परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्न
“हे परमप्रभु, कहिलेसम्म तपाईं मेरो दोहाई सुन्नुहुन्न?” यी शब्दहरू सा.यु.पू. सातौं शताब्दीका हिब्रू अगमवक्ता हबकूकको हो। तर उक्त कुरा के तपाईंलाई कता कता सुनेजस्तो लाग्यो? आफूलाई मन लागेको कुरा तुरुन्तै वा सकेसम्म चाँडो पाउन खोज्नु मानव स्वभाव नै हो। सबै कुरा भन्नेबित्तिकै चाहिने हाम्रो यस युगमा त झनै सत्य साबित भएको छ।—हबकूक १:२.
परमेश्वरले आफ्ना प्रतिज्ञाहरू चाँडै पूरा गर्नुपर्ने थियो भन्ने व्यक्तिहरू प्रथम शताब्दीमा पनि थिए। तिनीहरू यति अधीर भएका थिए कि तिनीहरूले परमेश्वर ढिलो वा बिस्तार हुनुहुन्छ भन्ठान्थे। त्यसैकारण, प्रेरित पत्रुसले समयको सन्दर्भमा हाम्रो दृष्टिकोण परमेश्वरको भन्दा एकदमै भिन्न छ भनी सम्झाउनुपऱ्यो। पत्रुसले यसरी लेखे: “हे प्रिय हो, यो एउटा कुरो नबिर्स, कि प्रभुमा एक दिन हजार वर्षझैं र हजार वर्ष एक दिनझैं हुन्छ।”—२ पत्रुस ३:८.
उक्त पदअनुसार हिसाब गर्ने हो भने, ८० वर्षको मानिस जम्मा दुई घण्टा बाँचेको हुन्छ र सम्पूर्ण मानिसजातिको इतिहास जम्मा छ दिनको मात्र हुन्छ। यस दृष्टिकोणबाट कामकुरालाई हेर्दा परमेश्वरले हामीसित गर्नुहुने व्यवहार बुझ्न सजिलो हुन्छ।
परमेश्वर अवश्य समयको परवाह गर्नुहुन्छ। यसको विपरीत उहाँ अत्यन्तै समयनिष्ठ हुनुहुन्छ। (प्रेरित १:७) त्यसैकारण, पत्रुस अझ यसो भन्छन्: “कसै कसैले सम्झेझैं आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभुले तिमीहरूतर्फ धीरज देखाउनुभएको छ।” (२ पत्रुस ३:९) मानिसहरूले जस्तो समय सकिनै लागेको र हतारहतार गर्नुपर्ने दबाब उहाँ कहिल्यै महसुस गर्नुहुन्न। “अनन्तका राजा[को]” हैसियतमा उहाँले सबै कुरा आश्चर्यजनक ढंगमा केलाउन सक्नुहुन्छ र कुन समयमा आफ्नो कारबाही थालेमा सबैभन्दा बढी मानिसहरूले लाभ उठाउनेछन्, त्यो निर्णय गर्न सक्नुहुन्छ।—१ तिमोथी १:१७.
परमेश्वरले ढिलो गर्नुभएजस्तो देखिनुको कारण बताएपछि पत्रुसले यस्तो चेताउनी दिए: “प्रभुको दिन चोर जस्तैगरी आउनेछ।” त्यसो भन्नुको अर्थ त्यो दिन मानिसहरूले नचिताएको समयमा आउनेछ भनेको हो। त्यसपछिको पदमा पत्रुसले विशेष गरी परमेश्वरले प्रतिज्ञा गर्नुभएको “नयाँ स्वर्ग र नयाँ पृथ्वी[मा]” प्रवेश गर्नसक्ने “पवित्र जीवन र भक्ति[का]” जीवन बिताउनेहरूको निम्ति अद्भुत आशा औंल्याए।—२ पत्रुस ३:१०-१३.
त्यसकारण परमेश्वरको न्यायको दिन अहिलेसम्म नआएकोमा हामी झन् बढी कृतज्ञ हुनुपर्छ। उहाँको धीरजको कारण हामीले उहाँको उद्देश्य जान्ने मौका पाउनुका साथै उहाँले प्रतिज्ञा गर्नुभएको आशिष् पाउन आफ्नो जीवनमा छाँटकाँट गर्ने मौका पाएका छौं। के हामीले पत्रुलले तर्क गरेझैं “प्रभुको धीरजनै मुक्ति हो” भन्ने विचारधारा राख्नुपर्दैन र? (२ पत्रुस ३:१५) तथापि, परमेश्वरको धीरजको अर्को पक्ष पनि छ।
अधर्म अहिलेसम्म पूरा भएको छैन
परमेश्वरले विगतमा मानिसजातिसित गर्नुभएको व्यवहार हेऱ्यौं भने, सुध्रने पटक्कै छाँटकाँट नदेखेपछि मात्र न्यायदण्ड दिनुभएको पाउँछौं। उदाहरणका लागि, कनानीहरूमाथि न्याय गर्नुभन्दा धेरै अघि उहाँले अब्राहामलाई तिनीहरूको पाप औंल्याइ सक्नुभएको थियो। तर त्यतिबेला उहाँको न्याय गर्ने समय भएको थिएन। किन? बाइबल यसो भन्छ, “किनकि एमोरीहरूको [कनानीहरू] अधर्म अहिलेसम्म पूरा भएको [थिएन],” वा नक्स संस्करणले भनेझैं: “एमोरीहरूको दुष्टता चरमसीमामा पुगेको थिएन।”—उत्पत्ति १५:१६.a
तथापि, झन्डै ४०० वर्षपछि परमेश्वरले न्याय गर्नुभयो र अब्राहामको वंश अर्थात् इस्राएलीहरूले त्यस राष्ट्र आफ्नो हातमा लिए। राहाब तथा गिबोनीहरूजस्ता केही कनानीहरू, तिनीहरूको मनोवृत्ति र कार्यको कारण नाश हुनबाट बचेका थिए तर अधिकांश मानिसहरू अशुद्धताको चरमसीमामा पुगिसकेका थिए। यसको प्रमाण वर्तमान समयमा गरिएका पुरातात्त्विक उत्खननहरूमा पाइन्छ। तिनीहरू लिंग उपासना, मन्दिरमा वेश्यावृत्ति र केटाकेटीको बलि चढाउनेजस्ता कार्यहरूमा संलग्न थिए। हेली बाइबल ह्याण्डबूक यसरी उल्लेख गर्छ: “कनानी शहरका भग्नावशेष खनेर हेर्ने उत्खननवेत्ताहरू परमेश्वरले पहिल्यै ती शहरहरूको नाश किन नगर्नुभएको होला भनेर छक्क पर्छन्।” अन्तमा कनानीहरूको ‘अधर्म पूरा भएको थियो’ अर्थात् दुष्टता “चरमसीमामा” पुगेको थियो। कसैले पनि परमेश्वर अन्यायी हुनुभयो भनी दोष लगाउन सक्दैनथ्यो किनभने उहाँले त्यस राष्ट्रलाई शुद्ध हुने मौका दिनुभयो र असल मनोवृत्ति देखाउने कसै कसैलाई बचाउनुसमेत भयो।
नूहको समयको घटना पनि त्यस्तै छ। जलप्रलयअघिका मानिसहरू खराब हुँदाहुँदै पनि कृपालु परमेश्वरले थप १२० वर्ष मौका दिनुभयो। त्यतिबेला नूह “धर्मका प्रचारक” भए। (२ पत्रुस २:५) समय बित्दै जाँदा तिनीहरूको पाप झन् चुलिंदै गयो। “परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो।” (उत्पत्ति ६:३, १२) तिनीहरूको ‘अधर्म पूरा भएको’ थियो। समयको अन्तरालमा तिनीहरूको गलत झुकाउ चरमसीमामा पुगेको थियो। परमेश्वरले कारबाही गर्नु पूर्णतया सही थियो। परमेश्वरको दृष्टिमा जम्मा आठ जना व्यक्ति धर्मी साबित भए र उहाँले तिनीहरूलाई बचाउनुभयो।
परमेश्वरले इस्राएलीहरूसित पनि त्यस्तै व्यवहार गर्नुभयो। तिनीहरू अविश्वासी तथा भ्रष्ट भए तापनि परमेश्वर सयौं वर्षसम्म तिनीहरूसित धीरजी हुनुभयो। अभिलेखले यसो भन्छ: “आफ्नो प्रजा[माथि] . . . दया गर्नुभएको हुनाले . . . परमेश्वरले तिनीहरूलाई दूतहरूद्वारा घरिघरि चेताउनी दिनुभएको थियो। तर परमप्रभुको क्रोध तिनीहरूमाथि नपरुञ्जेल तिनीहरूले उहाँको दूतहरूलाई हँसी-ठट्टा गर्न, उहाँको वचनहरूको निन्दा गर्न र उहाँका अगमवक्ताहरूका गिल्ला गर्न छोडेनन्।” (२ इतिहास ३६:१५, १६) तिनीहरू सुध्रन नसक्ने हदसम्म पुगिसकेका थिए। यर्मिया र अरू कोही कोही मात्र बचे। परमेश्वरले तिनीहरूमाथि अन्ततः न्यायदण्ड सुनाउनु पूर्णतया जायज थियो।
परमेश्वरले न्याय गर्ने समय आइपुग्यो
यी उदाहरणहरूबाट परमेश्वरले यस दुष्ट रीतिरिवाजको नाश गर्न समय उपयुक्त नभएसम्म मात्र पर्खनुहुन्छ भनी थाह पाउनसक्छौं। यो परमेश्वरको लाक्षणिक न्यायकर्तालाई दिइएको आज्ञामा उल्लेख गरिएको छ: “‘तिम्रो लाग्ने हँसिया पठाऊ, र पृथ्वीका अंगूरका झुप्पाहरू जम्मा गर, किनकि त्यसका अंगूरहरू पूरै पाकिसकेका छन्।’ औ ती दूतले तिनको हँसिया पृथ्वीमा फाले, र पृथ्वीको दाखको फसल जम्मा गरे, र त्यसलाई दाखमद्यको कोल, अर्थात् परमेश्वरको क्रोधको ठूलो कोलमा फ्याँकिदिए।” याद गर्नुहोस्, मानिसजातिको पाप “पाकिसकेको” थियो र तिनीहरू सुधार्न नसक्ने हदसम्म पुगिसकेका थिए। परमेश्वरले न्यायदण्ड दिनुहुँदा उहाँको कार्य पक्कै पनि जायज ठहरिने थियो।—प्रकाश १४:१८, १९.
माथि उल्लिखित कुराहरू विचार गर्दा यस संसारलाई परमेश्वरले न्याय गर्नुहुने दिन नजिक भएको स्पष्ट हुन्छ किनभने पृथ्वीको अवस्था परमेश्वरले पहिले पहिले न्याय गर्नुअघिको जस्तै भएको छ। जलप्रलयअघि नूहको समयमा झैं सबैतिर हिंसाले भरिएको छ। उत्पत्ति ६:५ मा वर्णन गरेजस्तै “[मानिसहरूको] हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको” छ। परमेश्वरले कनानीहरूलाई सजाय दिनुपरेको गम्भीर पापहरूसमेत आज सामान्य भइसकेका छन्।
विशेष गरी, पहिलो विश्वयुद्धपछि मानिसजातिले डरलाग्दो परिवर्तनहरू अनुभव गर्नुपरेको छ। पृथ्वी लाखौं मानिसहरूको रगतले रक्ताम्य भएजस्तो देखिन्छ। युद्ध, जातिय संहार, आंतकवाद, अपराध र अधर्म संसारभरि व्याप्त भएको छ। अनिकाल, रोगबिमार र अनैतिकतामा संसार चुर्लुम्म डुबेको छ। यी सबै कुराहरूले हामी यस दुष्ट रीतिरिवाजको अन्तमा बाँचिरहेका छौं भन्ने प्रमाण दिन्छ। यसबारे येशूले यसो भन्नुभयो: “यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइजानेछ।” (मत्ती २४:३४) यस संसार “अधर्मले पूरा” भएको छ। “पृथ्वीका अंगूरका झुप्पाहरू” कटनीको निम्ति पाकिसकेका छन्।
तपाईंले कदम चाल्ने समय अहिल्यै हो
न्यायको दिन नजिकिंदै जाँदा फल दुई किसिमले पाक्छ भनी प्रेरित यूहन्नालाई भनियो। एकातर्फ “जो अधर्मी छ, त्यसले अझै अधर्मनै गरिरहोस्, जो फोहरी छ, त्यो अझै फोहोरीनै भइरहोस्।” तर अर्कोतर्फ, “जो धर्मात्मा छ, त्यसले अझै धर्मनै गरिरहोस्, र जो पवित्र छ, त्यो अझै पवित्रनै भइरहोस्।” (प्रकाश २२:१०, ११) उक्त दुई कुराहरूमध्ये पछिल्लो कुरा यहोवाका साक्षीहरूले सञ्चालन गरिरहेका विश्वव्यापी शैक्षिक कार्यको सन्दर्भमा पूरा भइरहेको छ। यस कार्यको उद्देश्य मानिसहरूले अनन्त जीवन पाओस् भनेर परमेश्वरले हामीबाट चाहनुहुने कुरा सिकाउनु हो। अहिले यो क्रियाकलाप ८७,००० भन्दा बढी मण्डलीहरूको मार्फत २३३ राष्ट्रहरूमा भइरहेको छ।
परमेश्वर ढिलो गर्नुहुन्न। प्रतिज्ञा गर्नुभएअनुसारको जीवन पाओस् भनेर उहाँले मानिसहरूलाई धीरजी भई “नयाँ मानिसलाई धारण” गर्न समय दिइरहनुभएको छ। (एफिसी ४:२४) संसारको बिग्रँदो परिस्थितिको बावजूद परमेश्वरले अझै पर्खिरहनुभएको छ। यहोवाका साक्षीहरूले आफ्ना छिमेकीहरूलाई अनन्त जीवनतर्फ डोऱ्याउने ज्ञान बाँड्न यथासम्भव गरिरहेका छन्। (यूहन्ना १७:३, १७) खुसीको कुरा, वर्षेनी ३,००,००० मानिसहरूले सुन्नुका साथै बप्तिस्मा पनि लिइरहेका छन्।
अनन्त जीवनबारे विचार गर्दै ढिलो नगरी कदम चाल्ने समय अहिल्यै हो। किनभने चाँडै हामीले येशूको प्रतिज्ञा पूरा भएको देख्नेछौं: “बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिल्यै पनि मर्नेछैन।”—यूहन्ना ११:२६.
[फुटनोट]
a द सोनसेनो कुमाश-मा यस पदको पादटिप्पणीमा यसप्रकार उल्लेख गरिएको छ: “परमेश्वरले राष्ट्रको पाप पूरा नभएसम्म दण्ड दिनुहुन्न।”
[पृष्ठ ६-मा भएको चित्र]
परमेश्वरको न्यायकर्तालाई पृथ्वीको दाख पाकिसकेपछि हँसिया फ्याल्न भनिएको थियो
[पृष्ठ ७-मा भएको चित्र]
परमेश्वरको अनन्त आशिष् पाउन यहोवाका साक्षीहरूले संसारभरिका मानिसहरूलाई मदत गरिरहेका छन्