परमेश्वरका प्रतिज्ञाहरूमाथि विश्वास गर्नुहोस्
“उहाँले [यहोवा परमेश्वरले] हामीलाई उहाँको अनमोल र ज्यादै ठूला प्रतिज्ञाहरू मञ्जूर गर्नुभएको छ।”—२ पत्रुस १:४.
१. साँचो विश्वास गर्न कुन कुराले हामीलाई मदत गर्छ?
उहाँका प्रतिज्ञाहरूमाथि हामीले विश्वास गरेको यहोवा चाहनुहुन्छ। यद्यपि, “सबैमा विश्वास छैन।” (२ थिस्सलोनिकी ३:२) विश्वास परमेश्वरको पवित्र आत्मा अथवा सक्रिय शक्तिको एउटा फल हो। (गलाती ५:२२, २३) यसर्थ, यहोवाको आत्माद्वारा डोऱ्याइएका व्यक्तिहरूले मात्र विश्वास गर्नसक्छन्।
२. प्रेरित पावल “विश्वास”-लाई कसरी व्याख्या गर्छन्?
२ तर विश्वास के हो? प्रेरित पावलले यसलाई “नदेखेको कुराको प्रमाण” भनेर सम्बोधन गर्छन्। यी नदेखेका कुराहरूको प्रमाण यति बलिया छन् कि विश्वासलाई त्यससँग दाँजिएको छ। विश्वासलाई “आशा राखेका कुराको प्रमाण” पनि भनिएको छ। किनभने यो गुण हुने कुनै पनि व्यक्तिका लागि यहोवाले गर्नुभएका सबै प्रतिज्ञाहरू यति निश्चित छन् कि तिनीहरूका लागि ती प्रतिज्ञाहरू पूरा भए सरह छन्।—हिब्रू ११:१.
विश्वास र यहोवाका प्रतिज्ञाहरू
३. विश्वास गरेमा अभिषिक्त मसीहीहरूले कुन कुरा अनुभव गर्न पाउनेछन्?
३ यहोवालाई प्रसन्न पार्न, उहाँका प्रतिज्ञाहरूमाथि विश्वास गर्नुपर्छ। लगभग ६४ सा०यु० मा लेखेको आफ्नो प्रेरित दोस्रो पत्रमा प्रेरित पत्रुसले यो कुरालाई स्पष्ट पारे। तिनका सङ्गी अभिषिक्त मसीहीहरूले विश्वास गरेमा तिनीहरूले परमेश्वरको “अनमोल र ज्यादै ठूला प्रतिज्ञाहरू” को पूर्ति देख्नेछन् भनेर तिनले औंल्याए। परिणाम स्वरूप तिनीहरू स्वर्गीय राज्यमा येशू ख्रीष्टसँग साझे हकवालाको रूपमा “ईश्वरीय स्वभावको सम्भागी” हुनेथिए। विश्वास र यहोवा परमेश्वरको मदतद्वारा तिनीहरू यस संसारका भ्रष्ट आचरणहरू र कामहरूको बन्धनबाट मुक्त भइसकेका थिए। (२ पत्रुस १:२-४) र यसो कल्पना गर्नुहोस् त! साँचो विश्वास गर्नेहरूले आज पनि त्यही अमूल्य स्वतन्त्रताको आनन्द उठाउँछन्।
४. हाम्रो विश्वासमा कुन कुन गुणहरू हामीले थप्नुपर्छ?
४ यहोवाका प्रतिज्ञाहरूमाथिको विश्वास र ईश्वर-प्रदत स्वतन्त्रताका लागि हाम्रो कृतज्ञताले अनुकरणीय बन्नका लागि सक्दोभर गर्न हामीलाई प्रेरित गर्नुपर्छ। यस सम्बन्धमा पत्रुसले यसो भने: “यही कारणले तिमीहरूले सबै किसिमका प्रयत्नले तिमीहरूका विश्वासमा सद्गुण, सद्गुणमा बुद्धि, बुद्धिमा संयम, संयममा धीरज, धीरजमा भक्ति, भक्तिमा भ्रातृस्नेह, भ्रातृस्नेहमा प्रेम थप।” (२ पत्रुस १:५-७) यसप्रकार पत्रुस हामीलाई एउटा सूची दिन्छन् जसलाई मनमा याद राख्नु हाम्रो लागि बुद्धिमानी हुनेछ। आउनुहोस् यी गुणहरूलाई राम्रोसँग नियालेर हेरौं।
विश्वासका अत्यावश्यक तत्त्वहरू
५, ६. सद्गुण के हो र त्यसलाई हामी कसरी विश्वासमा थप्न सक्छौं?
५ सद्गुण, बुद्धि, संयम, धीरज, भक्ति, भ्रातृस्नेह र प्रेमलाई एकआपसमा र हाम्रो विश्वासमा थप्नु पर्छ भनेर पत्रुसले भने। यी गुणहरूलाई हाम्रो विश्वासको अत्यावश्यक तत्त्व बनाउन हामीले कडा परिश्रम गर्नुपर्छ। उदाहरणका लागि सद्गुणलाई हामी विश्वासबाट बेग्लै प्रकट गर्दैनौं। कोशकार डब्ल्यु०इ० भाइन भन्छन् कि २ पत्रुस १:५-मा “सद्गुणलाई एउटा अत्यावश्यक गुणको रूपमा विश्वाससित जोडिएको छ।” पत्रुसले उल्लेख गरेको हरेक गुण हाम्रो विश्वासको तत्त्व हुनुपर्छ।
६ प्रथमतः हाम्रो विश्वासमा सद्गुण थप्नुपर्छ। सद्गुणी हुनुको अर्थ परमेश्वरको नजरमा जे भला छ त्यही गर्नु हो। किनभने “सद्गुण” भनेर अनुवाद गरिएको युनानी शब्दको ठाउँमा केही संस्करणहरूले “भलाइ” भन्ने शब्द चलाएका छन्। (न्यु इन्टरनेशनल भर्सन, द जेरूशलेम बाइबल; टुडेज इङ्गलिस भर्सन) सह मानवहरूको विरुद्ध खराब काम गर्न वा हानि पुऱ्याउनदेखि अलग्गै बस्न सद्गुणले हामीलाई प्रेरित गर्छ। (भजनसंग्रह ९७:१०) यस बाहेक अरूहरूको आध्यात्मिक, शारीरिक र भावनात्मक हितका लागि काम गर्न दृढ कदम चाल्न प्रेरित गर्छ।
७. हाम्रो विश्वास र सद्गुणमा किन बुद्धि थप्नुपर्छ?
७ हाम्रो विश्वास र सद्गुणमा बुद्धि थप भनेर पत्रुस किन हामीलाई आग्रह गर्छन्? कुरा के हो भने, हाम्रो विश्वासका नयाँ चुनौतीहरूको सामना गर्नुपर्दा सही र गलत छुट्ट्याउन सक्नका लागि हामीलाई बुद्धिको आवश्यकता पर्छ। (हिब्रू ५:१४) बाइबल अध्ययनद्वारा, परमेश्वरको वचनको प्रयोग गर्दा प्राप्त भएको अनुभवहरूबाट र व्यावहारिक बुद्धिलाई दैनिक जीवनमा प्रयोग गरेर हामी आफ्नो बुद्धि बढाउँछौं। फलस्वरूप हाम्रो विश्वासलाई बनाइराख्न र सतावट सहनुपर्दा पनि सद्गुणी कामहरू गरिराख्न यसले हामीलाई मदत गर्छ।—हितोपदेश २:६-८; याकूब १:५-८.
८. संयम के हो, र धीरजसँग यसको के सम्बन्ध छ?
८ विश्वासका साथ सतावटहरूको सामना गर्न सक्न हाम्रो बुद्धिमा संयम थप्नु आवश्यक छ। “संयम” का लागि प्रयोग गरिएको युनानी शब्दले आफूलाई नियन्त्रणमा राख्न सक्ने क्षमतालाई सङ्केत गर्छ। परमेश्वरको आत्माको यस फलले विचार, शब्द र आचरणलाई नियन्त्रण गर्न हामीलाई मदत गर्छ। हामी संयमी भइ रहेमा त्यसमा हामी धीरज थप्दछौं। “धीरज”-का लागि चलाइएको युनानी शब्दको अर्थ उम्कनै नसक्ने कठिनाइलाई दुःखी अनुहार लगाएर स्वीकार्नुको सट्टा दृढतासाथ विश्वासी भएर बस्नु हो। आफ्नो अगाडि राखिएको आनन्दको कारण नै येशूले शूलीको कष्ट सहन सक्नुभयो। (हिब्रू १२:२) धीरजसँग सम्बन्धित ईश्वर-प्रदत बलले हाम्रो विश्वासलाई बलियो बनाउँछ र सङ्कष्टको समयमा आनन्द मनाउन, प्रलोभनको विरोध गर्न र सतावटको समयमा सम्झौता गर्न देखि टाढा बस्न मदत गर्छ।—फिलिप्पी ४:१३.
९. (क) भक्ति के हो? (ख) हाम्रो भक्तिमा किन भ्रातृस्नेह थप्नुपर्छ? (ग) भ्रातृस्नेहमा हामी कसरी प्रेम थप्नसक्छौं?
९ हाम्रो धीरजमा हामीले भक्ति—अर्थात् यहोवाका लागि श्रद्धा, उपासना र सेवा थप्नुपर्छ। हामीले भक्तिको अभ्यास र आफ्ना मानिसहरूलाई परमेश्वरले कसरी व्यवहार गर्नुहुन्छ भनेर विचार गर्दैजाँदा हाम्रो विश्वास पनि बढ्दै जान्छ। यद्यपि, भक्ति प्रकट गर्न हामीसँग भ्रातृस्नेह हुनुपर्छ। किनभने “आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई प्रेम गर्नसक्तैन।” (१ यूहन्ना ४:२०) यहोवाका अन्य सेवकहरूप्रति साँचो स्नेह प्रकट गर्न र सधैं तिनीहरूको भलाइ खोज्न हाम्रो हृदयले हामीलाई प्रेरित गर्नुपर्छ। (याकूब २:१४-१७) तर हाम्रो भ्रातृस्नेहमा प्रेम थप भनेर किन हामीलाई भनिएको छ? स्पष्टतः आफ्ना भाइहरूलाई मात्रै होइन तर पूरै मानवजातिलाई हामीले प्रेम गर्नुपर्छ भनेर पत्रुस भन्न खोज्दैथिए। यो प्रेम विशेषगरी सुसमाचारको प्रचार गरेर र आध्यात्मिक तवरमा मानिसहरूलाई मदत गरेर देखाइन्छ।—मत्ती २४:१४; २८:१९, २०.
तुलनात्मक प्रभावहरू
१०. (क) सद्गुण, बुद्धि, संयम, धीरज, भक्ति, भ्रातृस्नेह र प्रेमलाई हाम्रो विश्वासमा थप्यौं भने हामी कसरी चल्नेछौं? (ख) मसीही हुँ भनेर दाबी गर्ने व्यक्तिमा यी गुणहरू नभएमा के हुन्छ?
१० हामीले सद्गुण, बुद्धि, संयम, धीरज, भक्ति, भ्रातृस्नेह र प्रेमलाई विश्वासमा थप्यौं भने परमेश्वरद्वारा अनुमोदित रीतिअनुसार सोच्नेछौं, बोल्नेछौं र चल्नेंछौं। यसको विपरीत, मसीही हुँ भनेर दाबी गर्ने व्यक्ति यी गुणहरू देखाउन असफल हुन्छ भने ऊ आध्यात्मिक रूपमा अन्धा हुन्छ। उसले परमेश्वरबाट आउने ‘उज्यालोतर्फ आफ्ना आँखाहरू बन्द गर्छ’ र बितेका समयमा गरेको पापहरूबाट सफा पारिएको छ भनेर पनि उसले बिर्सन्छ। (२ पत्रुस १:८-१०; २:२०-२२) हामी यसरी चुक्दै परमेश्वरका प्रतिज्ञाहरूमाथि आफ्नो विश्वास कहिल्यै नगुमाऔं।
११. निष्ठावान अभिषिक्त जनहरूबाट कुन कुराको अपेक्षा गर्नु उचित हो?
११ यहोवाका प्रतिज्ञाहरूमाथि निष्ठावान अभिषिक्त मसीहीहरू विश्वास गर्छन् र उहाँले गर्नुभएको बोलावट र चुनावलाई पक्का गर्न तिनीहरू यत्न गर्छन्। तिनीहरूको मार्गमा जस्तोसुकै बाधाहरू आए तापनि, तिनीहरूले ईश्वरीय गुणहरू प्रकट गर्नेछन् भनी हामी अपेक्षा गर्नसक्छौं। किनभने विश्वासी अभिषिक्त जनहरूले आत्मिक पुनरुत्थानद्वारा स्वर्गमा ‘येशू ख्रीष्टको अनन्त राज्यभित्र प्रशस्तगरी प्रवेश पाउछन्।’—२ पत्रुस १:११.
१२. दोस्रो पत्रुस १:१२-१५ मा भएका शब्दहरूलाई हामीले कसरी बुझ्नुपर्छ?
१२ पत्रुसले चाँडै नै आफ्नो मृत्यु हुनेछ भनी महसुस गरे र तिनले मृत्यु पश्चात अन्ततः पुनरुत्थानद्वारा स्वर्गीय जीवन प्राप्त गर्ने आशा गरे। तर आफ्नो “डेरा” मा रहुन्जेल—अर्थात् जीवित छउन्जेल—ईश्वरीय अनुमोदन प्राप्त गर्नका लागि चाहिने कुराहरू सम्झना गराएर तिनले आफ्नो सङ्गी विश्वासीहरूको विश्वासलाई बलियो पार्ने र हौसला बढाउने कोशिश गरे। तिनको मृत्यु पश्चात, पत्रुसका आत्मिकी भाइ-बहिनीहरूले तिनका ती शब्दहरूलाई याद गरेर आफ्नो विश्वासलाई बलियो बनाउन सक्थे।—२ पत्रुस १:१२-१५.
भविष्यसूचक वचनमाथि विश्वास
१३. ख्रीष्टको आगमनको सम्बन्धमा विश्वासलाई बलियो बनाउने कुन चाहिं गवाही परमेश्वरले दिनुभयो?
१३ “शक्ति र ठूलो महिमासित” येशूको आगमनको निश्चितताको सम्बन्धमा स्वयं परमेश्वरले, विश्वास बलियो बनाउने गवाही दिनुभयो। (मत्ती २४:३०; २ पत्रुस १:१६-१८) प्रमाणको अभावले गर्दा गैर मसीही पुजाहारीहरू आफ्ना देवताहरूको विषयमा झूटा दन्त्यकथाहरू भन्ने गर्थे तर पत्रुस, याकूब र यूहन्ना भने येशूको रूप परिवर्तन हुँदा प्रकट भएको वैभवका प्रत्यक्षदर्शीहरू थिए। (मत्ती १७: १-५) उहाँ महिमित भएको र परमेश्वरको आफ्नै स्वरले येशूलाई प्रिय पुत्र हुन् भनी मानिलिएको तिनीहरूले देखे र सुने। त्यो स्वीकृति र ख्रीष्टलाई त्यतिबेला दिइएको वैभवशाली रूप, उहाँलाई प्रदान गरिएको आदर र महिमा थियो। यो ईश्वरीय प्रकाशको कारण पत्रुसले त्यस ठाउँ, सम्भवतः हर्मोन डाँडोको टुप्पोलाई “पवित्र पर्वत” भनेर सम्बोधन गरे।—प्रस्थान ३:४, ५ तुलना गर्नुहोस्।
१४. येशूको रूप परिवर्तनले हाम्रो विश्वासलाई कस्तो प्रभाव पार्नुपर्छ?
१४ येशूको रूप परिवर्तनले हाम्रो विश्वासमाथि कस्तो प्रभाव पार्नुपर्छ? पत्रुसले भने: “औ बढ्ता पुष्टि गराउने हामीसँग अगमवाणीको वचन छ। औ झिसमिसे उज्यालो नहोउञ्जेल, र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्जेल अन्धकारमा बलिरहेको दियोलाईझैं गरी तिमीहरूले त्यसलाई ध्यान दियौ भने असल गर्नेछौ।” (२ पत्रुस १:१९) स्पष्टतः “अगमवाणीको वचन”-मा मसीहबारे हिब्रू शास्त्रमा गरिएका भविष्यवाणीहरू मात्र नभइ “शक्ति र ठूलो महिमासित” आउनेछु भन्ने येशूको भनाइ पनि सम्मिलित थियो। कसरी येशूको रूप परिवर्तनले अगमवाणीको वचनलाई “बढ्ता पुष्टि” गऱ्यो? त्यस घटनाले राज्य शक्तिमा ख्रीष्टको वैभवशाली आगमनबारे गरिएको अगमवाणीको वचनलाई अझ बल दियो।
१५. भविष्यसूचक वचनहरूमाथि ध्यान दिने कुरामा के के सम्मिलित छ?
१५ हाम्रो विश्वासलाई बलियो बनाउन हामीले भविष्यसूचक वचनलाई ध्यान दिनुपर्छ। यसमा त्यस वचनको अध्ययन गर्ने, मसीही सभाहरूमा त्यसको छलफल गर्ने र त्यसको सल्लाहलाई प्रयोगमा ल्याउने कुरा सम्मिलित छ। (याकूब १:२२-२७) हामीले त्यसलाई “अन्धकारमा बलिरहेको दियो” हुनदिनुपर्छ र त्यसद्वारा हाम्रो हृदयलाई प्रज्वलित पार्नुपर्छ। (एफिसी १:१८) यसो गरेमा मात्र “दिनको तारा” येशू ख्रीष्टले स्वंयलाई महिमामा प्रकट नगरुञ्जेलसम्म त्यसले हामीलाई डोऱ्याउनेछ। (प्रकाश २२:१६) यस प्रकाशको अर्थ अविश्वासीहरूका लागि विनाश र विश्वास गर्नेहरूका निम्ति आशिष हुनेछ।—२ थिस्सलोनिकी १:६-१०.
१६. परमेश्वरको वचनमा भएका सबै भविष्यसूचक प्रतिज्ञाहरू पूरा हुनेछन् भनेर हामी कसरी विश्वास राख्नसक्छौं?
१६ परमेश्वरका अगमवक्ताहरू बुद्धिमान अड्कल काट्ने बाठा मानिसहरू थिएनन् किनभने पत्रुसले यसो भने: “कुनै धर्मशास्त्रको कुनै अमगवाणी कसैले खास आफ्नै अर्थले दिएको होइन, किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्वरका तर्फबाट बोल्दथिए।” (२ पत्रुस १:२०, २१) उदाहरणका लागि दाऊदले यसो भने: “परमप्रभुको आत्मा मद्वारा बोल्नुभएको छ।” (२ शमूएल २३:२) र पावलले पनि यसो भनेर लेखे: “परमेश्वरबाट प्रेरणा भएको . . . धर्मशास्त्र।” (२ तिमोथी ३:१६ न्यु व०) अतः परमेश्वरका अगमवक्ताहरू उहाँको आत्माद्वारा प्रेरित भएको हुँदा, परमेश्वरको वचनमा भएका सबै प्रतिज्ञाहरू पूरा हुनेछन् भनेर हामी विश्वस्त हुनसक्छौं।
परमेश्वरका प्रतिज्ञाहरूमाथि तिनीहरूको विश्वास थियो
१७. कुन चाहिं प्रतिज्ञा हाबिलको विश्वासको आधार थियो?
१७ यहोवाका मसीही-पूर्व साक्षीहरूको ‘ठूलो मेघ’-का लागि उहाँका प्रतिज्ञाहरू विश्वासको एउटा आधार थियो। (हिब्रू ११:१–१२:१) उदाहरणका लागि “सन्तान”-ले “साँप”-को शिरलाई कुच्याउनेछ भनेर परमेश्वरले गर्नुभएको प्रतिज्ञामाथि हाबिलको विश्वास थियो। हाबिलको माता-पितामाथि परमेश्वरको दण्डाज्ञा पूरा भइरहेको प्रमाण त्यहाँ थियो। अदनको बँगैचा बाहिर आदम र उसको सन्तानले पेट भर्न पसिना बगाउनु पऱ्यो किनभने श्रापित भूमिले काँडा र झारहरू उत्पादन गर्थ्यो। आफ्नो पतिका लागि हव्वाले देखाएकी लालसा र आदमले हव्वालाई आफ्नो अधिनमा राखेको पनि हाबिलले देखेको हुनसक्छ। आफ्नो प्रसवपीडाको विषयमा निश्चय नै हव्वाले कुरा गरेकी हुन सक्छिन् होलिन्। अदनको बगैंचाको प्रवेशद्वारलाई करूबहरू र बलिरहेको आगोको तरवारले छेकेर राखेको पनि तिनले देखे। (उत्पत्ति ३:१४-१९, २४) हाबिलका निम्ति यी सब कुराहरू त्यस प्रतिज्ञात सन्तानबाट नै छुटकारा आउनेछ भन्ने “प्रमाण” थियो। आफ्नो विश्वास अनुरूप काम गर्दै, हाबिलले परमेश्वरलाई बलिदान चढायो, जुन बलिदान कयिनको भन्दा उत्तम सबित पनि भयो।—हिब्रू ११:१, ४.
१८, १९. कुन तरिकाले अब्राहाम र साराले विश्वास गरे?
१८ यहोवाका प्रतिज्ञाहरूमाथि कुलपिता अब्राहाम, इसहाक र याकूबको पनि विश्वास थियो। अब्राहामद्वारा पृथ्वीका सबै परिवारहरू आशिषित हुनेछन् र तिनको सन्तानले देश अधिकार गर्नेछन् भनेर परमेश्वरले गर्नुभएका प्रतिज्ञाहरूमाथि अब्राहामले विश्वास गरे। (उत्पत्ति १२:१-९; १५:१८-२१) तिनको पुत्र इसहाक र नाति याकूब “त्यही प्रतिज्ञाका हकदारहरू” थिए। विश्वासैद्वारा “प्रतिज्ञाको देशमा तिनी [अब्राहाम] प्रवासी भए” र “त्यही जग भएको शहर” अर्थात् परमेश्वरको स्वर्गीय राज्यको प्रतीक्षा गरे जहाँ पुनरुत्थानद्वारा तिनले पृथ्वीमा जीवन पाउनेथिए। (हिब्रू ११:८-१०) के तपाईंसँग पनि त्यस्तै प्रकारको विश्वास छ?
१९ अब्राहामकी पत्नी सारा आमा बन्न नसक्ने ९० वर्ष उमेरकी हुँदा तिनले परमेश्वरका प्रतिज्ञाहरूमाथि विश्वास गरिन् र “गर्भधारण” गर्ने र इसहाकलाई जन्म दिने शक्ति पाइन्। यसप्रकार प्रजनन शक्तिको दृष्टिकोणमा “मुर्दातुल्य” भइसकेको १०० वर्षीय अब्राहामद्वारा अन्ततोगत्वा “आकाशका तारा जतिकै . . . अनगन्ती सन्तान उत्पन्न भए।”—हिब्रू ११:११, १२; उत्पत्ति १७:१५-१७; १८:११; २१:१-७.
२०. आफ्नालागि परमेश्वरले गर्नुभएका प्रतिज्ञाहरूको पूर्ण पूर्ति नदेखे तापनि कुलपिताहरूले के गरे?
२० यी विश्वासी कुलपिताहरू आफ्नो निम्ति परमेश्वरले गर्नुभएको प्रतिज्ञाको सम्पूर्ण पूर्ति देख्न नपाउँदै मरे। यद्यपि, “तिनीहरूलाई [प्रतिज्ञा गरिएका कुराहरू] टाढैबाट देखेर स्वागत गरी तिनीहरू पृथ्वीमा . . . परदेशी हुन् भन्ने स्वीकार” गरे। अब्राहामका सन्तानले प्रतिज्ञा गरिएको देश प्राप्त गर्नु अघि अनेकौं पुस्ता बिते। तथापि, आफ्नो जीवनकालभरि यी ईश्वरभीरू कुलपिताहरूले यहोवाका प्रतिज्ञाहरूमाथि विश्वास गरे। तिनीहरूले आफ्नो विश्वास नगुमाएको हुँदा चाँडै नै यहोवाले तिनीहरूका निम्ति तयार गर्नुभएको मसीही राज्य अर्थात् “शहर”-को पार्थिव क्षेत्रमा तिनीहरूको पुनरुत्थान गर्नुहुनेछ। (हिब्रू ११:१३-१६) त्यस्तै गरी हामीले उहाँका सबै अद्भुत प्रतिज्ञाहरूको तत्कालीन पूर्ति नदेखे तापनि यहोवाप्रति निष्ठावान भइरहन विश्वासले हामीलाई मदत गर्नसक्छ। अब्राहामलाई झैं विश्वासले हामीलाई परमेश्वरको आज्ञा मान्न प्रेरित गर्नेछ। र तिनले आफ्ना सन्तानहरूलाई आत्मिक पैतृक सम्पति दिएझैं हामी पनि आफ्नो छोरा-छोरीहरूलाई परमेश्वरको अमूल्य प्रतिज्ञाहरूमाथि विश्वास गर्न मदत दिनसक्छौं।—हिब्रू ११:१७-२१.
मसीहीहरूका लागि विश्वास अत्यावश्यक छ
२१. आज, परमेश्वरको निम्ति स्वीकारयोग्य हुन हाम्रो विश्वासमा कुन कुन कुरा समावेश हुनुपर्छ?
२१ निस्सन्देह विश्वास गर्नुमा यहोवाका प्रतिज्ञाहरूको पूर्तिमाथि निर्धक्क हुनु मात्र समावेश छैन। परमेश्वरको अनुमोदनको आनन्द उठाउन मानव इतिहासभरि उहाँमाथि विभिन्न तरिकाले विश्वास गर्नु आवश्यक परेको छ। पावलले भने, “विना विश्वास उहाँलाई [यहोवा परमेश्वर] रिझाउन असम्भव छ। किनभने जो परमेश्वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने अवश्य विश्वास गर्नुपर्छ।” (हिब्रू ११:६) आज, यहोवाको निम्ति स्वीकारयोग्य हुन एकजना व्यक्तिले येशू ख्रीष्ट र परमेश्वरले उहाँद्वारा प्रबन्ध गर्नुभएको छुटकाराको बलिदानमाथि विश्वास गर्नुपर्छ। (रोमी ५:८; गलाती २:१५, १६) यो कुरा येशूले भन्नुभएको यी वचनहरू अनुरूप छन्: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। जसले पुत्रमाथि विश्वास गर्छ, त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।”—यूहन्ना ३:१६, ३६.
२२. मसीही राज्यले कुन चाहिं प्रतिज्ञाको पूर्ति ल्याउनेछ?
२२ मसीहीहरूले प्रार्थना गर्ने गरेको राज्यबारे परमेश्वरका प्रतिज्ञाहरूको पूर्तिमा येशूले महत्त्वपूर्ण भूमिका निभाउनुहुन्छ। (यशैया ९:६, ७; दानियल ७:१३, १४; मत्ती ६:९, १०) पत्रुसले भनेझैं, राज्य शक्ति र महिमामा येशूको आगमनबारे बोलिएका ती भविष्यसूचक शब्दहरूलाई येशूको रूप परिवर्तनले प्रमाण दियो। मसीही राज्यले परमेश्वरको अर्को प्रतिज्ञाको पूर्ति पनि ल्याउनेछ जसबारे पत्रुसले यसो भनेर लेखे: “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जस्मा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) राज्यपाल यरुबाबेल र प्रधान पुजाहारी यहोशू भएको सरकारको अधिनमा निर्वासित यहूदीहरूलाई सा०यु० ५३७-मा बाबेलबाट स्वदेशमा पूनर्स्थापित गर्दा खेरि पनि त्यस्तै किसिमको एउटा अगमवणीको पूर्ति भयो। (यशैया ६५:१७) तर पत्रुसले भविष्यको त्यस समयलाई औंल्याए जब “नयाँ स्वर्ग”—अर्थात् स्वर्गीय मसीही राज्यले—“नयाँ पृथ्वी” अर्थात् यस पृथ्वीमा जीवित धार्मिक मानव समाजमाथि राज्य गर्नेछ।—भजनसंग्रह ९६:१ सँग तुलना गर्नुहोस्।
२३. आउँदो लेखमा कुन चाहिं प्रश्नहरूको छलफल गरिनेछ?
२३ यहोवाका निष्ठावान सेवकहरू र उहाँको प्रिय पुत्र येशू ख्रीष्टको अनुयायीहरूको रूपमा हामी परमेश्वरले प्रतिज्ञा गर्नुभएका नयाँ संसारको चाह गर्छौं। त्यो संसार नजिकै छ भनेर हामी जान्दछौं र यहोवाका सबै अमूल्य प्रतिज्ञाहरू पूरा हुनेछन् भनेर हाम्रो विश्वास छ। परमेश्वरको अघि स्वीकारयोग्य भएर चल्न हाम्रो विश्वासमा सद्गुण, बुद्धि, संयम, धीरज, भक्ति, भ्रातृस्नेह र प्रेम थपेर त्यसलाई बलियो बनाउनु पर्छ।a तर यहाँनिर कसैले सोध्नसक्छ: सद्गुणलाई हामी कसरी प्रकट गर्नसक्छौं त? र हामी सद्गुणी भयौं भने त्यसले हामीलाई, अरूहरूलाई र विशेषगरि परमेश्वरका प्रतिज्ञाहरूमाथि विश्वास गर्ने हाम्रा मसीही सङ्गीहरूलाई कसरी फाइदा गर्नेछ? (w93 7/15)
[फुटनोटहरू]
a प्रहरीधरहरा-को यस अङ्कमा विश्वास र सद्गुणको छलफल गरिएको छ। आगामी अङ्कहरूमा बुद्धि, संयम, धीरज, भक्ति, भ्रातृस्नेह र प्रेमको छलफल गरिनेछ।
तपाईं के उत्तर दिनुहुन्छ?
▫ “विश्वास” लाई कसरी व्याख्या गर्न सकिन्छ?
▫ दोस्रो पत्रुस १:५-७ अनुसार हाम्रा विश्वासमा कुन कुन गुणहरू थप्नुपर्छ?
▫ येशूको रूप परिवर्तनले हाम्रो विश्वासमा कस्तो असर पार्नुपर्छ?
▫ हाबिल, अब्राहाम, सारा र प्राचीन समयका अन्य व्यक्तिहरूले विश्वासको कस्तो उदाहरण छाडे?
[पृष्ठ २३-मा भएको चित्र]
एकजना मानिसको विश्वासमाथि येशूको रूप परिवर्तनले कसरी असर गर्नसक्छ के तपाईंलाई थाहा छ?