परीक्षाको बावजूद विश्वासलाई पक्रिराख्नुहोस्!
“हे मेरा भाइ हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ।”—याकूब १:२.
१. के को बावजूद यहोवाका जनहरू विश्वास अनि “प्रशन्नचित्तले” उहाँको सेवा गर्छन्?
यहोवाका जनहरू उहाँको साक्षीको हैसियतमा विश्वास र “प्रशन्नचित्तले” सेवा गर्छन्। (व्यवस्था २८:४७; यशैया ४३:१०) विभिन्न परीक्षाले घेर्दा समेत तिनीहरू डग्दैनन्। कठिन अवस्थाहरूको बावजूद तिनीहरू यी शब्दहरूबाट सान्त्वना प्राप्त गर्छन्: “हे मेरा भाइ हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ। यो जानेर कि, तिमीहरूको विश्वासको जाँचले धीरज उत्पन्न गराउँछ।”—याकूब १:२, ३.
२. याकूबको पत्र लेख्ने व्यक्तिबारे हामीलाई थाह भएका कुराहरू के के हुन्?
२ यो भनाइ येशूका सौतेनी भाइ चेला याकूबले सा.यु. ६२ तिर लेखेका थिए। (मर्कूस ६:३) याकूब यरूशलेम मण्डलीका प्राचीन थिए। वास्तवमा केफास (पत्रुस), यूहन्ना र तिनी “खामा” अर्थात् मण्डलीका दृढ अनि अटल समर्थकहरू थिए। (गलाती २:९) करिबन सा.यु. ४९ तिर “प्रेरितहरू र धर्मगुरुहरू” समक्ष खतनाको विवाद पेश हुँदा धर्मशास्त्रमा आधारित सुझाउ प्रस्तुत गर्ने व्यक्ति याकूब नै थिए। र तिनको सुझाउ प्रथम शताब्दीका परिचालक निकायले मानेका पनि थिए।—प्रेरित १५:६-२९.
३. प्रथम शताब्दीका मसीहीहरूले सामना गरिरहेका केही समस्याहरू के के थिए र याकूबको पत्रबाट हामीले कसरी बढीभन्दा बढी लाभ उठाउनसक्छौं?
३ एक सचेत आध्यात्मिक गोठालो भएकोले याकूब ‘आफ्नो भेडा चिन्थे।’ (हितोपदेश २७:२३) त्यसैकारण, त्यतिखेर मसीहीहरूले कठिन परीक्षाहरू भोगिरहेका थिए भनी तिनले बुझिहाले। कुनै कुनै मसीहीहरूले धनीहरूको पक्ष लिएकोले तिनीहरूको सोचाइ छाँटकाँट गर्नु आवश्यक थियो। केही मसीहीहरूका लागि उपासना त एउटा औपचारिकता पूरा गर्नु मात्र भइरहेको थियो। कोही कोही चाहिं आफ्नो चञ्चले जिब्रोको कारण अरूलाई हानि पुऱ्याइरहेका थिए। सांसारिक आत्माले तिनीहरूमाथि हानिकारक प्रभाव पारिरहेको थियो र धेरैजसो नता धीरजी थिए न प्रार्थना नै गर्थे। भनौं भने, कुनै कुनै मसीहीहरू आध्यात्मिक तवरमा बिरामी भएका थिए। यी नै समस्याहरूलाई सम्बोधन गर्दै याकूबले प्रोत्साहनदायी पत्र लेखे र तिनको सल्लाह सा.यु. प्रथम शताब्दीमा जस्तै आज पनि उत्तिकै व्यवहारिक छ। हामी सबैले तिनको पत्रलाई आफ्नो व्यक्तिगत चिठी ठान्यौं भने, पक्कै पनि प्रशस्त लाभ उठाउनेछौं।a
परीक्षाहरूमा पर्दा
४. परीक्षाहरूलाई कुन दृष्टिले हेर्नुपर्छ?
४ परीक्षाहरूलाई कुन दृष्टिले हेर्नुपर्छ, याकूब हामीलाई सिकाउँछन्। (याकूब १:१-४) परमेश्वरको पुत्रसित आफ्नो के नाता पर्छ, त्यसबारे कुनै उल्लेख नगरी याकूब विनम्रतापूर्वक आफूलाई “परमेश्वर र प्रभु येशू ख्रीष्टका सेवक” भनी सम्बोधन गर्छन्। विशेषगरि, सतावटका कारण “तितर-बितर भइरहेका” आत्मिक इस्राएलका “बाह्रै कुललाई” याकूब उक्त पत्र लेख्छन्। (प्रेरित ८:१; ११:१९; गलाती ६:१६; १ पत्रुस १:१) मसीही भएको हुनाले हामी पनि सताइएका छौं र हामी पनि “अनेक किसिमका परीक्षाहरूमा” पर्छौं। तर परीक्षाहरू सहँदा हाम्रो विश्वास दृढ हुन्छ भनी सम्झ्यौं भने परीक्षा आइपर्दा हामी त्यसलाई ‘पूरा आनन्द सम्झनेछौं।’ परीक्षाहरू आइपर्दा परमेश्वरप्रति निष्ठावान भएर बस्यौं भने, त्यसले हामीलाई चिरकालीन आनन्द दिनेछ।
५. हाम्रा परीक्षाहरू के के हुनसक्छन् र सफलतापूर्वक परीक्षाहरू सहेमा नतिजा के हुन्छ?
५ हामीले भोग्ने परीक्षाहरूमा मानिसजातिमाथि आइपर्ने सामान्य आपद्-विपद् समावेश छन्। उदाहरणका लागि, स्वास्थ्य समस्याले गर्दा हामी पिरोलिएका होऔंला। परमेश्वरले चमत्कार गर्नुभएर अहिल्यै निको पार्नु नभए तापनि रोगसित जुझ्न चाहिने बुद्धि तथा बल प्रार्थनाद्वारा मागेका रहेछौं भने त्यो दिनुहुन्छ। (भजन ४१:१-३) यहोवाका साक्षी भएकोले हामी धार्मिकताको लागि पनि सताइन्छौं। (२ तिमोथी ३:१२; १ पत्रुस ३:१४) यस्ता परीक्षाहरूलाई सफलतापूर्वक पार गर्दा हाम्रो विश्वासको “जाँच” हुन्छ। र विश्वासको जाँचमा विजयी हुँदा त्यसले “धीरज उत्पन्न” गर्छ। अनि परीक्षाहरूले गर्दा दृढ भएको यस्तो विश्वासले पछि आउने परीक्षाहरू सहन हामीलाई मदत गर्छ।
६. कसरी “धीरजले त्यसको काम पूरा” गर्छ र परीक्षा आइपर्दा हामीले चाल्नसक्ने केही व्यवहारिक कदमहरू के के हुन्?
६ “तर,” याकूब भन्छन्, “धीरजलाई त्यसको पूरा काम गर्न देओ।” शास्त्र विपरीत काम गरेर तुरुन्तै परीक्षाको अन्त गर्न खोज्नुको साटो त्यसलाई रहन दियौं भने, धीरजले हामीलाई अटल विश्वास भएको पूर्ण मसीही बनाउने “काम” गर्नेछ। निस्सन्देह, परीक्षाले हाम्रा केही कमजोरीहरू प्रकट गऱ्यो भने त्यसलाई जित्न यहोवासित मदत माग्नुपर्छ। यौन अनैतिकतामा लाग्ने प्रलोभनले हाम्रो परीक्षा गरिरहेछ भने नि? त्यसो हो भने, हामी त्यसबारे प्रार्थना गरौं र हाम्रा प्रार्थनाअनुरूप काम गरौं। यहोवाप्रतिको निष्ठा कायम गर्न शायद हामीले आफ्नो जागिर फेर्नुपर्ला वा त्यस्तै अन्य कदम चाल्नुपर्ला।—उत्पत्ति ३९:७-९; १ कोरिन्थी १०:१३.
बुद्धिको खोजी
७. परीक्षाहरू सहन कसरी मदत पाउनसक्छौं?
७ परीक्षाहरूको सामना गर्ने तरिका थाह नहुँदा के गर्ने, त्यो पनि याकूब देखाउँछन्। (याकूब १:५-८) हामीसित बुद्धिको कमी भएकोले प्रार्थना गरेर बुद्धि माग्दा यहोवा हामीलाई हकार्नुहुन्न। बरु, परीक्षाप्रति उचित दृष्टिकोण राख्न र त्यसलाई सहन मदत गर्नुहुनेछ। बाइबल अध्ययन गर्दा वा हाम्रा सँगी मसीहीले कुनै धर्मशास्त्रतर्फ हाम्रो ध्यानाकर्षण गर्नसक्छन्। परमेश्वरले दूरदर्शिता अपनाउनु भई हात हाल्नुभएका घटनाहरूले हामीले के गर्नुपर्ने हो, सो बुझ्न मदत गर्नसक्छन्। परमेश्वरको आत्माले हामीलाई डोऱ्याउनसक्छ। (लूका ११:१३) तथापि, भनिरहनु नपर्ला, यी सब लाभ उठाउन हामी परमेश्वर र उहाँका मानिसहरूसित वफादार भएर बस्नैपर्छ।—हितोपदेश १८:१.
८. सन्देह गर्नेले किन यहोवाबाट केही पाउँदैन?
८ “सन्देह नगरी विश्वाससाथ” माग्यौं भने, यहोवाले हामीलाई परीक्षाहरू सहने बुद्धि दिनुहुनेछ। किनकि “सन्देह गर्नेचाहिं बतासले हुत्तिएर उचाल्दै पछार्दै गरेका समुद्रका लहरीसमान” हुन्छ। हामी आध्यात्मिक तवरमा समुद्रको लहरीसमान अस्थिर छौं भने, ‘यहोवाबाट केही पाउनेछौं भनी आशा गर्नु बेकार छ।’ त्यसकारण आउनुहोस्, हामी “दोहोरो मन[को]” नहोऔं। अनि प्रार्थना वा अरू नै सन्दर्भमा किन नहोस्, कहिल्यै “चञ्चल” नहोऔं। बरु, बुद्धिको स्रोत, यहोवामाथि विश्वास गरौं।—हितोपदेश ३:५, ६.
धनी तथा गरिब दुवैले गर्व गर्नसक्छन्
९. यहोवाको उपासकको हैसियतमा हामीले गर्व गर्ने कारण किन छ?
९ गरिबीले समेत हाम्रो परीक्षा लिइरहेको छ भने पनि, धनी तथा गरिब दुवै वर्गका मसीहीहरूले गर्व गर्नसक्छन् भनेर हामी नभुलौं। (याकूब १:९-११) येशूका अनुयायी बन्नुअघि अधिकांश अभिषिक्त जनहरू भौतिक तवरमा गरिब थिए, हेलाको पात्र थिए। (१ कोरिन्थी १:२६) तर त्यसो भए तापनि परमेश्वरको राज्यको उत्तराधिकारीको रूपमा आफूलाई “उच्च पदमा पाएकोमा” तिनीहरू गर्व गर्नसक्थे। (रोमी ८:१६, १७) अर्कोतिर पहिले अरूको आदर सम्मान पाउने धनीहरू चाहिं ख्रीष्टको अनुयायी बनेपछि संसारले घृणा गर्न थालेको हुँदा “नीचो” हुनुपऱ्यो। (यूहन्ना ७:४७-५२; १२:४२, ४३) तथापि, यहोवाको सेवकको नाताले हामी सबैजना उल्लसित हुनसक्छौं। किनभने, हामीले आनन्द उठाइरहेको आध्यात्मिक धनको तुलनामा सांसारिक धन, मानसम्मान केही पनि होइन। अनि कत्ति खुशीको कुरा कि सामाजिक स्तर ठूलो हुँदैमा हामीबीच कसैले घमण्ड गर्ने कुनै छुट पाउँदैन!—हितोपदेश १०:२२; प्रेरित १०:३४, ३५.
१०. मसीहीले भौतिक धनसम्पत्तिलाई कुन दृष्टिले हेर्नुपर्छ?
१० हाम्रो जीवन भौतिक सरसम्पत्ति वा सांसारिक लक्ष्यहरू हासिल गर्नुमा निर्भर छैन भनेर बुझ्न याकूब हामीलाई मदत गर्छन्। फूलको सौन्दर्यले त्यसलाई “गर्म हावा[बाट]” सुक्नदेखि बचाउन नसकेजस्तै धनीमान्छेको धन जति नै धेरै भए तापनि त्यसले उसको जीवन सुक्नदेखि बचाउन सक्दैन। (भजन ४९:६-९; मत्ती ६:२७) आफ्नै “मार्गमा” चल्दा चल्दै ऊ ओइलाउने बेला भइसक्न सक्छ। त्यसैले, “परमेश्वरतर्फ धनी” हुनु र राज्यसम्बन्धी कामकुराहरूलाई अघि बढाउन आफूले गर्नसक्ने जति सबै गर्नु महत्त्वपूर्ण छ।—लूका १२:१३-२१; मत्ती ६:३३; १ तिमोथी ६:१७-१९.
धन्य परीक्षा सहनेहरू
११. परीक्षा आइपर्दा आफ्नो विश्वासलाई ढलपल हुन नदिने व्यक्तिसामु कस्ता प्रत्याशाहरू छन्?
११ धनी होस् वा गरिब, परीक्षा सह्यौं भने मात्र हामी आनन्दित हुनसक्छौं। (याकूब १:१२-१५) विश्वासलाई दह्रो राखेर परीक्षाहरू सह्यौं भने, हामी धन्यको कहलिन सक्छौं किनकि परमेश्वरको दृष्टिमा जे ठीक छ त्यही गर्दा आनन्द प्राप्त हुन्छ। आत्माद्वारा पुत्र घोषित मसीहीहरू पनि मृत्युसम्मै विश्वासलाई दह्रो गरी पक्रन्छन् र “जीवनको मुकुट” अर्थात् स्वर्गमा अमर जीवन हासिल गर्छन्। (प्रकाश २:१०; १ कोरिन्थी १५:५०) हाम्रो पार्थिव आशा छ र परमेश्वरको वचनमा विश्वास गरिरह्यौं भने पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने आशा गर्नसक्छौं। (लूका २३:४३; रोमी ६:२३) उहाँमाथि विश्वास गर्नेजति सबैका लागि यहोवा कत्ति असल हुनुहुन्छ!
१२. विपत्ति आइपर्दा किन “परमेश्वरबाट मेरो परीक्षा भएको छ” भन्नु हुँदैन?
१२ के यहोवाले दुःखकष्ट ल्याएर हाम्रो परीक्षा गर्नुहुन्छ होला त? अहँ, कसैले “परमेश्वरबाट मेरो परीक्षा भएको छ,” नभनोस्। यहोवा हामीलाई प्रलोभनमा पारेर पाप गर्न लगाउनुहुन्न। बरु, विश्वासी भइरहेको खण्डमा हामीलाई मदतका साथै परीक्षाहरू सहन चाहिने बल दिनुहुन्छ। (फिलिप्पी ४:१३) परमेश्वर पवित्र हुनुहुन्छ। अतः खराब काम नगर्ने हाम्रो मनोबल कमजोर पार्ने परिस्थितिमा हामीलाई पार्नुहुन्न। हामी अधार्मिक परिस्थितिमा फस्यौं र कुनै पाप गऱ्यौं भने, त्यतिबेला उहाँलाई दोष लगाउनुहुन्न “किनभने कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुनसक्तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्न।” हाम्रो भलाइको निम्ति अनुशासन दिन कुनै कुनै परीक्षा यहोवाले हुनदिनु भए तापनि खराब मनसायले कहिल्यै हाम्रो परीक्षा गर्नुहुन्न। (हिब्रू १२:७-११) बरु, शैतानले गलत काम गर्ने प्रलोभनमा पार्दा परमेश्वरले त्यस दुष्टको हातबाट हामीलाई छुटाउन सक्नुहुन्छ।—मत्ती ६:१३.
१३. कुइच्छाहरूलाई हटाएनौं भने के हुनसक्छ?
१३ हामीले प्रार्थना गरिरहनु आवश्यक छ। अन्यथा, परिस्थितिवश हामीभित्र खराब इच्छा जाग्नसक्छ र त्यसले पापतर्फ डोऱ्याउनसक्छ। यस सन्दर्भमा याकूब भन्छन्: “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ।” एकातिर पापी इच्छा मनमा खेलाएर अर्कोतिर परमेश्वरलाई पापको दोष हामी लगाउन सक्दैनौं। खराब इच्छा जाग्ने बित्तिकै त्यसलाई धपाइ हालेनौं भने ‘त्यो गर्भवती हुन्छ।’ मतलब हृदयले त्यसलाई पाल्न पोस्न थाल्छ र अन्ततः “पापलाई जन्माउँछ।” अनि पाप पूरा बढेपछि त्यसले “मृत्यु उत्पन्न गराउँछ।” अतः यसमा कुनै सन्देह छैन, हामीले आफ्नो हृदयलाई जोगाएर पापी झुकाउहरूको विरोध गर्नुपर्छ। (हितोपदेश ४:२३) पापले काबूमा पार्नै लागिसक्यो भनेर कयिनलाई चेताउनी दिइएको थियो। तर तिनले वास्ता गरेनन्। (उत्पत्ति ४:४-८) कयिनले जस्तै हामीले पनि धर्मशास्त्र विपरीत कदम चाल्न थालेका छौं भने नि? निस्सन्देह, त्यस्तो बेला मसीही प्राचीनहरूले हामीलाई परमेश्वर विरुद्ध पाप नगरोस् भन्नका लागि सम्झाउन बुझाउन खोज्दा हामी धन्यवादी हुनुपर्छ।—गलाती ६:१.
परमेश्वर—असल कुराहरूको स्रोत
१४. कुन अर्थमा परमेश्वरको वरदान “उत्तम” छ भन्न सकिन्छ?
१४ यहोवा परीक्षाहरूका होइन तर असल कुराहरूका स्रोत हुनुहुन्छ भनेर कहिल्यै बिर्सनु हुँदैन। (याकूब १:१६-१८) याकूब, आफ्ना सँगी विश्वासीहरूलाई “प्यारा भाइ” भनेर सम्बोधन गर्दै परमेश्वर “हरेक असल दान र हरेक उत्तम वरदान[को]” दाता हुनुहुन्छ भनेर देखाउँछन्। यहोवाले दिनुहुने आध्यात्मिक तथा भौतिक वरदानहरू “उत्तम” छन् अर्थात् अर्को शब्दमा भन्ने हो भने, त्यसमा कुनै कुराको कमी छैन, त्यो पूर्ण छ। यी वरदान “माथि” परमेश्वरको वासस्थान स्वर्गबाट आउँछन्। (१ राजा ८:३९) यहोवा घाम, जून, ताराजस्ता “ज्योतिका पिता” हुनुहुन्छ। उहाँ हामीलाई आध्यात्मिक ज्योति र सत्य पनि दिनुहुन्छ। (भजन ४३:३; यर्मिया ३१:३५; २ कोरिन्थी ४:६) परमेश्वर हरबखत खुला मनले भलाइ गर्नुहुन्छ। दिउँसोपख आँखै तिरमिराउने गरी चहकिलो हुने, अरू बेला धमिलो हुने घामजस्तो उहाँ कुनै बखत धेरै भलाइ गर्ने, अरू बेला कम भलाइ गर्ने गर्नुहुन्न। उहाँले आफ्नो वचन तथा “विश्वासी र बुद्धिमान दास[द्वारा]” दिनुहुने आध्यात्मिक प्रबन्धहरूको पूरापूर फाइदा उठायौं भने, परीक्षाहरू आइपर्दा त्यसको सामना गर्न उहाँले पक्कै पनि मदत गर्नुहुनेछ।—मत्ती २४:४५.
१५. यहोवाका सर्वोत्तम दानहरूमध्ये एउटा के हो?
१५ परमेश्वरले दिनुभएका सर्वोत्तम वरदानहरूमध्ये एउटा के हो? सुसमाचार अर्थात् “सत्य वचन[सित]” काँधमा काँध मिलाइ काम गर्ने पवित्र आत्माद्वारा आध्यात्मिक पुत्रहरूको प्रबन्ध हुनु। पवित्र आत्माद्वारा आध्यात्मिक जन्मको अनुभव गर्न पाउनेहरू स्वर्गीय “राज्य र पूजाहारी” हुन छानिएका मानिसहरू अर्थात् “अगौटे फल” हुन्। (प्रकाश ५:१०; एफिसी १:१३, १४) अगौटे फलको कुरा गर्दा शायद याकूबले येशू पुनरुत्थान हुनुभएको दिन अर्थात् नीसान १६ तारिखका दिन चढाइने जौका पहिलो उब्जनी अनि पवित्र आत्मा खन्याइएको दिन अर्थात् पेन्तिकोसको दिन चढाइने गहुँका दुइ रोटीबारे सोचिरहेका थिए होलान्। (लेवी २३:४-११, १५-१७) यदि यसो हो भने, येशू पहिलौठो फल अनि उहाँका सह उत्तराधिकारीहरू “अगौटे फल” हुनेथिए। तर हामी पार्थिव आशा हुनेहरू नि? आफ्नो पार्थिव आशालाई सम्झेर बस्यौं भने, ख्रीष्टको राज्यअन्तर्गत अनन्त जीवन प्राप्त गर्न सम्भव तुल्याउनुहुने परमेश्वर अर्थात् “हरेक असल दान[का]” दातामाथि हामीले राखेको विश्वासलाई पक्रिराख्न सक्नेछौं।
“वचन पालन गर्ने होओ”
१६. हामी “सुन्नालाई छिटो, बोल्नालाई ढीलो र रीसाउनालाई धीमा” किन हुनुपर्छ?
१६ अहिले परीक्षाहरूको सामना गरिरहेका छौं वा छैनौं नै भने पनि हामी सबैजना “वचन पालन गर्ने” हुनैपर्छ। (याकूब १:१९-२५) परमेश्वरको वचन आज्ञाकारी भई पालन गरेर हामी परमेश्वरको वचन “सुन्नालाई छिटो” हुनु आवश्यक छ। (यूहन्ना ८:४७) अर्कोतर्फ, आफ्नो मुखबाट निस्कने शब्द शब्दलाई तौलेर हामी “बोल्नालाई ढिलो” होऔं। (हितोपदेश १५:२८; १६:२३) याकूबले बोल्नालाई ढिलो हुनु भन्नुको पछाडि शायद परमेश्वरले नै हाम्रो परीक्षा गर्नुभएको हो भन्न हतार नगर भन्न खोजेको हुनुपर्छ। यीबाहेक “रिसाउनलाई धीमा होस्” भन्ने सल्लाह पनि दिइएको छ। “किनभने मानिसको क्रोधले परमेश्वरको धार्मिकतालाई समर्थन गर्दैन।” त्यसकारण आउनुहोस्, अरूले भनेका कुराहरूले रीस उठाउँदा हामी तीखो जवाफ फर्काइ नहाल्न ‘धीमा होऔं।’ (एफिसी ४:२६, २७) हामीलाई समस्यामा डुबाउनसक्ने अनि अरूको परीक्षा गर्नसक्ने रीसराग गरेर हामी धार्मिक परमेश्वरमाथिको विश्वाससित सुहाउँदो फल फलाउन सक्दैनौं। यसबाहेक, हामीसित “ठूलो समझ-शक्ति” छ भने, “रिसाउनलाई धीमा” हुनेछौं। फलस्वरूप, हाम्रा भाइबहिनीहरू हामीसित घनिष्ठ हुनेछन्।—हितोपदेश १४:२९.
१७. मन तथा हृदयबाट खराबी हटाउँदा के हुन्छ?
१७ निस्सन्देह, हामी “सबै फोहोर,” मतलब परमेश्वरलाई घीनलाग्ने अनि क्रोध जन्माउने सबै कुरादेखि अलग हुनु आवश्यक छ। तर त्यति मात्र गरेर पुग्दैन। ‘बैर-भावलाई पनि हटाउनैपर्छ।’ हामी सबैले शरीरका हर अशुद्धपना तथा भावनालाई कोशौं टाढा राख्नुपर्छ। (२ कोरिन्थी ७:१; १ पत्रुस १:१४-१६; १ यूहन्ना १:९) हामीले आफ्नो मन तथा हृदयबाट खराबी हटाएको हुनाले “रोपी राखेको वचनलाई नम्रतापूर्वक धारण” गर्नसक्यौं। (प्रेरित १७:११, १२) अतः हामी मसीही भएको जतिसुकै समय भइसकेको किन नहोस् अझ धेरै अनि धेरै धर्मशास्त्रीय सत्य वचनहरू हाम्रो मनभित्र रोप्ने बाटो दिनैपर्छ। किन? किनभने परमेश्वरको आत्मा अर्थात् हामीभित्र रोपिएको वचनले मुक्तितर्फ लैजाने “नयाँ मानिस” सृजना गर्छ।—एफिसी ४:२०-२४.
१८. वचन सुन्ने कसरी पालन गर्नेभन्दा भिन्न हुन्छ?
१८ परमेश्वरको वचनलाई हामीले आफ्नो मार्गदर्शक बनाइरहेका छौं भनेर कसरी देखाउँछौं? ‘वचन सुन्ने मात्र होइन तर पालन गर्ने भएर।’ (लूका ११:२८) वचन “पालन गर्ने[सित]” मसीही सेवकाईमा जोसिलो भई भाग लिने, परमेश्वरका जनहरूका सभाहरूमा नियमित तवरमा भाग लिने आदि फल फलाउने विश्वास हुन्छ। (रोमी १०:१४, १५; हिब्रू १०:२४, २५) सुन्ने तर पालन नगर्ने चाहिं “स्वाभाविक मुख ऐनामा हेर्ने मानिस जस्तो” हो। उसले आफ्नो अनुहार देख्न त देख्छ तर आफ्नो बाटो लाग्छ र अनुहारलाई राम्रो बनाउन के गर्नुपर्छ त्यो बिर्सन्छ। “वचन पालन गर्ने” व्यक्तिको हैसियतमा हामी, बडो ध्यान पुऱ्याएर परमेश्वरको “सिद्ध व्यवस्था[को]” अध्ययन गर्छौं, पालना गर्छौं। परमेश्वरको यो सिद्ध व्यवस्थामा उहाँ के के माग गर्नुहुन्छ ती सबै समावेश छन्। अनि यसरी सिद्ध व्यवस्था पालन गर्दा हामीले अनुभव गर्ने स्वतन्त्रता, पाप र मृत्युको दासत्वको ठीक विपरीत हुन्छ। किनकि त्यस्तो स्वतन्त्रताले हामीलाई जीवनतर्फ डोऱ्याउँछ। त्यसकारण आउनुहोस्, हरबखत “सिद्ध व्यवस्था[लाई]” केलाएर, पालन गरेर त्यसमा ‘लागिरहौं।’ नबिर्सनुहोस्! हामी ‘वचन सुनेर बिर्सने होइन तर पालन गर्ने’ भएकोले परमेश्वरको अनुमोदन पाउँदा हुने आनन्द अनुभव गरिरहेका छौं।—भजन १९:७-११.
साँचो उपासना चढाउन आफूलाई भक्त सम्झेर मात्र पुग्दैन
१९, २०. (क) याकूब १:२६, २७ अनुसार शुद्ध उपासना चढाउन के के गर्नुपर्छ? (ख) शुद्ध उपासनाका केही उदाहरणहरू के के हुन्?
१९ यदि हामी ईश्वरीय अनुमोदन पाउन चाहन्छौं भने, साँचो उपासना औपचारिकता मात्र होइन भनेर सम्झनु आवश्यक छ। (याकूब १:२६, २७) हामीले आफूलाई यहोवाको “भक्त” सम्झे पुगिहाल्छ नि भन्ने हाम्रो सोचाइ होला तर हामीले ठान्दैमा पुग्ने होइन परमेश्वरले के ठान्नुहुन्छ, त्यो महत्त्वपूर्ण छ। (१ कोरिन्थी ४:४) आफूलाई भक्त ठाने तापनि हामीमा ‘जिब्रोलाई लगाम लगाउन नसक्ने’ जस्तो एउटा गम्भीर कमजोरी हुनसक्छ। एकातिर अरूको धज्जी उडाएर, फटाहा कुरा गरेर वा अरू कुनै तरिकामा जिब्रोको दुरुपयोग गर्दै गऱ्यौं र अर्कोतिर परमेश्वर हामीसित प्रशन्न हुनुहुन्छ भनेर सोच्न थाल्यौं भने, हामीले आफैलाई धोका दिइरहेका हुनेछौं। (लेवी १९:१६; एफिसी ४:२५) निस्सन्देह, हामी कुनै पनि ढंगमा हाम्रो “धर्म” “व्यर्थको” वा परमेश्वरका लागि अस्वीकार्य भएको चाहँदैनौं।
२० याकूबले शुद्ध उपासनाका चौतर्फी पक्षहरूको उल्लेख नगरे तापनि त्यस्तो उपासनामा ‘अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह गर्नु’ समावेश छ भन्छन्। (गलाती २:१०; ६:१०; १ यूहन्ना ३:१८) यसअनुरूप मसीही मण्डली विधवाहरूका निम्ति आवश्यक चाँजोपाँजो मिलाउन विशेष रुचि लिन्छ। (प्रेरित ६:१-६; १ तिमोथी ५:८-१०) विधवा तथा अनाथहरूको रक्षक स्वयं परमेश्वर हुनुभएकोले हामी यस्ताहरूलाई यथासक्दो आध्यात्मिक एवं भौतिक तवरमा मदत गरेर परमेश्वरलाई सहयोग गरौं। (व्यवस्था १०:१७, १८) शुद्ध उपासनाको अर्थ, “आफूलाई दुनियाँबाट निष्कलंक राख्नु” अर्थात् शैतानको हातमा परेको अधार्मिक मानव समाजदेखि अलग बस्नु पनि हो। (यूहन्ना १७:१६; १ यूहन्ना ५:१९) अतः हामी संसारको ईश्वरहीन आचरणदेखि मुक्त भएर बसौं ताकि हामी यहोवाको महिमा गर्न अनि उहाँको सेवाको निम्ति केही कामको हुनसकौं।—२ तिमोथी २:२०-२२.
२१. याकूबको पत्रसित सम्बन्धित अरू कुन कुन प्रश्नहरू मनन गरिन योग्यका छन्?
२१ हामीले अहिलेसम्म छलफल गरेका याकूबको सल्लाहले परीक्षाहरू सहन र आफ्नो विश्वासलाई पक्रिराख्न मदत गर्नुपर्ने हो। असल दानका मायालु दाताप्रतिको हाम्रो मूल्यांकन अझ बढाउनुपर्ने हो। अनि याकूबका शब्दहरूले हामीलाई शुद्ध उपासना गर्न पनि मदत गर्छन्। यीबाहेक याकूब अरू कुन कुन कुरामा हाम्रो ध्यानाकर्षण गराउँछन्? यहोवामाथिको हाम्रो विश्वास साँचो हो भनेर प्रमाणित गर्न हामी अरू कुन कुन कदम चाल्नसक्छौं?
[पृष्ठ ९-मा भएको चित्र]
परीक्षामा पर्दा यहोवाले हाम्रा प्रार्थनाहरूको जवाफ दिन सक्नुहुन्छ भनेर विश्वास गर्नुहोस्
[पृष्ठ १०-मा भएको चित्र]
“वचन पालन गर्ने” मानिसहरूले सारा संसारभरि परमेश्वरको राज्यको उद्घोषणा गरिरहेका छन्
[फुटनोट]
a व्यक्तिगत वा पारिवारिक अध्ययन गर्दा यो लेख र यसपछिका दुइटा लेखहरूमा विश्वास दृढ पार्ने याकूबको पत्रबाट उद्धरण गरिएका प्रत्येक अंश पढ्नु तपाईंको लागि एकदम फाइदाजनक हुनेछ।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ परीक्षाहरू सहन कुन कुराले मदत गर्नेछ?
◻ परीक्षाहरूको बावजूद मसीहीहरू किन “गर्व” गर्नसक्छन्?
◻ हामी कसरी वचन पालन गर्ने हुनसक्छौं?
◻ साँचो उपासनामा के के सम्मिलित छन्?