युवा जनहरू सोध्छन्. . .
म सत्यलाई आफ्नै कसरी बनाउनसक्छु?
“कलिलो उमेरदेखि नै मैले यहोवाका साक्षीहरूको शिक्षादीक्षा पाएकी थिएँ र सच्चाइमै हुर्काइएकी भएकीले यहोवालाई चिनेकै छु नि भन्ठान्थें। तर मेरो सोचाइ कत्ति गलत रहेछ!”—आन्तनेत।
“सत्य के हो?” येशूलाई प्राणदण्ड दिन लगाउने पोन्तियस पिलातसले उक्त प्रसिद्ध प्रश्न सोधेको थियो। (यूहन्ना १८:३८) तथापि, प्रमाणअनुसार पिलातसले सत्य कुरा जान्न होइन बरू उल्टो सही जवाफ नआओस् भनेर त्यो कुटिल प्रश्न सोधेको थियो। उसले वास्तवमा “सत्य” के हो बुझ्न भनेर खोजेको थिएन। तपाईं नि? के तपाईं सत्य के हो, बुझ्न चाहनुहुन्छ?
दार्शनिकहरूले सत्य के हो भनेर खोजतलास गरेको शताब्दीयौं भइसक्यो। लाजमर्दो कुरा, तिनीहरूले अहिलेसम्म केही जवाफ पाउन सकेका छैनन्। तथापि, तपाईंले पिलातसको प्रश्नको जवाफ पाउन सक्नुहुन्छ। येशू ख्रीष्टले परमेश्वरको वचन सत्य हो भनेर सिकाउनुभयो। उहाँले आफू “सत्य” हुँ भनेर पनि बताउनुभयो। अनि प्रेरित यूहन्नाले यसो लेखे: “सत्यता चाहिं येशू ख्रीष्टबाट आयो।” (यूहन्ना १:१७; १४:६; १७:१७) पछि बाइबलमा समावेश गरिएको सम्पूर्ण मसीही शिक्षालाई पनि “सत्य” वा “सुसमाचारको सत्यता” भनिन्छ। (तीतस १:१४; गलाती २:१४; २ यूहन्ना १, २) यी मसीही शिक्षाहरूमा परमेश्वरको व्यक्तिगत नाउँ, परमेश्वरको राज्यको स्थापना, पुनरुत्थान र येशूको छुडौतीजस्ता कुराहरू समावेश छन्।—भजन ८३:१८; मत्ती ६:९, १०; २०:२८; यूहन्ना ५:२८, २९.
हजारौं केटाकेटीहरूलाई मसीही आमाबाबुहरूले बाइबल सच्चाइ सिकाएर हुर्काएका हुन्छन्। त के ती सबै केटाकेटीहरू “सत्यमा चलेका” छन् त? (३ यूहन्ना ३, ४) अहँ, छैनन्। उदाहरणका लागि, २० वर्षकी जेनिफर सानैदेखि यहोवाका साक्षीहरूको शिक्षादीक्षा पाएर हुर्केकी थिइन्। तिनी सम्झन्छिन्: “मेरी आमा मलाई साक्षीहरूको अधिवेशनहरूमा लानुहुन्थ्यो अनि मैले बप्तिस्मा लिनेबारे पनि सोच्नुपर्छ भनेर बुझाउन खोज्नुहुन्थ्यो। तर ‘म यहोवाको साक्षी बन्दिनँ,’ भन्थें। र मनमनै सोच्थें ‘म त रमाइलो पो गर्न चाहन्छु।’ ”
केही युवकयुवतीहरू आफूलाई सिकाइएको कुरा विश्वास त गर्छन् तर बाइबलले वास्तवमा के सिकाउँछ, त्यो गहिरिएर सोच्दैनन्। अनि यसो गर्दा कस्तो खतरा आइपर्छ? केही व्यक्तिहरूको “आफैमा जरा हुँदैन” भनेर येशूले चेताउनी दिनुभयो। यस्ताहरू “थोरै बेर टिक्छन्, तर जब वचनको कारण संकट वा खेदो आइपर्छ तब तुरुन्तै ठक्कर खा[नसक्छन्]।” (मर्कूस ४:१७) कतिपय चाहिं बाइबलआधारित आफ्नो विश्वासबारे केही बताउनसक्ने भए तापनि परमेश्वरलाई व्यक्तिगत तवरमा चिन्न भने सकेका हुँदैनन्। एनिस नाउँकी युवती भन्छिन्: “सानी छँदा यहोवासित मेरो घनिष्ठ सम्बन्ध थियो जस्ता मलाई लाग्दैन। . . . मेरो विचारमा उहाँसित मेरो आमाबाबुको सम्बन्ध भएकोले मात्र म उहाँलाई चिन्थें।”
तपाईं के भन्नुहुन्छ? के यहोवा तपाईंका मातापिताको मात्र परमेश्वर हुनुहुन्छ? अथवा, के तपाईं पनि बाइबलका भजनरचयिताले भनेझैं यसो भन्नसक्नुहुन्छ: “तर हे परमप्रभु, मैले ता तपाईंकै भरोसा गरें, मैले भनें, ‘तपाईंनै मेरा परमेश्वर हुनुहुन्छ’ ”? (भजन ३१:१४) यसको जवाफको सामना गर्न सहास चाहिनसक्छ। आलेक्जेन्डर नाउँका युवकले भने: “मेरोनिम्ति त इमानदार आत्म-परीक्षण गर्नु नै प्रथम खुड्किलो साबित भयो।” यसरी आत्म-परीक्षण गरिसकेपछि सत्य (सम्पूर्ण मसीही शिक्षा) यही हो भनेर आफू विश्वस्त भई नसकेको थाह पाउनुहोला। तपाईंसँग दृढ विश्वासको कमी हुनसक्छ। फलतः तपाईंको जीवन लक्ष्यविहिन भई चलिरहेको हुनसक्छ।
मसीही सभाहरूमा यहोवाका साक्षीहरू अक्सर “सत्यलाई आफ्नै बनाउनुहोस्”a भन्ने गीत गाउँछन्। यो सल्लाह तपाईंको लागि पनि उपयुक्त हुनसक्छ। तर तपाईं कसरी सत्यलाई आफ्नो बनाउन सक्नुहुन्छ? कहाँबाट सुरु गर्ने?
जाँचेर पत्ता लगाउनुहोस्
रोमी १२:२ मा हामी प्रेरित पावलको यो सल्लाह पाउँछौं: “परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” तपाईं यो कसरी गर्न सक्नुहुन्छ? “सत्यको ज्ञान” हासिल गरेर। (तीतस १:१) बिरियाका पुरातन बासीहरूले सुन्नेबित्तिकै पत्याइ हालेनन्। बरू “ज्यादै तयारी भएर धर्मशास्त्र ग्रहण गरे, र ती कुराहरू [आफूले सिकेका कुराहरू] ठीक हुन् कि होइनन् भनेर दिनहुँ धर्मशास्त्रमा [खोजे]।”—प्रेरित १७:११.
इरीन नाउँकी युवतीले पनि त्यसै गर्नुपर्ने आवश्यकता देखिन्। तिनी सम्झन्छिन्: “मैले अनुसन्धान गरें। मैले आफैलाई सोधें, ‘साँचो धर्म यही हो भनेर कसरी थाह पाउने? यहोवा नाउँ गरेका परमेश्वर पनि हुनुहुन्छ भनेर कसरी थाह पाउने?’ ” तपाईंले पनि व्यक्तिगत अध्ययन सुरु गरिहाले कसो होला? तपाईंले ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछb नामक बाइबल आधारित पुस्तकबाट अध्ययन थाल्न सक्नुहुन्छ। ध्यान दिएर पढ्नुहोस्। उल्लिखित सम्पूर्ण शास्त्रपदहरू पढ्नुहोस् र ती पदहरू आफूले अध्ययन गर्दै गरेको विषयवस्तुसित कसरी सम्बन्धित छन्, केलाउनुहोस्। “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला” हुनुभएपछि सत्यबारे जस्तो धारणा अब राख्नुहुन्छ, त्यो देखेर तपाईं छक्क पर्नुहुनेछ।—२ तिमोथी २:१५.
प्रेरित पावलले बाइबलमा भएका कुनै कुनै कुरा “बुझ्न कठीन छन्” भने र तपाईंलाई यो सही लाग्नेछ। (२ पत्रुस ३:१६) तर परमेश्वरको आत्माले तपाईंलाई कठीन विषयहरू राम्ररी बुझ्न मदत गर्नसक्छ। (१ कोरिन्थी २:११, १२) कुनै कुरा बुझ्न गाह्रो परेमा परमेश्वरको मदतको लागि प्रार्थना गर्नुहोस्। (भजन ११९:१०, ११, २७) वाच टावर सोसाइटीका प्रकाशनहरूमा थप अनुसन्धान गर्ने कोसिस गर्नुहोस्। अनुसन्धान गर्न आउँदैन भने भने मदत माग्नुहोस्। तपाईंका मातापिता वा मसीही मण्डलीका अन्य परिपक्व सदस्यहरूले तपाईंलाई मदत गर्नसक्छन्।
नबिर्सनुहोस्, अरूसित फूर्ति लगाउन अध्ययन गरिरहनुभएको होइन। कोलीन नाउँका युवक भन्छन्: “तपाईंले यहोवाका गुणहरू बुझ्नुहुनेछ।” पढेको विषयवस्तु मनन गर्न समय निकाल्नुहोस् ताकि ती कुराहरूले तपाईंको मनमा अमेट छाप पारोस्।—भजन १:२, ३.
मसीही सभाहरूमा मण्डलीसित संगत गर्नु पनि मदतकारी हुनसक्छ। आखिर, प्रेरित पावलले लेखेझैं मण्डली “सत्यको खामा र जग हो।” (१ तिमोथी ३:१५) केही युवकयुवतीहरू मसीही सभाहरू पट्याइलाग्दा हुन्छन् भन्ने गुनासो गर्छन्। “तर तपाईंले सभाहरूका लागि तयारी गर्नुभएको छैन भने, सभाहरूबाट त्यति धेरै फाइदा उठाउनसक्नु हुन्न,” कोलीन जवानहरूलाई सम्झाउँछ। त्यसकारण, पहिल्यै तयार गर्नुहोस्। मुक दर्शक भएर नबसी भाग लिनुभयो भने सभाहरू ज्यादै रोचक हुनेछन्।
अध्ययन गर्ने समय नै छैन?
हो, गृहकार्य र घरको कामले गर्दा अध्ययन गर्ने समय निकाल्नु चुनौती हुनसक्छ। सुजन नाउँकी युवती लेख्छिन्: “सभाहरूका लागि तयारी गर्नुका साथै व्यक्तिगत अध्ययन पनि गर्नुपर्छ भनेर थाह हुँदाहुँदै पनि कहिल्यै त्यसो गर्न सकिनँ र मैले यो कमजोरीसित वर्षौं संघर्ष गर्नुपऱ्यो।”
सुजनले त्यति महत्त्वपूर्ण नदेखिएका कामहरू पन्छाएर “समयको पूरा सदुपयोग” गर्न सिकिन्। (एफिसी ५:१५, १६, नयाँ संशोधित संस्करण) सर्वप्रथम, तिनले आफूले पढ्नुपर्ने सबै साहित्यहरूको सूची तयार पारिन्। त्यसपछि, ती साहित्यहरू पढ्ने समय निकाल्न तालिका बनाइन्। तिनले आफ्नो तालिकामा मनोरञ्जन गर्ने समय पनि राखिन्। तिनी सुझाउ दिन्छिन्: “भएभरको फुर्सतको समयको तालिका नबनाउनुहोस्। हामी सबैलाई आराम गर्ने समय पनि चाहिन्छ।” तपाईंको लागि पनि तालिका बनाउनु फाइदाजनक हुनसक्छ।
सिकेको कुरा बाँड्नुहोस्
सिकेको कुरा नबिर्सने हो भने विशेषगरि त्यसलाई प्रयोग गर्नु मदतकारी हुन्छ। कसैलाई सिकाउने कोसिस गर्नुहोस्। भजनरचयिताले भने: “मेरो मुखले ज्ञानको कुरा बोल्नेछ। र मेरो मनको ध्यान समझको हुनेछ।”—भजन ४९:३.
सुसमाचारसित तपाईंलाई लाज लाग्दैन भने स्कूलका साथीहरू अनि भेटिने अरू व्यक्तिहरूलाई बताउन तपाईं हिचकिचाउनु हुनेछैन। (रोमी १:१६) अरूलाई सत्यबारे बताउने यस्ता अवसरहरूको फाइदा उठाउनुहुँदा तपाईंले सिकेको कुरा प्रयोग गरिरहनुभएको हुनेछ; अनि यसप्रकार तपाईंले आफ्नो मनमस्तिष्कमा सत्यलाई गड्न दिनुहुनेछ।
आफ्नो साथी संगत विचार गर्नुहोस्
प्रथम शताब्दीमा केही मसीहीहरूले राम्रो आध्यात्मिक प्रगति गरे। तर प्रेरित पावलले चाँडै तिनीहरूलाई यसो भन्दै चिठी लेख्नुपऱ्यो: “सत्यलाई मान्न छोड़नू भनेर कसले तिमीहरूलाई रोक्यो?” (गलाती ५:७) एलेक्स नाउँका ठिटोलाई पनि त्यस्तै भयो। “खराब संगतमा लाग्दा” परमेश्वरको वचन अध्ययन गर्न आफूले गरेको प्रयास विफल भयो भनेर उसले स्वीकाऱ्यो। आफ्नो आध्यात्मिक प्रगतिको लागि तपाईंले पनि सायद केही काँटछाँट गर्नु आवश्यक होला।
यसको विपरीत, असल संगतिले तपाईंलाई प्रगति गर्न साँच्चै मदत गर्नसक्छ। हितोपदेश २७:१७ यसो भन्छ: “फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई तिखार्छ।” सच्चाइलाई व्यवहारमा उतार्न मदत गर्ने असल नमूनाहरू खोज्नुहोस्। यस्ता नमूनाहरू तपाईंकै घरमा पनि हुनसक्छन्। जेनिफर भन्ने युवती सम्झिन्छिन्: “हजुरबुबा मेरो अत्युत्तम उदाहरण हुनुहुन्थ्यो। आइतबारको मण्डली पुस्तक अध्ययनको तयारी गर्न उहाँ सधैं तीन घण्टा बिताउनुहुन्थ्यो। उहाँ विभिन्न बाइबल अनुवादहरूमा प्रत्येक शास्त्रपद खोज्नुहुन्थ्यो अनि शब्दकोश पल्टाउनुहुन्थ्यो। उहाँलाई बाइबलका एक एक विवरणसमेत राम्ररी थाह थियो। जे सोधे पनि उहाँ जवाफ दिनुहुन्थ्यो।”
सत्यलाई आफ्नै बनाउनुभयो भने तपाईंले यस्तो बहुमूल्य सम्पत्ति हासिल गर्नुहुनेछ कि तपाईं कुनै पनि हालतमा त्यसलाई बेच्न चाहनुहुनेछैन। अतः सत्यलाई कहिल्यै “आमाबाबुको धर्म” मात्र नठान्नुहोस्। तपाईंको विश्वास भजनरचयिताको जस्तै दृढ हुनुपर्छ जसले यसो भने: “किनकि मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्, तर परमप्रभुले मलाई सह्माल्नुहुनेछ।” (भजन २७:१०) बाइबलले साँच्चै के सिकाउँछ त्यो जानेर, त्यसमा विश्वास गरेर, अरूसित आफ्नो विश्वास बाँडेर अनि सबैभन्दा मुख्य कुरा त, यी विश्वासहरूअनुरूप जीवन यापन गरेर तपाईंले सत्यलाई आफ्नो बनाउनुभएको प्रमाण दिनुहुनेछ।
[फुटनोटहरू]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित यहोवाको प्रशंसा गाउनुहोस्, (अंग्रेजी) गीतिपुस्तक बाट लिइएको हो।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ १४-मा भएको चित्र]
अनुसन्धान तथा व्यक्तिगत अध्ययन गरेर सत्यको प्रमाण आफैलाई दिनुहोस्