जसै दिन नजीक नजीक आइपुग्छ, एउटाले अर्कोलाई प्रोत्साहन दिने गर
“दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले, एउटाले अर्कोलाई झन बढ़ता गरेर अर्ती NW [ प्रोत्साहन] दिंदै गरौं।”—हिब्रू १०:२५.
१, २. कुन् दिन नजीक आइरहेको छ र यहोवाका मानिसहरूका विचारधारा कस्तो हुनु पर्ने हो?
‘आउनुहोस र जीवनको पानी सित्तैंमा लिनुहोस्’ भन्ने काममा आज भाग लिने मानिसहरूले आफूलाई अरूहरूबाट अलग्ग पार्दैनन्। यहोवाको महान विजयको दिन जसै नजीक नजीक आउँछ, तिनीहरूले बाइबलको यो उपदेश प्रयोगमा ल्याउँने गर्छन्: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरून्। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोडौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन बढ़ता गरेर अर्ती दिंदै गरौं।”—हिब्रू १०:२४, २५.
२ त्यो “दिनलाई” धर्मशास्त्रले “यहोवाको दिन” भनी भविष्यवाणी गरेकोछ।। (२ पत्रुस ३:१०) यहोवा परमप्रधान र सर्वशक्तिमान परमेश्वर हुनु भएकोले, उहाँको त्यो दिनको मुकाबिला अरू कुनै दिनले पनि गर्न सक्दैन। (प्रेरित २:२०) त्यस दिन, सारा ब्रह्माण्डमा उहाँको सार्वभौमिकता सिद्ध हुनेछ। त्यो अनुपम महत्वको दिन नजीक आइ रहेकोछ।
३. प्रथम शताब्दीका मसीहीहरूका लागि यहोवाका दिन कसरी नजीक आइरहेको थियो र हाम्रालागि के भन्न सकिन्छ?
३ प्रथम शताब्दीका मसीहीहरूलाई प्रेरित पावलले, यहोवाको दिन नजीक आइ रहेकोछ भने। तिनीहरूले त्यो दिनको बाटो हेर्थिए तर त्यत्ति बेला, त्यो दिन प्रायः १९०० भन्दा बढ़ी वर्ष टाढ़ा थियो। (२ थिस्सलोनिकी २:१-३) तापनि, त्यो दिन निश्चय आउनेछ भनेर तिनीहरू प्रोत्साहित हुनु परेको थियो र ती मसीहीहरू त्यस विश्वास साथ निरन्तर अघि बढ़ेमा, तिनीहरू त्यो धन्य दिनमा प्रवेश गर्न सक्ने थिए। (२ तिमोथी ४:८) त्यत्ति बेला, त्यो दिन नजीक आइरहेको जस्तो देखिन्थियो। तर आज, हाम्रो समयमा, यहोवाको दिन वास्तवमा नजीक आइ पुगेकोछ। बाइबलको अगमवाणीका अद्भुत पूर्तिहरूले यो आनन्दमय वास्तविकताको पुष्टि दिन्छ। चाँड़ै नै, हाम्रा परमेश्वर, यहोवाको नाउँ सदाकालागि महिमायुक्त हुनेछ।—लूका ११:२.
ईश्वरको नाउँ द्वारा प्रोत्साहित्
४. प्रकाश १९:६ अनुसार, राजा को हुनुहुनेछ र उहाँको नाउँ कसरी थाह गर्न सकिन्छ?
४ ईश्वरको नाउँ, सम्पूर्ण मानव परिवारको निम्ति चासोको विषय हुनु पर्ने हो। टुडेस ईङ्गलीश वर्सनमा एसो भनिएको छ: “परमेश्वरको प्रशंसा गर! किनभने प्रभु, हाम्रा सर्वशक्तिमान परमेश्वर, राजा हुनु हुन्छ!” (प्रकाश १९:६) २० वाँ शताब्दीको यो बाइबल अनुवाद अनुसार, उहाँ सर्वशक्तिमान परमेश्वर प्रभु हुनु हुन्छ। यो अनुवाद साथै अन्य आधुनिक अनुवादहरूमा राजा हुनु हुने व्यक्तिको ईश्वरीय नाउँ दिएको छैन। तथापि, रिवाइज्ड स्टेन्डर्ड वर्सन, दी न्यु इन्टरनेशनल वर्सन र मोफेटको अनुवादमा, प्रकाश १९:६ मा, “हल्लेलूयाह!” (“याहको प्रशंसा गर” अथवा “यहोवाको प्रशंसा गर”) भन्ने उदगारमा यो ईश्वरीय नाउँ समावेश छ। हाम्रो आधुनिक समयमा, यो ईश्वरीय नाउँलाई बाइबलका धेरै जसो अनुवादहरूले लुकाएका छन्। तर परमेश्वरका जनहरूका निम्ति, दुवै प्राचीन र आधुनिक समयमा, त्यो नाउँ ठूलो प्रोत्साहनको कारण भएको छ भनेर हामी देख्ने छौं।
५, ६. (क) आफूले प्रतिनिधित्व गरेका परमेश्वरको नाउँ थाह गर्नु मोशालाई किन जरूरी थियो? (ख) ईश्वरको नाउँलाई मोशाले महत्व दिंदा, इस्राएलीहरूमाथि के असर पर्यो होला?
५ परम-प्रधान परमेश्वरले मोशालाई, मिश्रको दास्त्वमा परेका इस्राएली मानिसहरूकहाँ पठाउनु हुँदा, मोशालाई पठाउने व्यक्ति को हो भन्ने प्रश्न ती मानिसहरूको मनमा उत्पन्न भएको हामीलाई यादै होला। क्लेशमा परेका यहूदी मानिसहरू, मोशाले प्रतिनिधित्व गरेको परमेश्वरको नाउँ जान्न इच्छुक हुनेछन् भनेर मोशाले अघि बाटै अनुमान लगाए। यस विषयमा हामी प्रस्थान ३:१५ मा यस प्रकार पढ़दछौं: “परमेश्वरले उप्रान्त मोशालाई भन्नु भयो, ‘इस्राएलीहरूलाई भन, ‘तिमीहरूका पिता पुर्खाका परमप्रभु [NW यहोवा] परमेश्वर अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, याकूबका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनु भएको हो। मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्तासम्म मेरो सम्झना यही हुनेछ।’”
६ यो सूचना स्पष्ट सँग प्रस्तुत गरिए पछि, इस्राएलीहरू धेरै नै प्रोत्साहित भएको हुनु पर्छ। एक मात्र साँचो परमेश्वर, यहोवाले तिनीहरूको छुटकारा निश्चित गर्नु भएको थियो। र परमेश्वरले, अहङ्कारपूर्वक आफूलाई अलग्ग राख्नुको सट्टा, आफ्नो नाउँको अर्थ प्रदर्शित गर्नु हुँदा, उहाँलाई अझ राम्रो सँग चिन्न पाउने आशा पनि तिनीहरूका लागि प्रोत्साहनको कारण भएको हुनु पर्छ!—प्रस्थान ३:१३; ४:२९-३१.
७. (क) येशूका चेलाहरू पनि ईश्वरको नाउँसँग परिचित थिए भनेर हामी कसरी जान्दछौं? (ख) परमेश्वरको नाउँलाई कसरी पछाड़ि सारियो?
७ प्रभु येशू ख्रीष्टका चेलाहरू पनि ईश्वरीय नाउँ यहोवा र त्यस्को अर्थबाट धेरै नै प्रोत्साहित भएका थिए। (यूहन्ना १७:६, २६) येशूको पार्थिव सेवकाईको दौडानमा, उहाँले ईश्वरको नाउँलाई पछाडि सारेर आफ्नै नाउँ, येशूलाई अघि सार्ने उहाँको उद्देश्य थिएन। अगमवाणी अनुसार, सत्य मसीही विश्वासबाट धर्मत्याग शुरू भए पछि मात्र त्यो ईश्वरीय नाउँलाई पछाडि धकेलियो अथार्त मसीही कुराकानीमा नआउने गरी मेटीनै दिइयो। (प्रेरित २०:२९, ३०) पिताको नाउँलाई छोपेर परमेश्वरको पुत्रको नाउँले प्राथमिकता पाउन थाले पछि, मसीही कहलाइनेहरूका लागि पिताको उपासना धेरै नै अनात्मिय हुने भयो अर्थात् त्यसमा एउटा पारिवारिक घनिष्ठताको अभाव महसूस गरिने भयो र यसकारण त्यो उपासना प्रोत्साहनपूर्ण हुने भएन।
८. यहोवाका साक्षीहरू कहलिने फैसला गर्नाले आजसम्म, परमेश्वरका मानिसहरूमाथि के कस्तो असर परेको छ?
८ तसर्थ, बाइबलका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले सन् १९३१ मा यहोवाका साक्षीहरूको नाउँ अपनाउँदा, वर्णन गर्नै न सकिने आनन्द अनुभव गरे। त्यो घटना, आनन्दमय मात्र न भएर, प्रोत्साहनजनक पनि थियो। यसको आधारमा, नया नाउँ पाएका यी बाइबलका विद्यार्थीहरूले एक अर्कालाई प्रोत्साहन दिन सक्ने भए।—यशैया ४३:१२ तुलना गर्नु होस्.
९. साँचो मसीहीहरू जसका साक्षीहरू हुन्, उहाँबारे तिनीहरूले के धारणा राख्दछन्?
९ फलःस्वरूप, अग्रिमवाणी अनुसार, आजका साँचो मसीहीहरू जसका साक्षीहरू हुन, उहाँकै परिचय दिन तिनीहरू उचित ठान्छन्, जसरी तिनीहरूका अगुवा येशूले उहाँ पृथ्वीमा हुनु हुँदा गर्नु भएको थियो। (प्रकाश १:१, २) हो, यहोवा नाउँ भएको उहाँ एक मात्र हुनु हुन्छ भनेर तिनीहरूले परिचय दिने गर्छन्।—भजनसंग्रह ८३:१८.
आनन्द र पवित्र आत्माले भरिपूर्ण
१०-१२. (क) येशूका चेलाहरूमाथि त्यो सकृय शक्तिले कस्तो असर पार्ने थियो? (ख) यहोवाको आनन्दले प्रेरित साक्षीहरूले एक अर्कासँग कस्तो व्यवहार गर्न चाहन्छन्?
१० येशू ख्रीष्टले, बिदा हुने बेलामा, आफ्ना चेलाहरूलाई भन्नु भयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ। र हेर, म सब दिन, अँ, जगतको अन्तसम्म तिमीहरूका साथमा छँदैछु।”—मत्ती २८:१९, २०.
११ यहाँ याद गर्नु होस्, भरखरै शिक्षा लिएका नया मसीहीहरूले पवित्र आत्माको नाउँमा बप्तिस्मा लिन आवश्यक थियो। यो पवित्र आत्मा एउटा व्यक्ति होइन तर यहोवा परमेश्वरको सकृय शक्ति हो जुन शक्ति उहाँले येशू ख्रीष्ट द्वारा प्रयोग गर्नु हुन्छ। पेन्तीकोसको दिनमा, यहोवा परमेश्वरले येशू द्वारा, यो सकृय शक्ति, येशू ख्रीष्टका समर्पित अनुयायीहरूमाथि खन्याउनु भयो। (प्रेरित २:३३) तिनीहरू सबै यो पवित्र आत्माले भरिपूर्ण भए र पवित्र आत्माका फलहरू मध्य एउटा फल आनन्द हो। (गलाती ५:२२, २३; एफिसी ५:१८-२०) आनन्द एउटा कृयाशील गुण हो। येशूका चेलाहरू पवित्र आत्माको आनन्दले भरिपूर्ण हुनु परेको छ। प्रेरित पावलले कथेको प्रार्थना अति नै उचित छ: “अब आशाका परमेश्वरले, तिमीहरूलाई पवित्र आत्माको शक्तिमा, आशाचाहिं प्रशस्त गरिदिनाको निम्ति विश्वासमा सारा रमाहट र शान्तिले तिमीहरूलाई भरिपूर गरिदिऊन्।”—रोमी १५:१३.
१२ आनन्द प्रेरित गराउने आत्माले भरिएर, “ठूलो भीड़का” समेत, यहोवाका साक्षीहरू आज यो अमित्रैलो संसारमा एक अर्कालाई प्रोत्साहन दिन चाहने छन्, हो, अगाड़ि बढ़नेछन्। यसैकारण, प्रेरित पावलले “प्रत्यकले आपसमा सान्त्वना [NW प्रोत्साहन]” पाउने कुरा गरे।—प्रकाश ७:९, १०; रोमी १:१२; १४:१७.
प्रोत्साहित हुने प्रशस्त कारण छ
१३. प्रोत्साहित हुन र एक अर्कालाई प्रोत्साहित पार्न हामीसँग के कारणहरू छन्?
१३ हर धार्मिक कुराको विरोध गर्ने व्यक्ति नै शासक र ईश्वर भएको यो रीतिरिवाजको माझमा बस्न परेका मसीहीहरूले, यहोवा परमेश्वरको पवित्र आत्मा व्याप्त भएको विश्व-व्यापी मसीही मण्डली भित्र, एक अर्कालाई प्रोत्साहन दिन चाहने छन्। (हिब्रू १०:२४, २५; प्रेरित २०:२८) प्रोत्साहित हुने हाम्रो प्रशस्त कारण छ। हो, यहोवा र उहाँका पुत्र र उहाँहरूले प्रयोग गर्नु हुने पवित्र आत्माबारे ज्ञान प्राप्त गर्न सकेकोमा हामी धेरै नै कृतज्ञ छौं! उहाँहरूले दिनु भएको आशाका लागि पनि हामी आभारी छौं! हाम्रो उपासना आनन्दले भरिएको छ। मसीहीहरूले एकअर्कालाई प्रोत्साहन दिएर आ-आफ्ना पवित्र विश्वासमा दह्रो बननु भनेर प्रेरित पावलले आफ्नो पत्र द्वारा मसीहीहरूलाई भने। तिनीहरूले लाक्षणिक रूपमा त्यो दिन नजीक आइ पुगेको देख्दा, यो काम ‘झन बढ़ता गरेर’ गर्नु परेको थियो। साथै, यस पृथ्वीका राजनीतिक शक्तिहरूले मसीही-जगत र बाँकी सबै झूटा धर्महरूको अस्तित्व मेटाइ दिने परिस्थितिमा हामीले एक अर्कालाई अझ बढ़ी प्रोत्सानहन दिने आवश्यकता पर्नेछ।
१४. कस कसले एक अर्कालाई प्रोत्साहन दिनु पर्ने र कसरी?
१४ प्राचीनहरूले आफ्ना व्यक्तिगत मण्डलीहरूमा भएका बगाललाई प्रोत्साहन दिने काममा अगुवाइ लिने गर्दा, सबै नै मसीहीहरूले, हिब्रू १०:२५ मा उल्लेखित उपदेश अनुसार, एक अर्कालाई प्रोत्साहन दिन आवश्यक छ। भनौं भने, यो एउटा मसीही आवश्यकता हो। तपाईं कुनै मण्डलीको सदस्य हुनुहुन्छ भने, के तपाईं यस प्रकारको प्रोत्साहन दिने गर्नु हुन्छ? तपाईं भन्नु होला, ‘मैले कसरी प्रोत्साहन दिन सक्छु र? म के गर्न सक्छु र?’ सर्वप्रथम, जसरी तपाईं आफै पनि अरूहरूलाई विश्वास साथ मण्डलीका सभाहरूमा आइ रहेको देख्नु भएर प्रोत्साहित हुनु हुन्छ, त्यसरी नै, सभाहरूमा तपाईंको उपस्थिति र मसीही काम कुरा प्रति तपाईंको समर्थनबाट के सबै भाइ बहिनीहरू प्रोत्साहित हुँदैनन् र? तिनीहरूले तपाईंको विश्वास र धैर्यबाट पनि प्रोत्साहन पाउन सक्छन्। जीवनका समस्याहरू र कठिनाइहरूका बावजुद, मसीही जीवनमा एकाग्रता साथ, हरेस न खाइकन तपाईं लागि रहनु भयो भने, तपाईं एउटा प्रेरणापूर्ण उदाहरण हुन सक्नु हुन्छ।
दियाबलबाट आउने निरूत्साहको प्रतिरोध गर्नु होस्
१५. दियाबल कस्को विरूद्धमा “क्रोधित” भएको छ र किन?
१५ यहोवाको दिन नजीक छ भनेर हामीलाई मात्र थाह छैन। दियाबल अर्थात् शैतानलाई पनि थाह छ। प्रकाश १२:१२ अनुसार आज पृथ्वीलाई धिक्कार छ, “किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” त्यसको क्रोध, प्रकाश १२:१७ मा सङ्केत् गरे अनुसार, “परमेश्वरको आज्ञा पालन गर्ने र येशूको साक्षी दिने” व्यक्तिहरूको विरूद्धमा दन्केको छ। निस्सन्देह—शैतान हामीलाई निरूत्साहित पार्न चाहन्छ! र त्यसका लागि कोशिश कसरी गर्नु पर्छ, त्यसलाई राम्रो सँग थाह छ। त्यसलाई हाम्रा कमजोरीहरू र समस्याहरू थाह छ र यिनीहरूसँग नै त्यसले खेल खेल्ने गर्दछ।
१६. शैतानले निरूत्साहलाई किन एउटा हतियारको रूपमा प्रयोग गर्दछ?
१६ दियाबलले निरूत्साहलाई एउटा हतियारको रूपमा किन प्रयोग गर्दछ? किनभने यो हतियार अकसर सफल हुन्छ। प्रत्यक्ष विरोध र सतावटको सामना गर्ने मानिस पनि निरूत्साहको शिकार हुन सक्दछ। शैतान, यहोवा परमेश्वरको निन्दा गर्न चाहन्छ र उहाँको सेवाबाट त्यसले सबै मानिसलाई भड़काउन सक्दछ भनेर प्रमाणित गर्ने प्रयत्न गर्छ। (हितोपदेश २७:११; अय्यूब २:४, ५; प्रकाश १२:१० तुलना गर्नु होस्) त्यसले तपाईंलाई निरूत्साहित पार्न सक्यो भने, ईश्वरको सेवा गर्नमा तपाईंलाई त्यसले सुस्त पारिदिन सक्छ; त्यसले यो सेवामा अघि बढ़न देखिन् तपाईंलाई रोक्न सक्छ; राज्यको सुसमाचार प्रचार गर्ने काममा तपाईंलाई निस्कृय नै तुल्याइ दिन सक्छ।—२ कोरिन्थी २:१०, ११; एफिसी ६:११; १ पत्रुस ५:८.
१७. मोशाको दिनमा निरूत्साहको नकारात्मक असर कसरी प्रदर्शित भयो?
१७ प्राचीन मिश्रमा इस्राएलीहरू सँग घटेको घटनामा, निरूत्साहको नकारात्मक परिणाम देख्न सक्छौं। फिरऊन सँग मोशाको कुराकानी भए पछि, त्यो तानाशाहले इस्राएलीहरूमाथिको बोझ र थिचोमिचो अझ बढ़ाइ दियो। इस्राएलीहरूलाई परमेश्वरले निश्चयनै छुटकारा दिलाउनु हुनेछ, तिनीहरूलाई उहाँले आफ्नै प्रजा बनाउनु हुनेछ र त्यहाँबाट स्वतन्त्र पार्नु भएर तिनीहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको देशमा अवश्य लैजानु हुनेछ भनेर भन्न परमेश्वरले मोशालाई अह्राउनु भयो। यी जम्मै कुरा मोशाले इस्राएलीहरूलाई भनी दिए। तर प्रस्थान ६:९ मा एसो भनिएको छ: “तर शारीरिक कष्ट, कठोर दासत्व र आत्माको व्याकुलताले गर्दा तिनीहरूले मोशाका कुरा सुनेनन्।” यहोवाले मोशालाई विश्वासमा फेरि दह्रो र प्रोत्साहित नपारूञ्जेलसम्म, यो घटनाले स्वयं मोशालाई नै निरूत्साहित पारि दियो र तिनी परमेश्वरबाट पाएको आज्ञाको पालन गर्दै फिरऊन सँग कुरा गर्न पनि राजी भएनन्।—प्रस्थान ६:१०-१३.
१८. दियाबलले उत्पन्न गर्न खोज्ने निरूत्साहसँग परमेश्वरका मानिसहरूले सङ्घर्ष गर्ने ठूलो आवश्यकता किन छ?
१८ परमेश्वरको सेवकमा निरूत्साह जस्तो कुराले के असर पार्न सक्दछ भनेर शैतानलाई राम्रो सँग थाह छ। हितोपदेश २४:१० मा भने झैं: “सुदिनमा तेरो बल घट्यो भनेदेखि, विपतको दिनमा तँ झन कति असहाय हुनेछस्।” हामी अन्तको समयको धेरै नै गहराइमा पुगि सकेका हुनाले, हामी आध्यात्मिक तौरमा बलियो र सामर्थी हुनु पर्दछ। हामीलाई अघि बढ़न नदिने, आफ्नै असिद्धताहरू, कमजोरीहरू र त्रुटीहरूसँग सङ्घर्ष गर्न यथेष्ट छ; तर अर्को तिर यी कमजोरीहरूको नाजायज फायदा शैतानले पनि उठाउन खोजेको हुनाकारण, हामीलाई मददको आवश्यकता पर्दछ।
ख्रीष्टको बलिदानमा दह्रो विश्वास राख्नुहोस्
१९. निरूत्साहलाई जित्ने मदद हामीलाई के ले दिन सक्दछ र किन?
१९ यस सम्बन्धमा, एउटा ठूलो मदद, यहोवाले येशू ख्रीष्ट द्वारा सम्भव पार्नु भएको छुटकाराको प्रबन्ध हो। यो छुटकारको बलिदानमा दह्रो विश्वास राखेर हामी विजयी हुन सक्नेछौं। यो प्रबन्धलाई कुनै रीतिले पनि तुच्छ ठान्नु खतरनाक हो। हो, हामी असिद्ध होउञ्जेल पाप गर्ने छौं र हामीबाट गल्तीहरू हुनेछन्। तर यसले गर्दा, केही आशा छैन भन्दै, हामी निरूत्साहित भएर हरेस खानु हुँदैन। यसो गर्यौं भने हामी शैतानको जालमा फँसने छौं। पापको लागि हाम्रो निम्ति एउटा पूर्ण बलिदान छ भनेर हामी जान्दछौं। छुटकाराको यो बलिदानले पापहरू हटाउन सक्दछ। हामीहरू “ठूलो भीड़का” हौं भने, थुमाको रगतमा हामीले आफ्नो वस्त्र धोएर सेतो पार्न सक्छौं भन्ने पूर्ण विश्वास र भरोसा राख्नु पर्दछ।—प्रकाश ७:९, १४.
२०. महान निरूत्साह उत्पन्न गराउने दियाबललाई जित्न सकिन्छ भनेर प्रकाश १२:११ मा कसरी सङ्केत गरिएको छ?
२० प्रकाश १२:१० मा शैतान हाम्रा भाइहरूलाई “दोष लगाउने . . . हाम्रा परमेश्वरका सामने दिनरात तिनीहरूलाई दोष” लगाउँने व्यक्ति कहलाइएको छ। यस प्रकारको दुष्टवादी र निरूत्साहित पार्ने राक्षसलाई हामी कसरी जित्न सक्नेछौं? यसै अध्यायको ११ वाँ पदले एसो भन्दछ: “औ थुमाको रगत, र तिनका वचनको साक्षीको कारण, र तिनीहरूले मृत्युसम्मै आफ्नो जीवनको पनि प्रेम नराखेको हुनाले तिनीहरूले त्यसलाई जितेका छन्।” यसैकारण, यहोवाका जनहरूले थुमाको रगत अर्थात छुटकारको बलिदानमा पूर्ण विश्वास राख्नु पर्छ। साक्षी दिने कामबाट र परमेश्वरको राज्यको सुसमाचार तपाईंले भ्याउने जत्ति सबैलाई सुनाएर प्राप्त हुने प्रोत्साहन सधैं बलियो पारेर राख्नु होस्।
२१. आफ्ना भाइहरूलाई निरूत्साहित पार्ने कार्यमा हामीहरू अजानमा कसरी दियाबलको सहभागी हुन सक्छौं?
२१ कुनै बेला, आफ्ना भाइहरूलाई निरूत्साहित पार्ने शैतानको काममा हामीले अजानमा भाग लिन सक्छौं। यो कसरी? तिनीहरूको बढ़तै आलोचना गरेर अथवा आफू बढ़ता धर्मी भएर या तिनीहरूबाट धेरै नै गाह्रो कुराहरूको माँग गरेर। (उपदेशक ७:१६) हामी सबैमा कमजोरीहरू र त्रुटीहरू हुन्छन्। ती कमजोरीहरूसँग हामी पनि दियाबल जस्तै भएर खेल्ने नगरौं। बरू, हामी आफ्ना भाइहरू र यहोवाका जनहरूको समूह बारे प्रोत्साहनजनक कुराहरू गरौं। हामीहरू एक अर्कालाई प्रोत्साहित पार्न चाहन्छौं। यसकारण, एक अर्कालाई निरूत्साहित न पार्नु होस्।
दिन नजीकै आएको हुनाले प्रोत्साहन दिने गर्नु
२२, २३. (क) प्रोत्साहनका स्रोतहरू प्राचीनहरू मात्र हुनु पर्छ भनी हामीले किन ठान्नु हुँदैन? (ख) मसीही मण्डलीको देखरेख गर्नेहरूलाई कसरी प्रोत्साहन दिन सकिन्छ?
२२ दिन नजीक आएको देख्दा, एक अर्कालाई प्रोत्साहन दिने दृढ़ फैसला हामीले गर्नु उचित हुनेछ। एक अर्कालाई आफ्नो विश्वासीलो उदाहरण र सान्त्वनायुक्त शब्दहरू द्वारा प्रोत्साहन दिने गर्नु होस्। यस मामलामा यहोवा र प्रभु येशू ख्रीष्टको उदाहरण अनुसरण गर्नुहोस्। प्रोत्साहनको स्रोत हुने काम मण्डलीका प्राचीनहरूको मात्र होइन। प्राचीनहरूलाई पनि प्रोत्साहनको खाँचो पर्दछ। ‘बगालका’ अरू सदस्यहरूमा जस्तै तिनीहरूमा पनि कमजोरीहरू र त्रुटीहरू हुन्छन् र तिनीहरूले पनि एउटा भ्रष्ट संसारमा आ-आफ्ना परिवारको पालन पोषण गर्ने समस्याहरूको सामना गर्नु पर्दछ। यी सबै कुरा बाहेक, मण्डलीहरूका लागि, पावलले चर्चा गरेको चिन्ता पनि तिनीहरूलाई लागिरहन्छ। (२ कोरिन्थी ११:२८, २९) तिनीहरूको काम गाह्रो छ—तिनीहरूलाई पनि प्रोत्साहनको खाँचो छ।
२३ मसीही मण्डलीको देखरेख गर्ने जिम्मेवारी भएकाहरूसँग सहयोग गर्नु भएर तपाईंले तिनीहरूलाई धेरै नै प्रोत्साहन दिन सक्नु हुनेछ। यसो गर्नु भयो भने, तपाईंले हिब्रू १३:१७ मा उल्लेखित यो उपदेश पालन गर्नु भएको हुनेछ: “तिमीहरूका [बीचमा अगुवाइ लिनेहरूका NW] आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्ने जस्तैगरी, तिमीहरूका प्राणको तिनीहरूले हेरचाह गर्छन्, यो तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन, किनकि त्यसबाट तिमीहरूलाई लाभ हुँदैन।”
२४. यो निरूत्साहको दिनमा, हामी के गरिरहेको हुनु पर्छ र किन?
२४ हामी एउटा निरूत्साहित दिनमा बाँचेका छौं। येशूले भन्नु भए बमोजिम मानिसहरू पृथ्वीमा हुन आउने कुराहरू र डरले मूर्च्छा परेकाछन्। (लूका २१:२५, २६) निरूत्साहित पार्ने र मनलाई खिन्न बनाउन खोज्ने धेरै समस्याहरू भएको हुनाकारण, “दिन नजीक, नजीक आईपुगेको . . . देखेकै हुनाले एउटाले अर्कोलाई झन बढ़ता गरेर “[प्रोत्साहन NW]” दिने गर्नुहोस्। १ थिस्सलोनिकी ५:११ मा उल्लेखित पावलले दिएका यी असल सल्लाह प्रयोगमा ल्याउने गर्नुहोस्: “एउटाले अर्कोलाई सान्त्वना देऊ, र एउटाले अर्कोलाई सुधार गर, जस्तो तिमीहरू गर्दै पनि छौ।” (w90 12/15)
तपाईं कसरी उत्तर दिनु हुनेछ?
◻ मसीहीहरूले पहिले भन्दा बढ़ता, एक अर्कालाई प्रोत्साहन दिन किन उचति हो?
◻ ईश्वरको नाउँको ज्ञान यहोवाका मानिसहरूका लागि कसरी प्रोत्साहनजनक भएको छ?
◻ हामीहरूले व्यक्तिगत रूपमा एक अर्कालाई कसरी प्रोत्साहन दिन सक्छौं?
◻ हाम्रा भाइहरूलाई निरूत्साहित पार्ने कार्यमा हामीहरू किन दियाबलको सहभागी हुनु भएन?
[पृष्ठ १७-मा भएको चित्र]
प्राचीनहरूले आफ्नो मण्डलीमा भएको बगाललाई प्रोत्साहन दिने काममा अगुवाइ गर्छन्