तपाईंको बानी कस्तो छ?
१ यहोवालाई हामीले चढाउने उपासनाको अत्यावश्यक भाग मसीही सभाहरू हुन्। प्रेरित पावलले “कसै कसैको बानी भएझैं,” हामीचाहिं एक ठाउँमा भेला हुन नछोडौं भनी उपयुक्त आग्रह गरे।—हिब्रू १०:२५.
२ मसीही सभाहरूमा भाइबहिनीसित गर्ने संगतिबारे के तपाईंको पनि त्यस्तै भावना छ? यस सन्दर्भमा तपाईंको बानी कस्तो छ? के तपाईं मण्डली पुस्तक अध्ययनलगायत सबै सभाहरू नियमित रूपमा धाउनु हुन्छ? अथवा कतै तपाईंको सभाहरू छुटाउने बानी पो छ कि? सभाहरूले तपाईंको जीवनमा कस्तो स्थान लिएको छ? के तपाईं अरूलाई नियमित रूपमा सभाहरूमा उपस्थित हुन प्रोत्साहित गर्नुहुन्छ? के तपाईंले स्मरणार्थ उत्सवमा उपस्थित हुनेहरू सबैलाई नियमित रूपमा सभाहरूमा उपस्थित हुन प्रोत्साहन दिइरहनुभएको छ?
३ आफ्नो दैनिक तालिका जस्तोसुकै भए तापनि हामी पावलको सल्लाह कदापि नकार्न सक्दैनौं। हो, शारीरिक अस्वस्थता वा आफ्नो नियन्त्रण बाहिरका कुराहरूले गर्दा मसीहीहरूले कहिलेकाहीं सभाहरू छुटाउनसक्छन् तर यसो गर्ने हाम्रो बानी हुनुहुँदैन। (रोमी २:२१) हाम्रा धेरै दायित्वहरू छन् जसमा ईश्वरतान्त्रिक गतिविधिहरू पनि पर्छन्। तापनि, मसीहीहरूले बढी महत्त्वपूर्ण कुराहरूलाई पक्का गर्नु आवश्यक छ। (फिलि. १:१०) सभाहरू मसीहीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो र हाम्रो आध्यात्मिक सुस्वास्थ्यको लागि यो एकदमै आवश्यक छ।
एक अर्कालाई प्रोत्साहन दिनुहोस्
४ रोमीहरूलाई पत्र लेख्दा प्रेरित पावलले तिनीहरूलाई भेट्न अति इच्छुक भएको कुरा लेखे। किन? किनकि उनी, तिनीहरू “स्थिर” रहून् भनेर केही आध्यात्मिक वरदानहरू दिन चाहन्थे। (रोमी १:११) उनले संगतिलाई महत्त्वपूर्ण र आवश्यक ठाने, किनकि उनले अझै यसो भने: “हामी दुवैले एउटा अर्काबाट प्रोत्साहन पाउन सकौं।” (रोमी १:१२, नयाँ संशोधित संस्करण) पावल, प्रेरित भएको कारण तिनले पनि मसीही संगतिद्वारा पाइने प्रोत्साहनको आवश्यकता बुझेका थिए।
५ त्यसरी नै हाम्रा सभाहरूमा हामीले एक अर्कालाई प्रेम र सुकर्ममा उत्तेजित गर्नुपर्छ। मित्रैलो मुस्कान अनि न्यानो स्वागतले अरूलाई सकारात्मक प्रभाव पार्नसक्छ। प्रोत्साहनजनक टिप्पणी, राम्ररी तयार गरिएको कार्यक्रम, अरूको आध्यात्मिक उन्नति देख्न पाउनु र भाइबहिनीहरूबीच रहन पाउनु मात्रै पनि ठूलो प्रोत्साहनको कुरा हुनसक्छ। दिनको अन्तमा हामी थकित भए तापनि सभामा उपस्थित भए पछि हामी अक्सर स्फूर्ति महसुस गर्छौं। हाम्रा भाइहरूले हामीप्रति देखाएको मसीही मित्रता र प्रेमले हामीलाई “हाम्रा सामनेमा राखिदिएको दौड धीरजसँग” दौडन प्रोत्साहित गर्छ। (हिब्रू १२:१) परमेश्वरको वचन ध्यान दिएर सुन्दा, हामी स्थिर भई आफ्नो आशाबारे जनसमक्ष घोषणा गर्न तयार हुन सक्छौं। हो, सभाहरूमा उपस्थित हुँदा धेरै आशिष्हरू पाइन्छ।
६ विश्वासलाई थामिराख्ने अनि एकले अर्कालाई सुकर्ममा उत्तेजित गर्नै पर्ने अहिले जति आवश्यक पहिले कहिल्यै परेको छैन। हामी एक ठाउँमा भेला नहुने बानी बसाल्न चाहदैनौं। स्मरणार्थ उत्सवमा उपस्थित हुनेहरूलगायत अरू सबैलाई नियमित रूपमा सभामा उपस्थित हुन प्रोत्साहित गर्न हामी सबैले इमान्दारीपूर्वक प्रयास गर्नुपर्छ। यसरी हामीले अरूलाई प्रेम गरिरहेका हुन्छौं र मसीही सभाहरूप्रतिको मूल्यांकन देखाइरहेका हुन्छौं।