बाइबलको दृष्टिकोण
के येशूलाई उपासना गर्नु उचित हो?
शताब्दीयौंदेखि मसीहीजगत्का थुप्रै मानिसहरूले येशू ख्रीष्टलाई सर्वोच्च परमेश्वरको रूपमा उपासना गर्दै आएका छन्। तथापि, येशूले यहोवा परमेश्वरतर्फ ध्यान खिंचेर उहाँको मात्र उपासना गर्नुभयो। उदाहरणका लागि, दियाबललाई दण्डवत् गर्ने दबाउ आउँदा येशूले यसो भन्नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू औ उहाँको मात्र सेवा गर्नू।” (मत्ती ४:१०) पछि येशूले आफ्ना चेलाहरूलाई यस्तो निर्देशन दिनुभयो: “तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि तिमीहरूका पिता एउटै स्वर्गमा हुनुहुन्छ।”—मत्ती २३:९.
येशूले सामरी स्त्रीलाई मानिसहरूले कसरी परमेश्वरलाई उपासना गर्नुपर्छ भनेर बताउनुभयो। तिनीहरूको उपासना आत्मा र सत्यतामा आधारित हुनुपर्छ। साँच्चै “पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ।” (यूहन्ना ४:२३, २४) हो, श्रद्धेय उपासना परमेश्वरलाई मात्र चढाउनुपर्छ। अरू कसैको वा कुनै कुराको उपासना गर्नु मूर्तिपूजा हुनेछ र यसलाई हिब्रू तथा युनानी धर्मशास्त्र दुवैमा निन्दा गरिएको छ।—प्रस्थान २०:४, ५; गलाती ५:१९, २०.
तर कसै कसैले यस्तो प्रश्न गर्लान्, ‘तर के बाइबलमा हामीलाई येशूको पनि उपासना गर्नुपर्छ भनिएको छैन र? के पावलले हिब्रू १:६ मा यसो भनेनन् र: “परमेश्वरका सारा स्वर्गदूतहरूले उनलाई [येशूलाई] पूजून्”?’ बाइबलले मूर्तिपूजाबारे के भन्छ, त्यसैअनुरूप यो शास्त्रपद कसरी बुझ्नसक्छौं?
बाइबलमा उपासना
सर्वप्रथम, पावलले यहाँ पूजून् भनेर के भन्न खोजिरहेका थिए बुझ्नुपर्छ। तिनले युनानी शब्द प्रोस्केनो चलाए। उन्गर्स् बाइबल डिक्सनरी-अनुसार यसको शाब्दिक अर्थ “आदर वा श्रद्धा देखाउन कसैको हात चुम्बन गर्नु” हो। डब्ल्यु. ई. भाइनको एक्सपोजिटेरी डिक्सनरी अफ न्यु टेस्टामेन्ट वर्डस्-अनुसार यस शब्दले “मानिस वा . . . परमेश्वरप्रति देखाइने श्रद्धालाई संकेत गर्छ।” बाइबल समयमा प्रोस्केनो-को शाब्दिक अर्थ उच्च ओहदाका व्यक्तिअघि निहुरनु थियो।
मालिकको ऋण चुक्ता गर्न नसकेका नोकरबारे येशूले दिनुभएको उखानलाई विचार गर्नुहोस्। सोही युनानी शब्दको एउटा रूप यो उखानमा प्रयोग गरिएको छ र यसलाई किङ जेम्स भर्सन-को अनुवाद यसो भन्छ: “त्यस नोकरले घोप्टेर तिनलाई [राजा] दण्डवत् गरी [ प्रोस्केनो-को एक प्रकार] भन्यो, ‘हे मालिक, ममाथि धीरज धर्नुहोस्, र म तपाईंको जम्मै तिरिदिनेछु।’ ” (मत्ती १८:२६; तेर्सो अक्षर हाम्रो।) के त्यस मानिसले मूर्तिपूजा गरिरहेका थिए? अहँ, पटक्कै थिएनन्! तिनले त केवल राजा, मालिक र उच्च ओहदाका मानिसलाई दिनुपर्ने श्रद्धा र आदर दिइरहेका थिए।
त्यसरी दण्डवत् वा आदर गर्नु बाइबलकालीन पूर्वीय देशहरूमा सामान्य थियो। याकूबले आफ्नो दाइ एसावलाई भेटेपछि सात चोटि ढोगे। (उत्पत्ति ३३:३) यूसुफले मिश्री दरबारमा प्राप्त गरेको ओहदाप्रति आदर देखाउँदै तिनका दाजुहरूले तिनलाई निहुरेर ढोगे वा दण्डवत् गरे। (उत्पत्ति ४२:६) यी कुराहरूलाई विचार गर्दा ज्योतिषीहरूले शिशु येशूलाई भेट्टाउँदा के गरे राम्ररी बुझ्नसक्छौं। तिनीहरूले येशू “यहूदीहरूका राजा भएर जन्मेका” हुन् भनेर मानि लिएका थिए। किंग जेम्स भर्सन-मा भनिएझैं तिनीहरू “घोप्टो परेर उहाँलाई दण्डवत् [ प्रोस्केनो] गरे।”—मत्ती २:२, ११.
अतः कुनै कुनै बाइबल अनुवादहरूमा “उपासना” भनी अनुवाद गरिएको प्रोस्केनो शब्दले यहोवा परमेश्वरलाई चढाउनुपर्ने ऐकान्तिक भक्तिलाई मात्र बुझाउँदैन। यसले अर्को व्यक्तिलाई देखाउने आदर वा सम्मानलाई पनि बुझाउनसक्छ। गलत अर्थ नलागोस् भनेर कुनै कुनै बाइबल अनुवादले प्रोस्केनो शब्दलाई हिब्रू १:६ मा “तिनलाई श्रद्धा देखाउने” (न्यु जेरुशलेम बाइबल), “तिनलाई आदर गर्ने” (द कमप्लिट बाइबल इन मोर्डन इंगलिस), “तिनी सामु निहुरिने” ( ट्वेन्टिइथ सेन्चुरी न्यु टेस्टामेन्ट), वा “तिनलाई दण्डवत् गर्ने” (न्यु वर्ल्ड ट्रान्सलेसन) इत्यादि भनेर अनुवाद गरेका छन्।
येशू दण्डवत्को योग्य हुनुहुन्छ
के येशू त्यस्तो दण्डवत्को योग्य हुनुहुन्छ? अवश्य! हिब्रूहरूलाई लेखेको पत्रमा प्रेरित पावलले “सबै कुराका हकदार” येशू “उच्च स्थानमा महामहिमको दाहिने बाहुलिपट्टि विराजमान हुनुभयो” भनेर बताउँछन्। (हिब्रू १:२-४) अतः “स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार गर्नुपर्छ।”—फिलिप्पी २:१०, ११.
उल्लेखनीय कुरा के छ भने, ख्रीष्टले चाँडै त्यस उच्च स्थान र विशाल शक्ति प्रयोग गर्नुभएर पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नुहुनेछ। परमेश्वरको निर्देशन र येशूको छुडौतीको बलिदानको कारण उहाँले धार्मिक शासनको अधीनमा बस्न चाहनेहरूको फाइदाको निम्ति पृथ्वीबाट शोक, रुवाइ, पीडा सबै हटाउनुहुनेछ। त्यसकारण, के उहाँ हाम्रो आदर, सम्मान र आज्ञाकारीताको योग्य हुनुहुन्न र?—भजन २:१२; यशैया ९:६; लूका २३:४३; प्रकाश २१:३, ४.
“डाह गर्नुहुने परमेश्वर”
तथापि, बाइबलले हाम्रो धार्मिक श्रद्धा र भक्तिचाहिं परमेश्वरलाई मात्र दिनुपर्छ भनेर स्पष्टै बताउँछ। मोशाले उहाँ “डाह गर्नुहुने परमेश्वर हुनुहुन्छ” भनेर बताए। अनि बाइबल हामीलाई “स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर” भन्ने आग्रह गर्छ।—व्यवस्था ४:२४; प्रकाश १४:७.
साँचो उपासनामा येशूको भूमिका साँच्चै गहन छ अनि यो आदर तथा सम्मानको योग्य छ। (२ कोरिन्थी १:२०, २१; १ तिमोथी २:५) उहाँमार्फत मात्र हामीले यहोवा परमेश्वरलाई पुकार्नसक्छौं। (यूहन्ना १४:६) त्यसैअनुरूप, साँचो मसीहीहरूले आफ्नो उपासना सर्वोच्च यहोवा परमेश्वरतर्फ मात्र केन्द्रित गर्नु उत्तम हो।