“हरेक असल वरदान”-का दाता
“एकपटक मलाई रिफर्म्ड चर्चका एक जना पादरीले बोलाए। मैले आफ्नो गिर्जा कसरी सञ्चालन गर्छु भनी तिनी जान्न चाहन्थे। मैले तिनलाई भनें: . . . ‘हामी कुनै तलब दिंदैनौं; मानिसहरूलाई झगडा गराउने कुनै कारणै छैन। हामी कहिल्यै पैसा सङ्कलन गर्दैनौं।’ तिनले सोधे, ‘तपाईंहरू पैसा कसरी पाउनुहुन्छ?’ मैले जवाफ दिएँ, ‘डा०——अब मैले तपाईंलाई यथार्थ कुरा बताएँ भने तपाईंले विश्वासै गर्नु हुने छैन। यस मार्गमा मानिसहरूले चासो लिन थालेपछि तिनीहरूले कुनै पैसा सङ्कलन बाकस घुमाइएको पाउँदैनन्। तर तिनीहरूले खर्चहरू हुन्छन् भनी याद गर्छन्। तिनीहरू आफैलाई भन्छन्, “यस भवनको पक्कै पनि भाडा लाग्छ। . . . त्यसको लागि मैले पनि अलिकता पैसा दिएर कसरी सहयोग पुऱ्याउन सक्छु?” तिनले मनमनै मलाई यस्तो सोचाई लिएर हेरिरहेको जस्तो देखिन्थ्यो, ‘के तपाईंले मलाई बेवकूफ ठान्नुभएको हो?’ मैले भनें, ‘डा०——अहिले मैले तपाईंलाई भनिरहेको कुरा यथार्थ हो। . . . एक जना व्यक्तिले आशिष पायो र उसित भौतिक स्रोतहरू पनि छ भने, त्यसलाई ऊ प्रभुको काममा लगाउन चाहन्छ। यदि उसँग कुनै स्रोत नै छैन भने, उसित किन माग्ने?’”
—चार्ल्स टि० रसल, वाच टावर सोसाइटीका प्रथम अध्यक्ष, “द वाच टावर,” जुलाई १५, १९१५.
यहोवा परमेश्वरले सर्वप्रथम दिनुभएको हुनाले हामी दिन्छौं। उहाँको पहिलो सृष्टि, उहाँको “एकमात्र पुत्र”-लाई सृष्टि गर्नुहुँदा अर्थात् युगानुयुगदेखि नै उहाँले दिन थालिसक्नु भएको थियो। (यूहन्ना ३:१६) प्रेमले गर्दा उहाँले अरूहरूलाई जीवनको वरदान दिनुभयो।
यहोवाले हामीलाई दिनुभएको सर्वोत्तम वरदान परमेश्वरको पुत्र, येशू ख्रीष्ट हुनुहुन्छ। तर परमेश्वरको पुत्र नै परमेश्वरले दिनु हुने थोकहरूको अन्त होइन। “परमेश्वरको असीम अनुग्रह”-लाई प्रेरित पावल यहोवाको “बयान गरी नसक्ने वरदान” भन्छन्। (२ कोरिन्थी ९:१४, १५) निस्सन्देह यस वरदानमा परमेश्वरले येशूद्वारा मानवजातिलाई दिनुहुने सबै भलाइ र कृपा समावेश छ। त्यस असीम अनुग्रह यति अद्भुत छ कि मानिसले त्यसको बयान अथवा व्यक्त गर्नै सक्दैन। यद्यपि, परमेश्वरले दिनु हुने अरू थुप्रै पक्षहरू छन्।
धेरै पहिले, आफूले दिने सबै कुराहरू वास्तवमा यहोवाकै हुन् भनेर एक जना राजाले बुद्धिमानी र नम्रतापूर्वक मानि लिए। उनले भने: “किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु राज्याधिकार तपाईंकै हो, औ सबैका माथि तपाईं सर्वोच्च हुनुहुन्छ। . . . तर म को हुँ, औ मेरो प्रजा को हो र? कि हामी राजी-खुशीसित यसरी दिनसक्तछौं? किनभने सबै कुरा तपाईंबाटै आउँछन्, औ तपाईंकै दानबाट हामी तपाईंलाई दिंदैछौं।”—१ इतिहास २९:११-१४.
परमेश्वरको उदाहरण
हर क्षेत्रमा राम्रा साबित हुने कुनै पनि कुराको स्रोत यहोवा परमेश्वर नै हुनुहुन्छ भनेर येशू ख्रीष्टका चेला याकूबलाई थाहा थियो। उहाँबाट आउने सबै वरदानहरू उत्तम हुन्छन्। याकूबले लेखे: “हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटकै हो, र ज्योतिका पिताबाट आउँछ, जसमा कहिल्यै अदल-बदल हुने र फेरिने छाया छैन।”—याकूब १:१७.
उपहारहरू दिने सन्दर्भमा पनि मानवहरूभन्दा परमेश्वर कति भिन्न हुनुहुन्छ भनेर याकूबले देखे। मानवहरूले असल उपहारहरू दिन सक्छन् तर सधैं त्यसो गर्दैनन्। यी उपहारहरू स्वार्थी मनोवृत्ति अथवा एक जना व्यक्तिलाई खराब काम गर्न लोभ्याउन उत्प्रेरित गर्न दिइएको हुन सक्छ। तर यहोवासित भने कुनै अदल-बदल हुँदैन; उहाँ कहिल्यै बद्लिनु हुन्न। यसर्थ, उहाँले दिनुहुने वरदानहरूको स्वभाव पनि बद्लँदैनन्। तिनीहरू सदैव कपटरहित हुन्छन्। तिनीहरू सदैव मानवजातिको निम्ति हितकारी र आनन्ददायी हुन्छ। तिनीहरू ध्वंसात्मक नभएर सदैव दयालु र मदतकारी हुन्छन्।
उपहारहरू दिने मनोवृत्ति
याकूबको समयका प्रख्यात धार्मिक नेताहरू मानिसहरूलाई देखाउन मात्र उपहारहरू दिन्थे। तिनीहरू खराब मनोवृत्तिले दिन्थे। मानिसहरूको प्रशंसा पाउन उत्सुक ती नेताहरूले आफ्नो धार्मिक स्तरहरूमा पनि सम्झौता गर्थे। तथापि मसीहीहरू बेग्लै हुनुपर्थ्यो। येशूले तिनीहरूलाई यसरी चेतावनी दिनुभयो: “जब तिमी धर्म-कर्म गर्दछौ, तब आफ्नो सामु तुरही नबजाऊ, जस्तो कपटीहरूले सभाघरहरू र गल्लीहरूमा मानिसहरूबाट प्रशंसा पाउनालाई गर्दछन्। म तिमीहरूलाई साँचो भन्दछु, ‘तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।’ तर जब तिमी दान-पुण्य गर्दछौ, तिम्रो दाहिने हातले थाह नपाओस्। तिम्रो दान-पुण्य गुप्तमा होस्, र गुप्तमा देख्ने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।”—मत्ती ६:२-४.
एक जना मसीहीले उपहार दिनुको कारण अरूहरूको आवश्यकता पूर्ति गर्न, अरूहरूलाई आनन्दित पार्न अथवा साँचो उपासनालाई बढावा दिन हो। यसो गर्नु आफ्नै महिमाको लागि होइन। आखिरमा जे भए पनि यहोवाको दृष्टि हाम्रो हृदयको गहराईसम्म पुग्न सक्छ। दयापूर्वक दिने हाम्रा उपहारहरूको भित्री मनोवृत्तिलाई उहाँले देख्न सक्नुहुन्छ।
यहोवाका साक्षीहरू उपहारहरू दिने सन्दर्भमा यहोवा र उहाँको पुत्रको उदाहरण अनुसरण गर्न प्रयास गर्छन्। आफूसँग भएका कुराहरूबाट तिनीहरू दिन्छन्। तिनीहरूसित राज्यको सुसमाचार छ र अरूहरूको भलाइको लागि तिनीहरू यो दिन्छन्। तिनीहरूलाई हितोपदेश ३:९-मा भनिएको कुरा थाहा छ: “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर र तेरा सबै आम्दानीको सबैभन्दा पहिलो अंशले परमप्रभुको इज्जत गर्।” वाच टावर सोसाइटीका सबै शाखा कार्यालय, मण्डली र प्रत्येक व्यक्तिले सबैको हितको लागि सहयोग दिन खोज्ने हुनाले विश्वव्यापी भ्रातृत्व आत्मिक तवरमा बलियो र सम्पन्न हुन्छ। भौतिक सम्पन्नताले आध्यात्मिक सम्पन्नता ल्याउँदैन तर आध्यात्मिक सम्पन्नताले भने निश्चय नै यहोवाका कार्यहरू गर्न पर्याप्त हुने भौतिक सम्पन्नता ल्याउँछ।
अरूहरूलाई बाँड्ने तरिकाहरू
सुसमाचार प्रचार कार्यलाई सहयोग गर्न सबैले व्यक्तिगत योगदान पुऱ्याउन सक्ने थुप्रै तरिकाहरू छन्। एउटा तरिका राज्य भवनको सन्दर्भमा हो। मण्डलीका सबै सदस्यहरूले राज्य भवनको उपयोग गर्छन्। सो राज्य भवनको निर्माण गर्न अथवा भाँडामा लिन, बिजुली बत्ती, वातानुकूलित बनाउन र स्याहार सम्भार गर्न कसै न कसैले रकम दिएर सहयोग पुऱ्याएको हुन्छ। सबैले मण्डलीलाई सहयोग पुऱ्याउन आवश्यक हुने हुनाले राज्य भवनहरूमा चन्दा बाकसहरू राखिएका हुन्छन्। स्वेच्छाले दिएका प्राप्त चन्दाहरू मण्डलीको खर्च बेहोर्न प्रयोग गरिन्छ। त्यसबाट बाँकि रहेको रकम मण्डलीको निर्णयअनुसार वाच टावर सोसाइटीका स्थानीय कार्यालयहरूमा चन्दा स्वरूप पठाउन सकिन्छ।
सर्वसाधारण मानिसहरूसमक्ष सुसमाचार नपुगेका केही ठाउँहरू छन्। ती ठाउँहरूमा जाने मिसनरी तथा विशेष अग्रगामीहरूलाई प्रशिक्षण र तिनीहरूलाई सहायता गर्न सोसाइटीको कार्यालयमा सोझै चन्दा पठाउन पनि सकिन्छ। सुसमाचार प्रचार गर्दा खर्च हुने अर्को क्षेत्र परिभ्रमण निरीक्षकहरूका कामको सिलसिलामा हो। पहिलो शताब्दीमा परिभ्रमणको काममा उदाहरण बसाल्ने प्रेरित पावलले फिलिप्पीको मण्डलीको यसप्रकार सराहना गरे: “तिमीहरूले मलाई एकचोटिभन्दा बढी नै मेरो दरकारमा पठाइरह्यौ।” (फिलिप्पी ४:१४-१६) पूर्ण समय सेवकाईमा गरिने यी खर्चहरू बाहेक प्रत्येक शाखाहरूको बेथेल घर साथै त्यहीं बसेर काम गर्नेहरूको हेरचाह पनि गर्नु पर्ने हुन्छ। सुन्दर सुसमाचारहरू भएका साहित्यहरू लेख्न र छाप्न पाउनु साँच्चै नै परमेश्वरले दिनुभएका सुअवसरहरू हुन्। तर ती साहित्यहरू वितरण गर्नु पनि आवश्यक छन् र यसो गर्न खर्च लाग्दछ। त्यसको साथै सम्मेलनहरूको खर्च पनि छ भने अर्कोतिर ‘कानूनी तवरमा सुसमाचारलाई मान्यता दिन’ लडिने अदालती वकालतहरू त छँदै छन्।—फिलिप्पी १:७.
सुसमाचारको प्रचार गर्न यहोवाका प्रत्येक सेवकले दिने समय स्वेच्छिक हो र भौतिक मदतहरू पनि स्वेच्छिक नै हो। साँचो उपासनालाई विस्तार गर्न नियमित तवरमा पैसा छुट्ट्याउन प्रेरित पावलले हामीलाई सल्लाह दिएका छन्: “अब पवित्र जनहरूका चन्दाको विषयमा, . . . प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले आफ्नो आफ्नो उन्नतिअनुसार जोगाएर साँचिराखोस्।”—१ कोरिन्थी १६:१, २.
एक जना व्यक्तिले चन्दा दिंदा त्यो यकिनन् कसरी प्रयोग गरिनेछ भनेर तिनलाई थाहा हुँदैन तर त्यसका परिणामहरू राज्य प्रचारको विस्तारमा तिनले स्पष्ट देख्छन्। सन् १९९३ यरबुक अफ जेहोभाज् विट्नेसेस-अनुसार २०० भन्दा बढी देश तथा टापूहरूमा ४५,००,००० मसीही सेवकहरूले प्रचार गरिरहेका छन्। यी रिर्पोटहरू मर्मस्पर्शी छन्। परिमाण जत्रो सुकै भए तापनि उपहारहरूले विश्वभरि सुसमाचार फैलाउन मदत पुऱ्याउँदछ।
सबै जनाको सामूहिक सहायताबाट यो काम गर्न आर्थिक सहयोग मिल्दछ। केही व्यक्तिहरू बढी मदत दिन सक्षम हुन्छन् जसले गर्दा ठूलो परिमाणमा प्रचार कार्य गर्न सहयोग पुग्दछ। कसैले भने थोरै मात्र दिन्छन्। तर कम सहयोग पुऱ्याउनेहरूले आफूलाई लज्जित अथवा तिनीहरूले दिएको सहयोग नगण्य छ भन्ने महसुस गर्नु हुँदैन। यहोवा परमेश्वरले पक्कै पनि त्यस्तो महसुस गर्नु हुन्न। एउटी विधवाले चढाएको दुई पैसा यहोवा परमेश्वरले कत्तिको मूल्याङ्कन गर्नुभयो भनेर येशूले स्पष्ट पार्नुभयो। “औ उहाँले एउटी गरीब विधवालाई त्यहाँ दुइ पैसा चढाएकी देख्नुभयो । तब उहाँले भन्नुभयो, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, यस गरीब विधवाले अरू सबैले भन्दा बढ्ता चढाएकी छ। किनकि यी सबैले आफ्नो प्रशस्तताबाट भेटी चढाएका छन्, तर यसले चाहिं आफ्नो अपुगबाट आफ्ना सारा जीविकानै चढाएकी छ।’”—लूका २१:२-४.
हाम्रो आर्थिक अवस्था जस्तोसुकै भए तापनि हामी विभिन्न तरिकाहरूले दिएर यहोवालाई खुशी तुल्याउन सक्छौं। हाम्रो राजा र न्यायकर्त्तालाई कसरी महिमा दिन सक्छौं भनेर भजनरचयिताले राम्रोसित छोटकरीमा भने। तिनी भन्छन्: “परमप्रभुलाई [यहोवा न्यु व०] उहाँको नाउँअनुसारको महिमा देओ। भेटी लिएर उहाँको दरवारमा आओ।” (भजनसंग्रह ९६:८) तसर्थ, हामी पनि प्रफूल्लित हुँदै उपहारहरू दिएर हाम्रो स्वर्गमा हुनुहुने पिताको मायालु उदाहरण अनुकरण गरौं किनभने उहाँले नै सर्वप्रथम दिनुभएको हो। (w93 12/1)
[पृष्ठ ३०-मा भएको पेटी]
राज्य प्रचार कार्यको लागि कसै कसैले कसरी अनुदानहरू दिन्छन्
▫ विश्वव्यापी कार्यको लागि चन्दाहरू: “सोसाइटीको विश्वव्यापी कार्यको लागि चन्दा—मत्ती २४:१४” लेबुल लगाइएको चन्दा बाकसमा हाल्न धेरैले रकम छुट्ट्याउँछन्। प्रत्येक महिना मण्डलीहरूले यो रकम ब्रुक्लिन, न्यु योर्कस्थित मुख्य कार्यालयमा अथवा नजिकको स्थानीय कार्यालयमा पठाउँछन्।
▫ उपहारहरू: चन्दास्वरूप स्वेच्छाले दिइएको रकम सोझै Watch Tower Bible and Tract Society of India, H-58 Old Khandala Road, Lonavla 410 401, Mah.-मा अथवा सोसाइटीको स्थानीय शाखा कार्यालयमा पठाउन सकिन्छ। गहना अथवा अरू बहुमूल्य वस्तुहरू पनि चन्दा दिन सकिन्छ। यस्ता चन्दाहरूको साथमा ती पूर्णतया उपहार नै हुन् भनेर जाहेर गर्ने छोटो चिठी पनि हुनु पर्छ।
▫ सर्तनामा अनुदानको प्रबन्ध: व्यक्तिगत खाँचो परेमा दातालाई फर्काउने प्रबन्ध गरेर दाताको मृत्यु नभएसम्म वाच टावर सोसाइटीको ट्रस्टमा हुने गरी पैसा दिन सकिन्छ।
▫ बीमा: जीवन बीमा अथवा अवकाश/पेन्सन कार्यक्रमअनुसार वाच टावर सोसाइटीलाई अंशियार बनाउन सकिन्छ। त्यस्ता प्रबन्धहरू गर्दा सोसाइटीलाई पहिले नै अवगत गराउनु खाँचो पर्दछ।
▫ बैङ्क खाताहरू: स्थानीय बैङ्कको आवश्यकताअनुसार बैङ्क खाताहरू, धरौटीको प्रमाणपत्र अथवा व्यक्तिगत अवकाश खाताहरू ट्रस्टमा वा मृत्यु पश्चात् वाच टावर सोसाइटीलाई दिने प्रबन्ध गर्न सकिन्छ। यस्ता कुनै प्रबन्धहरू भएमा सोसाइटीलाई पहिले नै खबर गर्नुपर्छ।
▫ स्टक तथा बण्डहरू: स्टक तथा बण्डहरू वाच टावर सोसाइटीलाई सोझै उपहारस्वरुप चन्दा दिन अथवा त्यसबाट आउने आय दाताले नै पाउने गरी पनि दिन सकिन्छ।
▫ रियल एस्टेट: बेचबिखन गर्न सकिने रियल एस्टेट सोझै नै वाच टावर सोसाइटीलाई दिएर अथवा बाँचुन्जेल त्यहीं बस्न पाउने प्रबन्ध गरेर पूर्णतया उपहार नै दिन सकिन्छ। त्यस्ता रियल एस्टेट सोसाइटीलाई दिनुभन्दा पहिले सोसाइटीसित सम्पर्क राख्नु पर्छ।
▫ इच्छापत्र तथा ट्रस्टहरू: कानूनी इच्छापत्रद्वारा सम्पत्ति अथवा पैसा वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी अफ पेन्सलभेनियालाई दिन सकिन्छ या ट्रस्टको प्रबन्धअनुसार सोसाइटीलाई अंशियार बनाउन सकिन्छ। धार्मिक सङ्गठनलाई लाभ हुने ट्रस्ट भएमा केही मात्रामा कर कम गर्न सकिन्छ। इच्छापत्र अथवा ट्रस्टको एउटा प्रतिलिपि सोसाइटीलाई पठाउनु पर्छ।
यी मामिलाहरूमा बढी जानकारी प्राप्त गर्नको लागि, Watch Tower Bible and Tract Society of India, H-58 Old Khandala Road, Lonavla 410 401, Mah. अथवा सोसाइटीको स्थानीय शाखा कार्यालयमा लेख्नुहोस्।
[पृष्ठ ३१-मा भएका चित्रहरू]
तपाईंले दिनुहुने अनुदानहरू कसरी प्रयोग हुन्छन्
१. बेथेल स्वयंसेवकहरू
२. शाखा कार्यालयको निर्माण
३. विपत्तिहरू हुँदा उद्धार कार्य
४. राज्य भवनहरू
५. मिसनरीहरू