धैर्यसाथ पर्खनुहोस्
“ब्वाँसो आयो! ब्वाँसो आयो!” भनेर त्यसै कराइरहने गोठालो कालुलाई साँच्चै ब्वाँसो आउँदा कोही पनि मदत गर्न आएन। त्यसैगरि, आज पनि धेरैजसो मानिसहरूले धेरैचोटि झूटो साबित भएका खतराको घण्टी बजेको सुनेकाले यहोवाको दिन नजिकै छ भन्ने चेताउनीलाई तिनीहरू बेवास्ता गर्छन्। यति धेरै मानिसहरूले कुन खतरा सही हो र कुनलाई पछ्याउने भनी बुझ्न नसकेकाले नै परमेश्वरको परमशत्रु त्यो झूटो “ज्योतिर्मय स्वर्गदूत” शैतानले फाइदा उठाएको छ।—२ कोरिन्थी ११:१४.
केही समयदेखि यहोवाको सेवा गरिरहेकाहरूका लागि समेत यति भए पुग्छ भन्ने मनोवृत्ति डरलाग्दो हुनसक्छ। किन? प्रथम शताब्दीमा प्रेरित पत्रुसले दिएको चेताउनी विचार गर्नुहोस्।
मन निर्मल राख्नुहोस्
पत्रुसको दोस्रो पत्र प्रारम्भिक मसीहीहरूका लागि सम्झौटो थियो भने आज हाम्रोलागि पनि सम्झौटो नै हो। तिनी लेख्छन्, “हे प्रिय हो, अब यो दोस्रो पत्र तिमीहरूलाई लेख्तछु, र दुवैमा तिमीहरूका निर्मल मनलाई सम्झना गराएर म जागृत गराउँछु।” (२ पत्रुस ३:१) पत्रुसले यस्तो चासो लिनुपर्ने आधार के थियो? पत्रुस गिल्ला गर्नेहरूको उपस्थितिबारे प्रकाश पार्छन्, जसका गिल्लाले परमेश्वरका दासहरू बाँचिरहेको यस समयमा अविलम्बी हुनुपर्ने आवश्यकतालाई भित्रभित्रै खोक्रो तुल्याइरहेको छ। उपहास गर्नेहरूबाट ठगिनदेखि सावधान रहनुपर्ने समय अहिल्यै हो। यसैकारण, पत्रुस आफ्ना पाठकहरूलाई “पवित्र अगमवक्ताहरूबाट अघाड़िनै बोलिएका वचनहरू . . . सम्झन” आग्रह गर्छन्। (२ पत्रुस ३:२; प्रेरित ३:२२, २३) ती अगमवक्ताहरूले के भनेका थिए?
ईश्वरीय न्यायले दुष्टताको अन्त कसरी गऱ्यो भन्नेबारे परमेश्वरका विश्वासी सेवकहरूले निकै पटक ध्यान खिंचेका थिए। परमेश्वरले नूहको दिनमा पृथ्वीभरि सर्वत्र फैलिएको दुष्टतालाई नाश गर्न हस्तक्षेप गर्नुहुँदा जलप्रलय ल्याउनुभएको घटना पत्रुस पाठकहरूलाई स्मरण गराउँछन्। त्यो भयावह जलप्रलयले त्यतिखेरको संसारलाई झन्डै पूर्णतया खत्तम पाऱ्यो। तर परमेश्वरले नूह र उनका परिवारलगायत “हरेक जातका” जीवित प्राणीहरूलाई एउटा जहाजमा जोगाउनुभयो। विश्वभरिका दन्त्यकथाहरूले पनि बाइबलको यो विवरणको प्रमाण पेश गरेका छन्।a—उत्पत्ति ६:१९; २ पत्रुस ३:५, ६.
यस ईश्वरीय हस्तक्षेपलाई केही मानिसहरूले “जानीबुझीकन पनि बिर्से।” अरू चाहिं त्यतिखेरका गिल्ला गर्नेहरूले गर्दा यति गरे पुग्छ भन्ने मनोवृत्तिमा फस्न पुगे। अतः यहोवाले हाम्रालागि पहिले गर्नुभएका कुराहरू कहिल्यै बिर्सनु हुँदैन। पत्रुस हामीलाई यसो भन्छन्: “अहिलेको आकाशहरू र पृथ्वीचाहिं त्यही वचनले, भक्तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्टयाई आगोको निम्ति साँचेर राखिएका छन्।” (२ पत्रुस ३:७) हो, फेरि ईश्वरीय हस्तक्षेप हुनेछ।
परमेश्वर ढिलो हुनुहुन्न
तर अहिले हजारौं हजार वर्ष बितिसके। मानिसजातिका समस्याहरू समाधान गर्न परमेश्वरले किन यति धेरै कुर्नुभएको त? फेरि पत्रुस अर्को तथ्यतर्फ ध्यानकेन्द्रित गराउँछन्। तिनी भन्छन्: “हे प्रिय हो, यो एउटा कुरो नबिर्स, कि प्रभुमा एक दिन हजार वर्षझैं र हजार वर्ष एक दिनझैं हुन्छ।” (२ पत्रुस ३:८) समयप्रति यहोवाको दृष्टिकोण हाम्रोभन्दा भिन्न छ। अनन्तका परमेश्वरका निम्ति त आदम सृष्टि गरिएको समयदेखि अहिलेसम्म एक हप्ता पनि बितेको छैन। समयप्रति हाम्रो दृष्टिकोण जस्तोसुकै होस्, प्रत्येक हजार वर्ष र प्रत्येक दिन बित्दा यहोवाको उद्देश्य पूरा हुने बेला पनि झन् झन् नजिकिन्छ।
“दूध उम्लेला भनी पर्ख्यो तर कतिबेर लागेको” भनेजस्तै कुनै पनि घटना कहिले होला भनेर त्यसै एकोहोरिंदा उक्त घटना हुन निकै बेर लागेजस्तो देखिन्छ। तथापि, “परमेश्वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्तासाथ इच्छा गरेर” बस्ने सल्लाह पत्रुस दिन्छन्। (२ पत्रुस ३:१२) सन्निकट ईश्वरीय हस्तक्षेपप्रति सजग रहने मानसिक झुकाउ हामी कसरी विकास गर्नसक्छौं?
कुराभन्दा काम प्रभावकारी हुन्छ
पत्रुस अब कुराभन्दा काम महत्त्वपूर्ण छ भनेर जोड दिन्छन्। तिनी “पवित्र जीवन” तथा “भक्ति”-बारे उल्लेख गर्छन्। (२ पत्रुस ३:११) यिनमा के समावेश छन्?
परमेश्वरका साँचो सेवकले उहाँलाई मन पर्ने ढंगमा काम गर्छ। यस्तो साँचो उपासकको विश्वास उसको व्यवहारबाट देखिन्छ। यसैबाट ऊ परमेश्वर र उहाँका प्रतिज्ञाहरूमा विश्वास गर्छु भनी टोपल्नेहरूभन्दा एकदम फरक देखिन्छ। यहोवाका साक्षीहरू तिनीहरूको जनसेवाले गर्दा भिन्न देखिएका त तपाईंले पनि याद गर्नुभएकै होला। तिनीहरू बाइबलमा लेखिएका परमेश्वरका प्रतिज्ञाहरूप्रति ध्यानकेन्द्रित गराउन तपाईंहरूको घर-घरमा आउँछन्। यसका साथै मानिसहरू जहाँसुकै भेटिऊन्, तिनीहरू आफ्नो आशा र विश्वासको साक्षी दिन्छन्।
अरूलाई आफ्नो विश्वासको घोषणा गर्न व्यस्त रहने साक्षीले विश्वासलाई सबल पार्छ, सुदृढ पार्छ। आफ्नो विश्वास व्यक्त गर्दा मनमस्तिष्कमा गहिरो छाप पर्नुका साथै गहिरो आनन्द तथा सन्तुष्टि प्राप्त हुन्छ। परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्दा हामी यहोवालाई पनि खुसी तुल्याइरहेका हुन्छौं। हामीलाई थाह छ, पत्रुसका सँगी प्रेरित पावलले घोषणा गरेझैं उहाँ ‘हामीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, हामीहरूले देखाएका छौं, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।’—हिब्रू ६:१०; रोमी १०:९, १०.
बित्नै लागेको यस वर्तमान दुष्ट रीतिरिवाजमा पनि परमेश्वरको राज्यको सुसमाचार फैलाइरहन तल्लीन हुनुको परिणाम के भएको छ? स्वच्छ हृदय भएका लाखौं मानिसहरूले यहोवासित घनिष्ठ हुन, उहाँको अनुग्रह पाउन र पार्थिव प्रमोदवनमा अनन्त जीवनको प्रत्याशामा साँचो आनन्द प्राप्त गर्न सिकिरहेका छन्।
अघिबाटै थाह पाएको
तोकिएको समयमा यहोवा परमेश्वरले हस्तक्षेप गर्नुहुनेछ भनेर बाइबलबाट थाह भए तापनि पत्रुसले दिएको अर्को चेताउनी हामीले पालन गर्नु आवश्यक छ। “यी कुराहरू अघिबाटै थाह पाएका भएर होशियार रहो, नत्रता दुष्टहरूका भ्रमबाट एकातिर लागेर तिमीहरू आफ्ना दृढ़ताबाट पतित हुनेछौ।”—२ पत्रुस ३:१७.
विश्वास बलियो नभएकाहरू कोही कोही ईश्वरीय हस्तक्षेप ढिलो भएजस्तो देखिएकोले हतास हुनेथिए भनी यहोवालाई पक्कै पनि पहिल्यै थाह थियो। अभक्त मानिसहरूको प्रभावले उहाँका साँचो जनहरू भ्रष्ट हुनसक्ने थिए वा परमेश्वरको नाउँ पवित्र गर्ने समय नजिकिंदै छ भन्ने तिनीहरूको विश्वास भित्रभित्रै खोक्रो पारिरहेको हुनेथियो भनेर पनि यहोवालाई थाह थियो। यी आखिरी दिनमा आफ्नो अडान ढलपल हुनु कत्ति दुःखलाग्दो हुने थियो!
यहोवाले के गर्नुहुनेछ, त्यसबारे शंका उपशंका गर्ने समय अहिले पटक्कै होइन। (हिब्रू १२:१) तर, यहोवाले धैर्यधारण गर्नुभएकोले लाखौं व्यक्तिहरूको उद्धार सम्भव भएको, अनि यिनीहरू अन्तरराष्ट्रिय ठूलो भीडमा सहभागी हुन पाएका र आउँदै गरेको महासंकष्ट पार गर्ने समय पर्खिरहेका हुँदा यहोवाप्रति मूल्यांकन जाहेर गर्ने समय हो। (प्रकाश ७:९, १४) पत्रुस आग्रह गर्छन्: “हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। उहाँलाई अहिले र सदा सर्वदा महिमा होस्। आमिन।”—२ पत्रुस ३:१८.
“आफैलाई परमेश्वरको प्रेममा राखिछोड़”
परमेश्वरको राज्यबारे प्रचार गर्न र उपासनाको निम्ति मसीही सभाहरूमा नियमित उपस्थित हुन अनि परमेश्वरको वचन अध्ययन गर्न व्यस्त भयौं भने हाम्रै सुरक्षा हुन्छ। किनभने आजको दुष्ट रीतिरिवाजको खस्कँदो परिस्थितिप्रति ज्यादै चिन्तित हुन हामीसित फुर्सत हुँदैन। डर तथा फिक्रीले साँचो मसीहीहरूको जीवनमा आधिपत्य जमाउँदैनन्। (१ कोरिन्थी १५:५८) यहोवाको सेवा गर्न हामी जत्ति व्यस्त रहन्छौं, समय उति छिटो बित्छ।
पत्रुसकै जमानाका येशूका सौतेनी भाइ यहूदा हामीलाई यस्तो आग्रह गर्छन्: “हे प्रिय हो, तिमीहरूचाहिं तिमीहरूको अति पवित्र विश्वासमा आफ्नो उन्नति गर्दै, पवित्र आत्मामा प्रार्थना गरी, अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको आशा राखी, तिमीहरू आफैलाई परमेश्वरको प्रेममा राखिछोड़।” (यहूदा २०, २१) निरन्तर प्रार्थना गरिरहँदा विकास हुने सकारात्मक मनोवृत्तिको महत्त्वलाई ध्यान दिनुहोस्। (१ थिस्सलोनिकी ५:१७) त्यसपछि यहूदा अझै यसो भन्छन्: “दुविधामा हुनेहरूलाई दया गर। औ कसै कसैलाई आगोबाट गाँजेर बचाओ, र कसै कसैलाई ता डर राखेर दया गर। शरीरबाट कलंकित भएका वस्त्रलाई पनि घृणा गर।” (यहूदा २२, २३) यी कष्टप्रद समयमा एकअर्कालाई सुदृढ पार्नु अत्यावश्यक छ! अनि यो लम्ब्याइएको “उद्धारको दिन[लाई]” आज यस अनैतिक भ्रष्ट संसारमा व्याप्त “लुच्च्याइँमा” लाग्ने बहाना बनाउने प्रलोभनमा नफस्नु पनि त्यत्तिकै जरुरी छ।—यहूदा ४; २ कोरिन्थी ६:१, २.
पत्रुस, पावल र यहूदाको मायालु सल्लाह पालन गरेर अनि परमेश्वरको सेवामा व्यस्त तथा सक्रिय भएर यहोवाले हस्तक्षेप गर्नुहुने समय तपाईं धैर्यसाथ पर्खन सक्नुहुन्छ। तर के तपाईं पर्खनुहुनेछ?
सृष्टिकर्ताले प्रतिज्ञा गर्नुभएको अनन्त जीवनको आशाप्रति तपाईंको विश्वासलाई बलियो पार्ने मदत लिन स्थानीय यहोवाका साक्षीहरूसित सम्पर्क राख्न नहिचकिचाउनुहोस्। फेरि कहिल्यै नदोहरिने र आउँदै गरेको महासंकष्टमा समाप्त हुने यस विश्वव्यापी साक्षी कार्यमा भाग लिन योग्यको हुन के के आवश्यक छ, सिक्नुहोस्। (मर्कूस १३:१०) अनि त्यसपछि तपाईंसित पनि यहोवाले प्रतिज्ञा गर्नुभएको त्यस नयाँ धार्मिक संसारमा जीवन बिताउने प्रत्याशा हुनेछ। (२ पत्रुस ३:१३) तिनका सम्झौटाहरू पालन गर्नुहोस्! धैर्यसाथ पर्खनुहोस्! व्यस्त हुनुहोस्!
[फुटनोट]
a कृपया, वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित बाइबल—परमेश्वरको वचन या मानिसको? (अंग्रेजी) पृष्ठ ११६ हेर्नुहोस्।
[पृष्ठ ७-मा भएको चित्र]
प्रमोदवनसम्बन्धी परमेश्वरको प्रतिज्ञाबारे अहिल्यै सिक्नुहोस्
[पृष्ठ ५-मा भएको चित्रको स्रोत]
ब्वाँसो: Animals/Jim Harter/Dover Publications, Inc.; गोठालो केटो: Children: A Pictorial Archive from Nineteenth-Century Sources/Grafton/Dover Publications, Inc.