आफू तयार रहेको प्रमाण दिनुहोस्!
“आफू तयार रहेको प्रमाण देओ, किनकि तिमीहरूले नचिताएको समयमा मानिसको छोरा आउँदैछ।”—मत्ती २४:४४.
१, २. (क) बाइबलमा भविष्यवाणी गरिएका कस्ता घटनाहरूलाई बाघले गरेको एउटा आक्रमणसित तुलना गर्न सकिन्छ? (ख) आउँदै गरेको आक्रमणले तपाईंमा कस्तो असर पार्छ?
एक प्रख्यात कलाकारले तालिमप्राप्त पाटे बाघहरूसित मिलेर दर्शकहरूलाई मनोरञ्जन दिएको वर्षौं भइसकेको थियो। तिनले भने: “जनावरको भरोसा जित्दा संसारकै सबैभन्दा बहुमूल्य उपहार पाएजस्तो लाग्छ।” तर अक्टोबर ३, २००३ मा त्यो भरोसा भताभुङ्ग भयो। ती जनावरमध्ये १७२ किलोग्राम तौलको एउटा सेतो पाटे बाघले कुनै खास कारणविना उक्त कलाकारलाई आक्रमण गऱ्यो। त्यस्तो आक्रमणको कल्पनै गरिएको थिएन अनि त्यस प्रशिक्षक पनि यसको लागि तयार थिएनन्।
२ चाखलाग्दो कुरा के छ भने, बाइबलले पनि एउटा “जङ्गली जनावर”-को आक्रमणबारे भविष्यवाणी गरेको छ अनि यसको लागि हामी तयार हुनुपर्छ। (प्रकाश १७:१५-१८ पढ्नुहोस्) यस जनावरले कसलाई आक्रमण गर्छ? घटनाक्रमले अचानक नयाँ मोड लिंदा दियाबलको संसार आफू-आफूमै विभाजित हुन्छ। चहकिलो रातो रङ्गको यस जङ्गली जनावरले संयुक्त राष्ट्रसङ्घलाई अनि “दस वटा सिङ”-ले सबै राजनैतिक शक्तिलाई सङ्केत गर्छ। यिनीहरूले झूटो धर्मको विश्व साम्राज्यलाई प्रतिनिधित्व गर्ने वेश्यारूपी महान् बेबिलोनलाई आक्रमण गर्नेछन् र त्यसलाई निर्मम तरिकाले नाश गर्नेछन्। यो घटना कहिले हुनेछ? त्यस दिन र समयबारे हामीलाई थाह छैन। (मत्ती २४:३६) तर हामीलाई योचाहिं थाह छ, त्यो घटना हामीले आशा नगरेको समयमा हुनेछ र त्यस आक्रमण हुन थोरै समय मात्र बाँकी छ। (मत्ती २४:४४; १ कोरि. ७:२९) त्यसैले आफू तयार रहेको प्रमाण दिनु अत्यावश्यक छ किनभने त्यस आक्रमण हुँदा अनि ख्रीष्ट न्याय कार्यान्वयनकर्ताको रूपमा आउँदा उहाँ हाम्रो लागि छुटकारा दिने व्यक्ति पनि साबित हुनुहुनेछ! (लूका २१:२८) यस्तो तयारी अवस्थामा रहन हामी के गर्न सक्छौं? परमेश्वरका विश्वासी सेवकहरूबाट सिक्न सक्छौं, जसले आफू तयार रहेको प्रमाण दिए अनि परमेश्वरका प्रतिज्ञाहरू पूरा भएको आफ्नै आँखाले देखे। तिनीहरूको जीवनमा घटेको सत्य घटनाहरूलाई के हामी गम्भीरतापूर्वक लिनेछौं?
नूहले जस्तै आफू तयार रहेको प्रमाण दिनुहोस्
३. कस्तो अवस्थाले गर्दा विश्वासी भई परमेश्वरको सेवा गर्नु नूहको लागि चुनौतीपूर्ण भयो?
३ नूहको समयमा पृथ्वीमा व्याप्त घिनलाग्दो अवस्थाको बाबजुद तिनले परमेश्वरका प्रतिज्ञाहरू पूरा भएको हेर्न आफू तयार रहेको प्रमाण दिए। विद्रोही स्वर्गदूतहरूले मानव रूप धारण गरेर राम्री-राम्री स्त्रीहरूसित सहवास गर्दा नूहले कस्ता चुनौतीहरू सामना गर्नुपऱ्यो होला, कल्पना गर्नुहोस् त! यस्तो अस्वाभाविक सम्बन्धले गर्दा “शूरवीर” अर्थात् असाधारण सन्तान जन्मिए र यिनीहरूले अरूलाई थिचोमिचो गर्न आफ्नो असामान्य शक्ति प्रयोग गरे। (उत्प. ६:४) यी राक्षसहरूले आफू जहाँ-जहाँ गए, त्यहाँ उत्पात मच्चाउँदा कस्तो हिंस्रक वातावरण सृजना भयो होला, सोच्नुहोस् त। फलस्वरूप दुष्टता व्याप्त भयो अनि मानिसको सोचाइ र व्यवहार पूरै भ्रष्ट भयो। त्यसपछि सार्वभौम प्रभु यहोवाले त्यस अभक्त संसारको विनाश गर्ने समयबारे उर्दी जारी गर्नुभयो।—उत्पत्ति ६:३, ५, ११, १२ पढ्नुहोस्।a
४, ५. कुन-कुन तरिकामा अहिले हाम्रो समयको अवस्था नूहको समयको जस्तै छ?
४ हाम्रो समयको अवस्था नूहको समयको जस्तै हुनेछ भनेर येशूले भविष्यवाणी गर्नुभयो। (मत्ती २४:३७) उदाहरणको लागि, हामी पनि दुष्ट स्वर्गदूतहरूको हस्तक्षेप देख्छौं। (प्रका. १२:७-९, १२) यी दुष्ट स्वर्गदूतहरूले नूहको समयमा रूप परिवर्तन गरे। अहिले तिनीहरूलाई मानिसको रूप धारण गर्न निषेध गरिएको छ, तैपनि तिनीहरू जवान तथा वृद्ध सबैलाई आफ्नो नियन्त्रणमा राख्ने कोसिस गर्छन्। पृथ्वीमा आफूले भ्रष्ट पार्न सक्ने मानिसहरूको दुष्ट तथा पतित कार्यहरूबाट यी कामुक दुष्ट स्वर्गदूतहरूले आनन्द लिन्छन् भनेर आम मानिसलाई थाह छैन।—एफि. ६:११, १२.
५ परमेश्वरको वचनले दियाबललाई “हत्यारा” भनेको छ र त्यससित “मृत्युमा पुऱ्याउने क्षमता छ” भनेर बताउँछ। (यूह. ८:४४; हिब्रू २:१४) यसको मतलब, त्यससित जसलाई पनि मार्ने असीमित शक्ति छ भनेको चाहिं होइन। तर यस क्रूर तथा दुष्ट स्वर्गदूतले छलकपट र लोभलाई बढ्न दिन्छ। त्यसले मानिसहरूको मनमस्तिष्कमा हत्या गर्ने झुकाव जगाउँछ। उदाहरणको लागि, अमेरिकामा जन्मिने १४२ जना केटाकेटीमध्ये १ जना हत्याको सिकार बन्नेछ। अहिले व्याप्त बेतुक हिंसालाई विचार गर्दा के यहोवाले नूहको दिनलाई भन्दा आजको दिनलाई कम याद गर्नुहोला र? के उहाँले कुनै कदम नचाली हेरिरहनुहोला?
६, ७. नूह र तिनको परिवारले विश्वास अनि परमेश्वरप्रतिको डर कसरी देखाए?
६ पछि, सम्पूर्ण जीवजीवातको सर्वनाश गर्न पृथ्वीमा जलप्रलय ल्याउने परमेश्वरको निर्णयबारे नूहलाई बताइयो। (उत्प. ६:१३, १७) यहोवाले नूहलाई बडेमाको सन्दुक आकारको जहाज बनाउन निर्देशन दिनुभयो। अनि नूह र तिनको परिवारले जहाज बनाउन सुरु गरे। आज्ञा पालन गर्न अनि परमेश्वरले न्याय गर्दा आफू तयार रहेको प्रमाण दिन तिनीहरूलाई केले मदत गऱ्यो?
७ गहिरो विश्वास अनि परमेश्वरप्रतिको डरले नूह र तिनको परिवारलाई उहाँले आज्ञा गरेबमोजिम गर्न उत्प्रेरित गऱ्यो। (उत्प. ६:२२; हिब्रू ११:७) परिवारको शिर भएकोले नूह परमेश्वरसित नजिक रहिरहे अनि त्यस प्राचीन संसारको भ्रष्ट प्रभावहरूदेखि टाढै बसे। (उत्प. ६:९) आफू वरपरका मानिसहरूको हिंस्रक व्यवहार र विद्रोही मनोभाव अपनाउनदेखि आफ्नो परिवार होसियार रहनुपर्छ भनेर तिनलाई थाह थियो। तिनीहरू आफ्नै दिनचर्यामा चुर्लुम्मै नडुब्नु महत्त्वपूर्ण थियो। परमेश्वरले तिनीहरूलाई एउटा काम अह्राउनुभएको थियो अनि सम्पूर्ण परिवार त्यही काममा केन्द्रित हुनु अत्यावश्यक थियो।—उत्पत्ति ६:१४, १८ पढ्नुहोस्।
नूह र तिनको परिवारले तयार रहेको प्रमाण दिए
८. नूहको परिवारका सदस्यहरू परमेश्वरप्रति भक्त थिए भनेर केले देखाउँछ?
८ हुनत बाइबल विवरणले परिवारको शिर नूहबारे धेरै कुरा बताएको छ तर नूहकी पत्नी र तिनका छोरा तथा बुहारीहरू पनि यहोवाका उपासक थिए। भविष्यवक्ता इजकिएलले यसबारे पुष्टि गरे। यदि इजकिएलको समयमा नूह बाँचिरहेका हुँदा हुन् त बुबाले परमेश्वरको स्तरबमोजिमको असल काम गरेको भरमा मात्र तिनका छोराहरूले छुटकारा पाउने थिएनन् भनी इजकिएलले बताए। तिनीहरू आज्ञा पालन गर्ने कि नगर्ने भनी आफै निर्णय गर्न सक्ने उमेरको भइसकेका थिए। त्यसकारण तिनीहरू स्वयम्ले परमेश्वर र उहाँका तौरतरिकाप्रतिको प्रेमको प्रमाण दिएका थिए। (इज. १४:१९, २०) नूहको परिवारले तिनको निर्देशन स्वीकारे, तिनको जस्तै विश्वास राखे अनि अरूको लहलहैमा लागेर परमेश्वरले दिनुभएको काममा बाधा पुग्न दिएनन्।
९. वर्तमान समयमा नूहको जस्तै विश्वास राख्ने कस्ता उदाहरणहरू हामी बताउन सक्छौं?
९ आज हाम्रो विश्वव्यापी भ्रातृत्वमा भएका परिवारका शिरहरूले नूहको अनुकरण गर्न सक्दो प्रयास गरिरहेको देख्न पाउनु कस्तो प्रोत्साहनदायी! आफ्नो परिवारलाई भोजन, लुगाफाटा, बस्ने ठाउँ र शिक्षा दिनु मात्र पर्याप्त छैन भनेर तिनीहरूले बुझेका छन्। तिनीहरूले आफ्नो परिवारलाई परमेश्वरसित सम्बन्ध गाँस्न पनि मदत दिनै पर्छ। यसो गर्दा यहोवाले चाँडै गर्नुहुने कार्यको लागि आफू तयार रहेको प्रमाण तिनीहरूले दिइरहेका हुन्छन्।
१०, ११. (क) जहाजभित्र छँदा नूह र तिनको परिवारले पक्कै पनि कस्तो महसुस गरे? (ख) हामीले आफूलाई कस्ता प्रश्नहरू सोध्नु बेस हुनेछ?
१० नूह, तिनकी पत्नी र तिनका छोरा तथा बुहारीहरूले जहाज बनाउने काममा लगभग ५० वर्ष बिताए होलान्। जहाज निर्माण गर्ने क्रममा तिनीहरू सयौं पटक जहाज भित्र-बाहिर गरे होलान्। तिनीहरूले जहाजलाई पानी नछिर्ने बनाए, जहाजभित्र खानेकुरा सञ्चय गरे अनि जनावरहरू ल्याए। यो दृश्य कल्पना गर्नुहोस्। प्रतीक्षा गरेको घडी बल्ल आइपुग्यो। त्यो ईसापूर्व २३७० को दोस्रो महिनाको १७ औं दिन थियो अनि तिनीहरू जहाजभित्र छिरे। यहोवाले ढोका बन्द गर्नुभयो अनि पानी पर्न थाल्यो। यो साधारणतया हुने भारी वर्षा मात्र थिएन। आकाशका मूलहरू फूटे अनि मुसलधारे पानी वर्षियो। (उत्प. ७:११, १६) जहाजभित्र हुने मानिसहरू बचे तर बाहिर हुने जति सबै मरे। नूहको परिवारलाई कस्तो लाग्यो होला? तिनीहरूले परमेश्वरप्रति हार्दिक कृतज्ञता महसुस गरे। तिनीहरूले पक्कै यस्तो पनि सोचे होलान्, ‘साँचो परमेश्वरको साथमा हिंडेर आफू तयार रहेको प्रमाण दिएकोले धन्न, हामी बच्यौं!’ (उत्प. ६:९) के तपाईं आरमागेडोन पार गरेको अनि यस्तै कृतज्ञताले ओतप्रोत भएको कल्पना गर्न सक्नुहुन्छ?
११ यस सैतानी युगलाई अन्त गर्ने प्रतिज्ञा पूरा गर्नदेखि सर्वशक्तिमान् परमेश्वरलाई कुनै कुराले रोक्न सक्दैन। आफैलाई सोध्नुहोस्, ‘परमेश्वरले गर्नुभएका सबै प्रतिज्ञा अलिकता पनि हेरफेर नभई जस्ताको तस्तै अनि तोकिएको समयमै पूरा हुनेछन् भनेर के म पूर्णतया विश्वस्त छु?’ त्यसो हो भने चाँडै आउँदै गरेको “यहोवाको दिन”-लाई सम्झँदै आफू तयार रहेको प्रमाण दिनुहोस्।—२ पत्रु. ३:१२.
मोशा जागा रहिरहे
१२. के-कस्ता कुराले मोशालाई अलमल्याउन सक्थ्यो?
१२ अब हामी अर्को उदाहरण विचार गरौं। शारीरिक दृष्टिकोणबाट हेर्दा मोशा मिश्री संसारको अत्यन्तै गरिमामय ओहदामा देखिन्थे। फारोकी (फिरऊन) छोरीको धर्मपुत्र भएको हुँदा सायद तिनको अत्यन्तै सम्मान गरिन्थ्यो अनि तिनले असल-असल खानेकुरा खान, राम्रा-राम्रा लुगाफाटा लगाउन पाउँथे अनि तिनले अत्यन्तै सुखसयलमा जीवन बिताइरहेका थिए। तिनले विस्तृत शिक्षा हासिल गरेका थिए। (प्रेषित ७:२०-२२ पढ्नुहोस्) तिनी अथाह सम्पत्तिको उत्तराधिकारी पनि हुन सक्थे।
१३. परमेश्वरले गर्नुभएका प्रतिज्ञाहरूमा मोशाले कसरी ध्यान केन्द्रित गरिरहे?
१३ मोशा सानै छँदा तिनका आमाबुबाले दिएको प्रशिक्षणले गर्दा तिनले मिश्रीहरूले गर्ने मूर्तिपूजाको व्यर्थता बुझेको हुनुपर्छ। (प्रस्थ. ३२:८) मिश्रको शैक्षिक प्रणाली अनि राजघरानाको सुखसयलको कारण मोशाले साँचो उपासना त्यागेनन्। परमेश्वरले तिनका पुर्खाहरूलाई गर्नुभएको भविष्यवाणीहरूमा तिनले गहिरो चिन्तन गरेको अनि ईश्वरीय इच्छाबमोजिम गर्न आफू तयार रहेको प्रमाण दिन तीव्र चाहना गरेको हुनुपर्छ। आखिर, मोशाले इस्राएलीहरूलाई यसो भने: “परमप्रभु परमेश्वर अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।”—प्रस्थान ३:१५-१७ पढ्नुहोस्।
१४. मोशाको विश्वास र साहसको जाँच कसरी भयो?
१४ मिश्रका निर्जीव ईश्वरहरूको प्रतिनिधित्व गर्ने सबै मूर्तिहरूजस्तो नभई मोशाको लागि साँचो परमेश्वर यहोवा वास्तविक हुनुहुन्थ्यो। तिनले आफ्नो जीवनकालभरि “अदृश्य परमेश्वरलाई” देखेझैं गरी जीवन बिताए। मोशालाई परमेश्वरका जनले छुटकारा पाउनेछन् भन्ने विश्वास थियो तर त्यो कहिले हुनेछ भनेरचाहिं थाह थिएन। (हिब्रू ११:२४, २५, २७) हिब्रूहरू स्वतन्त्र भएको हेर्ने उत्कट चाहनाले गर्दा तिनी दुःख पाइरहेका एक इस्राएली दासलाई बचाउन गए। (प्रस्थ. २:११, १२) तर छुटकारा दिने यहोवाको समय आइसकेको थिएन। त्यसैले मोशाले टाढाको देशमा भगुवा जीवन बिताउनुपऱ्यो। मिश्री दरबारको आरामदायी जीवन बिताएका मोशालाई उजाडस्थानमा जीवन बिताउन पक्कै पनि गाह्रो थियो। तैपनि यहोवाले दिनुभएको एक-एक निर्देशनप्रति जागा रहेर मोशाले आफू तयार रहेको प्रमाण दिए। त्यसैले मोशाले मिद्यानमा ४० वर्ष बिताइसकेपछि हिब्रूहरूलाई छुटकारा दिन परमेश्वरले तिनलाई चलाउन सक्नुभयो। परमेश्वरको निर्देशनबमोजिमै मोशा आज्ञाकारी भई मिश्र फर्के। मोशाले परमेश्वरबाट पाएको काम पूरा गर्ने अनि परमेश्वरकै तरिकामा त्यो काम गर्ने समय आएको थियो। (प्रस्थ. ३:२, ७, ८, १०) मिश्र फर्किसकेपछि, “पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति” मोशालाई फारोसामु खडा हुन विश्वास र साहस चाहिएको थियो। (गन्ती १२:३) तिनी एक चोटि होइन, एकपछि अर्को विपत्ति आउँदा पटक-पटक फारोसामु खडा भए। अनि विपत्तिहरू आउने क्रममा आफू अझै कति चोटि फारोसामु खडा हुनुपर्ने हो, तिनलाई थाह थिएन।
१५. अवरोधको सामना गर्नुपरे तापनि स्वर्गमा बस्ने आफ्नो बुबाको आदर गर्ने मौका खोजिरहन मोशालाई केले उत्प्रेरित गऱ्यो?
१५ ईसापूर्व १५१३ देखि ईसापूर्व १४७३ सम्म ४० वर्षको दौडान मोशाले निराशाको सामना गर्नुपऱ्यो। तैपनि तिनले यहोवाको आदर गर्ने मौका खोजे अनि सँगी इस्राएलीहरूलाई पनि त्यसै गर्न पूरा तनमनले प्रोत्साहन दिए। (व्यव. ३१:१-८) किन? किनभने तिनी आफ्नो नामभन्दा यहोवाको नाम र उहाँको सार्वभौमिकतालाई प्रेम गर्थे। (प्रस्थ. ३२:१०-१३; गन्ती १४:११-१६) निराशा वा अवरोध सामना गर्नुपरे तापनि परमेश्वरको तौरतरिका अरू कसैको भन्दा बुद्धिमानी, सही र उत्तम छ भनी विश्वस्त हुँदै हामीले पनि उहाँको शासनलाई समर्थन गरिरहनै पर्छ। (यशै. ५५:८-११; यर्मि. १०:२३) के तपाईंलाई यस्तै लाग्छ?
जागा बस्नुहोस्!
१६, १७. मर्कूस १३:३५-३७ ले तपाईंलाई किन गहन अर्थ राख्छ?
१६ “सधैं सचेत रहो अनि जागा बस, किनकि परमेश्वरले तोक्नुभएको समय कुन हो, तिमीहरू जान्दैनौ।” (मर्कू. १३:३३) यस दुष्ट युगको आखिरी समयलाई सङ्केत गर्ने चिन्हबारे छलफल गर्दा येशूले उक्त चेतावनी दिनुभयो। मर्कूसले लेखेका येशूको महान् भविष्यवाणीका अन्तिम शब्दहरूलाई ध्यान दिनुहोस्: “जागा रहो, किनकि घरमालिक साँझमा वा मध्यरातमा वा भाले बास्ने बेलामा वा बिहान सबेरै, कुन बेला आउँछ, तिमीहरूलाई थाह छैन। नत्रता ऊ अकस्मात् आइपुग्दा तिमीहरूलाई निदाइरहेको भेट्टाउनेछ। म तिमीहरूलाई जे भन्छु, त्यही कुरा सबैलाई भन्छु, जागा रहो।”—मर्कू. १३:३५-३७.
१७ येशूको यो आग्रह साँच्चै सोचनीय छ। उहाँले रातको चार फरक-फरक प्रहरबारे बताउनुभयो। अन्तिम प्रहरमा जागा बस्न सबैभन्दा गाह्रो हुनेथियो किनभने यो बिहान तीन बजेतिरदेखि सूर्योदयसम्म रहन्छ। रणनीतिज्ञहरूको विचारमा शत्रुलाई आक्रमण गर्ने यो सबैभन्दा प्रभावकारी समय हो किनभने यतिबेला शत्रु “निदाइरहेको” भेट्टाउने सम्भावना प्रबल हुन्छ। त्यसरी नै अहिले आम मानिसले राज्य सन्देशप्रति कुनै चासो नदेखाउने भएकोले जागा रहन हामीले कडा सङ्घर्ष गर्नुपर्ने हुन सक्छ। भविष्यवाणी गरिएको अन्तको लागि र हाम्रो उद्धारको लागि ‘सधैं जागा बस्नुपर्छ’ अनि ‘सचेत रहनुपर्छ’ भनेर के हामीलाई कुनै शङ्का छ र?
१८. यहोवाका साक्षीहरूको हैसियतमा हामीले कस्तो अतुलनीय सुअवसर पाएका छौं?
१८ सुरुमा उल्लिखित प्रशिक्षक पाटे बाघको आक्रमणबाट बचे। तर आउँदै गरेको अन्तबाट न झूटो धर्म न त यस दुष्ट युगको बाँकी भाग बच्नेछ भनी बाइबल भविष्यवाणीले स्पष्टसित बताएको छ। (प्रका. १८:४-८) जवान हौं या वृद्ध, नूह र तिनको परिवारले गरेजस्तै परमेश्वरका हामी सबै सेवकहरूले यहोवाको दिनको लागि तयार रहेको प्रमाण दिन यथासक्दो गर्नुपर्ने गम्भीरतालाई बुझौं। परमेश्वरको अनादर गर्ने संसारमा हामी बाँचिरहेका छौं। झूटो धर्मका शिक्षकलगायत अज्ञेयवादी तथा नास्तिकवादीहरूले आफ्नो बोलीद्वारा सृष्टिकर्ताको उपहास गर्छन्। तर हामी तिनीहरूबाट प्रभावित हुने खतरामा पर्नु हुँदैन। यस लेखमा छलफल गरिएका उदाहरणहरूलाई गम्भीरतापूर्वक लेऔं अनि “ईश्वरहरूका ईश्वर” अर्थात् ‘शक्तिशाली र भययोग्य महान् परमेश्वर’ यहोवाको पक्षमा खडा हुने अनि उहाँको आदर गर्ने मौका खोजिरहौं।—व्यव. १०:१७.
[फुटनोट]
a उत्पत्ति ६:३ मा उल्लिखित “एक सय बीस वर्ष”-बारे बुझ्न डिसेम्बर १५, २०१० को प्रहरीधरहरा (अङ्ग्रेजी), पृष्ठ ३० हेर्नुहोस्।
के तपाईंलाई याद छ?
• नूहले किन परमेश्वरसितको आफ्नो परिवारको सम्बन्धलाई पहिलो स्थान दिनुपर्थ्यो?
• हाम्रो समय कसरी नूहको दिनसँग एकदमै मिल्दोजुल्दो छ?
• निराशाको सामना गर्नुपरे तापनि मोशाले किन यहोवाका प्रतिज्ञाहरूमा ध्यान केन्द्रित गरिरहे?
• कस्ता बाइबल भविष्यवाणीहरूले तपाईंलाई जागा रहन उत्प्रेरित गर्छ?
[पृष्ठ २५-मा भएको चित्र]
नूह र तिनको परिवारले यहोवाको काममा ध्यान केन्द्रित गरिरहे
[पृष्ठ २६-मा भएको चित्र]
परमेश्वरका पक्का प्रतिज्ञाहरूले मोशालाई जागा रहन मदत गऱ्यो