फिलेमोन तथा ओनसिमस—मसीही भ्रातृत्वमा एकताबद्ध
प्रेरित पावलले ईश्वरीय प्रेरणाद्वारा लेखेका पत्रहरूमध्ये एउटा पत्रले एकदमै विपरीत दुई पुरुषहरूबीचको समस्यालाई निकै होसियारीसाथ केलाएको छ। यी पुरुषहरूमध्ये एक फिलेमोन थिए र अर्को चाहिं ओनसिमस। यी पुरुषहरू को थिए? पावलले तिनीहरूमाथि किन यत्ति धेरै चासो लिए?
पत्र पाउने फिलेमोन एसिया माइनरको कलस्सीमा बस्थे। यस इलाकाका अरू मसीहीहरूले भन्दा फिलेमोनले प्रेरित पावललाई राम्ररी चिनेका थिए। किनकि प्रेरित पावल आफैले तिनलाई प्रचार गरेका थिए। (कलस्सी १:१; २:१) पावलले चाहिं फिलेमोनलाई एक ‘प्रिय सहकर्मीको’ रूपमा चिनेका थिए। फिलेमोन विश्वास र प्रेमका नमुना थिए। तिनी सँगी मसीहीहरूको अतिथी सत्कार गर्थे र तिनीहरूका लागि स्फूर्तिको स्रोत पनि थिए। प्राप्त प्रमाणअनुसार तिनी सम्पन्न पनि थिए। किनकि तिनको स्थानीय मण्डलीका सभाहरू सञ्चालन गर्न प्रशस्त ठाउँ भएको ठूलो घर थियो। पावलले पत्रमा उल्लेख गरेका अन्य दुई व्यक्तिहरू, अप्पिया र अर्खिप्पस फिलेमोनकी पत्नी र छोरो हुनुपर्छ भन्ने अनुमान गरिएको छ। फिलेमोनको घरमा कमसे कम एक जना दास, ओनसिमस पनि थिए।—फिलेमोन १, २, ५, ७, १९ख, २२.
रोममा एक भगुवा
सा.यु. ६१ तिर पावलले रोमबाट फिलेमोनलाई पत्र लेख्दा ओनसिमस पावलसँगै थिए। यद्यपि, १,४०० किलोमिटर टाढा रोममा ओनसिमस किन पुगे त्यसबारे धर्मशास्त्रले केही पनि बताउँदैन। पावलले फिलेमोनलाई यसो भने: “यदि [ओनसिमसले] तिमीलाई केही खराबी गरेको भए, अथवा केही कुराको त्यो ऋणी छ भने, सो मेरै हिसाबमा राखिदिनू।” (फिलेमोन १८) ओनसिमस र तिनका मालिक फिलेमोनबीच केही खटपट भएको थियो भन्ने कुरा यी शब्दहरूबाट प्रस्ट हुन्छ। पावलले यी दुई पुरुषहरूको मेल गराउन त्यो पत्र लेखेका थिए।
फिलेमोनको घरबाट रोमसम्म पुग्न लाग्ने पैसा चोरेपछि ओनसिमस रोममा भगुवा भएर बसे भन्ने अनुमान गरिएको छ। त्यहाँ तिनी मानिसहरूको भीडबीच कसैले नचिन्ने गरी रहन चाहन्थे।a युनानी-रोमी संसारमा भागुवा दासहरू मालिकहरूका लागि मात्र नभई सरकारी अख्तियारवालाहरूका लागि पनि निकै ठूलो समस्याको कारण हुन्थे। भनिन्छ, रोम भगुवा दासहरूको कुख्यात “शरणस्थल” थियो।
पावलले ओनसिमसलाई कसरी भेटे? यसबारे बाइबलले केही बताउँदैन। तथापि, आफूले पाएको नयाँ स्वतन्त्रताको उमंग सेलाउन थालेपछि ओनसिमसले आफू असुरक्षित भएको अनुभव गरेका हुनुपर्छ। पुरातन समयको व्यवस्थाअनुसार मालिकको घर छोडेर भाग्नु जघन्य अपराध थियो। अनि यस्ता भगुवा दासहरूलाई पक्रन रोम शहरमा विशेष प्रहरीहरू लगाइएको हुन्थ्यो। गेहार्ट फ्रिड्रिचअनुसार “भगुवा दासहरू पक्राउ परेपछि निधारमा फलामले डामिन्थ्यो। तिनीहरूलाई अक्सर सताइन्थ्यो, . . . सर्कसमा जनावरहरूसँग खेलाइन्थ्यो वा अरू दासहरूले त्यसरी भाग्ने हिम्मत नगरुन् भन्नाका लागि काठमा कीला ठोकेर झुण्डाइन्थ्यो।” चोरेको पैसा सबै सिद्धिएपछि र लुक्ने ठाउँ वा काम खोज्दा खोज्दा लखतरान भएपछि सायद ओनसिमसले फिलेमोनको घरमा छँदा चिनेका पावललाई आश्रयस्थल र सुलहका लागि आग्रह गरेका हुनसक्छन्।
मालिकका मित्रले कुरा गरिदिएमा मालिक कुनै खास कारणले रिसाएकै भए तापनि सुलह होला भन्ने आशा गर्दै ओनसिमस जानाजानी भागेको हुनुपर्छ भन्ने विश्वास कसै कसैले गरेका छन्। “आपत्मा परेका दासहरूले सुरक्षाको निम्ति खोज्ने सामान्य तथा प्रचलित उपाय” यस्तै खालको थियो भनी ऐतिहासिक स्रोतहरूले औंल्याउँछन्। यदि त्यसो हो भने ओनसिमसले “भाग्ने उद्देश्यले पैसा चोरेको नभई पावललाई आफ्नोनिम्ति मालिक फिलेमोनसित बिन्ती गरिदिने आग्रह गर्न” चोरी गरेका हुनुपर्छ भनेर शास्त्रविद् ब्रायन राप्सी भन्छन्।
पावल ओनसिमसलाई सहयोग गर्छन्
जेसुकै कारणले भागेका होऊन्, रिसाएको मालिकसित सुलह गर्न ओनसिमसले पावलसित मदत मागेको कुरा चाहिं पक्का छ। यसले गर्दा पावललाई पनि फसाद पऱ्यो। ओनसिमस विश्वासमा नभएका दास मात्रै नभई अपराधी भगुवा पनि थिए। मसीही मित्रलाई आफ्नो कानुनी हक प्रयोग नगर्ने दबाब दिएर पावलले ओनसिमसलाई कठोर सजायदेखि बचाउनुपर्ने पो हो कि? अब पावलले के गर्नेथिए?
पावलले फिलेमोनलाई पत्र लेखुञ्जेल भगुवा ओनसिमसले पक्कै पनि तिनीसित केही समय बिताइसकेका थिए। पावलले ओनसिमस “प्रिय भाइ” भएका छन् भन्नसक्नका लागि त्यति समय पर्याप्त थियो। (कलस्सी ४:९) ओनसिमससँगको आफ्नो व्यक्तिगत आध्यात्मिक सम्बन्धबारे पावलले भने, “मैले मेरो बन्धनमा जन्माएको मेरै छोरोको निम्ति म तिमीसित बिन्ती गर्दछु—ओनसिमसको निम्ति।” पावल मध्यस्थकर्ता भइदिएको खण्डमा परिणाम त्यस्तो हुनेथियो भनेर फिलेमोनले सायदै आशा गरेका हुनुपर्छ। पहिले “काम नलाग्ने” भएको दास अब मसीही भाइको रूपमा फर्कंदैछन् भनेर प्रेरित पावलले बताए। ओनसिमस अब आफ्नो नाउँको अर्थअनुरूप “लाभ वाहक” अर्थात् “काम लाग्ने” हुनेथिए।—फिलेमोन १, १०-१२.
कैदमा परेका प्रेरित पावलको निम्ति ओनसिमस निकै कामलाग्दो साबित भएका थिए। वास्तवमा, पावलले तिनलाई आफूसितै राख्नेथिए। तर त्यसो गर्नु गैरकानुनी मात्र नभई फिलेमोनका अधिकार हनन पनि हुनेथियो। (फिलेमोन १३, १४) यो पत्र लेख्दा लेख्दै पावलले फिलेमोनको घरमा भेला हुने मण्डलीलाई अर्को पत्र लेख्दा ओनसिमसलाई “प्रिय भाइ . . . जो तिमीहरूमध्येकै एउटा हुन्” भनेर सम्बोधन गरे। यसबाट ओनसिमसले आफ्नो वफादारीको सबुत दिइसके भन्ने प्रमाणित हुन्छ।—कलस्सी ४:७-९.b
ओनसिमसलाई हार्दिक स्वागत गर्नु भनेर पावलले फिलेमोनलाई प्रोत्साहित गरे। तर तिनले आफू प्रेरित हुनाको अधिकार जमाएर फिलेमोनलाई त्यसो गर्न जबरजस्ती गरेनन् र दासलाई फुकुवा गर्न कर पनि लगाएनन्। आपसी प्रेम र मित्रताको कारण फिलेमोनले तिनीबाट आशा गरे “भन्दा पनि अझ बढ़तानै” गर्ने थिए भनी पावल विश्वस्त थिए। (फिलेमोन २१) ‘अझ बढी’ भन्नुको मतलब के हुनसक्थ्यो, त्यो प्रस्ट पारिएको छैन। किनकि ओनसिमसलाई के गर्ने त्यसबारे सही निर्णय गर्ने अधिकार फिलेमोनलाई मात्र थियो। तथापि, कसै कसैले पावलका शब्दहरूमा त्यस भगुवा दासले ‘पावललाई मदत गर्न थालिसकेको हुँदा फेरि फर्केर त्यसै गरिरहोस् भन्ने’ अनुरोध लुकेको छ भनेर अर्थ्याएका छन्।
पावलले ओनसिमसको निम्ति गरेको बिन्ती के फिलेमोनले सुने? त्यसमा कुनै शंका छैन। यद्यपि, फिलेमोनले त्यसो गरेको देखेर कलस्सीका अन्य मालिकहरू रुष्ठ भए होलान्। सायद आफ्ना दासहरू नभागून भन्ने हेतूले तिनीहरू ओनसिमस दण्डित भएकै चाहन्थे होलान्।
ओनसिमस—परिवर्तन भएपछि
जेसुकै होस्, ओनसिमस नयाँ व्यक्तित्वसहित कलस्सी फर्के। सुसमाचारको शक्तिले तिनको विचारशैली परिवर्तन गरिसकेको हुँदा निस्सन्देह, तिनी त्यस शहरको मसीही मण्डलीका एक विश्वासी सदस्य भए। फिलेमोनले ओनसिमसलाई बन्धनमुक्त पारे वा पारेनन्, त्यो धर्मशास्त्रमा उल्लेख गरिएको छैन। तथापि, आध्यात्मिक दृष्टिकोणले भन्ने हो भने चाहिं पहिले भागिहिंड्ने त्यो दास अब स्वतन्त्र भएको छ। (१ कोरिन्थी ७:२२ तुलना गर्नुहोस्।) आज पनि यस्तै परिवर्तनहरू हुन्छन्। बाइबलका सिद्धान्तहरूलाई व्यवहारमा उतार्दा मानिसहरूको परिस्थिति र व्यक्तित्व सुध्रिन्छ। समाजमा पहिले काम नलाग्ने भनेर हेला गरिएकाहरू अनुकरण गर्न लायक नागरिकहरू हुन्छन्।c
साँचो विश्वासले कत्रो परिवर्तन गराउँदो रहेछ! पहिलेको ओनसिमस फिलेमोनको निम्ति “काम नलाग्ने” थिए होलान् तर अहिलेको नयाँ ओनसिमस निस्सन्देह आफ्नो नाउँको अर्थअनुरूप “लाभ वाहक” भएर बाँचे। अनि फिलेमोन र ओनसिमस मसीही भ्रातृत्वमा फेरि एकताबद्ध हुनु पक्कै पनि आशिष् नै थियो।
[फुटनोटहरू]
a रोमी व्यवस्थाले ‘मालिककहाँ फेरि कहिल्यै नफर्कनेगरि भागेका दासहरूलाई’ सर्भूस फूजिटीभूस (भगुवा दासहरू) भनेर व्याख्या गरेको थियो।
b कलस्सीमा फर्कंदा पावलले ओनसिमस र टाइकिकसको हातमा आफ्नो तीनवटा पत्रहरू पनि पठाएको हुनुपर्छ, जुन आज बाइबलका अंश भएका छन्। ती पत्रहरूमध्ये एउटा फिलेमोनको निम्ति थियो भने बाँकी दुई एफिसी र कलस्सीहरूका लागि थियो।
c उदाहरणका लागि, कृपया ब्यूँझनुहोस्! जुलाई-सप्टेम्बर १९९६, पृष्ठ १५-२०; अप्रिल ८, १९९७, पृष्ठ २६-२८; प्रहरीधरहरा, अगस्त १, १९८९, पृष्ठ ३०-१ (अंग्रेजी); फेब्रुअरी १५, १९९७, पृष्ठ २१-४ हेर्नुहोस्।
[पृष्ठ ३०-मा भएको पेटी]
रोमी व्यवस्था अन्तर्गत दासहरू
सा.यु. प्रथम शताब्दीतिरको रोमी विधानअनुसार दासले आफ्नो मालिकको झोक्की मिजास, कामवास्ना र क्रोध सबै सहनुपर्थ्यो। टिप्पणीकार गेहार्ट फ्रिड्रिचअनुसार “वस्तुतः तथा कानुनी तवरमा दासलाई मानिस गनिंदैनथ्यो तर मालिकले आफ्नो इच्छानुसार मनपरी गर्न पाइने सम्पतिको रूपमा लिइन्थ्यो। . . . [उसको] स्थान घरेलु पशु तथा औजारको जत्ति नै हुन्थ्यो र रोमी व्यवस्थाले उसलाई कुनै मान्यता दिंदैनथ्यो।” जस्तोसुकै अन्याय भोग्नु परे पनि दासले त्यसको कानुनी क्षतिपूर्ति पाउँदैनथ्यो। भनौं भने, उसले मालिकले जे जे भन्यो त्यही त्यही गर्नुपर्थ्यो। क्रोधित मालिकले तोक्ने दण्डको कुनै सीमा हुँदैनथ्यो। सानो काम बिगारेमा पनि मालिकले ज्यानै लिनसक्थ्यो।*
धनी व्यक्तिले सयौं दासहरू राख्ने भए तापनि मध्यमवर्गीय परिवारहरूमा समेत कम्तिमा दुई वा तीन जना दासहरू हुन्थे। शास्त्रज्ञ जोन बार्क्लेअनुसार “घरेलु दासहरूले गर्ने काम विभिन्न खालका हुन्थे। कोही पाले हुन्थे त कोही भान्छे, वेटर, पुछपाछ गर्ने, सन्देश आदानप्रदान गर्ने, धाईआमा र सबैथरीको व्यक्तिगत काम गराउन राखिने दास हुन्थे। यसबाहेक, ठूला तथा धनीहरूको घरभित्र तालिमप्राप्त पेशेवर दासहरू समेत हुन्थे। . . . व्यवहारिक अर्थमा भन्ने हो भने घरेलु दासको जीवनपद्धति मालिकको मिजासमा भर पर्थ्यो र यो कि त लाभप्रद हुन्थ्यो नभए कष्टप्रद। भनाइको मतलब, मालिक दुष्ट परेमा निकै दुःखकष्ट खप्नुपर्ने हुन्थ्यो भने दयालु र उदार मालिक पऱ्यो भने जीवन रमाइलो तथा आशादायी हुन्थ्यो। पुराना पुराना उत्कृष्ट कृतिहरूमा दासहरूमाथि गरिएका क्रूर व्यवहारका थुप्रै उदाहरणहरूका साथै केही मालिक तथा तिनीहरूका दासहरूबीचको न्यानो सम्बन्धबारे थुप्रै कुराहरू लेखिएको पाइन्छ।”
*परमेश्वरका पुरातन जनहरूबीचको दास प्रथाबारे जान्न चाहनुहुन्छ भने वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित धर्मशास्त्रमाथि अन्तरदृष्टि, (अंग्रेजी), खण्ड २, पृष्ठ ९७७-९ हेर्नुहोस्।