-
“तिनले परमेश्वरलाई खुसी पारेका थिए”प्रहरीधरहरा (जन संस्करण)—२०१७ | सङ्ख्या १
-
-
हनोकले “तिनीहरूको विषयमा भविष्यवाणी गरेका थिए”
परमेश्वरमा विश्वास नगर्ने संसारमा बाँच्नुपर्दा हनोकलाई एकदमै एक्लो महसुस भएको हुन सक्छ। तर के यहोवा परमेश्वरले तिनलाई याद गर्नुभयो? हो, गर्नुभयो। उहाँले आफ्ना यी विश्वासी सेवकसित कुरा गर्नुभयो। यहोवाले हनोकलाई त्यतिबेलाका मानिसहरूलाई सुनाउने सन्देश दिनुभयो अनि तिनलाई भविष्यवक्ता नियुक्त गर्नुभयो। तिनी नै बाइबलमा उल्लेख गरिएको पहिलो भविष्यवक्ता थिए जसले भविष्यवाणी गरेको सन्देश बाइबलमा रेकर्ड गरिएको छ। हनोकले गरेको भविष्यवाणीबारे सयौं वर्षपछि येशूका भाइ यहूदाले परमेश्वरबाट प्रेरणा पाएर लेखे।a
हनोकले कस्तो भविष्यवाणी गरे? तिनले यसो भने: “हेर, यहोवा आफ्ना लाखौं-लाख पवित्र स्वर्गदूतहरूसित सबैलाई दण्ड दिन, दुष्टहरूलाई तिनीहरूका सबै दुष्ट कामहरूको दोषी ठहराउन अनि दुष्ट पापीहरूलाई उहाँविरुद्ध बोलेका सबै घिनलाग्दा कुराहरूको सजाय दिन आउनुभयो।” (यहूदा १४, १५) सायद तपाईंले हनोकको भविष्यवाणीमा भूतकाल प्रयोग भएको याद गर्नुभयो होला। मतलब भविष्यवाणीमा भनिएको कुरा परमेश्वरले पहिल्यै पूरा गरिसक्नुभएको तरिकामा तिनले बताएका छन्। हनोकपछिका धेरैजसो भविष्यवक्ताले यही शैली अपनाए। यी भविष्यवक्ता आफूले गरेको भविष्यवाणी पक्कै पूरा हुनेछ भन्ने कुरामा विश्वस्त भएकोले तिनले यसलाई पहिल्यै पूरा भइसकेको तरिकामा बताए।—यशैया ४६:१०.
मानिसहरूलाई त्यो चेतावनी सुनाउँदा हनोकलाई कस्तो लाग्यो होला? त्यो चेतावनी एकदमै सशक्त थियो। तिनले मानिसहरू र तिनीहरूको क्रियाकलापलाई बुझाउन धेरै पटक “दुष्ट” भन्ने शब्द प्रयोग गरे। अदनको सुन्दर बगैंचा गुमेपछिको संसार एकदमै भ्रष्ट भइसकेको कुरा त्यो भविष्यवाणीले बुझाउँथ्यो। यहोवाले आफ्ना “लाखौं-लाख पवित्र स्वर्गदूतहरू” चलाएर त्यस दुष्ट संसारलाई नाश गर्नुहुने थियो। हनोक एक्लैले निडर भएर यो चेतावनी सुनाए। आफ्नो हजुरबुबा हनोकले साहसी भई प्रचार गरेको देख्दा लेमेक छक्क परेका हुन सक्छन्!
हनोकको विश्वासले हामीलाई यस्तो प्रश्न सोध्न उत्प्रेरित गराउँछ: ‘संसारप्रति परमेश्वरको जुन दृष्टिकोण छ, के हाम्रो पनि त्यही दृष्टिकोण छ?’ हनोकले निडर भई सुनाएको चेतावनी आजको संसारमा पनि लागू हुन्छ। हनोकले चेतावनी दिएअनुरूपै यहोवाले नूहको समयमा जलप्रलयद्वारा दुष्ट मानिसहरूलाई नाश गर्नुभयो। त्यो विनाश अब आउनै लागेको अझ ठूलो विनाशको नमुना थियो। (मत्ती २४:३८, ३९; २ पत्रुस २:४-६) त्यतिबेलाजस्तै यस दुष्ट संसारलाई परमेश्वरले लाखौं-लाख स्वर्गदूत चलाएर नाश गर्नुहुनेछ। त्यसकारण हनोकले दिएको चेतावनीलाई हामीले हल्कासित लिनु हुँदैन र यसबारे अरूलाई पनि सुनाउनुपर्छ। हाम्रा परिवारका सदस्यहरू र इष्ट-मित्रहरूको विश्वास बेग्लै हुन सक्छ अनि हामी कहिलेकाहीं एक्लो महसुस गर्न सक्छौं। तर यहोवाले हनोकको साथ कहिल्यै छोड्नु भएन अनि अहिले पनि उहाँ आफ्ना सेवकहरूको साथ छोड्नु हुन्न।
-
-
“तिनले परमेश्वरलाई खुसी पारेका थिए”प्रहरीधरहरा (जन संस्करण)—२०१७ | सङ्ख्या १
-
-
a हनोकको किताब नाम दिइएको एउटा किताबबाट यहूदाले यस्ता विवरण उल्लेख गरेका हुन सक्छन् भनेर केही शास्त्रविद्हरू भन्ने गर्छन्। तर त्यो किताबमा लेखिएका कुराहरू भरपर्दा छैनन्। त्यो किताब हनोकले लेखेको भन्ने कुरा पनि झूटो हो। त्यो किताबको लेखक को हो र कहिले लेखियो, कुनै आधिकारिक प्रमाण छैन। तर त्यस किताबमा हनोकले गरेको भविष्यवाणी भने सही तरिकामा उल्लेख गरिएको छ। त्यो भविष्यवाणी प्राचीन समयको कुनै लिखित वा मौखिक स्रोतबाट लिइएको हुन सक्छ तर अहिले त्यो स्रोत अस्तित्वमा छैन। यहूदाले त्यही प्राचीन स्रोत प्रयोग गरेका हुन सक्छन् वा येशू ख्रीष्टबाट थाह पाएका हुन सक्छन्। किनभने येशूले हनोकलाई स्वर्गबाट हेरिरहनुभएको थियो।
-