यहोवाको नाउँ जनसमक्ष घोषणा गर्नुहोस्
“हामी निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढ़ाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।”—हिब्रू १३:१५.
यहोवाका अगमवक्ता होशेसित सङ्गी इस्राएलीहरूलाई सुनाउनु पर्ने महत्त्वपूर्ण समाचार थियो। सामान्य युग पूर्व आठौं शताब्दीमा उनका बरालिएका दौंतरीहरूलाई उनले पश्चात्ताप गर्न जोड दिए। उनले यसरी आग्रह गरे: “तिमीहरूका आफ्ना कुरा लिएर परमप्रभुतिर फर्क। उहाँलाई भन, ‘सबै अधर्म दूर गरेर जे असल छ त्यही ग्रहण गर्नुहोस्। यसरी हामी बाछाहरू चढ़ाएझैं आफ्ना ओठका स्तुति चढ़ाउनेछौं।” (होशे १४:२) ‘बाछाहरू चढाएझैं आफ्ना ओठका स्तुति’ यहोवालाई चढाउन मानिसहरूलाई आग्रह गर्दा होशेको भविष्यवाणीले पश्चात्ताप गर्न र परमेश्वरलाई निष्कपट प्रशंसाका बलिदानहरू चढाउन इस्राएलीहरूलाई प्रोत्साहन दिइरहेको थियो।
२ आज यहोवाका साक्षीहरूले ‘बाछाहरू चढाएझैं आफ्ना ओठका स्तुति’ चढाउँछन्। होशेको भविष्यवाणीलाई सङ्केत गर्दै प्रेरित पावलले गरेको आग्रहलाई पनि तिनीहरू पालन गर्छन्। उनले यसो भने: “[येशू ख्रीष्ट] द्वारा नै हामी निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढ़ाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।” (हिब्रू १३:१५) तसर्थ, राज्य प्रचार-कार्यमाझैं परमेश्वरका जनहरूले आनन्दित भएर यहोवाको प्रशंसा गर्छन्।—मत्ती २४:१४.
३ यहोवाको नाउँ जनसमक्ष घोषणा गर्न पाउनु असिद्ध मानिसहरूको लागि एउटा अनमोल विशेषाधिकार हो। हाम्रो परमेश्वरबारे अरूलाई भनेर यहोवालाई “बाछाहरू चढाएझैं आफ्ना ओठका स्तुति,” “स्तुतिको बलिदान” चढाउन पाएकोमा हामी कति आनन्दित छौं! आज, जनसमक्ष राज्यको सुसमाचार प्रचार गर्न प्रोत्साहित हुन परमेश्वरका अगमवक्ताहरू र यहोवाका अन्य जनहरूबारे बाइबलले के भन्छ, जाँच गरौं। तिनीहरूका जीवनपद्धतिबाट निकै कुराहरू सिक्न सक्नेछौं जसले हाम्रो प्रचार क्रियाकलापमा आनन्दित हुन मदत दिनेछ।—रोमी १५:४.
अगमवक्ताहरूको भूमिका
४ यहोवाका अगमवक्ताहरूले जनसमक्ष यहोवाको समाचार घोषणा गर्ने विशेषाधिकार पाएका थिए। “अगमवक्ता” (नाभी) अर्थ बुझाउन प्रयोग गरिएको हिब्रू पदको अस्पष्ट व्युत्पत्ति छ। तर बाइबलमा गरिएको त्यसको प्रयोगले साँचो अगमवक्ताहरू प्रेरित समाचार बोक्ने परमेश्वरका जनहरू अर्थात् यहोवाका प्रवक्ता थिए भनी बुझाउँछ। “अगमवक्ता” (प्रोफेटेस्) बुझाउन प्रयोग गरिएको युनानी शब्दको अक्षरसः अर्थ, “कसैको सामु” वा “अघि” केही “भन्ने वक्ता” हो। ईश्वरीय स्रोतलाई श्रेय दिंदै समाचार घोषणा गर्ने व्यक्ति अगमवक्ता हो। सधैं त होइन, तर प्रायजसो परमेश्वरका साँचो अगमवक्ताहरूले भविष्यमा हुने घटनाहरू बताउँथे।
५ परमेश्वरको प्रबन्धमा अगमवक्ताहरूको स्पष्ट भूमिकाबारे मक्लिन्टक र स्ट्रङ्गको साइक्लोपीडिया यसो भन्छ: “कहिलेकाहीं तिनीहरूसित सल्लाह मागिन्थ्यो। . . . तर प्रायजसो तिनीहरूको सल्लाहको माग नगरिंदा पनि मानिसहरूलाई सम्बोधन गर्न तिनीहरू भित्रैबाट उत्प्रेरित हुन्थे र तिनीहरूको उपस्थितिले शायद क्रोध तथा त्रास पैदा गर्ने अवस्थामा पनि साहसी भएर बोल्न तिनीहरू डराउँदैनथे।” (खण्ड ८, पृष्ठ ६४०) त्यस्तो साहसी कदम उठाउन ती अगमवक्ताहरूलाई कुन कुराले उत्प्रेरित गऱ्यो, केही उदाहरणहरूलाई ध्यान दिनुहोस्।
भावनाहरू र उत्प्रेरणा
६ सा. यु. पू. ६०७ मा यरूशलेमको विनाश हुनअघि आफ्नो अगमवक्ता इजकिएल मार्फत यहोवाले बाबेलमा निर्वासित यहूदीहरूसित कुरा गर्नुभयो। यहोवाले उनलाई यसो भन्नुभयो: “हे मानिस, तलाईं जे दिएको छ त्यो खा। त्यो बेहेरिएको पुस्तक खा र गएर इस्राएलीहरूलाई भन्।” इजकिएलले आज्ञा पालन गरे। उनले भने: “यसैले मेलै मेरो मुख खोलें, र उहाँले त्यो बेहेरिएको पुस्तक मलाई खानलाई दिनुभयो। त्यसपछि उहाँले मलाई भन्नुभयो, ‘हे मानिस, मैले तँलाई दिएको यो बेहेरिएको पुस्तक खा र तेरो पेट भर्।’ तब मैले त्यो खाएँ, र त्यो मेरो मुखमा महझैं मीठो भयो।”—इजकिएल ३:१-३.
७ हामीले खाने भोजनबाट हाम्रो शरीरले पोषण प्राप्त गर्छ र एक अर्थमा त्यो पोषण हाम्रो शरीरको भाग बन्छ। त्यस्तैगरि, इजकिएलले खानु परेको त्यो “बेहेरिएको पुस्तक” अर्थात् इजकिएल अगमवक्ताले घोषणा गर्नुपरेको यहोवाको समाचार उनको भाग बन्नु परेको थियो। त्यसले उनका भावनाहरूलाई असर गर्नुपर्ने थियो। त्यसप्रकार परमेश्वरको वचनले इजकिएलका आन्तरिक भावनाहरूलाई असाध्यै उत्तेजित गरेकोले जनसमक्ष ती सुनाउनु उनको लागि आनन्दमय साबित भयो। तपाईं यहोवाको एक जना साक्षी हुनुहुन्छ भने, के तपाईं परमेश्वरको समाचार जनसमक्ष घोषणा गर्न पाएकोमा आनन्दित हुनुहुन्छ?
८ अगमवक्ता आमोसलाई पनि ध्यान दिनुहोस्। सा. यु. पू. नवौं शताब्दीका यस अगमवक्ता आफ्नै नाउँबाट बाइबल पुस्तक लेख्ने हिब्रू अगमवक्ताहरूमध्ये एक थिए। इजकिएलजस्तै आमोस यहोवाको वचनको निर्भयी उद्घोषक थिए। भनौं भने, तिनको नाउँमा लिखित पुस्तकमा ११ पटक “परमप्रभुको यो वाणी छ” भन्ने अभिव्यक्ति उल्लेख गरिएको छ! (आमोस १:३, ६, ९, ११, १३, २:१, न्यु व.; ४, ६; ३:१२, न्यु व.; ५:४; ७:१७, न्यु व.) जनसमक्ष परमेश्वरको वचन घोषणा गर्नुपर्ने आवश्यकता आमोसले महसुस गरे।
९ परमेश्वरको अगमवक्ताको हैसियतमा अविलम्ब कदम उठाएर आमोसले ईश्वरीय घोषणाहरूप्रति प्रतिक्रिया देखाए। आमोस मार्फत परमेश्वरले यसो भन्नुभयो: “सिंह गर्जेको छ, को डराउँदैन? परमेश्वर बोल्नुभएको छ, कसले अगमवाणी कहँदैन र?” (आमोस ३:८) यहोवाको सुसमाचार घोषणा गर्नदेखि यस अगमवक्तालाई कुनै पनि कुराले रोक्न सक्दैन थियो।
१० सिंह गर्जेझैं गरी यहोवाले यस वर्तमान दुष्ट संसारको रीतिरिवाजमाथि न्यायको समाचार सुनाउनु हुन्छ। आमोसजस्तै यहोवाका आधुनिक समयका सेवकहरू परमेश्वरको वचन जनसमक्ष घोषणा गर्न प्रेरित भएको महसुस गर्छन्। विरोधीहरूले धम्क्याउँदा पनि तिनीहरू प्रेरितहरू, पत्रुस र यूहन्नाको उदाहरण अनुकरण गर्छन्। तिनीहरूले जोडसित यसो भनेका थिए: “हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्तैसक्तैनौं।” प्रेरितहरूले यो पनि भने: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ।” (प्रेरित ४:२०; ५:२९) उसोभए हाम्रो बारेमा के भन्न सकिन्छ? यहोवाको नाउँ जनसमक्ष घोषणा गर्ने सम्बन्धमा हाम्रा भावनाहरू जाँच्नु बेस हुनेछ।
“हृदयमा जे कुरा प्रशस्त हुन्छ त्यही . . . बोल्दछ”
११ यहोवाका अगमवक्ताहरू आफूले पाएका सुअवसरहरूका लागि कृतज्ञ थिए भन्ने कुरामा कुनै शङ्का छैन। त्यस्तै कृतज्ञताले हामीलाई यहोवाको नाउँ जनसमक्ष घोषणा गर्न प्रेरित गर्नुपर्छ। भजनसंग्रह १४५:१, २ मा यसो भनिएको छ: “हे मेरा परमेश्वर, हे महाराजा म तपाईंको प्रशंसा गर्नेछु। र म तपाईंको नाउँलाई सदा सर्वदा धन्यको भन्नेछु। प्रतिदिन म तपाईंलाई धन्यको भन्नेछु। र म तपाईंको नाउँको स्तुति सदा सर्वदा गर्नेछु।” के यी शब्दहरूले तपाईंको मनोवृत्ति झल्काउँछ? यहोवाले हाम्रो लागि गरिदिनुभएका, अहिले गरिरहनुभएका र भविष्यमा अझै गर्नुहुने कुराहरूप्रति मूल्याङ्कन बढाउन नियमित बाइबल अध्ययनले मदत गर्छ। अनि पारिवारिक रूपमा एकसाथ बाइबल अध्ययन गर्दा परमेश्वर र उहाँका उद्देश्यहरूबारे बताउन उहाँको वचन प्रबल भएको के हामी महसुस गर्दैनौं र? (हिब्रू ४:१२) यहोवाको नाउँ जनसमक्ष घोषणा गर्न प्रभावकारी हुन “विश्वासी र बुद्धिमान दास” मार्फत यहोवा परमेश्वरले प्रबन्ध गरिदिनुभएका मसीही प्रकाशनहरूको पनि पूर्णतया सदुपयोग गर्नुपर्छ।—मत्ती २४:४५-४७.
१२ कृतज्ञ हृदयले यहोवाको प्रशंसा गर्ने हो भने हामी मसीही सभाहरूमा नियमित तवरले उपस्थित हुनु आवश्यक छ। प्रेरित पावलको यो सल्लाहलाई यहोवाका जनहरू सबैले पालन गर्नुपर्छ: “प्रेम र सुकर्ममा, उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरून्। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन् बढ़ता गरेर अर्ती दिंदै गरौं।” (हिब्रू १०:२४, २५) के तपाईं नियमित तवरले मसीही सभाहरूमा उपस्थित हुनुहुन्छ? परमेश्वरका जनहरूको सभाहरूमा तपाईंले सुन्नुभएका शास्त्रीय सत्यहरू, राम्रा अनुभवहरू र ईश्वरतान्त्रिक विस्तारहरूको उदेकलाग्दो समाचारहरूबारे के तपाईं प्रायजसो कुरा गर्नुहुन्छ? यहोवा र उहाँका उद्देश्यहरूबारे कुरा गर्न हिचकिचाउनु हुन्छ भने तपाईंको हृदयमा उहाँका विचारहरू गहिरो गरी गड्न दिन उहाँको वचनमा मनन गर्ने समय निकाल्नुहोस्। (भजनसंग्रह ७७:१२; १४३:५) हो, मसीही सभाहरू र परमेश्वरको वचनमा नियमित मननले यहोवाको नाउँ जनसमक्ष घोषणा गर्ने महान सुअवसरको मूल्याङ्कन गर्न तपाईंलाई मदत दिनुपर्ने हो।
१३ यहोवाप्रति कृतज्ञताले भरिएको हृदयबाट हामी असल कुराहरू निकाल्छौं। येशूले यस्तो तर्क गर्नुभयो: “असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्टै थोक निकाल्दछ। किनकि हृदयमा जे प्रशस्त हुन्छ त्यही त्यसको मुखले बोल्दछ।” (लूका ६:४५) हाम्रा छिमेकीहरू, नातेदारहरू, र भनौं भने हामीले भेट्ने सबैलाई यहोवाको नाउँ र उहाँका उद्देश्यहरू बताउनु बाहेक जनसमक्ष ‘असल कुरा’ घोषणा गर्ने सर्वोत्तम तरिका अरू के नै हुन सक्छ र?
जनसमक्ष घोषणा गर्नुका परिणामहरू
१४ यहोवाका अगमवक्ताहरू आफ्नो सेवामा आनन्दित थिए र तिनीहरूले भनेका कुराहरूबाट ग्रहणशील स्रोताहरू लाभान्वित भए। तुलनात्मक ढङ्गमा हेर्ने हो भने, जनसमक्ष राज्य समाचार घोषणा गर्नाले त्यसका उद्घोषकहरूलाई ठूलो आनन्द ल्याउँछ। (प्रेरित २०:३५) अनि मूल्याङ्कनसहित सुन्नेहरूलाई यसले कस्तो लाभ पुऱ्याउँछ! सुसमाचार स्वीकार्नाले निराशामाथि विजय प्राप्त गर्न अथवा त्यसको सामना गर्न मानिसहरूलाई मदत गर्छ। शोकाकूल व्यक्तिहरू पुनरुत्थानको आशामा आनन्दित हुन्छन्। निकोटिन, हिरोइन र अन्य लागू पदार्थको कुलतबाट दुर्व्यसनीहरूलाई मुक्त गराउँछ। थुप्रैको नैतिक आचरण सुध्रिन्छ र बाइबल सच्चाइ स्वीकार्ने सबैले आध्यात्मिक स्वतन्त्रता पाउँछन्। (यूहन्ना ५:२८, २९; ८:३२) मानवजातिको एक मात्र आशाको रूपमा राज्यको घोषणा गर्दा दुष्टहरूलाई चेताउनी दिनुको साथसाथै सोझा हृदय भएका व्यक्तिहरूलाई आनन्दित तुल्याउँछ। यसप्रकार यस दुष्ट संसारमाथि ईश्वरीय न्याय कार्यान्वयन हुने समयको लागि मानिसहरू “अनन्त दण्ड” अथवा “अनन्त जीवन” को लागि छुट्याईंदैछ। (मत्ती २४:१४; २५:३१-४६; इजकिएल ३३:१-९; १ तिमोथी २:३, ४) हाम्रो प्रचार-कार्य संसारमा भइरहेका मध्ये सबैभन्दा व्यापक र विस्तृत तवरमा घोषित अपूर्व उद्धार कार्य हो!
१५ यहोवाको आधुनिक समयका साक्षीहरूको हैसियतमा हामी आनन्दित र आज्ञाकारी भएर हाम्रो स्वर्गीय पिताको सेवा गर्छौं। (रोमी १२:११) तसर्थ, जनसमक्ष र घर-घर गएर सुसमाचार प्रचार गर्ने कार्यमा नियमित तवरले भाग लिने समय छुट्याउन पाएकोमा हामी खुशी छौं। (प्रेरित ५:४२; २०:२०) हाम्रो इलाकामा केही योग्य व्यक्तिहरू अझै छन् भनी विश्वव्यापी रिपोर्टहरूले देखाउँछ। संसारको परिस्थिति परिवर्तन हुँदा विभिन्न तरिकामा मानिसहरू प्रभावित हुन्छन्। केही व्यक्तिहरू अप्रत्याशित ढङ्गमा विदेशी भूमिहरूमा शरणार्थी, परदेशीहरू भएका छन्। शायद तपाईंले प्रचार गर्नुहुने इलाकामा पनि त्यस्ता व्यक्तिहरू होलान्। यदि छन् भने, “सुसमाचारको सेवा गर्दै” तिनीहरूलाई आध्यात्मिक तवरमा यथाशक्य मदत देऔं। (रोमी १५:१६) त्यस्ता मानिसहरूलाई राज्यको सुसमाचार सुनाउन केही मसीहीहरूले अर्को भाषा सिकेका छन्।
१६ यहोवाका थुप्रै अगमवक्ताहरूलाई अह्राइएको काम असाध्यै गाह्रो थियो। अग्रहणशील मानिसहरूलाई ईश्वरीय समाचार सुनाउन तिनीहरूलाई सजिलो थिएन। त्यसरी नै, विशेषगरि सङ्कीर्ण विचारधाराका मानिसहरू बस्ने ठूलठूला इलाकाहरूमा यहोवाको नाउँ जनसमक्ष घोषणा गर्न यहोवाका प्रत्येक समर्पित जनलाई सजिलो हुँदैन। तर परमेश्वरको वचन प्रार्थनापूर्वक अध्ययन गर्दै र साथै यहोवाले प्रदान गर्नुहुने बलमा निर्धक्क भएर हामी राज्यको समाचार सुनाइरहन सक्छौं। (फिलिप्पी ४:१३; प्रकाश १४:६) यस सम्बन्धमा यहोवाका अगमवक्ताहरू र उहाँका पुरातन समयका अन्य सेवकहरूबाट हामी के सिक्न सक्छौं?
क्षेत्र सेवकाईमा सहचर
१७ आफूलाई दिइएको काम सम्पन्न गर्न परमेश्वरको अगमवक्ता मोशाले सुरुमा उनको दाइ हारूनको मदत पाएका थिए। यहोवाले मोशालाई यसो भन्नुभयो: “[हारून] चाहिं तेरो निम्ति मानिसहरूसित बोल्ने तेरो प्रवक्ता हुनेछ।” (प्रस्थान ४:१६) “अगमवक्ताहरूको एक दल” अर्थात् अगमवक्ता एलिया र एलीशाको समयलाई पनि ध्यान दिनुहोस्। तिनीहरू एकसाथ काम गर्ने परमेश्वरका सेवकहरूको समूह जस्तो देखिन्थ्यो र निस्सन्देह तिनीहरूले एकअर्काको रमाइलो सङ्गतिको आनन्द उठाए। (२ राजा २:३-५; ४:३८; १ शमूएल १०:५, १० तुलना गर्नुहोस्।) अवश्य मोशा अनि हारून र “अगमवक्ताहरूको एक दल” राज्यको सुसमाचार घोषणा गर्ने काममा संलग्न थिएनन्। यद्यपि तिनीहरूको सङ्गति सबैको लागि लाभदायी थियो। शताब्दीयौं पछि येशू ख्रीष्टले “दुइ दुइ गरी” ७० चेलाहरूलाई सेवकाईमा पठाउनुभयो र यसरी प्रदान गरिएको सहचरबाट तिनीहरूले निस्सन्देह लाभ उठाए।—लूका १०:१-१६; तुलना गर्नुहोस्, प्रेरित १७:१०, ११; २०:२०.
१८ सन् १९५३ मा यहोवाका साक्षीहरूले क्षेत्र सेवकाईमा राज्य प्रचारकहरू एकसाथ काम गर्ने कार्यक्रममा भाग लिए। पक्कै पनि यो सहचरको लागि मात्र तयार पारिएको थिएन। परमेश्वरका सेवकहरूलाई सुसमाचारको अझ प्रभावकारी शिक्षक र प्रचारकहरू बनाउन यस शिक्षण कार्यक्रम तयार पारिएको थियो। त्यसै उद्देश्यलाई मनमा राख्दै बढी अनुभवी राज्य प्रकाशकहरूले कम अनुभवीहरूसित सेवकाईमा भाग लिए। यस घर-घरको शिक्षण कार्यक्रम निकै लाभदायी भएको छ र जनसमक्ष यहोवाको नाउँ घोषणा गर्ने काममा उहाँका जनहरूलाई उन्नति गर्न मदत पुऱ्याएको छ। (१ तिमोथी ४:१६) आज, विशेषगरि केही क्षेत्रहरूमा मसीहीहरूले “दुइ दुइ गरी” सेवकाईमा भाग लिनु पर्ने एउटा अर्को कारण सुरक्षाको दृष्टिकोणले गर्दा पनि हो।
१९ तपाईं सेवकाईमा एक्लै होस् वा सङ्गी विश्वासीसित काम गरिरहनुभएको होस्, केही व्यक्तिगत लक्ष्य अथवा उद्देश्य प्राप्त गर्ने प्रयास गर्नुहोस्। त्यो लक्ष्य व्यावहारिक र आफूले प्राप्त गर्न सक्ने हुनुपर्छ। तपाईंको इलाकामा बस्ने मानिसहरूको चासो जगाउन के तपाईंले आफ्नो प्रस्तुतिमा काँटछाँट गर्नुपरेको छ? यदि छ भने, विशेषगरी अग्रगामी अर्थात् पूर्ण-समय प्रचारक अथवा राम्रा परिचयहरू प्रयोग गर्ने प्रभावकारी प्रचारकसित जान सक्नुहुन्छ। हाम्रो राज्य सेवकाई अथवा रीजनिङ्ग फ्रम द स्क्रिप्चर्स मा दिइएका परिचयहरू तयार गरेर प्रयोग गर्न तपाईंको साथीले तपाईंलाई मदत दिन सक्छ। कहिलेकाहीं घर-घरको सेवकाईमा सङ्गै काम गर्नुहुँदा तपाईंको साथीको प्रस्तुतिलाई ध्यान दिएर सुन्नुहोस्। त्यसपछि सेवकाईमा वार्तालाप सुरु गर्न अनुभवी हुनु नभएसम्म त्यस्तै प्रकारको प्रस्तुति प्रयोग गर्न तपाईंले पनि प्रयास गर्नुहोस्।
२० गृह बाइबल अध्ययन सुरु गर्ने उद्देश्य राखेर प्रभावकारी पुनःभेटहरू गर्न मदत चाहिएको छ भने के गर्न सकिन्छ? बाइबल अध्ययन थाल्न प्रभावकारी राज्य प्रकाशकसित क्षेत्र सेवकाईमा काम गर्न शायद तपाईंको पुस्तक अध्ययन सञ्चालकद्वारा प्रबन्ध मिलाउन सकिन्छ। सङ्गै गएर पुनःभेट गर्नुहुँदा मौन साथी मात्र नबन्नुहोस्। बरु, तपाईंको साथीले एउटा घरमा कुरा गरेको ढङ्गलाई सम्झेर तपाईंले अर्को पटक पुनःभेटमा त्यसै गर्नु लाभदायक हुन सक्छ। पछि तपाईंको साथीले मदत र सल्लाह दिन सक्छ।—गलाती ६:६ तुलना गर्नुहोस्।
२१ क्षेत्र सेवकाईमा साथीले दिने त्यस्तो मायालु मदतले सेवकाईमा आफ्ना लक्ष्य हासिल गर्न तपाईंलाई मदत मिल्न सक्छ। प्राप्त सहयोग र तपाईंलाई राज्य प्रचार क्रियाकलाप जस्तो सुअवसरमा सहभागी हुन यहोवाले देखाउनु भएको करूणाप्रति गहिरो मूल्याङ्कनले अझ प्रभावकारीतासित पूरा गर्न मदत मिल्नेछ। यहोवाबारे सधैं राम्रो कुरा गरेर अनि नियमित तवरमा उहाँको नाउँ जनसमक्ष घोषणा गरेर उहाँको प्रशंसा गर्न पाएको सुअवसरलाई तपाईंले मूल्यवान ठान्न सकोस्।—भजनसंग्रह १४५:१, २, ९-१३.
२२ यहोवाका साक्षीहरू हुनाले हामी घर-घरको सेवकाईमा बारम्बार मानिसहरूलाई भेट्छौं। गहिरो मूल्याङ्कनसहित धेरैले सुसमाचार सुनिरहेका छन्। तर, कोही कोही राज्य समाचार सुन्न हिचकिचाउन सक्छन्। त्यस्ता परिस्थितिहरूमा हामीले के गर्नुपर्छ? यहोवाले आफ्ना जनहरूलाई अह्राउनुभएको काममा हामी कसरी लागिरहन सक्छौं? कस्ता शास्त्रीय उदाहरणहरूले हामीलाई मदत गर्न वा डोऱ्याउन सक्छ? आउँदो लेखमा यी प्रश्नहरूको जवाफ दिइनेछ। (w94 9/15)
के तपाईंले यी बुँदाहरू बुझ्नुभयो?
◻ परमेश्वरलाई बलिदान चढाउने सन्दर्भमा होशे र प्रेरित पावल दुवैले के भने?
◻ इजकिएल र आमोसलाई कुन कुराले अगमवाणी गर्न उत्प्रेरित गऱ्यो?
◻ राज्य प्रचार-कार्यलाई हामीले कुन दृष्टिकोणले हेर्नुपर्छ?
◻ क्षेत्र सेवकाईमा सहचरबाट कस्ता लाभहरू हासिल गर्न सकिन्छ?
[अध्ययनका लागि प्रश्नहरू]
१. अगमवक्ता होशेले सङ्गी इस्राएलीहरूलाई के गर्न आग्रह गरे?
२. कस्तो बलिदान चढाउन प्रेरित पावलले मसीहीहरूलाई प्रोत्साहन दिए?
३. हामी यहोवालाई “स्तुतिको बलिदान” कसरी चढाउन सक्छौं र कसका क्रियाकलापहरू अब हामी केलाउनेछौं?
४, ५. (क) बाइबलको मौलिक भाषाहरूमा “अगमवक्ता” भनी अनुवाद गरिएको शब्दको मूल अर्थ के हो? (ख) परमेश्वरको प्रबन्धमा अगमवक्ताहरूको महत्त्वपूर्ण भूमिका थियो भनी कुन कुराले सङ्केत गर्छ?
६, ७. अगमवक्ता इजकिएललाई यहोवाले के खान लगाउनुभयो र यसले कस्तो प्रभाव पाऱ्यो?
८, ९. आमोसलाई कुन कुराले अगमवाणी गर्न उत्प्रेरित गऱ्यो?
१०. प्रचार-कार्यप्रति विरोध आइपर्दा यहोवाका आधुनिक समयका सेवकहरूले कस्तो प्रतिक्रिया व्यक्त गर्छन्?
११. जनसमक्ष यहोवाको नाउँ घोषणा गरिरहन हामीलाई कुन कुराले उत्प्रेरित गर्नुपर्छ?
१२. मसीही सभाहरू र मनन दुवैले कसरी जनसमक्ष घोषणा गर्न मदत गर्न सक्छ?
१३. हामी आफ्नो हृदयबाट “असल थोक” कसरी निकाल्छौं?
१४. (क) राज्य समाचारको उद्घोषक र श्रोताले के अनुभव गर्न सक्छन्? (ख) राज्य प्रचार-कार्यद्वारा कुन कुरा सम्पन्न भइरहेको छ?
१५. हामीले प्रचार गर्ने इलाकामा सम्भाव्य योग्य व्यक्तिहरूलाई मदत दिन के गर्न सकिन्छ?
१६. यहोवाको नाउँ घोषणा गरिरहन हामीलाई कुन कुराले मदत दिन सक्छ?
१७. परमेश्वरको सेवामा लाभदायी सहचरका केही शास्त्रीय उदाहरणहरू के के हुन्?
१८. आज सेवकाईमा सहचरले कसरी फाइदाजनक उद्देश्य पूरा गरिरहेको छ?
१९. सेवकाईमा व्यक्तिगत लक्ष्यहरू निर्धारण गर्दा कुन कुरा मनमा राख्नुपर्छ?
२०, २१. क्षेत्र सेवकाईमा सहचरलाई विशेषगरी कुन कुराले लाभदायी बनाउँछ?
२२. आउँदो लेखले कुन प्रश्नहरूको जवाफ दिन मदत दिनेछ?
[पृष्ठ २२-मा भएको चित्र]
उद्देश्यपूर्ण सहचरले हामीलाई सेवकाईमा प्रगति गर्न मदत पुऱ्याउन सक्छ