जागा रहनेहरू धन्यका हुन्!
“हेर, म चोरजस्तै आउनेछु। त्यो धन्यको हो, जो सतर्क रहन्छ, र आफ्ना लुगाको रखवाली गर्छ। नत्रता त्यो नाङ्गै हिंड़नेछ, र तिनीहरूले त्यसको लाज देख्नेछन्।”—प्रकाश १६:१५.
१. यहोवाको दिन नजीकै भएकोले हामी के आशा गर्नसक्छौं?
यहोवाको भयानक दिन नजीकै छ र त्यसको अर्थ हो, युद्ध! दर्शनमा प्रेरित यूहन्नाले भ्यागुताजस्तो “भूतहरूका आत्मा” पृथ्वीका जम्मै “राजाहरू” अथवा शासकहरूकहाँ गएको देखे। तर के गर्न? “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लड़ाइँको निम्ति जम्मै पृथ्वीका राजाहरूलाई जम्मा गर्न”! यूहन्नाले अझै यसो भने: “तिनीहरूले तिनीहरूलाई हिब्रू भाषामा आर-मागेडोन भन्ने ठाउँमा एक साथ जम्मा गरे।”—प्रकाश १६:१३-१६.
२. मागोगको गोग को हो र त्यसले यहोवाका जनहरूलाई आक्रमण गर्दा के हुनेछ?
२ चाँडै, यहोवाले झूटो धर्मको विश्वसाम्राज्य, महान् बेबिलोनलाई नाश गर्न यस रीतिरिवाजको राजनैतिक तत्त्व प्रयोग गर्नुहुनेछ। (प्रकाश १७:१-५, १५-१७) त्यसपछि पृथ्वीमा झारिएको मागोगको गोग, शैतान अर्थात् दियाबलले आफ्नो डफ्फा जम्मा गरेर यहोवाको निस्सहाय देखिने शान्तिप्रिय जनहरूमाथि भएभरको बल प्रयोग गर्दै आक्रमण गर्नेछ। (इजकिएल ३८:१-१२) तर परमेश्वरले आफ्ना जनहरूलाई जोगाउने कदम चाल्नुहुनेछ। र त्यो नै “परमप्रभुको [“यहोवाको,” NW] . . . महा र भयङ्कर दिन” अकस्मात् सुरु हुने चिह्न हुनेछ।—योएल २:३१; इजकिएल ३८:१८-२०.
३. इजकिएल ३८:२१-२३ मा अगमवाणी गरिएको घटनाक्रमलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?
३ हो, यो संसार हारमागेडोन अथवा आर-मागेडोन भनिने परिस्थितिमा पुग्दा यहोवाले आफ्ना जनहरूको उद्धार गर्नुहुनेछ र शैतानको रीतिरिवाजको नामोनिसान मेटाउनुहुनेछ। इजकिएल ३८:२१-२३ का भविष्यसूचक शब्दहरू पढ्नुहोस् र कल्पना गर्नुहोस्। घनघोर पानी र विनाशकारी असिना बर्साउन, दनदनी आगो दन्काउन अनि महामारी फैलाउन यहोवाले आफ्नो शक्ति प्रयोग गर्नुहुन्छ। गोगको डफ्फा अलमलिएर एकअर्कोमाथि नै जाइलाग्दा जताततै आतंक फैलन्छ। सर्वशक्तिमान् परमेश्वरका कुनै कुनै शत्रुहरू बचिहालेछन् भने तापनि आफ्ना दासहरूलाई बचाउन यहोवाले अलौकिक शक्ति प्रयोग गर्नुहुँदा ती नाश हुनेछन्। भविष्यवाणी गरिएको “महा संकष्ट” सिद्धिएपछि शैतानको अभक्त रीतिरिवाजको नामोनिसान रहनेछैन। (मत्ती २४:२१) तथापि, प्राण नगएर घिटीघिटी भएको बेलामा समेत ती दुष्टहरूले तिनीहरूमाथि आइपरेको विनाशको कारक को हो, त्यो बुझ्नेछन्। हाम्रा विजयी परमेश्वर स्वयं यसो भन्नुहुन्छ: “तिनीहरूले मनै यहोवा हुँ भनी जान्नेछन्।” यी असाधारण घटनाहरू हाम्रै समयमा अर्थात् ख्रीष्टको उपस्थितिमा हुनेछन्।
चोरजस्तै आउने
४. यस दुष्ट रीतिरिवाजलाई नाश गर्न येशू कुन तरिकामा आउनुहुनेछ?
४ महिमित प्रभु येशू ख्रीष्टले यसो भन्नुभयो: “हेर, म चोरजस्तै आउनेछु।” एक्कासि, नचिताएको र अधिकांश मानिसहरू सुतिसकेको बेला उहाँ चोरजस्तै आउनु हुनेथियो। तर यस दुष्ट रीतिरिवाजलाई नाश गर्न येशू चोरजस्तै गरी आउनुहुँदा उहाँले साँच्चै जागा रहनेहरूलाई जोगाउनुहुनेछ। उहाँले यूहन्नालाई यसो भन्नुभयो: “त्यो धन्यको हो, जो सतर्क रहन्छ, र आफ्ना लुगाको रखवाली गर्छ। नत्रता त्यो नाङ्गै हिंड़नेछ, र तिनीहरूले त्यसको लाज देख्नेछन्।” (प्रकाश १६:१५) यी शब्दहरूले के भन्न खोजेका हुन्? अनि हामी आध्यात्मिक तवरमा कसरी जागा रहनसक्छौं?
५. येशू पृथ्वीमा हुनुहुँदा मन्दिरमा सेवा गर्ने कस्तो प्रबन्ध थियो?
५ सामान्यतया काम गर्दागर्दै पहरेदारलाई सुतिरहेको भेट्टाइएमा नंग्याइँदैन। तर येशू यस पृथ्वीमा हुनुहुँदा यरूशलेमको मन्दिरमा त्यस्तै भयो। त्यतिबेला पनि पालैसित सेवा गर्न पूजाहारी तथा लेवीहरू अलग्गै छुट्याइएका थिए। सा.यु.पू. ११ औं शताब्दीमा राजा दाऊदले इस्राएलका सयौं पूजाहारीहरू तथा तिनीहरूलाई सहयोग गर्ने हजारौं लेवीहरूको २४ वटा दललाई छुट्याएका थिए। (१ इतिहास २४:१-१८) प्रत्येक दलमा एक हजारभन्दा धेरै तालिमप्राप्त कामदारहरू हुन्थे र तिनीहरूले कम्तीमा वर्षको दुइ पटक हप्तादिनभरि पालैसित मन्दिरको काम गर्थे। तथापि, डेराबासको चाडमा भने २४ वटै दल काममा उपस्थित हुन्थे। त्यसैगरि निस्तार चाडको बेलामा पनि थप मदत चाहिन्थ्यो।
६. “त्यो धन्यको हो, जो सतर्क रहन्छ, र आफ्ना लुगाको रखवाली गर्छ,” भन्नुहुँदा येशूले कुन कुरालाई इशारा गरिरहनुभएको हुनसक्छ?
६ येशूले “त्यो धन्यको हो, जो सतर्क रहन्छ, र आफ्ना लुगाको रखवाली गर्छ,” भन्नुहुँदा उहाँले मन्दिरमा पहरा दिनेहरूको कामसित सम्बन्धित तौरतरिकाहरूलाई इशारा गरिरहनुभएको हुनसक्छ। यहूदी मिश्नाह यसो भन्छ: “पूजाहारीहरूले मन्दिरको तीन ठाउँहरूमा पहरा दिनुपर्थ्यो। ती हुन्: अब्तिनासको खोपीमा, ज्वालाको खोपीमा र अगेनाको खोपीमा। त्यसैगरि लेवीहरूले चाहिं २१ स्थानहरूमा पहरा दिनुपर्थ्यो। ती हुन्: मन्दिरको गढीका पाँच ढोकाहरूमा पाँच जना, त्यसको भित्रपट्टि चार कुनामा चार जना, मन्दिरको चोकको पाँचवटा ढोकाहरूमा पाँच जना, त्यसको बाहिरपट्टि चार कुनामा चार जना, एक जना भेटी चढाउने खोपीमा, त्यसैगरि अर्को एक जना पर्दा भएको खोपीमा र कृपाआसन पछाडि [महापवित्रस्थान पछाडिको भित्ताबाहिर] एक जना। मन्दिरको गढीका मुख्य द्वारपाल हरेक पहरेदारले के कसो गरिरहेको छ, मसाल बालेर गस्ती लगाउन आउँदा कुनै पहरेदारले खडा भएर तिनलाई ‘हे मन्दिरको गढीका मुख्य द्वारपाल, तपाईंलाई शान्ति होस्!’ भन्नुपर्थ्यो। त्यसो नभनेको खण्डमा त्यो पहरेदार सुतिरहेको मुख्य द्वारपालले थाह पाउँथे र तिनले त्यस पहरेदारलाई लौरोले हिर्काउँथे अनि उसको लुगासमेत जलाउनसक्थे।”—हर्बर्ट दानबीद्वारा अनुवादित मिश्नाह, मिद्दोथ (“नापतौल”), १, अनुच्छेद १-२.
७. मन्दिरको पहरेदार गर्ने पूजाहारीहरू तथा लेवीहरू जागा रहनु किन आवश्यक थियो?
७ मन्दिरको चोकमा कुनै अशुद्ध कुरा नपसून् भनेर सेवा दलमा खटाइएका सबै लेवीहरू तथा पूजाहारीहरूले रातभर जाग्राम बसेर पहरा दिन्थे। “मन्दिरको गढीका मुख्य द्वारपाल” अथवा “मन्दिरका कप्तान[ले]” राती ती २४ स्थानहरूको गस्ती लगाउँदा प्रत्येक पहरेदार पक्राउ नपर्न आ-आफ्नो किल्लामा जागा हुनैपर्थ्यो।—प्रेरित ४:१.
८. मसीहीहरूको लाक्षणिक लुगा के के हुन्?
८ अभिषिक्त मसीही तथा तिनीहरूका सँगी सेवकहरूले आध्यात्मिक तवरमा जागा रहनु र आ-आफ्नो लाक्षणिक लुगाको रखवाली गर्नु आवश्यक छ। यी लुगाहरूले यहोवाको आध्यात्मिक मन्दिरमा सेवा गर्न पाउने हाम्रो नियुक्तिलाई चित्रित गर्छन्। त्यसैकारण, राज्य उद्घोषकहरूको रूपमा हामीले पाएका काम तथा विशेषाधिकारहरूलाई पूरा गर्न परमेश्वरको पवित्र आत्मा वा सक्रिय शक्तिद्वारा हामी मदत पाउँछौं। परमेश्वरको सेवक भएर हामी आफ्नो किल्लामा सुत्न थाल्यौं भने महान् आध्यात्मिक मन्दिरका कप्तान, येशू ख्रीष्टले गस्ती लाउनुहुँदा हामी रंगेहात समातिनेछौं। त्यतिखेर हामी आध्यात्मिक तवरमा निदाएका रहेछौं भने लाक्षणिक अर्थमा नंग्याइनेछौं र हाम्रा प्रतीकात्मक लुगा जलाइनेछन्। त्यसोभए हामी आध्यात्मिक तवरमा कसरी जागा रहनसक्छौं?
हामी कसरी जागा रहनसक्छौं
९. मसीही प्रकाशनहरूको मदत लिई धर्मशास्त्रको अध्ययन गर्नु किन महत्त्वपूर्ण छ?
९ मसीही प्रकाशनहरूको मदत लिई लगनशीलतासाथ धर्मशास्त्रको अध्ययन गरेको खण्डमा आध्यात्मिक तवरमा जागा रहन उत्प्रेरित हुनेछौं। यसरी अध्ययन गऱ्यौं भने सेवकाईको निम्ति हामी सुसज्जित हुनेछौं, संकटमा पर्दा सामना गर्न सक्नेछौं र अनन्त आनन्दको मार्ग भेट्टाउनेछौं। (हितोपदेश ८:३४, ३५; याकूब १:५-८) हाम्रो अध्ययन गहिरो र प्रगतिशील हुनुपर्छ। (हिब्रू ५:१४–६:३) नियमित रूपले असल भोजन लिने गरेका छौं भने त्यसले हामीलाई जागा तथा सतर्क रहन मदत गर्नसक्छ। यसले हामीलाई नसुस्ताउनबाट जोगाउनसक्छ। सुस्ताउनु कुपोषणको लक्षण हुनसक्छ। आध्यात्मिक तवरमा कुपोषित हुने र लोलाउने कुनै बहाना हामीसित छँदैछैन। किनभने परमेश्वरले “विश्वासी र बुद्धिमान दास” मार्फत प्रशस्त आध्यात्मिक आहार दिनुभएको छ। (मत्ती २४:४५-४७) व्यक्तिगत तथा पारिवारिक अध्ययन गरेर नियमित रूपले आध्यात्मिक आहार खाने गर्नु जागा रहने र “विश्वासमा पक्का” हुने एउटा तरिका हो।—तीतस १:१३.
१०. मसीही सभा, सम्मेलन तथा अधिवेशनहरूले आध्यात्मिक तवरमा जागा रहन कसरी मदत गर्छन्?
१० मसीही सभाहरू, सम्मेलनहरू तथा अधिवेशनहरूले हामीलाई आध्यात्मिक तवरमा जागा रहन मदत गर्छन्। यी सभा, सम्मेलन तथा अधिवेशनहरूले ‘एकअर्कोलाई प्रेम र सुकर्ममा उत्तेजित गराउने’ प्रोत्साहन अनि मौका दिन्छ। विशेषगरि “दिन नजीक नजीक आईपुगेको” देखेकै हुनाले हामी नियमित तवरले भेला हुनैपर्ने हो। त्यो दिन अहिले साँच्चै नजीक छ। त्यो यहोवाले आफ्नो सार्वभौमिकता उच्च गर्ने “प्रभुको [“यहोवाको,” NW] दिन” हो। त्यो दिन हाम्रोनिम्ति महत्त्वपूर्ण हुनुपर्ने हो र साँच्चै महत्त्वपूर्ण छ भने हामी ‘एकै ठाउँमा भेला हुन छाड्नेछैनौं।’—हिब्रू १०:२४, २५; २ पत्रुस ३:१०.
११. आध्यात्मिक तवरमा जागा रहन मसीही सेवकाई अत्यावश्यक किन छ?
११ आध्यात्मिक तवरमा जागा रहन सम्पूर्ण हृदयले मसीही सेवकाईमा भाग लिनु अत्यावश्यक छ। सुसमाचार प्रचारकार्यमा नियमित तथा जोसिलो भई भाग लिंदा हामी सतर्क रहन्छौं। सेवकाईमा हामी मानिसहरूसित परमेश्वरको वचन, उहाँको राज्य तथा उहाँका उद्देश्यहरूबारे बताउने धेरै अवसरहरू पाउँछौं। घर-घरै गएर साक्षी दिन, पुनःभेटहरू गर्न तथा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ जस्ता प्रकाशनहरूबाट गृह बाइबल अध्ययन सञ्चालन गर्न पाउनु सन्तोषप्रद छ। पुरातन एफिससका प्राचीनहरूले तिनीहरूलाई पावलले “घर-घरमा खुल्लमखुल्ला” सिकाएका थिए भन्न सके। (प्रेरित २०:२०, २१) निस्सन्देह, यहोवाका केही विश्वासी साक्षीहरू गम्भीर स्वास्थ्य समस्याको कारण सेवामा सक्रिय हुनसकेका छैनन्। तैपनि यहोवा र उहाँको राज्याधिकारबारे अरूलाई बताउन तिनीहरू कुनै न कुनै तरिका खोज्छन् अनि त्यसो गरेर निकै आनन्दित हुन्छन्।—भजन १४५:१०-१४.
१२, १३. किन हामी खान र पिउनमै डुब्नु हुँदैन?
१२ खान र पिउनमै डुबेनौं भने आध्यात्मिक तवरमा जागा रहन मदत पाउनेछौं। आफ्नो उपस्थितिबारे बताउनुहुँदा येशूले चेलाहरूलाई यस्तो आग्रह गर्नुभयो: “तर तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला। किनकि यसरीनै सारा पृथ्वीको सतहमा रहनेहरूमाथि यो आइपर्नेछ।” (लूका २१:७, ३४, ३५) घिचुवा र जँड्याहा हुनु बाइबल सिद्धान्त विपरीत हो। (व्यवस्था २१:१८-२१) हितोपदेश २३:२०, २१ यसो भन्छ: “मतवाला अथवा घिचुवाहरूको सङ्गत नगर्। किनभने मद्य र खानुको लोभले दरिद्र तुल्याउँछ, औ मतवालापनले थाङ्ने बनाइदिन्छ।”—हितोपदेश २८:७ तुलना गर्नुहोस्।
१३ घिचुवा वा जँड्याहा नभएको भए तापनि बढ्ता खाने वा पिउने बानीले मानिसलाई झुम्म पार्नसक्छ, परमेश्वरको इच्छा पूरा गर्न सुस्त वा लापरवाहसमेत बनाउनसक्छ। परिवारको सुस्वास्थ्य र त्यस्तै अरू कुराको चिन्ता लाग्नु स्वाभाविक हो। यद्यपि, परमेश्वरको राज्यलाई प्रथम स्थान दियौं र स्वर्गमा हुनुहुने हाम्रो पिताले हामीलाई चाहिने सबै थोकको प्रबन्ध गर्नुहुन्छ भन्ने आस्था राख्यौं भने हामी आनन्दित हुनेछौं। (मत्ती ६:२५-३४) नत्रता, “त्यो दिन” हामीमाथि “पासो[झैं]” आइपर्नेछ। हामी शायद अचानक, ठम्याउन नसकिने पासोमा परौंला वा पासोमा पर्न लागेका हौं कि भन्ने शंका नगरी खानेकुराको लोभ गर्दा पासोमा फस्ने जनावरजस्तै हामी पनि फसौंला। तर हामी जागा छौं र “अन्तको समय[मा]” छौं भनी पूर्णतया सतर्क छौं भने पासोमा फस्नेछैनौं।—दानियल १२:४.
१४. हामी किन खुरन्धार प्रार्थनामा लाग्नुपर्छ?
१४ खुरन्धार प्रार्थना आध्यात्मिक तवरमा जागा रहन सहयोग गर्ने अर्को मदत हो। आफ्नो महान् भविष्यवाणीमा येशूले अझै यसरी आग्रह गर्नुभयो: “तर आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खड़ा हुनसक्नलाई हर घड़ी प्रार्थना गर्दै जागा रहो।” (लूका २१:३६) हो, हामी सधैं यहोवाको पक्षमा हुनसकौं र मानिसको पुत्र येशू यस दुष्ट रीतिरिवाजलाई नाश गर्न आउनुहुँदा उहाँको अनुमोदन प्राप्त गर्नसकौं भनेर प्रार्थना गरौं। आफ्नै फाइदा र हामीले प्रार्थना गर्दा सम्झने हाम्रा सँगी विश्वासीहरूको फाइदाको लागि ‘प्रार्थनामा सतर्क रहनु’ आवश्यक छ।—कलस्सी ४:२; एफिसी ६:१८-२०.
समय बित्दैछ
१५. धर्मका प्रचारकको रूपमा हामीले गरेको सेवाले के गर्न सकिएको छ?
१५ यहोवाको भयानक दिनलाई पर्खंदै गर्दा हामी सकेजति उहाँको सेवा गर्ने इच्छा पक्कै पनि गर्छौं। यसबारे उहाँसित खुरन्धार प्रार्थना गऱ्यौं भने “एउटा ठूलो र अभिप्राय पूरा गर्ने ढोका” खोलिनेछ। (१ कोरिन्थी १६:८, ९) परमेश्वरले तोक्नुभएको समयमा येशूले न्याय गर्नुहुनेछ र अनन्त जीवन पाउन योग्य भक्त “भेड़ाहरूलाई” अनन्त विनाश भोग्न योग्य अभक्त “बाख्राबाट” छुट्याउनुहुनेछ। (यूहन्ना ५:२२) भेडा-बाख्रा छुट्याउने हामी होइनौं। तर अहिले धर्मका प्रचारकको रूपमा हामीले गरेको सेवाले मानिसहरूलाई परमेश्वरको सेवा गर्ने मौका दिनुका साथै येशू ‘आफ्नो महिमामा आउनुहुँदा’ जीवनको निम्ति छुट्याइने आशा प्रदान गरेको छ। यस रीतिरिवाजको समय सिद्धिनै लागेको हुनाले “अनन्त जीवनका लागि नियुक्त” हुनेहरूलाई खोज्ने काममा तनमन लगाउनुपरेको छ।—मत्ती २५:३१-४६; प्रेरित १३:४८.
१६. हामी किन परमेश्वरको राज्यको जोसिलो उद्घोषक हुनुपर्छ?
१६ नूहको दिनको समय सिद्धिएजस्तै यस रीतिरिवाजको समय पनि चाँडै सिद्धिनेछ। त्यसकारण हामी जोसिला राज्य प्रचारक होऔं। हाम्रो प्रचार कार्य फस्टाउँदैछ। किनकि वर्षेनी लाखौं मानिसहरूले परमेश्वरप्रतिको समर्पणलाई जनाउन बप्तिस्मा लिन्छन्। तिनीहरू यहोवाको आशिषित् संगठनको भाग अर्थात् “उहाँकै प्रजा, र उहाँका खर्कका भेड़ाहरू हुँदैछन्।” (भजन १००:३) ‘यहोवाको महा र भयङ्कर दिन’ आउनुअघि धेरैलाई आशा दिने परमेश्वरको राज्य प्रचार कार्यमा भाग लिन पाउनु कस्तो आनन्दको कुरा हो!
१७, १८. (क) हामीले प्रचार गर्दा कसै कसैले कस्तो प्रतिक्रिया व्यक्त गर्लान्? (ख) गिल्ला गर्नेहरूमाथि अवश्य के आइपर्नेछ?
१७ नूहले जस्तै हामीले पनि परमेश्वरको समर्थन र सुरक्षा पाएका छौं। हो, मानिसहरू, मानव देह धारण गर्ने स्वर्गदूतहरू अनि नपीलहरूले पक्कै पनि नूहको सन्देशलाई ठट्टामा उडाए होलान् तर नूहले प्रचार गर्न छोडेनन्। हामी “आखिरी दिनमा” छौं भन्ने प्रत्यक्ष प्रमाण देखाउँदा आज पनि कोही कोहीले ठट्टामा उडाउँछन्। (२ तिमोथी ३:१-५) यसरी गिल्ला गर्नु ख्रीष्टको उपस्थितिसम्बन्धी गरिएको भविष्यवाणीको पूर्ति हो। किनभने यसबारे पत्रुसले यसरी लेखे: “पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्, ‘उहाँको आगमनको [“उपस्थिति,” NW] प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिनदेखिनै सृष्टिको शुरूदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्।’ ”—२ पत्रुस १:१६; ३:३, ४.
१८ अहिले गिल्ला गर्नेहरूले यसरी सोच्लान्: ‘सृष्टि भएदेखि सबथोक जस्ताको तस्तै छ। मानिसहरू खाँदै, पिउँदै, बिहे गर्दै, र परिवार बनाउँदै जीवन बिताइ नै रहेका छन्। येशू उपस्थितै हुनुभए तापनि उहाँले मेरो जीवनकालमा न्याय गर्नुहुनेछैन।’ तिनीहरूको सोचाइ कत्ति गलत छ! त्यतिञ्जेल तिनीहरू अन्य कारणहरूले गर्दा मरेनन् भने पनि नूहको दिनको दुष्ट रीतिरिवाज जलप्रलयले गर्दा नाश भएझैं यहोवाको भयानक दिनमा पक्कै विनाश हुनेछन्।—मत्ती २४:३४.
हामी जागा रहनैपर्छ!
१९. चेला बनाउने कामलाई हामीले कस्तो ठान्नुपर्छ?
१९ हामी यहोवाप्रति समर्पित छौं भने अनावश्यक तर्कले गर्दा हामी कहिल्यै लोलाउन नपरोस्। यो जागा रहने, ईश्वरीय अगमवाणीमा विश्वास गर्ने र “सबै देशका जातिहरूलाई चेला बनाओ” भन्ने आदेश पूरा गर्ने समय हो। (मत्ती २८:१९, २०) सधैंभरिका लागि अन्त हुनैलागेको यो संसारमा येशू ख्रीष्टको डोऱ्याइमा यहोवा परमेश्वरको सेवा गर्न पाउनु र अन्त आउनुअगावै “राज्यको यो सुसमाचार” विश्वभरि प्रचार गर्न भाग लिन पाउनुजस्तो विशेषाधिकार अरू केही छैन।—मत्ती २४:१४; मर्कूस १३:१०.
२०. कालेब र यहोशूले कस्तो उदाहरण बसाले र तिनीहरूको कामबाट हामीले के गर्नुपर्ने संकेत पाउँछौं?
२० यहोवाका कुनै कुनै जनहरूले उहाँको सेवा गर्न थालेको दशकौं भइसक्यो। कतिले त शायद आजीवन उहाँको सेवा गरे होलान्। हालै मात्र साँचो उपासनालाई स्वीकारेका छौं भने पनि ‘यहोवालाई पूर्ण रूपले पछ्याउने’ इस्राएली कालेबजस्तै हुनसकौं। (व्यवस्था १:३४-३६) इस्राएलले मिश्रको दासत्वबाट छुटकारा पाएको केही समय नबित्दै कालेब र यहोशू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न पूर्णतया तयार थिए। तथापि, अधिकांश वयस्क इस्राएलीहरूले विश्वास गर्न सकेनन् फलतः तिनीहरू ४० वर्ष उजाडस्थानमा भौंतारिनुपऱ्यो र त्यहीं तिनीहरू मरे। त्यतिखेर तिनीहरूसँगसँगै कालेब र यहोशूले पनि दुःख भोग्नुपऱ्यो तर जे होस् अन्तमा ती दुइ पुरुषहरूले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न पाए। (गन्ती १४:३०-३४; यहोशू १४:६-१५) हामीले पनि ‘यहोवालाई पूर्ण रूपले पछ्यायौं’ र आध्यात्मिक तवरमा जागा रह्यौं भने परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा प्रवेश गर्ने आनन्द पाउनेछौं।
२१. आध्यात्मिक तवरमा जागा भयौं भने हामी कस्तो अनुभव गर्नेछौं?
२१ हामी अन्तिम समयमा बाँचिरहेका छौं र यहोवाको भयानक दिन नजीकै छ भनी प्रमाणहरूले छर्लंग देखाउँछन्। यो लोलाउने र ईश्वरीय इच्छा पूरा गर्न हेलचेक्राइँ गर्ने समय होइन। आध्यात्मिक तवरमा जागा रह्यौं अनि मसीही सेवकहरू र यहोवाको दासको रूपमा चिनाउने हाम्रो लुगाको रखवाली गऱ्यौं भने मात्र हामीले आशिष् पाउनेछौं। त्यसकारण, आउनुहोस् “होशियार बस, विश्वासमा दृढ़ भइबस पुरुषार्थी होओ, बलिया होओ” भन्ने वचनअनुरूप चल्ने संकल्प गर्नसकौं। (१ कोरिन्थी १६:१३) यहोवाको दासको रूपमा हामी सबै दृढ र साहसी होऔं। तब मात्र यहोवाको भयानक दिन बज्रपात हुँदा हामी पनि तयार हुनेहरूमध्ये हुनेछौं। त्यति मात्र होइन, जागा रहनेहरूमाझ आनन्दित हुँदै यहोवालाई विश्वासी भई सेवा गर्नेहरूमध्ये हामी पनि हुनेछौं।
◻ हाम्रा लाक्षणिक लुगाहरूको कस्तो परिभाषा दिनुहुन्छ र हामी त्यसको कसरी रखवाली गर्नसक्छौं?
◻ आध्यात्मिक तवरमा जागा रहने केही तरिकाहरू के हुन्?
◻ गिल्ला गर्नेहरू हुनेछन् भन्ने आशा हामीले किन गर्नुपर्छ र तिनीहरूप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ?
◻ यी अन्तिम दिनमा चेला बनाउने कामलाई हामीले कस्तो ठान्नुपर्छ?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ १६-मा भएको ठूलो अक्षरको क्याप्सन]
परमेश्वरको पवित्र आत्माले मसीहीहरूलाई जागा रहन र सुम्पिएको काम पूरा गर्न मदत गर्छ
[पृष्ठ १५-मा भएको चित्र]
के तपाईंले आध्यात्मिक तवरमा जागा रहने र लाक्षणिक लुगाको रखवाली गर्ने निधो गर्नुभएको छ?