महा संकष्टबाट बचाइएका मानिसहरू
“यी तिनै हुन् जो महा संकष्टबाट आएका छन्, र तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।”—प्रकाश ७:१४.
१. पार्थिव पुनरुत्थान हुनेहरूलाई कसले स्वागत गर्नेछन्?
‘धर्मी र अधर्मीहरूको पुनरुत्थान’ हुँदा अनगिन्ती लाखौं व्यक्तिहरूलाई निर्जन पृथ्वीमा बिउँताइने छैन। (प्रेरित २४:१५) तिनीहरूले आफूलाई प्रमोदवनरूपी वातावरणबीच पाउनेछन्। आफ्नो लागि आवास, लत्ताकपडा र प्रशस्त खानेकुरा प्रबन्ध गरिएको तिनीहरूले पाउनेछन्। यी सबै कुराको प्रबन्ध कसले गर्नेछन्? स्पष्ट छ, पार्थिव पुनरुत्थान हुनु अगावै नयाँ संसारमा मानिसहरू बाँचिरहेका हुनेछन्। तिनीहरू को हुन्? तिनीहरू आउँदै गरेको महा संकष्टबाट बच्नेहरू हुनेछन् भनी बाइबलले संकेत गर्छ। बाइबलका सबै शिक्षाहरूमध्ये सबैभन्दा मोहक शिक्षा, महा संकष्टबाट बचाइने र तत्पश्चात् कहिल्यै मर्नु नपर्ने विश्वासी व्यक्तिहरूसित सम्बन्धित शिक्षा हो। यो आशाको ठोस आधार पवित्र शास्त्रमा पाइन्छ।
नूहको दिनमा जस्तै
२, ३. (क) नूहको दिन र हाम्रो समयबीच कस्ता समानताहरू देखाइएको छ? (ख) जलप्रलयबाट नूह र उनको परिवारको बचाउद्वारा कुन कुरा देखाउन खोजिएको छ?
२ मत्ती २४:३७-३९ मा येशू ख्रीष्टले नूहको दिन र हामी बाँचिरहेको आखिरी दिनबीच तुलना गर्नुभयो। उहाँले यसो भन्नुभयो: “तर जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिसको पुत्रको आगमन हुनेछ। किनकि जसरी जलप्रलयका अघाड़िका दिनमा नूह जहाजमा नपसेका दिनसम्म, मानिसहरू खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए, औ जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे, उसैगरी मानिसको पुत्रको आगमन पनि हुनेछ।”
३ परमेश्वरको चेतावनीमूलक समाचारलाई ध्यान नदिनेजति सबै विश्वव्यापी जलप्रलयमा नष्ट भए। तर त्यस जलप्रलयमा नूह र तिनको परिवार भने नष्ट भएनन्। येशूले भन्नु भएजस्तै तिनीहरू ‘जहाजभित्र पसे।’ तिनीहरूको ईश्वरीय भक्तिको कारण यहोवाले तिनीहरूका निम्ति बच्ने उपाय निकाल्नु भयो। दोस्रो पत्रुस २:५, ९ ले यसो भन्दै नूह र तिनको परिवारले पाएको छुटकारा उल्लेख गर्छ: “अभक्तहरूको संसारमा जलप्रलय गराउनु हुँदा धर्मका प्रचारक नूह र अरू सात जनालाई [परमेश्वरले] जोगाउनुभयो। यसरी भक्तहरूलाई परीक्षाबाट बचाउन . . . [यहोवा] जान्नुहुन्छ।” हुनत येशूले नूहको दिनलाई आखिरी दिनसँग गर्नुभएको तुलनाले सामान्यतः अधिकांश मानिसहरूले परमेश्वरको चेतावनीमूलक समाचार सुन्नेछैनन् भनी देखाउँछ। तर नूह र तिनको परिवारले यहोवा परमेश्वरको आज्ञा पालन गरेर जहाजभित्र पसे अनि ठूलो जलप्रलयबाट बचे भन्ने तथ्यलाई पनि उहाँले पुष्टि दिनुभयो। नूह र तिनको परिवारले पाएको यस्तो छुटकाराले यस संसारको अन्त हुँदा विश्वासी सेवकहरू बच्नेछन् भन्ने कुरालाई भविष्यसूचक ढंगमा इङ्कित गर्छ।
प्रथम शताब्दीको नमूना
४. येशूका शब्दहरूको पूर्तिअनुरूप सा.यु. ७० मा यरूशलेमको विनाशअघि कस्ता घटनाहरू घटे?
४ येशूले पछि हुने घटनाहरूबारे पनि बताउनुभयो। मत्ती २४:२१, २२ मा यस्तो लेखिएको पाउँछौ: “किनकि त्यस बेला यस्तो महा संकष्ट हुनेछ, जो जगत्को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ। औ ती दिन नघटाइएका भए कोही देहधारी बाँच्नसक्ने थिएन तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।” हाम्रो सामान्य युगको पहिलो शताब्दीमा यस भविष्यवाणीको प्रारम्भिक पूर्ति भयो। सा.यु. ६६ मा सेस्टियस ग्यालस र तिनका रोमी सिपाहीहरूले यरूशलेममाथि कब्जा गरे। रोमी सेनाहरूले मन्दिरको पर्खाललाई समेत झण्डै नष्ट गर्न लागेका थिए र थुप्रै यहूदीहरू आत्म-समर्पण गर्न तयार भइसकेका थिए। तर अचानक कुनै प्रत्यक्ष कारणबिना नै सेस्टियस ग्यालस आफ्नो सेनासहित फिर्ता गए। रोमी सेनाहरू फर्केको देखेर मसीहीहरूले धेरै वर्षअघि येशूले भन्नुभएका यी शब्दहरूमाथि अमल गरे: “तर जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान। तब यहूदियामा हुनेहरू डाँड़ाहरूतिर भागून्। औ शहरभित्र हुनेहरू निस्किजाऊन्, र गाउँमा हुनेहरू त्यहाँभित्र नपसून्।” (लूका २१:२०, २१) मसीही भएका यहूदी र चुनिएका जनहरूले तुरुन्तै सर्वनाश हुन लागेको यरूशलेम शहरलाई छाडेर भागे। फलतः यरूशलेम शहरमाथि आउनै लागेको डरलाग्दो विनाशबाट तिनीहरू बचे। सा.यु. ७० मा सेनापति टाइटसको नेतृत्वमा रोमी सेना फेरि फर्के। यस पटक तिनीहरूले यरूशलेमलाई चारैतिरबाट घेरा हालेर त्यसमाथि कब्जा गरेर तहसनहस गरे।
५. कुन अर्थमा सा.यु. ७० मा यरूशलेमको विनाश घटाइयो?
५ यहूदी इतिहासकार जोसेफसअनुसार ११,००,००० यहूदीहरू मारिए र बाँच्ने ९७,००० कैदमा लगिए। बाँच्ने गैरमसीही यहूदीहरू निस्सन्देह येशूको भविष्यवाणीमा उल्लिखित “चुनिएकाहरू” थिएनन्। येशूले विद्रोही यहूदी राष्ट्रबारे पहिले नै यसो भन्नुभएको थियो: “हेर तिमीहरूको घर तिमीहरूका निम्ति उजाड़ छोड़िनेछ। किनभने म तिमीहरूलाई भन्दछु, अब उप्रान्त तिमीहरूले मलाई फेरि देख्नेछैनौ, जहिलेसम्म ‘धन्य हुन्, तिनी परमप्रभुका नाउँमा आउने,’ भनी तिमीहरू भन्दैनौ।” (मत्ती २३:३८, ३९) यरूशलेमभित्र घेरिएका ती यहूदीहरूले अन्तिम घडिमा येशूलाई मसीह भनी स्वीकारेर मसीही भए र यहोवाको अनुमोदन प्राप्त गरे भन्ने कुनै रेकर्ड छैन। तापनि सा.यु. ७० मा यरूशलेममाथि आएको संकष्ट घटाइयो। रोमी सेनाहरूको अन्तिम आक्रमण लामो थिएन। यसले गर्दा केही यहूदीहरू बाँच्न त बाँचे तर तिनीहरू रोमी साम्राज्यका विभिन्न भागहरूमा दासको रूपमा पठाइए।
बाँच्नेहरूको ठूलो भीड
६, ७. (क) कुन अतुलनीय विनाशको सिलसिलामा कुन ठूलो धार्मिक शहर नाश हुनु बाँकि नै छ? (ख) यस संसारमाथि आउँदै गरेको महा संकष्टबारे यूहन्नाले कस्तो भविष्यवाणी गरे?
६ त्यस धार्मिक शहरमाथि सा.यु. ७० मा यरूशलेमको विनाशले “महा संकष्ट” नै ल्याए तापनि येशूको भविष्यवाणीको ठूलो पूर्ति हुन अझ बाँकि नै छ। शैतानी रीतिरिवाजमाथि आउने अतुलनीय संकष्टको तुरुन्तैपश्चात् झूटो धर्मको विश्व-साम्राज्य अर्थात् ठूलो धार्मिक शहर, महान बेबिलोनले मृत्युदायी महा संकष्ट भोग्नेछ। (मत्ती २४:२९, ३०; प्रकाश १८:२१) यरूशलेमको विनाशको झन्डै २६ वर्षपश्चात् प्रेरित यूहन्नाले प्रकाश ७:९-१४ मा यस विश्वव्यापी संकष्टबारे लेखे। मानिसहरूको “ठूलो भीड़” बाँच्नेछन् भनी तिनले देखाए।
७ यी बाँच्ने व्यक्तिहरू अर्थात् “ठूलो भीड,” तिनीहरूले लिने केही खास निर्णायक कदमद्वारा चिनिन्छन्। प्रकाश ७:१४ अनुसार स्वर्गमा भएका २४ धर्मगुरुहरूमध्ये एकले यूहन्नालाई यसो भने: “यी तिनै हुन् जो महा संकष्टबाट आएका छन्, र तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।” हो, ठूलो भीडले आफ्नो छुटकाराको स्रोतको रूपमा यहोवाको प्रशंसा गर्छन्। तिनीहरू येशूले बगाउनुभएको रगतमा विश्वास राख्छन् र तिनीहरूको सृष्टिकर्त्ता अनि नियुक्त राजा येशू ख्रीष्टसमक्ष धर्मी ठहरिन्छन्।
८. “ठूलो भीड” र येशूका शेष अभिषिक्त जनहरूबीच कस्तो असल सम्बन्ध छ?
८ आज स्वर्गीय राजा, येशू ख्रीष्टको सक्रिय नेतृत्वको अधीनमा ठूलो भीडका लगभग ५० लाख सदस्यहरू छन्। तिनीहरू ख्रीष्टको अधीनमा बस्छन् र पृथ्वीमा बाँकि रहेका येशूका अभिषिक्त भाइहरूसँग घनिष्ठ सम्बन्ध राख्छन्। यी अभिषिक्त जनहरूसित ठूलो भीडले गर्ने व्यवहारको सम्बन्धमा राजा येशू यसो भन्नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानो एउटालाई जे जति गऱ्यौ, त्यो तिमीहरूले मलाईनै गऱ्यौ।” (मत्ती २५:४०) ख्रीष्टका अभिषिक्त भाइहरूप्रति गरेको निःस्वार्थ सहयोगको कारण ठूलो भीडले येशूलाई नै असल गरेको ठहराइन्छ। यसले गर्दा येशू ख्रीष्ट र यहोवा परमेश्वरसित बलियो सम्बन्ध गाँस्न मदत मिल्छ। उहाँको नाउँ वहन गर्न र परमेश्वरका साक्षीहरू भएर अभिषिक्त जनको सम्पर्कमा आउने सुअवसर तिनीहरूले पाएका छन्।—यशैया ४३:१०, ११; योएल २:३१, ३२.
जागा रहने
९, १०. (क) मानिसको पुत्रसमक्ष धर्मी ठहरिन हामीले के गर्नुपर्छ? (ख) “जागा रहन” हामीले कस्तो कदम चाल्नुपर्छ?
९ ठूलो भीडले मानिसको पुत्रसमक्ष आफ्नो धार्मिक स्तरलाई अटुट रूपमा कायम राख्नैपर्छ र त्यसका लागि तिनीहरू यस पुरानो संसारको अन्तसम्मै सतर्क रहनु आवश्यक छ। यसबारे येशूले स्पष्टसँग यसो भन्नुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला। किनकि यसरीनै सारा पृथ्वीको सतहमा रहनेहरूमाथि यो आइपर्नेछ। तर आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खड़ा हुनसक्नलाई हर घड़ी प्रार्थना गर्दै जागा रहो।’”—लूका २१:३४-३६.
१० मानिसको पुत्रसमक्ष खडा हुनसक्न हामीले उहाँको अनुमोदन पाउनैपर्छ। आफूलाई सांसारिक विचारधाराबाट प्रभावित हुन दियौं भने हामीले त्यो अनुमोदन पाउन सक्दैनौं। सांसारिक विचारधारा भ्रष्ट हुन्छ र त्यसले एक व्यक्तिलाई शारीरिक सुखविलासहरूमा बढी व्यस्त हुने अथवा जीवनका समस्याहरूको बोझले साह्रै लादिएर राज्यसम्बन्धी कामकुरालाई प्रथम स्थानमा राख्नै नसक्ने स्थितिमा पुऱ्याउन सक्छ। (मत्ती ६:३३) यस्तो पद्धतिले एक व्यक्तिलाई आध्यात्मिक तवरमा कमजोर बनाउँछ र फलस्वरूप उसले परमेश्वर अनि अरूप्रति आफूले निभाउनु पर्ने जिम्मेवारीहरू अवहेलना गर्न थाल्छ। ऊ निष्क्रिय हुनसक्छ र गम्भीर पाप गरेर पनि कुनै पश्चात्तापी मनोवृत्ति नदेखाएर मण्डलीमा आफूले पाएको स्थानलाई खतरामा पार्नसक्छ। अतः ठूलो भीडका प्रत्येक व्यक्तिविशेषले आफ्नो क्रियाकलापमाथि ध्यान दिनैपर्छ। यस अभक्त संसार तथा यसका चालचलनहरूदेखि ऊ निरन्तर अलग बस्नैपर्छ।—यूहन्ना १७:१६.
११. आरमागेडोनबाट बाँच्न कस्ता शास्त्रीय सिद्धान्तहरूको प्रयोग गर्नाले हामीलाई मदत पुऱ्याउन सक्छ?
११ यस काममा मदत पुऱ्याउन यहोवाले आफ्नो वचन, पवित्र आत्मा र दृश्य संगठनद्वारा हाम्रा आवश्यकताहरू पूरा गर्ने प्रबन्ध गर्नुभएको छ। हामीले यसको पूर्ण सदुपयोग गर्नुपर्छ। यसबाहेक, परमेश्वरको अनुमोदन पाउने आशा गर्छौं भने हामीले अवश्य उहाँलाई प्रार्थना गर्नुपर्छ र उहाँप्रति आज्ञाकारी हुनुपर्छ। एउटा कुरा, हामीले खराब कुराप्रति गहिरो घृणा बढाउनुपर्छ। भजनरचयिताले यसो भने: “म व्यर्थका मानिसहरूसँग बसेको छैनँ। नता म कपटीहरूको साथमा जानेछु। कुकर्मीहरूको समुदायलाई म घृणा गर्दछु, र दुष्टहरूसँग म बस्नेछैनँ। मेरो आत्मालाई पापीहरूसित ज्यान मार्नेहरूका साथमा मेरो जीवनलाई भेला नगराउनुहोस्।” (भजनसंग्रह २६:४, ५, ९) यहोवालाई आफ्नो जीवन समर्पण नगर्नेहरूसित मसीही मण्डलीका जवान तथा वृद्ध सबैले अनावश्यक संगत राख्नदेखि टाढा बस्नुपर्छ। परमेश्वरको अनुमोदन पाउन यस संसारदेखि निर्दोष र निष्कलंक रहने प्रयत्न हामी गर्छौं। (भजनसंग्रह २६:१-५; याकूब १:२७; ४:४) तब मात्र आरमागेडोनमा अभक्त मानिसहरू सँगसँगै यहोवाले हामीलाई नाश गर्नुहुनेछैन भनी हामी ढुक्क हुनेछौं।
केही व्यक्तिहरू “कहिल्यै पनि मर्नेछैन”
१२, १३. (क) लाजरसको पुनरुत्थान गर्नुअघि मार्थाले पूर्णतया नबुझेका कुन शब्दहरू येशूले उच्चारण गर्नुभयो? (ख) कोही ‘कहिल्यै मर्नेछैन’ भन्ने येशूका शब्दहरूको अर्थ के होइन?
१२ यस रीतिरिवाजको अन्तबाट बाँच्ने र कहिल्यै मर्नु नपर्ने सम्भावनाबारे सोच्नु रोमाञ्चकारी छ। येशूले हामीलाई यही प्रत्याशा दिनुहुन्छ। आफ्नो मृत मित्र लाजरसको पुनरुत्थान गर्नुअघि येशूले लाजरसकी दिदी मार्थालाई यसो भन्नुभयो: “पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्वास गर्ने मऱ्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिल्यै पनि मर्नेछैन। के तिमी यो विश्वास गछ्र्यौ?” मार्थाले पुनरुत्थानमाथि विश्वास त गरिन् तर येशूले भनिरहनुभएको सबै कुरा भने बुझिनन्।—यूहन्ना ११:२५, २६.
१३ आफ्ना विश्वासी प्रेरितहरू शारीरिक रूपमा बाँचिरहनेछन् र कहिल्यै मर्नेछैनन् भनेर येशूले भन्नुभएको थिएन। बरु आफ्ना चेलाहरू मर्नेछन् भनेर उहाँले पछि संकेत गर्नुभयो। (यूहन्ना २१:१६-२३) निस्सन्देह, सा.यु. ३३ पेन्तिकोसमा पवित्र आत्माले अभिषिक्त गर्दा तिनीहरू राजा र पूजाहारीहरू हुने स्वर्गीय इनाम प्राप्त गर्न मर्नु पर्नेछन् भनी स्पष्ट भयो। (प्रकाश २०:४, ६) तसर्थ, समयको दौडान प्रथम शताब्दीका सबै मसीहीहरू मरे। तथापि, येशूले त्यसो भन्नुको पछाडि एउटा खास अर्थ थियो। नमरिकन सधैंभरि बाँच्नेबारे उहाँले भन्नुभएका शब्दहरू पक्कै पूरा हुनेछन्।
१४, १५. (क) केही व्यक्तिहरू ‘कहिल्यै मर्नेछैन’ भन्ने येशूका शब्दहरू कसरी पूरा हुनेछन्? (ख) यस संसारको परिस्थिति कस्तो छ तर धर्मीहरूसमक्ष कस्तो आशा छ?
१४ एउटा कुरा, विश्वासी अभिषिक्त मसीहीहरूले अनन्त मृत्यु कहिल्यै अनुभव गर्नेछैनन्। (प्रकाश २०:६) साथै, येशूले यी शब्दहरूद्वारा स्पष्टतः भविष्यको कुनै निश्चित समयलाई संकेत गर्नु हुँदैथियो। नूहको समयमा झैं त्यतिबेला यहोवा परमेश्वरले मानव क्रियाकलापमा हस्तक्षेप गर्नुहुनेछ र पृथ्वीबाट दुष्टता हटाउनु हुनेछ। त्यतिबेला परमेश्वरको इच्छा पालन गरिरहने विश्वासी व्यक्तिहरू परमेश्वरको न्यायी कार्यद्वारा कहिल्यै मर्नुपर्ने छैन। बरु नूह र उनको परिवारजस्तै तिनीहरूले यस पुरानो संसारको विनाशबाट उम्कने मौका पाउनेछन्। यस्तो आशा निश्चित हुनुको साथै बाइबलका शिक्षाहरू तथा उदाहरणहरूमा आधारित छ। (तुलना गर्नुहोस् हिब्रू ६:१९; २ पत्रुस २:४-९) अधर्मी मानव समाजले भरिएको वर्तमान संसारले चाँडै नै ठूलो विनाश भोग्नेछ भनेर बाइबलको भविष्यवाणीको पूर्तिले देखाउँछ। यो संसार सुधार्नै नसक्ने गरी दुष्ट भएकोले वर्तमान परिस्थिति अपरिवर्तनीय छ। नूहको दिनको संसारबारे परमेश्वरले जे भन्नुभयो हामी बाँचिरहेको संसारबारे पनि त्यही भन्न सकिन्छ। अधिकांश मानि- सहरूको हृदय दुष्टताले भरिएको छ र तिनीहरूको विचार हरबखत खराबै मात्र हुन्छ।—उत्पत्ति ६:५.
१५ शताब्दीयौंसम्म कुनै ईश्वरीय हस्तक्षेपबिना यस पृथ्वीमाथि शासन गर्ने मौका यहोवाले मानिसहरूलाई दिनुभएको छ। तर अब समय सकिनै लागेको छ। बाइबलले भनेजस्तै अब चाँडै नै यहोवाले पृथ्वीका सबै दुष्टहरूलाई नाश गर्नुहुनेछ। (भजनसंग्रह १४५:२०; हितोपदेश २:२१, २२) तर उहाँले धर्मीहरूलाई दुष्टहरू सँगसँगै नाश गर्नुहुनेछैन। परमेश्वरले कहिल्यै त्यस्तो गर्नुभएको छैन! (तुलना गर्नुहोस् उत्पत्ति १८:२२, २३, २६) आखिरमा ईश्वरीय भयसाथ विश्वासीपूर्वक सेवा गर्न प्रयत्नशील व्यक्तिहरूलाई उहाँले किन नाश गर्नुहुन्थ्यो र? नूहको दिनको विध्वंसकारी नाशबाट उनी र उनको परिवार बाँचे। यसप्रकार महा संकष्ट सुरु हुँदा जीवित हुने यहोवाका विश्वासी उपासकहरूले उहाँको नजरमा अनुमोदन पाउनु र नष्ट नहुनु तार्किक कुरा हो। (उत्पत्ति ७:२३) तिनीहरूले ईश्वरीय सुरक्षा प्राप्त गर्नेछन् र यस संसारको अन्तबाट बाँच्नेछन्।
१६. नयाँ संसारमा कस्ता अद्भुत कुराहरू हुनेछन् र बाँच्नेहरूको निम्ति यसको अर्थ के हुनेछ?
१६ त्यतिबेला के हुनेछ? येशूको छुडौतीको बलिदानका पूर्ण लाभहरू कार्यान्वयन भएपछि नयाँ संसारमा मानवजातिमाथि आरोग्यपूर्ण आशिष्हरू बग्नेछन्। बाइबलले “परमेश्वर र थुमाको सिंहासनबाट निस्किरहेको त्यस शहरको सड़कको बीचमा बिल्लोरजस्तो चहकिलो जीवनको [लाक्षणिक] नदी देखाए।” र “त्यस नदीको वारि र पारि प्रत्येक महिना बाह्रै किसिमको फल फलाउने जीवनको रूख थियो। त्यस रूखका पातहरूचाहिं जाति जातिका मानिसहरूलाई निको” पार्नेछ भनी बताउँछ। (प्रकाश २२:१, २) आश्चर्यपूर्ण कुरा, त्यस “निको” पार्ने क्रियामा आदमबाट प्राप्त मृत्युमाथि विजय समावेश छ! “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।” (यशैया २५:८) यसप्रकार महा संकष्टबाट बाँच्नेहरू नयाँ संसारमा प्रवेश गर्नेछन् र कहिल्यै मर्नु पर्नेछैन!
निश्चित आशा
१७. कोही आरमागेडोनबाट बाँच्नेछ र “कहिल्यै मर्नेछैन” भन्ने आशा कतिको निश्चित छ?
१७ बचाउको यस्तो उदेकलाग्दो आशाप्रति के हामी पूर्ण भरोसा राख्न सक्छौं? अवश्य सक्छौं! मानिसहरू कहिल्यै मर्नु नपर्ने समय पनि आउनेछ भनेर येशूले मार्थालाई संकेत गर्नुभएको थियो। (यूहन्ना ११:२६) यसबाहेक येशूले यूहन्नालाई दिनुभएको प्रकाशको ७ अध्यायमा एउटा ठूलो भीड महा संकष्टबाट बाँचेर आउनेछन् भनेर प्रकट गरिएको थियो। येशू ख्रीष्ट अनि नूहको दिनको जलप्रलयसम्बन्धी ऐतिहासिक विवरणलाई के हामी विश्वास गर्नसक्छौं? निस्सन्देह, सक्छौं! यस अलावा, न्यायावधिको दौडान र राष्ट्रहरूको पतन हुँदा परमेश्वरले आफ्ना सेवकहरूलाई कसरी बचाउनुभयो भन्ने थुप्रै विवरणहरू बाइबलमा पाइन्छ। संसारको अन्तको यस क्षणमा उहाँबाट के त्योभन्दा कम आशा गर्न सकिन्छ र? सृष्टिकर्त्ताका लागि के कुनै कुरा असम्भव छ र?—तुलना गर्नुहोस् मत्ती १९:२६.
१८. यहोवाको धार्मिक नयाँ संसारमा जीवन पाउँछौं भनेर हामी कसरी आश्वस्त हुन सक्छौं?
१८ अहिले विश्वासीपूर्वक यहोवाको सेवा गऱ्यौं भने उहाँको नयाँ संसारमा अनन्त जीवन पाउनेछौं भनी हामी आश्वस्त हुनसक्छौं। लाखौंले पुनरुत्थानद्वारा त्यस नयाँ संसारमा जीवन पाउनेछन्। यद्यपि, हाम्रो समयमा यहोवाका लाखौं जनहरूले—हो, मानिसले गन्न वा सीमा तोक्न नसक्ने एउटा ठूलो भीडले महा संकष्टबाट बाँच्ने अनुपम सुअवसर पाउनेछन्। त्यसपछि तिनीहरू कहिल्यै मर्नु पर्नेछैन।
कृपया वर्णन गर्नुहोस्
◻ आरमागेडोनबाट बाँच्नुलाई नूहको दिनले कसरी पूर्वसंकेत गरेको थियो?
◻ यहोवाको न्याय कार्यान्वयन गर्न येशू आउनुहुँदा खडा रहिरहन हामीले के गर्नुपर्छ?
◻ आरमागेडोनबाट बाँच्नेहरू “कहिल्यै मर्नेछैन” भनी हामी किन भन्न सक्छौं?
[पृष्ठ १५-मा भएको चित्र]
यरूशलेमको विनाशबाट मसीहीहरू उम्के