झूटा शिक्षकहरूदेखि होशियार!
“तिमीहरूमा पनि झूटा शिक्षकहरू हुनेछन्।”—२ पत्रुस २:१.
१. यहूदाले कुन विषयमा लेख्ने मनसाय राखेका थिए तर पछि तिनले किन विषय बदले?
कस्तो अनौठो! प्रथम शताब्दीको मसीही मण्डलीमा झूटा शिक्षकहरू! (मत्ती ७:१५; प्रेरित २०:२९, ३०) यस्तो हुन्छ भनेर येशूका सौतेनी भाइ यहूदालाई पहिल्यै थाह थियो। तिनले सुरुमा “हाम्रो सहभागी भएको उद्धारको विषयमा” लेख्ने मनसाय राखेका थिए। तर पछि “पवित्र जनहरूलाई सधैंको निम्ति दिएको त्यो विश्वासको निम्ति उत्कटसाथ कम्मर कस भनेर . . . तिमीहरूलाई यस कुराको अर्ती दिएर लेख्न मलाई आवश्यक पऱ्यो” भनेर तिनले बताए। यहूदाले किन आफ्नो विषय बदले? किनकि तिनले भने, “कुनै कुनै मानिसहरू गुप्त रूपले [मण्डली]भित्र घुसेका छन्, . . . जसले हाम्रा परमेश्वरको अनुग्रहलाई लुच्च्याइँमा फिराए।”—यहूदा ३, ४.
२. दोस्रो पत्रुस अध्याय २ र यहूदा किन मिल्दोजुल्दो छ?
२ यसो हेर्दा पत्रुसले आफ्नो दोस्रो पत्र लेखेको केही समयपछि नै यहूदाले पनि पत्र लेखे भन्ने बुझिन्छ। पक्कै पनि यहूदालाई पत्रुसको पत्रमा लेखिएको कुरा थाह थियो। यसैले पत्रुसका जस्तै समान विचारहरू पोखेर सशक्त अनि प्रोत्साहनजनक पत्र लेखे। त्यसकारण २ पत्रुस अध्याय २ लाई जाँच्दा यहूदाको पत्रसित यो कति मिल्दोजुल्दो छ, थाह पाउनेछौं।
झूटो शिक्षाका असरहरू
३. विगतको कुनचाहिं घटना फेरि हुनेछ भनेर पत्रुस भन्छन्?
३ भाइहरूलाई भविष्यवाणीमा ध्यान दिन आग्रह गरिसकेपछि पत्रुस भन्छन्: “तर [पुरातन इस्राएलमा] झूटा अगमवक्ताहरू पनि खड़ा भएजस्तो तिमीहरूमा पनि झूटा शिक्षकहरू हुनेछन्।” (२ पत्रुस १:१४–२:१) पुरातन समयमा परमेश्वरका जनहरूले साँचो भविष्यवाणीहरू सुन्न पाए। तर त्यसका साथै तिनीहरूले झूटा अगमवक्ताहरूका भ्रष्ट शिक्षाहरू विरुद्ध संघर्ष पनि गर्नुपऱ्यो। (यर्मिया ६:१३, १४; २८:१-३, १५) यर्मियाले लेखे, “यरूशलेमका अगमवक्ताहरूमा मैले साह्रै घिनलाग्दो कुरो देखें। तिनीहरू व्यभिचार गर्दछन्, र झूटो चाल चल्छन्।”—यर्मिया २३:१४.
४. झूटा शिक्षकहरू किन विनाशको योग्य छन्?
४ मसीही मण्डलीमा झूटा शिक्षकहरूले के गर्नेछन्, पत्रुस यसरी वर्णन गर्छन्: “जसले तिनीहरूलाई किन्नुभएको मालिकलाई [येशू ख्रीष्ट] समेत इन्कार गरी तिनीहरू आफैमाथि चाँड़ै आउने सत्यानाश ल्याउँदै गुप्त चालले विनाश पार्ने विधर्म ल्याउनेछन्।” (२ पत्रुस २:१; यहूदा ४) प्रथम शताब्दीमा भएको यस्तो गुटबन्दीको परिणाम आजको मसीहीजगत् साबित भएको छ। झूटा शिक्षकहरू पूर्ण विनाशका योग्य किन छन्, पत्रुस प्रस्ट्याउँछन्: “औ धेरै जना तिनीहरूका लुच्चा कामहरूको अनुसरण गर्नेछन्। त्यसको कारणले सत्यको मार्गको बदनाम हुनेछ।”—२ पत्रुस २:२.
५. झूटा शिक्षकहरू के को निम्ति जवाफदेही छन्?
५ यसो विचार गर्नुहोस् त! झूटा शिक्षकहरूको प्रभावले गर्दा मण्डलीका धेरै जना लुच्चा कामहरूमा बिथोलिने रहेछन्। “लुच्चा कामहरू” भनेर अनुवाद गरिएको युनानी शब्दले अनियन्त्रित कामविलास, छाडापन, अश्लीलता, कामुकता, छिल्लिएको भन्ने अर्थ दिन्छ। मसीहीहरू “यस संसारमा अभिलाषाबाट हुने विनाशबाट उ[म्केका थिए]” भनेर पत्रुसले पहिल्यै बताइसकेका थिए। (२ पत्रुस १:४) तर कोही कोही त्यही विनाशतिर फर्कने रहेछन् र त्यसको लागि मुख्यतः मण्डलीका झूटा शिक्षकहरू जिम्मेवार हुने रहेछन्! यसरी सत्यको मार्ग बदनाम हुनेरहेछ। कस्तो दुःखदायी कुरा! तथापि, आज यहोवाका साक्षीहरूले असाध्यै ध्यान दिनुपर्ने विषय यही भएको छ। हाम्रो आचरणले या त यहोवा परमेश्वर र उहाँका जनहरूको प्रशंसा हुनसक्छ या बदनाम भनेर हामीले कहिल्यै बिर्सनु हुँदैन।—हितोपदेश २७:११; रोमी २:२४.
झूटा शिक्षाहरू प्रस्तुत गरिन्छ
६. झूटा शिक्षकहरूलाई के कुराले उत्प्रेरित गर्छ र तिनीहरू आफ्नो चाहना कसरी पूरा गर्न खोज्छन्?
६ अतः झूटा शिक्षकहरूले आफ्ना भ्रष्ट विचार कसरी प्रस्तुत गर्छन्, त्यो विचार गर्नु हाम्रोलागि बुद्धिमानी नै हुन्छ। तिनीहरू सुस्तरी, थाहै नपाइनेगरि छट्टु तरिकाले त्यसो गर्छन् भनी पत्रुस सबैभन्दा पहिले बताउँछन्। तिनी अझै यसो भन्छन्: ‘बनावटी कुराहरूले तिमीहरूलाई लुट्नेछन्।’ झूटा शिक्षकहरू स्वार्थी इच्छाहरूद्वारा उत्प्रेरित हुन्छन् र यस कुरालाई द जेरूशलेम बाइबलले यसरी जोड दिएको छ: “तिमीहरूलाई हातमा पार्न तिनीहरू लालायित हुँदै छली बोली प्रयोग गर्छन्।” त्यसैगरि, जेम्स मोफाटको अनुवाद यसो भन्छ: “आफ्नो लालसा पूरा गर्न तिनीहरूले धूर्त तर्कहरू चलाएर तिमीहरूको शोषण गर्नेछन्।” (२ पत्रुस २:१, ३) आध्यात्मिक तवरमा जागा नरहनेहरूलाई झूटा शिक्षकहरूको कुरा सुनेर घत लाग्ला तर वास्तवमा तिनीहरूले मानिसहरूलाई “हातमा पार्न” र आफ्नो स्वार्थी उद्देश्य पूरा गर्न ती शब्दहरू बडो कौशलतासाथ प्रयोग गरेका हुन्छन्।
७. प्रथम शताब्दीमा कुन दर्शन लोकप्रिय भएको थियो?
७ प्रथम शताब्दीका झूटा शिक्षकहरू त्यसबेलाका सांसारिक विचारधाराले प्रभावित थिए भन्नुमा दुइ मत छैन। पत्रुसले पत्र लेखेको समयतिर नोस्टोसिजम भनिने दर्शन लोकप्रिय भइरहेको थियो। यो दर्शन अपनाउनेहरू आत्मासित सम्बन्धित कुराबाहेक बाँकी सबै खराब छ भन्ने विश्वास राख्थे। त्यसकारण, तिनीहरूमध्ये कसै कसैको आफ्नो भौतिक शरीरसित जे गरे पनि हुन्छ भन्ने धारणा थियो। अन्ततः मानिससित यो भौतिक शरीर नरहने त हो नि भन्ने तर्क तिनीहरू गर्थे। तसर्थ, तिनीहरूले यौनलगायत शारीरिक पापहरूले केही बित्दैन भन्ने निष्कर्ष निकाले। यस्ता दृष्टिकोणहरूले त्यतिबेलाका केही मसीही भनौंदाहरूलाई प्रभाव पारेका थिए जस्तो देखिन्छ।
८, ९. (क) प्रारम्भिक मसीहीहरूलाई कुन टेढो तर्कले असर गऱ्यो? (ख) यहूदाअनुसार मण्डलीमा कसै कसैले के गरिरहेका थिए?
८ “अनुग्रहको” अथवा “दयाको शिक्षालाई बंग्याउनेहरू पनि चर्चमा थिए” भनेर एक जना बाइबलविद्ले भने। (एफिसी १:५-७) तिनको भनाइअनुसार कसै कसैले यस्तो तर्क गर्थे: “के परमेश्वरको [अनुग्रह] हरेक पाप ढाक्नसक्ने, अपारको छ भन्नुभएको हैन र? . . . परमेश्वरले हरेक पाप ढाक्नुहुने भए किन अझै पाप गरी नरहने? अझ भन्ने हो भने, हामी जत्ति धेरै पाप गर्छौं, परमेश्वरको [अनुग्रहको] पनि त्यत्ति नै धेरै प्रयोग हुनेछ।” योभन्दा टेढो तर्क के तपाईंले अहिलेसम्म कतै सुन्नु भएको छ?
९ परमेश्वरको दयाबारे राखिएको गलत धारणालाई प्रेरित पावलले यो प्रश्न गर्दै खण्डन गरे: “के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौं?” तिनले अझै केरकार गरे: “के हामी व्यवस्थाको अधीन होइन, तर अनुग्रहको अधीनमा छौं भनेर पाप गरौं?” यी दुवै प्रश्नको जवाफ तिनले जोडदारसँग दिए: “त्यसो नहोस्”! (रोमी ६:१, २, १५) स्पष्ट छ, यहूदाले भनेअनुसार केही खास व्यक्तिहरूले ‘हाम्रा परमेश्वरको अनुग्रहलाई लुच्च्याइँमा फिराइरहेका थिए।’ तथापि, त्यस्ता व्यक्तिहरूका लागि “विनाशक जागै रहन्छ” भनेर पत्रुस प्रस्ट पार्छन्।—यहूदा ४; २ पत्रुस २:३.
चेताउनीमूलक उदाहरणहरू
१०, ११. पत्रुस कुन तीनवटा चेताउनीमूलक उदाहरण पेश गर्छन्?
१० जानाजानी गल्ती गर्नेहरूलाई परमेश्वरले कारवाही गर्नुहुनेछ भनेर जोड दिन पत्रुस धर्मशास्त्रबाट तीनवटा चेताउनीमूलक उदाहरण पेश गर्छन्। पहिलोबारे तिनी लेख्छन्: “परमेश्वरले पाप गर्ने स्वर्गदूतहरूलाई त बाँकी राख्नुभएन।” तिनीहरूलाई यहूदाले “आफ्नो मर्यादामा नरहने, तर आफ्ना घर-बार छोड़ने स्वर्गदूतहरू” भनेका छन्। जलप्रलय हुनुभन्दा अघि यस पृथ्वीमा आएर मानिसका छोरीहरूसित यौन सम्बन्ध कायम गर्न तिनीहरूले शारीरिक रूप धारण गरेका थिए। तिनीहरूको यो अनुचित, अप्राकृतिक कार्यको दण्डस्वरूप तिनीहरू “टार्टरस” (NW) अथवा यहूदाको विवरणअनुसार “आखिरी दिनको इन्साफको लागि अन्धकारमनि अनन्त बन्धनमा” राखिएका छन्।—२ पत्रुस २:४; यहूदा ६; उत्पत्ति ६:१-३.
११ त्यसपछि पत्रुस नूहको समयका मानिसहरूबारे बताउँछन्। (उत्पत्ति ७:१७-२४) तिनी भन्छन्, नूहको समयमा “अभक्तहरूको संसारमा जलप्रलय गराउनुहुँदा” परमेश्वरले ‘प्राचीन संसारलाई दण्ड दिनुभयो।’ अन्तमा पत्रुस लेख्छन्, परमेश्वरले “सदोम र गमोराका शहरहरूलाई भस्म गर्नुहुँदा अभक्तहरूलाई उदाहरण बनाएर विनाशको दण्ड दिनुभयो।” यी नाश हुने व्यक्तिहरू “व्यभिचारमा परेर बिरानो शरीरको पछि लागेका थिए,” भन्दै यहूदा थप विवरण दिन्छन्। (२ पत्रुस २:५, ६; यहूदा ७) पुरुषहरूले स्त्रीहरूसित अवैध शारीरिक सम्बन्ध गाँस्नुका साथै पुरुषसितै र शायद पशुहरूसितसमेत पनि सम्बन्ध राख्ने लालसा गरे।—उत्पत्ति १९:४, ५; लेवी १८:२२-२५.
१२. पत्रुसअनुसार धर्मी आचरणको इनाम कसरी पाइन्छ?
१२ तर विश्वासी भई उहाँको सेवा गर्नेहरूलाई परमेश्वरले इनाम दिनुहुन्छ भनेर पनि पत्रुस भन्छन्। उदाहरणका लागि, “धर्मका प्रचारक नूह र अरू सात जनालाई” परमेश्वरले कसरी “जोगाउनुभयो,” त्यसबारे तिनी बताउँछन्। यहोवाले सदोमलाई नाश गर्नुहुँदा “धार्मिक लूतलाई” कसरी बचाउनुभयो, त्यसबारे बताउँदै निष्कर्षमा पत्रुस यसो भन्छन्: “यसरी भक्तहरूलाई परीक्षाबाट बचाउन र अभक्तहरूलाई इन्साफको दिनसम्म सजायमा राख्न प्रभु जान्नुहुन्छ।”—२ पत्रुस २:५, ७-९.
दण्डयोग्य कार्यहरू
१३. विशेषगरि क-कसको न्याय हुनेछ र यिनीहरू कस्ता सपनाहरूमा डुबेका छन्?
१३ परमेश्वरले विशेषगरि क-कसको न्याय गर्नुहुनेछ, पत्रुस तोकेरै बताउँछन्: “शरीरअनुसार अशुद्ध इच्छामा चल्नेहरू र प्रभुत्व तुच्छ ठान्नेहरू।” यस्ताहरूलाई “सुरो भएर आफ्ना खुशी गर्नेहरू, उच्च पदाधिकारीहरूको निन्दा गर्न” नडराउनेहरू भनेर पत्रुसले सम्बोधन गर्दा हामी तिनलाई कत्तिको रीस उठेको रहेछ, महसुस गर्नसक्छौं। यहूदाले चाहिं “यी सपना देख्नेहरू आफ्ना शरीरलाई अशुद्ध तुल्याउँछन्, . . . उच्च पदाधिकारीहरूको निन्दा गर्छन्,” भनेर लेख्छन्। (२ पत्रुस २:१०; यहूदा ८) तिनीहरूले देख्ने सपनामा अनैतिक यौनाकांक्षा तृप्त गर्न उस्काउने छाडा कल्पनाहरू समावेश हुनसक्छन्। त्यसो भए, कुन अर्थमा तिनीहरू “उच्च पदाधिकारीहरूको निन्दा गर्न डराउँदैन[न्]” र “उच्च पदाधिकारीहरूको निन्दा गर्छन्”?
१४. कुन अर्थमा झूटा शिक्षकहरू “उच्च पदाधिकारीहरूको निन्दा गर्न डराउँदैन” र “उच्च पदाधिकारीहरूको निन्दा गर्छन्”?
१४ परमेश्वरले नियुक्त गर्नुभएको अख्तियारलाई तुच्छ ठानेर यिनीहरू त्यसो गर्छन्। मसीही प्राचीनहरूले महिमावान् यहोवा परमेश्वर र उहाँको पुत्रको प्रतिनिधित्व गर्छन्। त्यसैकारण तिनीहरूलाई पनि विशेष महिमा प्रदान गरिएको छ। हो, तिनीहरू पनि पत्रुसले जस्तै गल्ती गर्छन्। तैपनि, धर्मशास्त्रले मण्डलीका सदस्यहरूलाई यस्ता महिमित जनहरूको अधीनमा बस्न आग्रह गर्छ। (हिब्रू १३:१७) तिनीहरूका कमजोरीहरूको आडमा तिनीहरूबारे मनपरी बोल्ने छुट हामी पाउँदैनौं। पत्रुस भन्छन्, जायज भए तापनि स्वर्गदूतहरू “[झूटा शिक्षकहरूलाई] निन्दा गरेर दोष दिंदैनन्।” पत्रुस अझै भन्छन्, “तर यिनीहरू चाहिं आफैलाई ज्ञान नभएका कुरालाई निन्दा गर्ने बेसमझका प्राणीहरूझैं पकराउ परेर नाश हुनालाई चैतन्यहीन पशुझैं यी आफ्ना सड़ाइले, [सड्नेछन्।]”—२ पत्रुस २:१०-१३.
‘प्रीति-भोजमा तिमीहरूसँगै भएर खानालाई’
१५. झूटा शिक्षकहरूले अरूलाई फसाउन के के गर्छन् र कसलाई आफ्नो शिकार बनाउँछन्?
१५ यी भ्रष्ट मानिसहरू “दिनकै बेलामा पनि मोज गर्न सुख-विलास सम्झ[न्छन्]” र यिनीहरू “दाग र कलङ्क” हुनुका साथै छली पनि छन्। पत्रुसले पहिल्यै बताएझैं यिनीहरूले “बनावटी कुराहरू” प्रयोग गर्दै “गुप्त चालले” काम गर्छन्। (२ पत्रुस २:१, ३, १३) अतः प्राचीनहरूले परमेश्वरको नैतिक स्तरलाई कायम गर्ने प्रयास गर्दा यिनीहरूले खुल्लमखुल्ला हाँक नदिएका वा खुल्लमखुल्ला आफ्ना यौनाकांक्षा तृप्त नगरेका हुनसक्छन्। तर पत्रुसले यिनीहरूलाई “तिनीहरूका प्रीति-भोजमा तिनीहरूसँगै भएर खानालाई सुख-विलास सम्झने[हरू]” भनेका छन्। अनि यहूदाले “यीचाहिं तिमीहरूका प्रीति-भोजमा खान बस्ने [“पानीमुनि लुकेका चट्टानहरू,” NW] हुन्” भनी लेखेका छन्। (यहूदा १२) हो, पानीमुनि लुकेका धारिला चट्टानहरूले नौकाको पींधमा प्वाल पारेर असावधान नाविकलाई डुबाएझैं झूटा शिक्षकहरूले असावधानहरूलाई “प्रीति-भोजमा” देखावटी माया गरेर भ्रष्ट पार्दै थिए।
१६. (क) “प्रीति-भोज” के हुन् र त्यस्तै खाले कस्ता अवसरहरूमा आज अनैतिक व्यक्तिहरू आफ्नो शिकार खोज्छन्? (ख) झूटा शिक्षकहरू कसलाई ताक्छन् र तिनीहरूबाट बच्न के गर्नुपर्छ?
१६ स्पष्टतया यी “प्रीति-भोज” प्रथम शताब्दीका मसीहीहरू एकसाथ भेला भएर खानपिन र रमाइलो गर्ने सामाजिक जमघट थिए। आज पनि यहोवाका साक्षीहरू विवाह भोजमा, वनभोजमा वा साँझपख भेला हुन्छन्। यस्ता अवसरहरूमा भ्रष्ट व्यक्तिहरूले कसै कसैलाई कसरी आफ्नो शिकार बनाउँछन्? पत्रुस लेख्छन्, “तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्। तिनीहरूले चञ्चल प्राणलाई फुस्लाउँछ।” सत्यलाई दृढतासाथ अपनाउन नसकेका र आध्यात्मिकतामा स्थिर नभएकाहरूलाई जालमा पार्न यिनीहरूको “हृदयले लोभमा तालिम पाएका हुन्छन्।” त्यसकारण, पत्रुसको जमानाका घटनालाई पूर्वचेताउनी मानेर सतर्क हुनुहोस्! अरूले गलत काम गर्ने सुझाउ दिन खोज्दा घोर विरोध गर्नुहोस्। तपाईंसँग अनैतिक सम्बन्ध राख्न नजीक हुन खोज्ने व्यक्तिहरूको रूपरंग वा व्यवहार देखेर आकर्षित नहुनुहोस्!—२ पत्रुस २:१४.
‘बालामको मार्ग’
१७. ‘बालामको मार्ग’ के हो र त्यसले २४,००० इस्राएलीहरूलाई कसरी असर गऱ्यो?
१७ यी “श्रापित” व्यक्तिहरूले कुनै समय सच्चाइलाई चिनेका थिए। तिनीहरू अहिले पनि मण्डलीमा सक्रिय देखा पर्लान्। तर पत्रुस भन्छन्, “सोझो मार्ग छोड़ेर तिनीहरू कुमार्गमा लागेका छन्। खराब कामको ज्याला असल मान्ने बोअरको छोरो बालामको पछि लागेका छन्।” (२ पत्रुस २:१४, १५) अगमवक्ता बालामको मार्ग आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिको लागि अनैतिकतामा फसाउने सल्लाह दिनु थियो। इस्राएलीहरूलाई व्यभिचारमा फसायो भने परमेश्वरले तिनीहरूलाई श्राप दिनुहुनेछ भनेर त्यसले मोआबी राजा बालाकलाई बताएको थियो। फलस्वरूप, परमेश्वरका धेरै जनहरू मोआबी स्त्रीहरूको बहकाउमा परे र आफ्नो अनैतिक कार्यको कारण २४,००० जना मारिए।—गन्ती २५:१-९; ३१:१५, १६; प्रकाश २:१४.
१८. बालामले पाएको दण्डले झूटा शिक्षकहरूलाई कस्तो पूर्वाभास दिन्छ?
१८ पत्रुस भन्छन्, आफू चढेको गधाले बोल्दा बालामले गलत काम छाडेर असल मार्गमा लाग्ने मौका पाएको थियो। तर यस्तो हुँदा पनि “खराब कामको ज्याला असल मान्ने” बालामले आफ्नो “पागलपना” त्यागेन। (२ पत्रुस २:१५, १६) कत्ति दुष्ट! बालामले जस्तै परमेश्वरको जनलाई अनैतिकतामा फसाएर भ्रष्ट पार्न खोज्ने जोसुकैलाई धिक्कार! कुकर्मको कारण बालाम मऱ्यो। त्यसको मार्ग पछ्याउनेहरूको गति पनि त्यस्तै हुनेछ भन्ने झलक यसले दिन्छ।—गन्ती ३१:८.
तिनीहरूका शैतानी बहकाउ
१९, २०. (क) बालामजस्ताहरूलाई कोसित तुलना गरिएको छ र किन? (ख) तिनीहरू कसलाई लोभ्याउँछन्? (ग) तिनीहरूको बहकाउने तरिका शैतानी हो भनी हामी किन भन्नसक्छौं र हामीले आफूलगायत अरूलाई तिनीहरूको फन्दामा पर्नदेखि कसरी जोगाउनसक्छौं?
१९ बालामजस्ता व्यक्तिहरूबारे व्याख्या गर्दै पत्रुसले लेखे: “यिनीहरू पानी विनाका मुहान [वा, कुवा], र आँधीले उड़ाएका कुइरो [वा, बादल] हुन्।” मरुभूमिको कुवा सुक्खा भयो भने प्यासी यात्रु मर्न पनि सक्छ। त्यसैकारण यस्ताहरूको निम्ति “अनन्त अन्धकार साँचिराखेको छ,” भन्नु अचम्मको कुरा होइन! “किनकि,” पत्रुस अझै भन्छन्, “व्यर्थका हठी कुराहरू उच्चारण गर्दै, भ्रममा रहनेहरूबाट उम्कन लागेकाहरूलाई तिनीहरूले आफ्ना लालसाले शरीरका कुइच्छामा लोभ्याउँछन्।” अनि यिनीहरू “आफै विनाशका दास भईकन” पनि अनुभवहीनहरूलाई “स्वतन्त्रताको प्रतिज्ञा” गर्दै बहकाउँछन् भनी पत्रुस अझ बताउँछन्।—२ पत्रुस २:१७-१९; गलाती ५:१३.
२० यस्ता भ्रष्ट शिक्षकहरूको बहकाउने तरिकाहरू शैतानी छन्। तिनीहरू यस्तै केही भन्लान्: ‘हामी कमजोर र कामुक छौं भनेर परमेश्वरलाई थाह छ। त्यसकारण, हाम्रा यौनाकांक्षा तृप्त गर्ने तर्फ लाग्यौं भने पनि परमेश्वरले दया देखाइहाल्नुहुनेछ। हामीले आफ्नो पाप स्वीकाऱ्यौं भने, हामी भर्खर भर्खरै सच्चाइमा आउँदा माफ गर्नुभएझैं परमेश्वरले अहिले पनि माफ गर्नुहुनेछ।’ सम्झनुहोस् त, हव्वासित कुरा गर्दा दियाबलले पनि यस्तै केही भनेको थियो। त्यसले हव्वालाई पाप गऱ्यो भने पनि दण्डसजाय भोग्नुपर्ने छैन भनी वचन दिएको थियो। परमेश्वर विरुद्ध पाप गऱ्यो भने हव्वाले ज्ञानबुद्धि तथा स्वतन्त्रता पाउँछे भन्ने दाबा पनि त्यसले गऱ्यो। (उत्पत्ति ३:४, ५) मण्डलीमा यस्तै भ्रष्ट मानिस भेट्टायौं भने हामीले आफूलगायत अरूलाई जोगाउन त्यस्ता मानिसबारे मसीही मण्डलीका जिम्मेवार व्यक्तिहरूलाई खबर गरिहाल्नु हाम्रो दायित्व हो।—लेवी ५:१.
सही ज्ञानले जोगाइएका
२१-२३. (क) सही ज्ञान व्यवहारमा नउतार्दा के हुन्छ? (ख) यसपछिको लेखमा विचार गरिने अर्को कुन समस्याबारे पत्रुस छलफल गर्छन्?
२१ आफ्नो पत्रको सुरुमा पत्रुसले “जीवन र भक्ति[का]” लागि सही ज्ञान अत्यावश्यक छ भनेका थिए। अब त्यही ज्ञान व्यवहारमा नउतार्दा हुने नतिजा बताउँदै पत्रुस आफ्नो पत्रको अंशलाई टुंग्याउँछन्। (२ पत्रुस १:२, ३, ८) तिनी लेख्छन्: “किनकि हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिन्ने [सही] ज्ञानद्वारा यस संसारको अशुद्धपनाबाट उम्केपछि तिनीहरू फेरि तिनैमा अल्झिएर पराजित हुन्छन् भनेता तिनीहरूका निम्ति पछाड़िको अवस्था अगाड़िको भन्दा झन् खराब हुन्छ।” (२ पत्रुस २:२०) कत्ति दुःखलाग्दो! पत्रुसको समयका यस्ता व्यक्तिहरूले क्षणिक यौनाकांक्षा तृप्त गर्न अविनाशी स्वर्गीय जीवनको बहुमूल्य आशालाई लत्याए।
२२ त्यसकारण पत्रुस भन्छन्: “तिनीहरूलाई दिइएको पवित्र आज्ञा जानीकन पनि पछि हट्नुभन्दा ता बरू धार्मिकताको मार्ग तिनीहरूलाई थाहै नभएको असल हुनेथियो।” “यो सत्य उखानअनुसारै तिनीहरूलाई यो भएको छ, ‘कुकुर आफ्नै बान्तामा फर्की आउँछ, र नुहाइदिएको भुनी हिलैमा लड़बड़ी खेल्छ।’ ”—२ पत्रुस २:२१, २२; हितोपदेश २६:११.
२३ प्रारम्भिक मसीहीहरूलाई एउटा अर्को समस्याले पनि पिरोल्न थालिसकेको थियो। त्यही समस्याले आज कसै कसैलाई पिरोलिरहेको छ। ख्रीष्ट उपस्थित हुनुहुने भनेर प्रतिज्ञा गरिएको समय ढिलो हुने छाँट देखिएको छ भनेर स्पष्टतः त्यतिखेर कोही कोही गनगनाउन थालेका थिए। त्यसबारे पत्रुस के भन्छन्, आउनुहोस्, हामी जाँचौं।
के तपाईंलाई सम्झना छ?
◻ पत्रुस कुन तीन चेताउनीमूलक उदाहरण उल्लेख गर्छन्?
◻ झूटा शिक्षकहरू कसरी “उच्च पदाधिकारीहरूको निन्दा” गर्छन्?
◻ बालामको मार्ग के हो र यसलाई पछ्याउनेहरूले अरूलाई कसरी बहकाउने कोसिस गर्छन्?
◻ सही ज्ञान व्यवहारमा नउतार्नेहरूको नतिजा के हुन्छ?
[पृष्ठ १६, १७-मा भएको चित्र]
बालाम चेताउनीमूलक उदाहरण हो