तपाईंको विश्वासको जाँच अहिले भइरहेको छ
“हे मेरा भाइ हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ। यो जानेर कि, तिमीहरूको विश्वासको जाँचले धीरज उत्पन्न गराउँछ।”—याकूब १:२, ३.
१. मसीहीहरूले आफ्नो विश्वासको जाँच हुन्छ भनेर किन आशा गर्नुपर्छ?
साँचो मसीहीहरू दुःख खप्न चाहँदैनन् अनि पीडा वा अपमान मन पराउने पनि होइनन्। यद्यपि, येशूका सौतेनी भाइ याकूबले लेखेका माथिका शब्दहरू आफ्नो मनमा राख्छन्। परमेश्वरका स्तरहरू पालन गर्नाले तिनीहरूमाथि सतावट तथा अन्य कठिनाइहरू आइपर्नेछ भनी ख्रीष्टले आफ्ना चेलाहरूलाई स्पष्टसँग बताउनुभयो। (मत्ती १०:३४; २४:९-१३; यूहन्ना १६:३३) तैपनि, त्यस्ता जाँचहरूबाट आनन्द प्राप्त गर्न सकिन्छ। कसरी?
२. (क) विश्वासको जाँचले कसरी आनन्दित तुल्याउनसक्छ? (ख) हाम्रो सन्दर्भमा धीरजले कसरी त्यसको काम पूरा गर्छ?
२ परीक्षा अथवा विश्वासको जाँच आउँदा त्यसबाट प्राप्त हुने असल फल नै आनन्दित हुनसक्ने एउटा मुख्य कारण हो। याकूबले भनेजस्तै, जाँच अथवा कठिनाइहरू सहनाले “धीरज उत्पन्न गराउँछ।” यो मूल्यवान् मसीही गुन विकास गरेर हामी फाइदा उठाउनसक्छौं। याकूबले यसरी लेखे: “धीरजलाई त्यसको पूरा काम गर्न देओ। औ तिमीहरूमा कुनै कुराको अभाव नभएर सिद्ध र पूर्ण होओ।” (याकूब १:४) धीरजको गर्नुपर्ने एउटा “काम” छ। धीरजको काम हो, हामीलाई सन्तुलित तथा परिपक्व मसीही बन्न सहयोग गरेर सबै क्षेत्रमा निपुण बनाउनु। तसर्थ, जाँचहरूबाट चाँडै उम्कन गैरशास्त्रीय उपायहरू प्रयोग गर्नुको साटो त्यसलाई आइपर्न दिनुपर्छ। फलतः हाम्रो विश्वास जाँचिएर खारिनेछ। परिस्थिति सामना गर्नुपर्दा वा सहमानवहरूसँग व्यवहार गर्दा हामीमा सहनशीलता, अनुकम्पा, दया वा प्रेमको कमी छ भने धीरजले त्यो कमी पूरा गर्नेछ। हो, क्रमैसँग हेर्दा: जाँचले धीरज उत्पन्न गर्छ; धीरजले मसीही गुन बढाउँछ; यसैबाट आनन्द प्राप्त हुन्छ।—१ पत्रुस ४:१४; २ पत्रुस १:५-८.
३. हामी परीक्षा वा विश्वासको जाँचमा डराएर किन पछि हट्नु हुँदैन?
३ प्रेरित पत्रुसले पनि हाम्रो विश्वासको जाँच हुँदा डराउनु वा पछि हट्नु हुँदैन भन्ने कारण प्रकाश पारे। तिनले यसरी लेखे: “जसमा तिमीहरू अहिले, दरकार परिगएमा, अलि बेरको निम्ति नाना किसिमका परीक्षाको तकलीफमा पर्छौ, तापनि तिमीहरू खूबै रमाउँछौ, कि तिमीहरूको विश्वासको प्रमाण, नष्ट हुने सुनभन्दा ज्यादै किम्मितीको हुनाले, यो आगोबाट जाँचिने भए तापनि, येशू ख्रीष्टको प्रकाशमा प्रशंसा, महिमा र आदरमा पाइओस्।” (१ पत्रुस १:६, ७) उक्त शब्दहरू खासगरि अहिले अत्यन्तै प्रोत्साहनदायी छन् किनकि “महा संकष्ट” अर्थात् प्रशंसा, महिमा, आदर गर्ने र बचावट हुने समय कसै कसैले सोचेभन्दा अनि हामी विश्वासी हुँदाभन्दा धेरै नजिक आइसकेको छ।—मत्ती २४:२१; रोमी १३:११, १२.
४. आफू र अन्य अभिषिक्त मसीहीहरूले अनुभव गरेका जाँचबारे एक जना भाइले कस्तो महसुस गरे?
४ हामीले यसअघिको लेखमा १९१४ देखि यता शेष जनहरूले सामना गर्नुपरेका जाँचहरूबारे छलफल गऱ्यौं। के ती जाँचहरू आनन्दको आधार थिए त? त्यतिखेरका विषयमा ए. एच. म्याकमिलन यसो भन्छन्: “मैले संगठनमाथि आएका अनेकौं कठोर जाँचहरू र यसका सदस्यहरूको विश्वासको जाँच भएको देखेको छु। परमेश्वरको आत्माको मदतद्वारा यो संगठन जोगियो र उन्नति हुँदै गयो। नयाँ विचारधाराको कारण दुःखित हुनुको साटो धर्मशास्त्रीय कुरा अझ राम्ररी बुझ्न धीरजसाथ यहोवाको बाटो हेर्नुपर्ने बुद्धिमानी काम पनि देखेको छु। . . . समय समयमा हाम्रो विचारधारामा जस्तोसुकै काँटछाँट गर्नुपरे तापनि त्यसले छुटकारा र परमेश्वरले प्रतिज्ञा गर्नुभएको अनन्त जीवनको दयालु प्रबन्ध परिवर्तन गर्नेछैन। अतः प्रत्याशाहरू पूरा नहुँदैमा अथवा आफ्नो विचारधारा परिवर्तन गर्नुपर्दैमा हाम्रो विश्वासलाई कमजोर हुन दिने त सवालै थिएन।”—अगस्त १५, १९६६ प्रहरीधरहरा, पृष्ठ ५०४.
५. (क) शेष जनहरूले सामना गरेका जाँचहरूबाट कस्ता फाइदाहरू भए? (ख) हाम्रोलागि जाँच किन चासोको विषय बन्नुपर्ने हो?
५ सन् १९१४-१९ को जाँचमा विजयी हुने अभिषिक्त मसीहीहरू संसारका घोर दबाब र बाबेलका थुप्रै धार्मिक रीतिथितिहरूबाट मुक्त भए। स्वेच्छासित परमेश्वरलाई प्रशंसाको बलिदान चढाउँदै अनि उहाँको नजरमा ग्रहणयोग्य छौं भन्ने आश्वासनका साथ शेष जनहरू शुद्ध तथा खारिएका मानिसहरू भई अघि बढे। (यशैया ५२:११; २ कोरिन्थी ६:१४-१८) परमेश्वरको परिवारबाट न्याय सुरु भयो तर त्यो कुनै एउटा निश्चित समयमा पूरा हुने थिएन। परमेश्वरका जनहरूलाई जाँच्ने र छान्ने काम भइरह्यो। “ठूलो भीड़[को]” हैसियतमा नजिकिंदै गरेको “महा संकष्ट[बाट]” बच्ने आशा गर्नेहरूको पनि विश्वास जाँचिनेछ। (प्रकाश ७:९, १४) तिनीहरूको जाँच अभिषिक्त जनहरूको जस्तै या अर्कै प्रकारको पनि हुनसक्छ।
तपाईंको जाँच कसरी हुनसक्छ?
६. थुप्रैले अनुभव गरेको एक प्रकारको जाँच के हो?
६ धेरै मसीहीहरूले प्रत्यक्ष आक्रमणद्वारा जाँच हुनेहोला भन्ठान्छन्। तिनीहरू निम्न विवरण सम्झन्छन्: “ती प्रेरितहरूलाई [यहूदी नेताहरूले] डाकेर तिनीहरूलाई पिटेर यसो भन्ने आदेश गरेर छोड़िदिए, ‘अबदेखि येशूको नाउँमा नबोल्नू।’ तब ‘उहाँका नाउँमा अपमान सहनु सौभाग्यको कुरो हो’ भनी सम्झी तिनीहरू रमाउँदै महासभाबाट गए।” (प्रेरित ५:४०, ४१) अनि परमेश्वरका जनहरूको आधुनिक इतिहासले खासगरि पहिलो र दोस्रो विश्वयुद्धको दौडान यहोवाका थुप्रै साक्षीहरूले पिटाइ खाएका अनि सताउनेहरूको हातबाट त्योभन्दा झन् खराब परिस्थिति भोगेको प्रस्ट पाऱ्यो।
७. वर्तमान् समयका केही मसीहीहरूले कुन हदसम्म विश्वास प्रदर्शित गरेका छन्?
७ मसीहीहरू सतावटको शिकार बन्ने कुरामा संसारले के अभिषिक्त शेष जन, के “अरू भेड़ा” सबैलाई तारो बनाउँछ। (यूहन्ना १०:१६) वर्षौंदेखि दुवै झुन्डका सदस्यहरू कारागारको चार भित्तामा थुनिएका छन् अनि परमेश्वरप्रतिको प्रेम र उहाँमाथिको विश्वासको कारण शहीदसम्म भएका छन्। तिनीहरूको आशा जस्तोसुकै भए तापनि विगतमा दुवै झुण्डका सदस्यहरूलाई परमेश्वरको आत्माको आवश्यकता परेको थियो। (जून १५, १९९६ प्रहरीधरहरा, पृष्ठ ३१ तुलना गर्नुहोस्।) सन् १९३० र १९४० को दशकतिर नाजी जर्मनीमा केटाकेटीहरूलगायत यहोवाका थुप्रै साक्षीहरूले असाधारण विश्वास प्रदर्शित गरे अनि थुप्रैले घोर परीक्षा सामना गर्नुपऱ्यो। हालैका वर्षहरूमा इथियोपिया, एरिट्रिया, जाइर, बुरुण्डी, मलावी, मोजाम्बिक, रूवाण्डा, र सिंगापुरजस्ता मुलुकहरूमा यहोवाका जनहरूले सतावट भोगेका छन्। अनि यस्ता जाँचहरू अहिले पनि भइरहेका छन्।
८. विश्वासको जाँचमा शारीरिक पिटाइको सतावटभन्दा अझ धेरै कुराहरू पनि भोग्नुपर्छ भनेर एक जना अफ्रिकी भाइको टिप्पणीले कसरी औंल्याउँछ?
८ तथापि, अघि उल्लेख गरिएझैं चालै नपाउने ढंगमा पनि हाम्रो विश्वासको जाँच हुन्छ। कुनै कुनै जाँच प्रत्यक्ष रूपमा आउँदैन र हतपती चिन्न पनि सकिंदैन। निम्न प्रकारका जाँचहरू आउँदा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ, यसो विचार गर्नुहोस् त। अंगोलाको एक जना भाइका दस छोराछोरीहरू थिए। तिनी धाउने मण्डलीमा केही समयसम्म जिम्मेवार भाइहरूले सम्पर्क राख्नसकेनन्। पछि, अरू भाइहरूले उक्त मण्डलीमा सम्पर्क राख्नसके। आफ्नो परिवारका लागि कसरी भोजन जुटाउनुभयो भनी उक्त भाइलाई सोधपूछ गरियो। जवाफ दिन तिनलाई सजिलो भएन, तिनले यति मात्र भन्नसके कि परिस्थिति धेरै नै जटिल थियो। के तिनले आफ्ना छोराछोरीका लागि एक छाकसम्म जुटाउनसके? तिनले भने: “मुस्किलले। हामीसँग जे छ त्यसैमा बाँच्न सिकेका छौं।” तत्पश्चात्, तिनले दृढ विश्वासका साथ यसो भने: “तर यी आखिरी दिनमा यस्तै त हुन्छ नि, होइन र?” यस्तो विश्वास संसारको लागि नौलो हुनसक्छ तर परमेश्वरका राज्य प्रतिज्ञाहरू पूरा हुनेछन् भनी पूर्ण विश्वस्त हुने वफादार मसीहीहरूका लागि यो कुनै अनौठो कुरा होइन।
९. पहिलो कोरिन्थी ११:३ अनुसार कसरी हाम्रो जाँच भइरहेको छ?
९ ईश्वरतान्त्रिक कामकुराहरूको सन्दर्भमा ठूलो भीडका सदस्यहरू जाँचिएका छन्। विश्वव्यापी मसीही मण्डलीहरू ईश्वरीय सिद्धान्त र ईश्वरतान्त्रिक स्तरहरूअनुरूप संचालन हुन्छन्। यसको अर्थ, प्रथमतः मण्डलीको शिर नियुक्त हुनुभएको येशूलाई नेताको रूपमा स्वीकार्नुपर्छ। (१ कोरिन्थी ११:३) हामी स्वेच्छासाथ उहाँ र उहाँका पिताको अधीनमा बस्छौं या बस्दैनौं, त्यो ईश्वरतान्त्रिक नियुक्ति र एकताबद्ध भई यहोवाको इच्छा गर्ने विषयमा गरिएका निर्णयहरूमाथिको विश्वासबाट प्रकट हुन्छ। यसबाहेक, प्रत्येक मण्डलीमा अगुवाइ लिने पुरुषहरू नियुक्त गरिएका हुन्छन्। तिनीहरू असिद्ध मानिसहरू हुन् जसका गल्तीहरू प्रत्यक्ष होलान्; तैपनि ती निरीक्षकहरूलाई आदर गर्न र तिनीहरूको अधीनमा बस्न हामीलाई आग्रह गरिएको छ। (हिब्रू १३:७, १७) के यसो गर्नु तपाईंलाई कहिलेकाहीं गाह्रो लाग्छ? के यो तपाईंको लागि जाँच हो त? हो भने, के विश्वासको यो जाँचबाट फाइदा उठाउँदै हुनुहुन्छ?
१०. क्षेत्र सेवकाईको सन्दर्भमा कस्ता जाँचहरू सामना गर्छौं?
१० नियमित तवरले क्षेत्र सेवकाईमा भाग लिने विशेषाधिकार र आवश्यकताको सम्बन्धमा पनि हामी जाँचिन्छौं। यो जाँचमा सफल हुनको लागि पूर्ण रूपले सेवकाईमा भाग लिनु भनेको एकदमै थोरै वा कर्तव्य पूरा गर्न मात्र प्रचार गर्नु होइन भन्ने कुरा बुझ्नु अत्यावश्यक छ। येशूले आफ्नो सारा जीविका नै चढाउने गरिब विधवाको कदर गर्नुभएको घटना स्मरण गर्नुहोस्। (मर्कूस १२:४१-४४) हामी आफैलाई सोध्नसक्छौं, ‘के त्यसैगरि मैले पनि क्षेत्र सेवकाईको सम्बन्धमा आफूलाई समर्पण गरेको छु?’ हामी जहिले पनि यहोवाको साक्षी हुनुपर्छ अनि हरेक अवसरमा आफ्नो ज्योति चम्काउन तत्पर हुनुपर्छ।—मत्ती ५:१६.
११. समझमा परिवर्तन हुनु र आचरणबारे सल्लाह पाउनु कसरी जाँच हुनसक्छ?
११ अर्को प्रकारको जाँच बाइबल सत्यमा प्रकाश पारिएका थप ज्योति र विश्वासी दास वर्गले दिएका सरसल्लाहहरू मूल्यांकन गर्ने सन्दर्भमा हुनसक्छ। (मत्ती २४:४५) यस सन्दर्भमा कहिलेकाहीं हाम्रो व्यक्तिगत आचरण काँटछाँट गर्नुपर्ने हुन्छ। जस्तै, सुर्ती सेवन गर्ने व्यक्ति मण्डलीमा रहन चाहन्छन् भने उनले त्यसलाई नत्यागी धरै पाउँदैनन्।a (२ कोरिन्थी ७:१) अथवा संगीत वा अन्य प्रकारका मनोरञ्जनका कुराहरू काँटछाँट गर्नुपर्ने विषयमा हाम्रो जाँच हुनसक्छ।b के प्रस्तुत गरिएको सल्लाहको बुद्धिमाथि हामी शंका उपशंका गर्छौं? या परमेश्वरको आत्माले आफ्नो विचारधारा परिवर्तन गर्न लगाएर मसीही व्यक्तित्व धारण गर्छौं?—एफिसी ४:२०-२४; ५:३-५.
१२. बप्तिस्मा लिएपछि विश्वासमा बलियो हुन कुन कुरा चाहिन्छ?
१२ दशकौंदेखि ठूलो भीडको संख्या बढ्दै गइरहेको छ। अनि तिनीहरूले बप्तिस्मापश्चात् यहोवासँगको सम्बन्ध झन् झन् बलियो बनाइरहेका छन्। मसीही सम्मेलनमा उपस्थित हुनु, राज्यभवनमा कुनै कुनै सभाहरू धाउनु वा आकलझुकल क्षेत्र सेवकाईमा भाग लिनुभन्दा बढी कुराहरू यसमा बिथोलित छन्। उदाहरणका लागि, कुनै व्यक्ति महान् बेबिलोन अर्थात् झूटा धर्मको विश्वसाम्राज्यबाट शारीरिक तवरमा त अलग होला तर के उसले साँच्चै त्यसलाई लत्याएको छ त? के ऊ परमेश्वरका धार्मिक स्तरहरू अनादर गर्ने मनोवृत्ति अर्थात् महान् बेबिलोनको मनोवृत्ति झल्काउने कुराहरूमै पो अल्झिरहेको छ कि? नैतिकता र वैवाहिक वफादारीलाई हल्कासित लिन्छ कि? के ऊ आध्यात्मिक कुराभन्दा व्यक्तिगत तथा भौतिक कुरालाई बढी महत्त्व दिन्छ? के ऊ दुनियाँबाट साँच्चै निष्कलंक रहेको छ?—याकूब १:२७.
जाँचिएको विश्वासबाट हुने फाइदा
१३, १४. साँचो उपासनाको बाटोमा चल्न थालेपछि कसै कसैले के गरेका छन्?
१३ हामी साँच्चै महान् बेबिलोनबाट निस्केका छौं र संसारलाई पनि त्यागेका छौं भने त्यागिसकेको कुराहरूलाई फर्केर नहेरौं। लूका ९:६२ को सिद्धान्तअनुसार हामीमध्ये कसैले पछि फर्केर हेर्नुको अर्थ परमेश्वरको राज्यमा प्रवेश गर्न नपाउनु हुनसक्छ। येशूले यसो भन्नुभयो: “आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यको लायक हुँदैन।”
१४ तर मसीही भइसकेका केही व्यक्तिविशेषहरूले यस रीतिरिवाजको नक्कल उतारेका छन्। तिनीहरूले संसारको मनोवृत्तिको विरोध गरेका छैनन्। (२ पत्रुस २:२०-२२) सांसारिक कुराहरूले तिनीहरूको चासो र समय खाएको हुनाले प्रगति गर्नसकेका छैनन्। जीवनमा परमेश्वरको राज्य र उहाँको धार्मिकतालाई प्राथमिकता दिएर त्यसैमा तनमन लगाउनुको साटो तिनीहरू भौतिक लक्ष्यहरूको पछाडि दौडधूप गरिरहेका छन्। तिनीहरूले आफ्नो विश्वास कमजोर तथा मनतातो भएको महसुस नगरुञ्जेल र ईश्वरीय सल्लाहअनुरूप जीवनमा काँटछाँट नगरुञ्जेल तिनीहरू यहोवा र उहाँको संगठनसँगको अनमोल सम्बन्ध गुमाउनसक्ने खतरामा हुन्छन्।—प्रकाश ३:१५-१९.
१५. परमेश्वरसामु स्वीकार्य हुन के आवश्यक पर्छ?
१५ हामीले अनुमोदन प्राप्त गर्ने र तीव्र गतिमा आइरहेको महासंकष्टमा बच्ने कुरा “लुगाहरू थुमाको रगतमा धोएर” आफूलाई स्वच्छ राख्नमा निर्भर छ। (प्रकाश ७:९-१४; १ कोरिन्थी ६:११) परमेश्वरसमक्ष स्वच्छ र धार्मिक स्तर कायम राखेनौं भने हाम्रो पवित्र सेवा स्वीकार्य हुनेछैन। निस्सन्देह, जाँचिएको विश्वासले धीरज धारण गर्न र परमेश्वरलाई अप्रशन्न तुल्याउने कुराहरूबाट अलग रहन मदत गर्नेछ भनेर हामी प्रत्येकले बुझ्नुपर्छ।
१६. कुन तरिकामा झूटो कुरा हाम्रो विश्वासको जाँच हुनसक्छ?
१६ कहिलेकाहीं समाचार माध्यम र सांसारिक अख्तियारवालाहरूले हाम्रो मसीही विश्वास तथा जीवनशैलीबारे गलत कुरा गरेर परमेश्वरका जनहरूको झूटो परिचय दिन्छन्। यो कुनै अचम्मको कुरा होइन किनकि ‘हामी संसारको भाग नभएकाले संसारले हामीलाई घृणा गर्नेछ’ भनी येशूले प्रस्ट पार्नुभएको छ। (यूहन्ना १७:१४) के शैतानले अन्धा तुल्याएकाहरूद्वारा हामी त्रसित वा निरुत्साहित भएर सुसमाचारको खातिर शर्ममा पर्छौं? के सच्चाइमा झूटो कुरा घुसाएर सभामा नियमित उपस्थित हुन र प्रचारकार्यमा बाधा पुऱ्याउँछौं? या दह्रो भएर यहोवा तथा उहाँको राज्यबारे सच्चाइ घोषणा गर्न पहिलेभन्दा उत्साहित र दृढ हुन्छौं?
१७. कस्तो आश्वासनले हामीलाई विश्वास प्रदर्शित गरिरहन उत्प्रेरित गराउँछ?
१७ पूर्ति भएका बाइबल भविष्यवाणीअनुसार हामी अन्तको चरम बिन्दुमा बाँचिरहेका छौं। बाइबल आधारित नयाँ धार्मिक संसारको हाम्रो प्रत्याशा पक्कै आनन्दमयी वास्तविकता हुनेछ। त्यो दिन नआउञ्जेल हामी सबैले परमेश्वरको वचनमा अटल विश्वास राख्नसकौं र नसुस्ताई विश्वव्यापी तवरमा परमेश्वरको राज्य सुसमाचार प्रचार गरेर हाम्रो विश्वासको प्रमाण दिनसकौं। प्रत्येक हप्ता बप्तिस्मा लिइरहेका हजारौं नयाँ चेलाहरूलाई विचार गर्नुहोस्। यहोवाले न्याय गर्नमा धीरज देखाउनुभएको हुनाले अझ धेरै मानिसहरूले मुक्ति पाउनसक्छन् भन्ने बुझ्न यही कारण यथेष्ट नहोला र? के परमेश्वरले अझै पनि जीवनदायी प्रचारकार्य जारी राख्नुभएकोमा हामी हर्षित छैनौं? अनि करोडौंले सच्चाइ स्वीकारिरहेका र विश्वास प्रदर्शित गरिरहेकामा हामी आनन्दित छैनौं र?
१८. यहोवाको सेवा गर्ने विषयमा तपाईंले कस्तो संकल्प गर्नुभएको छ?
१८ अहिले भइरहेको हाम्रो विश्वासको जाँच कहिलेसम्म हुने हो, हामीलाई थाह छैन। तर एउटा कुरा भने पक्का छ: यहोवाले वर्तमान् संसार र पृथ्वीसित लेखा लिने दिन तोक्नुभएको छ। त्यतिञ्जेल, विश्वास सिद्ध तुल्याउनुहुने येशूको उत्कृष्ट विश्वास अनुकरण गर्ने संकल्प गरौं। अनि वृद्ध अभिषिक्त शेष जन तथा हामीमाझ साहसपूर्वक सेवा गरिरहेकाहरूको उदाहरण पछ्याऔं।
१९. कुन कुराले यस संसारलाई जित्नेछ भनी तपाईं निश्चित हुन सक्नुहुन्छ?
१९ हामी हरेस नखाइकन स्वर्गको बीचमा उड्ने दूतसँगसँगै सबै राष्ट्र, जाति, भाषा र मानिसहरूलाई अनन्तको सुसमाचार सुनाउन दृढ हुनुपर्छ। ती मानिसहरूले दूतको यो घोषणा सुन्न पाऊन्: “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ।” (प्रकाश १४:६, ७) यो ईश्वरीय न्याय हुँदा हाम्रो जाँचिएको विश्वास चाहिं के हुनेछ त? के त्यो गौरवमय विजय अर्थात् वर्तमान् रीतिरिवाजबाट मुक्त भएर परमेश्वरको धार्मिक नयाँ संसारमा प्रवेश हुनेछैन र? विश्वासको जाँच सहेर हामी पनि प्रेरित यूहन्नाले जस्तै भन्नसक्छौं: “संसारमाथि विजयी हुने विजयचाहिं हाम्रो विश्वास हो।”—१ यूहन्ना ५:४.
[पादटिप्पणीहरू]
a जुन १, १९७३ प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ ३३६-४३ र जुलाई १, १९७३ (अंग्रेजी), पृष्ठ ४०९-११ हेर्नुहोस्।
b जुलाई १५, १९८३ प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ २७-३१ हेर्नुहोस्।
के तपाईंलाई सम्झना छ?
◻ कसरी विश्वासको जाँच आनन्दको कारण बन्नसक्छ?
◻ सजिलैसित बुझ्न नसकिने विश्वासका केही जाँचहरू के के हुन्?
◻ विश्वासको जाँचमा सफल भएर कसरी अनन्तसम्म फाइदा उठाउनसक्छौं?
[पृष्ठ १७-मा भएका चित्रहरू]
वाच टावर सोसाइटीका अधिकारीहरूसँग बिनाकारण थुनिएको बेला ए. एच. म्याकमिलन (आगाडिको बायाँ)
तिनी मिशिगनस्थित डेट्रोइटमा १९२८ मा सम्पन्न अधिवेशनका प्रतिनिधि थिए
जीवनको अन्ततिर पनि भाइ म्याकमिलन विश्वास प्रदर्शन गर्दैथिए
[पृष्ठ १८-मा भएको चित्र]
अफ्रिकाको यस परिवारले जस्तै थुप्रै मसीहीहरूले जाँचिएको विश्वास प्रदर्शित गरेका छन्