के तपाईंले परमेश्वरप्रतिको सबै दायित्व पूरा गरिरहनुभएको छ?
“हामीले गरेको हरेक काम, असल होस् वा खराब होस् हरेक गुप्त कुराको न्याय परमेश्वरले गर्नुहुनेछ।”—उपदेशक १२:१४.
१. यहोवाले आफ्ना जनहरूका लागि कस्ता प्रबन्धहरू मिलाउनुभएको छ?
यहोवालाई आफ्नो सृष्टिकर्ताको रूपमा सम्झनेहरूलाई उहाँ सम्हाल्नुहुन्छ। उहाँको प्रेरित वचनले तिनीहरूलाई उहाँलाई खुसी तुल्याउने कामहरू गर्ने ज्ञान प्रदान गर्छ। परमेश्वरको पवित्र आत्माले तिनीहरूलाई ईश्वरीय इच्छा पूरा गर्न अनि ‘हरेक असल काममा फलिफाप हुनेतर्फ’ डोऱ्याउँछ। (कलस्सी १:९, १०) यसबाहेक, यहोवाले “विश्वासी र बुद्धिमान दास” मार्फत आध्यात्मिक भोजन अनि ईश्वरतान्त्रिक डोऱ्याइ दिनुहुन्छ। (मत्ती २४:४५-४७) अतः यहोवाको सेवा गर्नुका साथै परमेश्वरको राज्यबारे सुसमाचार प्रचार गर्ने महत्त्वपूर्ण काममा भाग लिंदा परमेश्वरका जनहरूले विभिन्न तरिकाहरूमा स्वर्गबाट आशिष् पाउँछन्।—मर्कूस १३:१०.
२. यहोवाको सेवा गर्ने सन्दर्भमा कस्ता प्रश्नहरू उठ्नसक्छन्?
२ साँचो मसीहीहरू यहोवाको पवित्र सेवामा व्यस्त रहन पाएकोमा खुसी छन्। यद्यपि, कोही कोही निरुत्साहित हुनसक्छन् अनि आफ्ना प्रयासहरू व्यर्थ छन् भनेर सोच्नसक्छन्। उदाहरणका लागि, समर्पित मसीहीहरूले कहिलेकाहीं आफूले लगनशील भई गरेका प्रयासहरू लाभदायी छन् कि छैनन् भनी सोच्नसक्छन्। पारिवारिक अध्ययन गर्दा अनि अन्य गतिविधिहरूमा भाग लिंदा परिवारको शिरको मनमा यस्ता प्रश्नहरू उठ्नसक्छन्: ‘के हामीले गरिरहेका कामकुराहरूमा यहोवा साँच्चै खुसी हुनुहुन्छ? के हामीले परमेश्वरप्रतिको सबै दायित्व पूरा गरिरहेका छौं?’ उपदेशकका शब्दहरूले यी प्रश्नहरूको जवाफ दिन मदत गर्नसक्छ।
के सबै कुरा व्यर्थ छ?
३. उपदेशक १२:८ अनुसार कुन कुरा एकदमै व्यर्थ छ?
३ चाहे जवान होस् वा वृद्ध, सबैका लागि बुद्धिमान् मानिसका शब्दहरू त्यति प्रोत्साहनदायी छैनन् भनेर कसै कसैले सोच्नसक्छन्। “व्यर्थ, व्यर्थ, सबै व्यर्थ, उपदेशक भन्दछन्।” (उपदेशक १२:८) वास्तवमा, युवावस्थामा महान् सृष्टिकर्तालाई बेवास्ता गर्नु, उहाँको सेवा नगरी त्यतिकै वृद्ध हुनु एकदमै व्यर्थ हो। दुष्ट, शैतान अर्थात् दियाबलको अधीनमा रहेको यो संसारमा मनग्य धनसम्पत्ति र नाउँ कमाएर मऱ्यो भने पनि त्यस्तो व्यक्तिको लागि सबै कुरा व्यर्थ वा खोक्रो हुनेछ।—१ यूहन्ना ५:१९.
४. सबै कुरा व्यर्थ छैन भनेर किन भन्न सकिन्छ?
४ यहोवाका विश्वासी सेवकहरूको हैसियतमा स्वर्गमा धनसम्पत्ति थुपार्नेहरूका लागि सबै कुरा व्यर्थ छैन। (मत्ती ६:१९, २०) तिनीहरू प्रभुको काममा प्रशस्त हुँदै जानसक्छन् अनि तिनीहरूको त्यस्तो परिश्रम व्यर्थै जाँदैन। (१ कोरिन्थी १५:५८) हामी समर्पित मसीहीहरू हौं भने के यी आखिरी दिनमा हामी ईश्वरप्रदत्त काममा व्यस्त छौं? (२ तिमोथी ३:१) वा हाम्रो जीवनशैली छिमेकीहरूको भन्दा केही फरक छैन? विभिन्न धर्महरू मानिरहेका हाम्रा छिमेकीहरू पनि आ-आफ्नो धर्मअनुसार भक्तै होलान् र नियमित तवरमा उपासनाको थलोमा धाउनुका साथै आफ्नो धर्मअनुसार गर्न कोसिस गरिरहेका पनि होलान्। तर निस्सन्देह, तिनीहरू परमेश्वरको राज्य सन्देशका उद्घोषकहरू होइनन्। तिनीहरूसँग अहिले “अन्तको समय” हो भन्ने ज्ञान छैन अनि तिनीहरूलाई हामी बाँचिरहेको समय ढिलासुस्ती गर्ने समय होइन भनेर पनि थाह छैन।—दानियल १२:४.
५. जीवनका सामान्य कामकुराहरू हाम्रो चासोको प्रमुख विषय भयो भने हामीले के गर्नुपर्छ?
५ हामी बाँचिरहेको कठिन समयबारे येशू ख्रीष्टले यसो भन्नुभयो: “जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिसको पुत्रको आगमन हुनेछ। किनकि जसरी जलप्रलयका अघाड़िका दिनमा नूह जहाजमा नपसेका दिनसम्म, मानिसहरू खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए, औ जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे, उसैगरी मानिसको पुत्रको आगमन पनि हुनेछ।” (मत्ती २४:३७-३९) ठिक्क मात्रामा खानु र पिउनुमा कुनै खराबी छैन अनि विवाह त स्वयम् परमेश्वरले सुरु गर्नुभएको प्रबन्ध हो। (उत्पत्ति २:२०-२४) तर यदि जीवनका यी सामान्य कामकुराहरू नै हाम्रो चासोको प्रमुख विषय भइरहेका छन् भने त्यसबारे प्रार्थना गरिहाले कसो होला? राज्यसम्बन्धी कामकुरालाई प्राथमिकता दिन अनि उहाँप्रतिको दायित्व पूरा गर्न यहोवा हामीलाई मदत गर्न सक्नुहुन्छ।—मत्ती ६:३३; रोमी १२:१२, २ कोरिन्थी १३:७.
समर्पण र परमेश्वरप्रतिको दायित्व
६. परमेश्वरप्रतिको आफ्नो दायित्व पूरा गर्ने कुन महत्त्वपूर्ण काममा केही बप्तिस्मा प्राप्त व्यक्तिहरू चुकेका छन्?
६ केही बप्तिस्माप्राप्त मसीहीहरूले उत्कट प्रार्थना गर्नु आवश्यक छ किनकि तिनीहरूले आफ्नो जीवन परमेश्वरलाई समर्पण गर्दा स्वीकारेका सेवकाईका दायित्वहरूअनुरूप जीवन बिताइरहेका छैनन्। केही वर्षअघिदेखि वर्षैपिच्छे ३,००,००० व्यक्तिहरूले बप्तिस्मा लिइरहेका छन्। तर त्यसको अनुपातमा यहोवाका सक्रिय साक्षीहरूको संख्या वृद्धि भएको छैन। केही राज्य प्रकाशकहरूले सुसमाचार सुनाउन छाडेका छन्। बप्तिस्मा लिनुअघि व्यक्तिविशेषले अर्थपूर्ण ढंगमा मसीही सेवकाईमा भाग लिएकै हुनुपर्छ। त्यसको मतलब तिनीहरू येशूले आफ्ना सबै अनुयायीहरूलाई दिनुभएको यो आज्ञादेखि अनभिज्ञ छैनन्: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) स्वास्थ्य वा आफ्नो क्षमता बाहिरका अन्य कारणवश खडा भएका गम्भीर समस्याहरूबाहेक अरू कारणहरूले गर्दा बप्तिस्मा प्राप्त व्यक्तिहरूले यदि परमेश्वर र ख्रीष्टका सक्रिय साक्षीहरूको हैसियतमा सेवा गरिरहेका छैनन् भने हाम्रो महान् सृष्टिकर्तासामु तिनीहरूले आफ्ना सबै दायित्वअनुरूप जीवन बिताइरहेका हुँदैनन्।—यशैया ४३:१०-१२.
७. हामी उपासनाको लागि नियमित तवरमा एक ठाउँमा किन भेला हुनुपर्छ?
७ प्राचीन इस्राएल परमेश्वरप्रति समर्पित राष्ट्र थियो। त्यस राष्ट्रका मानिसहरू व्यवस्थाको करारको अधीनमा थिए र तिनीहरूले यहोवाप्रतिका दायित्वहरू पूरा गर्नुपर्थ्यो। उदाहरणका लागि, सबै पुरुषहरू तीनवटा वार्षिक चाडहरूमा भेला हुनुपर्थ्यो अनि जानाजानी निस्तार नमान्ने पुरुषलाई मारेर “वहिष्कृत” गरिन्थ्यो। (गन्ती ९:१३; लेवी २३:१-४३; व्यवस्था १६:१६) परमेश्वरका समर्पित जनहरूको हैसियतमा आफ्नो दायित्व पूरा गर्न इस्राएलीहरू उपासनाको लागि एक ठाउँमा भेला हुनुपर्थ्यो। (व्यवस्था ३१:१०-१३) व्यवस्थामा कतै यसो भनिएको थिएन: ‘असुविधा हुँदैन भने यसो गर्ने गर।’ उपासनाको लागि एक ठाउँमा भेला हुनुपर्छ भन्ने उक्त आज्ञाले निस्सन्देह पावलका निम्न शब्दहरूलाई अझ गम्भीरतासाथ लिनुपर्छ भनेर अहिले यहोवाप्रति समर्पित हुनेहरूका निम्ति जोड दिन्छ: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन् बढ़ता गरेर अर्ती दिंदै गरौं।” (हिब्रू १०:२४, २५) हो, सँगी विश्वासीहरूसँग नियमित तवरमा एक ठाउँमा भेला हुनु समर्पित मसीहीको परमेश्वरप्रतिको दायित्व हो।
आफ्ना निर्णयहरूलाई राम्ररी विचार गर्नुहोस्!
८. समर्पित जवान व्यक्तिले आफ्नो पवित्र सेवाबारे किन प्रार्थनापूर्वक विचार गर्नुपर्छ?
८ तपाईं यहोवाप्रति समर्पित जवान व्यक्ति हुनुहुन्छ होला। तपाईंले आफ्नो जीवनमा राज्यसम्बन्धी कामकुरालाई प्राथमिकता दिनुभयो भने प्रशस्त आशिष्हरू पाउनुहुनेछ। (हितोपदेश १०:२२) प्रार्थना गर्नुका साथै होसियारीसाथ योजना बनाएमा सायद आफ्नो युवावस्थामा केही समय भए पनि पूर्ण-समय सेवाको कुनै न कुनै पक्षमा लाग्न सक्नुहुन्छ। यसो गर्नु, तपाईं आफ्नो महान् सृष्टिकर्ताको सम्झना गर्नुहुन्छ भनेर देखाउने एउटा अत्युत्तम तरिका हो। अन्यथा भौतिक कुराहरूले तपाईंको अधिक समय र ध्यान लिन थाल्नसक्छ। अरू मानिसहरूले जस्तै तपाईंले पनि कलिलै उमेरमा विवाह गर्नुहोला अनि भौतिक कुराहरू प्राप्त गर्न ऋणमा चुर्लुम्म डुब्नुहोला। लाभदायी पेसामा तपाईंको निकै समय र शक्ति खर्च हुनसक्छ। तपाईंका छोराछोरी भए भने, दशकौंसम्म पारिवारिक जिम्मेवारीहरू वहन गर्नुपर्नेछ। (१ तिमोथी ५:८) तपाईंले आफ्नो महान् सृष्टिकर्तालाई बिर्सनुभएको छैन होला तर अहिले युवावस्थामै के-कस्तो अग्रिम योजना बनाउनुहुन्छ वा हुन्न, त्यसैअनुरूप तपाईंको वयस्क जीवन निर्धारित हुनसक्छ भनेर महसुस गर्नु बुद्धिमानी कुरा हो। पछि वृद्धावस्थामा अतीतको कुरा सम्झेर कमसे कम युवावस्थामा केही समय भए पनि हाम्रो महान् सृष्टिकर्ताको पवित्र सेवामा बिताएको भए हुन्थ्यो भनेर सोच्नुपर्ला। युवावस्थामा यहोवाको पवित्र सेवा गरेर सन्तुष्टि हासिल गर्ने सम्भावनाहरूबारे अहिल्यै प्रार्थनापूर्वक विचार गरे कसो होला?
९. एकताक मण्डलीमा गहन जिम्मेवारी वहन गर्ने अनि अहिले वृद्ध भएकाहरूले के गर्नसक्छन्?
९ अर्कै प्रकारका परिस्थितिहरू अर्थात् एकताक “परमेश्वरको बगालको गोठालो[को]” हैसियतमा सेवा गरिसकेका पुरुषका परिस्थितिहरूलाई विचार गर्नुहोस्। (१ पत्रुस ५:२, ३) तिनले आफ्ना सुअवसरहरू कुनै कारणवश स्वेच्छासाथ त्यागे। हो, तिनी वृद्ध भएका छन् अनि परमेश्वरको सेवा गरिरहन तिनलाई निकै गाह्रो हुनसक्छ। तर तिनी ईश्वरतान्त्रिक सुअवसरहरूका लागि फेरि अग्रसर हुनसक्छन् कि? तिनले मण्डलीमा थप जिम्मेवारीहरू वहन गरेको खण्डमा अरूले कत्ति आशिष्हरू पाउनसक्छन्! हामी कोही पनि आफ्नो निम्ति मात्र बाँच्दैनौं। तसर्थ, परमेश्वरको महिमा गर्न तिनले आफ्नो सेवा विस्तार गर्न सके भने तिनका साथीभाइ र प्रिय जनहरू खुसीले गद्गद हुनेछन्। (रोमी १४:७, ८) सबैभन्दा मुख्य कुरा, उहाँको सेवामा गरेको काम यहोवा बिर्सनुहुन्न। (हिब्रू ६:१०-१२) त्यसोभए, हाम्रो महान् सृष्टिकर्तालाई सम्झन हामीलाई कुन कुराले मदत गर्नसक्छ?
हाम्रो महान् सृष्टिकर्तालाई सम्झन सहयोग
१०. उपदेशकसँग किन हाम्रो महान् सृष्टिकर्तालाई सम्झने मार्गदर्शन दिने राम्रो क्षमता थियो?
१० हाम्रो महान् सृष्टिकर्तालाई सम्झने मार्गदर्शन दिनका लागि उपदेशकसँग राम्रो क्षमता थियो। यहोवाले असाधारण बुद्धि दिनुभएर तिनको हार्दिक प्रार्थनाको जवाफ दिनुभयो। (१ राजा ३:६-१२) सुलेमानले मानिसको जीवनको एक एक कुरा केलाएर हेरे। यसबाहेक, तिनले पत्ता लगाएका कुराहरू अरूका फाइदाका लागि लेख्न तिनलाई ईश्वरीय प्रेरणा दिइएको थियो। तिनले लेखे: “उपदेशकले आफ्नो बुद्धिमा आफूले जानेका कुरा मानिसहरूलाई सिकाउँदैरहे। तिनले आफ्नो मनमा धेरै नीतिवचनहरू विचार गरे, र तिनलाई कसरी क्रमैसित प्रयोग गर्नु भनी चेष्टा गरे। तिनले अभिरूचिको निम्ति मीठा मीठा शब्दहरू छाने, तर जे तिनले लेखे ती बिलकुलै सत्य थिए।”—उपदेशक १२:९, १०.
११. हामीले सुलेमानको बुद्धिमानी सल्लाह किन स्वीकार्नुपर्छ?
११ युनानी सेप्टुआजिन्ट-ले उक्त शब्दहरू यसरी अनुवाद गरेको छ: “यसबाहेक, प्रचारक बुद्धिमान् थिए। तिनले मानिसहरूलाई बुद्धिका कुराहरू सिकाए। उखानका राम्रा कुराहरू मानिसहरूले सुनून् भनेर प्रचारकले लगनशील भई मीठा मीठा शब्दहरू खोजे अनि सत्यका कुराहरू इमानदारीसाथ लेखे।” (चार्ल्स थम्सनद्वारा अनुवादित द सेप्टुआजिन्ट बाइबल) सुलेमानले मीठा मीठा शब्दहरू प्रयोग गरेर अनि चाखलाग्दो र इनामदायी विषयहरूबारे कुरा गरेर पाठकहरूको हृदय छुने प्रयत्न गरे। धर्मशास्त्रमा लिपिबद्ध तिनका शब्दहरू पवित्र आत्माद्वारा प्रेरित भएर लेखिएका हुन्। तसर्थ, तिनले पत्ता लगाएका कुराहरू र तिनका बुद्धिमानी सल्लाह हामी नहिचकिचाइ स्वीकार्नसक्छौं।—२ तिमोथी ३:१६, १७.
१२. सुलेमानले उपदेशक १२:११, १२ मा भनेका कुरा तपाईं आफ्नै शब्दहरूमा कसरी व्यक्त गर्न सक्नुहुन्छ?
१२ सुलेमानको समयमा आधुनिक मुद्रण यन्त्रहरू नभए तापनि प्रशस्त पुस्तकहरू पाइन्थ्यो। ती साहित्यहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्थ्यो? तिनले यसो भने: “बुद्धिमान् वचनहरू गोठालाको लाठोझैं छन्, र तिनीहरूले संकलन गरेका भनाइहरू दह्रिलो प्रकारले ठोकेका किल्लाहरूझैं छन्, जो एउटै गोठालाबाट दिइएका हुन्। ए मेरा छोरा, तिनमा थपेका केही कुराबाट होशियार बस। धेरै पुस्तकहरू बनाउने कामको अन्त्य हुँदैन। अनि धेरै अध्ययनले शरीरलाई थकाउँछ।”—उपदेशक १२:११, १२, नयाँ संशोधित संस्करण।
१३. ईश्वरीय बुद्धि भएका मानिसहरूका वचनहरू कसरी गोठालाका लाठोझैं हुन्छन् अनि को “दह्रिलो प्रकारले ठोकेका किल्लाहरूझैं” हुन्छन्?
१३ ईश्वरीय बुद्धि भएका मानिसहरूका वचनहरू गोठालाका लाठोझैं हुन्छन्। कसरी? किनकि त्यसले पाठक वा स्रोताहरूलाई आफूले पढेका वा सुनेका बुद्धिमानी शब्दहरूअनुसार उन्नति गर्न उत्प्रेरित गर्छ। यसबाहेक, ‘संकलन गरिएका भनाइहरू’ वा बुद्धिमानी अनि इनामदायी भनाइहरूलाई ध्यान दिनेहरू “दह्रिलो प्रकारले ठोकेका किल्लाहरूझैं” एकदमै दृढ हुन्छन्। किनकि त्यस्ता व्यक्तिहरूको असल वचनहरूले यहोवाको बुद्धि झल्काउँछ। फलतः पाठक वा स्रोताहरूलाई त्यसले स्थिर बनाउन र आड दिनसक्छ। तपाईं ईश्वरभक्त आमाबाबु हुनुहुन्छ भने, के आफ्ना छोराछोरीको मन तथा हृदयमा यस्तो बुद्धि हाल्ने प्रयत्न गर्नु बेस नहोला त?—व्यवस्था ६:४-९.
१४. (क) कस्ता पुस्तकहरू “धेरै अध्ययन” गर्नु लाभदायी छैन? (ख) हामीले कुन चाहिं साहित्यलाई विशेष ध्यान दिनुपर्छ र किन?
१४ तथापि, सुलेमानले पुस्तकहरूबारे किन त्यसो भने? यो संसारमा भएका ठेलीका ठेली पुस्तकहरू यहोवाको वचनजस्तो नभई मानव सोचविचारले भरिएका छन्। त्यसमा भएका धेरैजसो सोचविचारहरूले शैतान अर्थात् दियाबलको विचार झल्काउँछ। (२ कोरिन्थी ४:४) तसर्थ, संसारिक पुस्तकहरूको “धेरै अध्ययनले” चिरस्थायी फाइदा दिनसक्दैन। साँच्चै भन्ने हो भने, त्यस्ता पुस्तकहरूको बढी अध्ययन गर्नाले आध्यात्मिकतालाई हानि पुऱ्याउनसक्छ। परमेश्वरको वचनले जीवनबारे भनेका कुरा सुलेमानले झैं हामी पनि मनन गरौं। यसो गर्नाले हाम्रो विश्वास बलियो हुनेछ अनि यहोवासित अझ घनिष्ठ हुनेछौं। अन्य पुस्तक वा निर्देशनका स्रोतहरूमा अत्यधिक ध्यान दिनाले थकित हुनसक्छौं। हामीले पढ्ने पुस्तकहरू सांसारिक तर्कको उपज हुन् र ईश्वरीय बुद्धिसित मेल खाँदैनन् भने त्यो झनै अस्वास्थ्यकर हुन्छ अनि परमेश्वर तथा उहाँका उद्देश्यहरूमाथिको विश्वासलाई कमजोर बनाउँछ। तसर्थ, “एउटै गोठाला” अर्थात् यहोवा परमेश्वरको बुद्धि झल्काउने पुस्तक नै सुलेमानको समयको अनि हाम्रो समयको सबैभन्दा लाभदायक पुस्तक हो भनेर नबिर्सौं। उहाँले पवित्र धर्मशास्त्रका ६६ वटा पुस्तकहरू उपलब्ध गराउनुभएको छ र यसमा हामीले भरपूर ध्यान दिनुपर्छ। बाइबल अनि ‘विश्वासी दासले’ तयार पारेका साहित्यहरूले “परमेश्वरको ज्ञान प्राप्त” गर्न हामीलाई मदत गर्छ।—हितोपदेश २:१-६.
परमेश्वरप्रतिको हाम्रो सबै दायित्व
१५. (क) ‘मानिसले गर्नुपर्ने सबै दायित्वबारे’ सुलेमानले भनेका कुरालाई तपाईं कसरी व्यक्त गर्नुहुन्छ? (ख) परमेश्वरप्रतिको आफ्नो दायित्व पूरा गर्न चाहन्छौं भने हामीले के गर्नुपर्छ?
१५ आफूले गरेका सबै जाँचबुझको निचोडमा उपदेशक, सुलेमान यसो भन्छन्: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्। परमेश्वरको भय राख्, र उहाँका आज्ञा पालन गर्। [मानिसले गर्नुपर्ने सबै दायित्व यही नै हो, NW] किनभने हामीले गरेको हरेक काम, असल होस् वा खराब होस् हरेक गुप्त कुराको न्याय परमेश्वरले गर्नुहुनेछ।” (उपदेशक १२:१३, १४) हाम्रो महान् सृष्टिकर्ताप्रतिको स्वास्थ्यकर भय वा श्रद्धाले हामी अनि हाम्रा प्रिय जनहरूमाथि दुःखकष्ट ल्याउने मूर्ख जीवनपद्धतिबाट हामी तथा हाम्रो परिवारलाई जोगाउँछ। परमेश्वरप्रतिको स्वास्थ्यकर भय शुद्ध हुन्छ अनि यस्तो भय बुद्धिको सुरुआत हो। (भजनसंग्रह १९:९; हितोपदेश १:७) परमेश्वरको प्रेरित वचनमा आधारित अन्तरदृष्टि राख्यौं अनि यसको सल्लाह व्यवहारमा उताऱ्यौं भने हामीले परमेश्वरप्रतिको आफ्नो “सबै दायित्व” पूरा गरिरहेका हुनेछौं। हामीले एक एक दायित्वहरूको सूची बनाइरहनु आवश्यक छैन। हामीले जीवनमा आइपर्ने समस्याहरू सुल्झाउँदा धर्मशास्त्रमा मार्गदर्शन खोज्ने अनि सधैं उहाँको तौरतरिकाअनुसार कामकुराहरू गर्ने गरे पुग्छ।
१६. न्यायको सन्दर्भमा यहोवाले के गर्नुहुनेछ?
१६ हाम्रो महान् सृष्टिकर्ताको नजरमा कुनै कुरा लुक्नसक्दैन भनेर हामीले बुझ्नुपर्छ। (हितोपदेश १५:३) उहाँले ‘हरेक गुप्त कुराको न्याय गर्नुहुनेछ।’ हो, सर्वोच्च परमेश्वरले मानिसहरूको नजरबाट लुकेका कुराहरूलगायत सबै कुराहरूको न्याय गर्नुहुनेछ। यस्ता कुराहरूप्रति सजग भयौं भने परमेश्वरका आज्ञाहरू पूरा गर्न हामी उत्प्रेरित हुनसक्छौं। तर सबैभन्दा ठूलो उत्प्रेरणाचाहिं स्वर्गमा हुनुहुने हाम्रो पिताप्रतिको प्रेम हुनुपर्छ किनकि प्रेरित यूहन्नाले यस्तो लेखे: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्।” (१ यूहन्ना ५:३) परमेश्वरका आज्ञाहरूले हाम्रो चिरस्थायी हित गर्छ। तसर्थ, ती पालन गर्नु उचित मात्र होइन बुद्धिमानी पनि हो। महान् सृष्टिकर्तालाई प्रेम गर्नेहरूका लागि यो कुनै बोझ होइन। तिनीहरू उहाँप्रतिको आफ्नो दायित्व पूरा गर्न चाहन्छन्।
आफ्नो सबै दायित्व पूरा गर्नुहोस्
१७. परमेश्वरप्रतिको सबै दायित्व पूरा गर्न चाहन्छौं भने हामी के गर्नेछौं?
१७ हामी बुद्धिमान् छौं अनि आफ्नो सबै दायित्व पूरा गर्न चाहन्छौं भने, उहाँका आज्ञाहरू पालन गर्नुको अलावा हामीसँग उहाँलाई रुष्ट नपार्ने श्रद्धेय भय पनि हुनुपर्छ। साँच्चै, “परमप्रभुको भयनै ज्ञानको शुरू हो” अनि उहाँका आज्ञाहरू पालन गर्नेहरूको “असल समझ हुन्छ।” (भजनसंग्रह १११:१०; हितोपदेश १:७) त्यसकारण, बुद्धिमानीपूर्वक चलौं अनि हर काम गर्दा यहोवाको आज्ञा पालन गरौं। खास गरी, अहिले यसो गर्नु एकदमै महत्त्वपूर्ण छ किनकि राजा येशू ख्रीष्टको उपस्थिति भइसकेको छ अनि परमेश्वरद्वारा नियुक्त न्यायकर्ताको हैसियतमा उहाँले न्याय गर्ने दिन नजिकै छ।—मत्ती २४:३; २५:३१, ३२.
१८. यहोवा परमेश्वरप्रतिको सबै दायित्व पूरा गऱ्यौं भने कस्तो फल पाउनसक्छौं?
१८ अहिले परमेश्वरले हामी सबैलाई नियालेर हेरिरहनुभएको छ। हामीले आध्यात्मिक कुराहरूमा ध्यान दिइरहेका छौं वा सांसारिक प्रभावहरूमा परेर परमेश्वरसितको हाम्रो सम्बन्धलाई कमजोर बनाइरहेका छौं? (१ कोरिन्थी २:१०-१६; १ यूहन्ना २:१५-१७) चाहे हामी जवान होऔं या वृद्ध, हाम्रो महान् सृष्टिकर्तालाई खुसी तुल्याउने सकभर प्रयास गरौं। यहोवाप्रति आज्ञाकारी भयौं अनि उहाँका आज्ञाहरू पालन गऱ्यौं भने, बितेर जाने यो पुरानो संसारका व्यर्थका कुराहरूलाई हामी तिरस्कार गर्नेछौं। तब, उहाँले प्रतिज्ञा गर्नुभएको नयाँ रीतिरिवाजमा अनन्त जीवन पाउने आशा राख्नसक्छौं। (२ पत्रुस ३:१३) परमेश्वरप्रति आफ्नो सबै दायित्व पूरा गर्नेहरूका कस्तो अद्भुत प्रत्याशा!
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ सबै कुरा व्यर्थ छैन भनेर तपाईं किन भन्न सक्नुहुन्छ?
◻ जवान मसीहीले आफ्नो पवित्र सेवाबारे किन प्रार्थनापूर्वक विचार गर्नुपर्छ?
◻ कस्ता पुस्तकहरूको “धेरै अध्ययन” गर्नु लाभदायी छैन?
◻ “मानिसको सबै दायित्व” के हो?
[पृष्ठ २०-मा भएको चित्र]
यहोवाको सेवा गर्नेहरूका लागि सबै कुरा व्यर्थ छैन
[पृष्ठ २३-मा भएको चित्र]
परमेश्वरको वचन यस संसारका थुप्रै पुस्तकहरू जस्तो नभई स्फूर्तिदायी र लाभदायी छ