अरू भेडा र नयाँ करार
“विश्राम–दिन मान्ने, र त्यसलाई बिटुलो पार्नदेखि अलग राख्ने विदेशीहरू जो परमप्रभुमा मिल्दछन्, म मेरो पवित्र पर्वतमा [तिनीहरूलाई ल्याउनेछु।]”—यशैया ५६:६, ७.
१. (क) यूहन्नाले देखेका दर्शनअनुसार यहोवाले न्यायको बतास रोकेर राख्दा के हुन्छ? (ख) यूहन्नाले कस्तो उल्लेखनीय भीड देखे?
प्रकाशको पुस्तकको चौथो दर्शनमा “परमेश्वरका इस्राएल[का]” सबै सदस्यहरूमाथि छाप नलागुञ्जेल यहोवाको न्यायको विनाशकारी बतास रोकेर राखिएको यूहन्नाले देखे। तिनीहरू येशू मार्फत आशिषित् हुने प्रथम व्यक्तिहरू अर्थात् अब्राहामका सन्तानको प्रमुख भाग हुन्। (गलाती ६:१६; उत्पत्ति २२:१८; प्रकाश ७:१-४) त्यही दर्शनमा यूहन्नाले “कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़, . . . ठूलो सोरले यसो भनेर . . . करा[एको देखे] ‘सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।’ ” (प्रकाश ७:९, १०) “थुमामा मुक्ति छ” भनी स्वीकार गरेर तिनीहरू पनि अब्राहामको सन्तान मार्फत आशिषित् भएका छन् भनी ठूलो भीडले देखाउँछन्।
२. ठूलो भीड कहिले देखा पऱ्यो र तिनीहरू कसरी चिनिन्छन्?
२ यो ठूलो भीड १९३५ मा चिनियो र अहिले यसको संख्या ५० लाख नाघिसक्यो। येशूले “भेड़ाहरूलाई बाख्राबाट” छुट्याउनुहुँदा महासंकष्टबाट बच्न योग्य यसका सदस्यहरू अनन्त जीवनको लागि अलग गर्नुहुनेछ। ठूलो भीडका मसीहीहरू येशूले भन्नुभएको गोठको दृष्टान्तका “अरू भेड़ा” हुन्। तिनीहरू पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशा राख्छन्।—मत्ती २५:३१-४६; यूहन्ना १०:१६; प्रकाश २१:३, ४.
३. नयाँ करारको सन्दर्भमा अभिषिक्त मसीहीहरू र अरू भेडा कसरी भिन्न छन्?
३ अब्राहामसित गरिएको करारको आशिष् १,४४,००० ले नयाँ करार मार्फत पाउनेछन्। उक्त करारका सहभागी भएको हुनाले तिनीहरू “अनुग्रहको अधीनमा” र “व्यवस्थाको अधीनमा” छन्। (रोमी ६:१५; १ कोरिन्थी ९:२१) तसर्थ, परमेश्वरको इस्राएलका १,४४,००० सदस्यहरूले मात्र येशूको मृत्युको स्मरणार्थको प्रतीकमा उचित रूपमा भाग लिन्छन् अनि तिनीहरूसँग मात्रै येशूले राज्यको करार बाँध्नुभएको छ। (लूका २२:१९, २०, २९) ठूलो भीडका सदस्यहरू नयाँ करारका सहभागी होइनन्। तथापि, तिनीहरू परमेश्वरका इस्राएलसँग संगत गर्छन् र तिनीहरूसँगै तिनीहरूको “देश[मा]” बास गर्छन्। (यशैया ६६:८) अतः तिनीहरू पनि यहोवाको अनुग्रहको अधीनमा र येशूको व्यवस्थाको अधीनमा छन् भन्नु उपयुक्त छ। तिनीहरू नयाँ करारका सहभागी नभएता पनि त्यसबाट लाभ भने उठाउँछन्।
“विदेशीहरू” र “परमेश्वरको इस्राएल”
४, ५. (क) यशैयाअनुसार कुन समूहले यहोवाको सेवा गर्नेथिए? (ख) कसरी यशैया ५६:६, ७ ठूलो भीडमा पूरा भएको छ?
४ अगमवक्ता यशैयाले लेखे: “परमप्रभुको सेवा गर्ने, र उहाँको नाउँलाई प्रेम गर्ने, उहाँको दास हुनलाई विश्राम–दिन मान्ने, र त्यसलाई बिटुलो पार्नदेखि अलग राख्ने विदेशीहरू जो परमप्रभुमा मिल्दछन्, म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा तिनीहरूलाई आनन्दित तुल्याउनेछु। तिनीहरूका होमबलि र बलिदान मेरो वेदीमा ग्रहणयोग्य हुनेछन्।” (यशैया ५६:६, ७) यसको अर्थ, इस्राएलमा “विदेशीहरू” अर्थात् गैरयहूदीहरूले पनि यहोवाको उपासना गर्नसक्थे। यहोवाको नाउँ प्रेम गरेर, व्यवस्था बाचाका सर्तहरू पालन गरेर, विश्राम दिन मानेर अनि मन्दिरमा अर्थात् “प्रार्थनाको घर[मा]” बलिदान चढाएर तिनीहरूले त्यस्तो उपासना गर्नसक्थे।—मत्ती २१:१३.
५ हाम्रो समयमा ‘परमप्रभुमा मिल्ने विदेशीहरू’ ठूलो भीड हुन्। तिनीहरूले परमेश्वरको इस्राएलसित काँधमा काँध मिलाएर यहोवाको सेवा गर्छन्। (जकरिया ८:२३) तिनीहरूले पनि परमेश्वरको इस्राएलले झैं ग्रहणयोग्य बलिदानहरू चढाउँछन्। (हिब्रू १३:१५, १६) तिनीहरू परमेश्वरको आध्यात्मिक मन्दिर अर्थात् “प्रार्थनाको घर[मा]” उपासना गर्छन्। (प्रकाश ७:१५ तुलना गर्नुहोस्।) के तिनीहरू साप्ताहिक विश्राम दिन मनाउँछन्? अहँ, न त अभिषिक्त जनलाई न अरू भेडालाई नै विश्राम दिन मनाउने आज्ञा दिइएको छ। (कलस्सी २:१६, १७) तथापि, पावलले अभिषिक्त हिब्रू मसीहीहरूलाई यसो भने: “परमेश्वरका मानिसहरूका निम्ति विश्राम-दिनको आरामी बाँकीनै छ। किनकि उहाँको विश्राममा प्रवेश गर्नेले परमेश्वर आफैले गर्नुभएझैं आफ्नो कामबाट त्यसले पनि विश्राम लिएको हुनुपर्छ।” (हिब्रू ४:९, १०) आफूलाई “परमेश्वरको धार्मिकताको” अधीनमा राखेपछि र व्यवस्थाको कामद्वारा आफूलाई सही ठहऱ्याउन छोडेपछि ती हिब्रूहरू उक्त “विश्राम-दिन[मा]” प्रवेश गरे। (रोमी १०:३, ४) यहोवाको धार्मिकताको अधीनमा रहेर अन्यजातिका अभिषिक्त मसीहीहरू पनि त्यस्तै विश्राम दिन मनाउँछन्। त्यो विश्राममा ठूलो भीडले पनि भाग लिन्छन्।
६. अहिले अरू भेडा कसरी नयाँ करारको अधीनमा छन्?
६ साथै पहिलेका विदेशीहरू व्यवस्था बाचाको अधीनमा रहेझैं अरू भेडाहरू नयाँ करारको अधीनमा रहन्छन्। कुन तरिकामा? त्यसैको सहभागी बनेर त होइन तर त्यससित सम्बन्धित व्यवस्थाको अधीनमा रहेर अनि त्यसका प्रबन्धहरूबाट लाभ उठाएर। (यर्मिया ३१:३३, ३४ तुलना गर्नुहोस्।) अभिषिक्त जनहरूजस्तै अरू भेडासँग पनि यहोवाको व्यवस्था ‘तिनीहरूको हृदयमा’ छ। तिनीहरू यहोवाका आज्ञाहरू तथा सिद्धान्तहरूलाई गहिरो प्रेम गर्छन् र त्यसलाई पालन गर्छन्। (भजन ३७:३१; ११९:९७) अभिषिक्त मसीहीहरूले जस्तै तिनीहरूले पनि यहोवालाई चिन्छन्। (यूहन्ना १७:३) त्यसोभए खतना नि? नयाँ करार बाँधिनुभन्दा लगभग १,५०० वर्षअघि मोशाले इस्राएलीहरूलाई यस्तो आग्रह गरे: “आफ्ना मन परिवर्तन [“खतना,” NW] गर।” (व्यवस्था १०:१६; यर्मिया ४:४) व्यवस्थासँगसँगै शारीरिक खतना गर्नुपर्ने बाध्यता पनि खारेज भए तापनि अभिषिक्त र अरू भेडा दुवैले मनको “खतना” भने गर्नैपर्छ। (कलस्सी २:११) अन्ततः येशूको ‘करारको रगतको’ आधारमा अरू भेडाका गल्तीहरू यहोवाले क्षमा गर्नुहुनेछ। (मत्ती २६:२८; १ यूहन्ना १:९; २:२) तर उहाँले १,४४,००० जस्ता आत्मिक पुत्रहरूको रूपमा तिनीहरूलाई स्वीकार्नुहुने छैन। तर परमेश्वरको मित्रको हैसियतमा जसरी अब्राहाम धार्मिक गनिए त्यसरी नै अरू भेडालाई परमेश्वरले धार्मिक घोषित गर्नुहुन्छ।—मत्ती २५:४६; रोमी ४:२, ३; याकूब २:२३.
७. अब्राहामजस्तै धार्मिक घोषित हुने अरू भेडाका लागि आज कस्ता प्रत्याशाहरू छन्?
७ धार्मिक घोषित भएपछि १,४४,००० को निम्ति येशूसँग स्वर्गीय राज्यमा शासन गर्ने आशाको बाटो खोलिनेछ। (रोमी ८:१६, १७; गलाती २:१६) अरू भेडाहरू परमेश्वरको मित्रको हैसियतमा धार्मिक घोषित भएपछि तिनीहरूले पार्थिव प्रमोदवनमा अनन्त जीवनको आशा पाउनेछन्। ठूलो भीडको भाग भएर आरमागेडोनबाट बचेर वा ‘धर्मीहरूको पुनरुत्थानद्वारा’ त्यो आशा पूरा हुनेछ। (प्रेरित २४:१५) त्यस्तो आशा पाउनु र ब्रह्माण्डका सार्वभौमको मित्र हुन तथा उहाँको ‘बासस्थानमा बास गर्न पाउनु’ कत्ति ठूलो सुअवसर! (भजन १५:१, २) हो, अब्राहामका सन्तान येशू मार्फत अभिषिक्त जन तथा अरू भेडाहरूले अद्भुत तरिकामा आशिष् पाएका छन्।
महान् प्रायश्चितको दिन
८. व्यवस्थामा दिइएको प्रायश्चितको दिनको बलिदानले कुन कुराको पूर्वचित्रण गऱ्यो?
८ नयाँ करारबारे छलफल गर्दा पावलले पाठकहरूलाई व्यवस्था बाचामा दिइएको वार्षिक प्रायश्चितको दिनको स्मरण गराए। त्यस दिन, पूजाहारी कुल लेवी र गैरपूजाहारी १२ कुलहरूका लागि छुट्टाछुट्टै बलिदान चढाइन्थ्यो। ती बलिदानले येशूको महान् बलिदानको पूर्वचित्रण गर्थ्यो जुन बलिदानबाट स्वर्गीय आशा भएका १,४४,००० तथा पार्थिव आशा भएका लाखौंले लाभ उठाउनेथिए।a प्रायश्चितको दिन पूरा भएपछि येशूको बलिदानका लाभहरू नयाँ करारको महान् प्रायश्चितको दिन मार्फत उपलब्ध हुनेछ। मानिसजातिले “अनन्त उद्धार प्राप्त” गरून् भन्ने हेतुले यस महान् दिनका प्रधान पूजाहारीको हैसियतमा येशूले आफ्नो सिद्ध जीवन प्रायश्चितको बलिदानको रूपमा अर्पण गर्नुभयो।—हिब्रू ९:११-२४.
९. हिब्रू अभिषिक्त मसीहीहरू नयाँ करारमा भएको हुनाले तिनीहरूले के पाउनसक्छन्?
९ प्रथम शताब्दीका थुप्रै हिब्रू मसीहीहरू ‘[मोशाको] व्यवस्थामा खुरन्धार लागिरहेका’ थिए। (प्रेरित २१:२०) तसर्थ, पावलले तिनीहरूलाई यस्तो स्मरण गराउनु एकदमै उचित थियो: “पहिला करारमा भएका अपराधहरूका उद्धारको निम्ति मृत्यु भइसकेको हुनाले, बोलावट भएकाहरूले अनन्त हकको प्रतिज्ञा पाउन् भनेर नयाँ करारको मध्यस्थ [येशू] हुनुभएको हो।” (हिब्रू ९:१५) तिनीहरूका असंख्य पाप देखाउने पुरानो करारबाट हिब्रू मसीहीहरूलाई नयाँ करारले स्वतन्त्र तुल्यायो। नयाँ करारले गर्दा नै तिनीहरू “अनन्त [स्वर्गीय] हकको प्रतिज्ञा [स्वीकार्न सके]।”
१०. अभिषिक्त जन र अरू भेडाले केको लागि परमेश्वरलाई धन्यवाद दिन्छन्?
१० ‘पुत्रमाथि विश्वास गर्ने’ “प्रत्येक” व्यक्तिले छुडौतिको बलिदानबाट लाभ उठाउनेछ। (यूहन्ना ३:१६, ३६) पावलले भने: “ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नालाई एकैचोटि बलिदान भएर, पापको वास्ता नराखेर, उहाँको प्रतीक्षा गर्नेहरूको मुक्तिको निम्ति दोस्रोचोटि देखा पर्नुहुनेछ।” (हिब्रू ९:२८) आज जीवित रहेका अभिषिक्त मसीहीहरू र ठूलो भीडका लाखौं व्यक्तिहरू उत्सुकतासाथ येशूको प्रतीक्षा गरिरहेछन्। ठूलो भीड पनि अनन्तको उत्तराधिकारी हुनेछन्। नयाँ करार र त्यसबाट प्राप्त हुने जीवनदायी आशिष्हरूका लागि दुवै वर्गका व्यक्तिहरू परमेश्वरप्रति कृतज्ञ छन्। ती आशिष्हरूमा महान् प्रायश्चितको दिन र प्रधान पूजाहारी येशूले स्वर्गको महापवित्रस्थानमा निर्वाह गर्नुहुने सेवा पनि बिथोलित छ।
पवित्र सेवामा व्यस्त
११. येशूको बलिदानद्वारा अन्तस्करण शुद्ध बनाएर अभिषिक्त जन र अरू भेडाले कुन काम आनन्दसाथ गर्छन्?
११ पुरानो करारबमोजिम चढाइने पापबलिको तुलनामा नयाँ करारको प्रबन्धअनुरूप येशूले चढाउनुभएको बलिदान सर्वश्रेष्ठ छ भनी पावलले हिब्रूहरूलाई लेखेका पत्रमा जोड दिए। (हिब्रू ९:१३-१५) येशूको श्रेष्ठ बलिदानले ‘जीवित परमेश्वरको सेवा गर्नालाई . . . [हाम्रो] विवेकलाई शक्तिहीन कामहरूबाट . . . शुद्ध पार्छ।’ हिब्रू मसीहीहरूको ‘शक्तिहीन कामहरूमध्ये’ “पहिला करारमा भएका अपराधहरू” पनि थिए। साँचो हृदयले पश्चात्ताप गरिसकेका र यहोवाले पनि क्षमा गरी सक्नुभएका विगतका पापहरू अहिलेका मसीहीहरूका शक्तिहीन कामहरूमध्ये हुन्। (१ कोरिन्थी ६:९-११) यसरी अन्तस्करण शुद्ध पारिसकेपछि अभिषिक्त मसीहीहरू “जीवित परमेश्वरको सेवा ग[र्छन्]।” अनि ठूलो भीडले पनि त्यसै गर्छन्। तिनीहरूले आफ्नो अन्तस्करण “थुमाको रगतमा धोएर” शुद्ध बनाएपछि परमेश्वरको महान् आध्यात्मिक मन्दिरमा “दिन-रात उहाँको . . . सेवा गर्दछन्।”—प्रकाश ७:१४, १५.
१२. हामीसँग “विश्वासको पूर्ण भरोसा” छ भनेर कसरी प्रदर्शित गर्छौं?
१२ यसको अतिरिक्त, पावलले यसो भने: “हाम्रा हृदय खराब विवेकबाट सफासँग छर्किएको र हाम्रा शरीर चोखो पानीले पखालिएको भई, हामी सच्चा हृदयसँग विश्वासको पूर्ण भरोसाले नजीक बढ़ौं।” (हिब्रू १०:२२) हामीसँग “विश्वासको पूर्ण भरोसा” छ भनेर कसरी देखाउनसक्छौं? पावलले हिब्रू मसीहीहरूलाई यस्तो आग्रह गरे: “यो नडग्मगाओस् भनेर हाम्रो [स्वर्गीय] आशाको स्वीकारलाई हामी दृढ़सँग थामिराखौं। किनभने प्रतिज्ञा गर्नुहुने जो हुनुहुन्छ, उहाँ विश्वासयोग्य हुनुहुन्छ। औ प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन् बढ़ता गरेर अर्ती दिंदै गरौं।” (हिब्रू १०:२३-२५) हाम्रो विश्वास जल्दोबल्दो छ भने हामी पनि ‘एक ठाउँमा भेला हुनालाई छोडदैनौं।’ हाम्रा भाइहरूलाई प्रेम र सुकर्ममा उत्तेजित गराउँदा र आफू पनि तिनीहरूद्वारा त्यसरी नै उत्तेजित हुँदा हामी हर्षित हुन्छौं। अनि हाम्रो आशालाई आमघोषणा गर्ने महत्त्वपूर्ण काममा बलियो हुन्छौं, चाहे त्यो आशा पार्थिव होस् वा स्वर्गीय।—यूहन्ना १३:३५.
“अनन्त करार”
१३, १४. कुन अर्थमा नयाँ करार अनन्तसम्म रहनेछ?
१३ एक लाख चवालीस हजारका अन्तिम सदस्यले आफ्नो स्वर्गीय आशा पाएपछि के हुन्छ? के तब नयाँ करार बेकम्मा हुनेछ? त्यतिखेर परमेश्वरको इस्राएलका कुनै पनि सदस्य पृथ्वीमा हुनेछैन। यस करारका सबै सहभागीहरू येशूसँग “[उहाँको] पिताको राज्यमा” हुनेछन्। (मत्ती २६:२९) तर हामी प्रेरित पावलले हिब्रूहरूलाई पत्रमा लेखेका शब्दहरू सम्झन्छौं: “शान्तिका परमेश्वर[ले] भेड़ाका महान् गोठाला[लाई] अनन्त करारको रगतले मरेकाहरूबाट उठाउनुभयो।” (हिब्रू १३:२०; यशैया ५५:३) कुन अर्थमा नयाँ करार अनन्तसम्म रहनेछ?
१४ प्रथमतः व्यवस्था बाचाझैं नयाँ करार रद्द हुनेछैन। दोस्रो कुरा, येशूको राजत्वझैं त्यसको प्रभाव स्थायी हुनेछ। (१ कोरिन्थी १५:२७, २८ सँग लूका १:३३ तुलना गर्नुहोस्।) यहोवाका उद्देश्यअन्तर्गत स्वर्गीय राज्यको महत्त्व अनन्तसम्म रहिरहनेछ। (प्रकाश २२:५) अनि तेस्रो कुरा, नयाँ करारको प्रबन्धबाट अरू भेडा सधैंभरि लाभान्वित भइरहनेछन्। विश्वासी मानिसहरूले अहिलेझैं ख्रीष्टको हजार वर्षीय शासनकालमा पनि “दिन-रात [यहोवाको] मन्दिरमा सेवा गर्दछन्।” येशूको ‘करारको रगतको’ आधारमा क्षमा भइसकेका तिनीहरूका विगतका पापहरू यहोवाले पुनः सम्झनु हुनेछैन। यहोवाका मित्रको हैसियतमा तिनीहरूको धार्मिक स्तर कायमै रहनेछ र उहाँको व्यवस्था तिनीहरूको हृदयबाट मेटिनेछैन।
१५. नयाँ संसारमा आफ्ना पार्थिव उपासकहरूसँग यहोवाको कस्तो सम्बन्ध हुनेछ, व्याख्या गर्नुहोस्।
१५ तब के यी सेवकहरूलाई यहोवाले यसो भन्न सक्नुहुनेछ: “म तिनीहरूका परमेश्वर हुँ अनि तिनीहरू मेरा मानिसहरू हुन्”? अवश्य सक्नुहुनेछ। “उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्।” (प्रकाश २१:३) तिनीहरू “पवित्र जनहरूका छाउनी” हुनेछन् अर्थात् “प्रिय शहरहरू[का]” पार्थिव प्रतिनिधिहरू, येशू ख्रीष्टका स्वर्गीय दुलहीहरू। (प्रकाश १४:१; २०:९; २१:२) येशूको ‘करारको रगतमा’ विश्वास गरेका अनि एकताक यसै पृथ्वीमा परमेश्वरको इस्राएल हुने स्वर्गीय राजा तथा पूजाहारीको अधीनमा बसेका हुनाले नै तिनीहरूका लागि उक्त कुरा सम्भव हुनेछ।—प्रकाश ५:१०.
१६. (क) पृथ्वीमा पुनरुत्थान हुनेहरूलाई कस्ता कुराहरूले प्रतीक्षा गरिरहेका हुनसक्छन्? (ख) हजार वर्षको अन्तमा कस्ता आशिष्हरू हुनेछन्?
१६ पृथ्वीमा पुनरुत्थान भएका मृत जनहरू चाहिं के हुन्छन्? (यूहन्ना ५:२८, २९) तिनीहरू पनि अब्राहामका सन्तान येशू मार्फत “आशीर्वादी हुन” निम्त्याइनेछन्। (उत्पत्ति २२:१८) तिनीहरूले पनि यहोवाको नाउँलाई प्रेम गर्नुपर्छ, उहाँको सेवा गर्नुपर्छ, ग्रहणयोग्य बलिदानहरू चढाउनुपर्छ अनि प्रार्थनाको घरमा पवित्र सेवा गर्नुपर्छ। त्यसो गर्नेहरू परमेश्वरको विश्राममा प्रवेश गर्नेछन्। (यशैया ५६:६, ७) हजार वर्षको अन्तमा येशू ख्रीष्ट र उहाँका १,४४,००० सह-पूजाहारीहरूको कामद्वारा सबै विश्वासी जनहरूले मानव सिद्धता प्राप्त गरिसकेका हुनेछन्। तिनीहरू परमेश्वरका मित्रहरूको हैसियतमा धार्मिक घोषित गरिने मात्र होइन तर पक्कै धार्मिक हुनेछन्। आदमबाट वंशानुगत पाएका पाप र मृत्युबाट पूर्णतया स्वतन्त्र भएर तिनीहरू ‘बाँच्नेछन्।’ (प्रकाश २०:५; २२:२) कस्तो महान् आशिष्! हाम्रो दृष्टिकोणअनुसार त्यतिखेर येशू र १,४४,००० को पूजाहारी काम पूरा हुन्छ जस्तो देखिन्छ। महान् प्रायश्चितको दिनको आशिष्हरू पूर्णतया लागू हुनेछ। साथै, येशूले ‘परमेश्वर, अर्थात् पितालाई राज्य सुम्पनुहुनेछ।’ (१ कोरिन्थी १५:२४) तब मानिसजातिको आखिरी जाँच हुनेछ र त्यसपछि शैतान अनि त्यसका प्रेतहरू सदाको लागि नाश गरिनेछन्।—प्रकाश २०:७, १०.
१७. हामीले प्रतीक्षा गरिरहेको आनन्दलाई विचार गर्दा हामी प्रत्येकले के गर्ने अठोट गर्नुपर्ने हो?
१७ उक्त घटनापछि सुरु हुने रोमाञ्चकारी युगमा ‘अनन्तको करारको’ कुनै भूमिका छ भने त्यो के होला? त्यो त हामी भन्न सक्दैनौं। यहोवाले अहिलेसम्म जे जति प्रकट गर्नुभएको छ, अहिलेलाई त्यो यथेष्ट छ। ती कुराहरूले हामीलाई विस्मित तुल्याउँछन्। यसो विचार गर्नुहोस् त, अनन्त जीवन “नयाँ स्वर्ग र नयाँ पृथ्वीको” भागको रूपमा हुनेछ। (२ पत्रुस ३:१३) त्यो प्रतिज्ञा प्राप्त गर्ने हाम्रो इच्छा कुनै कुराले फितलो बनाउन नपाओस्। दृढ रहन सजिलो नहोला। पावलले यसो भने: “परमेश्वरको इच्छा पालन गरेर प्रतिज्ञाको फल पाइने भएको हुनाले तिमीहरूलाई धीरजको आवश्यकता छ।” (हिब्रू १०:३६) तथापि, जुनसुकै समस्या सामना गर्नुपरोस्, जस्तोसुकै विरोध पार गर्नुपरोस्, हामीले प्रतीक्षा गर्ने आनन्दको तुलनामा त्यो केही पनि होइन भन्ने नबिर्सनुहोस्। (२ कोरिन्थी ४:१७) तसर्थ, हामी “विनाशसम्म पुग्नेगरी पछि हट्नेहरूमध्येका” नहोऔं। बरु, “आत्माको उद्धारको निम्ति विश्वास गर्नेहरूमध्येका हौं” भनी प्रमाणित गर्नसकौं। (हिब्रू १०:३९) हामी सबैलाई अनन्तको आशिष् दिनुहुने करारका परमेश्वर यहोवामा पूर्ण भरोसा राख्नसकौं।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित नयाँ पृथ्वीमा तपाईंको बचाउ (अंग्रेजी) पुस्तकको अध्याय १३ हेर्नुहोस्।
के तपाईंले बुझ्नुभयो?
◻ अभिषिक्त मसीहीहरूबाहेक अरू को पनि अब्राहामको सन्तान मार्फत आशिषित् भएका छन्?
◻ नयाँ करारद्वारा आशिषित् भएका यहूदी धर्म अपनाउनेहरूजस्ता अरू भेडाहरू कसरी पुरानो करारको अधीनमा छन्?
◻ महान् प्रयाश्चितको दिनको प्रबन्धद्वारा अरू भेडा कसरी आशिषित् भएका छन्?
◻ पावलले नयाँ करारलाई किन “अनन्तको करार” भने?
[पृष्ठ २१-मा भएको पेटी]
मन्दिरमा पवित्र सेवा
ठूलो भीडले अभिषिक्त मसीहीहरूसँगै यहोवाको महान् आध्यात्मिक मन्दिरको पार्थिव चोकमा उपासना गर्छन्। (प्रकाश ७:१४, १५; ११:२) तिनीहरू अन्यजातिहरूको छुट्टै चोकमा छन् भनी निर्क्योल गर्ने कुनै कारण छैन। येशू पृथ्वीमा हुनुहुँदा मन्दिरमा अन्यजातिहरूको एउटा चोक थियो। तथापि, ईश्वरप्रेरित योजनाअनुसार सुलेमान र इजकिएलले बनाएको मन्दिरमा भने अन्यजातिहरूका लागि कुनै प्रबन्ध थिएन। सुलेमानको मन्दिरमा एउटा बाहिरी चोक थियो अनि त्यहाँ इस्राएलीहरू र यहूदीधर्म अपनाउनेहरू, पुरुषहरू र स्त्रीहरूले एकसाथ उपासना गर्थे। त्यो आध्यात्मिक मन्दिरको पार्थिव चोकको भविष्यसूचक नमुना थियो जहाँ ठूलो भीडले पवित्र सेवा चढाइरहेको यूहन्नाले देखेका थिए।
तथापि, पूजाहारीहरू र लेवीहरू मात्र भित्री चोकमा प्रवेश गर्नसक्थे र त्यहीं महान् वेदी हुन्थ्यो; पूजाहारीहरू मात्र पवित्रस्थानमा प्रवेश गर्नसक्थे; अनि प्रधान पूजाहारी मात्र महापवित्रस्थानमा प्रवेश गर्नसक्थे। भित्री चोक र पवित्रस्थानले पृथ्वीमा हुँदा अभिषिक्त मसीहीहरूको अनुपम आध्यात्मिक अवस्थालाई पूर्वसंकेत गरेको बुझिन्छ। अनि महापवित्रस्थानले चाहिं स्वर्गलाई नै संकेत गर्छ जहाँ अभिषिक्त मसीहीहरूले तिनीहरूका प्रधान पूजाहारीसँगै अमर जीवन पाउनेछन्।—हिब्रू १०:१९, २०.
[पृष्ठ २३-मा भएको चित्र]
हामीले प्रतीक्षा गरिरहेको आनन्दलाई विचार गरेर “आत्माको उद्धारको निम्ति विश्वास” गरौं