‘सत्य वचनलाई ठीकसँग प्रयोग गर्ने’
परमेश्वरको वचन, सफल जीवनका लागि अत्यावश्यक सिद्धान्तहरूको भण्डार हो। त्यसले सिकाउने, अर्ती दिने र सच्याउने काम गर्न सेवकलाई मदत गर्नसक्छ। (२ तिमोथी ३:१६, १७) तथापि, परमेश्वरद्वारा प्रबन्ध गरिएको यो निर्देशकबाट पूर्ण लाभ उठाउन हामीले प्रेरित पावलले तिमोथीलाई दिएको यो सल्लाह पालन गर्नैपर्छ: “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर।”—२ तिमोथी २:१५.
परमेश्वरको वचनलाई अन्य कुरालगायत पोषिलो दूध, खँदिलो भोजन, ताजा र स्वच्छ पानी, ऐना र धारिलो तरवारसित तुलना गरिएको छ। यी पदावलीहरूको प्रयोग बुझेपछि बाइबललाई कुशलपूर्वक चलाउने मदत सेवकले पाउनसक्छ।
परमेश्वरको वचनको दूध बाँड्ने
नवजात शिशुलाई दूध चाहिन्छ। हुर्कंदै जाँदा उसलाई बिस्तारै ठोस भोजन खान दिइन्छ। तर सुरु-सुरुमा उसले दूध मात्र पचाउनसक्छ। परमेश्वरको वचनबारे कम ज्ञान हुने व्यक्तिहरू थुप्रै तरिकामा बालकजस्तै हुन्छन्। कुनै पनि व्यक्तिले या त भर्खरै परमेश्वरको वचनमा चासो लिन थालेको हुन्छ या त्यससित परिचित भएको केही समय बितिसकेको हुनसक्छ। तर जे होस्, उसलाई बाइबलको आधारभूत ज्ञान मात्र थाह छ भने ऊ आध्यात्मिक बालक हो र उसलाई सजिलै पचाउन सकिने पौष्टिक पदार्थ अर्थात् “आध्यात्मिक दूध” चाहिन्छ। ऊ परमेश्वरको वचनका गहिरा कुराहरू अर्थात् “खँदिलो खानेकुरा” पचाउनसक्ने भइसकेको हुँदैन।—हिब्रू ५:१२.
कोरिन्थमा भर्खरै स्थापित भएको मण्डलीलाई पावलले यी कुराहरू लेख्दा तिनीहरूको त्यस्तै स्थिति थियो: “मैले तिमीहरूलाई दूधै खुवाएँ। खँदिलो कुरो ता होइन। किनकि तिमीहरू खानसक्तैन थियौ।” (१ कोरिन्थी ३:२) कोरिन्थीहरूले सर्वप्रथम “परमेश्वरका वचनका शुरुका शिक्षाहरू” सिक्नुपर्थ्यो। (हिब्रू ५:१२) तिनीहरू पूर्णतः नहुर्किएको हुँदा “परमेश्वरका गहीरा गहीरा कुराहरू” बुझ्न सक्दैनन् थिए।—१ कोरिन्थी २:१०.
आज मसीही सेवकहरू पावलले जस्तै आध्यात्मिक बालकहरूप्रति चासो देखाउँछन् र तिनीहरूलाई “दूध” अर्थात् आधारभूत मसीही सिद्धान्तमा पक्का हुन मदत गर्छन्। तिनीहरूले यी नयाँ वा अपरिपक्व व्यक्तिहरूलाई “छलरहितको आत्मिक दूधको तृष्णा” गर्न प्रोत्साहित गर्छन्। (१ पत्रुस २:२) प्रेरित पावलले नयाँ व्यक्तिहरूलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता महसुस गरेका थिए। तिनका निम्न शब्दहरूबाट सो कुरा प्रष्ट हुन्छ: “दूधको सह-भागी हुने हरेक मानिस धार्मिकताको वचनको अनुभव गर्न नसक्नेहुन्छ, किनकि त्यो बालकै हो।” (हिब्रू ५:१३) नयाँ र अनुभव नहुनेहरूसित बाइबल अध्ययन गर्दा वा मण्डलीमा वचनको शुद्ध दूध बाँड्दा परमेश्वरका सेवकहरूले धैर्य, विचारशीलता, समझदारी र कोमलता देखाउनुपर्छ।
परमेश्वरको वचनको खँदिलो भोजन खुवाउने
मुक्ति प्राप्त गर्न मसीहीले “दूध” मात्र पिएर पुग्दैन। बाइबलका आधारभूत सत्यहरू राम्ररी बुझेर स्वीकारेपछि उसले ‘पूरा बढ़ेका मानिसहरूले खाने खँदिलो खाना’ खानसक्छ। (हिब्रू ५:१४) तर ऊ कसरी त्यो स्थितिसम्म पुग्नसक्छ? वस्तुतः नियमित तवरमा व्यक्तिगत अध्ययन तथा मसीही सभाहरूमा संगति गरेर। त्यस्तो असल बानीले मसीहीलाई आध्यात्मिक तवरमा बलियो, परिपक्व अनि सेवकाईमा प्रभावशाली बनाउँछ। (२ पत्रुस १:८) यद्यपि, ज्ञान प्राप्त गर्नुबाहेक यहोवाको इच्छाअनुसार गर्नु पनि आध्यात्मिक भोजनको अंश हो भनेर हामीले भुल्नु हुँदैन।—यूहन्ना ४:३४.
आज परमेश्वरका सेवकहरूलाई ठीक ठीक समयमा भोजन पस्कन र “परमेश्वरका नाना प्रकारका ज्ञान” बुझ्न मदत गर्न “विश्वासी र बुद्धिमान दास[लाई]” अह्राइएको छ। विश्वासपूर्वक ‘ठीक ठीक समयमा आध्यात्मिक खाना’ प्रकाशित गर्ने यो वफादार दासलाई चलाएर यहोवाले आफ्नो आत्माद्वारा गहिरो शास्त्रीय सच्चाइ प्रकट गर्नुहुन्छ। (मत्ती २४:४५-४७; एफिसी ३:१०, ११; तुलना गर्नुहोस् प्रकाश १:१, २) अनि यस्ता प्रकाशित प्रबन्धहरूको पूर्ण लाभ उठाउनु प्रत्येक मसीहीको जिम्मेवारी हो।—प्रकाश १:३.
निस्सन्देह, परिपक्व मसीहीहरूलाई समेत बाइबलका “कुनै कुनै कुराहरू बुझ्न कठिन” पर्छ। (२ पत्रुस ३:१६) बाइबलका कुनै कुनै अभिव्यक्ति, भविष्यवाणी तथा उदाहरणहरूले हामीलाई अलमल्ल पार्नसक्छ। ती कुरा बुझ्न हामीले धेरै अध्ययन तथा मनन गर्नुपर्ने हुन्छ। तसर्थ, व्यक्तिगत अध्ययन गर्दा परमेश्वरको वचन खोतल्नुपर्छ। (हितोपदेश १:५, ६; २:१-५) मण्डलीलाई सिकाउँदा विशेषगरि प्राचीनहरू यस विषयमा जिम्मेवार हुन्छन्। मण्डली पुस्तक अध्ययन, प्रहरीधरहरा अध्ययन सञ्चालन गर्दा, जन भाषण दिंदा वा अन्य ढंगमा सिकाउँदा प्राचीनहरू विषयवस्तुसित राम्ररी परिचित हुनुपर्छ र मण्डलीलाई खँदिलो आध्यात्मिक भोजन पस्कँदा आफ्नो “शिक्षण कला[मा]” ध्यान दिन इच्छुक हुनुपर्छ।—२ तिमोथी ४:२, न्युव.
स्फूर्ति दिने अनि शुद्ध पार्ने पानी
येशूले इनार छेउ भेट्नुभएको सामरी स्त्रीलाई “अनन्त जीवनसम्म उम्रिरहने पानीको मूल” बन्ने पानी दिन्छु भन्नुभयो। (यूहन्ना ४:१३, १४; १७:३) परमेश्वरको थुमाद्वारा जीवन प्राप्त गर्न जे जति प्रबन्ध परमेश्वरले गर्नुभएको छ, ती सबै यो जीवनदायी पानीमा समावेश छन् र बाइबलमा ती प्रबन्धहरूको वर्णन गरिएका छन्। त्यस्तो “पानी” पिउन तिर्खाउने मानिसहरूको हैसियतमा हामी ख्रीष्टको आत्मा र दुलहीको निमन्त्रणा स्वीकार्दै “जीवनको पानी सित्तैंमा” लिन्छौं। (प्रकाश २२:१७) यो पानी पिएर अनन्त जीवन प्राप्त गर्न सकिन्छ।
साथै, बाइबलले साँचो मसीहीहरूले पालन गर्नुपर्ने नैतिक तथा आध्यात्मिक स्तर पनि निर्धारण गर्छ। यी ईश्वरीय स्तरहरू पालन गर्दा हामी यहोवाको वचनद्वारा शुद्ध पारिन्छौं र यहोवा परमेश्वरले घृणा गर्नुहुने सबै रीतिथितिहरूदेखि ‘पाखालिन्छौं।’ (१ कोरिन्थी ६:९-११) त्यसैकारण, प्रेरित वचनका सच्चाइलाई ‘चोख्याउने पानी’ भनिन्छ। (एफिसी ५:२६) ईश्वरीय सच्चाइद्वारा यसरी शुद्ध भएनौं भने हाम्रो उपासना परमेश्वरलाई ग्रहणयोग्य हुनेछैन।
चाखलाग्दो कुरा के छ भने, ‘सत्यको वचन ठीकसँग प्रयोग गर्ने’ प्राचीनहरूलाई पनि पानीसँग दाँजिएको छ। यशैयाको भनाइअनुसार तिनीहरू “सुखा ठाउँमा पानी भएको खोला[जस्तै]” हुन्। (यशैया ३२:१, २) आध्यात्मिक गोठालोको रूपमा भाइहरूको विश्वासलाई दह्रो पार्ने प्रोत्साहनजनक, सान्त्वनादायी आध्यात्मिक जानकारी दिन परमेश्वरको स्फूर्तिदायी वचन प्रयोग गर्ने मायालु प्राचीनहरू उपरोक्त विवरणअनुसार चलिरहेका हुन्छन्।—तुलना गर्नुहोस् मत्ती ११:२८, २९.a
मण्डलीका सदस्यहरूले प्राचीनहरू भेट्न आओस् भन्ने इच्छा गर्छन्। बनि यसो भन्छिन्, “प्राचीनहरूले कति हौसला दिनसक्छन् भनेर मलाई थाह छ। यहोवाले यस्तो प्रबन्ध गर्नुभएकोमा म असाध्यै खुशी छु।” पतिबिना छोराछोरी हुर्काउँदै गरेकी आमा, लिन्डा यसरी लेख्छिन्: “प्राचीनहरूले शास्त्रीय प्रोत्साहनद्वारा मलाई बल दिनुभयो। मेरो कुरा ध्यान दिएर सुन्नुका साथै उहाँहरूले अनुकम्पा देखाउनुभयो।” माइकल यसो भन्छन्: “म मायालु संगठनको सदस्य हुँ भनेर उहाँहरूले महसुस गराउनुभयो।” अर्की बहिनी यसो भन्छिन्: “साह्रै निराश हुँदा प्राचीनहरूले मदत गर्नुभयो।” प्राचीनको प्रोत्साहनजनक आध्यात्मिक भेट चिसो, स्फूर्तिदायी पेय पदार्थजस्तै हो। आफ्नो परिस्थितिमा शास्त्रीय सिद्धान्तहरू कसरी प्रयोग हुनसक्छन् भनेर मायालु प्राचीनहरूले बुझ्न मदत गर्दा भेडाखाले मानिसहरूले सान्त्वना पाउँछन्।—रोमी १:११, १२; याकूब ५:१४.
परमेश्वरको वचनलाई ऐनाजस्तै चलाउनुहोस्
कसैले पनि स्वादका लागि मात्र खँदिलो भोजन खाँदैन। बरु खँदिलो भोजन खाने व्यक्तिले आफूलाई बल दिने पौष्टिकताको अपेक्षा गर्छ। यदि ऊ केटाकेटी नै छ भने, आफूले खाएको भोजनले उसलाई हुर्कन र वयस्क व्यक्ति बन्न मदत गर्नेछ भनेर आशा गर्छ। आध्यात्मिक भोजन पनि त्यस्तै हो। व्यक्तिगत बाइबल अध्ययन रमाइलो हुन्छ तर रमाइलोको लागि मात्र बाइबल अध्ययन गर्ने होइन। आध्यात्मिक भोजनले हामीलाई परिवर्तन गराउनुपर्छ। त्यसले हामीलाई आत्माको फल चिन्न मदत गर्नुको साथै “नयाँ चोला धारण गरेर, आफूलाई सृष्टि गर्नेको रूपजस्तै भएर पूरा ज्ञानमा परिवर्तन हुन” मदत गर्छ। (कलस्सी ३:१०; गलाती ५:२२-२४) आध्यात्मिक भोजनले हामीलाई अझ परिपक्व हुन मदत गर्छ। फलतः आफ्नो अनि अरूको समस्या समाधान गर्न हामी अझ राम्ररी शास्त्रीय सिद्धान्तहरू प्रयोग गर्नेसक्ने हुन्छौं।
बाइबलले हामीमाथि त्यसप्रकारको प्रभाव पारिरहेको छ वा छैन हामी कसरी भन्नसक्छौं? त्यो थाह पाउन हामी बाइबललाई ऐनाजस्तै चलाउँछौं। यस सन्दर्भमा याकूबले यसो भने: “वचन पालन गर्ने होओ। . . . सुन्ने मात्र होइन। किनभने यदि कसैले वचन सुनेर त्यसबमोजिम गरेन भनेता त्यो आफ्नो स्वाभाविक मुख ऐनामा हेर्ने मानिस जस्तो मात्र हुनेछ। किनकि त्यसले आफूलाई देख्तछ र आफ्नो बाटो लाग्छ, तर कस्तो किसिमको मानिस थिएँ भनी तुरुन्तै बिर्सिहाल्छ। तर जसले स्वतंत्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्दछ, र सुनेर नबिर्सने भई काम गर्नेसमेत भएर त्यसैमा लागिरहन्छ, त्यही मानिसले उसको काममा श्याबासी पाउनेछ।”—याकूब १:२२-२५.
परमेश्वरको वचनलाई राम्ररी जाँचेर परमेश्वरका स्तरहरूबमोजिम आफूले गरिरहेका छौं वा छैनौं भनेर तुलना गऱ्यौं भने परमेश्वरको वचनमा ‘हेरिरहेका हुन्छौं।’ त्यसो गर्दा हामी ‘सुन्ने मात्र होइन तर पालन गर्ने’ पनि हुनेछौं। अनि बाइबलले हामीमाथि राम्रो असर पारिरहेको हुनेछ।
परमेश्वरको वचन तरवारजस्तै
अन्तमा, प्रेरित पावलले परमेश्वरको वचनलाई हामी तरवारजस्तै कसरी चलाउनसक्छौं भनेर बुझ्न मदत दिन्छन्। “प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूको विरुद्धमा” चेताउनी दिंदा तिनले “आत्माको तरवार जो चाहिं परमेश्वरको वचन हो” त्यो स्वीकार्न आग्रह गरे। (एफिसी ६:१२, १७) परमेश्वरको वचन, “परमेश्वरको ज्ञानको विरुद्धमा खड़ा हुने कल्पना र हरेक उच्च कुरालाई” काट्न चलाउन सकिने अत्यावश्यक हतियार हो।—२ कोरिन्थी १०:३-५.
“परमेश्वरको वचन जीवित र प्रबल” छ भन्ने कुरा निर्विवाद छ। (हिब्रू ४:१२) यहोवा आफ्नो प्रेरित वचनद्वारा मानिसहरूसित बोल्नुहुन्छ। अरूलाई सिकाउन र झूटा सिद्धान्तहरू पर्दाफास गर्न त्यसलाई चलाउनुहोस्। प्रोत्साहन, उत्साह, स्फूर्ति, सान्त्वना, उत्प्रेरणा दिनुपर्दा वा आध्यात्मिक तवरमा बलियो बनाउनु पर्दा त्यसलाई चलाउनुहोस्। अनि यहोवाले तपाईंलाई “उहाँका इच्छाबमोजिम गर्नलाई . . . सिद्ध पारून्” ताकि तपाईंले सधैं “उहाँको दृष्टिमा मनपर्ने काम गर्न” सकोस्।—हिब्रू १३:२१.
[फुटनोट]
a सेप्टेम्बर १५, १९९३, वाचटावर-को पृष्ठ २०-३ मा “तिनीहरूले अनुकम्पापूर्ण भएर पाठोको हेरचाह गर्छन्” भन्ने लेख हेर्नुहोस्।
[पृष्ठ ३१-मा भएको चित्र]
“सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर” प्राचीनहरूले अरूलाई प्रोत्साहन दिन्छन्