भलाइ गर्नुहोस् र आफूसँग भएका कुरा बाँडचुँड गर्नुहोस्
१ तबीता “असल काम गर्न र दान-पुण्यमा निपुण थिइन्।” (प्रेरि. ९:३६, ३९) आफ्नो उदार मनोभावको कारण तिनी आफूलाई चिन्नेहरूमाझ र यहोवा परमेश्वरको नजरमा प्रिय थिइन्। हिब्रू १३:१६ (NRV) यसो भन्छ: “भलाइ गर्न र आफूसँग भएका कुरा बाँडचूँड गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।” आज हामी कसरी भलाइ गर्न र आफूसँग भएका कुरा बाँडचुँड गर्न सक्छौं?
२ अरूलाई लाभ पुऱ्याउने एउटा तरिका आफ्नो “धन-सम्पत्ति” बाँडेर हो। (हितो. ३:९) विश्वव्यापी कार्यको लागि हामीले दिने अनुदानहरूले सारा विश्वभर राज्यभवन, सम्मेलनभवन तथा शाखाभवनहरू निर्माण गर्न सम्भव हुन्छ। हाम्रो उदारताको कारण लाखौंले ईश्वरतान्त्रिक निर्देशन तथा उत्थानदायी आध्यात्मिक सरसंगतिबाट लाभ उठाउन सकेका छन्।
३ सान्त्वना दिने: प्राकृतिक प्रकोप हुँदा यहोवाका जनहरू सँगी विश्वासीहरूका साथसाथै बेग्लै विश्वास भएका मानिसहरूतर्फ “भलाइको काम” गर्न तम्तयार हुन्छन्। (गला. ६:१०) फ्रान्समा एउटा रासायनिक कारखाना बिस्फोट भएपछि त्यो कारखाना नजिकै बसोबास गर्ने एक विवाहित दम्पतीले यसो भने: “हाम्रा मसीही भाइहरू तुरुन्तै मदत गर्न आइपुगे। उनीहरूले हाम्रो तथा हामी बसेको भवनको अरूका कोठाहरू पनि सरसफाइ गर्न सघाए। यति धेरै मानिसहरू मदत गर्न आएको देखेर हाम्रा छिमेकीहरू छक्क परे।” अर्की एक बहिनीले यसो भनिन्: “प्राचीनहरू हामीलाई मदत गर्न आइपुग्नुभयो। उहाँहरू हामीलाई प्रोत्साहन दिन आउनुभएको थियो। साँच्चै भन्ने हो भने, हामीलाई भौतिक कुराको भन्दा प्रोत्साहनको जरुरत थियो।”
४ हाम्रा छिमेकीहरूतर्फ भलाइको काम गर्ने थुप्रै तरिकाहरू भए तापनि हामीले उनीहरूलाई मदत गर्न सक्ने सर्वोत्तम तरिका भनेको सच्चाइको बहुमूल्य ज्ञान बाँडेर हो, जुन ज्ञानमा स्वयम् यहोवाले प्रतिज्ञा गर्नुभएको “अनन्त जीवनको आशा” समावेश छ। (ती. १:१, २) संसारको अवस्था देखेर अनि आफ्नै पापी अवस्थाको कारण शोक गर्नेहरूलाई बाइबलको सन्देशले साँचो सान्त्वना दिन्छ। (मत्ती ५:४) हाम्रो औकातले भ्याउन्जेल हामी भलाइ गर्न र आफूसँग भएका कुरा बाँडचुँड गर्न सकौं।—हितो. ३:२७.