुने अचाक्ली खर्चको अतिरिक्त” अन्य विकसित राष्ट्रहरूमा भन्दा संयुक्त राज्यका बासिन्दाहरूमा “एड्स, धूम्रपान र औधी मद्यपान, किशोरावस्थामा गर्भाधारण, कम वजनका बच्चाहरू जन्मने दर बढी छ।” उनको निष्कर्ष? “हामी साँच्चै नै स्वस्थ मानिसहरू हुन चाहन्छौं भने हामीले हाम्रो जीवनपद्धति परिवर्तन गर्नुपर्छ।”—गलाती ६:७, ८.
स्वस्थकर जीवनपद्धति
३ प्रथम शताब्दीमा युनानीहरू शारीरिक व्यायाम, कसरत र दौड प्रतियोगिताहरूप्रति आसक्तिको लागि प्रख्यात थिए। यस्तो पृष्ठभूमिको विपरीत प्रेरित पावल जवान तिमोथीलाई यो लेख्न प्रेरित भए: “शारीरिक साधन थोरैको निम्ति उपयोगी हुन्छ, तर [ईश्वरीय, न्यु व.] भक्तिचाहिं अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा भएका सबै कुराको निम्ति उपयोगी हुन्छ।” (१ तिमोथी ४:८) तसर्थ, चिकित्सा तथा शारीरिक प्रबन्धहरूले वास्तवमा स्वस्थकर जीवनपद्धतिको ग्यारेन्टी दिन सक्दैन भनी आज मानिसहरूले स्वीकार्न थालेका कुराहरूलाई पावलले सङ्केत गर्दैथिए। यद्यपि, आध्यात्मिक सुस्वास्थ्य र ईश्वरीय भक्ति खेती गर्नु सबैभन्दा अपरिहार्य हो भनी पावलले हामीलाई आश्वासन दिन्छन्।
४ त्यस्तो प्रकारको मार्ग “अहिले भइरहेको जीवनको” निम्ति फाइदाजनक हुन्छ किनभने अईश्वरीय मानिसहरूले गर्ने हानिकारक कामहरू अथवा “भक्तिको भेष मात्र लिने” मानिसहरूबाट त्यसले सुरक्षा प्रदान गर्छ। (२ तिमोथी ३:५; हितोपदेश २३:२९, ३०; लूका १५:११-१६; १ कोरिन्थी ६:१८; १ तिमोथी ६:९, १०) ईश्वरीय भक्तिअनुसार जीवन व्यतित गर्नेहरूले परमेश्वरको व्यवस्था र आवश्यकताहरूप्रति स्वस्थकर आदर राख्छन्। त्यसले परमेश्वरको स्वस्थकर शिक्षालाई आफ्नो जीवनपद्धति बनाउन तिनीहरूलाई उत्प्रेरित गर्छ। त्यस्तो पद्धतिले तिनीहरूलाई आध्यात्मिक तथा शारीरिक सुस्वास्थ्य, सन्तुष्टि र आनन्द दिन्छ। अनि तिनीहरूले “पछि आउने समयको ख्याल गरेर तिनीहरू आफैको निम्ति असल जग बनाएर तिनीहरूले त्यो जीवन, जो साँच्चै जीवन हो, सो पक्री” राखेको हुन्छ।—१ तिमोथी ६:१९.
५ परमेश्वरका स्वस्थकर शिक्षाहरूद्वारा डोऱ्याइएको जीवनले अहिले र भविष्यमा आशिषहरू ल्याउने हुँदा हामीले व्यावहारिक अर्थमा परमेश्वरको स्वस्थकर शिक्षाहरूलाई कसरी आफ्नो जीवनपद्धति बनाउन सक्छौं भनी थाहा पाउनु पर्छ। तितसलाई पत्र लेख्दा प्रेरित पावलले त्यस प्रश्नको उत्तर दिए। त्यस पुस्तकको दोस्रो अध्यायमा हामी विशेष ध्यान दिनेछौं जहाँ तितसलाई “पक्का सिद्धान्तको योग्य हुने कुराहरू मात्र बोल्ने गर्नू” भन्ने निर्देशन तिनले दिए। साँच्चै नै, आज जवान र वृद्ध, पुरुष र स्त्री लगायत हामी सबैले त्यस्ता “स्वस्थकर शिक्षा” बाट लाभ उठाउन सक्छौं।—तितस १:४, ५; २:१.
वृद्ध पुरुषहरूका लागि सल्लाह
६ सुरुमा पावलले मण्डलीका वृद्ध पुरुषहरूलाई केही सल्लाह दिए। कृपया तितस २:२ पढ्नुहोस्। सामूहिक तवरमा “बूढ़ा-पाकाहरू” विश्वास र निष्ठाको उदाहरणस्वरूप लिइने आदरणीय र सम्मानित व्यक्तिहरू हुन्। (लेवी १९:३२; हितोपदेश १६:३१) यसकारण अत्यन्तै गम्भीर नभएका विषयहरूमा वृद्धहरूलाई सल्लाह अथवा सुझावहरू दिन अरूहरू हिचकिचाउन सक्छन्। (अय्यूब ३२:६, ७; १ तिमोथी ५:१) तसर्थ, वृद्धहरूलाई सर्वप्रथम सम्बोधन गरेर पावलले शिष्टता देखाए र पावलका शब्दहरूलाई हृदयङ्गम गरेर तिनीहरू पनि पावलजस्तै अनुकरणीय भएका छन् कि छैनन् भनी पक्का गर्न सक्छन्।—१ कोरिन्थी ११:१; फिलिप्पी ३:१७.
७ सर्वप्रथम वृद्धहरू “परहेजी” हुनुपर्छ। यसको मूल शब्दले पिउने बानीलाई (“विनीत,” किङ्गडम इन्टरलिनियर) सङ्केत गर्न सके तापनि यसको अर्थ सतर्क, ग्राही अथवा सजग हुनु पनि हो। (२ तिमोथी ४:५; १ पत्रुस १:१३) तसर्थ, चाहे पिउने सम्बन्धमा अथवा अन्य कुराहरूमा होस्, वृद्धहरू सन्तुलित हुनुपर्छ र अचाक्ली अथवा अति गर्नु हुँदैन।
८ त्यसपछि तिनीहरू “गम्भीर” र “ आत्मसंयमी [स्वस्थ मनका, न्यु व.]” पनि हुनुपर्छ। गम्भीर हुनु अथवा सम्माननीय, श्रद्धेय र आदरणीय हुनु उमेर सङ्गसङ्गै आउने कुराहरू हुन्। तर कोही भने अति नै गम्भीर भएर जवानहरूको जोशलाई नसहने हुन सक्छन्। (हितोपदेश २०:२९) त्यसकारण “गम्भीर” स्वभावलाई “आत्मसंयमी [स्वस्थ मनका, न्यु व.]” सित सन्तुलित गरिएको छ। वृद्धहरू आफ्नो उमेर सुहाउँदो गम्भीर गर्नुपर्छ। तर यसका साथसाथै सन्तुलित हुनुपर्छ र आफ्ना भावना तथा आवेगहरूलाई पूर्ण नियन्त्रणमा राख्नुपर्छ।
९ अन्तमा, वृद्धहरू “विश्वास, प्रेम र धीरजमा पक्का” हुनुपर्छ। आफ्ना पत्रहरूमा पावलले धेरैपटक विश्वास र प्रेमलाई आशा सङ्गसङ्गै उल्लेख गरे। (१ कोरिन्थी १३:१३; १ थिस्सलोनिकी १:३; ५:८) यहाँ पावलले “आशा” को सट्टा “धीरज” उल्लेख गरेका छन्। शायद उमेर ढल्किंदै जाँदा कुनै कुरामा पनि मन नलाग्ने हुन सक्छ। (उपदेशक १२:१) तर येशूले औंल्याउनुभएझैं “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती २४:१३) यसको अतिरिक्त, वृद्धहरू तिनीहरूको उमेर अथवा अनुभवले गर्दा मात्र होइनन् तर तिनीहरूका विश्वास, प्रेम र धीरजजस्ता बलिया आध्यात्मिक गुणहरूले गर्दा अरूको निम्ति उल्लेखनीय उदाहरणहरू हुन्।
वृद्ध स्त्रीहरूका लागि
१० त्यसपछि पावल आफ्नो ध्यान मण्डलीका वृद्धाहरूतर्फ केन्द्रित गर्छन्। कृपया तितस २:३ पढ्नुहोस्। मण्डलीका स्त्रीहरूमध्ये “वृद्धाहरू” वयस्क सदस्यहरू हुन्। तिनीहरूमध्ये केही “वृद्धहरू” का पत्नीहरू र अन्य सदस्यहरूका आमा तथा हजुरआमाहरू समावेश छन्। अतः तिनीहरूले निकै हदसम्म असल अथवा खराब प्रभाव पार्न सक्छन्। त्यसैले त पावलले “त्यही माफिक” भनेर आफ्नो कुरा सुरु गरे। त्यसको अर्थ, “वृद्धाहरू” ले पनि मण्डलीमा आफ्नो भूमिका निभाउन पूरा गर्नुपर्ने केही जिम्मेवारीहरू छन्।
११ सर्वप्रथम, “वृद्धाहरू पनि पवित्र [श्रद्धेय, न्यु व.] चालचलनका” होऊन् भनी पावलले भने। “चालचलन” एक व्यक्तिको भित्री मनोभाव र व्यक्तित्वको बाहिरी अभिव्यक्ति हो। यो आचरण र बाह्य रूप दुवैमा झल्किन्छ। (मत्ती १२:३४, ३५) उसोभए, वृद्ध मसीही स्त्रीको मनोभाव र व्यक्तित्व कस्तो हुनुपर्छ? एउटै शब्दमा भन्ने हो भने, “पवित्र [श्रद्वेय, न्यु व.]।” यो युनानी शब्दबाट अनुवाद गरिएको हो जसको अर्थ “परमेश्वरमा अर्पित व्यक्ति, कार्य अथवा वस्तुलाई सुहाउँदो।” मण्डलीमा अरूहरू र विशेषगरि जवान स्त्रीहरूमाथि पर्ने प्रभावलाई दृष्टिगत गर्दा यो निश्चय नै उपयुक्त सल्लाह हो।—१ तिमोथी २:९, १०.
१२ त्यसपछि दुई वटा नकारात्मक गुणहरू आउँछन्: “अर्कालाई सित्तैं दोष नलाउने, रक्सी धेरै नपिउने।” यी दुई वटा एकसाथ राखिनु चाखलाग्दो छ। प्राध्यापक इ. एफ. स्कटले यस्तो अवलोकन गरे: “प्राचीन समयमा पेय पदार्थको नाउँमा दाखरस मात्र हुँदा यस्ता स-साना दाखरस भोजहरूमा वृद्धाहरूले आफ्ना छिमेकीहरूका बानीहरूलाई कोट्याउने गर्थे।” अरू मानिसहरूबारे पुरुषले भन्दा स्त्रीहरू बढी चासो राख्छन् र यो सराहनीय छ। यद्यपि, पेय पदार्थ खाएर जिब्रोलाई अनियन्त्रित छाड्यो भने अरूप्रतिको चासो बदख्वाइँ गर्न र अर्कालाई दोष लगाउन समेत प्रयोग हुन सक्छ। (हितोपदेश २३:३३) स्वस्थकर जीवनपद्धति पछ्याइरहेका पुरुष तथा स्त्री सबैले यस खतराप्रति सतर्क हुनु बेस हुनेछ।
१३ आफूसित भएको समयको रचनात्मक प्रयोग गर्न वृद्धाहरूलाई “बढ़िया कुराहरूको शिक्षा दिने होऊन्” भनी प्रोत्साहन दिइएको छ। मण्डलीमा स्त्रीहरू शिक्षकहरू नहोऊन् भनी पावलले अन्य ठाउँहरूमा सुस्पष्ट निर्देशनहरू दिए। (१ कोरिन्थी १४:३४; १ तिमोथी २:१२) तर यसले परमेश्वरबारे बहुमूल्य ज्ञान आफ्नो घरपरिवार र जनसाधारणलाई बाँड्न भने रोक्दैन। (२ तिमोथी १:५; ३:१४, १५) तिनीहरू मण्डलीका जवान स्त्रीहरूको निम्ति मसीही उदाहरण भएर निकै असल कार्य सम्पन्न गर्न सक्छन् भन्ने कुरा निम्न पदहरूले देखाउँछ।
जवान स्त्रीहरूका लागि
१४ “बढ़िया कुराहरूको शिक्षा दिने होऊन्” भनी पावलले वृद्धाहरूलाई प्रोत्साहन दिंदा तिनले खासगरि जवान स्त्रीहरूको उल्लेख गरिरहेका थिए। कृपया तितस २:४, ५ पढ्नुहोस्। प्रायजसो सल्लाहहरू घरायसी कामकुराहरूमा केन्द्रित भए तापनि भौतिक फिक्रीहरूले आफ्नो जीवनमा अति प्रभुता जमाउन दिनदेखि जवान मसीही स्त्रीहरू सतर्क हुनुपर्छ। बरु तिनीहरू “आत्मसंयमी [स्वस्थ मनका, न्यु व.], पतिव्रता, . . . दयालु” हुनुपर्छ। अनि विशेषगरि “परमेश्वरको वचनको निन्दा हुन” नपाओस् भनेर तिनीहरूले मसीही शिरत्वको प्रबन्धलाई समर्थन गर्नुपर्छ।
१५ हाम्रो र पावलको समयको पारिवारिक अवस्थामा आकाश जमीनको फरक भइसकेको छ। धेरै परिवारका सदस्यहरूले बेग्लाबेग्लै धर्म मान्छन् र कुनै परिवारमा आमा या बाबु मात्र हुन्छ। एउटा संयुक्त परिवारमा पनि पत्नी या आमा पूर्णसमय गृहिणी भएको पाउनु असामान्य भइसकेको छ। यी सबै कुराहरूले जवान मसीही स्त्रीहरूमाथि ठूलो दबाब र जिम्मेवारीहरू ल्याउँछ तर त्यसो हुँदैमा तिनीहरू आध्यात्मिक दायित्वबाट मुक्त हुँदैनन्। तसर्थ राज्यसम्बन्धी कामकुराहरूलाई प्रथम स्थान दिएर आफ्ना कार्यहरूलाई सन्तुलनमा राखेका विश्वासी जवान स्त्रीहरू हेर्न पाउनु एउटा ठूलो आनन्दको कुरा हो। कसै कसैले सहायक र नियमित अग्रगामीको हैसियतमा पूर्ण-समय सेवकाई समेत गरिरहेका छन्। (मत्ती ६:३३) तिनीहरू साँच्चै नै सराहनीय छन्!
जवान मानिसहरूका लागि
१६ त्यसपछि पावलले तितस लगायत जवान मानिसहरूलाई सम्बोधन गरे। कृपया तितस २:६-८ पढ्नुहोस्। आज थुप्रै जवानहरू धूम्रपान, लागू पदार्थ तथा मद्यपानको दुर्व्यसन, अवैध यौनसम्बन्ध र हिंसात्मक खेलकूद, पतित सङ्गीत र मनोरञ्जन जस्ता गैरजिम्मेवारीपूर्ण र घातक कामकुराहरूमा लागिरहेका छन्। यी कुराहरूलाई ध्यानमा राख्दा स्वस्थकर र सन्तोषजनक जीवनपद्धति पछ्याउन चाहने मसीही जवानहरूका लागि यो समयसापेक्ष सल्लाह हो।
१७ सांसारिक जवानहरूको विपरीत एक जवान मसीही “आत्मसंयमी [स्वस्थ मनका, न्यु व.]” र “सबै काममा आफूलाई बढ़िया कामको नमूना” देखाउने हुनुपर्छ। स्वस्थ र पाको मनस्थिति अध्ययन गरेर मात्र पाइने कुरा नभई “खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास” गरेर पाइने कुरा हो भनी पावलले वर्णन गरे। (हिब्रू ५:१४) स्वार्थी अभिलाषाहरूमा आफ्नो जवानीको बल खेर फाल्नुको सट्टा मसीही मण्डलीमा विभिन्न जिम्मेवारीहरू निभाउन जवान मानिसहरूले आफ्नो समय र शक्ति प्रयोग गरिरहेको हेर्न पाउनु कस्तो आनन्दको कुरा हो! त्यसो गर्नाले तिनीहरू पनि तितसजस्तै मसीही मण्डलीमा “असल कार्यका” उदाहरण हुन सक्छन्।—१ तिमोथी ४:१२.
१८ जवान मानिसहरूको “सिद्धान्तमा अभ्रष्टाचार, गम्भीरता, र पक्का वचनमा चाहिं कसैले निन्दा गर्न नपाओस्” भनी तिनीहरूलाई स्मरण गराइएको छ। ‘अभ्रष्ट’ कुराहरू सिकाउन ती परमेश्वरको वचनमा पूर्णतया आधारित हुनुपर्छ; यसर्थ जवान मानिसहरू बाइबलको मेहनती विद्यार्थीहरू हुनुपर्छ। परमेश्वरको वचनको सेवक हुनु एउटा गम्भीर जिम्मेवारी हो भनी तिनीहरूले बुझेको हुनुपर्छ र तिनीहरूको “चाल . . . सुसमाचारको योग्य” हुनुपर्छ। (फिलिप्पी १:२७) त्यस्तैगरि तिनीहरूको बोली “स्वस्थकर” र विरोधीहरूले कुनै गुनासो गर्न नपाउने, “निन्दा गर्न नमिल्ने” प्रकारको हुनुपर्छ।—२ कोरिन्थी ६:३; १ पत्रुस २:१२, १५.
दास र नोकरहरूका लागि
१९ अन्तमा नोकरी गरिरहेका मानिसहरूतर्फ पावलले आफ्नो ध्यान केन्द्रित गरे। कृपया तितस २:९, १० पढ्नुहोस्। आज, हामीमध्ये धेरै जना दास अथवा नोकरहरू त छैनौं तर थुप्रै अरूको सेवा गरिरहेका कर्मचारी र कामदारहरू हौं। तसर्थ, पावलले सूचीबद्ध गरेका सिद्धान्तहरू आज पनि उत्तिकै लागू हुन्छ।
२० “सबै कुरामा आफ्ना आफ्ना मालिकको अधीन” हुनुको अर्थ मसीही कर्मचारीहरूले आफ्ना मालिक र सुपरीवेक्षकप्रति साँचो आदर देखाउनुपर्छ। (कलस्सी ३:२२) दिनभरिको पूरा काम दिने इमान्दार कामदारहरू भनी तिनीहरूले नाम कमाएको हुनुपर्छ। आफू काम गर्ने ठाउँमा अन्य कर्मचारीहरूको चालचलनको बावजूद तिनीहरूले मसीही आचरणको उच्चस्तर कायम गर्नुपर्छ। यी सबै “हाम्रा उद्धारकर्त्ताको सिद्धान्तको शोभा बढ़ाऊन्” भनेर हो। सङ्गी मसीही कामदार अथवा कर्मचारीको असल चालचलनले गर्दा निष्पक्ष अवलोकनकर्त्ताहरू सत्यमा आएका राम्रा परिणामहरू हामी कति धेरै सुन्छौं! यो आफ्नो कार्यक्षेत्रमा पनि उहाँको स्वस्थकर शिक्षाहरू पछ्याउने व्यक्तिहरूमाथि यहोवाले वर्षाउनु हुने आशिष हो।—एफिसी ६:७, ८.
शुद्ध गरिएको जाति
२१ पावलले वर्णन गरेका स्वस्थकर शिक्षाहरू हामीले आफूखुशी परामर्श लिने आचारसंहिता अथवा नैतिक विचारधारासम्बन्धी नियमहरू मात्र होइन। पावलले यसको उद्देश्यबारे वर्णन गरे। कृपया तितस २:११, १२ पढ्नुहोस्। हामीप्रति उहाँको प्रेम र विशेष कृपाले गर्दा हामीले यस कठिन तथा डरलाग्दो समयमा पनि उद्देश्यपूर्ण र सन्तोषप्रद जीवन बिताउन सकोस् भनेर यहोवा परमेश्वरले स्वस्थकर शिक्षाहरूको प्रबन्ध गरिदिनुभएको छ। के तपाईं ती स्वस्थकर शिक्षाहरूलाई आफ्नो जीवनपद्धति बनाउन तयार हुनुहुन्छ? त्यसो गर्नुको अर्थ तपाईंको मुक्ति हुनेछ।
२२ त्यसको अतिरिक्त स्वस्थकर शिक्षाहरूलाई हाम्रो जीवनपद्धति बनाउनाले अहिले अद्भुत अवसर र भविष्यको निम्ति आनन्दित आशा दिन्छ। कृपया तितस २:१३, १४ पढ्नुहोस्। निस्सन्देह, स्वस्थकर शिक्षाहरू हाम्रो जीवनको पद्धति बनाउनाले एउटा शुद्ध जातिको रूपमा यस पतित र मासिनै लागेको संसारबाट अलग्गै छुट्टिन्छौं। पावलका शब्दहरू मोशाले सीनै पर्वतमा इस्राएलका सन्तानहरूलाई दिएका सम्झौटाहरू जस्तै छन्। “उहाँले प्रतिज्ञा गर्नुभएझैं परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई . . . अरू जातिहरूभन्दा तिमीहरू प्रशंसा, सम्मान र कीर्तिमा महान् हुनेछौ, तर त्यसको निम्ति तिमीहरू एक पवित्र जाति हुनेछौ।”—व्यवस्था २६:१८, १९.
२३ स्वस्थकर शिक्षाहरूलाई आफ्नो जीवनपद्धति बनाएर यहोवाको शुद्ध जाति हुन पाएको अवसरलाई हामी सदैव मूल्यवान ठानौं! हरेक प्रकारको अधार्मिक तथा सांसारिक इच्छाहरू त्याग्न सदैव सतर्क हुनुहोस्। त्यसो गरेमा हामी शुद्ध जाति भएर आज भइरहेको यहोवाको महान कार्यमा प्रयोग हुन योग्यका हुन सक्छौं।—कलस्सी १:१०. (w94 6/15)
के तपाईंलाई सम्झना छ?
▫ ईश्वरीय भक्ति किन सबै कुराको निम्ति लाभदायी हुन्छ?
▫ वृद्ध मसीही पुरुष तथा स्त्रीहरूले कसरी स्वस्थकर शिक्षाहरूलाई आफ्नो जीवनपद्धति बनाउन सक्छन्?
▫ मण्डलीका जवान पुरुष तथा स्त्रीहरूको निम्ति पावलले कस्तो स्वस्थकर शिक्षा दिए?
▫ स्वस्थकर शिक्षालाई आफ्नो जीवनपद्धति बनायौं भने कस्तो अवसर र आशिषहरू हामी पाउन सक्छौं?
[अध्ययनका लागि प्रश्नहरू]
१, २. आफ्नो स्वास्थ्यप्रति मानिसहरूले कुन हदसम्म चासो देखाउँछन् र यसका कस्ता परिणामहरू भएका छन्?
३. प्राचीन युनानी संस्कृतिलाई ध्यानमा राख्दै पावलले कस्तो सल्लाह दिए?
४. ईश्वरीय भक्तिका लाभहरू के के हुन्?
५. तितसलाई लेखेको पत्रको दोस्रो अध्यायमा पावलले कस्ता निर्देशनहरू दिए?
६. “बूढ़ा-पाकाहरू” का निम्ति पावलले कस्तो सल्लाह दिए र त्यसो गर्नु किन एउटा दयापूर्ण कार्य थियो?
७, ८. (क)“परहेजी” हुनुको अर्थ के हो? (ख) “गम्भीर” हुने गुणलाई किन “स्वस्थ मनका,” हुनुसित सन्तुलन गर्नुपर्छ?
९. वृद्धहरू किन विश्वास, प्रेम र विशेषगरि धीरजमा स्वस्थ हुनुपर्छ?
१०. मण्डलीका “वृद्धाहरू” को निम्ति पावलले कस्तो सल्लाह दिन्छन्?
११. श्रद्वेय चालचलन भनेको के हो?
१२. जिब्रोको कस्तो दुरुपयोगदेखि सबै अलग हुनुपर्छ?
१३. कुन अर्थमा वृद्धाहरू शिक्षकहरू हुन सक्छन्?
१४. आफ्ना कार्यहरू निभाउन जवान मसीही स्त्रीहरूले कसरी सन्तुलन देखाउन सक्छन्?
१५. मण्डलीमा थुप्रै जवान स्त्रीहरू किन सराहनीय छन्?
१६. जवान मानिसहरूका निम्ति पावलले कस्तो सल्लाह दिए र त्यो किन समयसापेक्ष छ?
१७. जवान मानिसहरू कसरी “स्वस्थ मनका” र “बढ़िया कामको नमूना” हुन सक्छन्?
१८. सिद्धान्तमा अभ्रष्ट, कामकुरामा गम्भीर, र बोलीवचनमा स्वस्थकर हुनुपर्छ भन्नुको अर्थ के हो?
१९, २०. नोकरी गर्नेहरूले पनि कसरी “हाम्रा उद्धारकर्त्ताको सिद्धान्तको शोभा बढ़ाउन” सक्छन्?
२१. यहोवाले किन स्वस्थकर शिक्षाहरू प्रदान गर्नुभएको छ र हामीले कस्तो प्रतिक्रिया व्यक्त गर्नुपर्छ?
२२, २३. स्वस्थकर शिक्षाहरूलाई आफ्नो जीवनपद्धति बनायौं भने हामीले कस्ता आशिषहरूको खेती गर्नेछौं?
[पृष्ठ २५-मा भएको चित्र]
आज थुप्रैले तितस २:२-४ मा दिइएको सल्लाह पालन गरिरहेका छन्