अभिवादन गर्न नहिचकिचाऔँ!
“नमस्ते! सन्चै हुनुहुन्छ?”
तपाईँले पनि थुप्रै चोटि अरूलाई यसरी नै अभिवादन गर्नुभएको छ होला। अनि अभिवादन गर्दा हात मिलाउने वा अङ्गालो हाल्ने पनि गर्नुभएको छ होला। अभिवादन गर्ने चलन वा अभिवादन गर्दा बोलिने शब्द ठाउँअनुसार फरक-फरक हुन सक्छ तर अभिवादन गर्नुको मुख्य उद्देश्य भने धेरैजसो एउटै हुन्छ। हुन पनि अभिवादन नगर्दा वा अरूको अभिवादनलाई बेवास्ता गर्दा रुखो भएको वा सोमत नभएको जस्तो देखिन सक्छ।
तर अभिवादन गर्न सबैलाई सजिलो लाग्छ भन्ने छैन। कोही-कोही लाजले गर्दा वा आत्मसम्मानको कमीले गर्दा अरूलाई अभिवादन गर्न हिचकिचाउँछन्। कतिलाई चाहिँ फरक जात र संस्कृतिका वा समाजमा आफूभन्दा फरक स्तर भएका मानिसहरूलाई अभिवादन गर्न अप्ठेरो लाग्छ। तर एउटा छोटो अभिवादनले मात्र पनि निकै सकारात्मक प्रभाव पार्न सक्छ।
आफैलाई सोध्नुहोस्: ‘अभिवादनले कसरी सकारात्मक प्रभाव पार्छ? अभिवादन गर्नेबारे परमेश्वरको वचनले के सिकाउँछ?’
“हरप्रकारका मानिसहरू”-लाई अभिवादन गर
प्रेषित पत्रुसले पहिलो गैर-यहूदी ख्रीष्टियन कर्नीलियसलाई मण्डलीमा स्वागत गर्दा यसो भने: “परमेश्वर पक्षपाती हुनुहुन्न।” (प्रेषि. १०:३४) पछि तिनले परमेश्वर “सबैले पश्चाताप गरून् भन्ने चाहनुहुन्छ” भनेर लेखे। (२ पत्रु. ३:९) यी पदहरू विचार गर्दा हामीलाई भर्खरै सत्य सिक्दै गरेका मानिसहरू याद आउन सक्छ। तर पत्रुसले ख्रीष्टियनहरूलाई पनि यस्तो आग्रह गरे: “हरप्रकारका मानिसहरूको आदर गर, सबै भाइहरूलाई प्रेम गर।” (१ पत्रु. २:१७) त्यसैले हरेक जात, संस्कृति वा पृष्ठभूमिका मानिसहरूलाई अभिवादन गर्नु राम्रो कुरा हो भनेर हामी भन्न सक्छौँ। अरूलाई अभिवादन गर्दा हामी तिनीहरूलाई प्रेम र आदर गर्छौँ भनेर देखाइरहेका हुन्छौँ।
मण्डलीका भाइबहिनीलाई प्रेषित पावलले यस्तो प्रोत्साहन दिए: “जसरी ख्रीष्टले हामीलाई स्वीकार्नुभयो, त्यसरी नै एक-अर्कालाई स्वीकार गर।” (रोमी १५:७) आफूलाई “बल दिने” भाइहरूबारे पावलले नामै तोकेर उल्लेख गरे। आज हामीले एक अर्कालाई बल दिनु झनै जरुरी छ किनकि सैतान परमेश्वरका जनहरूलाई आक्रमण गर्न पहिलेभन्दा अझै लागिपरेको छ।—कल. ४:११; प्रका. १२:१२, १७.
बाइबलमा उल्लेख गरिएका उदाहरणहरूबाट के थाह हुन्छ भने, अभिवादनले केवल अरूलाई स्वागत गरेको महसुस मात्र गराउँदैन, त्यसले अझै ठूलो प्रभाव पार्छ।
आश्वासन दिन्छ, प्रोत्साहन दिन्छ, प्रेम प्रकट गर्छ
परमेश्वरको छोराको जीवन मरियमको गर्भमा सार्ने बेला आएपछि परमेश्वरले एक जना स्वर्गदूतलाई मरियमसित कुरा गर्न पठाउनुभयो। स्वर्गदूतले यसरी कुराकानी सुरु गरे: “हे परमेश्वरको निगाह-पात्र, तिमीलाई अभिवादन छ। यहोवा तिमीसित हुनुहुन्छ।” स्वर्गदूतको कुरा सुनेर मरियम “साह्रै घबराइन्” किनकि स्वर्गदूत किन तिनीसित कुरा गर्न आए भनेर तिनलाई थाह थिएन। तब स्वर्गदूतले मरियमलाई भने: “नडराऊ मरियम, किनकि तिमीले परमेश्वरको निगाह पाएकी छ्यौ।” तिनको कोखबाट मसीहको जन्म हुनु परमेश्वरकै उद्देश्य हो भनेर ती स्वर्गदूतले मरियमलाई बताए। त्यसपछि मरियम डराइनन् बरु आज्ञाकारी हुँदै यस्तो जवाफ दिइन्: “हेर्नुहोस्, म यहोवाकी दासी हुँ! तपाईंले घोषणा गर्नुभएअनुसारै मलाई होस्।”—लूका १:२६-३८.
परमेश्वरको सन्देशवाहक हुन पाउनु ती स्वर्गदूतको लागि सुअवसर थियो। तर स्वर्गदूत भएर त्रुटिपूर्ण मानिसलाई अभिवादन गर्न सुहाउँदैन भन्ने सोचाइ तिनले राखेनन्। तिनले मरियमलाई अभिवादन गरेर कुराकानी सुरु गरे। यसबाट हामी के सिक्न सक्छौँ? अरूलाई अभिवादन गर्न अनि प्रोत्साहन दिन हामी हिचकिचाउनु हुँदैन। दुई-चार शब्द मात्रै बोलेर पनि हामी अरूलाई मदत गर्न सक्छौँ र तिनीहरू यहोवाको परिवारका सदस्य हुन् भन्ने कुरामा ढुक्क बनाउन सक्छौँ।
एसिया माइनर र युरोपको मण्डलीमा भएका थुप्रै भाइबहिनीसित पावलको चिनजान थियो। तिनले लेखेका पत्रहरूमा थुप्रै पटक तिनले भाइबहिनीको नाम तोकेरै अभिवादन गरे। रोमी अध्याय १६ मा तिनले थुप्रै सङ्गी ख्रीष्टियनहरूलाई अभिवादन पठाए। तिनले फिबीलाई “हाम्री बहिनी” भने अनि अरू भाइबहिनीलाई यस्तो आग्रह गरे: “पवित्र जनहरूलाई जसरी स्वागत गर्नुपर्ने हो, तिमीहरूले उनलाई पनि प्रभुमा त्यसरी नै स्वागत गर अनि उनलाई तिमीहरूबाट जे-जस्तो मदतको खाँचो पर्छ, सहयोग गर।” पावलले प्रिस्का र अक्वीलालाई पनि अभिवादन पठाए अनि तिनीहरूबारे यसो भने: ‘तिनीहरूलाई मैले मात्र होइन तर अन्यजातिका सबै मण्डलीले पनि धन्यवाद दिन्छन्।’ तिनले अरू भाइबहिनीलाई पनि अभिवादन पठाए, जसबारे आज हामीलाई खासै केही पनि थाह छैन। जस्तै, “प्रिय इपेनितस” अनि ‘त्रिफेना र त्रिफोसा, जसले प्रभुमा कडा परिश्रम गरिरहेका थिए।’ हो, पावलले आफ्ना भाइबहिनीलाई खुलेर अभिवादन गरे।—रोमी १६:१-१६.
पावलले भाइबहिनीको मीठो सम्झना गरेको कुरा थाह पाउँदा ती भाइबहिनीलाई कत्ति खुसी लाग्यो होला! यसले गर्दा तिनीहरूले पावललाई र एक अर्कालाई अझ धेरै प्रेम गर्न सकेको हुनुपर्छ। अनि त्यो मायालु अभिवादन सुनेर अरू ख्रीष्टियन भाइबहिनीले पनि पक्कै प्रोत्साहन पाएको हुनुपर्छ अनि आफ्नो विश्वास बलियो बनाइराख्न बल पाएको हुनुपर्छ। साँच्चै, अरूको चासो राखेर मनैदेखि गरिने अभिवादन र प्रशंसाले मित्रतालाई बलियो बनाउँछ र परमेश्वरका वफादार जनहरूलाई एकतामा बाँधिन मदत गर्छ।
पावल पटिओली बन्दरगाह पुगेर रोमतर्फ जाँदै गर्दा रोमका ख्रीष्टियनहरू तिनलाई भेट्न दक्षिणतिर आए। उनीहरू आउँदै गरेको देखेपछि “पावलले परमेश्वरलाई धन्यवाद दिए र हौसला पाए।” (प्रेषि. २८:१३-१५) कहिलेकाहीँ हामी परैबाट मुस्कुराउन वा हात हल्लाउन मात्र भ्याउँछौँ होला। तर त्यस्तो छोटो अभिवादनले पनि अरूलाई बल दिन सक्छ, दुःखी वा निराश भएकाहरूलाई हौसला दिन सक्छ।
दुवैले लाभ उठाउँछन्
चेला याकूबले केही ख्रीष्टियनहरूलाई कडा सल्लाह दिनु परेको थियो। किन? किनकि तिनीहरूले संसारसित मित्रता गाँसेर आध्यात्मिक व्यभिचार गरिरहेका थिए। (याकू. ४:४) तर याकूबले पत्रको सुरुमा के लेखे, विचार गर्नुहोस्:
“म याकूब, परमेश्वरको र प्रभु येशू ख्रीष्टको दास, विभिन्न ठाउँमा तितरबितर भएका बाह्रै कुललाई लेख्दैछु: अभिवादन!” (याकू. १:१) सबै ख्रीष्टियनहरू परमेश्वरको नजरमा समान छन् भन्ने कुरा याकूबले गरेको अभिवादनबाट देखिन्थ्यो। त्यसैले याकूबको पत्र पढ्ने भाइबहिनीलाई तिनको सल्लाह स्विकार्न सजिलो लागेको हुनुपर्छ। हो, एउटा साधारण अभिवादन गर्दा मात्र पनि गम्भीर विषयमा छलफल गर्न सजिलो हुन्छ।
अभिवादन प्रभावकारी होस् भन्ने चाहन्छौँ भने त्यो मनैदेखि गरिएको हुनुपर्छ अनि त्यसमा निष्कपट प्रेम झल्किएको हुनुपर्छ, चाहे त्यो जतिसुकै छोटो किन नहोस्। अरूले हाम्रो अभिवादन याद गरेनन् भने पनि हामीले त्यसो गर्न छोड्नु हुँदैन। (मत्ती २२:३९) आयरल्याण्डकी एउटी बहिनी सभा सुरु हुनै लाग्दा राज्यभवन आइपुगिन्। तिनी हतार-हतार भित्र पस्दै गर्दा एक जना भाइ तिनीतिर फर्किए र मुस्कुराउँदै भने: “हेलो! तपाईँ आउनुभएकोले साह्रै खुसी लाग्यो।” ती बहिनी सरासर आफ्नो सिटमा गएर बसिन्।
केही हप्तापछि, ती बहिनीले तिनलाई अभिवादन गर्ने भाइलाई आफ्नो हालैको अवस्थाबारे बताइन्। केही समयदेखि घरमा निकै तनाव झेलिरहेको कुरा तिनले सुनाइन्। तिनले भनिन्: “त्यो साँझ म साह्रै निराश थिएँ, सभामा आउन मनै थिएन। त्यो दिन सभामा के सिकेँ, मलाई खासै याद छैन तर तपाईँले गर्नुभएको अभिवादनचाहिँ मलाई याद छ। मैले साँच्चै स्वागत गरिएको महसुस गरेँ। तपाईँलाई धेरै धन्यवाद!”
ती भाइलाई आफूले गरेको अभिवादनले कत्ति ठूलो प्रभाव पारेको थियो भनेर थाहै थिएन। तिनी भन्छन्: “मेरो छोटो अभिवादनबाट तिनले कत्ति आश्वासन पाएकी रहिछन् भनेर थाह पाउँदा मलाई पनि निकै खुसी लाग्यो। मेरो सानो कोसिसले राम्रो नतिजा ल्याएको रहेछ।”
सुलेमानले यस्तो लेखे: “आफ्नो अन्न पानीमा फालिदेऊ, र धेरै दिनपछि तिमीले त्यो फेरी पाउनेछौ।” (उप. ११:१, NRV) सबैलाई र खासगरि सङ्गी ख्रीष्टियनहरूलाई अभिवादन गर्नुको महत्त्व बुझ्यौँ भने हामीले अरूका साथै आफैलाई पनि लाभ पुऱ्याइरहेका हुन्छौँ। त्यसैले अरूलाई अभिवादन गर्न कहिल्यै नहिचकिचाऔँ!