सबै जना स्वतन्त्र हुनेछन्
“म ठान्छु, यस वर्त्तमान समयको दुःख हामीलाई पछि प्रकट हुनआउने महिमासँग तुलना हुने योग्यको छैन। किनभने सृष्टिको उत्कट आशाले परमेश्वरका छोराहरू प्रकट हुनआउने बाटो हेर्दछ। किनभने यसको आफ्नै इच्छाले होइन, तर त्यसलाई अधीनमा तुल्याउनेको कारणले सृष्टि व्यर्थताको अधीनमा रह्यो। यसै आशामा, कि परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ। किनकि सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ भनी हामी जान्दछौं।”—रोमी ८:१८-२२.
आफ्नो चिठीको यस भागमा प्रेरित पावलले रोमका मसीहीहरूलाई जीवनमा खोक्रोपना र पीडा हुनुका साथै किन साँचो स्वतन्त्रताको कमी भएको हो, छोटकरीमा बताइदिए। हामी साँचो स्वतन्त्रता कसरी प्राप्त गर्नसक्छौं सो कुराको व्याख्या पनि तिनले गरे।
“वर्त्तमान समयको दुःख”
पावलले “हामीलाई पछि प्रकट हुनआउने महिमासँग तुलना हुने योग्यको छैन” भन्दा “वर्त्तमान समयको दुःख[लाई]” हल्का ठानिरहेका होइनन्। पावलको समयमा र पछि पनि मसीहीहरूले मानव अधिकारलाई वास्तै नगर्ने रोमी शासकहरूको तानाशाहका कारण निकै दुःख भोगे। रोमीहरूले मसीहीहरूलाई आफ्ना राज्यका शत्रु ठानेर घोर अमानवीय व्यवहार गरेर दबाउन थाले। इतिहासकार जे. एम. रोबट्र्स भन्छन्: “राजधानीमा [रोम] भएका थुप्रै मसीहीहरूको रंगशालामा वीभत्स हत्या गरिन्थ्यो वा ज्यूँदै जलाइन्थे।” (संसारको संक्षिप्त इतिहास [अंग्रेजी]) निरोले दण्ड दिएकाहरूबारे एउटा अर्को रिपोर्ट यसो भन्छ: “कसै कसैलाई क्रूसमा टाँगिन्थ्यो भने कसैलाई जनावरहरूको छाला ओढाएर कुकुरहरूको सिकार बनाइन्थ्यो, अरू कतिपयलाई भने अलकत्रा दलिदिएर अँध्यारो भएपछि जिउँदो राँकोको रूपमा प्रयोग गरिन्थ्यो।”—नयाँ नियमको इतिहास, (अंग्रेजी) एफ. एफ. ब्रुसद्वारा।
ती प्रारम्भिक मसीहीहरूलाई त्यस्तो शासनाबाट स्वतन्त्रता पाउने चाहना त लाग्यो होला तर स्वतन्त्रता पाउन तिनीहरूले येशू ख्रीष्टको शिक्षा उल्लंघन गर्न चाहँदैनथे। तिनीहरू पूर्णतयाः अटल रहे। उदाहरणका लागि, रोमी सरकारका शासकहरू र यहूदी हठधर्मीहरूका रूपमा स्वतन्त्रताका योद्धाहरूबीचको संघर्षलाई लिनुहोस्। (यूहन्ना १७:१६; १८:३६) ती हठधर्मीहरूका लागि, “परमेश्वरले आफ्नो समयमा गर्नुहुने हस्तक्षेपको प्रतीक्षा गर्नेबारे त्यस्तो संकटको समयमा कुरा गर्नु अव्यवहारिक थियो।” त्यसबेलाको आवश्यकता भनेको तिनीहरूकै भनाइमा रोम, “शत्रु विरुद्ध आतंक मच्चाउनु थियो।” (नयाँ नियमको इतिहास) तर प्रारम्भिक मसीहीहरूको सोचाइ भने भिन्नै थियो। तिनीहरूको दृष्टिकोणमा “परमेश्वरले आफ्नो समयमा गर्नुहुने हस्तक्षेपको प्रतीक्षा गर्ने” एउटै मात्र वास्तविक विकल्प थियो। ईश्वरीय हस्तक्षेपले बाहेक कुनै कुराले पनि “वर्त्तमान समयको दुःख” पूर्णतयाः हटाएर वास्तविक अनन्त स्वतन्त्रता ल्याउन सक्दैन भन्ने कुरामा तिनीहरू निश्चिन्त थिए। (मीका ७:७; हबकूक २:३) तथापि, यो कुरा कसरी हुनेछ भन्नेबारे मनन गर्नुअघि आउनुहोस् किन “सृष्टि व्यर्थताको अधीनमा रह्यो” जाँचौं।
“व्यर्थताको अधीनमा”
यहाँ “सृष्टि” शब्दको अर्थ कसै कसैले विचार गरेझैं “अमानवीय तथा निर्जीव सृष्टि” होइन बरु “सम्पूर्ण मानिसजाति” हो भनी दी इम्फाटिक डाइग्लोट-मा बेन्जामिन विल्सन बताउँछन्। (कलस्सी १:२३ तुलना गर्नुहोस्।) यसले स्वतन्त्रता प्राप्त गर्ने तीव्र इच्छा भएका हामी अर्थात् सम्पूर्ण मानव परिवारलाई संकेत गर्छ। हाम्रा प्रथम आमाबाबुको कार्यले गर्दा हामी “व्यर्थताको अधीनमा” रहेका छौं। यसो हुनुको कारण “[हाम्रो] आफ्नै इच्छाले होइन” अर्थात् आफ्नै व्यक्तिगत छनौटको परिणामस्वरूप होइन। हामीले आफ्ना परिस्थितिहरू वंशानुगतरूपमा पाएका हौं। रूसोले “स्वतन्त्र भएर जन्मेको मानिस” भन्नु धर्मशास्त्रीय दृष्टिकोणबाट गलत थियो। हामी हरेक पाप र असिद्धताको बन्धनमा परेरै जन्मेका थियौं। निराशा र व्यर्थताले भरिएको परम्पराको दासत्वमा परेर।—रोमी ३:२३.
किन यसो भएको? किनभने हाम्रा प्रथम आमाबाबु आदम र हव्वा आफ्नो लागि असल र खराबको निर्णय गर्ने, “परमेश्वरजस्तै” आत्मनिर्भर हुनचाहन्थे। (उत्पत्ति ३:५) तिनीहरूले स्वतन्त्रताको एउटा आधारभूत कुरालाई बेवास्ता गरे। त्यो हो सृष्टिकर्त्ता मात्र पूर्ण स्वतन्त्रताको हकदार हुनुहुन्छ। उहाँ मात्र ब्रह्माण्डका सार्वभौम सत्ताधारी हुनुहुन्छ। (यशैया ३३:२२; प्रकाश ४:११) मानव स्वतन्त्रता भनेको सीमित हुनैपर्छ। त्यसैले चेला याकूबले आफ्ना समयका मसीहीहरूलाई “स्वतंत्रताको सिद्ध व्यवस्था” अन्तर्गत रहन प्रोत्साहन दिए।—याकूब १:२५.
यहोवाले त्यसैबेला आदम र हव्वालाई आफ्नो ब्रह्माण्डको परिवारबाट निकालिदिनुभयो। परिणामस्वरूप तिनीहरू मरे। (उत्पत्ति ३:१९) तर तिनीहरूका सन्ततिहरूबारे चाहिं के भन्न सकिन्छ नि? तिनीहरूले आफ्ना सन्तानहरूलाई असिद्धता, पाप र मृत्यु मात्र सार्नसक्ने भए तापनि, बच्चाहरू जन्माउन दिनुभएर परमेश्वरले अनुकम्पा देखाउनुभयो। त्यसैले, “मृत्यु सबै मानिसमा व्याप्त भयो।” (रोमी ५:१२) यसै अर्थमा परमेश्वरले “[सृष्टिलाई] व्यर्थताको अधीनमा” रहनदिनुभयो।
“परमेश्वरका छोराहरू प्रकट हुनआउने”
सृष्टिलाई एकदिन “परमेश्वरका छोराहरू[का]” माध्यमबाट स्वतन्त्र पार्नुहुनेछ भन्ने “आशामा” यहोवाले सृष्टिलाई व्यर्थताको अधीनमा रहन दिनुभयो। यी “परमेश्वरका छोराहरू” को हुन्? तिनीहरू पनि बाँकी “सृष्टि [मानव]”-जस्तै पाप र असिद्धतामा जन्मेका येशूका चेलाहरू हुन्। तर यहोवाले तिनीहरूका लागि केही विशेष प्रबन्ध गर्नुभएको छ। येशू ख्रीष्टको छुडौतीको बलिदान मार्फत वंशानुगत पापबाट तिनीहरूलाई छुटाएर उहाँले, “धर्मी” वा आध्यात्मिक रूपमा स्वच्छ घोषित गर्नुभएको छ। (१ कोरिन्थी ६:११) त्यसपछि, उहाँले तिनीहरूलाई ब्रह्माण्डको परिवारमा फर्काउनुभएर ‘परमेश्वरका छोराहरूको’ रूपमा अपनाउनुहुन्छ।—रोमी ८:१४-१७.
यहोवाका धर्मपुत्रहरूका रूपमा तिनीहरूले महान् सुअवसरहरू पाउनेछन्। तिनीहरू येशू ख्रीष्टसँगै परमेश्वरको स्वर्गीय राज्य अर्थात् सरकारको भागको हैसियतमा ‘परमेश्वरको निम्ति पूजाहारी हुनेछन्, र तिनीहरूले पृथ्वीमाथि राज्य गर्छन्।’ (प्रकाश ५:९, १०; १४:१-४) यो राज्य स्वतन्त्रता तथा न्यायिक सिद्धान्तहरूका आधारमा स्थापना गरिएको हो। शोषण तथा अत्याचारको आधारमा होइन। (यशैया ९:६, ७; ६१:१-४) यी परमेश्वरका छोराहरू धेरै अघि प्रतिज्ञा गरिएको ‘अब्राहामको वंश,’ येशूका संगीहरू हुन् भनी प्रेरित पावल बताउँछन्। (गलाती ३:१६, २६, २९) ती व्यक्तिहरूको रूपमा तिनीहरूले परमेश्वरको मित्र अब्राहामसित गरेको प्रतिज्ञा पूरा गर्न प्रमुख भूमिका निर्वाह गर्नेछन्। त्यस प्रतिज्ञाको एउटा अंशमा अब्राहामको वंश (अथवा सन्तान) मार्फत् “पृथ्वीका सबै जातिहरू आशिर्वादी हुनेछन्” भनिएको पाउँछौं।—उत्पत्ति २२:१८.
तिनीहरूले मानिसजातिका लागि कस्तो आशिष् ल्याउनेछन्? परमेश्वरका यी छोराहरूले सम्पूर्ण मानव परिवारलाई आदमको पापले गर्दा आएको खराब परिस्थितिहरूबाट स्वतन्त्रता दिएर सिद्धता प्राप्त गर्न मदत गर्नेछन्। “हरेक जातिबाटको र सबै कुलको र मानिसको” समूहले येशू ख्रीष्टको छुडौतीको बलिदानमाथि विश्वास गर्नुका साथै उहाँको राज्य शासनको अधीनतामा रहेर आशिष् पाउनेछन्। (प्रकाश ७:९, १४-१७; २१:१-४; २२:१, २; मत्ती २०:२८; यूहन्ना ३:१६) यसरी “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा” फेरी एकचोटी “सारा सृष्टि” आनन्दित हुनेछ। यो सीमित वा अस्थायी राजनैतिक स्वतन्त्रता जस्तो हुनेछैन। बरु, आदम र हव्वाले परमेश्वरको सार्वभौमसत्तालाई तिरस्कार गरेदेखि मानव परिवारमाथि आइपरेका पीडा तथा तनाउ उत्पन्न गर्ने हरेक कुराहरूदेखि स्वतन्त्रता प्राप्त हुनेछ। तसर्थ, पावलले निर्धक्कसँग ती विश्वासी व्यक्तिहरूले गर्ने महिमित सेवाको अगाडि ‘यस वर्त्तमान समयको दुःख तुलना हुने योग्यको छैन’ भन्नसके!
कहिले “परमेश्वरका छोराहरू प्रकट” हुनेछन्? अब चाँडै नै यहोवाले आफ्ना सन्तानहरू को हुन् भन्ने प्रष्ट पार्नुहुनेछ। यी “छोराहरू” पुनरुत्थानद्वारा आत्मिक संसारमा प्रवेश गरेपछि येशू ख्रीष्ट सँगसँगै परमेश्वरको हारमागेडोनको युद्धमा यस पृथ्वीबाट दुष्टता तथा अत्याचार हटाउने काममा भाग लिंदा प्रकट हुनेछन्। (दानियल २:४४; ७:१३, १४, २७; प्रकाश २:२६, २७; १६:१६; १७:१४; १९:११-२१) परमेश्वरले सहनुभएको विद्रोह र यसले गर्दा उत्पन्न भएको दुष्टताको अन्त गर्ने “आखिरी दिन[को]” पनि अन्तमा हामी पुगिसक्यौं भन्ने प्रशस्त प्रमाण हाम्रो वरपर देख्छौं।—२ तिमोथी ३:१-५; मत्ती २४:३-३१.
हो, प्रेरित पावलले भनेझैं “सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको” कुरा सत्य छ। तर थोरै समयको लागि। अहिले बाँचिरहेका करोडौंले “परमेश्वरले प्राचीन कालदेखि आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभएका सबै थोकको पुनर्स्थापना” भएको देख्नेछन् जसमा शान्ति, स्वतन्त्रता र न्याय पनि समावेश छ।—प्रेरित ३:२१, नयाँ संशोधित संस्करण।
अन्ततः साँचो स्वतन्त्रता
यो “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा” आनन्द उठाउन तपाईंले के गर्नैपर्छ? येशू ख्रीष्टले भन्नुभयो: “तिमीहरू मेरो वचनमा रह्यौ भने साँच्चै मेरा चेला हौ। औ तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्ना ८:३१, ३२) त्यो नै साँचो स्वतन्त्रताको कुञ्जी हो अर्थात् ख्रीष्टका आज्ञा तथा शिक्षाहरू सिक्नु र पालन गर्नु। यसो गर्दा अहिले पनि धेरै हदसम्म स्वतन्त्रता पाउनसकिन्छ। त्यसपछि आउँदै गरेको भविष्यमा येशू ख्रीष्टको राज्य शासनअन्तर्गत पूर्णतयाः स्वतन्त्रता पाउनु हुनेछ। चाल्नुपर्ने बुद्धिमत्तापूर्ण कदम भनेकै बाइबल अध्ययन गरेर येशूको “वचन” जान्नु हो। (यूहन्ना १७:३) प्राचीन समयका मसीहीहरूजस्तै येशूको साँचो चेलाहरूको मण्डलीसित सक्रिय रूपमा संगत गर्नुहोस्। यसो गरेर, अहिले यहोवाले आफ्नो संगठन मार्फत् उपलब्ध गर्नुहुने स्वतन्त्र तुल्याउने सच्चाइबाट तपाईंले लाभ उठाउन सक्नुहुनेछ।—हिब्रू १०:२४, २५.
“परमेश्वरका छोराहरू प्रकट हुनआउने बाटो हे[र्दै]” गर्दा दुःख र अन्याय सहनै नसक्ने जस्तो लागे तापनि प्रेरित पावलले जस्तै ख्रीष्टको सुरक्षा तथा सहायतामाथि तपाईंले पनि पूरा भरोसा खेती गर्न सक्नुहुनेछ। परमेश्वरका छोराहरू प्रकट हुनेबारे बताइसकेपछि पावल यस्तो प्रश्न गर्छन्: “कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने र? के सङ्कष्टले, अथवा शारीरिक वेदनाले, वा खेदोले, वा अनिकालले, वा नग्नता, अथवा खतराले, वा तरवारले?” (रोमी ८:३५) वास्तवमा, रूसोले भनेझैं पावलको समयका मसीहीहरू अझ पनि भिन्नाभिन्नै किसिमका दमनकारी शक्तिहरूको “बन्धनमा” परिरहेका थिए। “काटिने भेड़ाहरूजस्तै” तिनीहरू “दिनभरि मारि[न्थे]।” (रोमी ८:३६) के यसले गर्दा तिनीहरू व्याकुल भए?
“होइन” भन्दै पावल लेख्छन्, “यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी पूर्णतयाः विजयी हुँदैछौं।” (रोमी ८:३७, NW) प्रारम्भिक मसीहीहरूले त्यस्तो दुःख सहनुपरे तापनि विजयी भए? कसरी? “म यो निश्चय जान्दछु” भन्दै तिनले यस्तो जवाफ दिए, “नता मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न वर्त्तमानको कुराहरूले, न पछि हुने कुराहरूले, न शक्तिहरूले, न उँचाइले, न गहराइले, न अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्नसक्नेछ।” (रोमी ८:३८, ३९) चाहे जस्तो सुकै ‘सङ्कष्ट, अथवा शारीरिक वेदना वा खेदो’ सहनुपरे तापनि तपाईं पनि ‘विजयी हुन सक्नुहुन्छ।’ चाँडोभन्दा चाँडो हामीले “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा . . . सारा बन्धनबाट छुटकारा पाउने[छौं]” भनी परमेश्वरको प्रेमले हामीलाई निर्धक्क पार्दछ।
[पृष्ठ ६-मा भएको चित्र]
“सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ”
[पृष्ठ ७-मा भएको चित्र]
‘सृष्टिले परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा सारा बन्धनबाट छुटकारा पाउनेछ’