स्वर्गीय बोलाहट वास्तवमा कसले पाएका छन्?
यहोवाले मानिस जातिलाई प्रेम गर्नु हुन्छ। यो प्रेम यति महान छ कि हाम्रो पुर्खा आदमले हराएको कुरा फिर्ता ल्याउन उहाँले आफ्नो पुत्र, येशू ख्रीष्टलाई मुक्ति-मूल्यको रूपमा पठाउनु भयो। र आदमले हराएको कुरा के थियो? सबै अधिकारहरू र अपेक्षाहरू सहितको अनन्त र सिद्ध मानव जीवन। (यूहन्ना ३:१६) मुक्ति-मूल्य, मानिस जातिका लागि येशूको प्रेमको अभिव्यक्ति पनि थियो।—मत्ती २०:२८.
येशूले चढ़ाउनु भएको मुक्ति-मूल्यको बलिदानको आधारमा, दुई प्रकारका ईश्वर-प्रदत्त आशाहरू स्थापित गर्नमा ईश्वरीय प्रेमको प्रदर्शन भएको छ। (१ यूहन्ना २:१, २) येशू मनुष्यको रूपमा मर्नु भन्दा अघि, ईश्वरीय अनुमोदन पाउनेहरूका निम्ति एक मात्र आशा, एउटा पार्थिव प्रमोदवनमा जीवन थियो। (लूका २३:४३) तथापि, सा. यु. ३३ को पेन्तीकोसको दिन पछि, यहोवाले “सानो बगाललाई” एउटा स्वर्गीय आशा दिनु भयो। (लूका १२:३२) तर हालसालैमा के भएको छ? १९३१ देखिन् राज्यको समाचारको विशेष ध्यान “अरू भेड़ाहरूमा” केन्द्रित भएको छ र १९३५ देखिन् परमेश्वरले यस प्रकारका भेड़ा जस्ता मानिसहरूको एउटा “ठूलो भीड़लाई” आफू तिर ख्रीष्ट द्वारा आकर्षित गर्नु हुँदैछ। (यूहन्ना १०:१६; प्रकाश ७:९) तिनीहरूको हृदयमा परमेश्वरले एउटा पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने आशा राखिदिनु भएको छ। तिनीहरू सिद्ध प्रकारको भोजन खान, जनावरहरूमाथि प्रेमपूर्ण अधिकार जमाउन, र धार्मिक मानव साथीहरूसँग सदा सर्वदा आनन्द मनाउन चाहन्छन्।
अनुकम्पापूर्ण पूजाहारी र राजाहरू
आफ्नो जीवन मुक्ति-मूल्यको रूपमा दिन, येशूलाई प्रेमले प्रेरित गराएको हुनकारण, उहाँ निश्चय पनि एउटा अनुकम्पापूर्ण स्वर्गीय राजा हुनु हुनेछ। तापनि, उहाँको हजार वर्षको शासन-कालमा, मानिस जातिलाई सिद्धता तर्फ पुर्याउने काम उहाँ एकलैले मात्र गर्नु हुने छैन। यहोवाले स्वर्गमा अरू अनुकम्पापूर्ण राजाहरूको पनि प्रबन्ध मिलाउनु भएको छ। हो, “तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारीहरू भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्।”—प्रकाश २०:१-६.
ख्रीष्टका कति जना सह-शासकहरू हुनेछन् र यस प्रकारका महान विशेषाधिकारका निम्ति तिनीहरू कसरी छानिन्छन्? प्रेरित यूहन्नाले स्वर्गीय सियोनको पर्वतमा थुमा येशू ख्रीष्टसँग १४४,००० जनहरूलाई देखे। तिनीहरू “मानिसहरूमध्यबाट किनिएका” हुनाकारण, मानिसहरू भएर अनेक प्रकारका परीक्षाहरू अनुभव गर्नु, असिद्धताका बोझहरू सहनु, कष्ट भोग्नु र मर्नुको अर्थ के हो, सो तिनीहरूलाई थाह हुनेछ। (प्रकाश १४:१-५; अय्यूब १४:१) यसकारण, तिनीहरू कति अनुकम्पापूर्ण पूजाहारी-राजाहरू हुनेछन्!
आत्माको गवाही
ती १४४,००० को “अभिषेक पवित्र जनबाट” अर्थात् यहोवाबाट “भएको छ।” (१ यूहन्ना २:२०) त्यो अभिषेक एउटा स्वर्गीय आशाका लागि हो। परमेश्वरले तिनीहरूमाथि उहाँको ‘छाप मार्नु भएको छ र तिनीहरूका हृदयमा बैनाको रूपमा आत्मा दिनुभएको छ।’—२ कोरिन्थी १:२१, २२.
हो, स्वर्गीय बोलाहट पाएकाहरूलाई यस कुराबारे परमेश्वरको आत्माले गवाही दिन्छ। यस विषयमा, पावलले रोमी ८:१५-१७ मा लेखे: “किनभने फेरि भयभीत हुनालाई बन्धनको आत्मा तिमीहरूले पाएका छैनौं, तर तिमीहरूले धर्म-पुत्र हुने आत्मा पायौ, जसबाट अब्बा पिता, भनी हामी पुकार्दछौं। हामी परमेश्वरका सन्तान हौं, भनी आत्मासँग, आत्मा आफैले हाम्रा गवाही दिनुहुन्छ। औ सन्तान हौं भनेता हकवाला पनि हौं। परमेश्वरका हकवाला र ख्रीष्टसँग साझे-हकवाला। यदि उहाँसँगै दुःख भोग्छौं भनेता—उहाँसँगै महिमित पनि हुनेछौं।” परमेश्वरको आत्मा अथवा सक्रिय शक्ति द्वारा अभिषिक्त जनहरू “अब्बा, पिता!” भनी पुकार्दछन्।
कुनै व्यक्ति स्वर्गीय बोलाहटका लागि अभिषिक्त भएको मुख्य प्रमाण, आफू पुत्र नियुक्त भएको कुराबारे आफ्नो आत्माले गवाही दिनु अथवा एउटा जोरदार आन्तरिक चेतना हुनु हो। (गलाती ४:६, ७) परमेश्वरले तिनलाई आत्मिक पुत्र र स्वर्गीय राज्यका १४४,००० हकवालाहरू मध्येका हुनका निम्ति अभिषेक गर्नु भएको छ भनी यस प्रकारका व्यक्ति सम्पूर्णतया निश्चित हुन्छन्। तिनले गवाही दिन सक्तछन् कि तिनको स्वर्गीय आशा कुनै व्यक्तिगत कल्पना अथवा स्वर्ग जाने आफ्नै अभिलाषा होइन; बरु, तिनीमाथि परमेश्वरको आत्मा सक्रिय भएको हुनाकारण तिनले यहोवाबाटै त्यो आशा पाएका हुन्।—१ पत्रुस १:३, ४.
परमेश्वरको पवित्र आत्माबाट निर्देशित भएर, अभिषिक्त जनहरूको आत्माको गवाही अथवा त्यो जोरदार आन्तरिक चेतना एउटा शक्तिशाली प्रेरणा झैं काम गर्दछ। यसले तिनीहरूलाई स्वर्गीय आशाबारे परमेश्वरको वचनले दिएको निर्देशन बमोजिम काम गर्न प्रेरित गराउँदछ। पवित्र आत्मा द्वारा यहोवाले तिनीहरूसँग राख्नु भएको सम्पर्क प्रति पनि तिनीहरू एउटा सकारात्मक प्रतिक्रिया व्यक्त गर्दछन्। यस प्रकार, तिनीहरू परमेश्वरका आत्मिक सन्तानहरू र हकवालाहरू हुन् भनी तिनीहरू निश्चित हुन्छन्।
परमेश्वरको वचनमा उहाँका आत्मिक सन्तान र स्वर्गीय आशा बारे अभिषिक्त जनहरूले पढ़दा, तिनीहरू तुरुन्तै मनैमन, ‘यो मेरो विषयमा हो,’ भन्छन्। हो, तिनीहरूका पिताले आफ्नो वचनमा एउटा स्वर्गीय पुरस्कारको प्रतिज्ञा गर्नु हुँदा, तिनीहरू आनन्दित हुन्छन्। “हे प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान छौं,” भन्ने शब्दहरू पढ़दा, तिनीहरू ‘त्यो मलाई भनेको हो’ भन्छन्। (१ यूहन्ना ३:२) र “उहाँको सृष्टिमध्येमा अगौटे फल” हुनका लागि परमेश्वरले मानिसहरू छान्नु भएको छ भनी अभिषिक्त जनहरूले पढ़दा, ‘हो, उहाँले मलाई त्यही उद्देश्यका निम्ति छान्नु भएको हो’ भन्ने मानसिक झुकाव तिनीहरूमा हुन्छ। (याकूब १:१८) तिनीहरूले “येशू ख्रीष्टमा बप्तिस्मा” र उहाँका मृत्युमा बप्तिस्मा पाएकाछन् भनी तिनीहरूलाई थाह हुन्छ। (रोमी ६:३) यसकारण, तिनीहरूमा ख्रीष्टका आत्मिक शरीरको सहभागी हुने दृढ़ विश्वास हुन्छ र उहाँको जस्तै मृत्यु अनुभव गर्ने र स्वर्गीय जीवन पाउनका निम्ति तिनीहरू पुनःरुत्थान पाउने आशा गर्दछन्।
स्वर्गीय जीवनको अधिकार पाउनका लागि, अभिषिक्त जनहरूले तिनीहरूको ‘बोलावट र चुनाव निश्चय गर्नालाई’ आफूले सक्दोभर प्रयास गर्नु पर्दछ। (२ पत्रुस १:५-११) तिनीहरू विश्वासका साथ हिंड्दछन् र पार्थिव आशा राख्नेहरूले झैं, आध्यात्मिक वृद्धि गरी नै रहन्छन्। यसकारण, आत्माले दिने गवाहीसँग अरू कुन कुरा सम्मिलित छ?
तिनीहरूले भाग किन लिन्छन्
अभिषिक्त जनहरू, वर्तमान पार्थिव जीवनसँग असन्तुष्ट भएर स्वर्गमा जान चाहेका होइनन्। (यहूदा ३, ४, १६ सँग तुलना गर्नुहोस्) बरु, तिनीहरू परमेश्वरका सन्तान हुन् भनी तिनीहरूको आत्मासँग पवित्र आत्माले गवाही दिन्छ। तिनीहरू नया वाचामा पनि सम्मिलित भएकाछन् भनी तिनीहरू निश्चित छन्। यी वाचाका दुई प्रमुख पक्षहरू, यहोवा परमेश्वर र आत्मिक इस्राएलीहरू हुन्। (यर्मिया ३१:३१-३४; गलाती ६:१५, १६; हिब्रू १२:२२-२४) येशूको बगेको रगतद्वारा स्थापित भएको यो वाचाले यहोवाको नाउँको खातिर मानिसहरू जम्मा गर्दछ र यी अभिषिक्त मसीहीहरूलाई अब्राहामको “सन्तानको” एउटा भाग तुल्याइ दिन्छ। सबै आत्मिक इस्राएलीहरूले पुनरुत्थान द्वारा स्वर्गमा अमरत्व सहितको जीवन प्राप्त न गरुञ्जेल नया वाचा कायम रहनेछ।
साथै, स्वर्गीय राज्यबारे गरिएको वाचामा पनि तिनीहरू समावेश भएका छन् भन्ने कुरामा स्वर्गीय बोलाहट साँच्चैनै पाएकाहरूमा केही सन्देह हुँदैन। आफू र आफ्ना चेलाहरू बीच बाँधिएको यो वाचालाई सङ्केत गर्नु हुँदै, येशूले भन्नु भयो: “तर तिमीहरू चाहिं मेरा परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्त गर्छु, र तिमीहरूले मेरो राज्यमा मेरो टेबलमा खाने र पिउनेछौ, औ इस्राएलका बाह्रै कुलको इन्साफ गरेर सिंहासनहरूमा बस्नेछौ।” (लूका २२:२८-३०) येशूका चेलाहरू प्रति यो वाचा प्रयोगमा तब आयो जब सा. यु. ३३ सालको पेन्तीकोसको दिनमा तिनीहरू पवित्र आत्माद्वारा अभिषिक्त भए। यो वाचा ख्रीष्ट र उहाँका सह-शासकहरू बीच सदासर्वदाका लागि कायम रहन्छ।—प्रकाश २२:५.
नया वाचा र राज्य सम्बन्धी गरिएको वाचामा तिनीहरू सम्मिलित छन् भनी स्वर्गीय बोलाहट पाएका जनहरू निश्चित छन्। यसकारण, प्रत्येक साल, प्रभुको साँझको भोज अथवा येशू ख्रीष्टको मृत्युको स्मरणार्थमा तिनीहरूले प्रतीकको रूपमा प्रयोग गरिएको रोटी र दाखमधु औचित्यसाथ खान्छन् र पिउँछन्। अखमिरी रोटी येशूको पापरहित शरीर र दाख-मधु उहाँको मृत्युमा बगेको रगतको प्रतीक हो र उहाँले यसद्वारा नया वाचा स्थापित गर्नु भयो।—१ कोरिन्थी ११:२३-२६.
यहोवाले स्वर्गीय जीवनको अकाट्य आशा तपाईंलाई दिनु भएको छ भने, तपाईं त्यसमा भरोसा गर्नु हुन्छ। तपाईं त्यही आशा व्यक्त गर्दै प्रार्थनाहरू चढ़ाउनु हुन्छ। त्यस आशामा तपाईं तल्लीन हुनु भएको छ र त्यसलाई तपाईं आफूबाट अलग्ग पार्न सक्नु हुन्न। तपाईंको सारा ध्यान आध्यात्मिक आकाड़ाहरूमा लागिरहन्छ। तर तपाईं दोमनको र अनिश्चित हुनुहुन्छ भने, कुनै हालतमा पनि तपाईंले प्रभुको साँझको भोजका प्रतीकहरू खानु र पिउनु हुँदैन।
गलत अनुमानहरू किन?
केही व्यक्तिहरूले स्मरर्णाथका प्रतीकहरू अनुचित ढङ्गमा लिनेगर्दछन् किनभने अभिषेक गर्ने कुरा “नता इच्छा गर्नेको, न काम चलाउनेको, तर कृपा देखाउने परमेश्वरमा” भर पर्दछ भनी तिनीहरूले वास्तवमा स्वीकार्दैनन्। (रोमी ९:१६) नया वाचामा सम्मिलित भएर स्वर्गीय राज्यमा ख्रीष्टसँग सह-हकवाला हुन चाहने न चाहने कुराको फैसला त्यस व्यक्तिमाथि भर पर्दैन। यस मामलामा यहोवाको फैसला महत्त्वपूर्ण छ। प्राचीन इस्राएलमा, परमेश्वरले उहाँका पूजाहारीहरूको हैसियतमा सेवा गर्ने व्यक्तिहरू स्वयं छान्नु भयो र हारूनको परिवारलाई ईश्वरले दिनुभएको पूजाहारीगिरी कोराले प्राप्त गर्न खोज्दा, उसलाई परमेश्वरले नष्ट गरी दिनु भयो। (प्रस्थान २८:१; गन्ती १६:४-११, ३१-३५; २ इतिहास २६:१८; हिब्रू ५:४, ५) यसै प्रकार, परमेश्वरले बोलाहटै न दिएको भएता पनि कसैले आफूलाई स्वर्गीय राजा अथवा पूजाहारी हुन बोलाहट पाएको व्यक्ति जस्तो गरी प्रस्तुत गर्दछ भने, यसबाट यहोवा अप्रसन्न हुनु हुनेछ।—१ तिमोथी ५:२४, २५.
कठिन समस्याहरूको कारण उत्पन्न भएको जबरजस्त भावनाहरूले गर्दा, गल्तीले कसैलाई स्वर्गीय बोलाहट पाएको जस्तो लाग्न सक्तछ। आफ्नो पति वा पत्नीको मृत्य अथवा अरू कुनै विपत्तिको कारण पनि, पार्थिव जीवनमा चासो हराउन सक्छ। अथवा, कुनै घनिष्ठ सङ्गीले तिनी अभिषिक्त जनहरू मध्येका हुने दाबी गरेको हुनाकारण, आफूमा पनि त्यही लक्ष्य प्राप्त गर्ने इच्छा उठ्न सक्तछ। यस प्रकारका कुराहरूले गर्दा, तिनका लागि स्वर्गीय जीवन नै साँचेर राखिएको छ भनी तिनलाई लाग्न सक्तछ। तर परमेश्वरले कसैलाई पनि यस ढङ्गमा पुत्र नियुक्त गर्नु हुँदैन। पार्थिव जीवनसँग सम्बन्धित अप्रिय परिस्थितिहरू अथवा मानसिक कष्टहरूको कारण कसैले स्वर्ग जाने इच्छा गर्दछ भने, पृथ्वी सम्बन्धी परमेश्वरको उद्देश्यका लागि कृतज्ञताको अभाव यसबाट व्यक्त हुनेछ।
पहिले मान्ने गरिएका धार्मिक दृष्टिकोणहरूले पनि कसैमा तिनले स्वर्गीय बोलाहट पाएको गलत धारणा उत्पन्न गराउनु सक्तछ। शायद, तिनी कुनै बेला एउटा यस्तो झूटो धर्मसँग सम्बन्धित थिए होलान् जहाँ विश्वासीहरूको एक मात्र आशा स्वर्गीय जीवन हो भनी सिकाउने गरिएको हुन सक्तछ। यसकारण, भावुकता र बितेका गलत धारणाहरूबाट प्रभावित न हुनका निम्ति, एउटा मसीही सतर्क भएर बस्नु पर्दछ।
होसियारीसाथ जाँच गर्नु अत्यावश्यक छ
एउटा अति नै महत्त्वपूर्ण बुँदा प्रेरित पावलले यी शब्दहरूद्वारा प्रकट गरे: “यसकारण जसले अयोग्यसाथ प्रभुको रोटी खान्छ कि कचौराबाट पिउँछ भने, त्यो प्रभुको शरीर र रगतको दोषी हुनेछ। तर मानिसले आफूलाई जाँचोस् र यसरीनै त्यसले रोटी खाओस् र कचौराबाट पिओस्। किनकि प्रभुको शरीरको वास्ता नराखीकन खाने र पिउनेले, आफूमाथि दण्डको आज्ञा ल्याउँछ।” (१ कोरिन्थी ११:२७-२९) यसकारण, बप्तिस्मा लिएका कुनै मसीहीलाई हालसालैमा तिनले स्वर्गीय बोलाहट पाएको जस्तो लाग्न थालेको छ भने, तिनले यस विषयलाई अति नै होसियारीसाथ र प्रार्थनापूर्वक ध्यान दिनु आवश्यक छ।
यस प्रकारका व्यक्तिले आफैले आफैलाई यो प्रश्न पनि गर्नु सक्तछन्: ‘स्वर्गीय जीवनको अभिलाषा गर्न के मलाई अरूहरूले प्रभावित पारेका छन् कि?’ यस हो भने, यो अनुचित हुनेछ, किनभने यो विशेषाधिकारका निम्ति अरूहरूलाई भर्ना गर्ने जिम्मावारी परमेश्वरले अरू कसैलाई पनि दिनु भएको छैन। कल्पना गर्ने मानसिक झुकाउ छ भन्दैमा त्यो परमेश्वरले अभिषेक गर्नु भएको कुराको सङ्केत हुन सक्तैन र परमेश्वरले राज्यका हकवालाहरूलाई आवाजहरू द्वारा त्यस प्रकारको समाचार सुनाउनु हुँदै अभिषेक गर्नु हुँदैन।
कसै कसैले चाहिं आफूलाई यो सोध्न सक्छन्: ‘मसीही हुनु भन्दा अघि, के मैले लागू पदार्थको कुसेवन गर्द थिएँ? हाल, के म दिमागमाथि असर पार्ने औषधिको प्रयोग गरिरहेको छु? के कुनै समयमा आफ्ना मानसिक अथवा भावना सम्बन्धी समस्याहरूको मैले उपाचार गर्नु परेको थियो?’ कसै कसैले चाहिं आफ्नो मनगढन्त स्वर्गीय आशा पाए पछि, त्यससँग तिनीहरूले सङ्घर्ष गरें भन्छन्। अरूहरू भन्छन् कि परमेश्वरले तिनीहरूमा भएको पार्थिव आशा केही समयका लागि हटाइ दिनु भएर अन्तमा एउटा स्वर्गीय आशा दिनु भयो। तर यस प्रकारको कार्यप्रणाली ईश्वरीय कार्यविधिको विपरीत छ। साथै, विश्वास अनिश्चित कुरा होइन; त्यो निश्चित हुन्छ।—हिब्रू ११:६.
कुनै व्यक्तिले आफूसँग यो प्रश्न पनि गर्न सक्छ: ‘के म प्रमुख हुने चाहना गर्दछु? के म अहिले अख्तियारवाला पद प्राप्त गर्ने अथवा ख्रीष्टसँग सम्बन्धित राजा र पूजाहारी हुने उच्चाकाड़ा राख्तछु?’ सा. यु. प्रथम शताब्दीमा, स्वर्गीय राज्यमा प्रवेश पाउनेहरूका निम्ति आम निमंत्रण गरिंदा, सबै अभिषिक्त मसीहीहरूले सञ्चालक समितिका सदस्यहरू अथवा प्राचीनहरू र सहायक सेवकहरूको हैसियतमा सेवा गर्ने जिम्मेवारी पाएनन्। ती मध्ये धेरै ता स्त्रीहरू थिए र तिनीहरूसँग कुनै विशेष अधिकार थिएन; र पवित्र आत्माद्वारा अभिषिक्त भएकाछन् भन्दैमा परमेश्वरको वचन विशेष ढङ्गमा बुझ्न सकिन्छ भन्नु मिल्दैन किनभने पावलले केही अभिषिक्त जनहरूलाई उपदेश र अर्ती दिनु आवश्यक भएको थियो। (१ कोरिन्थी ३:१-३; हिब्रू ५:११-१४) स्वर्गीय बोलाहट भएका जनहरूले आफूलाई प्रमुख व्यक्तिहरू ठान्दैनन् र तिनीहरूले आफू अभिषिक्त भएको कुरामाथि अरूहरूको ध्यान आकर्षित गर्दैनन्। यसको सट्टा, तिनीहरूले “ख्रीष्टका मन” हुनेहरूमा हुनु पर्ने नम्रता प्रकट गर्दछन्। (१ कोरिन्थी २:१६) साथै, आफ्नो आशा स्वर्गीय होस् वा पार्थिव, सबै मसीहीहरूले परमेश्वरका धार्मिक आवश्यकताहरू पूरा गर्नु पर्दछ भनी तिनीहरूले स्वीकार्दछन्।
स्वर्गीय बोलाहट छ भन्दैमा ईश्वरबाट कुनै व्यक्तिगत विशेष प्रकाश पाइन्दैन। आफ्ना पार्थिव सङ्गठनकालागि आत्मिक आहार दिने परमेश्वरको एउटा माध्यम छ। (मत्ती २४:४५-४७) यसकारण, एक जना अभिषिक्त मसीही हुँदैमा तिनीसँग पार्थिव आशा राख्ने “ठूलो भीड़को” भन्दा उच्चतर बुद्धि हुनेछ भनी कसैले ठान्नु हुँदैन। (प्रकाश ७:९) साक्षी दिने, शास्त्रसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिने अथवा बाइबलमा आधारित भाषणहरू दिने निपुणताबाट आत्माले अभिषेक गरेको कुरा सङ्केत हुँदैन किनभने पार्थिव आशा राख्ने मसीहीहरूले पनि यी कुराहरू धेरै नै राम्रोसँग गर्ने गर्दछन्। अभिषिक्त जनहरू झैं, तिनीहरू पनि अनुकरणीय जीवन बिताइरहेका छन्। भनौं भने, येशू ख्रीष्ट पृथ्वीमा आउनु भन्दा अघि, शिमशोन जस्ता अरूहरूले पनि पवित्र आत्मा पाएका थिए र तिनीहरू पनि जोश र समझशक्तिले भरिपूर्ण थिए। तापनि ती ‘साक्षीहरूको ठूलो बादलका’ मध्येका कसैले पनि स्वर्गीय आशा राखेका थिएनन्।—हिब्रू ११:३२-३८; प्रस्थान ३५:३०, ३१; न्याय १४:६, १९; १५:१४; १ शमूएल १६:१३; इजकिएल २:२.
फैसला कसले गर्नु हुन्छ, सो याद राख्नु होस्
एक जना सङ्गी विश्वासीले स्वर्गीय बोलाहटबारे केही सोधेमा, यस विषयमा तिनीसँग एक जना प्राचीन अथवा अरू कुनै परिपक्व मसीहीले छलफल गर्न सक्तछन्। तर यस विषयमा, एउटाले अर्काको निम्ति फैसला गरी दिन सक्तैन, र स्वर्गीय आशा दिनु हुने यहोवा हुनु हुन्छ। जसले स्वर्गीय बोलाहट वास्तवमा पाएको हुन्छ, तिनले यो आशा पाएको छ वा छैन भनी विश्वासका आफ्ना सङ्गीहरूसँग सोध-पूछ गर्ने खाँचो कहिले पर्दैन। अभिषिक्त जनहरू “परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा, विनाशी होइन, तर अविनाशी, वीर्यबाट फेरि जन्मिएका” हुन्छन्। (१ पत्रुस १:२३) परमेश्वरले उहाँको आत्मा र वचन द्वारा, आफ्नो “वीर्य” रोपनु हुन्छ जसबाट त्यो व्यक्ति स्वर्गीय आशा राख्ने एउटा “नया सृष्टि” हुन जान्छ। (२ कोरिन्थी ५:१७) हो, छान्ने काम यहोवाले नै गर्नु हुन्छ।
यसैकारण, नया व्यक्तिहरूसँग बाइबल अध्ययन गर्दा, तिनीहरूले स्वर्गीय बोलाहट पाएका छन् वा छैनन् भनी तिनीहरूले थाह लगाउने प्रयास गरून् भन्ने जस्ता सुझाव हामीले दिनु राम्रो होइन। तर कुनै एउटा अभिषिक्त जन अविश्वासी साबित भएर तिनको ठाउँमा अरू कसैलाई भर्ना गर्ने खाँचो परेको खण्डमा के हुन्छ? यस्तो हुँदा, स्वभावतः, धेरै वर्ष देखिन् हाम्रा स्वर्गमा हुनु हुने पितालाई अनुकरणीय र विश्वासीलो भएर सेवा गर्दै आएका जनलाई नै परमेश्वरले स्वर्गीय बोलाहट दिनु हुनेछ भनी निष्कर्षमा पुग्नु तर्क सङ्गत हुनेछ।
आज, परमेश्वरको सन्देश मुख्यतः ख्रीष्टकी स्वर्गीय दुल्हीका सदस्यहरूहुने मानिसहरूका लागि होइन। बरु, “आत्मा र दुल्ही भन्नु हुन्छ, ‘आउनुहोस्।’” पार्थिव प्रमोदवनमा बस्ने यो एउटा निमन्त्रणा हो। (प्रकाश २२:१, २, १७) यो निमन्त्रणा दिने काममा जसै अभिषिक्त जनहरू अगुवाइ लिन्छन्, तिनीहरूले “विनय र नम्रताको” भाव व्यक्त गर्छन् र आफ्नो ‘बोलावट र चुनाव निश्चय’ गर्न परिश्रम गर्छन्।—एफिसी ४:१-३; २ पत्रुस १:५-११. (w3/15/91)