मसीही जमघटहरूको मूल्यांकन गर्ने
“प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं।”—हिब्रू १०:२४, २५.
१, २. (क) साँचो मसीहीहरूको जमघटमा उपस्थित हुनु किन सुअवसर हो? (ख) येशू कुन अर्थमा आफ्ना अनुयायीहरूको जमघटमा उपस्थित हुनुहुन्छ?
चाहे त्यो दस जनाभन्दा कमको होस् वा यहोवाका हजारौं उपासकहरूको जमघट नै किन नहोस्, मसीही जमघटमा उपस्थित हुन पाउनु साँच्चै एउटा सुअवसर हो किनभने येशूले यसो भन्नुभयो: “जहाँ दुइ कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका बीचमा हुन्छु।” (मत्ती १८:२०) हो, येशूले त्यो प्रतिज्ञा गर्नुहुँदा मसीही मण्डलीको अगुवाइ गर्नेहरूले राम्ररी सोचविचार गर्नुपर्ने न्यायिक मामिलाहरूबारे बताउँदै हुनुहुन्थ्यो। (मत्ती १८:१५-१९) तर के येशूका यी शब्दहरू सैद्धान्तिक तवरमा उहाँका नाउँमा प्रार्थना गरेर सुरु तथा अन्त गरिने सबै मसीही जमघटहरूमा लागू हुन्छ? हुन्छ। येशूले आफ्ना अनुयायीहरूलाई चेला बनाउने कार्य गर्न अह्राउनुहुँदा गर्नुभएको यो प्रतिज्ञा नबिर्सनुहोस्: “हेर, म सब दिन, अँ, जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।”—मत्ती २८:२०.
२ निस्सन्देह, मसीही मण्डलीका शिर प्रभु येशू ख्रीष्ट आफ्ना विश्वासी अनुयायीहरूको सबै जमघटमा उत्कट चासो राख्नुहुन्छ। यसबाहेक, परमेश्वरको पवित्र आत्माद्वारा उहाँ ती जमघटहरूमा उपस्थित हुनुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुनसक्छौं। (प्रेरित २:३३; प्रकाश ५:६) हाम्रो जमघटमा यहोवा परमेश्वरले पनि चासो लिनुहुन्छ। त्यस्ता जमघटहरूको प्रमुख उद्देश्य “समुदायहरूमा” परमेश्वरको प्रशंसा गर्नु हो। (भजन २६:१२) मण्डलीका सभाहरूमा उपस्थित भएर हामी उहाँप्रतिको प्रेमको प्रमाण दिन्छौं।
३. हामी कुन महत्त्वपूर्ण कारणहरूका लागि मसीही जमघटहरूको मूल्यांकन गर्छौं?
३ हामीले मसीही जमघटहरूको मूल्यांकन गर्नुका अन्य ठोस कारणहरू छन्। स्वर्ग जानुअघि येशू ख्रीष्टले आफ्ना अभिषिक्त चेलाहरूलाई “विश्वासी र बुद्धिमान दास[को]” हैसियतमा विश्वासको घरानालाई सामयिक आध्यात्मिक भोजन दिन नियुक्त गर्नुभयो। (मत्ती २४:४५) त्यस्तो आध्यात्मिक भोजन दिने एउटा महत्त्वपूर्ण तरिका मण्डलीका सभाहरू, सम्मेलन तथा अधिवेशनजस्ता ठूलठूला जमघटहरूद्वारा हो। यस दुष्ट रीतिरिवाजको अन्तबाट बचेर परमेश्वरको धार्मिक नयाँ संसारमा जीवन पाउने आशा लिएर यस्ता जमघटहरूमा भेला हुनेहरूलाई अत्यावश्यक जानकारी दिन प्रभु येशू ख्रीष्टले यस विश्वासी दासवर्गलाई डोऱ्याउनुहुन्छ।
४. बाइबलमा कुन खतरनाक “बानी” उल्लिखित छ र यसबाट जोगिन हामीलाई कुन कुराले मदत गर्नेछ?
४ यसर्थ, प्रेरित पावलले उल्लेख गरेको खतरनाक बानी विकास गर्नदेखि हरेक मसीही सतर्क हुनुपर्छ। तिनले यस्तो लेखे: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन् बढ़ता गरेर अर्ती दिंदै गरौं।” (हिब्रू १०:२४, २५) मसीही जमघटहरूमा उपस्थित हुन पाउनुको सुअवसर तथा लाभहरू मनन गरेर हामी त्यस्ता जमघटहरूलाई सम्पूर्ण हृदयले वफादारीपूर्वक समर्थन गर्न सक्नेछौं।
उत्थानदायी सभाहरू
५. (क) हाम्रो बोलीवचनले सभाहरूमा कस्तो प्रभाव पार्नुपर्छ? (ख) जिज्ञासुहरूलाई सभामा उपस्थित हुने निमन्त्रणा दिन हामीले किन ढिलासुस्ती गर्नु हुँदैन?
५ मसीही सभाहरूमा यहोवाको पवित्र आत्मा क्रियाशील होस् भनेर मसीहीहरूले प्रार्थना गर्ने हुँदा त्यहाँ उपस्थित हुने हरेक व्यक्तिले आत्माअनुसारको कार्य गर्न यथाशक्य प्रयास गर्नुपर्छ र “परमेश्वरका पवित्र आत्मालाई सन्ताप” दिनु हुँदैन। (एफिसी ४:३०) प्रेरित पावलले यी ईश्वरप्रेरित शब्दहरू लेख्दा बोलीवचनको सही प्रयोगबारे छलफल गर्दैथिए। हामीले बोल्ने हरेक वचन “परिआएको खण्डमा सुधारको निम्ति केही असल कुरो हुन्छ भने मात्र” बोल्नुपर्छ “कि त्यसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्।” (एफिसी ४:२९) यी मसीही जमघटहरू विशेषगरि महत्त्वपूर्ण हुन्छन्। कोरिन्थीहरूलाई लेखेको पत्रमा पावलले सभाहरू उत्थानदायी, निर्देशनमूलक तथा प्रोत्साहनदायी हुनुपर्ने कुरामा जोड दिए। (१ कोरिन्थी १४:५, १२, १९, २६, ३१) त्यस्ता सभाहरूबाट नयाँ व्यक्तिहरूलगायत उपस्थित सबैले लाभ उठाउँछन् जो यस्तो निष्कर्षमा पुग्लान्: “साँच्चिनै परमेश्वर तिमीहरूका बीचमा हुनुहुन्छ।” (१ कोरिन्थी १४:२५) यसकारण, नयाँ व्यक्तिहरूलाई हामीसित भेला हुने निमन्त्रणा दिन ढिलासुस्ती गर्नु हुँदैन किनभने एकसाथ भेला हुँदा तिनीहरूको आध्यात्मिक प्रगति छिट्छिटो हुनेछ।
६. सभालाई उत्थानदायी बनाउन मदत पुऱ्याउने केही तत्त्वहरू के के हुन्?
६ मसीही सभामा भाषण, अन्तरवार्ता वा प्रदर्शनहरू गर्ने जिम्मा पाएका सबैले आफ्नो बोलीवचन उत्थानदायी हुनुका साथै परमेश्वरको लिखित वचन बाइबलअनुरूप छ कि छैन भनेर यकिन गर्नुपर्छ। सही कुराहरू बोल्नुका साथसाथै परमेश्वर तथा ख्रीष्टको मायालु व्यक्तित्वअनुरूपका भावना तथा अनुभूतिहरू झल्काउनुपर्छ। सभाको कार्यक्रममा भाग पाउने जति सबै प्रेम, धीरज र विश्वासजस्ता ‘आत्माको फल’ देखाउन सजग छन् भने उपस्थित सबैले यी जमघटहरू पक्कै उत्थानदायी भएको महसुस गर्नेछन्।—गलाती ५:२२, २३.
७. जमघटलाई उत्थानदायी बनाउन उपस्थित सबैले कसरी योगदान पुऱ्याउनसक्छन्?
७ मण्डलीका सभाहरूमा थोरैले मात्र भाग पाए तापनि जमघटलाई उत्थानदायी बनाउन सबैले योगदान पुऱ्याउनसक्छन्। यी सभाहरूमा प्रायजसो प्रश्नोत्तरमा भाग लिने अवसरहरू पनि पाइन्छ। यी, जनसमक्ष हाम्रो विश्वास घोषणा गर्ने अवसरहरू हुन्। (रोमी १०:९) यी अवसरहरू व्यक्तिगत धारणा अघि सार्न, व्यक्तिगत उपलब्धिको धाक दिन वा सँगी विश्वासीको आलोचना गर्न कहिल्यै प्रयोग गर्नु हुँदैन। के यस्तो व्यवहारले परमेश्वरको आत्मालाई सन्ताप नदेला र? सँगी विश्वासीहरूसितको मतभिन्नता प्रेमको मनोभाव देखाएर गुप्तमा सुल्झाए सबैभन्दा बेस हुन्छ। बाइबल यसो भन्छ: “जसरी परमेश्वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।” (एफिसी ४:३२) यो असल सल्लाह व्यवहारमा उतार्न मसीही जमघटहरूले कस्तो अत्युत्तम अवसर प्रदान गर्छन्! त्यसैकारण त धेरैजसो व्यक्तिहरू सभामा चाँडो आउँछन् र सभापछि पनि घर फर्कन हतार गर्दैनन्। आफ्नो स्वागत गरिएको महसुस गर्न चाहने नयाँ जिज्ञासुहरूका लागि पनि यो विशेषगरि लाभदायक हुन्छ। यसप्रकार, ‘प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राखेर’ सभाहरूलाई उत्थानदायी बनाउन सबै समर्पित मसीहीहरूले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।
राम्रो तयारी गर्नुहोस्
८. (क) कसै कसैले सभाहरूमा उपस्थित हुन गर्ने कस्ता सराहनीय त्यागहरू गरेका छन्? (ख) यहोवाले गोठालाको हैसियतमा कस्तो नमुना बसाल्नुहुन्छ?
८ कसै कसैलाई मसीही सभाहरूमा उपस्थित हुनु सजिलो भए तापनि अरू कतिपयले भने सधैंजसो कैययन् त्यागहरू गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, आफ्नो परिवार पाल्न भौतिक प्रबन्ध गर्न जागिर खानुपर्ने मसीही आमा प्रायजसो लखतरान भएर घर फर्कन्छिन्। त्यसपछि खाना बनाएर छोराछोरीहरूलाई सभाको निम्ति तयार गर्नुपर्ने होला। अरू मसीहीहरूले भने सभामा पुग्न लामो यात्रा गर्नुपर्ने होला वा तिनीहरू अस्वस्थ तथा पाको होलान्। गोठालाले आफ्नो बगालको प्रत्येक भेडाका खास खाँचोहरू बुझेझैं अटुट रूपमा सभा धाउने हरेक व्यक्तिको परिस्थिति यहोवाले अवश्य बुझ्नुहुन्छ। बाइबल यसो भन्छ, “[यहोवाले] आफ्नो बगाललाई गोठालालेझैं चराउनुहुनेछ। उहाँले थुमाहरूलाई आफ्नै अंगालोमा लिनुहुनेछ, र तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ, दूध खुवाउने माऊलाई चाहिं बिस्तार बिस्तार डोऱ्याएर उहाँले लैजानुहुनेछ।”—यशैया ४०:११.
९, १०. हामीले सभाहरूबाट यथासक्दो लाभ कसरी उठाउनसक्छौं?
९ सभामा नियमित हुन ठूलठूला त्यागहरू गर्नुपर्ने व्यक्तिहरूले सभामा छलफल गरिने विषयवस्तुको लागि तयारी गर्न त्यति धेरै समय नपाउलान्। साप्ताहिक बाइबल पढाइको तालिकाअनुसार पढेर सभामा उपस्थित हुँदा ईश्वरतान्त्रिक सेवकाई पाठशाला बढी इनामदायी हुन्छ। त्यसरी नै प्रहरीधरहरा अध्ययन तथा मण्डली पुस्तक अध्ययनजस्ता अन्य सभाहरूका लागि पूर्वतयारी गर्दा अझ बढी लाभ उठाउनसक्छौं। विषयवस्तु पहिल्यै पढ्दा तथा उद्धरित बाइबल पदहरूमध्ये कुनै कुनैबारे मात्र भए पनि विचार गर्दा व्यस्त परिवारहरू यी महत्त्वपूर्ण छलफलहरूमा अर्थपूर्ण भाग लिन बढी तत्पर हुनसक्छन्।
१० अलि बढी फुर्सत हुनेहरूले सभाको लागि तयारी गर्न बढी समय बिताउनसक्छन्। उदाहरणका लागि, उल्लिखित तर उद्धरण नगरिएका शास्त्रपदहरूमा तिनीहरूले अनुसन्धान गर्नसक्छन्। तसर्थ, सभाहरूबाट सर्वोत्तम लाभ उठाउने र आफ्ना भाषण तथा टिप्पणीहरूबाट मण्डलीको उत्थान गर्ने कार्यमा भाग लिन सबै तयार हुनसक्छन्। प्राचीन तथा सेवकाई सेवकहरूले राम्रो तयारी गरेर छोटोमीठो जवाफ दिन नमुना बसाल्नसक्छन्। यहोवाका प्रबन्धहरूप्रति आदर देखाउँदै मण्डलीमा उपस्थित हुने कसैले पनि सभाको दौडान अरूको ध्यान भंग हुने काम गर्नु हुँदैन।—१ पत्रुस ५:३.
११. सभाहरूका लागि तयारी गर्न आत्म-अनुशासन किन चाहिन्छ?
११ हाम्रो आध्यात्मिक स्वास्थ्यको लागि अनावश्यक क्रियाकलाप तथा मोजमज्जाले बढी समय खाइरहेको हुनसक्छ। त्यसो हो भने आफैलाई जाँच्नुपर्छ र समयको सन्दर्भमा ‘मूर्ख नहुन’ होसियार हुनुपर्छ। (एफिसी ५:१७) हाम्रो लक्ष्य व्यक्तिगत बाइबल अध्ययन तथा सभाहरूको तयारी र राज्यसम्बन्धी अन्य क्रियाकलापमा बढी समय बिताउन ‘समयको अवसर विचार गर्ने’ हुनुपर्छ। (एफिसी ५:१६) हो, यसो गर्न सधैं सजिलो हुँदैन र आत्म-अनुशासन चाहिन्छ। यो कुरालाई विचार गर्ने युवाहरूले भावी प्रगतिको लागि राम्रो जग बसालिरहेका हुन्छन्। पावलले आफ्ना जवान साथी तिमोथीलाई यस्तो लेखे: “यी कुरामा [पावलले तिमोथीलाई दिएको सल्लाह] परिश्रम गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्।”—१ तिमोथी ४:१५.
परमेश्वरको वचनमा पाइने
१२. शमूएलको परिवारले कस्तो उल्लेखनीय नमुना बसाले?
१२ शमूएलको परिवारले बसालेको राम्रो नमुनालाई विचार गर्नुहोस्। परमेश्वरको बासस्थान शीलोमा हुँदा सँगी उपासकहरू भेला हुने प्रबन्ध थियो र शमूएलको परिवार त्यहाँ नियमित तवरमा भेला हुन्थ्यो। ती वार्षिक चाडहरू मनाउन पुरुषहरू मात्र गए पुग्थ्यो। तर शमूएलको बुबा एल्कानाले “वर्षेनि शीलोमा सेनाहरूका परमप्रभुको आराधना गर्न र बलिदान चढ़ाउन आफ्नो शहरबाट उक्लेर जानेगर्थे” र आफ्ना सम्पूर्ण परिवारलाई लैजाने गर्थे। (१ शमूएल १:३-५) शमूएलको घर सम्भवतः अहिले रेन्टिसको तटवर्ती इलाका अर्थात् “एप्रैमको पहाड़ी-देश” नजिकै रामातैममा पर्थ्यो। (१ शमूएल १:१) तसर्थ, शीलोसम्मको यात्रा ३० किलोमिटर जति लामो हुनुका साथै त्यतिबेला अत्यन्तै कठिन हुन सक्थ्यो। एल्कानाको परिवारले नबिराइकन “सालसालै यस्तो” यात्रा गर्थे र “परमप्रभुको भवनमा जान्थे।”—१ शमूएल १:७.
१३. येशू पृथ्वीमा हुनुहुँदा विश्वासी यहूदीहरूले कस्तो नमुना बसाले?
१३ येशू पनि ठूलो परिवारमा हुर्कनुभएको थियो। यरूशलेममा निस्तार चाड मनाउन उहाँको परिवार वर्षेनी नासरत जान्थ्यो र यो दक्षिण दिशामा १०० किलोमिटर जति लामो यात्रा थियो। तिनीहरू त्यहाँ पुग्नसक्ने बाटो सम्भवतः दुइटा थियो। ठाडो बाटो जाने हो भने मेगिदो ओर्लेर सामरी इलाका हुँदै ६०० मिटर जति उक्लेर यरूशलेम पुग्न सकिन्थ्यो। अर्को चलनचल्तीको बाटो सा.यु. ३३ मा येशू अन्तिमचोटि यरूशलेम जानुभएको बाटो हो। यो बाटो जाँदा समुद्री सतहभन्दा तल यर्दन उपत्यका हुँदै “यर्दन नदीको पारिपट्टि यहूदियाका सीमानाहरूभित्र” हिंड्नुपर्थ्यो। (मर्कूस १०:१) यहाँबाट “यरूशलेमतिर[को] बाटो” लगभग ३० किलोमिटरजति टाढा थियो र १,००० मिटरभन्दा माथि उक्लनुपर्थ्यो। (मर्कूस १०:३२) चाड मनाउने विश्वासी जनहरू नियमित तवरमा गालिलदेखि यरूशलेमसम्मको कठिन यात्रा गर्थे। (लूका २:४४) आधुनिक यातायात साधनहरूको सुविधाले गर्दा मसीही जमघटहरूमा भेला हुन खास मेहनत गर्नु नपर्ने वर्तमान संवृद्ध मुलुकका यहोवाका साक्षीहरूको लागि कस्तो उत्तम उदाहरण!
१४, १५. (क) हन्नाले कस्तो नमुना बसालिन्? (ख) सभाहरूमा भर्खरै उपस्थित हुन थालेका केही व्यक्तिहरूले देखाउने असल मनोवृत्तिबाट हामी के सिक्न सक्छौं?
१४ अर्को उदाहरण हो ८४ वर्षीय विधवा हन्नाको। तिनी कहिल्यै “मन्दिर छोड़दैन थिइन्” भनेर बाइबल बताउँछ। (लूका २:३७) यसबाहेक, हन्ना अरूप्रति मायालु चासो देखाउँथिन्। बालक येशू देख्ने बित्तिकै उहाँ प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भन्ने थाह पाएपछि तिनले के गरिन्? तिनले परमेश्वरलाई धन्यवाद दिइन् र “यरूशलेमको मुक्तिको बाटो हेर्ने सबैलाई उहाँको विषयमा” भन्न थालिन्। (लूका २:३८) आज मसीहीहरूले राख्नुपर्ने असल मनोवृत्तिको कस्तो राम्रो नमुना!
१५ हो, सभाहरूमा उपस्थित हुनु तथा भाग लिनु हन्नाको लागि जस्तै हाम्रो लागि पनि आनन्दको कुरा हुनुपर्छ र तिनले जस्तै सभाहरू कहिल्यै नछुटाउने चाहना गर्नुपर्छ। धेरैजसो नयाँ व्यक्तिहरू यस्तै महसुस गर्छन्। अन्धकारबाट निस्केर परमेश्वरको अद्भुत ज्योति पाएको हुँदा तिनीहरू सकेसम्म बढी सिक्न चाहन्छन् र मसीही सभाहरूप्रति थुप्रैले निकै उत्साह प्रकट गर्छन्। अर्कोतर्फ, लामो समयदेखि सच्चाइमा भएकाहरू ‘पहिलाको प्रेम छोड़िएला’ भनेर सतर्क हुनुपर्छ। (प्रकाश २:४) गम्भीर स्वास्थ्य समस्या तथा अन्य कारणहरूले गर्दा कहिलेकाहीं सभामा उपस्थित हुन सम्भव नहोला। तर भौतिकवाद, मनोरञ्जन वा चासोको कमीले गर्दा सभाको लागि तयारी नगर्ने, निष्क्रिय तथा अनियमित व्यक्ति कहिल्यै हुनु हुँदैन।—लूका ८:१४.
सर्वोत्तम उदाहरण
१६, १७. (क) येशूले आध्यात्मिक जमघटहरूप्रति कस्तो दृष्टिकोण राख्नुभयो? (ख) सबै मसीहीहरूले कुन राम्रो बानी अनुकरण गर्न खोज्नुपर्छ?
१६ आध्यात्मिक जमघटहरूप्रति मूल्यांकन देखाउने सन्दर्भमा येशूले उत्कृष्ट नमुना बसाल्नुभयो। उहाँले १२ वर्षको कलिलो उमेरमै यरूशलेममा परमेश्वरको भवनप्रति प्रेम देखाउनुभयो। उहाँका आमाबाबुले उहाँलाई भेट्टाउन सकेनन् तर आखिरमा भेटाउँदा उहाँ मन्दिरका धर्मगुरुहरूसित परमेश्वरको वचन छलफल गरिरहनुभएको थियो। आमाबाबु असाध्यै चिन्तित भएको देखेर येशूले आदरपूर्वक सोध्नुभयो: “के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्ने तपाईंहरूलाई थाह थिएन?” (लूका २:४९) आमाबाबुप्रति आज्ञाकारी भएर येशू तिनीहरूसितै नासरत फर्कनुभयो। त्यहाँ पनि सभाघरहरूमा नियमित तवरमा उपस्थित हुनुभएर उपासनाका लागि हुने जमघटहरूप्रति प्रेम देखाइरहनुभयो। तसर्थ, उहाँले सेवकाई सुरु गर्नुभएको समयबारे बाइबल यसो भन्छ: “अनि उहाँ नासरतमा आउनुभयो, उहाँ त्यहीं हुर्कनुभएको थियो। औ आफ्नो दस्तुरअनुसार विश्रामको दिनमा सभाघरमा गएर पढ़नालाई खड़ा हुनुभयो।” येशूले यशैया ६१:१, २ पढेर बुझाई सक्नुभएपछि सुन्नेहरू सबै “उहाँको मुखबाट निस्केका अनुग्रहका वचनमा छक्क परे।”— लूका ४:१६, २२.
१७ वर्तमान समयमा पनि मसीही सभाहरू त्यसरी नै सञ्चालन हुन्छन्। प्रशंसाको गीत तथा प्रार्थनाद्वारा सभा सुरु गरेपछि बाइबलका पदहरू (अथवा बाइबल अध्ययन विषयवस्तुमा उद्धरित पदहरू) पढेर बुझाइन्छ। साँचो मसीहीहरूले येशू ख्रीष्टको असल नमुना अनुकरण गर्नैपर्छ। परिस्थितिले भ्याएसम्म मसीही जमघटहरूमा नियमित तवरमा भेला हुन पाउँदा तिनीहरू रमाउँछन्।
आधुनिक समयका उदाहरणहरू
१८, १९. सभा, सम्मेलन तथा अधिवेशनहरूको सन्दर्भमा गरिब मुलुकका भाइहरूले कस्तो राम्रो नमुना बसालेका छन्?
१८ गरिब मुलुकका हाम्रा भाइबहिनीहरूले मसीही जमघटप्रति मूल्यांकन देखाउने सन्दर्भमा राम्रो नमुना बसालेका छन्। मोजाम्बिकका जिल्ला निरीक्षक ओर्लान्डो र तिनकी पत्नी अमाल्यालाई पहाडी इलाका हुँदै लगभग ९० किलोमिटर हिंडेर एउटा सम्मेलनमा पुग्न ४५ घण्टा लाग्यो। त्यसपछि, त्यही बाटो फर्केर अर्को सम्मेलन धाउनुपर्थ्यो। विनम्र हुँदै ओर्लान्डोले यसो भने: “बावा मण्डलीका भाइहरूले गरेका कुराहरू सुन्दा त हामीले जे जति गऱ्यौं त्यो त केही पनि होइन जस्तो लाग्यो। सम्मेलन जान र घर फर्कन तिनीहरूले लगभग ४०० किलोमिटर हिंड्नुपर्थ्यो र यो यात्रा गर्न छ दिन लाग्थ्यो अनि त्यसरी यात्रा गर्नेमध्ये एक जना ६० वर्षीय भाइ पनि थिए!”
१९ मण्डलीका साप्ताहिक सभाहरूप्रतिको मूल्यांकन नि? काशावाशा जाम्बा ७० वर्ष नाघिसकेकी दुर्बल बहिनी हुन्। तिनी नामिबियाको रून्डुस्थित राज्यभवनभन्दा पाँच किलोमिटर जति टाढाको सानो गाउँ काइसोसेमा बस्छिन्। सभा धाउन तिनले आउनजान जम्मा दस किलोमिटर सुनसान बाटो हिंड्नुपर्छ। यो बाटो हिंड्दा कति जना लुटिएका छन् तर काशावाशाले सभा धाउन छोडेकी छैनन्। प्रायजसो सभाहरू तिनले नबुझ्ने भाषामा सञ्चालन हुन्छन्। त्यसोभए, तिनले सभाहरूबाट कसरी लाभ उठाउँछिन्? काशावाशा भन्छिन्, “शास्त्रपदहरूमा ध्यान दिन्छु अनि कुन विषयमा भाषण दिइँदैछ, बुझ्न खोज्छु।” तर तिनी लेखपढ गर्न जान्दिनन्। त्यसोभए शास्त्रपदहरूमा कसरी ध्यान दिन्छिन्? तिनी यसो भन्छिन्, “मलाई कण्ठ भएका शास्त्रपदहरू ध्यान दिएर सुन्न खोज्छु।” वर्षौंको दौडान तिनले थुप्रै शास्त्रपदहरू कण्ठ पार्न सकेकी छिन्। बाइबल चलाउन अझ निपुण हुन तिनी मण्डलीद्वारा प्रबन्ध गरिएको साक्षरता कक्षामा पनि भाग लिन्छिन्। तिनी भन्छिन्, “मलाई सभाहरू धाउन मन पर्छ। हरेकचोटि नयाँ नयाँ कुराहरू सिक्नसक्छु। भाइबहिनीहरूसित हेलमेल गर्न मन लाग्छ। सबैसित कुरा गर्न नसके तापनि तिनीहरू मसित कुरा गर्न आउँछन्। अनि मलाई थाह भएको सबैभन्दा महत्त्वपूर्ण कुरा, सभाहरूमा उपस्थित हुँदा मैले यहोवाको हृदय आनन्दित तुल्याइरहेकी हुन्छु।”
२०. हामी मसीही जमघटहरूमा भेला हुन किन छोड्नु हुँदैन?
२० काशावाशाजस्तै संसारभरि यहोवाका लाखौं उपासकहरूले मसीही जमघटप्रति सराहनीय मूल्यांकन देखाइरहेका छन्। शैतानको संसार विनाशतिर लम्कँदै जाँदा हामी एक साथ भेला हुन कुनै हालतमा पनि छोड्न सक्दैनौं। बरु, हामी आध्यात्मिक तवरमा जागा होऔं र सभा, सम्मेलन तथा अधिवेशनहरूप्रति गहिरो मूल्यांकन देखाऔं। त्यसले यहोवाको हृदय आनन्दित तुल्याउने मात्र होइन तर अनन्त जीवनतर्फ डोऱ्याउने ईश्वरीय शिक्षा ग्रहण गर्दा हामीले प्रचुर मात्रामा लाभ पनि उठाउनेछौं।—हितोपदेश २७:११; यशैया ४८:१७, १८; मर्कूस १३:३५-३७.
पुनरावलोकनका लागि प्रश्नहरू
◻ मसीही जमघटहरूमा उपस्थित हुनु किन एउटा सुअवसर हो?
◻ उपस्थित सबैले कसरी सभालाई उत्थानदायी बनाउन सक्छन्?
◻ येशू ख्रीष्टले कस्तो उत्कृष्ट नमुना बसाल्नुभयो?
◻ गरिब मुलुकका भाइहरूबाट हामी कस्तो पाठ सिक्नसक्छौं?
[पृष्ठ १७-मा भएको पेटी
तिनीहरू साप्ताहिक सभाहरूको मूल्यांकन गर्छन्
लाखौं मानिसहरू गरिबी र अपराधले पिल्सिएका शहरहरूमा बस्छन्। त्यस्ता परिस्थितिहरूको बावजूद त्यहाँका साँचो मसीहीहरूले मसीही जमघटहरूप्रति देखाउने मूल्यांकन सराहनीय छ। दक्षिण अफ्रिकाको काउटेन प्रान्तको सोवेटो मण्डलीमा सेवारत प्राचीन यसो भन्छन्: “साक्षी तथा बप्तिस्मा अप्राप्त प्रकाशकहरू गरेर जम्मा ६० जना भएको मण्डलीमा हाम्रो उपस्थिति ७०/८० को बीचमा हुन्छ र कहिलेकाहीं त त्योभन्दा बढी भेला हुन्छन्। सभामा आउन भाइबहिनीहरूले लामो यात्रा गर्नु नपरे तापनि सोवेटोको यस ठाउँको अवस्था डरलाग्दो छ। सभामा आउँदै गर्दा एक जना भाइको ढाडमा छुराले हानियो। कम्तीमा पनि दुइ जना बहिनीलाई तानेर लुटपिट गर्न खोजियो। तैपनि तिनीहरूले सभा धाउन छोडेका छैनन्। आइतबारको सभा प्रार्थनाद्वारा अन्त भइसकेपछि हामी एकछिन गीतहरू अभ्यास गर्छौं। सधैंजसो कम्तीमा ९५ प्रतिशतले भाग लिन्छन् र हामी अर्को हप्ता सभामा गाइने गीतहरू गाउँछौं। यसले नयाँ जिज्ञासुहरूलाई गीत सिकेर गाउन मदत गर्छ।”
ग्रामीण इलाकामा बस्नेहरूले भने अर्कै अवरोधहरू सामना गर्छन्। जस्तै हप्तामा तीन चोटि सभा धाउन लामो यात्रा गर्नुपर्छ। एक जिज्ञासु दम्पती बोत्स्वानाको लोबात्सेमा बस्छन् र त्यो ठाउँ राज्य भवनभन्दा १५ किलोमिटर टाढा पर्छ। ती दम्पती आफ्ना दुई छोराछोरीसित नियमित तवरमा सभा धाउन थालेको एक वर्ष भइसक्यो। परिवारलाई टेवा पुऱ्याउन पतिले जुत्ता मर्मत गर्ने काम गर्छन्। सभामा जाने आउने बाटो खर्च जुटाएर परिवारलाई केही आर्थिक सहयोग पुऱ्याउन पत्नीले सानातिना मालतालहरू बेच-बिखन गर्छिन्।
हालै गर्मी महिनाको एउटा साँझको कुरा हो, क्षेत्रीय निरीक्षकको सभापछि घर फर्कंदा यो परिवार राति नौ बजेसम्म बसबिसौनीमा बस पर्खिरहेका थिए। खराब मौसमले गर्दा बसहरू आउन बन्द भइसकेका थिए। एक प्रहरी अधिकृतले आफ्नो गाडी रोकेर तिनीहरू त्यहाँ उभिरहनुको कारण सोधे। तिनीहरूको बिचल्ली देखेर उनले १५ किलोमिटर लामो दूरी हिंड्नै नपर्ने गरी आफ्नै गाडीमा पुऱ्याइदिए। बप्तिस्मा अप्राप्त प्रकाशकले आफ्नो पतिलाई यसो भनिन्: “ल हेर्नुस्, सभाहरूलाई पहिलो स्थानमा राख्यौं भने यहोवाले सधैं प्रबन्ध मिलाइदिनुहुन्छ।” अब, पतिले पनि सुसमाचारको प्रचारक हुने इच्छा व्यक्त गरेका छन्।
[पृष्ठ १८-मा भएको चित्र
साक्षीहरूले मसीही जमघटहरूप्रति मूल्यांकन देखाउने सन्दर्भमा राम्रो नमुना बसालेका छन्, जस्तै रोमानियाका यी साक्षीहरू