खतरनाक इलाकाबाट टाढै रहनुहोस्!
ज्वालामुखी विशेषज्ञहरूको काम विस्फोटन हुनै लागेको ज्वालामुखीका संकेतहरू अध्ययन गर्नुका साथै जाँचबुँझ गरेर मानिसहरूलाई चेताउनी दिनु हो। (फुगेन पर्वतमा ज्वालामुखी विस्फोटन भएपछि प्रहरीले मानिसहरूलाई खतरनाक इलाकामा जानदेखि रोक्नुपऱ्यो।) त्यस्तै गरी, बाइबल विद्यार्थीहरू “जगत्को अन्तको” चिह्न देख्छन् अनि अरूलाई आउनै लागेको खतराबारे सजग गराउँछन्।—मत्ती २४:३.
आउनै लागेको विश्वव्यापी विपत्तिबारे चेताउनी दिने बाइबलको अध्यायमै उक्त विपत्तिअघि हुने घटनाहरूबारे हामी यस्तो विवरण पढ्नसक्छौं: “जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ ठाउँमा अनिकाल र भैंचालो हुनेछ। . . . धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई भ्रममा पार्नेछन्। औ अधर्म बढ़ने हुनाले धेरैका प्रेम सेलाएर जानेछ। . . . राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:७-१४.
यो भविष्यवाणी अहिले पूरा भइरहेको छ भनेर बुझ्नको लागि हामीले समाचार विश्लेषण गरिरहनु पर्दैन। विशेष गरी, १९१४ देखि हामीले यी सबै अनुभव गर्दै आएका छौं। यस शताब्दीमा दुइटा विश्व युद्ध, अनेकन् गृह युद्ध, स्थानीय युद्ध र जातीय तथा धार्मिक युद्धहरू भएका छन्। यस्ता युद्धहरूका साथै प्राकृतिक प्रकोपहरूले गर्दा मानिसहरू खाद्यान्न अभावको चपेटामा परेका छन्। भुइँचालोले थुप्रैको ज्यान लिएको छ। शंकास्पद नेताहरूको नेतृत्वमा कट्टर अनुयायीहरूका गुटहरू फस्टाइरहेका छन्। ‘अधर्म बढेकोले’ मानिसहरूमा एकअर्काप्रतिको प्रेम सेलाएको छ र मित्रैलो व्यवहार देखिंदैन।
अन्तको चिह्नको अर्को पक्ष अर्थात् विश्वव्यापी प्रचारकार्य पनि साँच्चै पूरा हुँदैछ। यो पत्रिकाको आवरण पृष्ठ हेर्नुभयो भने माथिपट्टि नै “यहोवाको राज्यको घोषणा गर्छ” भनेर लेखिएको देख्नुहुनेछ। प्रहरीधरहरा १३२ भाषाहरूमा दुई करोड २० लाखभन्दा बढी प्रतिहरू प्रकाशित हुन्छन् र सारा संसारमा “राज्यको यो सुसमाचार” घोषणा गर्नेहरूका लागि एउटा महत्त्वपूर्ण साधन हो। यो सुसमाचारमा ब्रह्माण्डको सृष्टिकर्ता यहोवा परमेश्वरले दुष्ट रीतिरिवाजलाई नाश गर्नुभएर पृथ्वीलाई प्रमोदवन बनाउनुहुनेछ भन्ने सन्देश पनि समावेश छ। साँच्चै, परमेश्वरले अब चाँडै कदम चाल्नुहुनेछ भन्ने संकेत हामीले प्रत्यक्ष देखिरहेका छौं। तसर्थ, यस रीतिरिवाजका मानिसहरूको ज्यान खतरामा छ।—२ तिमोथी ३:१-५; २ पत्रुस ३:३, ४; प्रकाश ६:१-८ तुलना गर्नुहोस्।
यहोवाको भयानक दिन
यहोवाले न्याय कार्यान्वयन गर्नुहुने समय आएपछि के हुनेछ? त्यतिखेर हुने घटनाबारे उहाँ आफैले दिनुभएको यो जीवन्त विवरण ध्यान दिएर सुन्नुहोस्: “आकाश र पृथ्वीमा म अचम्मका कामहरू देखाउनेछु, अर्थात् रगत आगो र धुवाँका खामाहरू। परमप्रभुको त्यो महा र भयंकर दिन आउनभन्दा अघि सूर्य अँध्यारोमा र चन्द्र चाहिं रगतमा परिवर्तन हुनेछ।”—योएल २:३०, ३१.
स्थानीय ज्वालामुखी विस्फोटन वा भूकम्पभन्दा डरलाग्दो र विनाशकारी हुने त्यो दिन सँघारमै आइसकेको छ। अगमवक्ता सपन्याह यसो भन्छन्: “परमप्रभुको भयानक दिन नजीकै छ, नजीकै, त्यो चाँड़ै आउँदैछ। . . . उहाँको डाहको आगोले सारा देश भस्म पारिनेछ, किनकि उहाँले खतम पार्नुहुनेछ, पृथ्वीका सारा बासिन्दाहरूलाई डरलाग्दोगरी खतम पार्नुहुनेछ।” ‘परमप्रभुको क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन’ नसके तापनि त्यस भयानक दिनबाट बच्ने उपाय छ।—सपन्याह १:१४-१८.
बच्नसक्ने तरिकाबारे सपन्याह यसो भन्छन्: “परमप्रभुको भयंकर रीस तिमीहरूमाथि आउन अघिनै, परमप्रभुको रीसको दिन तिमीहरूमाथि आउन अघिनै जम्मा होऊ। हे पृथ्वीका दीन जन हो, . . . परमप्रभुको खोजी गर। . . . धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।” (सपन्याह २:२, ३) ‘यहोवा, धार्मिकता र नम्रता खोजेर’ हामीले शरण लिनसक्छौं। आज कस-कसले यहोवालाई खोजिरहेका छन्?
निस्सन्देह, यहोवाका साक्षीहरूको प्रचारकार्यले गर्दा “यहोवा” शब्द तिनीहरूसित सम्बन्धित छ भनेर बुझ्नुभएको होला। तपाईंले तिनीहरूबाटै यो पत्रिका प्राप्त गर्नुभएको होला। तिनीहरू सोझो जीवनयापन गर्ने नैतिकवान् नागरिकहरू हुन् भनेर चिनिन्छन्। तिनीहरूले “नयाँ चोला धारण” गर्ने प्रयास गरिरहेका छन् र यसमा नम्रता खेती गर्नु पनि समावेश छ। (कलस्सी ३:८-१०) पृथ्वीभरि यहोवाका साक्षीहरूको स्थानीय मण्डलीहरूले प्रतिनिधित्व गर्ने यहोवाको दृश्य संगठनद्वारा शिक्षा पाएर नयाँ चोला धारण गर्न सकिन्छ भनेर तिनीहरू मानिलिन्छन्। हो, विश्वभरिका यहोवाका साक्षीहरूको ‘दाज्यू-भाइहरूसँगसँगै’ तपाईंले पनि शरण लिन सक्नुहुन्छ।—१ पत्रुस ५:९.
अहिल्यै शरण लिनुहोस्
यहोवालाई खोजेर शरण लिन हामी उहाँको मित्र हुनुपर्छ। उहाँको मित्र हुन के गर्नुपर्छ? बाइबल यसरी जवाफ दिन्छ: “संसारसँगको मित्रता परमेश्वरसँगको दुश्मनी हो भन्ने कुरा के तिमीहरूलाई थाह छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।” (याकूब ४:४) परमेश्वरको मित्र हुन हामीले परमेश्वरको विरोध गर्ने वर्तमान दुष्ट संसारसित भावनात्मक सम्बन्ध पटक्कै राख्नु हुँदैन।
बाइबल हामीलाई आग्रह गर्छ: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो। औ संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्ना २:१५-१७) अहिलेका प्रायजसो मानिसहरू अनियन्त्रित यौन लालसा, पैसाको लोभ र शक्तिको दुरुपयोग जस्ता शारीरिक चाहनाहरूले प्रेरित भएका छन्। तर यहोवाको पक्षमा हुन यस्ता चाहनाहरूदेखि टाढै बस्नुपर्छ।—कलस्सी ३:५-८.
तपाईंले कहिलेकाहीं यो पत्रिका पढ्नुभएको होला अनि बाइबलका भविष्यवाणीहरूबारे यसले बताउने कुरामा सहमत पनि हुनुहुन्छ होला। तैपनि, यहोवाका साक्षीहरूसित संगत गर्ने कदम चाल्न हिचकिचाउनु हुन्छ होला। तथापि, हामीमाथि कुनै विपत्ति आइपर्नै लागेको छ भने चेताउनी सुनेर मात्र पुग्छ र? चेताउनी सुनेपछि त्यसअनुसार कदम चाल्नु आवश्यक छ भनेर हामी फुगेन पर्वतको विस्फोटनबाट बुझ्नसक्छौं। नबिर्सनुहोस्, ज्वालामुखीबारे जानकारी हासिल गर्न चाहने कम्तीमा पनि १५ जना पत्रकार र फोटोग्राफरहरूले आफ्नो ज्यान गुमाउनुपऱ्यो। अझ भन्ने हो भने, एक जना फोटोग्राफर त हातमा क्यामेरा लिएर फोटो खिच्नै लाग्दा मरेका थिए। “मर्नु नै छ भने पनि ज्वालामुखीकै छेउमा मर्न पाउँ” भनेर इच्छा गर्ने एक जना ज्वालामुखी विशेषज्ञ आफूले इच्छा गरेजस्तै मरे। तिनीहरू सबै आफ्नो काम र पेसामा समर्पित थिए। तर चेताउनीलाई बेवास्ता गर्दा तिनीहरूले आफ्नो ज्यानै गुमाउनुपऱ्यो।
आज थुप्रैले यस दुष्ट रीतिरिवाजलाई नाश गर्ने परमेश्वरको निर्णयबारे सन्देश सुन्नुका साथै यो चेताउनी सही हो भनेर केही हदसम्म बुझ्छन् पनि। ‘अहिले केही भएको छैन, पछि मरिन्छ भने मरौंला’ भनेर तिनीहरू तर्क गर्नसक्छन्। अहिले तिनीहरूलाई बढी महत्त्वपूर्ण लाग्ने कुराहरू गुमाउन नपरोस् भनेर तिनीहरू आफै यहोवाको दिन पर सार्छन्।
बारूकले पनि यस्तै विचार गरे। पुरातन समयका अगमवक्ता यर्मियाका सचिवको हैसियतमा बारूक आगमी यरूशलेमको नाशबारे इस्राएलीहरूलाई चेताउनी दिन साहसी भए। यद्यपि, एक चोटि तिनी आफ्नो कामबाट वाक्क भएका थिए। तब यहोवाले तिनलाई यसरी सुधार्नुभयो: “के तँ चाहिं आफ्नै निम्ति ठूला कुराहरू खोज्छस्? ती नखोज्।” चाहे धनसम्पत्ति, प्रतिष्ठा वा भौतिक सुरक्षा नै किन नहोस्, बारूकले ‘आफ्नै निम्ति ठूला कुराहरू खोज्नु’ हुँदैनथ्यो। तिनले एउटै कुरामा मात्र चासो राख्नुपर्थ्यो। त्यो थियो, मानिसहरूलाई परमेश्वरको पक्षमा खडा हुन मदत गरेर उहाँको इच्छा पूरा गर्ने। फलस्वरूप, तिनको ‘प्राण युद्धको लूटको धनसरह’ हुनेथियो। (यर्मिया ४५:१-५) त्यसै गरी, हामीले पनि ‘आफ्नै निम्ति ठूला कुराहरू खोज्नुको’ सट्टा यहोवालाई खोज्यौं भने आफूलाई बचाउनसक्छौं।
ज्वालामुखीबाट निस्केको अत्यन्तै तातो पदार्थ बाह्र जनाभन्दा बढी प्रहरी र स्वयंसेवक वारूणकर्मीहरूमाथि खनिन्दा तिनीहरू आफ्नो काममा खटिरहेका थिए। तिनीहरूले खतरामा परेका मानिसहरूलाई मदत गर्ने र बचाउने कोसिस गरिरहेका थिए। तिनीहरू यस संसारलाई सुधार्न प्रयासरत् असल मनसाय भएका पुरुष तथा स्त्रीहरू जस्तै थिए। तिनीहरूको मनसाय असल भए तापनि “जे बांगो छ त्यो सोझो बन्नसक्तैन।” (उपदेशक १:१५) बांगो रीतिरिवाजलाई सोझो बनाउन सकिन्न। के परमेश्वरले नामेट गर्ने निधो गर्नुभएको विश्वव्यापी रीतिरिवाजलाई बचाउने कोसिस गरेर “संसारको मित्र” हुनु बुद्धिमानी कुरा हो?
एक चोटि भागेपछि त्यसको नजिकै नजानुहोस्
खतरापूर्ण रीतिरिवाजबाट भाग्नु एउटा कुरा हो भने “भाइ-बन्धुहरू[को]” सुरक्षामा रहनु अर्कै कुरा हो। (१ पत्रुस २:१७) खतरनाक इलाकाबाट बचाइएका तर फेरि फुगेन पर्वत नजिकै आ-आफ्नो खेतबारी हेर्न गएका किसानहरूलाई हामी नबिर्सौं। हुनसक्छ, तिनीहरू पहिलाकै जस्तो “सामान्य” जीवनयापन गर्न चाहन्थे। तर आफ्नो खेतमा फर्कने निर्णय गर्नु मूर्खता थियो भनेर तपाईंले बुझ्नुभयो होला। तिनीहरूले त्यसअघि पनि खतरनाक इलाकामा जाने प्रयास गरेका थिए होलान्। खतरनाक इलाकामा गएर एकछिन बस्दा केही पनि भएन होला। अर्को चोटि तिनीहरू पहिलेभन्दा अलि बढी समयसम्म बसे होलान् र पनि केही भएन होला। यसरी तिनीहरूलाई सुरक्षित सिमा नाघेर जाने बानी नै पऱ्यो अनि खतरनाक इलाकाको आफ्नो खेतमा धेरै समय बिताउन थाले।
‘जगत्को अन्तमा’ पनि यस्तै हुनेछ भनेर येशू ख्रीष्टले औंल्याउनुभयो। उहाँले भन्नुभयो: “जसरी जलप्रलयका अघाड़िका दिनमा नूह जहाजमा नपसेका दिनसम्म, मानिसहरू खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए, औ जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे, उसैगरी मानिसको पुत्रको आगमन पनि हुनेछ।”—मत्ती २४:३, ३८, ३९.
ध्यान दिनुहोस्, येशूले खाने, पिउने र विवाह गर्नेबारे बताउनुभयो। यी कार्यहरू नै यहोवाको नजरमा गलत कुराहरू होइनन्। त्यसो भए केचाहिं गलत थियो त? आफ्नै दिनचर्यामा व्यस्त रहेर नूहको समयका मानिसहरूले केही “थाहै” पाएनन्। आपत्कालीन समयमा “सामान्य” जीवन बिताउन सकिंदैन। नाश हुन लागेको वर्तमान संसारबाट एक चोटि भागिसकेपछि वा आफूलाई अलग गरिसकेपछि त्यहाँबाट जस्तोसुकै लाभदायक कुरा प्राप्त भए पनि त्यसको लोभ विरूद्ध संघर्ष गर्नुपर्छ। (१ कोरिन्थी ७:३१) तपाईं आध्यात्मिक सुरक्षित क्षेत्रबाट बाहिर टहल्न गएर सुरक्षितसाथ फर्कनुहोला र यो कसैले थाह पनि नपाउला। तर त्यसले गर्दा तपाईं अझ आँटिलो भएर त्यही संसारमा फेरि जानुहोला, पहिलाभन्दा अलि धेरै समय बिताउनुहोला। केही समय नबित्दै यस्तो मनोवृत्ति पलाउनसक्छ: “अहिल्यै अन्त आउँदैन नि।”
साथै, ज्वालामुखीबाट निस्केको लाभाले छोप्दा पत्रकार र फोटोग्राफरहरूलाई पर्खेर बस्दा ज्यान गुमाउने तीन जना मोटर चालकहरूलाई पनि नबिर्सनुहोस्। आज कसै कसैले यस संसारमा फर्केर गएका मानिसहरूसँगसँगै जाने आँट गर्नसक्छन्। कारण जेसुकै किन नहोस्, अरूको लहैलहैमा लागेर खतरनाक इलाकामा फर्किने खतरा मोल्नु बेकार हो।
फुगेन पर्वतको विस्फोटनको सिकार हुनेहरू सबै सुरक्षित सिमा नाघेर खतरनाक इलाकामा गए। कुनै एक दिन पर्वत विस्फोटन हुनेछ भनेर तिनीहरूलाई थाह भए तापनि त्यही दिन हुनेछ भनेर कसैले सोचेका थिएनन्। यस रीतिरिवाजको अन्तको चिह्न हेरेर थुप्रै मानिसहरू यहोवाको दिन आउनेछ त भन्छन् तर अलि ढिलै आउनेछ भन्ठान्छन्। कसै कसैले त त्यो दिन “अहिले” आउने छाँट छैन भनेरसमेत सोच्छन्। यस्तो मनोवृत्ति साँच्चै खतरापूर्ण हुन्छ।
“प्रभुको दिन चोर जस्तैगरी आउनेछ” भनी प्रेरित पत्रुसले चेताउनी दिए। “परमेश्वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्तासाथ इच्छा गरेर” अनि हाम्रा “प्रभुको दृष्टिमा निष्खोट र निष्कलंक ठहरिनालाई प्रयत्न” गर्दै हामी जागा रहनुपर्छ। (२ पत्रुस ३:१०-१४) वर्तमान दुष्ट रीतिरिवाज नाश भएपछि परमेश्वरको राज्य अन्तर्गत पार्थिव प्रमोदवन हुनेछ। हाम्रो मनमा जस्तोसुकै बहाना उब्जे तापनि खतरनाक इलाकामा जाने आँट कहिल्यै नगरौं किनकि हामी संसारमा फर्केर गएको दिन नै यहोवाको दिन हुनसक्छ।
यहोवाका जनहरूसँगसँगै शरण लिनुहोस् अनि तिनीहरूसितै रहनुहोस्।
[पृष्ठ ७-मा भएका चित्रहरू]
यहोवाका जनहरूसँगसँगै शरण लिनुहोस् अनि तिनीहरूसितै रहनुहोस्
[पृष्ठ ४-मा भएको चित्रको स्रोत]
Iwasa/Sipa Press