मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई मदत गर्नुहोस्
बाइबल भन्छ: “साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।” —हितोपदेश १७:१७.
यसको अर्थ के हो?
आफूले माया गर्ने व्यक्ति मानसिक स्वास्थ्य समस्यासित जुझिरहेको देख्दा हामीलाई धेरै चिन्ता लाग्न सक्छ। तर तिनलाई मदत दिएर हामी तिनलाई साँच्चै माया गर्छौँ भनेर देखाउन सक्छौँ। कसरी?
यसले हामीलाई कसरी मदत गर्छ?
“सुन्नलाई सधैँ तयार हुनुपर्छ।”—याकुब १:१९.
आफूले माया गर्ने व्यक्तिलाई मदत गर्ने एउटा राम्रो तरिका भनेको तिनको कुरा ध्यान दिएर सुन्नु हो। तर तिनले केही कुरा बताउँदा आफूले पनि केही भनिहाल्नुपर्छ भन्ने दबाब महसुस नगर्नुहोस्। बरु तिनको कुरा ध्यान दिएर सुनेको र तिनलाई माया गरेको महसुस गराउनुहोस्। तिनको भावना बुझ्ने कोसिस गर्नुहोस् र तिनीबारे तुरुन्तै गलत निष्कर्षमा नपुग्नुहोस्। यो कुरा मनमा राख्नुहोस्: तिनले अनजानमै नमीठो बोली बोल्न सक्छन् र त्यसको लागि पछि पछुतो मान्न सक्छन्।—अय्युब ६:२, ३.
“तिनीहरूसित सान्त्वनादायी कुरा गर।” —१ थिस्सलोनिकी ५:१४.
तपाईँले माया गर्ने व्यक्तिलाई चिन्ताले सताइरहेको हुन सक्छ वा आफू बेकामको छु भन्ने भावनासित जुझिरहेका हुन सक्छन्। तिनलाई कसरी सान्त्वना दिने होला जस्तो तपाईँलाई लाग्ला। तर तपाईँ तिनलाई माया गर्नुहुन्छ भनेर बताउँदा मात्र पनि तिनले निकै सान्त्वना र हौसला पाउन सक्छन्।
“साँचो मित्रले सधैँ माया गर्छ।” —हितोपदेश १७:१७.
व्यावहारिक मदत दिनुहोस्। तिनलाई कस्तो मदत चाहिएको छ भनेर अड्कल काट्नुको साटो तिनलाई नै सोध्नु बेस हुन्छ। तर आफूलाई कस्तो मदत चाहिएको छ भनेर बताउन तिनलाई गाह्रो छ भने तपाईँ आफै नै सँगै मिलेर गर्न सकिने केही कामकुराबारे बताउन सक्नुहुन्छ, जस्तै: कतै टहल्न निस्कने। अथवा तपाईँ किनमेल, सरसफाइ वा अन्य यस्तै घरायसी कामकुरामा पनि सघाउन सक्नुहुन्छ।—गलाती ६:२.
“धीरजी होओ।”—१ थिस्सलोनिकी ५:१४.
तिनलाई कुराकानी गर्न सधैँ मन नलाग्ला। त्यसैले तिनलाई कुरा गर्न मन लागेको समयमा तपाईँ तिनको कुरा सुन्न तयार हुनुहुन्छ भनेर बताउनुहोस्। आफ्नो बिमारीले गर्दा तिनले तपाईँको चित्त दुख्ने केही भन्न वा गर्न सक्छन्। तिनले बनिसकेको योजना रद्द गर्लान् वा तपाईँलाई दिक्क पार्लान्। त्यसैले धीरजी हुनुहोस् र तिनको अवस्था बुझ्ने कोसिस गर्नुहोस्।—हितोपदेश १८:२४.
तपाईँको मदतले तिनको परिस्थितिमा सुधार आउन सक्छ
“म उनको कुरा सुन्न सधैँ तयार रहन्छु। हुनत मसित उनको सबै समस्याको समाधान हुँदैन तैपनि उनको कुरा ध्यान दिएर सुनिदिने गर्छु। कहिलेकाहीँ कसैले उनको कुरा सुनिदिँदा मात्र पनि उनले हल्का महसुस गर्छिन्।”—फारा,a जसकी साथीलाई अव्यवस्थित खानपान, तनाव र गम्भीर डिप्रेसनको समस्या छ।
“मेरो एक जना साथी असाध्यै दयालु छिन् र मलाई प्रोत्साहन दिइरहन्छिन्। एकपटक उनले मलाई आफ्नो घरमा खाना खान बोलाइन्। त्यहाँको न्यानो र मायालु वातावरणमा मलाई आफ्नो भावना व्यक्त गर्न निकै सजिलो भयो। मैले निकै प्रोत्साहन पाएँ।”—हे-उन, जो गम्भीर डिप्रेसनसित जुझिरहेकी छिन्।
“हामी धीरजी हुनु धेरै महत्त्वपूर्ण छ। मेरी पत्नीले मेरो चित्त दुख्ने कुनै काम गर्दा त्यो उनको बिमारीले गर्दा भएको हो, उनी आफैमा खराब व्यक्ति त होइनन् भनेर सम्झिने गर्छु। यसले गर्दा मलाई उनीसित नरिसाउन र उनीप्रति दयालु हुन निकै मदत पुगेको छ।”—जेकब, जसकी पत्नी गम्भीर डिप्रेसनसित जुझिरहेकी छिन्।
“मेरी पत्नी मलाई निकै सान्त्वना दिन्छिन् र धेरै मदत गर्छिन्। असाध्यै तनाव हुँदा उनले कहिल्यै मलाई मन नलागेको काम गर्न दबाब दिदिनन्। त्यसले गर्दा उनले कहिलेकाहीँ आफूलाई मन लागेको कामकुरा गर्ने समय पाउँदिनन्। उनको त्यस्तो आत्मत्यागी मनोवृत्ति र उदारता देख्दा मेरो मन छुन्छ।”—एनरेको, जसलाई अचाक्ली चिन्ता लिने समस्या छ।
a केही नाम परिवर्तन गरिएका छन्।