हाम्रो अनमोल विश्वासलाई थामिराखौं!
“हामीले जस्तै अनमोल विश्वास प्राप्त गर्नेहरूलाई।”—२ पत्रुस १:१.
१. येशूले चेलाहरूलाई कस्तो चेताउनी दिनुभयो, तर पत्रुसले के भनेर घमण्ड गरे?
चेलाहरू सबैले उहाँलाई त्याग्ने कुरा येशूले आफ्नो मृत्यु हुनुभन्दा अघिको साँझ बताउनुभएको थियो। तथापि, त्यतिबेला चेलाहरूमध्ये पत्रुसले घमण्ड गर्दै भने: “सबै जना तपाईंप्रति रुष्ट भए तापनि म कहिल्यै रुष्ट हुनेछैनँ।” (मत्ती २६:३३) तर वास्तविकता यसको ठीक विपरीत हुनेछ भनेर येशूलाई थाह थियो। त्यसैकारण उहाँले त्यतिखेरै पत्रुसलाई यसो भन्नुभयो: “मैले तिम्रो विश्वास नडगोस् भनेर तिम्रो निम्ति प्रार्थना गरें। औ फेरि एकपल्ट फिरेपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।”—लूका २२:३२.
२. पत्रुस अति विश्वस्त भए तापनि कुन कार्यले तिनको विश्वास कमजोर थियो भनेर देखाउँछ?
२ आफ्नो विश्वासलाई लिएर अति विश्वस्त भएका पत्रुसले त्यही रात येशूलाई इन्कार गरे। तीन पटक तिनले येशूलाई चिन्दिनँ भने! (मत्ती २६:६९-७५) तर “फिरेपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ” भनी मालिकले भन्नुभएका एक एक शब्द तिनको कानमा गुञ्जिएको हुनुपर्छ। यो सल्लाहले पत्रुसको बाँकी जीवनमा निकै असर गरेको थियो भनी बाइबलमा संरक्षित तिनका दुइ पत्रहरूबाट प्रमाणित हुन्छ।
पत्रुसले ती पत्रहरू किन लेखे
३. पत्रुसले पहिलो पत्र किन लेखे?
३ येशूको मृत्यु भएको करिब ३० वर्षपछि पत्रुसले पोन्टस, गलातिया, क्यापडोसिया, एसिया र बिथिनियामा बसेका भाइहरूलाई पहिलो पत्र लेखे। (१ पत्रुस १:१) हाल यी इलाकाहरू आधुनिक तुर्कीको उत्तरी तथा पश्चिमी क्षेत्रमा पर्छन्। निस्सन्देह, पत्रुसले सा.यु. ३३ पेन्तिकोसमा मसीही भएका यहूदीहरूलाई पनि त्यस पत्रमा सम्बोधन गरेका हुनसक्छन्। (प्रेरित २:१, ७-९) तीमध्ये धेरैजसो त विरोधीहरूले दिएका भीषण सतावटको सामना गरिरहेका अन्यजातिका भाइहरू थिए। (१ पत्रुस १:६, ७; २:१२, १९, २०; ३:१३-१७; ४:१२-१४) त्यसैकारण, पत्रुसले ती भाइहरूलाई प्रोत्साहन दिन यी पत्रहरू लेखेका हुन्। तिनको उद्देश्य ती भाइहरूलाई “[आ-आफ्नो] विश्वासको फल, अर्थात् [आ-आफ्नो] आत्माको मुक्ति” प्राप्त गर्न मदत गर्नु थियो। तसर्थ, तिनले अन्तमा यस्तो आग्रह गरे: “तिमीहरू आफ्नो विश्वासमा दह्रो भएर . . . [शैतानको] विरोध गर।”—१ पत्रुस १:९; ५:८-१०.
४. पत्रुसले दोस्रो पत्र किन लेखे?
४ पछि यी नै मसीहीहरूलाई पत्रुसले दोस्रो पत्र लेखे। (२ पत्रुस ३:१) किन? किनकि पहिलेको भन्दा अझ ठूलो खतरा त्यहाँ आइपरेको थियो। अनैतिक व्यक्तिहरूले कुनै कुनै विश्वासीहरूलाई आफ्नो अपवित्र आचरणहरूको प्रभावमा पारेर भर्माउन खोजिरहेका थिए! (२ पत्रुस २:१-३) यसबाहेक, पत्रुसले गिल्ला गर्नेहरूबारे पनि चेताउनी दिए। तिनले आफ्नो पहिलो पत्रमा “सबै कुराको अन्त नजीकै आएको छ,” भनेर लेखेका थिए। कसैकसैले यही कुरा सुनेर नाक खुम्च्याएको हुनुपर्छ। (१ पत्रुस ४:७; २ पत्रुस ३:३, ४) आउनुहोस्, हामी पत्रुसको दोस्रो पत्र जाँचौं र यसले भाइहरूलाई विश्वासमा स्थिर रहन कसरी मदत गऱ्यो, बुझौं। यस पहिलो लेखमा हामी २ पत्रुस अध्याय १ छलफल गर्नेछौं।
अध्याय १ को उद्देश्य
५. समस्याहरू छलफल गर्नुअघि पत्रुस आफ्ना पाठकहरूलाई कसरी तयार पार्छन्?
५ पत्रुस तुरुन्तै समस्याहरूबारे उल्लेख गर्दैनन्। बरु, पत्रको सुरुमै मसीही भएपछि पाएको कुराप्रति पाठकहरूको मूल्यांकन बढाउँदै पछि मात्र यी समस्याहरू बताउँछन्। तिनी उनीहरूलाई परमेश्वरका अद्भुत प्रतिज्ञाहरू र बाइबलका भविष्यवाणीहरूको विश्वसनीयताबारे स्मरण गराउँछन्। अनि त्यसका लागि ख्रीष्टलाई राज्य शक्तिमा आउनुहुँदै गरेको व्यक्तिगत दर्शन अर्थात् ख्रीष्टको रूप परिवर्तनबारे बताउँछन्।—मत्ती १७:१-८; २ पत्रुस १:३, ४, ११, १६-२१.
६, ७. (क) पत्रुसको पत्रको परिचयबाट हामी कस्तो पाठ सिक्नसक्छौं? (ख) सल्लाह दिंदा कहिलेकाहीं कुन व्यक्तिगत कुरा स्वीकारेमा लाभकारी हुनसक्छ?
६ पत्रुसको परिचयबाट हामी के सिक्नसक्छौं? हामी सबैले बहुमूल्य मानेको परमेश्वरको राज्यका महान् प्रत्याशाहरूबारे दोऱ्याएर सल्लाह दिंदा त्यो सल्लाह सजिलै स्वीकार्न सकिन्छ, होइन र? अनि व्यक्तिगत अनुभव प्रयोग गर्नेबारेमा नि? शायद पत्रुसले ख्रीष्टलाई राज्य महिमामा आउनुहुँदै गरेको दर्शनबारे येशूको मृत्युपश्चात् बारम्बार बताइरहे।—मत्ती १७:९.
७ पत्रुसले दोस्रो पत्र लेखुञ्जेल मत्तीको सुसमाचार र प्रेरित पावलले गलातीहरूलाई लेखेको पत्र पक्कै पनि व्यापक वितरित भइसकेको हुनुपर्छ। अतः त्यतिबेलाका मानिसहरूले पत्रुसका मानव कमजोरी र विश्वासबारे राम्ररी थाह पाइसकेको हुनुपर्छ। (मत्ती १६:२१-२३; गलाती २:११-१४) तथापि, यसको बावजूद तिनले निर्धक्क भई आफ्नो विचार व्यक्त गर्नसके। त्यसैकारण, आफ्नो गल्तीप्रति संवेदनशील हुनेहरूलाई तिनको पत्र पढेर निकै घत पऱ्यो। त्यसोभए, समस्यामा परेकाहरूलाई मदत गर्दा हामी पनि गल्ती गर्छौं भनेर स्वीकार्नु के प्रभावकारी नहोला र?—रोमी ३:२३; गलाती ६:१.
प्रोत्साहनजनक अभिवादन
८. पत्रुसले सम्भवतः कुन अर्थमा “विश्वास” शब्दको प्रयोग गरेका हुनसक्छन्?
८ अब, पत्रुसको अभिवादनमाथि गौर गर्नुहोस्। तिनी सुरुमै आफ्ना पाठकहरूलाई “हामीले जस्तै अनमोल विश्वास प्राप्त गर्नेहरूलाई” भन्ने सम्बोधन गर्दै विश्वासबारे उल्लेख गर्छन्। (२ पत्रुस १:१) यहाँ “विश्वास” भनी सम्बोधन गरिएको अभिव्यक्तिको अर्थ शायद “दृढ आस्था” हुनसक्छ र यसलाई धर्मशास्त्रमा कहिलेकाहीं “सत्य” पनि भनिएको छ। सम्भवतः यो मसीही विश्वास वा शिक्षाको गुणस्तर हुनुपर्छ। (गलाती ५:७; २ पत्रुस २:२; २ यूहन्ना १) “विश्वास” शब्दलाई सामान्यतया मानिस वा वस्तुमाथि राखिने भरोसा वा विश्वस्तताभन्दा पनि माथि उल्लेख गरिएकै अर्थमा अक्सर प्रयोग गरिएको छ।—प्रेरित ६:७; २ कोरिन्थी १३:५; गलाती ६:१०; एफिसी ४:५; यहूदा ३.
९. पत्रुसको अभिवादन अन्यजातिका पाठकहरूलाई किन अति नै आत्मीय लागेको हुनुपर्छ?
९ पत्रुसको अभिवादन विशेषगरि अन्यजातिका पाठकहरूलाई अति नै आत्मीय लागेको हुनुपर्छ। यहूदीहरू अन्यजातिकाहरूसित कुनै सरोकार राख्दैनथे। तिनीहरूलाई तुच्छ ठान्थे र मसीही भइसकेका यहूदीहरूले समेत अन्यजातिहरूप्रति पूर्वाग्रह राखेका थिए। (लूका १०:२९-३७; यूहन्ना ४:९; प्रेरित १०:२८) तैपनि, जन्मजात यहूदी र त्यसमा पनि येशू ख्रीष्टका प्रेरित, पत्रुसले आफ्ना दुवै पाठक अर्थात् यहूदी तथा अन्यजातिहरूको समान विश्वास छ र तिनीसँगसँगै ती दुवैले समान विशेषाधिकारको आनन्द उठाएका छन् भने।
१०. पत्रुसको अभिवादनबाट हामी कस्तो पाठ सिक्नसक्छौं?
१० पत्रुसको अभिवादनले आज हामीलाई कत्ति राम्रो पाठ सिकाउँछ, विचार गर्नुहोस्। परमेश्वर पक्षपाती हुनुहुन्न; उहाँले कुनै एउटा खास जाति वा राष्ट्रलाई मात्र अनुमोदन गर्नुभएको छैन। (प्रेरित १०:३४, ३५; ११:१, १७; १५:३-९) स्वयं येशूले सिकाउनु भएझैं सबै मसीहीहरू भाइभाइ हुन् र हामीमध्ये कसैले पनि म ठूलो हुँ भन्ने भावना राख्नु हुँदैन। यसबाहेक, पत्रुसको अभिवादनले हाम्रो भ्रातृत्व वास्तवमा विश्वव्यापी हो र पत्रुसलगायत तिनका सँगी प्रेरितहरूसित भएको विश्वासमाथि हाम्रो ‘समान विशेषाधिकार’ छ भनेर जोड दिन्छ।—मत्ती २३:८; १ पत्रुस ५:९.
ज्ञान तथा परमेश्वरका प्रतिज्ञाहरू
११. अभिवादनपछि पत्रुस के कस्ता अत्यावश्यक कुराहरूमा जोड दिन्छन्?
११ अभिवादनपछि पत्रुस लेख्छन्: “अनुग्रह र शान्ति तिमीहरूमा वृद्धि हुँदैजाओस्।” तर अनुग्रह र शान्ति हामीहरूमा कसरी बढ्दै जान्छ? “परमेश्वर र येशू हाम्रा प्रभुको ज्ञान[ले]” गर्दा पत्रुस जवाफ दिन्छन्। त्यसपछि तिनी अझै यसो भन्छन्: “उहाँको ईश्वरीय शक्तिले जीवन र भक्तिसँग सम्बन्ध राख्ने . . . यी सबै कुरा मञ्जूर गर्नुभएको छ।” तर यी अत्यावश्यक कुराहरू हामी कसरी पाउँछौं? “हामीलाई उहाँको आफ्नै महिमा र पुण्यले बोलाउने, उहाँको ज्ञानद्वारा।” यसरी पत्रुस परमेश्वर र उहाँको पुत्रबारे सही ज्ञान लिनु अत्यावश्यक छ भनेर दुइ पटक जोड दिन्छन्।—२ पत्रुस १:२, ३; यूहन्ना १७:३.
१२. (क) सही ज्ञानको महत्त्वमाथि पत्रुस किन जोड दिन्छन्? (ख) परमेश्वरका प्रतिज्ञाहरूको आनन्द उठाउनअघि हामीले के गरेकै हुनुपर्छ?
१२ पत्रुसले अध्याय २ मा सतर्क रहनू भनेर बताएका “झूटा शिक्षकहरू[ले]” मसीहीहरूलाई छल्न “बनावटी कुराहरू” प्रयोग गर्छन्। यसप्रकार, अनैतिकताबाट छुटाएर ल्याइसकेका मसीहीहरूलाई बहकाएर फेरि त्यसैमा फसाउने कोसिस ती झूटा शिक्षकहरू गर्छन्। “प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिन्ने ज्ञानद्वारा” बचाइएकाहरू पछि फेरि यस्ता छलकपटको पासोमा फस्छन् भने तिनीहरूको अवस्था विध्वंशकारी हुन्छ। (२ पत्रुस २:१-३, २०) स्पष्टतः यो समस्याबारे पछि छलफल गर्ने विचार गर्दै परमेश्वरसामु स्वच्छ अन्तस्करण लिएर खडा हुन सही ज्ञान आवश्यक छ भनेर पत्रुस आफ्नो पत्रको सुरुमै जोड दिन्छन्। परमेश्वरले “ईश्वरीय स्वभावको सम्भागी होओ” भनी “हामीलाई उहाँको अनमोल र ज्यादै ठूलो प्रतिज्ञाहरू मन्जूर गर्नुभएको” छ भनेर पनि पत्रुस भन्छन्। तर हाम्रो विश्वासलाई पूर्ण गराउने यी प्रतिज्ञाहरूको आनन्द उठाउन पत्रुसले भनेझैं पहिले हामी ‘यस संसारको कामुक अभिलाषाबाट’ उम्किसकेको हुनुपर्छ।—२ पत्रुस १:४.
१३. अभिषिक्त मसीहीहरू तथा “अरू भेडा” दुवैले कुन कुरालाई दृढतासाथ पक्रिराखेका छन्?
१३ परमेश्वरका प्रतिज्ञाहरू तपाईंलाई कस्तो लाग्छ? अभिषिक्त मसीहीहरूलाई लागेजस्तै? पूर्ण-समय सेवकाईमा ७५ वर्षभन्दा धेरै समय बिताइसकेका वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका तत्कालीन अध्यक्ष फेड्रिक फ्रान्जले ख्रीष्टसित राज्य गर्ने आशा राख्नेहरूको अनुभूतिबारे १९९१ तिर संक्षेपमा यसो भने: “हामीहरू अहिलेसम्म दृढताका साथ लागिरहेका छौं र परमेश्वरले उहाँका ‘अनमोल र ज्यादै ठूला प्रतिज्ञाहरू’ पूरा नगर्नु भएसम्म हामी दृढताका साथ लागिरहनेछौं।” भाइ फ्रान्ज, स्वर्गीय पुनरुत्थानबारे परमेश्वरले गर्नुभएको प्रतिज्ञामा विश्वस्त थिए र ९९ वर्षको उमेरमा देहान्त नभएसम्म पनि तिनको त्यो विश्वास दृढ थियो। (१ कोरिन्थी १५:४२-४४; फिलिप्पी ३:१३, १४; २ तिमोथी २:१०-१२) त्यसैगरि, पार्थिव प्रमोदवनमा सधैंभरि आनन्दसित बस्न पाउने परमेश्वरको प्रतिज्ञामा लाखौंको विश्वास बलियो छ र त्यही प्रतिज्ञामा तिनीहरूले तनमन लगाएका छन्। के तपाईं पनि तिनीहरूमध्ये हुनुहुन्छ?—लूका २३:४३; २ पत्रुस ३:१३; प्रकाश २१:३, ४.
परमेश्वरको प्रतिज्ञाको प्रत्युत्तर
१४. विश्वासमा थप्नुपर्ने गुणहरूको क्रममा पत्रुस सद्गुणलाई सबैभन्दा पहिला किन राख्छन्?
१४ परमेश्वरले गर्नुभएका प्रतिज्ञाहरूका लागि के हामी कृतज्ञ छौं? छौं भने, त्यो प्रकट गर्नुपर्छ भनेर पत्रुस आग्रह गर्छन्। “यही कारणले” (किनकि परमेश्वरले हामीलाई अनमोल प्रतिज्ञाहरू गर्नुभएकोले) हामी विश्वासमा सक्रिय हुन अथक प्रयत्न गर्नुपर्छ। विश्वासमा हुँदैमा वा बाइबलीय सत्यसित परिचित हुँदैमा हामी सन्तुष्ट हुनु हुँदैन। त्यतिले मात्र पुग्दैन! शायद पत्रुसको समयमा मण्डलीका कोही कोही विश्वासबारे निकै कुरा गर्थे होलान् तर तिनीहरू अनैतिक आचरणमा फसे। तिनीहरूको बानीबेहोरा सद्गुणी हुनुपर्थ्यो। त्यसैकारण, पत्रुस यस्तो आग्रह गर्छन्: “तिमीहरूका विश्वासमा सद्गुण . . . थप।”—२ पत्रुस १:५; याकूब २:१४-१७.
१५. (क) विश्वासमा थप्नुपर्ने गुणमा ज्ञानलाई किन सद्गुणपछि राखिएको छ? (ख) विश्वासमा दृढ भएर रहन हामीलाई अरू के कस्ता गुणहरूले मदत गर्छन्?
१५ सद्गुणको उल्लेख गरिसकेपछि हाम्रो विश्वासमा थप्नुपर्ने अरू छवटा गुणहरू पत्रुस मेलैसित बताउँछन्। “विश्वासमा दृढ़” रहन हामीलाई यी सबै गुणहरू चाहिन्छ। (१ कोरिन्थी १६:१३) धर्मत्यागीहरूले ‘धर्मशास्त्रलाई बंग्याएर’ तथा “छलकपटले भरिएका शिक्षाहरूलाई” प्रोत्साहन दिएको हुँदा पत्रुसले ज्ञान पनि अत्यावश्यक छ भन्दै “सद्गुणमा बुद्धि [“ज्ञान,” NW]” थप भन्छन्। तिनी अझै यसो पनि भन्छन्: “बुद्धिमा [“ज्ञानमा,” NW] संयम, संयममा धीरज, धीरजमा भक्ति, भक्तिमा भ्रातृस्नेह, भ्रातृस्नेहमा प्रेम थप।”—२ पत्रुस १:५-७; २:१२, १३; ३:१६.
१६. पत्रुसले सूचीबद्ध गरेका गुणहरू विश्वासमा थप्यौं भने के हुनेछ र थपेनौं भने के हुनेछ?
१६ यी सातै थोक हाम्रो विश्वासमा थपिए भने के हुनेछ? पत्रुस जवाफ दिन्छन्, “यी कुराहरू तिमीहरूमा प्रशस्तसँग छन् भने हाम्रा प्रभु येशू ख्रीष्ट चिन्ने [ “सही,” NW] ज्ञानमा तिनीहरूले तिमीहरूलाई बेकम्मा र निष्फल तुल्याउनेछैनन्।” (२ पत्रुस १:८) अर्कोतर्फ, पत्रुस के पनि भन्छन् भने: “यी कुराहरूमा घटी भएको मानिस चाहिं पुराना पापहरूको सफाइलाई बिर्सेर नजीकका कुराहरू मात्र देख्ने अन्धा हो।” (२ पत्रुस १:९) याद गर्नुहोस्, “तिमीहरू,” “हामी” जस्ता शब्दहरू चलाएपछि पत्रुस “मानिस” शब्द प्रयोग गर्छन्। यसरी ती कुराहरू व्यक्तिविशेषलगायत सर्वसाधारण सबैमा लागू हुन्छ भनेर पत्रुस देखाउँछन्। दुःखको कुरा, कोही कोही अन्धा, भुलक्कड र अशुद्ध भए तापनि पत्रुस दयापूर्वक यीमध्ये आफ्ना पाठकहरू पनि पर्छन् भन्ने संकेत दिंदैनन्।—२ पत्रुस २:२.
आफ्ना भाइहरूलाई स्थिर गराउँदै
१७. “यी कुरा” गर भनेर कोमलतासाथ आग्रह गर्न पत्रुसलाई कुन कुराले प्रोत्साहित गरेको हुनसक्छ?
१७ विशेषतः, नयाँ व्यक्तिहरू सजिलै बहकिन सक्छन् भन्ने कुरा जानेर पत्रुस तिनीहरूलाई कोमलतासाथ प्रोत्साहन दिन्छन्: “हे भाइ हो, तिमीहरूको बोलावट र छनौट निश्चय गर्नालाई बढ़ता प्रयत्न गर। किनकि यी कुरा गरेमा तिमीहरू कहिल्यै ठेस खानेछैनौ।” (२ पत्रुस १:१०; २:१८) आफ्नो विश्वासमा माथि उल्लिखित सात थोक थप्ने अभिषिक्त मसीहीहरूले महान् इनाम पाउनेछन्। किनकि पत्रुस यसो भन्छन्: “यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यभित्र तिमीहरूलाई प्रशस्तगरी प्रवेश मिल्नेछ।” (२ पत्रुस १:११) “अरू भेडाहरू[ले]” पनि पृथ्वीमा परमेश्वरको राज्यको अनन्तकालीन अधिकार पाउनेछन्।—यूहन्ना १०:१६; मत्ती २५:३३, ३४.
१८. आफ्ना भाइहरूलाई ‘सम्झाउन’ पत्रुस किन सधैं तत्पर थिए?
१८ आफ्ना भाइहरू यस्तै महान् इनामका हकदार होऊन् भन्ने निष्कपट इच्छा पत्रुस व्यक्त गर्छन्। तिनी लेख्छन्, “यसैकारण तिमीहरूले ती सब जान्दछौ, र तिमीहरूमा भएको सत्यमा तिमीहरू स्थिर [“पक्का,” NW] छौ, तापनि यी कुराहरू तिमीहरूलाई सम्झाउनालाई म सधैं तत्पर रहनेछु।” (२ पत्रुस १:१२) पत्रुसले प्रयोग गरेका युनानी शब्द स्टेरिजो-लाई यहाँ “पक्का छौ” भनेर अनुवाद गरिएको छ तर येशूले पत्रुसलाई दिनुभएको “तिम्रा भाइहरूलाई स्थिर गराऊ” भन्ने सल्लाहमा चाहिं यसलाई “स्थिर” भनी अनुवाद गरिएको छ। (लूका २२:३२) पत्रुसले यो शब्द चलाउनुको अर्थ, तिनले प्रभुबाट पाएको यो सशक्त ताडना बिर्सेका छैनन् भन्ने संकेत हुनुपर्छ। पत्रुस अब यसो भन्छन्: “यस डेरामा [मानव शरीर] म होउञ्जेल तिमीहरूलाई सम्झना गराउँदै तिमीहरूलाई जागृत गराउन म उचित सम्झन्छु। किनभने म जान्दछु, कि . . . मेरो यो डेरा ढल्ने बेला चाँड़ैनै आउँदैछ।”—२ पत्रुस १:१३, १४.
१९. आज हामीलाई कुन मदत चाहिन्छ?
१९ पत्रुसले कोमलतासाथ आफ्ना पाठकहरू ‘सत्यमा पक्का’ छन् भने तापनि तिनीहरूको विश्वासको जहाज डुब्न सक्नेथियो भनी तिनलाई थाह छ। (१ तिमोथी १:१९) तिनलाई आफ्नो मृत्यु नजीकै छ भन्ने थाह थियो। अतः आफ्नो शेषपछि पनि आफूलाई सम्झनसक्ने खालका सल्लाहहरू दिएर पत्रुस आफ्ना भाइहरूलाई बलियो बनाउँछन्। (२ पत्रुस १:१५; ३:१२, १३) त्यसैगरि, आज हामीलाई विश्वासमा दृढ हुन लगातार सम्झाइरहनुपर्छ। हामी जोसुकै होऔं, सच्चाइमा भएको जत्तिसुकै होस्, नियमित बाइबल पढाइ, व्यक्तिगत अध्ययन तथा मण्डलीका सभाहरूमा उपस्थित हुनुलाई हामी बेवास्ता गर्न सक्दैनौं। कोही कोही आफूलाई असाध्यै थकाइ लागेको वा सभाहरूमा प्रायः एउटै कुरा दोहरिने त हो नि अथवा भाषणहरू रोचक छैनन् भन्दै सभाहरू छल्न नानाभाँतिका बहानाहरू बनाउँछन्। तर अति विश्वस्त भयौं भने, हामीमध्ये जोसुकैको विश्वास पनि कत्ति छिटो धर्मराउनसक्छ, पत्रुसलाई थाह थियो।—मर्कूस १४:६६-७२; १ कोरिन्थी १०:१२; हिब्रू १०:२५.
हाम्रो विश्वासको ठोस आधार
२०, २१. येशूको रूप परिवर्तनले पत्रुस र त्यतिबेला तिनको पत्र पढ्ने पाठकहरूलगायत आज हाम्रो विश्वास कसरी स्थिर बनायो?
२० के हाम्रो विश्वास चतुराइसाथ कथेका मिथ्याहरूमा आधारित विश्वास हो त? ‘हैन,’ पत्रुस जबरजस्त जवाफ दिन्छन्, “किनकि हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको महाशक्ति र आगमनको समाचार दिंदा धूर्त्याइँसित अजमाएका दन्त्यकथाहरूको हामीले अनुकरण गरेनौं, तर उहाँको वैभवशाली रूप हाम्रा आँखैले देख्ने हामी साक्षी छौं।” येशू राज्य शक्तिमा आउनुभएको दर्शन पाउँदा पत्रुस, याकूब र यूहन्ना उहाँसितै थिए। पत्रुस बताउँछन्: “महाप्रतापी महिमाबाट उहाँलाई यसो भन्ने वाणी आउँदा, ‘यिनी मेरा प्रिय पुत्र हुन्, यिनमा म अति प्रसन्न छु,’ उहाँले परमेश्वर पिताबाट आदर र महिमा पाउनुभएको थियो। औ त्यो पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा स्वर्गबाट आएको त्यो वाणी हामी आफैले सुनेका थियौं।”—२ पत्रुस १:१६-१८.
२१ पत्रुस, याकूब र यूहन्नाले त्यो दर्शन पाउँदा तिनीहरूका लागि परमेश्वरको राज्य शतप्रतिशत वास्तविक भएको थियो! त्यसैकारण, पत्रुस भन्छन्: “बढ़ता पुष्टि गराउने हामीसँग अगमवाणीको वचन छ। . . . तिमीहरूले त्यसलाई ध्यान दियौ भने असल गर्नेछौ।” हो, त्यतिबेला पत्रुसका पत्र पढ्ने मसीहीहरूलगायत आज हामीले परमेश्वरको राज्यबारे गरिएका भविष्यवाणीहरूमा ध्यान दिनुपर्ने सशक्त कारण छ। हामीले कसरी ध्यान दिनु आवश्यक छ? पत्रुस जवाफ दिन्छन्, “झिसमिसे उज्यालो नहोउञ्जेल, र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्जेल अन्धकारमा बलिरहेको दियोलाईझैं।”—२ पत्रुस १:१९; दानियल ७:१३, १४; यशैया ९:६, ७.
२२. (क) हामी कुन कुराप्रति सजग हुनुपर्छ? (ख) भविष्यसूचक शब्दलाई हामीले कसरी ध्यान दिनुपर्छ?
२२ भविष्यसूचक शब्दको ज्योति नहुँदो हो त हाम्रो हृदय अन्धकार हुनेथियो। तर त्यसैमा ध्यान दिएकोले “बिहानको . . . तारा” येशू ख्रीष्ट राज्य महिमामा नउदाउञ्जेल मसीहीहरू सजग भएर रहेका छन्। (प्रकाश २२:१६) आज हामी यो भविष्यसूचक शब्दमा कसरी ध्यान दिनसक्छौं? बाइबल अध्ययन गरेर, सभाहरूका लागि तयारी गर्नुका साथै भाग लिएर अनि ‘यी कुरामा परिश्रम गर्दै र तिनीहरूमानै लागेर।’ (१ तिमोथी ४:१५) भविष्यसूचक शब्द “अन्धकारमा” (हाम्रो हृदयमा) बत्तिझैं चम्केको चाहन्छौं भने, हामीले त्यसलाई हाम्रा इच्छा, भावना, अभिप्रेरणा तथा लक्ष्यहरूमा गहिरो छाप पार्न दिनुपर्छ। हामी बाइबलको विद्यार्थी हुनु आवश्यक छ किनकि पत्रुस अध्याय १ लाई यसो भन्दै टुंग्याउँछन्: “कुनै धर्मशास्त्रको कुनै अगमवाणी कसैले खास आफ्नै अर्थले दिएको होइन, किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्वरका तर्फबाट बोल्दथिए।”—२ पत्रुस १:२०, २१.
२३. दोस्रो पत्रुसको पहिलो अध्यायले पाठकहरूलाई के को निम्ति तयार पारेको छ?
२३ आफ्नो अनमोल विश्वासलाई थामिराख्न पत्रुसले आफ्नो दोस्रो पत्रको सुरुमै हामीलाई सशक्त प्रेरणा दिए। अब हामी यसपछिका गम्भीर कुराहरू विचार गर्न तयार भएका छौं। अर्को लेखले २ पत्रुसको अध्याय २ मा भएको कुरा अर्थात् मण्डलीभित्र चालै नपाउनेगरि पसेका चुनौतीपूर्ण अनैतिक प्रभावहरूको सामना प्रेरित पत्रुसले कसरी गरे, त्यसबारे छलफल गर्नेछ।
के तपाईंलाई सम्झना छ?
◻ सही ज्ञानको महत्त्वमाथि पत्रुस किन जोड दिन्छन्?
◻ विश्वासमा थप्नुपर्ने पहिलो गुणमा सद्गुणलाई राख्नुको कारण के हुनसक्छ?
◻ आफ्ना भाइहरूलाई सम्झाउन पत्रुस किन सधैं तत्पर छन्?
◻ हाम्रो विश्वासको लागि पत्रुस कस्तो ठोस आधार दिन्छन्?
[पृष्ठ ९-मा भएको चित्र]
गल्ती नै गरे तापनि पत्रुसले विश्वास त्यागेनन्