विश्वासले हामीलाई काम गर्न उत्प्रेरित गर्छ!
“[अब्राहामको] विश्वासले उनका कामको साथसाथ काम गरेको, र कामैबाट विश्वास सिद्ध भएको तँ देख्तछस्।”—याकूब २:२२.
१, २. विश्वास छ भने हामी कसरी चल्नेछौं?
परमेश्वरमाथि विश्वास गर्दिनँ भन्ने मानिसहरू कमै होलान्। तापनि विश्वास छ, तर त्यसअनुसारको काम छैन भने, त्यो लाश बराबरको मात्र हुन्छ। “विश्वास पनि कामरहितको छ भनेता स्वयं मरेको तुल्य हुन्छ,” चेला याकूबले लेखे। ईश्वरभीरु अब्राहामसित “उनका कामको साथसाथ काम” गर्ने विश्वास थियो भनेर पनि तिनले भने। (याकूब २:१७, २२) तर विश्वासअनुसारको कामको के महत्त्व?
२ साँचो विश्वास छ भने, हामी मसीही सभाहरूमा सुनेका कुराहरू ठीक हो भनेर मानी लिने मात्र गर्दैनौं, यहोवाका सक्रिय साक्षीहरू भएकोले आफ्नो विश्वासको प्रमाण पनि दिन्छौं। हो, विश्वास छ भने परमेश्वरको वचन व्यवहारमा उतार्न र त्यसअनुसार काम गर्न हामी उत्प्रेरित हुन्छौं।
कृपावाद विश्वाससँग मेल खाँदैन
३, ४. हामीले अरूसित गर्ने व्यवहारलाई विश्वासले कसरी असर गर्नुपर्ने हो?
३ परमेश्वर अनि ख्रीष्टमाथि हामी साँच्चै विश्वास गर्छौं भने, कृपावाद देखाउनेछैनौं। (याकूब २:१-४) तथापि, याकूबको पत्र पाउने केही व्यक्तिहरूले साँचो मसीहीहरूले देखाउनुपर्ने निष्पक्षता देखाइरहेका थिएनन्। (रोमी २:११) अतः याकूब प्रश्न गर्छन्: “के तिमीहरू आफ्नै बीचमा पक्षपाती र कुविचारले न्याय गर्ने ठहरिएनौ?” बेग्लै धर्मका मानिसहरू मसीही सभामा आउँदा चाहे त्यो व्यक्ति सुनको औंठी अनि राम्रा लुगा लगाउने धनी होस् वा “झुत्रो लुगा” लगाउने “गरीब,” दुवैको उत्तिकै स्वागत हुनुपर्ने थियो। तर त्यसो हुनुको साटो धनीहरूको विशेष खातिरदारी हुँदैथियो। बिचरा गरिबहरूलाई उभिन वा अरूको पाउनेर भुइँमै बस्न लगाएर धनीहरूलाई चाहिं बस्नका लागि “राम्रो ठाउँ” दिइँदैथियो।
४ येशू ख्रीष्टलाई छुटकाराको बलिदानको रूपमा दिनुहुँदा, यहोवाले धनी, गरिब दुवैका निम्ति दिनुभएको थियो। (२ कोरिन्थी ५:१४) अतः धनीलाई कृपा, गरिबलाई हेला गर्न थाल्यौं भने, ख्रीष्टमाथिको विश्वासदेखि हामी तर्किरहेका हुनेछौं। किनकि ख्रीष्ट ‘हामीहरू धनी होऊन् भनेर हाम्रो खातिर दरिद्र हुनुभयो।’ (२ कोरिन्थी ८:९) अतः कहिल्यै हामी आफ्नो व्यक्तिगत फाइदा हेरेर मानिसहरूको आदर गर्ने नगरौं। परमेश्वर पक्षपाती हुनुहुन्न। अतः हामीले पक्षपात गर्न थाल्यौं भने, “कुविचारले न्याय” गरिरहेका हुनेछौं। (अय्यूब ३४:१९) परमेश्वरलाई प्रशन्न पार्ने इच्छा भएकोले हामी पक्कै पनि कृपावाद देखाउने वा “लाभको खातिर मानिसको पक्षपात गर्ने” हुनेछैनौं।—यहूदा ४, १६.
५. परमेश्वरले कसलाई “विश्वासको खानी” हुन रोज्नुभएको छ र धनी व्यक्तिहरू प्रायः कस्तो व्यवहार गर्छन्?
५ साँच्चै धनीहरू को हुन्, याकूब चिनाउँछन् र सबैलाई निष्पक्ष भई प्रेम गर्न आग्रह पनि गर्छन्। (याकूब २:५-९) ‘परमेश्वरले कंगालीहरूलाई विश्वासको खानी राज्यको हकदार बनाउन चुन्नुभएको छ।’ यसो हुनुको कारण, गरिबहरूले अरूले भन्दा छिट्टै सुसमाचार ग्रहण गर्ने भएकोले पनि हो। (१ कोरिन्थी १:२६-२९) अर्कोतर्फ सामूहिक तवरमा हेर्ने हो भने, भौतिक तवरमा धनी व्यक्तिहरू ऋण, ज्याला वा कानुनी मामिलाहरूलाई लिएर अरूको शोषण गर्छन्। तिनीहरू ख्रीष्टको विरुद्ध दुष्ट कुरा बोल्छन् र हामीले ख्रीष्टको नाउँ ग्रहण गरेको हुनाले हामीलाई सताउँछन्। तथापि, यी सबका बावजूद “शाही व्यवस्था” पालन गर्ने हाम्रो निर्णयमा हामी अटल बसौं, जसमा धनी तथा गरिब दुवै वर्गका छिमेकीलाई प्रेम गर्नु पनि समावेश छ। (लेवी १९:१८; मत्ती २२:३७-४०) यो कुरा हामीले व्यवहारमा उतारेको परमेश्वर चाहनुहुन्छ। अतः कृपावाद देखाउनु “पाप” हो।
‘दया इन्साफमाथि दिग्विजयी हुन्छ’
६. अरूसित दयालु व्यवहार गरेनौं भने कसरी व्यवस्था तोडिरहेका हुनेछौं?
६ निर्दयी भएर कृपावाद देखायौं भने, हामीले व्यवस्था तोडिरहेको हुनेछौं। (याकूब २:१०-१३) कृपावाद देखाउने कुरामा गलत कदम उठायौं भने, परमेश्वरको सम्पूर्ण व्यवस्था उल्लंघन गरिरहेका हुनेछौं। व्यभिचार नगरे तापनि चोरी चाहिं गर्ने इस्राएलीहरूले मोशाको व्यवस्था विरुद्ध पाप नै गरिरहेका हुन्थे। मसीहीहरूको हैसियतमा हाम्रो चाहिं “स्वतन्त्रको व्यवस्था[द्वारा]” न्याय हुन्छ। मतलब, नयाँ वाचाअन्तर्गत पर्ने अनि नयाँ वाचाको व्यवस्था आफ्नो हृदयमा राख्ने आत्मिक इस्राएलको व्यवस्थाद्वारा।—यर्मिया ३१:३१-३३.
७. कृपावाद देखाइरहने व्यक्तिले किन परमेश्वरबाट दया पाउने आश गर्न सक्दैन?
७ एकातर्फ विश्वास छ भनेर दाबी गर्ने अनि अर्कोतर्फ कृपावाद देखाउने गरिरहेका छौं भने, हामी खतरामा छौं। निष्ठुर र निर्दयी मानिसहरूको न्याय पनि निर्दयतापूर्वकै हुनेछ। (मत्ती ७:१, २) याकूब भन्छन्: “दयाले इन्साफमाथि दिग्विजय गर्दछ।” हर काम वा निर्णय गर्दा दया देखाउने गरेर यहोवाको पवित्र आत्माको डोऱ्याइ स्वीकाऱ्यौं भने, हाम्रो न्याय हुँदा दोषी ठहर्ने छैनौं। बरु, दया अनि परमेश्वरको अनुमोदन पाउनेछौं।
विश्वासले असल फल फलाउँछ
८. विश्वास छ भन्ने तर त्यसअनुसार काम नगर्ने कुन स्थितिमा हुन्छ?
८ हामीलाई मायालु अनि दयालु बनाउनुको अलावा विश्वासले अरू असल कामहरू गर्न उत्प्रेरित पनि गर्छ। (याकूब २:१४-२६) निस्सन्देह, विश्वास छ भनेर दाबी गर्ने तर काम चाहिं नगर्ने गऱ्यौं भने, त्यसले हामीलाई बचाउनेछैन। हो, व्यवस्थाअनुसार चलेर हामी परमेश्वरसामु धर्मी ठहर्न सक्तैनौं। (रोमी ४:२-५) याकूब यहाँ व्यवस्थाले नभई विश्वास अनि प्रेमद्वारा प्रेरित भई गरिने कामबारे भन्दैछन्। यस्ता गुणहरूले हामी प्रेरित भएका छौं भने, खाँचोमा परेका सँगी उपासकहरूको मुखले मात्र भलाकुसारी गर्दैनौं। भोका नांगा भाइबहिनीहरूलाई भौतिक तवरमा मदत पनि गर्छौं। याकूब सोध्छन्: ‘खाँचोमा परेको भाइलाई “शान्तिसँग जाओ, तातो भएर पेटभरि खाओ” भन्छ तर चाहिने कुराहरू दिंदैन भने के लाभ हुन्छ र?’ पक्कै पनि हुँदैन। (अय्यूब ३१:१६-२२) त्यस्तो “विश्वास” मरेतुल्य हुन्छ।
९. हामीसित विश्वास छ भनेर कुन कुराले देखाउँछ?
९ हामीले परमेश्वरका जनहरूसित कुनै हदसम्म संगत गर्न थालिसकेका हौंला। तर पूर्ण हृदयले काम गरेर नदेखाएसम्म विश्वास छ भनेर दाबा गर्न सक्तैनौं। त्रिएक सिद्धान्त मान्न छाडेर साँचो परमेश्वर एउटै हुनुहुन्छ भनेर मान्न थालेका छौं भने, त्यो राम्रै कुरा हो। तर विश्वास भएर मात्र पुग्दैन। किनकि “भूतात्माहरूले पनि विश्वास गर्दछ” र आउनै लागेको विनाश देखेर “थरथर” काँप्छन्। हामीसँग साँच्चै विश्वास छ भने, त्यसले सुसमाचार प्रचार गर्ने अनि खाँचोमा परेका सँगी विश्वासीहरूका निम्ति भोजन तथा कपडाको प्रबन्ध गर्ने जस्ता असल कामहरू गर्न हामीलाई उत्प्रेरित गर्नेछ। याकूब प्रश्न गर्छन्: “हे बेकम्मा मानिस [मतलब, परमेश्वरको सही ज्ञान नहुने मानिस], काम विनाको विश्वास व्यर्थ छ भन्ने के तँ जान्न चाहन्छस्?” हो, विश्वास सँगसँगै काम पनि गरेको हुनुपर्छ।
१०. अब्राहामलाई किन “विश्वास गर्नेहरू सबैका पिता” भनिन्छ?
१० धर्मी कुलपिता अब्राहामलाई तिनको विश्वासले काम गर्न उत्प्रेरित गऱ्यो। “विश्वास गर्नेहरू सबैका पिता[को]” हैसियतमा तिनले ‘आफ्नो छोरो इसहाकलाई वेदीमाथि अर्पण गरेपछि कामैले ठीक ठहरिए।’ (रोमी ४:११, १२; उत्पत्ति २२:१-१४) परमेश्वरले इसहाकको पुनरुत्थान गर्नुका साथै तिनकै सन्तानद्वारा वंश ल्याउने प्रतिज्ञा पनि पूरा गर्नुहुनेछ भन्ने रत्तिभर विश्वास अब्राहामसित नभएको भए के हुनेथियो? शायद अब्राहामले आफ्नो पुत्र बलिदान चढाउने प्रयत्न गर्ने नै थिएनन् होला। (हिब्रू ११:१९) अब्राहामको आज्ञाकारी कामहरूले गर्दा तिनको “विश्वास सिद्ध” अर्थात् पूरा भयो। फलतः “धर्मशास्त्रको [उत्पत्ति १५:६] यसो भन्ने वचन पूरा भयो, ‘अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।’ ” इसहाकलाई बलिदान चढाउने कोसिस गरेर काम गरेको हुँदा परमेश्वरले अब्राहाम धर्मी छन् भनेर ठीकै भन्नुभएको रहेछ भन्ने पक्का भयो। विश्वासअनुसारको काम गरेर तिनले परमेश्वरप्रतिको आफ्नो प्रेम देखाए र “परमेश्वरका मित्र कहलिए।”
११. राहाबले आफ्नो विश्वासको कुन प्रमाण दिइन्?
११ अब्राहामले “कामबाट मानिस धर्मी ठहरिंदो रहेछ, र विश्वासबाट मात्र होइन” भनेर प्रमाणित गरे। यरीहोकी वेश्या राहाबले पनि त्यही कुरा प्रमाणित गरिन्। राहाबले ‘[इस्राएली] दूतहरूको सत्कार गरेर’ र कनानी शत्रुहरूको हातमा नपरुन् भन्नका लागि ‘अर्कै बाटो पठाइदिएर, सो कामैबाट ठीक ठहरिन्।’ इस्राएलका जासुसहरूलाई भेट्नुअघि तिनले यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनी चिनिसकेकी थिइन्। त्यसपछि, तिनले वेश्यावृत्ति त्याग्नु अनि ती जासुसहरूलाई भेटेपछि आफ्नो भाव पोख्नु तिनको विश्वासको प्रमाण थियो। (यहोशू २:९-११; हिब्रू ११:३१) कामद्वारा देखाइएको विश्वासको यो दोस्रो उदाहरण पेश गरेपछि याकूब भन्छन्: “जसरी शरीर आत्मविना मरेको हुन्छ, त्यस्तैगरि विश्वास पनि कामबिना मरेको हुन्छ।” मान्छे मरेपछि उसको शरीरमा जीवन चलाउने शक्ति वा “आत्मा” हुँदैन। फलतः ऊ निष्क्रिय हुन्छ। कामबिनाको फोस्रो विश्वास पनि मरेको, काम नलाग्ने शरीर बराबर हुन्छ। तर यदि हामीसित साँच्चै विश्वास छ भने चाहिं त्यसले हामीलाई धार्मिक कामहरू गर्न उत्प्रेरित गर्नेछ।
जिब्रोलाई लगाम कस्नुहोस्!
१२. मण्डलीका प्राचीनहरूले कुन कुरा विचार गर्नुपर्छ?
१२ बोल्नु अनि सिकाउनु पनि विश्वासको प्रमाण दिनु हुनसक्छ। तर यस सन्दर्भमा संयम अपनाउनु आवश्यक छ। (याकूब ३:१-४) मण्डलीका शिक्षक भएको नाताले प्राचीनहरूले ठूलो जिम्मेवारी बहन गर्नुका साथै परमेश्वरसामु निकै जवाफदेही पनि हुन्छन्। तसर्थ, तिनीहरूले विनम्रतापूर्वक आफ्नो मनसाय तथा योग्यताहरूलाई तौलनुपर्छ। ज्ञान र क्षमताको अलावा यी पुरुषहरूले परमेश्वर तथा सँगी विश्वासीहरूलाई गहिरो प्रेम गरेकै हुनुपर्छ। (रोमी १२:३, १६; १ कोरिन्थी १३:३, ४) प्राचीनहरूले सल्लाह दिंदा धर्मशास्त्रलाई आधार बनाउनैपर्छ। प्राचीनले गलत सल्लाह दिंदा अरूलाई समस्या पर्न गयो भने, परमेश्वरले ख्रीष्टद्वारा प्रतिकूल न्याय गर्नुहुनेछ। तसर्थ, प्राचीनहरू विनम्र, अध्ययनशील हुनुका साथै परमेश्वरको वचन विश्वासी भई पालन गर्ने हुनुपर्छ।
१३. हामी किन वचनमा चुक्तछौं?
१३ असल भन्दा असल शिक्षकहरूसमेत ‘धेरै कुरामा चुक्तछन्।’ शिक्षकहरू मात्र किन हामी सबैजना असिद्धताको कारण धेरै कुरामा चुक्तछौं। मानिसका कमजोरीहरूमध्ये बारम्बार देखा परिरहने अनि अरूलाई हानि पुऱ्याउनसक्ने कमजोरी नै वचनमा चुक्नु हो। याकूब भन्छन्: “जो मानिस वचनमा चुक्तैन, त्यो आफ्नो सारा शरीरमा पनि लगाम कस्नसक्ने सिद्ध मानिस हुन्छ।” हामी ख्रीष्टले जस्तो आफ्नो जिब्रोलाई पूर्णतया वशमा राख्न सक्तैनौं। सक्यौं भने, आफ्ना शरीरका अन्य अंगहरूलाई पनि वशमा पार्नसक्छौं। आखिर घोडालाई आफूले चाहेजसो मोड्न डोकडिहरूले मदत गर्ने त हो नि। अनि हुरीले हुत्याइरहेको बडे बडेमानको डुंगालाई पनि सानो कर्णको मदत लिएर कर्णधारले इच्छा लागेको ठाउँतिर लैजानसक्छ।
१४. जिब्रोलाई वशमा राख्न आवश्यक छ भनेर याकूब कसरी जोड दिन्छन्?
१४ हाम्रो जिब्रोलाई वशमा राख्न निकै प्रयत्न गर्नुपर्छ भनेर हामी सबैले नहिचकिचाइ मानी लिनैपर्छ। (याकूब ३:५-१२) घोडा र जहाजलाई हेर्ने हो भने, तिनीहरूलाई भनेजस्तो ठाउँमा घुमाउने डोकडि अनि कर्ण कति हो कति सानो छ। हाम्रो शरीरलाई पनि हेर्नुहोस्। जिब्रो, अरू अंगहरूभन्दा सानो छ। तर त्यसले कति “ठूला ठूला कुराको अभिमान गर्दछ।” परमेश्वरलाई फूर्ति गरेको पटक्कै मन पर्दैन भनेर धर्मशास्त्रले प्रष्टै बताएको हुँदा आउनुहोस्, हामी उहाँको मदत लिएर धाक लगाउनदेखि अलग बसौं। (भजन १२:३, ४; १ कोरिन्थी ४:७) झनक्क रीस उठ्दा समेत मनपरी बोल्नदेखि आफ्नो जिब्रो थामौं र कहिल्यै नबिर्सौं, बडे बडेमानको जंगल सखाप पार्न आगोको सानो झिल्को भए पुग्छ। वास्तवमा याकूब “जिब्रो पनि एउटा आगो नै हो” र त्यसले ठूलो हानि पुऱ्याउनसक्छ भन्छन्। (हितोपदेश १८:२१) भनौं भने, वशमा नराखेको जिब्रो “अधर्मको एक दुनियै हो!” यस अभक्त संसारका जति पनि दुर्गुणहरू छन् ती सबै वशमा नराखिएको जिब्रोबाटै सुरु हुन गएका हुन्। हाम्रो जिब्रो बदख्वाइँ अनि झूटा शिक्षाजस्ता हानिकारक कुराहरूका लागि जिम्मेवार हुन्छ। (लेवी १९:१६; २ पत्रुस २:१) अतः अब तपाईंको के विचार छ? के हाम्रो विश्वासले हामीलाई भएभरको बल लगाएर आफ्नो जिब्रोलाई वशमा पार्न उत्प्रेरित गर्नुपर्ने होइन र?
१५. काबूमा नराखिएको जिब्रोले के हानि पुऱ्याउनसक्छ?
१५ लगाम नकसेको जिब्रोले “सारा शरीरभरि कलंक लगाउँछ।” उदाहरणका लागि, बारम्बार झूट बोलिरहेको फेला पऱ्यौं भने हाम्रो नाउँ नै फटाहा हुनसक्छ। तर छाडा छाडिएको जिब्रोले कसरी “प्रकृतिको चक्रमा आगो लगाइदिन्छ?” जीवनलाई दुर्गुणै दुर्गुणले भरिएको बोझिलो चक्र बनाएर। एकजनाले आफ्नो जिब्रोलाई लगाम नलगाउँदा पूरै मण्डली पिरोलिनसक्छ। जिब्रोकै सन्दर्भमा याकूब हिन्नोमको बेंसी “गेहेन्ना[को]” (NW) उल्लेख गर्छन्। कुनै समय गेहेन्नामा शिशुबलि दिइने गरिन्थ्यो। पछि त्यो सारा यरूशलेमको फोहर जलाउने ठाउँमा परिणत भयो। (यर्मिया ७:३१) अतः गेहेन्ना विनाशको प्रतीक हो। यस पृष्ठभूमिलाई ध्यानमा राखेर भन्ने हो भने, छाडा छाडिएको जिब्रोलाई हामी गेहेन्नाको विनाशकारी शक्तिसँग दाँज्नसक्छौं। आफ्नो जिब्रोलाई लगाम कसेनौं भने, आफूले खनेको खाल्टोमा आफै खस्नेछौं। (मत्ती ५:२२) अरूको निन्दोचर्चो गरेको अभियोगमा मण्डलीबाट बहिष्कारसमेत हुनसक्छौं।—१ कोरिन्थी ५:११-१३.
१६. वशमा नराखिएको जिब्रोले पुऱ्याउनसक्ने हानिलाई हेर्दा हामीले के गर्नुपर्ने हो?
१६ शायद बाइबल पढेर तपाईंले थाह पाइसक्नुभयो होला कि कसरी यहोवाले मानिसजातिलाई पशुहरूमाथि अधिकार गर्न दिनुभएको थियो। (उत्पत्ति १:२८) त्यहाँदेखि यता हरप्रकारका प्राणीलाई मानिसहरूले वशमा पारिसके। जस्तै, मानिसहरू बाजलाई तालिम दिएर शिकार गर्न लगाउँछन्। याकूबले उल्लेख गरेका “घस्रने जन्तु[मा]” शायद सपेराहरूले वशमा राख्ने सर्पहरू पनि पर्दा हुन्। (भजन ५८:४, ५) मानिसले ह्वेल माछाहरूलाई समेत काबूमा राख्नसक्छ। तर पापी भएकोले आफ्नो सानु जिब्रोलाई भने पूर्णतया काबूमा राख्न सक्दैनन्। तर यसो भए तापनि हामी घोच्ने शब्दहरू बोलेर दुर्व्यवहार गर्न वा बदख्वाइँ गर्नदेखि बच्नुपर्छ। वशमा नराखिएको जिब्रो भयंकर विषले भरिएको डरलाग्दो साधन हुनसक्छ। (रोमी ३:१३) दुःखको कुरा, झूटा शिक्षकहरूको जिब्रोले गर्दा केही प्रारम्भिक मसीहीहरू परमेश्वरदेखि तर्केर गए। त्यसकारण, हामी कहिल्यै विषाक्त धर्मत्यागी कुराहरूतिर कान नफर्काऔं। चाहे त्यो लिखित रूपमा होस् वा मौखिक।—१ तिमोथी १:१८-२०; २ पत्रुस २:१-३.
१७, १८. याकूब ३:९-१२ मा जिब्रोको अनियमित प्रयोगबारे के भनिएको छ र हामीले यस सन्दर्भमा के गर्नुपर्ने हो?
१७ परमेश्वरमाथिको विश्वास अनि उहाँलाई प्रशन्न पार्ने इच्छाले हामीलाई धर्मत्यागदेखि बचाउनुका साथै जथाभावी जिब्रो चलाउनदेखि रोक्नसक्छ। जथाभावी जिब्रो चलाउने केही व्यक्तिहरूतर्फ औंल्याउँदै याकूब भन्छन्, “यसबाट हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैबाट हामी परमेश्वरको सकलमा बनेका मानिसहरूलाई सराप्त पनि छौं।” (उत्पत्ति १:२६) यहोवा हाम्रो पिता हुनुहुन्छ। किनभने उहाँले नै “सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ।” (प्रेरित १७:२४, २५) आध्यात्मिक अर्थमा उहाँ अभिषिक्त मसीहीहरूका पिता पनि हुनुहुन्छ। पशुहरूभन्दा भिन्न बनाउने प्रेम, न्याय अनि बुद्धिजस्ता मानसिक तथा नैतिक गुणहरूको सन्दर्भमा हामी सबै “परमेश्वरको सकलमा” बनेका छौं। त्यसोभए, यहोवामाथि विश्वास गर्छौं भने हामी कसरी चल्नुपर्ने हो त?
१८ यदि हामी अरूलाई सराप्छौं भने, त्यसको यो अर्थ हुनेछ कि हामी ऊमाथि खराबी आइपरोस् भनी बिन्ती गर्न समेत पछि पर्दैनौं। अरूमाथि खराबी आइपरोस् भनेर बिन्ती गर्नसक्न हामी कुनै ईश्वरप्रेरित अगमवक्ताहरू होइनौं। अतः ज-जसले सराप्छ उसको बोलीले घृणाको प्रमाण दिन्छ र त्यस्तो घृणा गर्ने व्यक्तिले परमेश्वरको जति नै उपासना गरे पनि बेकार हुन्छ। एउटै मुखबाट “आशीर्वाद र सराप” दुवै निस्कनु ठीक होइन। (लूका ६:२७, २८; रोमी १२:१४, १७-२१; यहूदा ९) अतः सभाहरूमा त्यही मुखले परमेश्वरको प्रशंसा गाउने अनि पछि त्यही मुखले सँगी विश्वासीहरूको कुरा काट्नु कति पापपूर्ण हुनेछ! एउटै मुहानबाट मीठो र तीतो दुवै किसिमको पानी फुट्नसक्दैन। “नेभाराको बोटमा भद्राक्ष, वा दाखको बोटमा नेभारा फल्न” नसकेझैं मीठो पानीको मुहानबाट नुनिलो पानी निस्कन सक्दैन। हामी असल बोल्नुपर्ने ठाउँमा खराबी मात्रै बोलिरहन्छौं भने, पक्कै पनि आध्यात्मिक तवरमा हामीलाई केही भएको हुनुपर्छ। यदि हामीलाई बानी नै परिसकेको छ भने यहोवासित मदत मागेर खराबी बोल्न बन्द गरिहालौं।—भजन ३९:१.
माथिबाट आउने ज्ञानअनुसार चल्नुहोस्
१९. स्वर्गीय ज्ञानबाट डोऱ्याइएका छौं भने त्यसले अरूलाई कसरी असर गरिरहेको हुनसक्छ?
१९ विश्वास गर्ने व्यक्ति भन्न सुहाउने खालको बोली बोल्न र काम गर्न हामी सबैलाई बुद्धि चाहिन्छ। (याकूब ३:१३-१८) श्रद्धापूर्वक परमेश्वरको भय मान्यौं भने उहाँले स्वर्गीय बुद्धि, मतलब उहाँको ज्ञान ठीकसित चलाउने क्षमता दिनुहुनेछ। (हितोपदेश ९:१०; हिब्रू ५:१४) उहाँको वचनले हामीलाई “ज्ञानको नम्रता” प्रदर्शन गर्न सिकाउँछ। अनि हामी नम्र भएकोले मण्डलीको शान्ति पनि बढ्छ। (१ कोरिन्थी ८:१, २) सँगी विश्वासीहरूको महान् शिक्षक हुँ भनी धाक दिने व्यक्तिले ‘मसीही सत्यको विरुद्धमा झूट बोलिरहेको हुन्छ।’ किनकि मसीही सत्यले अहंकारलाई स्थान दिंदैन। (गलाती ५:२६) यसरी फूर्ति लगाउनेहरूको “ज्ञान” “सांसारिक” हुन्छ र त्यो परमेश्वरबाट तर्केर गएका पापी मानवहरूको चिनारी हो। त्यस्तो ज्ञानलाई शारीरिक झुकाउले लगाम कस्ने हुँदा त्यो “पाशविक” ( NW) पनि हो। अझ भनौं भने, त्यस्तो ज्ञानलाई “शैतानी” भने पनि हुन्छ। किनभने दुष्टात्माहरू पनि घमण्डी हुन्छन्! (१ तिमोथी ३:६) अतः हामी सबैजना ज्ञान र विनम्रतासित चलौं ताकि यस्तो वातावरण सृजना नहोस् जहाँ बदख्वाइँ अनि कृपावाद जस्ता “भ्रष्ट” कुराहरू फस्टाउन पाओस्।
२०. स्वर्गीय ज्ञानलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?
२० “जुन ज्ञान माथिबाट आउँछ, पहिले त त्यो पवित्र,” हुने भएकोले त्यसले हामीलाई नैतिक तथा आध्यात्मिक तवरमा शुद्ध बनाउँछ। (२ कोरिन्थी ७:११) “मिलापी” पनि भएकोले त्यसले हामीलाई मिलाप गर्न प्रेरित गर्छ। (हिब्रू १२:१४) स्वर्गीय ज्ञानले हामीलाई “मृदुभाव” बनाउँछ, जिद्दी वा व्यवहार गर्नै गाह्रो खालको मान्छे होइन। (फिलिप्पी ४:५) माथिबाट आउने ज्ञान “आज्ञाकारी” ( NW) हुन्छ, मतलब त्यसले ईश्वरीय शिक्षा पालन गर्न तथा यहोवाको संगठनसित मिलेर काम गर्न प्रोत्साहन दिन्छ। (रोमी ६:१७) माथिबाट आउने ज्ञानले हामीलाई दयालु, कोमल पनि बनाउँछ। (यहूदा २२, २३) “बढ़िया फलले” भरिएको हुँदा त्यस्तो ज्ञानले अरूको ख्याल गर्न अनि भलाइ, धार्मिकता अनि सच्चाइअनुसार चल्न उत्प्रेरित गर्छ। (एफिसी ५:९) अनि हामी मिलापी व्यक्तिहरू भएकोले मिलापी वातावरणमा फस्टाउने “धर्मको फल[को]” आनन्द उठाउँछौं।
२१. याकूब २:१–३:१८ अनुसार परमेश्वरमाथिको विश्वासले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्छ?
२१ स्पष्ट छ, विश्वासले हामीलाई काम गर्न उत्प्रेरित गर्छ। यसले हामीलाई निष्पक्ष, दयालु बनाउनुका साथै असल कामहरूमा सक्रिय हुन मदत गर्छ। विश्वासले हाम्रो जिब्रोलाई वशमा राख्न मदत गर्छ भने, स्वर्गीय ज्ञानअनुसार चल्न पनि मदत गर्छ। तर याकूबको पत्रबाट हामीले सिक्नसक्ने कुरा यतिमै टुंगिदैन। यहोवामाथि विश्वास गर्ने व्यक्तिलाई सुहाउने किसिमको व्यवहार गर्न हामीलाई अरू के के सल्लाह चाहिन्छ, याकूब त्यो पनि बताउँछन्।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ कृपावाद देखाउनुमा के गल्ती छ?
◻ विश्वास र काम कसरी एकआपसमा सम्बन्धित छन्?
◻ जिब्रोलाई वशमा राख्नु किन अनिवार्य छ?
◻ स्वर्गीय ज्ञान कस्तो हुन्छ?