अध्याय १७
‘तिमीहरूचाहिं आफ्नो अति पवित्र विश्वासलाई बलियो बनाओ’
“तिमीहरूचाहिं आफ्नो अति पवित्र विश्वासलाई बलियो बनाएर . . . आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख।”—यहूदा २०, २१.
१, २. तपाईं कस्तो काममा लागिरहनुभएको छ? यसमा तपाईंले गुणस्तरीय काम गर्दा र नगर्दा के फरक पर्छ?
तपाईं एकदमै मेहनत गरेर घर बनाउँदै हुनुहुन्छ। केही अघिदेखि यो काम जारी छ र पछिसम्म पनि लगातार काम भइरहन्छ। यो काम सजिलो छैन, तर तपाईं जे-जसरी गरिरहनुभएको छ त्यसमा सन्तुष्ट हुनुहुन्छ। जस्तोसुकै समस्या आए तापनि यो काम बीचमा छोड्न चाहनुहुन्न वा अल्छी नगरी राम्ररी गर्न तपाईं दृढ हुनुहुन्छ किनभने उक्त कामको गुणस्तरले तपाईंको जीवनलाई असर गर्छ, भविष्यलाई समेत। किन होला? किनभने तपाईंले बनाउँदै गरेको घर वास्तविक घर होइन, बरु तपाईं आफै हुनुहुन्छ!
२ चेला यहूदाले हामीले आफूलाई निर्माण गर्ने अर्थात् आफैले आफैलाई बलियो बनाउने कुरालाई जोड दिए। “आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख” भनेर यहूदाले ख्रीष्टियनहरूलाई आग्रह गर्दा हामी कसरी त्यसो गरिरहन सक्छौं, त्यसको मुख्य कुरा पनि तिनले त्यही पदमा बताए। त्यो हो: “आफ्नो अति पवित्र विश्वासलाई बलियो बनाएर।”a (यहूदा २०, २१) आफैलाई बलियो बनाउन सक्ने तरिकाहरू के-के हुन्, जसले परमेश्वरको प्रेम पाउन लायक भइरहन आफ्नो विश्वास बलियो बनाउन तपाईंलाई मदत गर्छ? आफ्नो अति पवित्र विश्वासलाई बलियो बनाउने तीन पक्षलाई अब विचार गरौं।
यहोवाका मागहरू उचित छन् भनेर विश्वास बलियो बनाइरहनुहोस्
३-५. (क) यहोवाका मागहरू कस्ता छन् भनेर सैतान तपाईंलाई छक्याउन चाहन्छ? (ख) परमेश्वरका मागहरूप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ? यसले हाम्रो भावनालाई कस्तो असर पार्नुपर्छ? उदाहरण दिनुहोस्।
३ सबैभन्दा पहिलो पक्ष: हामीले परमेश्वरको नियमप्रति आफ्नो विश्वास बलियो बनाउनै पर्छ। यो किताब पढ्दै जाँदा आचरणसम्बन्धी परमेश्वरका थुप्रै उचित मागहरूबारे तपाईंले विचार गर्नुभयो। यस्ता मागहरूबारे तपाईंको दृष्टिकोण कस्तो छ? यहोवाका नियमहरू, सिद्धान्तहरू र स्तरहरू बन्देजपूर्ण छन्, यहाँसम्म कि अत्याचारपूर्ण छन् भनेर समेत सैतान तपाईंलाई छक्याउन चाहन्छ। सैतानले अदनको बगैंचामा पनि यस्तै चाल चलेको थियो र त्यसमा ऊ सफल भएको थियो। त्यतिबेलादेखि सैतानले यो चाल चल्दै आएको छ। (उत्पत्ति ३:१-६) के यो चालले तपाईंमाथि पनि काम गर्छ? यसको जवाफ धेरै हदसम्म तपाईंको दृष्टिकोणमा भर पर्छ।
४ कल्पना गर्नुहोस्, तपाईं कुनै सुन्दर पार्कमा डुलिरहनुभएको छ। पार्कको एक भागमा निकै अग्लो र बलियो बार लगाइएको तपाईंले देख्नुभयो। बारभित्रको सुन्दर दृश्यले मनै लोभ्याइरहेको छ। सुरुमा त तपाईंलाई लाग्छ, त्यो बारले त्यहाँ जान रोकिरहेको छ। जब तपाईं त्यतातिर हेर्नुहुन्छ तब एउटा डरलाग्दो सिंह सिकार पाउन ढुकिरहेको देख्नुहुन्छ। अब भने तपाईंले बुझ्नुभयो होला त्यो बार किन लगाइएको भनेर। हो, सुरक्षाको लागि। के तपाईंलाई पनि अहिले डरलाग्दो जनावरले ढुकिरहेको छ? परमेश्वरको वचनले यस्तो चेतावनी दिएको छ: “सचेत रहो, जागा बस। तिमीहरूको शत्रु दियाबल कसलाई निलूँ भनेर गर्जने सिंहझैं घुमेर हिंड्छ।”—१ पत्रुस ५:८.
५ सैतान डरलाग्दो सिकारी हो। हामी सैतानको सिकार नहोस् भन्ने यहोवाको चाहना छ। त्यसैले यहोवाले त्यस दुष्टका थुप्रै “दाउपेचहरू”-बाट जोगाउन नियमहरू दिनुभएको छ। (एफिसी ६:११) त्यसकारण जब हामी परमेश्वरले दिएका नियमहरू मनन गर्छौं तब त्यसमा स्वर्गका हाम्रा बुबाको माया कत्ति छ भनेर महसुस गर्नुपर्छ। परमेश्वरका नियमहरूप्रति त्यस्तो दृष्टिकोण राख्दा त्यसबाट हामी सुरक्षा र आनन्द पाउँछौं। चेला याकूबले लेखे: “जसले स्वतन्त्रता दिने पूर्ण व्यवस्थामा ध्यान दिएर हेर्छ र त्यसमा लागिरहन्छ, त्यो मानिस आनन्दित हुनेछ।”—याकूब १:२५.
६. परमेश्वरका उचित नियम तथा सिद्धान्तप्रति विश्वास बलियो बनाउने सर्वोत्तम तरिका के हो? उदाहरण दिनुहोस्।
६ नियम दिने परमेश्वरप्रति अनि उहाँले दिएको नियममा लुकेको बुद्धिप्रति विश्वास बलियो बनाउने सर्वोत्तम तरिका उहाँको आज्ञाअनुसार जिउनु हो। उदाहरणको लागि “ख्रीष्टको व्यवस्था”-अन्तर्गत ‘उहाँले आज्ञा गरेका सबै कुरा’ अरूलाई सिकाउनू भन्ने आज्ञा पनि पर्छ। (गलाती ६:२; मत्ती २८:१९, २०) उपासनाको लागि अनि उत्थानदायी सङ्गतीको लागि एक ठाउँमा भेला हुनू भन्ने आज्ञालाई पनि ख्रीष्टियनहरू गम्भीरतापूर्वक लिन्छन्। (हिब्रू १०:२४, २५) परमेश्वरले दिएको आज्ञामा उहाँलाई नियमित रूपमा, बारम्बार अनि मनदेखि प्रार्थना गर्नू भन्ने सल्लाह पनि पर्छ। (मत्ती ६:५-८; १ थिस्सलोनिकी ५:१७) यस्ता आज्ञाअनुसार जीवन बितायौं भने ती साँच्चै नै मायालु डोऱ्याइ हुन् भनेर हामीले स्पष्टै बुझ्नेछौं। त्यति मात्र होइन ती आज्ञाहरू पालन गर्दा हामीले एक प्रकारको आनन्द अनि सन्तुष्टि पाउनेछौं, जुन हामी यो समस्याग्रस्त संसारमा कहिल्यै पाउन सक्दैनौं। परमेश्वरका नियमअनुसार जिउनुमा कत्ति फाइदा छ भनेर तपाईं आफैले अनुभव गर्नुभएको छ। यस कुरामा मनन गर्दा के तपाईंको विश्वास अझै बलियो हुँदैन र?
७, ८. समय बित्दै गएपछि यहोवाको नियमअनुसार गरिरहन सकिंदैन कि भनेर चिन्ता गर्नेहरूलाई परमेश्वरको वचनले कस्तो आश्वासन दिएको छ?
७ समय बित्दै गएपछि यहोवाको नियमअनुसार गरिरहन सकिंदैन कि भनेर कहिलेकाहीं कोही-कोही चिन्तित हुन्छन्। असफल होइएला कि भनेर तिनीहरू डराउँछन्। यदि तपाईं पनि त्यस्तै महसुस गर्नुहुन्छ भने यी शब्दहरू मनमा राख्नुहोस्: “म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्याउँछ। यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुने थियो!” (यशैया ४८:१७, १८) यी शब्दहरू कत्ति आश्वासनदायी छन् भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ?
८ यहोवाको आज्ञा पालन गऱ्यौं भने हाम्रै फाइदा हुन्छ भनेर उहाँले यहाँ याद दिलाइराख्नुभएको छ। उहाँको आज्ञा पालन गर्दा हामी दुइटा फाइदा पाउँछौं। पहिलो हो: हाम्रो शान्ति नदीझैं हुनेछ, मतलब नदीजस्तै शान्त, प्रशस्त र अविरल। दोस्रो हो: हाम्रो धार्मिकता समुद्रका छालहरूझैं हुनेछ। समुद्र किनारमा उभिएर हेर्नुभयो भने त्यहाँ एकपछि अर्को छाल उठेको देख्नुहुन्छ। वर्षौंदेखि यसरी नै समुद्रका छालहरू किनारामा ठोक्किइरहेका छन् भनेर तपाईंलाई थाह छ। यसले तपाईंलाई अनन्तताको आभास दिन्छ। तपाईंको धार्मिकता याने तपाईंले गर्ने उचित काम पनि छालहरूजस्तै अनन्तसम्म रहनेछ। जबसम्म तपाईं यहोवाप्रति विश्वासी रहने प्रयास गर्नुहुन्छ तबसम्म उहाँले तपाईंलाई असफल हुन दिनुहुनेछैन। (भजन ५५:२२) यस्तो हृदयस्पर्शी प्रतिज्ञाले यहोवा अनि उहाँका उचित मागप्रति तपाईंको विश्वासलाई बलियो बनाउँदैन र?
“परिपक्वतातर्फ अघि बढौं”
९, १०. (क) परिपक्वता ख्रीष्टियनहरूको लागि उत्कृष्ट लक्ष्य हो, किन? (ख) परमेश्वरको दृष्टिकोणअनुसार चल्दा किन आनन्दित हुन सकिन्छ?
९ आफ्नो अति पवित्र विश्वासलाई बलियो बनाउने दोस्रो पक्ष यी प्रेरित शब्दहरूमा बताइएको छ: “अब हामी परिपक्वतातर्फ अघि बढौं।” (हिब्रू ६:१) परिपक्वता ख्रीष्टियनहरूको लागि उत्कृष्ट लक्ष्य हो। त्रुटिरहित हुनु अहिले सम्भव छैन तर परिपक्व हुन भने नसकिने होइन। त्यसबाहेक परिपक्व भएर यहोवाको सेवा गर्दा ख्रीष्टियनहरू झनै आनन्दित हुन्छन्। किन त्यसो भन्न सकिन्छ?
१० परिपक्व ख्रीष्टियन भनेको परमेश्वरसित राम्रो सम्बन्ध भएको व्यक्ति हो। परिपक्व ख्रीष्टियनले सबै कुरालाई यहोवाकै दृष्टिकोणले हेर्ने गर्छन्। (यूहन्ना ४:२३) पावलले लेखे: “जो शारीरिक इच्छाअनुसार चल्छन्, तिनीहरूले शारीरिक इच्छाहरूमै मन लगाउँछन् तर जो पवित्र शक्तिको डोऱ्याइबमोजिम चल्छन्, तिनीहरूले परमेश्वरका कुराहरूमा मन लगाउँछन्।” (रोमी ८:५) शारीरिक इच्छाअनुसार चल्दा आनन्द पाइँदैन किनभने त्यो आत्म-केन्द्रित हुन्छ, दूरदर्शी हुँदैन र भौतिक कुराहरूमै केन्द्रित हुन्छ। परमेश्वरको दृष्टिकोणअनुसार चल्दा त्यसले आनन्द दिन्छ किनभने त्यो “आनन्दित परमेश्वर” यहोवामा केन्द्रित हुन्छ। (१ तिमोथी १:११) परमेश्वरसित राम्रो सम्बन्ध भएको व्यक्तिले कसरी यहोवालाई खुसी पारूँ भनेर खोजिरहन्छ र गाह्रो अवस्थामा पनि आनन्दित हुन्छ। किन? किनभने गाह्रो अवस्था आउँदा हामीले सैतान झूटा हो भनेर प्रमाणित गर्ने मौका पाउँछौं र आफ्नो सत्यनिष्ठा अझै बलियो बनाउन सक्छौं। यसो गर्दा स्वर्गका हाम्रा बुबा खुसी हुनुहुनेछ।—हितोपदेश २७:११; याकूब १:२, ३.
११, १२. (क) ख्रीष्टियनको “सोच्ने-बुझ्ने क्षमता”-बारे पावलले के भने? (ख) ‘तालिम दिएको’ भनी अनुवाद गरिएको शब्दको अर्थ के हो? (ग) परिपक्व हुनको लागि अनि शारीरिक रूपमा निपुण हुनको लागि कस्तो तालिम नभई हुँदैन?
११ परमेश्वरसित राम्रो सम्बन्ध गाँस्न र परिपक्व हुन तालिमबिना सम्भव छैन। यो पद विचार गर्नुहोस्: “खँदिलो खानेकुराचाहिं परिपक्व मानिसहरूको निम्ति हो, जसले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्।” (हिब्रू ५:१४) हाम्रो सोच्ने-बुझ्ने क्षमतालाई ‘तालिम दिएको’ कुरा गर्दा पावलले ग्रीक शब्द प्रयोग गरिरहेका थिए। यो शब्द प्रथम शताब्दीतिर ग्रीसको कसरत गर्ने ठाउँमा धेरै प्रयोग गरिएको हुनुपर्छ। यो शब्दलाई ‘जिम्नास्टिक गर्नेले जस्तै तालिम पाएका’ भनेर पनि अनुवाद गर्न सकिन्छ। यस्तो तालिममा के-के समावेश छ, विचार गर्नुहोस्।
१२ हाम्रो शरीरका अङ्गहरूले जन्मनेबित्तिकै तालिम पाएका हुँदैनन्। उदाहरणको लागि भर्खर जन्मेको बच्चाले हात गोडा कसरी चलाउँदैछु भनेर थाह पाउन सक्दैन। त्यसकारण बच्चाले आफ्नो हात गोडा जताततै फाल्छ, कहिलेकाहीं त आफ्नै अनुहारमा लाग्न पुग्छ र आफै छक्क पर्छ अनि रुन्छ। यसरी अङ्गहरू बिस्तारै चलाउँदै गएर बच्चाको शरीरले तालिम पाउँछ। त्यसपछि बच्चा बामे सर्न थाल्छ, टुकुटुकु हिंड्न थाल्छ र कुद्न थाल्छ। b जिम्नास्टिक गर्नेहरूले चाहिं के गर्छन् त? यस्ता खेलाडी आफ्ना अङ्गहरूलाई टक्कटक्क मिलाएर हावामा खेल्छन्। यसको लागि तिनीहरूले आफ्नो शरीरका अङ्गहरूलाई लामो समयदेखि तालिम दिंदै आएका थिए भन्ने कुरामा तपाईंलाई कुनै शङ्का लाग्दैन होला। जिम्नास्टिक गर्नेहरू आफ-से-आफ निपुण हुने होइनन्, यसको लागि घण्टौं तालिम गर्नु आवश्यक छ। यस्तो शारीरिक तालिमबाट “केही फाइदा त हुन्छ” भनेर बाइबलले मानिलिन्छ। त्यसो भए परमेश्वरसित राम्रो सम्बन्ध राख्नको लागि हामीले आफ्नो सोच्ने-बुझ्ने क्षमतालाई तालिम दिनु झन् कत्ति महत्त्वपूर्ण छ!—१ तिमोथी ४:८
१३. आफ्नो सोच्ने-बुझ्ने क्षमतालाई हामी कसरी तालिम दिन सक्छौं?
१३ हाम्रो सोच्ने-बुझ्ने क्षमतालाई तालिम दिन मदत गर्ने थुप्रै विषय यस किताबमा हामीले छलफल गरिसक्यौं। यसले गर्दा तपाईं परमेश्वरसित राम्रो सम्बन्ध राख्ने विश्वासी व्यक्तिको रूपमा रहिरहन सक्नुहुन्छ। जीवनमा दिनहुँ निर्णयहरू गर्दा परमेश्वरका सिद्धान्त अनि नियमलाई प्रार्थनापूर्वक विचार गर्नुहोस्। प्रत्येक चोटि निर्णय गर्दा आफैलाई यस्तो प्रश्न सोध्नुहोस्: ‘यस विषयमा बाइबलका के-कस्ता नियम वा सिद्धान्त लागू हुन्छन्? त्यसलाई म कसरी लागू गर्न सक्छु? मैले कस्तो कदम चाल्दा स्वर्गमा बस्ने बुबा खुसी हुनुहुनेछ?’ (हितोपदेश ३:५, ६; याकूब १:५) हरेक निर्णय गर्दा बाइबलका सिद्धान्त वा नियम विचार गर्नुभयो भने तपाईंले आफ्नो सोच्ने-बुझ्ने क्षमतालाई झनै तालिम दिइरहेको हुनेछ। यस्तो तालिमले तपाईंलाई साँच्चै नै परमेश्वरसित राम्रो सम्बन्ध भएको मानिस बन्न र बनिरहन मदत गर्नेछ।
१४. (क) परमेश्वरसितको सम्बन्धलाई राम्रो बनाउँदै लैजान हामीले कस्तो भोक जगाउनै पर्छ? (ख) हामी कस्तो कुरामा होसियार हुनै पर्छ?
१४ हो, परिपक्वता कुनै समयमा हासिल हुन्छ तर आध्यात्मिक रूपमा बढ्दै जाने कामको कहिल्यै अन्त हुँदैन। शरीरको वृद्धि खानामा निर्भर गर्छ। त्यसैले पावलले यस्तो लेखे: “खँदिलो खानेकुराचाहिं परिपक्व मानिसहरूको निम्ति हो।” विश्वास बलियो बनाउने एउटा तरिका परमेश्वरसित राम्रो सम्बन्ध राख्न मदत गर्ने खँदिलो खानेकुरा खाइरहनु हो। आफूले सिकेको कुरालाई उचित तरिकामा लागू गर्नुभयो भने तपाईंले बुद्धि देखाइरहनुभएको हुनेछ। बाइबल यसो भन्छ: “बुद्धि अति श्रेष्ठ हो।” त्यसैले हामीले हाम्रा बुबाले दिने अनमोल सत्यप्रति साँच्चैको भोक जगाउनै पर्छ। (हितोपदेश ४:५-७, NRV; १ पत्रुस २:२) ज्ञान र ईश्वरीय बुद्धि प्राप्त गर्दैमा घमन्डी हुने कुरा आउँदैन। हाम्रो मनमा घमन्ड वा कुनै किसिमको कमजोरीले जरा नगाडोस् वा त्यो नमौलाओस् भनेर हामीले नियमित रूपमा आफूलाई जाँच्नै पर्छ। पावलले लेखे: “तिमीहरू विश्वासमा छौ कि छैनौ भनी जाँचिरहो, तिमीहरू कस्ता मानिसहरू हौ साबित गरिरहो।”—२ कोरिन्थी १३:५.
१५. परमेश्वरसितको राम्रो सम्बन्ध बढाउँदै लैजान किन प्रेम नभई हुँदैन?
१५ घर बनाउने काम त सकिएला तर त्यसलाई राम्रो अवस्थामा राखिरहने काम चाहिं चलिरहन्छ। जस्तै: रेखदेख गर्ने, मर्मत-सम्भार गर्ने काम गरिरहनुपर्छ। साथै आवश्यकताअनुसार कोठा थप्ने काम पछिसम्म पनि गर्नुपर्ने हुन सक्छ। परिपक्व हुन वा परमेश्वरसित राम्रो सम्बन्ध कायम राखिरहन हामीलाई के चाहिन्छ? सबैभन्दा ठूलो कुरा प्रेम चाहिन्छ। हामीले यहोवा र सँगी विश्वासीहरूप्रतिको प्रेमलाई बढाउँदै लानु अति आवश्यक छ। यदि हामीमा प्रेम छैन भने हाम्रो सबै ज्ञान र काम अर्थ न बर्थको हुनेछ—हावामा मुक्का हानेझैं। (१ कोरिन्थी १३:१-३) प्रेमले गर्दा नै हामी ख्रीष्टियनको रूपमा परिपक्व हुन सक्नेछौं र यहोवासितको राम्रो सम्बन्ध बढाउँदै लैजान सक्नेछौं।
यहोवाले दिने आशामा आफ्नो ध्यान केन्द्रित गरिरहनुहोस्
१६. (क) सैतानले कस्तो सोचाइ राख्न लगाउँछ? (ख) यहोवाले कस्तो सुरक्षाको प्रबन्ध गरिदिनुभएको छ?
१६ आउनुहोस् अब हामी आफ्नो अति पवित्र विश्वासलाई बलियो बनाउने अर्को पक्षलाई ध्यान देऔं। यदि आफूलाई ख्रीष्टको साँचो अनुयायीको रूपमा बलियो बनाउने हो भने कसरी सोच्नुहुन्छ त्यसप्रति तपाईं होसियार हुनै पर्छ। यस संसारको शासक सैतान मानिसहरूको दिमागमा नकारात्मक विचारहरू थोपरिदिन, तिनीहरूलाई निराश बनाउन, अरूमाथि शङ्का गराउन अनि आशाविहीन बनाउन खप्पिस छ। (एफिसी २:२) यस्तो सोचाइ ख्रीष्टियनहरूका लागि खतरापूर्ण हुन्छ। यो काठको घरमा कीरा लागेजस्तै हो। तर खुसीको कुरा यहोवाले हामीलाई सुरक्षित राख्नको लागि आवश्यक कुराको प्रबन्ध गरिदिनुभएको छ। त्यो हो—आशा।
१७. आशा एकदमै महत्त्वपूर्ण छ भनेर बाइबलले कसरी उदाहरणसहित बताएको छ?
१७ सैतान र यस संसारसँग लड्न परमेश्वरले के-कस्ता हातहतियार दिनुभएको छ भनेर बाइबलले बताएको छ। त्यसमध्ये एउटा महत्त्वपूर्ण हतियार हो—टोप, जुन “उद्धारको आशा” हो। (१ थिस्सलोनिकी ५:८) टोप लगाएन भने लडाइँमा बच्न सकिंदैन भनेर बाइबलकालीन सिपाहीलाई थाह थियो। उक्त टोप साधारणतया धातुबाट बनाइएको हुन्थ्यो, यसलाई ऊन वा छालाको टोपीमाथि लगाइन्थ्यो जसले गर्दा शत्रुको प्रहारले उसको टाउकोमा धेरै असर पर्दैन थियो। टोपले टाउकोलाई जोगाएजस्तै आशाले तपाईंको दिमाग र सोचाइलाई जोगाउँछ।
१८, १९. (क) आशालाई कायम राख्ने सन्दर्भमा येशूले कस्तो उदाहरण बसाल्नुभयो? (ख) हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं?
१८ आशालाई कायम राख्ने सन्दर्भमा येशूले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। पृथ्वीमा अन्तिम रात बिताउँदा उहाँले कस्तो अवस्था भोग्नुपऱ्यो याद गर्नुहोस् त! आफ्नै घनिष्ठ साथीले पैसाको लोभमा उहाँलाई धोका दियो। अर्को साथीले चाहिं उहाँलाई चिनेको छैनसमेत भन्यो। अरू साथीहरूले भने उहाँलाई छोडेर भागे। आफ्नै देशबासीहरूसमेत उहाँविरुद्ध उठे र उहाँलाई रोमी सिपाहीहरूले शासना दिएर मारून् भनी माग गरे। हामीले कहिल्यै भोग्नु नपर्ने कठोर परीक्षाहरू उहाँले भोग्नुभयो भन्ने कुरामा कुनै शङ्का छैन। तर उहाँलाई सहन त्यतिबेला केले मदत गऱ्यो? यसको जवाफ हिब्रू १२:२ ले यसरी दिएको छ: “उहाँले आफ्नो अगाडि राखिएको आनन्दका लागि बेइज्जतीको समेत वास्ता नगरेर यातनाको खम्बामा मृत्यु सहनुभयो र उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” येशूले “आफ्नो अगाडि राखिएको आनन्द”-लाई आँखाबाट ओझेल हुन कहिल्यै दिनुभएन।
१९ येशूको अगाडि कस्तो आनन्द राखिएको थियो? आफूले परीक्षाहरू सहेर यहोवाको पवित्र नाममा लागेको कलङ्क मेटाउने काम गरिरहेको कुरा उहाँलाई थाह थियो। सैतान झूटा हो भनेर उहाँले सबैभन्दा ठूलो प्रमाण पेस गर्नुहुने थियो। यो आशाले उहाँलाई जति आनन्द दिएको थियो त्यो अरू कुन आशाले दिन सक्थ्यो र! आफूले विश्वासी जीवन बिताएकोमा यहोवाले ठूलो इनाम दिनुहुनेछ भनेर पनि उहाँलाई थाह थियो। मतलब येशूलाई एउटा रोमाञ्चक समयले पर्खिरहेको थियो—आफ्नो बुबासित एक हुने समय। आफूले कठिन अवस्था भोग्नुपर्दा येशूले यो आनन्ददायी आशालाई सम्झिरहनुभयो। हामीले पनि यसो गर्नै पर्छ। हामीसामु पनि आशा राखिएको छ। यहोवाको महान् नाम पवित्र पार्ने सुअवसर दिएर उहाँले हामी प्रत्येकलाई सम्मान दिनुभएको छ। यहोवा सर्वोच्च शासक हुनुहुन्छ भनेर मानिलिंदै उहाँको पक्ष लिंदा र जस्तोसुकै परीक्षा तथा प्रलोभन आइपरे तापनि आफूलाई यहोवाको प्रेममा सुरक्षित राख्दा हामी सैतानलाई झूटो साबित गर्न सक्छौं।
२०. आफ्नो सोचाइ सकारात्मक अनि आशावादी बनाइहन तपाईंलाई कुन कुराले मदत गर्न सक्छ?
२० यहोवा आफ्ना विश्वासी जनहरूलाई इनाम दिन इच्छुक मात्र होइन, उत्सुक पनि हुनुहुन्छ। (यशैया ३०:१८; मलाकी ३:१०) यदि कुनै सेवकले उहाँको इच्छाअनुरूपै मनदेखि केही कुरा माग्छ भने उहाँ खुसीसाथ दिनुहुन्छ। (भजन ३७:४) त्यसैले आफ्नो अगाडि भएको आशामा दृढ भई ध्यान दिइरहनुहोस्। सैतानको यो थोत्रो संसारमा व्याप्त नकारात्मक, नीच अनि टेढो विचारको सिकार नहुनुहोस्। यदि यो संसारको मनोवृत्तिले तपाईंको मन-मस्तिष्कलाई विस्तारै असर गरेको चाल पाउनुभयो भने “शान्ति”-को लागि यहोवालाई व्यग्रतासाथ प्रार्थना गर्नुहोस्, जुन शान्ति “सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ।” परमेश्वरले दिने यो शान्तिले तपाईंको मन अनि मस्तिष्कलाई सुरक्षित राख्नेछ।—फिलिप्पी ४:६, ७.
२१, २२. (क) “ठूलो भीड”-ले कस्तो शानदार आशा पाउनेछ? (ख) ख्रीष्टियनहरूका लागि जुन आशाको प्रबन्ध गरिएको छ त्यसमध्ये तपाईंलाई सबैभन्दा मनपर्ने कुरा के हो? (ग) तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?
२१ साँच्चै, हाम्रो अगाडि विचार गर्नुपर्ने कत्ति शानदार आशा छ, होइन र? यदि तपाईं “महासङ्कष्ट पार” गर्ने “ठूलो भीड”-को सदस्य हुनुहुन्छ भने तपाईंले चाँडै नै पाउने जीवनबारे सोच्नुहोस्। (प्रकाश ७:९, १४) सैतान र त्यसका दुष्ट दूतहरूको नामोनिसान मेटिएकोले तपाईंले त्यतिबेला राहत महसुस गर्नुहुनेछ जुन कुरा अहिले हामी कल्पना पनि गर्न सक्दैनौं। हुन पनि अहिलेसम्म हामीमध्ये को पो सैतानको भ्रष्ट प्रभावको दबाबमा परेका छैनौं र? त्यतिबेला सैतानको कुनै प्रभाव रहनेछैन। येशू अनि उहाँका सहशासक १,४४,००० को निर्देशनअनुसार चलेर यस पृथ्वीलाई सुन्दर बगैंचा बनाउने काममा भाग लिंदा हामी कत्ति रमाउनेछौं! सबै रोग-बिमार अनि कमजोरी हटेको, चिहानबाट ब्यूँतेर आएका मायालु व्यक्तिहरूलाई स्वागत गरेको अनि परमेश्वरले चाहेअनुसारै जीवन बिताएको देख्न पाउनु कत्ति रोमाञ्चक आशा हो! सर्वगुण सम्पन्न अवस्थातर्फ अघि बढ्दै जाँदा हामी अझै ठूलो इनाम पाउने मार्गतर्फ लम्किरहेका हुन्छौं। हामीले पाउने त्यो इनामबारे रोमी ८:२१ यसो भन्छ: “परमेश्वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता” पाउनेछौं।
२२ तपाईंले कल्पना गर्नै नसक्ने स्वतन्त्रता पाएको यहोवा चाहनुहुन्छ। यस्तो स्वतन्त्रता पाउने तरिका हो—आज्ञाकारी हुनु। त्यसो भए दिनदिनै यहोवाको आज्ञा मान्नको लागि हामीले सक्दो गर्नु महत्त्वपूर्ण छैन र? त्यसकारण आफ्नो अति पवित्र विश्वासलाई बलियो बनाइरहनुहोस् जसले गर्दा तपाईं अन्तसम्मै परमेश्वरको प्रेम पाउन लायक भइरहन सक्नुहुन्छ!
a यहाँ “बलियो बनाएर” भनेर अनुवाद गरिएको ग्रीक शब्दको अर्थ कुनै कुरा बनाउनु वा निर्माण गर्नु हो।
b वैज्ञानिकहरूको भनाइअनुसार अङ्गहरू कहाँ छन् र के-कसरी चलाउने भनेर हाम्रो शरीरले चेतना पाउँदै जान्छ। उदाहरणको लागि यस्तो चेतनाले आँखा बन्द गरेर पनि तपाईं ताली बजाउन सक्नुहुन्छ। यदि कुनै वयस्कले यस्तो चेतना गुमायो भने ऊ उभिन, हिंड्न अनि बस्नसमेत सक्दैन।