तपाईं अन्तसम्म धीरजी हुन सक्नुहुन्छ
“हाम्रा सामनेमा राखिदिएको दौड धीरजसँग दौडौं।”—हिब्रू १२:१.
१, २. धीरजी हुनुको अर्थ के हो?
प्रथम शताब्दीका हिब्रू मसीहीहरूलाई प्रेरित पावलले यसो लेखे, “तिमीहरूलाई धीरजको आवश्यकता छ।” (हिब्रू १०:३६) यस गुणको महत्त्वमाथि जोड दिंदै प्रेरित पत्रुसले मसीहीहरूलाई आग्रह गरे: “तिमीहरूका विश्वासमा . . . धीरज थप।” (२ पत्रुस १:५, ६) तर वास्तवमा धीरज के हो?
२ एउटा युनानी-अंग्रेजी शब्दकोशले “धीरज” अर्थ बुझाउने युनानी क्रियालाई “भाग्नु होइन तर पर्खनु . . . अटल भएर बस्नु, लागि रहनु” भनेर परिभाषित गरेको छ। “धीरज” शब्दको युनानी संज्ञाबारे एउटा पुस्तक यसो भन्छ: “यो त्यस प्रकारको मनोभाव हो जसले कुनै पनि कुरालाई हार मान्दै स्वीकार्ने होइन तर उत्कट आशाका साथ सहनसक्छ . . . यो त्यस्तो गुण हो जसले मानिसलाई बाधाबिघ्नसामु खडा रहन मदत गर्छ। यो त्यस्तो सद्गुण हो जसले अति कठिन परीक्षालाई पनि आनन्दमा बदल्न सक्छ किनभने कष्टको अलावा त्यसले लक्ष्य देखेको हुन्छ।” अतः धीरजले बाधाबिघ्न र कठिनाइहरू आइपर्दा स्थिर रहन र आशा नगुमाउन सक्षम बनाउँछ। खास गरी कसलाई यो गुणको आवश्यकता छ?
३, ४. (क) कसलाई धीरज चाहिन्छ? (ख) हामी अन्तसम्म किन स्थिर हुनुपर्छ?
३ सबै मसीहीहरू एउटा लाक्षणिक दौडमा सामेल छन् र त्यस दौडमा धीरज चाहिन्छ। सा.यु. ६५ तिर प्रेरित पावलले आफ्नो सहकर्मी तथा विश्वासी परिभ्रमण साथी तिमोथीलाई यस्तो आश्वासनदायी शब्दहरू लेखे: “मैले उत्तम लड़न्त लड़ेको छु, मैले दौड़ सिध्याएको छु, विश्वासलाई बचाइराखेको छु।” (२ तिमोथी ४:७) “दौड़ सिध्याएको छु” भन्दा पावलले आफ्नो मसीही जीवनलाई एउटा निश्चित मार्ग र लक्ष्य भएको दौडसँग तुलना गरिरहेका थिए। त्यतिबेला पावल दौड सिद्धिनै लागेर विजयी हुनै लागेका थिए। त्यसकारण, इनाम पाउँछु भनेर तिनी ढुक्क थिए। तिनी यसो भन्छन्: “अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिक न्यायधीश प्रभुले त्यस दिन मलाई . . . दिनुहुनेछ।” (२ तिमोथी ४:८) आफू अन्तसम्म धीरजी भएकोले इनाम पाउनेछु भनी पावल निश्चित थिए। हामी नि?
४ दौडमा सामेल भएकाहरूलाई प्रोत्साहन दिन पावलले यसो लेखे: “हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं।” (हिब्रू १२:१) आफूलाई येशू ख्रीष्ट मार्फत यहोवालाई समर्पण गरेपछि हामी मसीहीहरूको हैसियतमा धीरज चाहिने यो दौडमा सामेल हुन्छौं। चेलाको हैसियतमा राम्ररी दौड थाल्नु महत्त्वपूर्ण छ तर लक्ष्य पूरा गर्नु झन् महत्त्वपूर्ण छ। येशूले यसो भन्नुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती २४:१३) दौड पूरा गर्नेहरूका लागि अनन्त जीवनको इनाम साँचेर राखिएको छ! तसर्थ, मनमा एउटा लक्ष्य भएकोले हामी अन्तसम्म स्थिर रहनुपर्छ। यो लक्ष्य हासिल गर्न हामीलाई कुन कुराले मदत गर्नेछ?
पोषण—अत्यावश्यक छ
५, ६. (क) जीवनको दौड दौडिरहन हामीले कुन कुरामा ध्यान दिनुपर्छ? (ख) हामीले कस्ता आध्यात्मिक प्रबन्धहरूको फाइदा उठाउनुपर्छ अनि किन?
५ ग्रीसको कोरिन्थ शहर नजिकैको एउटा ठाउँमा प्राचीन समयमा प्रख्यात इस्मीयन खेल आयोजना हुन्थ्यो। कोरिन्थका भाइहरू त्यहाँ हुने व्यायाम तथा अन्य प्रतिस्पर्धाहरूसित परिचित थिए भनी पावललाई राम्ररी थाह थियो। तिनीहरूलाई थाह भएको कुरा उल्लेख गर्दै पावलले तिनीहरू सामेल भएको जीवनको दौडबारे स्मरण गराए: “के तिमीहरूलाई थाह छैन दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, पुरस्कार एउटैले मात्र पाउँछ? त्यसरीनै दगुर, र पुरस्कार पाओ।” पावलले लक्ष्यसम्म पुग्न दौडिरहनुपर्ने महत्त्वलाई जोड दिए। तर तिनीहरूलाई त्यसो गर्न कुन कुराले मदत गर्नेथ्यो? पावलले अझ यसो भने: “खेलमा दाँजिने हरेक मानिस सब विषयमा संयमी हुन्छ।” हो, प्राचीन समयमा खेलकुदमा भाग लिनेहरूले विजयी हुन कठोर प्रशिक्षण गर्नुपर्थ्यो, खानपिनमा असाध्यै ध्यान पुऱ्याउनुपर्थ्यो अनि आफ्ना हरेक कामकुरालाई नियन्त्रित गर्नुपर्थ्यो।—१ कोरिन्थी ९:२४, २५.
६ मसीहीहरू सामेल भएको दौडबारे के भन्न सकिन्छ? यहोवाका साक्षीहरूको मण्डलीको एक प्राचीन यसो भन्छन्, “जीवनको दौड दौडिरहन आध्यात्मिक भोजनमा ध्यान दिनुपर्छ।” ‘धीरजका परमेश्वर’ यहोवाले हामीलाई दिनुभएको आध्यात्मिक भोजनलाई विचार गर्नुहोस्। (रोमी १५:५) हाम्रो आध्यात्मिक भोजनको मुख्य स्रोत उहाँको वचन बाइबल हो। के हामीले बाइबल पढाइको राम्रो तालिका बनाउनु पर्दैन र? यहोवाले “विश्वासी र बुद्धिमान दास” मार्फत समयसापेक्ष पत्रिका प्रहरीधरहरा र ब्यूँझनुहोस्! अनि बाइबल आधारित अन्य प्रकाशनहरू उपलब्ध गराउनुभएको छ। (मत्ती २४:४५) लगनशील भएर यी प्रकाशनहरू अध्ययन गर्नाले हामी आध्यात्मिक रूपमा बलियो हुन्छौं। हो, हामीले व्यक्तिगत अध्ययनको निम्ति ‘समय निकाल्नुपर्छ।’—एफिसी ५:१६, NW.
७. (क) हामी आधारभूत मसीही शिक्षाहरूमा मात्र किन चित्त बुझाएर बस्नु हुँदैन? (ख) हामी कसरी ‘सिद्धतातर्फ बढ्नसक्छौं’?
७ मसीही चेलाको मार्गमा हिंडिरहन “शुरूका शिक्षाहरू” अलावा अरू कुराहरू पनि सिक्नुपर्छ अनि ‘सिद्धतातर्फ बढ्नुपर्छ।’ (हिब्रू ६:१) तसर्थ, हामीले सत्यको “चौड़ाइ, लमाइ, उँचाइ र गहराइ” बुझ्ने चासो जगाउनुपर्छ अनि ‘पूरा बढेका मानिसहरूले पोषण लिने खँदिलो खानेकुरा’ खानुपर्छ। (एफिसी ३:१८; हिब्रू ५:१२-१४) उदाहरणका लागि, येशूको पार्थिव जीवनबारे लेखिएका भरपर्दा चार विवरणहरूलाई लिनुहोस्। ती हुन्, मत्ती, मर्कूस, लूका र यूहन्नाद्वारा लिखित सुसमाचार। यी सुसमाचारका विवरणहरूलाई ध्यान दिएर पढ्यौं भने, येशूले गर्नुभएका कार्यहरू र उहाँ कस्तो व्यक्ति हुनुहुन्थ्यो भनेर मात्र होइन तर उहाँलाई ती कार्यहरू गर्न उत्प्रेरित गराउने सोचाइहरू पनि थाह पाउनेछौं। त्यसपछि ‘हामीसँग ख्रीष्टको मन हुनेछ।’—१ कोरिन्थी २:१६.
८. जीवनको दौडमा धीरजी हुन हामीलाई मसीही सभाहरूले कसरी मदत गर्छ?
८ पावलले सँगी विश्वासीहरूलाई यस्तो सल्लाह दिए: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन् बढ़ता गरेर अर्ती दिंदै गरौं।” (हिब्रू १०:२४, २५) मसीही सभाहरू प्रोत्साहनको एकदमै राम्रा स्रोत हुन्! अनि हाम्रो चासो राख्नुका साथै हामीलाई अन्तसम्म धीरजी हुन मदत दिने मायालु भाइबहिनीहरूमाझ हुन पाउनु कत्ति स्फूर्तिदायी कुरा हो! यहोवाले गर्नुभएका यी मायालु प्रबन्धहरूलाई हामीले पटक्कै हल्कासित लिन मिल्दैन। आउनुहोस्, लगनशील भई व्यक्तिगत अध्ययन गरेर अनि नियमित तवरमा साभाहरूमा उपस्थित भएर ‘समझमा मानिस होऔं।’—१ कोरिन्थी १४:२०.
तपाईंलाई अझ जोसिलो बनाउने दर्शकहरू
९, १०. (क) धीरज चाहिने दौडमा दर्शकहरू कसरी प्रोत्साहनको स्रोत बन्नसक्छन्? (ख) हिब्रू १२:१ मा उल्लिखित ‘हामीलाई घेरेका गवाहीका मेघ’ के हो?
९ धावकले जति नै राम्रो तयारी गरेको भए तापनि कुनै कारणवश बाटोमा लरखराउनसक्छन्। पावलले प्रश्न गरे, “तिमीहरू राम्रैसँग दौड़िरहेका थियौ, र सत्यलाई मान्न छोड़नू भनेर कसले तिमीहरूलाई रोक्यो?” (गलाती ५:७) प्राप्त प्रमाणअनुसार, गलातीका केही मसीहीहरू खराब संगतमा फसे। अनि तिनीहरू जीवनको दौडमा अरू नै कुराले अल्मलिन थाले। अर्कोतिर, अरूको समर्थन र प्रोत्साहन पाउँदा दौड दौडिरहन सजिलो हुन्छ। यो, दौडमा दर्शकहरूले खेलाडीहरूलाई अझ जोसिलो बनाए जस्तै हो। जोसिला दर्शकहरूले धावकहरूलाई पनि जोसिलो बनाउँछन् र यसले गर्दा तिनीहरूले सुरुदेखि अन्तसम्म दौडिरहने जोस पाउँछन्। अक्सर चर्को बाजागाजा र ताली बजाउँदै कराउने दर्शकहरूले धावकहरूलाई दौडको अन्तमा थप बल प्रदान गर्नसक्छन्। साँच्चै, समानुभूतिशील दर्शकहरूले धावकहरूमाथि सकारात्मक प्रभाव पार्नसक्छन्।
१० मसीहीहरू सामेल भएको जीवनको दौडका दर्शकहरू चाहिं को हुन् त? पावलले हिब्रू ११ अध्यायमा मसीहीपूर्व समयका यहोवाका विश्वासी साक्षीहरूको नाउँ उल्लेख गरिसकेपछि यसरी लेखे: “हामी पनि, यतिका गवाहीका मेघले घेरिएका हुनाले, हर किसिमको टण्टा र हामीलाई सजिलैसित अल्मल्याउने पापलाई पन्छाएर हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं।” (हिब्रू १२:१) मेघको उपमा प्रयोग गर्दा पावलले निश्चित नाप र आकारको मेघ बुझाउने युनानी शब्द प्रयोग गरेनन्। वास्तवमा, कोशकार डब्लु. इ. भाइनअनुसार तिनले “आकाशै ढाक्ने मेघ बुझाउने” शब्द प्रयोग गरे। स्पष्टतया, पावलले साक्षीहरूको ठूलो जमातबारे बताउँदै थिए। तिनीहरू एकदमै धेरै भएकोले आकाशै ढाक्ने मेघझैं थिए।
११, १२. (क) मसीहीपूर्व विश्वासी साक्षीहरूले हामीलाई दौड दौडिरहन कसरी प्रोत्साहन दिनसक्छन्? (ख) हामी ‘गवाहीका मेघबाट’ कसरी अझ धेरै फाइदा उठाउनसक्छौं?
११ के मसीहीपूर्व साक्षीहरू शाब्दिक रूपमा वर्तमान समयका दर्शकहरू हुनसक्छन्? अँह, सक्दैनन्। तिनीहरू त पुनरुत्थानको प्रतिक्षा गर्दै मृत्युको चिर निद्रामा निदाइरहेका छन्। तथापि, जीवित छँदा तिनीहरूले आफ्ना दौड पूरा गरेका थिए अनि तिनीहरूको उदाहरण अहिले हाम्रो समयसम्म बाइबलमा लिपिबद्ध छन्। धर्मशास्त्र अध्ययन गर्दा यी विश्वासी व्यक्तिहरू हाम्रो मनमा सजीव हुन्छन् अनि अन्तसम्म दौड दौडिरहन हामीलाई प्रोत्साहन दिन सक्छन्।—रोमी १५:४.a
१२ उदाहरणका लागि, कुनै सांसारिक कामले हामीलाई प्रलोभित गर्दा मोशाले मिस्रका महिमाहरू त्यागेको कुरा विचार गऱ्यौं भने दौड दौडिरहन उत्प्रेरित हुँदैनौं र? हामीले सामना गर्ने परीक्षा असाध्यै कठिन लाग्यो भने, अब्राहामलाई आफ्नो छोरा इसहाकको बलिदान चढाउन लगाइएको कठिन परीक्षा स्मरण गर्नाले अवश्य पनि विश्वासमा बलियो रहने प्रोत्साहन पाउनेछौं। हामी यी साक्षीहरूको ‘मेघलाई’ आफ्ना समझका आँखाले जति स्पष्टसित देख्छौं उति बढी मात्रामा तिनीहरूबाट प्रेरणा पाउँछौं।
१३. जीवनको दौड दौडिन हामीलाई यहोवाका वर्तमान साक्षीहरूले कसरी प्रेरित गर्छन्?
१३ हामी वर्तमान समयमा पनि यहोवाका थुप्रै साक्षीहरूले घेरिएका छौं। अभिषिक्त मसीहीहरूका साथसाथै “ठूलो भीड़[का]” पुरुष तथा स्त्रीहरूले विश्वासको एकदमै राम्रो उदाहरण बसालेका छन्! (प्रकाश ७:९) हामी यही पत्रिका अनि वाच टावरका अन्य प्रकाशनहरूमा बेला बेलामा तिनीहरूको जीवनी पढ्नसक्छौं।b तिनीहरूको विश्वासलाई विचार गर्दा हामी अन्तसम्म धीरजी हुने प्रोत्साहन पाउँछौं। अनि विश्वासी भई यहोवाको सेवा गर्ने घनिष्ठ साथी र आफन्तहरूको समर्थन पाउनु कत्ति आनन्दको कुरा हो! हो, हामीलाई जीवनको दौड दौडन प्रेरणा दिने थुप्रै छन्।
बुद्धिमानीसाथ आफ्नो गति कायम गर्नुहोस्
१४, १५. (क) बुद्धिमानीसाथ आफ्नो गति कायम गर्नु किन महत्त्वपूर्ण छ? (ख) लक्ष्यहरू बनाउँदा हामी किन व्यवहारिक हुनुपर्छ?
१४ म्याराथन जस्तो लामो दौड दौडिंदा धावकले बुद्धिमानीसाथ आफ्नो गति कायम गर्नुपर्छ। न्यु योर्क रनर पत्रिका यसो भन्छ, “सुरुमै तेज गतिमा दौडिनुभयो भने लक्ष्यसम्म पुग्न सक्नुहुन्न। त्यसरी दौडिनुभयो भने कि त दौड सिद्धिन केही मिटर बाँकी हुँदा स्याँस्याँ हुनुपर्छ अथवा बीचैमा थाकेर दौड छोड्नुपर्छ।” एक जना म्याराथन धावक यसरी सम्झन्छन्: “दौडको तयारी गर्दा वक्ताले यस्तो स्पष्ट चेताउनी दिएका थिए: ‘तेज गतिमा दौडने धावकहरूसँगसँगै दौडन नखोज्नुहोस्। आफ्नै गतिमा दौडिनुहोस्। अन्यथा तपाईं थकित हुनुहुनेछ अनि बीचैमा दौड छोड्नुपर्नेछ।’ यो सुझाउ पालन गरेकोले म आफ्नो लक्ष्यसम्म दौडन सकें।”
१५ जीवनको दौडमा परमेश्वरका सेवकहरूले कडा परिश्रम गर्नुपर्छ। (लूका १३:२४) तथापि, चेला याकूबले यसरी लेखे: “जुन ज्ञान माथिबाट आउँछ, त्यो . . . व्यवहारिक हुन्छ।” (याकूब ३:१७; NW) हुन त हो, अरूको असल उदाहरणले हामीलाई अझ बढी गर्न प्रोत्साहित गर्छ। यद्यपि, व्यवहारिकताले हामीलाई आफ्नो योग्यता र परिस्थितिअनुसार व्यवहारिक लक्ष्य बनाउन मदत गर्नेछ। धर्मशास्त्र हामीलाई यस्तो स्मरण गराउँछ: “हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्। तब आफ्ना छिमेकीको विषयमा ता होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ। किनभने हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।”—गलाती ६:४, ५.
१६. नम्रताले हाम्रो गति कायम गर्न कसरी मदत गर्छ?
१६ मीका ६:८ मा हामीलाई यस्तो गम्भीर प्रश्न सोधिएको छ: “परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि . . . परमेश्वरसित नम्र भएर हिंड़नू।” नम्र हुनुमा आफ्ना सीमितताहरूप्रति सजग हुनु पनि समावेश छ। के अस्वस्थता वा ढल्कँदो उमेरले गर्दा परमेश्वरको सेवामा सधैंजति गर्न नसक्ने पो भएका छौं कि? त्यसो हो भने, निरुत्साहित नहोऔं। यहोवाले ‘हामीसित नभएअनुसार होइन, तर हामीसित भएअनुसार’ हाम्रो प्रयास र त्यागहरू ग्रहण गर्नुहुन्छ।—२ कोरिन्थी ८:१२; तुलना गर्नुहोस् लूका २१:१-४.
तपाईंका आँखा इनाममा केन्द्रित होस्
१७, १८. कस्ता कुराहरू दृष्टिगत गर्दा येशूले शुलीको कष्ट सहन मदत पाउनुभयो?
१७ पावलले कोरिन्थका मसीहीहरूलाई जीवनको दौडमा दौडिरहनुपर्ने आवश्यकता औंल्याउँदा इस्मीयन खेलको अर्को पक्षबारे पनि बताए। उक्त पक्ष तिनीहरूको ध्यानाकर्षित गर्ने खालकै थियो। ती खेलकुदहरूमा भाग लिनेहरूबारे पावलले यसरी लेखे: “तिनीहरूचाहिं नाश हुने मुकुट पाउनालाई [दौडिन्छन्] तर हामीचाहिं नाश नहुने मुकुट पाउनालाई यसो गर्दछौं। यसकारण म यसरी दगुर्छु, बेताकसित होइन, म यसरी मुक्का लड़दछु, केवल हावामा हान्ने जस्तो होइन।” (१ कोरिन्थी ९:२५, २६) ती प्राचीन खेलकुदहरूमा विजयी हुनेले इस्मीयन धूपी वा अन्य बोटबिरुवाका पातहरू वा जंगली ज्वानुबाट बनाइएको मुकुट अथवा हारको इनाम पाउँथे। त्यो साँच्चै “नाश हुने मुकुट” थियो। यद्यपि, अन्तसम्म धीरजी हुने मसीहीहरूका लागि कस्तो इनाम साँचेर राखिएको छ?
१८ हाम्रो नमुना, येशू ख्रीष्टबारे प्रेरित पावलले यस्तो लेखे: “उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” (हिब्रू १२:२) येशूले शूलीलाई होइन तर यहोवाको नाउँलाई पवित्र गर्दा प्राप्त हुने आनन्द, मानिसहरूलाई मृत्युबाट छुटकारा प्रदान गर्ने अनि पार्थिव प्रमोदवनमा आज्ञाकारी मानिसहरूलाई अनन्त जीवन दिएर राजा तथा प्रधान पूजाहारीको हैसियतमा शासन गर्ने जस्ता इनाममा दृष्टिगत गर्नुभयो। त्यसैकारण उहाँ आफ्नो जीवनको अन्तसम्म धीरजी हुन सक्नुभयो।—मत्ती ६:९, १०; २०:२८; हिब्रू ७:२३-२६.
१९. मसीही चेलाको मार्गमा चल्दा हामीले कुन कुरामा ध्यान केन्द्रित गर्नुपर्छ?
१९ मसीही चेलाको मार्गमा चल्दा हामीले पाउने आनन्दलाई विचार गर्नुहोस्। यहोवाले हामीलाई गहिरो सन्तुष्टि दिने काम दिनुभएको छ। त्यो हो, अरूलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने अनि बाइबलको जीवनदायी ज्ञान सुनाउने। (मत्ती २८:१९, २०) साँचो परमेश्वरप्रति चासो राख्ने व्यक्ति भेट्टाउनु अनि तिनलाई जीवनको दौडमा सामेल गराउनु कत्ति आनन्दको कुरा हो! अनि हामीले प्रचार गर्ने व्यक्तिहरूको प्रतिक्रिया जस्तो सुकै किन नहोस्, यहोवाको नाउँको पवित्रिकरणसित सम्बन्धित काममा भाग लिन पाउनु विशेषाधिकार हो। हामीले प्रचार गर्ने इलाकाका मानिसहरूको भावशून्यता वा विरोधको बावजूद सेवकाईमा भाग लिइरह्यौं भने, यहोवाको हृदयलाई खुसी बनाउने काममा भाग लिएकोमा आनन्दित हुनसक्छौं। (हितोपदेश २७:११) अनि उहाँले हाम्रोलागि अद्भुत इनामको प्रतिज्ञा गर्नुभएको छ। त्यो हो, अनन्त जीवन। त्यो अत्यन्तै आनन्ददायी हुनेछ! हामीले यी आशिष्हरूप्रति दृष्टि लगाउँदै दौड दौडिरहनुपर्छ।
अन्त नजिकिंदै जाँदा
२०. अन्त नजिकिंदै जाँदा जीवनको दौड कसरी झन् कठिन हुनसक्छ?
२० हामीले जीवनको दौडमा हाम्रो प्रमुख शत्रु, शैतान अर्थात् दियाबलसँग मुकाबला गर्नुपर्छ। हामी अन्तको नजिकै पुगेकोले त्यसले हामीलाई बाधा दिन वा सुस्त बनाउन अनेक जुक्ति गरिरहेको छ। (प्रकाश १२:१२, १७) अनि युद्ध, अनिकाल, महामारी र “अन्तको समय” भनी चिनाउने अन्य कठिनाइहरूमाझ रहेर परमेश्वरको राज्यको विश्वासी तथा समर्पित उद्घोषकहरू हुन सजिलो छैन। (दानियल १२:४; मत्ती २४:३-१४; लूका २१:११; २ तिमोथी ३:१-५) यसबाहेक, हामीले दशकौं अघि यो दौड सुरु गरेका हौं भने कहिलेकाहीं आफूले आशा गरेभन्दा अन्त आउन ढिलो भए जस्तो लाग्नसक्छ। यद्यपि, अन्त आउनेछ भनी परमेश्वरको वचनले हामीलाई आश्वासन दिन्छ। त्यो ढिलो हुनेछैन भनी यहोवा भन्नुहुन्छ। अन्त नजिकै आइसकेको छ।—हबकूक २:३; २ पत्रुस ३:९, १०.
२१. (क) जीवनको दौड दौडिरहन हामी कुन कुराबाट बल पाउँछौं? (ख) अन्त नजिकिंदै जाँदा हाम्रो संकल्प कस्तो हुनुपर्छ?
२१ जीवनको दौडमा सफल हुन यहोवाले मायालु ढंगमा उपलब्ध गराउनुभएको आध्यात्मिक भोजनबाट हामीले बल प्राप्त गर्नुपर्छ। हामीसँगै जीवनको दौड दौडने सँगी विश्वासीहरूसँग नियमित सरसंगतबाट पाइने प्रोत्साहन पनि चाहिन्छ। बाटोमा सामना गर्नुपर्ने घोर सतावट अनि समय र परिस्थितिले दौडलाई कठिन बनाए तापनि हामी अन्तसम्म धीरजी हुनसक्छौं किनकि यहोवाले हामीलाई “असामान्य शक्ति” दिनुहुन्छ। (२ कोरिन्थी ४:७; NW) हामीले हर्षोल्लाससाथ दौड सिद्धयाओस् भन्ने यहोवा चाहनुहुन्छ भनेर थाह पाउनु असाध्यै आश्वसनदायी कुरा हो! आउनुहोस्, “यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं” भन्ने पूर्ण भरोसा राखेर ‘हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौडने’ दृढ संकल्प गरौं।—हिब्रू १२:१; गलाती ६:९.
[फुटनोटहरू]
a हिब्रू ११:१-१२:३ को छलफलको लागि जनवरी १५, १९८७ को प्रहरीधरहरा पृष्ठ १०-२० हेर्नुहोस्।
b हालै प्रकाशित यस्ता केही प्रोत्साहनजनक अनुभवहरू प्रहरीधरहरा, जून १, १९९८ पृष्ठ २८-३१; सेप्टेम्बर १, १९९८ पृष्ठ २४-८; फेब्रुअरी १, १९९९ पृष्ठ २५-९ मा पाउन सकिन्छ।
के तपाईंलाई थाह छ?
◻ हामी किन अन्तसम्म धीरजी हुनुपर्छ?
◻ हामीले यहोवाका कस्ता प्रबन्धहरूलाई बेवास्ता गर्नु हुँदैन?
◻ बुद्धिमानीसाथ गति कायम गर्नु किन महत्त्वपूर्ण छ?
◻ दौड दौडिरह्यौं भने हाम्रोसामु कस्तो आनन्द राखिएको छ?
[पृष्ठ १८-मा भएको चित्र]
मसीही सभाहरूबाट प्रोत्साहित हुनुहोस्