हरेस नखाओ!
“भलाइ गर्नामा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।”—गलाती ६:९.
१, २. (क) सिंहले कसरी शिकार गर्छ? (ख) दियाबललाई विशेषगरि कसको शिकार गर्न मन पर्छ?
सिंहले विभिन्न ढंगमा शिकार गर्छ। कहिले त्यो तलाउ वा शिकार सधैंजसो हिंड्ने बाटो नजीकै लुकेर झम्टन्छ भने कहिले चाहिं, पोर्ट्रेट्स इन द वाइल्ड नामक पुस्तकअनुसार “परिस्थितिको फाइदा उठाउँछ। उदाहरणका लागि जेब्राको बछेडो सुतिरहेको बेला त्यसमाथि जाइलाग्छ।”
२ प्रेरित पत्रुसअनुसार हाम्रो “विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझै खोजेर हिंड्छ।” (१ पत्रुस ५:८) शैतानलाई आफ्नो समय अल्प छ भनेर थाह छ। त्यसैकारण मानिसहरूले यहोवाको सेवा नगरुन् भनेर त्यसले झन् धेरै दबाब दिन्छ। तथापि, यो “गर्जने सिहं” विशेषगरि यहोवाका सेवकहरूको शिकार गर्न रुचाउँछ। (प्रकाश १२:१२, १७) अनि यसको शिकार गर्ने तरिका सिंहको जस्तै छ। कसरी?
३, ४. (क) यहोवाका सेवकहरूको शिकार गर्न शैतानले के कस्ता जुक्तिहरू लगाउँछ? (ख) हामी बाँचिरहेको समय “डरलाग्दो समयमा” भएकोले कस्ता प्रश्नहरू खडा हुन्छन्?
३ बेला बखतमा शैतान हाम्रो शिकार गर्न लुकेर झम्टन्छ। अर्को शब्दमा भन्ने हो भने हामीले यहोवाको सेवा गर्न छाडोस् भनेर सतावट वा विरोधद्वारा त्यसले हाम्रो निष्ठा भंग गर्न खोज्छ। (२ तिमोथी ३:१२) अरू बेला चाहिं सिहंले जस्तै परिस्थितिको फाइदा उठाउँछ। हामी निरुत्साहित वा थकित नभएसम्म त्यसले कुरेर बस्छ। अनि हामीले हरेश खाओस् भनेर त्यसले हाम्रो निराश मानसिक स्थितिको फाइदा उठाउँछ। त्यसकारण, हामी पटक्कै कमजोर हुनुहुँदैन!
४ हो, हामी मानव इतिहासको सबैभन्दा कठिन समयमा बाँचिरहेका छौं। यी “डरलाग्दो समयमा” हामीमध्ये धेरैजसो बेला बेला निरुत्साहित हुनसक्छौं वा बोझले लादिनसक्छौं। (२ तिमोथी ३:१) त्यसोभए दियाबलले सजिलै शिकार गर्न सक्नेगरि थकित नहुन हामी कसरी बच्नसक्छौं? प्रेरित पावलले प्रेरणाद्वारा लेखेको यो सल्लाह हामी कसरी पालन गर्नसक्छौं: “भलाइ गर्नामा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं”?—गलाती ६:९.
अरूले निराश बनाउँदा
५. कुन कुराले गर्दा दाऊद थकित भए तर तिनले के चाहिं गरेनन्?
५ बाइबलीय समयमा यहोवाको सबैभन्दा विश्वासी सेवकहरूले समेत बेला बखत बोझले लादिएको महसुस गर्थे होलान्। भजनरचयिता दाऊदले यसरी लेखे: “विलाप गर्दा गर्दा म थाकिसकेको छु। हरेक रात आँसुले म मेरो ओछ्यान डुबाउँछु। म रोएर मेरो ओछ्यान भिजाउँछु।” दाऊदले किन त्यस्तो पीडा महसुस गरे? तिनले जवाफ दिए, “मेरो विरोधीहरूका कारणले गर्दा।” अरूले चोटपुग्ने कामहरू गर्दा दाऊदको मन साह्रै भाँचिएकोले तिनका आँसुहरू पानीको भलझैं बगे। तैपनि आफ्ना सँगी मानवहरूले यस्तो व्यवहार गर्दा दाऊद यहोवादेखि टाढा भएनन्।—भजन ६:६-९.
६. (क) अरूको वचन र व्यवहारले हामीलाई कसरी असर गर्नसक्छ? (ख) केही व्यक्तिहरू कसरी आफूलाई दियाबलले सजिलै शिकार गर्नसक्ने स्थितिमा पुऱ्याउँछन्?
६ त्यसरी नै अरूको वचन वा कामले हाम्रो हृदयमा चोट पुऱ्याउनसक्छ र हामी थकित हुनसक्छौं। हितोपदेश १२:१८ ले यसो भन्छ, “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ।” मसीही भाइ वा बहिनीले विचारै नगरी प्वाक्क बोल्दा त्यसको चोट “तरवारझैं तीखो” हुनसक्छ। यस्तो बेला हामी रुष्ट हुनसक्छौं, मनमा द्वेषसमेत पलाउनसक्छ। अरूले कठोर व्यवहार वा अन्याय गरेको जस्तो लाग्दा प्रायः त्यस्तो हुन्छ। हाम्रो चित्त दुखाउने व्यक्तिसँग शायद कुरै गर्न मन नलाग्ला; ऊदेखि जानाजानी तर्किनसमेत खोजौंला। द्वेषले गर्दा केही व्यक्तिहरूले मसीही सभाहरूमा समेत उपस्थित हुन छाडेका छन्। दुःखको कुरा, तिनीहरूले त्यसो गरेर ‘शैतानलाई मौका दिन्छन्’ र आफूलाई कमजोर शिकार बनाउँछन्।—एफिसी ४:२७.
७. (क) अरूले निराश तुल्याउँदा वा चित्त दुखाउँदा हामी कसरी शैतानको जालमा फस्नदेखि बच्नसक्छौं? (ख) हामीले किन मनमा द्वेष राख्नुहुन्न?
७ त्यसोभए अरूले हामीलाई निराश बनाउँदा वा चित्त दुखाउँदा हामी कसरी दियाबलको जालमा फस्नदेखि बच्नसक्छौं? त्यसको जालमा नफँस्ने हो भने हामीले द्वेष पटक्कै पलाउन दिनु हुँदैन। बरु आफै अग्रसर भएर सकेसम्म चाँडो कुरा छिनफान गरेर शान्ति कायम गरिहाल्नुहोस्। (एफिसी ४:२६) यस सम्बन्धमा कलस्सी ३:१३ ले हामीलाई यस्तो आग्रह गर्छ: “केही दोषको कारण छ भने, एउटाले अर्कोलाई [खुला हृदयले, न्युव] क्षमा गर।” त्यसमाथि चित्त दुखाउने व्यक्तिले आफ्नो भूल स्वीकारेर माफी माग्छ भने त्यतिबेला क्षमा दिनु पूर्णतया उचित हो। (भजन ३२:३-५ र हितोपदेश २८:१३ तुलना गर्नुहोस्।) त्यसो गर्दा हाम्रै फाइदा हुन्छ। यद्यपि, हामीले के चाहिं मनमा राख्नुपर्छ भने, कसैलाई क्षमा दिनु भनेको अरूको भूललाई बेवास्ता गर्नु वा हल्का सम्झनु होइन। क्षमा गरेपछि द्वेष हुनुहुँदैन। वास्तवमा द्वेष गह्रौं बोझ हो। हामीलाई सोचमग्न गराएर त्यसले हाम्रो आनन्द खोस्नसक्छ। त्यसले हाम्रो स्वास्थ्यमा समेत असर गर्नसक्छ। यसको विपरीत, क्षमा गर्न सकिने ठाउँमा क्षमा गर्नाले हाम्रै भलाइ हुन्छ। अतः अरूले केही भन्यो वा गऱ्यो भन्दैमा दाऊदजस्तै हामी पनि कहिल्यै हरेस नखाऔं र यहोवादेखि टाढा नहोऔं।
आफैले भूल गर्दा
८. (क) केही व्यक्तिहरू किन विशेषगरि बेला बखत दोषी महसुस गर्छन्? (ख) हरेसै खानेगरि दोषी भावनाले ग्रस्त हुँदा कस्ता खतराहरू हुन्छन्?
८ याकूब ३:२ ले यसो भन्छ, “धेरै कुरामा हामी चुक्तछौं।” र त्यस्तो बेला दोषी महसुस हुनु स्वाभाविक हो। (भजन ३८:३-८) शारीरिक कमजोरीहरूसित जुझ्ने कोसिस गर्दागर्दै पनि बारम्बार भूल गरिरहन्छौं भने, त्यस्तो बेला हाम्रो दोषी भावना निकै तीव्र हुनसक्छ।a त्यस्तै संघर्ष गर्ने मसीही बहिनीले यसो भनिन्: “मैले अक्षम्य पाप गरे होला भन्ने डरले गर्दा म मर्न चाहन्थें। मलाई अझ प्रयत्न गरेर यहोवाको सेवा गर्न मनै लागेन। किनभने मैले आशा मारिसकेकी थिएँ।” अचाक्ली दोषी भावनाले पीडित हुँदा हामीले हरेस खानसक्छौं र दियाबललाई मौका दिनसक्छौं। त्यसले यस्तो मौकाको तुरुन्तै फाइदा उठाइहाल्नसक्छ! (२ कोरिन्थी २:५-७, ११) अतः त्यस्तो बेला दोषी भावनाप्रति सन्तुलित दृष्टिकोण राख्नु आवश्यक हुनसक्छ।
९. हामीले किन परमेश्वरको दयामाथि भरोसा गर्नुपर्छ?
९ पाप गर्दा केही हदसम्म दोषी महसुस गर्नु स्वाभाविक हो। यद्यपि, कुनै मसीहीले आफू कहिल्यै परमेश्वरको दया पाउन योग्य हुदिनँ भनेर महसुस गरेमा कहिलेकाहीं दोषी भावना रहिरहनसक्छ। तर यसो भए तापनि बाइबलले हामीलाई यस्तो न्यानो आश्वासन दिन्छ: “हामीले आफ्ना पापको स्वीकार गऱ्यौं भने, हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नालाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।” (१ यूहन्ना १:९) परमेश्वरले हाम्रोलागि त्यसो गर्नुहुन्न भन्ने के कुनै ठोस कारण छ? नबिर्सनुहोस्, यहोवा “क्षमा गर्न [तयार, न्युव] हुनुहुन्छ” भनेर उहाँको आफ्नै वचनले भन्छ। (भजन ८६:५; १३०:३, ४) यहोवाले कहिल्यै झूटो बोल्नुहुन्न। अतः पश्चात्तापी हृदय लिएर उहाँसमक्ष गयौं भने आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएबमोजिम उहाँले हामीलाई क्षमा गर्नुहुनेछ।—तितस १:२.
१०. शारीरिक कमजोरीसित संघर्ष गर्ने सन्दर्भमा एउटा पुरानो वाचटावर-ले कुन हार्दिक आश्वासन दियो?
१० तर आफ्नो कमजोरीसित संघर्ष गर्दागर्दै पनि फेरि त्यही भूल दोहोऱ्यो भने के गर्ने? हरेस नखानुहोस! भूल दोहोरिंदैमा तपाईंले गर्नु भइसकेको प्रगति बेकार हुँदैन। यस सम्बन्धमा द वाचटावर, फेब्रुअरी १५, १९५४ अंकले यस्तो हार्दिक आश्वासन दिएको थियो: “हाम्रो पुरानो खराब बानीले हामीले सोचेभन्दा गहिरो जरा गाडेर बसेको हुनसक्छ। शायद त्यस्ता बानीले गर्दा हामी निकै चोटी ठोकर खाएर लडौंला। . . . तर निराश नहुनुहोस्। अक्षम्य पाप गरें होला भनी नसम्झनुहोस्। किनभने तपाईंले त्यस्तै सोचोस् भनेर शैतानले चाहन्छ। वास्तवमा तपाईं पश्चात्तापको ज्वालामा जल्नुको अर्थ नै तपाईंले अक्षम्य पाप गर्नुभएको छैन भन्ने प्रमाण हो। थकित नहुनुहोस्, नम्रता अनि उत्सुकतापूर्वक परमेश्वरसमक्ष जानुहोस् र उहाँको क्षमा, शुद्धीकरण अनि मदत खोज्नुहोस्। तपाईंले एउटै भूल जतिसुकै दोहोऱ्याएको किन नहोस्, परमेश्वरसमक्ष जानुहोस्, समस्या आइपर्दा सानो बालक आफ्नो बुबाकहाँ गएझैं जानुहोस्। त्यसो गर्नुभयो भने कृपालु, करुणामय यहोवाले तपाईंलाई मदत गर्नुहुनेछ र तपाईं निष्कपट हुनुहुन्छ भने सफा अन्तस्करणको अनुभूति दिनुहुनेछ।”
आफूले गरेको सेवा अपुग महसुस हुँदा
११. (क) राज्य प्रचार कार्यमा भाग लिने सन्दर्भमा हाम्रो भावना कस्तो हुनुपर्छ? (ख) सेवकाईमा भाग लिनेबारे केही मसीहीहरू कस्ता अनुभूतिहरूसित संघर्ष गर्छन्?
११ राज्य प्रचार कार्यले मसीहीको जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै त्यसमा भाग लिंदा आनन्द प्राप्त हुन्छ। (भजन ४०:८) यद्यपि, केही मसीहीहरू सेवकाईमा अझ धेरै प्रगति गर्न नसक्दा दोषी महसुस गर्छन्। त्यस्तो दोषी भावनाले हाम्रो आनन्दसमेत खोस्नसक्छ र हामीले कहिल्यै यथेष्ट गरेनौं भनेर यहोवा महसुस गर्नुहुन्छ भन्ने आफ्नै कल्पनाले गर्दा हरेस खानसक्छौं। केहीले संघर्ष गर्नुपरेका भावनाहरूलाई एकछिन विचार गर्नुहोस्।
आफ्नो पतिसँगै तीन छोराछोरीको पालनपोषण गरिरहेकी मसीही बहिनीले यसरी लेखिन्, “गरिबीले कति समय खान्छ, तपाईंले कल्पनै गर्नुभएको छैन होला। सकेसम्म खर्च कम नगरे घर धान्नै सकिन्न। अरूले प्रयोग गरिसकेका सामानहरू बिक्री गर्ने वा सामान छिटो बिक्री गर्न कम दाम राख्ने पसलहरू धाउँदा र आफैले लुगाहरू सिउँदैमा मेरो निकै समय खर्च हुन्छ। [सुपथ मूल्यमा पाइने भोजनहरूको] कुपनहरू काटेर भर्न र बुझाउन हरेक हप्ता एक दुइ घण्टा खर्च गर्नुपर्ने हुन्छ। कहिलेकाहीं यी कामहरू गर्दा साह्रै दोषी महसुस गर्छु। किनभने त्यो समय मैले क्षेत्र सेवकाईमा पो बिताउनु पर्ने।”
चार छोराछोरी र भिन्दै धर्म मान्ने पति भएकी एउटी बहिनीले यसो भनिन्, “यहोवालाई साँच्चै यथेष्ट माया गर्दिनँ जस्तो मलाई लागेको थियो। मैले यहोवाको सेवा गर्न संघर्ष गरे। तर जति नै कोसिस गरे पनि कहिल्यै यथेष्ट गरेजस्तो लागेन। मसित आत्मसम्मान नभएको हुँदा यहोवाले मेरो सेवा स्वीकार्नु होला भनेर म कल्पनै गर्न सक्दिन थिएँ।”
पूर्ण-समय सेवा छोड्न बाध्य भएकी मसीही बहिनीले यसो भनिन्: “यहोवालाई पूर्ण-समय सेवा चढाउने मेरो वाचालाई पूरा गर्न सकिनँ भनेर म असाध्यै पिरोलिएकी थिएँ। म कति निरुत्साहित भएँ, तपाईं कल्पनै गर्नसक्नु हुन्न। अहिले म त्यो सम्झेर धुरुधुरु रुन्छु।”
१२. सेवकाईमा धेरै गर्न नसक्दा केही मसीहीहरू किन असाध्यै दोषी महसुस गर्छन्?
१२ यहोवालाई यथाशक्य सेवा चढाउन खोज्नु स्वाभाविक हो। (भजन ८६:१२) त्यसोभए, किन केही व्यक्तिहरू अझ धेरै सेवा गर्न नसक्दा दोषी महसुस गर्छन् त? आफू निकम्मा छु भन्ने सामान्य अनुभूतिले गर्दा केही व्यक्तिहरूले दोषी महसुस गरेको देखिन्छ। शायद जीवनका तीता अनुभवहरूले गर्दा त्यसो भएको हुनसक्छ। अरू चाहिं यहोवाले हामीबाट आशा गर्नुहुने कुराप्रति अव्यवहारिक दृष्टिकोण राखेकोले अनुपयुक्त दोष महसुस गर्छन्। एउटी मसीही बहिनीले यसो भन्दै मानि लिइन्, “थाकुञ्जेल नगरेसम्म यथेष्ट हुँदैन भनेर म ठान्थें।” फलतः तिनले अचाक्ली स्तर निर्धारण गरिन र त्यो स्तरसम्म पुग्न नसक्दा झनै दोषी महसुस गरिन्।
१३. यहोवाले हामीबाट के आशा गर्नुहुन्छ?
१३ यहोवाले हामीबाट के आशा गर्नुहुन्छ? सरल भाषामा भन्ने हो, हाम्रो परिस्थितिअनुसार पूर्ण मनतनले सेवा गरोस् भनेर उहाँ चाहनुहुन्छ। (कलस्सी ३:२३) तथापि, हामीले चाहेको कुरा र गर्नसक्ने व्यवहारिक कुरामा ठूलो भिन्नता हुनसक्छ। उमेर, स्वास्थ्य, शारीरिक ताकत वा पारिवारिक जिम्मेवारीजस्ता कुराहरूले हामीलाई सीमित पार्नसक्छ। तर जे होस्, यदि हामीले यथाशक्य गरिरहेका छौं भने यहोवालाई पूर्ण मनतनले सेवा चढाइरहेका छौं भनेर आश्वस्त हुनसक्छौं। अर्को शब्दमा भन्ने हो भने स्वास्थ्य र परिस्थिति अनुकूल भएकोले पूर्ण-समय सेवकाई गर्ने व्यक्तिले जति नै पूर्ण मनतनको सेवा चढाइरहेका छौं भनेर हामी आश्वस्त हुनसक्छौं।—मत्ती १३:१८-२३.
१४. आफूले गर्नसक्ने कामप्रति व्यवहारिक दृष्टिकोण राख्ने मदत चाहिएमा तपाईं के गर्न सक्नुहुन्छ?
१४ त्यसोभए आफूबाट आशा गर्नसक्ने कामप्रति व्यवहारिक दृष्टिकोण कसरी राख्ने? तपाईंले भरोसायोग्य, परिपक्व मसीही मित्र, सम्भवतः प्राचीनसित वा तपाईंको क्षमता, सीमितता र पारिवारिक जिम्मेवारीहरू थाह हुने अनुभवी बहिनीसित कुरा गर्न सक्नुहुन्छ। (हितोपदेश १५:२२) यो कुरा नबिर्सनुहोस्, क्षेत्र सेवकाईमा तपाईंले चढाउने सेवाको परिमाणको आधारमा तपाईं परमेश्वरसमक्ष योग्य ठहरिने होइन। यहोवालाई आफ्ना सबै सेवकहरू प्रिय लाग्छ। (हाग्गै २:७; मलाकी ३:१६, १७) तपाईंले प्रचार कार्यमा बिताउनु भएको समय अरूको भन्दा कम वा धेरै होला तर त्यो नै तपाईंले चढाउनसक्ने उत्तम सेवा हो भने यहोवा त्यससित प्रसन्न हुनुहुन्छ। अतः तपाईंले दोषी महसुस गर्नुपर्ने कुनै आवश्यकता छैन।—गलाती ६:४.
हामीबाट बढ्तै माग गरिंदा
१५. मण्डलीका प्राचीनहरूबाट कुन कुन ढंगमा धेरै मागिन्छ?
१५ येशूले यसो भन्नुभयो, “धेरै पाउने जुनसुकैबाट . . . धेरै लिइनेछ।” (लूका १२:४८) निस्सन्देह, मण्डलीका प्राचीनहरूको हैसियतले सेवा गर्ने व्यक्तिहरूबाट “धेरै लिइनेछ।” पावलजस्तै तिनीहरू मण्डलीका लागि आफ्नो समय, शक्ति खर्च गर्छन्। (२ कोरिन्थी १२:१५) भाषणहरूको तयारी, गोठालो काम, न्यायिक मामिलाहरूको जाँच आदि सबै काम तिनीहरूले आफ्नो परिवारलाई बेवास्ता नगरिकन गर्नुपर्ने हुन्छ। (१ तिमोथी ३:४, ५) केही प्राचीनहरू राज्य भवनहरू निर्माण कार्यमा मदत पुऱ्याउन, अस्पताल सम्पर्क समितिमा सेवा गर्न र सम्मेलन तथा अधिवेशनहरूमा स्वयं- सेवा गर्न पनि व्यस्त हुन्छन्। यस्ता जिम्मेवारीहरूको बोझले लादिएर थकित हुनदेखि यी मेहनती, समर्पित पुरुषहरू कसरी बच्नसक्छन्?
१६. (क) यित्रोले मोशालाई कस्तो व्यवहारिक समाधान बताए? (ख) अरूसित उपयुक्त जिम्मेवारीहरू बाँड्न प्राचीनलाई कुन गुनले मदत गर्नेछ?
१६ अरूको समस्याहरू सुल्झाउँदा सुल्झाउँदै थकित भएका विनयी अनि नम्र मोशालाई तिनको ससुरो यित्रोले व्यवहारिक सल्लाह दिए। त्यो थियो, योग्य पुरुषहरूसित आफ्ना केही जिम्मेवारीहरू बाँड्ने। (प्रस्थान १८:१७-२६; गन्ती १२:३) “चातुर्यमा [विनय, न्युव] बुद्धि हुन्छ,” भनेर हितोपदेश ११:२ ले बताउँछ। विनयी हुनु भनेको आफ्नो सीमालाई बुझेर स्वीकार्नु हो। विनयी व्यक्ति आफ्नो जिम्मेवारी बाँड्न हिचकिचाउँदैन न ता योग्य पुरुषहरूसित उपयुक्त जिम्मेवारीहरू बाँड्दा नियन्त्रण घट्छ भनेर नै डराउँछ।b (गन्ती ११:१६, १७, २६-२९) बरु, तिनीहरूलाई प्रगति गर्ने मदत दिन इच्छुक हुन्छ।—१ तिमोथी ४:१५.
१७. (क) मण्डलीका सदस्यहरूले कसरी प्राचीनहरूको बोझ हलका बनाउनसक्छन्? (ख) प्राचीनहरूकी पत्नीले कस्ता त्यागहरू गर्छन् र हामी त्यसलाई हलका ठान्दैनौं भनेर कसरी देखाउनसक्छौं?
१७ प्राचीनहरूको बोझ कम गर्न मण्डलीका सदस्यहरूले निकै मदत पुऱ्याउनसक्छन्। प्राचीनहरूले आफ्नै परिवारको रेखदेख गर्नुपर्छ भनेर बुझेपछि अरूले अनावश्यक ढंगमा प्राचीनहरूको समय र ध्यान माग गर्नेछैनन्। आफ्नो पतिले आफू वा छोराछोरीसित बिताउनसक्ने समय मण्डलीसित बिताउनु पर्दा प्राचीनहरूका पत्नीले स्वेच्छापूर्वक जुन त्याग गर्छन् त्यसलाई पनि तिनीहरूले हलका सम्झनेछैनन्। प्राचीनको हैसियतले सेवा गर्ने पति र तीन छोराछोरी हुने एउटी बहिनीले यसो भनिन्: “मेरो पतिले प्राचीनको हैसियतले सेवा गरोस् भनेर म चाहन्छु। त्यसैले घर गृहस्थी चलाउन मैले स्वेच्छापूर्वक स्वीकारेका थप जिम्मेवारीहरूबारे कहिल्यै गनगन गर्दिनँ। उहाँको सेवाले गर्दा हाम्रो परिवारले यहोवाको प्रशस्त आशिष् पाएको छ भनेर मलाई थाह छ। त्यसैले मेरो पतिले जतिसुकै समय र शक्ति दिए पनि म रिसाउँदिनँ। यद्यपि, व्यवहारिक भएर कुरा गर्ने हो भने, मेरो पति व्यस्त हुनुभएकोले मैले बगैंचामा र हाम्रो बच्चाहरूलाई अनुशासन सिकाउने क्षेत्रमा धेरै काम गर्नुपर्ने हुन्छ।” दुःखलाग्दो कुरा, केही भाइबहिनीहरूले तिनका थप जिम्मेवारीहरूको मूल्यांकन गर्नुको साटो उल्टो “तपाईं किन अग्रगामी गर्नुहुन्न?” भनेर भावशून्य टिप्पणी गरेको यो बहिनीले देखिन्। (हितोपदेश १२:१८) अरूले गर्न नसकेका कामहरूबारे आलोचना गर्नुभन्दा तिनीहरूले गरिरहेको कामको सराहना गर्नु कति असल कुरा हो!—हितोपदेश १६:२४; २५:११.
अन्त नआएकोले
१८, १९. (क) अहिले अनन्त जीवनको दौड रोक्ने समय किन होइन? (ख) प्रेरित पावलले यरूशलेमका मसीहीहरूलाई कुन सामयिक सल्लाह दिए?
१८ लामो दौडको अन्त नजीकै देख्ने धावकले हार मान्दैन। थकान, गर्मी र प्यासले गर्दा ऊ दौडनै नसक्ने स्थितिमा पुगिसकेको होला। तर अन्त नजीकै देखेकोले ऊ थामिंदैन। त्यस्तैगरि हामी मसीहीहरू जीवन इनाम पाइने लामो दौडमा छौं र हाम्रो दौडको अन्त पनि नजीकै पुगिसकेको छ। अतः अहिले थामिने समय होइन!—१ कोरिन्थी ९:२४; फिलिप्पी २:१६; ३:१३, १४ तुलना गर्नुहोस्।
१९ प्रथम शताब्दीका मसीहीहरूले त्यस्तै परिस्थितिको सामना गरे। करिब सा.यु. ६१ तिर प्रेरित पावलले यरूशलेमका मसीहीहरूलाई पत्र लेख्दा समय झन् झन् अल्प हुँदै थियो। दुष्ट “पुस्ता” अर्थात् धर्मत्यागी यहूदी रीतिरिवाज ‘बित्नै’ लागेको थियो। यस्तो बेला विशेषगरि यरूशलेमका मसीहीहरू चनाखो र विश्वासी हुनु आवश्यक थियो; सिपाहीहरूले यरूशलेमलाई घेरेको देख्ने बित्तिकै तिनीहरू शहरबाट भागेर जानुपर्थ्यो। (लूका २१:२०-२४, ३२) अतः पावलको यो सल्लाह निकै सामयिक थियो: “मन शिथिल भई तिमीहरू थाकेर नजाओ।” (हिब्रू १२:३) प्रेरित पावलले यहाँ दुइ ज्वलन्त क्रियाहरू चलाए। त्यो हो, “शिथिल भई” (काम्नो) र “थाकेर” (इक्लिओमाइ)। एक बाइबलविद्अनुसार, “दौड सकेर आराम गर्दा अचेत भई लड्ने धावकहरूलाई संकेत गर्न अरस्तुले ती युनानी क्रियाहरू चलाएका थिए। [पावलको पत्रका] पाठकहरूको दौड सकिसकेको थिएन। अतः तिनीहरूले दौड नसक्दै हार मान्नु हुँदैन थियो। तिनीहरू थाकेर अचेत भई पछारिनुहुँदैन थियो। अतः कठिनाइ आइपर्दा लगनशील भई अघि बढ्नु पर्ने आवश्यकता देखिन्छ।”
२०. पावलको सल्लाह अहिले किन सामयिक छ?
२० आज पावलको सल्लाह कति सामयिक छ! बढ्दो दबाबहरूको सामना गर्नुपर्दा कहिलेकाहीं थकित धावकजस्तै हामी पनि फतक्क गलेर पछारुँलाझैं महसुस गरौंला। तर हाम्रो दौडको अन्त नजीकै भएकोले पटक्कै हार मान्नु हुँदैन! (२ इतिहास २९:११) हाम्रो ठूलो शत्रु “गर्जने सिंह” त्यस्तै होस् भनेर चाहन्छ। तर हामी कृतज्ञ हुनसक्छौं। किनभने यहोवाले “दुर्बलहरूलाई बल” दिने प्रबन्ध गर्नुभएको छ। (यशैया ४०:२९) यी प्रबन्धहरू के हुन् र हामीले कसरी लाभ उठाउनसक्छौं, त्यसबारे अर्को लेखमा छलफल गरिनेछ।
[फुटनोटहरू]
a उदाहरणका लागि, कसै-कसैले छिटो रिसाउने बानी वा हस्तमैथुनजस्ता हटाउन साह्रै गाह्रो पर्ने दुर्गणसित संघर्ष गरिरहेको हुनसक्छ।—अवेक!, मे २२, १९८८ पृष्ठ १९-२१; नोभेम्बर ८, १९८१, पृष्ठ १६-२०; र वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित क्वेसन्स यंग पिपल आस्क—आन्सर्स द्याट वर्क, (जवान मानिसहरूले सोध्ने प्रश्नहरू—उपयोगी जवाफहरू) पृष्ठ १९८-२११ हेर्नुहोस्।
b अक्टोबर १५, १९९२ अंकको वाचटावर, पृष्ठ २०-३ मा दिइएको “प्राचीनहरू—जिम्मेवारी बाँड्नुहोस्!” लेख हेर्नुहोस्।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ अरूले निराश तुल्याउँदा वा चित्त दुखाउँदा हामी कसरी हरेस खानदेखि बच्नसक्छौं?
◻ दोषी भावनाप्रति कुन सन्तुलित दृष्टिकोण राख्नाले हामी हरेस खानदेखि बच्नेछौं?
◻ यहोवाले हामीबाट के आशा गर्नुहुन्छ?
◻ विनयले मण्डलीका प्राचीनहरूलाई थकित हुनदेखि कसरी जोगाउनसक्छ?
◻ हिब्रू १२:३ मा पावलको सल्लाह आज हाम्रो लागि किन सामयिक छ?