सुदिन फर्किंदैछ
“हामीसँग एक-शून्य-एक छ,” एउटी महिला भन्छिन्। “तर मेरो स्थिति झनै दयनीय छ। मसित केवल शून्य-शून्य-एक छ,” तिनकी संगिनी जवाफ दिन्छिन्।
पश्चिम अफ्रिकाका केही भागहरूमा उपरोक्त कुराकानी बुझ्न गाह्रो छैन। दिनको तीन छाक (एक-एक-एक) खाने औकात नहुने मानिसले एक-शून्य-एक अर्थात् बिहान र बेलुकी दिनको दुइ छाक मात्र खानसक्छन्। शून्य-शून्य-एक हुने जवान मानिस आफ्नो स्थिति यसरी वर्णन गर्छन्: “म दिनको एक छाक खान्छु। मेरो फ्रिजमा पानीबाहेक अरू केही छैन। बेलुकी सुत्नअघि गारी [एक प्रकारको कन्दमुल] खान्छु। अहिलेसम्म जसोतसो खाँचो टारिरहेको छु।”
यस्तै दुर्दशा हुने मानिसहरू आज दिनानुदिन बढ्दैछन्। भाउबेसाह बढ्छ तर पैसाको क्रय शक्ति भने बढ्दैन।
खाद्यान्न अभावको अगमवाणी
प्रेरित यूहन्नाले पाएका दर्शनहरूको श्रृंखलामा आज मानवजातिले सामना गरिरहेका कठिन परिस्थितिहरूबारे परमेश्वरले अगमवाणी गर्नुभएको थियो। तीमध्ये एक खाद्यान्न अभाव थियो। यसबारे यूहन्ना यसो भन्छन्: “मैले हेरें, र एउटा कालो घोड़ा देखें, र त्यसमाथि बस्नेको हातमा एउटा तराजु थियो।” (प्रकाश ६:५) यो डरलाग्दो घोडा र घोडचढीले अनिकाललाई चित्रण गर्छ। अर्को शब्दमा भन्ने हो भने खानेकुराहरू तराजुमा जोखी जोखी वितरण गर्नुपर्ने स्थितिसम्म खाद्यान्न अभाव हुनेछ।
त्यसपछि प्रेरित यूहन्ना यसो भन्छन्: “औ मैले . . . एउटा यसो भन्ने आवाज सुनें, ‘एक दिनारको एक क्रोनिक्स गहुँ, र एकदिनारको तीन क्रोनिक्स जौ।’” यूहन्नाको समयमा एक जना सिपाहीले प्रतिदिन एक क्रोनिक्स गहुँ राशन र एक दिनार ज्याला पाउँथ्यो। तसर्थ, रिचर्ड वेमाउथ उपरोक्त पदलाई यसरी अनुवाद गर्छन्: “एउटा सिंगो पाउरोटीको मूल्य दिनभरिको ज्याला र जौका तीन रोटीहरूका मूल्य दिनभरिको ज्याला।”—प्रकाश ६:६.
आज दिनभरिको ज्याला कति छ? स्टेट अफ वर्ल्ड पपुलेशन, १९९४ नामक प्रतिवेदनले यस्तो टिप्पणी गर्छ: “एक अरब १० करोड मानिसहरू अर्थात् विकासोन्मुख राष्ट्रहरूका ३० प्रतिशत मानिसहरूले प्रतिदिन १ अमेरिकी डलर ज्याला पाउँछन्।” यसप्रकार शाब्दिक अर्थमा पनि संसारका गरिब मानिसहरूले एक दिनको ज्यालाले औसतन एउटा सिंगो पाउरोटीबाहेक अरू केही किन्न सक्दैनन्।
निस्सन्देह, असाध्यै गरिबहरूका लागि यो नौलो कुरा होइन। “हामी पाउरोटीलाई छुन पनि सक्दैनौं। आजकल पाउरोटी त महंगो भोजन भएको छ,” एक जना मानिस भन्छन्।
हास्यास्पद कुरा त के छ भने, वास्तवमा खाद्यान्न अभाव छैन। स.रा.सं.-को श्रोतअनुसार गत दश वर्षभित्र विश्व खाद्य उत्पादन २४ प्रतिशतले वृद्धि भएको थियो र यो वृद्धि विश्व जनसंख्याभन्दा बढी थियो। तथापि, यस्तो खाद्यान्न वृद्धिबाट सबैले आनन्द उठाउन पाएनन्। उदाहरणको लागि, अफ्रिकामा खाद्यान्न उत्पादन ५ प्रतिशत मात्र घट्यो भने जनसंख्या चाहिं ३४ प्रतिशत वृद्धि भयो। अतः विश्वव्यापी तवरमा प्रशस्त खाद्यान्न भए तापनि अधिकांश देशहरूमा खाद्यान्न अभाव यथावत् छ।
खाद्यान्न अभावको अर्थ हो, महंगी। त्यसमाथि रोजगारको कमी तथा बढ्दो मुद्रास्फीतिले गर्दा जे जति खाद्यान्न छ, त्यो पनि किन्न नसक्ने हुन्छ। ह्युमन डिभेलपमेन्ट रिपोर्ट १९९४ यसो भन्छ: “मानिसहरू भोजन नभएर होइन तर भोजन किन्न नसकेकोले भोका हुन्छन्।”
अतः मानिसहरू झन् झन् खिन्न, दिक्क र हतोत्साही भएका छन्। पश्चिम अफ्रिकामा बस्ने ग्लोरी नाउँकी एउटी महिलाले यसो भनिन्, “मानिसहरू वर्तमान समय खराब छ भन्छन् तर भोलि झनै खराब हुनेछ।” सोही मुलककी अर्की महिलाले यसो भनिन्: “मानिसहरू ठूलो विपत्ति नजीकिंदै गएको महसुस गर्छन्। र कुनै दिन बजारमा सिन्कोसमेत बाँकी हुनेछैन भन्ठान्छन्।”
विगतमा यहोवाले आफ्ना सेवकहरूको ख्याल राख्नुभयो
यहोवाले आफ्ना विश्वासी जनहरूको आवश्यकता पूरा गर्नुहुन्छ अनि कठिन परिस्थिति जेल्ने बल दिनुहुन्छ भनेर परमेश्वरका सेवकहरूलाई थाह छ। वास्तवमा परमेश्वरसित त्यस्तो क्षमता छ भनेर भरोसा गर्नु तिनीहरूको विश्वासको अत्यावश्यक भाग हो। यसबारे प्रेरित पावल यो लेख्छन्: “जो परमेश्वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने अवश्य विश्वास गर्नुपर्छ।”—हिब्रू ११:६.
यहोवाले सधैं आफ्ना विश्वासी सेवकहरूको ख्याल राख्नुभएको छ। साढे तीन वर्षसम्म अनिकाल पर्दा यहोवाले अगमवक्ता एलियालाई खुवाउनुभयो। प्रारम्भमा परमेश्वरले कागहरूलाई रोटी र मासु ल्याएर एलियालाई दिने आज्ञा गर्नुभयो। (१ राजा १७:२-६) पछि, यहोवाले चमत्कारपूर्ण ढंगमा एउटी विधवाको भाँडोमा तेल र पीठो भरिदिनुभयो र तिनले एलियालाई खुवाइन्। (१ राजा १७:८-१६) यसै समयतिर दुष्ट रानी ईजेबेलले घोर धार्मिक सतावट ल्याउँदा यहोवाले आफ्ना अगमवक्ताहरूका लागि भोजन र पानीको प्रबन्ध गर्नुभयो।—१ राजा १८:१३.
पछि, बाबेलका राजाले धर्मत्यागी यरूशलेममाथि कब्जा गर्दा मानिसहरूले “जोखी जोखीकन डराउँदै रोटी” खानुपऱ्यो। (इजकिएल ४:१६) अन्ततः स्थिति कतिसम्म खराब भयो भने केही स्त्रीहरूले आफ्ना छोराछोरीहरूको मासुसमेत खाए। (विलाप २:२०) त्यतिबेला यर्मिया अगमवक्ता आफ्नो प्रचार कार्यले गर्दा हिरासतमा थिए। तापनि यहोवाले “शहरका जम्मै रोटी नसकूञ्जेलसम्म बजारको पसलबाट दिनहुँ एउटा एउटा रोटी तिनलाई [यर्मिया]” दिने प्रबन्ध मिलाउनुभयो।—यर्मिया ३७:२१.
जम्मै रोटी सकेपछि के यहोवाले यर्मियालाई बिर्सनुभयो? सम्भवतः बिर्सनुभएन। किनभने यरूशलेम बाबेलको हातमा पर्दा यर्मियालाई ‘खाने भत्ता र उपहार दिएर छोडिदिएका थिए।’—यर्मिया ४०:५, ६; भजन ३७:२५ पनि हेर्नुहोस्।
आज परमेश्वरले आफ्ना सेवकहरूलाई सहयोग गर्नुहुन्छ
बितेका समयमा जस्तै आज पनि भौतिक तथा आध्यात्मिक तवरमा आफ्ना सेवकहरूको ख्याल राख्नुभएर यहोवाले तिनीहरूलाई सँभाल्नुहुन्छ। उदाहरणको लागि, पश्चिम अफ्रिकाका लामिटुन्डेको अनुभवलाई लिनुहोस्। तिनी यसो भन्छन्: “म कुखुरा पालन गर्थें र मसित निकै कुखुराहरू थिए। तर एक दिन डाँकाहरूले सबैजसो कुखुरा, आपत्कालीन स्थितिका लागि तैयार राखेको जेनरेटर र भएभरको पैसा लुटेर लगे। केही दिनभित्रै बचेखुचेका कुखुराहरू पनि रोगले मरे। मेरो कुखुरा व्यापार पूरै चौपट भयो। जागिर खोजें तर दुई वर्षसम्म कतै जागिर पाइनँ। जीवन धान्न साँच्चै गाह्रो थियो तैपनि यहोवाले हामीलाई सँभाल्नुभयो।
“हामीलाई अझ राम्ररी खार्न यहोवाले कठिन परिस्थितिहरू हुन दिनुहुन्छ भनेर थाह भएकोले मलाई कठिन परिस्थिति सहन त्यति गाह्रो भएन। मेरी पत्नी र मैले पारिवारिक बाइबल अध्ययन कायम राख्यौं र त्यसले हामीलाई निकै मदत पुऱ्यायो। प्रार्थनाले पनि धेरै बल दियो। कहिलेकाहीं प्रार्थना गर्न पटक्कै मन लाग्दैन थियो। तर प्रार्थना गर्दा मन हलुका हुन्थ्यो।
“ती कठिन समयमा मैले शास्त्रमाथि मनन गर्नु कति अनमोल रहेछ, त्यो पनि सिकें। म प्रायजसो भजन २३ सोच्ने गर्थें। जहाँ यहोवालाई हाम्रो गोठालो भनी सम्बोधन गरिएको छ। मलाई प्रोत्साहनजनक लागेको अर्को पद हो, फिलिप्पी ४:६, ७, जहाँ ‘परमेश्वरको शान्तिले सारा समझलाई माथ गर्छ’ भनेर उल्लेख गरिएको छ। पहिलो पत्रुस ५:६, ७ ले पनि मलाई निकै ढाडस दियो। त्यहाँ यसो भनिएको छ: ‘परमेश्वरको बलवान बाहुलीमनि तिमीहरूले आफैलाई नम्र तुल्याओ, र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नहुनेछ। तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।’ यी पदहरूले मलाई कठिन समयहरूमा मदत गऱ्यो। बाइबलका पदहरू मनन गर्दा निराशाजनक कुराहरू हटाउन सकिने रहेछ।
“अहिले म फेरि जागिर खाँदैछु तर इमानदारीपूर्वक भन्ने हो भने मेरो परिस्थिति यथावत् छ। बाइबलले २ तिमोथी ३:१-५ मा भविष्यवाणी गरेझैं हामी ‘आखिरी दिनको डरलाग्दो समयमा’ बाँचिरहेका छौं। शास्त्रपदले भनेको कुरा हामी परिवर्तन गर्न सक्दैनौं। अतः जीवन बिताउनु सजिलो होला भन्ने आशा म गर्दिनँ। तर यहोवाको आत्माले मलाई सहने मदत गरिरहेको छ भनेर चाहिं अवश्य महसुस गर्छु।”
हामी डरलाग्दो समयमा बाँचिरहेका छौं। तर यहोवा र उहाँको छोरा एवम् राजा, येशू ख्रीष्टमाथि भरोसा गर्नेजति निराश हुनेछैनन्। (रोमी १०:११) स्वयम् येशूले हामीलाई यस्तो आश्वासन दिनुहुन्छ: “यसैकारण म तिमीहरूलाई भन्दछु, ‘हामी के खाउँला, कि के पिऔंला भनी आफ्नो प्राणको निम्ति र आफ्नो शरीरको निम्ति के लगाउँला भनी तिमीहरू फिक्री नगर।’ के प्राण खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन? आकाशका चरा-चुरुंगीहरूलाई हेर। तिनीहरूले नता बिउ छर्छ, न अन्न काट्छ। न भकारीहरूमा बटुल्छ, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा श्रेष्ठ होइनौ? औ तिमीहरूमध्ये कुनचाहिंले फिक्री गरेर आफ्नो कदमा एक हात थप्नसक्छौ? अनि लुगा-फाटाको निम्ति तिमीहरू किन फिक्री मान्दछौ?”—मत्ती ६:२५-२८.
यी डरलाग्दो समयमा उपरोक्त प्रश्नहरूले निश्चय नै हाम्रो अन्तरआत्मालाई झकझकाउँछ। तर येशूले यी आश्वासनदायी शब्दहरू पनि भन्नुभयो: “मैदानको लिली फूललाई विचार गर, ती कसरी बढ़दछन्। ती न परिश्रम गर्दछ, न धागो कात्तछ, तैपनि म तिमीहरूलाई भन्दछु, सुलेमान राजा पनि आफ्ना सारा गौरवमा यिनीहरूमध्ये एउटा जत्ति सिंगारिएका थिएनन्। परमेश्वरले आज हुने र भोलि चुल्हामा फालिने मैदानका घाँसलाई यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो के तिमीहरूलाई झन् बढ़ता गरी उहाँले पहिराउनुहुनेछैन र? यसकारण के खाउँला? कि के पिऔंला? कि के पहिरौंला?’ भनेर फिक्री नगर, किनकि अन्यजातिहरूले मात्र यी सब थोक खोज्दछन्। किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।”—मत्ती ६:२८-३३.
सुदिन फर्किंदैछ
संसारका धेरैजसो भागहरूमा खस्कँदै गइरहेको आर्थिक तथा सामाजिक परिस्थितिले झन् झन् विकराल रूप लिनेछ भनेर हर तवरमा प्रष्ट भइरहेको छ। यद्यपि, यी परिस्थितिहरू क्षणिक हुन् भनी परमेश्वरका जनहरूलाई थाह छ। राजा सुलेमानको महिमित राज्यले तिनीभन्दा महान् राजाको धार्मिक शासनलाई पूर्वचित्रण गर्छ र चाँडै नै उहाँले पूरै पृथ्वीमा राज्य गर्नुहुनेछ। (मत्ती १२:४२) त्यो राजा, “राजाहरूका महाराजा, र प्रभुहरूका महाप्रभु,” येशू ख्रीष्ट हुनुहुन्छ।—प्रकाश १९:१६.
भजन ७२ ले येशू ख्रीष्टको वैभवशाली शासनको वर्णन गर्छ, जसको प्रारम्भिक पूर्ति राजा सुलेमानमाथि भएको थियो। ख्रीष्ट राजा हुनु भएपछि पृथ्वीको भविष्य कस्तो हुनेछ, त्यसबारे भविष्यवाणी गरिएका केही अद्भुत कुराहरूलाई अब ध्यान दिनुहोस्।
विश्वव्यापी शान्ति: “उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ। एक समुद्रदेखि अर्को समुद्रसम्म उसको साम्राज्य हुनेछ। र यूफ्रेटिस नदीदेखि पृथ्वीको पल्लो छेउसम्म रहनेछ।”—भजन ७२:७, ८.
निर्धाहरूप्रति चिन्ता: “दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।”—भजन ७२: १२-१४.
प्रशस्त भोजन: “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्न हुनेछ। त्यसको फल लबानोनको देवदारूझैं हल्लिनेछन्।”—भजन ७२:१६.
पृथ्वी यहोवाको महिमाले भर्नेछ: “परमप्रभु, इस्राएलका परमेश्वर धन्यका होऊन्, उहाँले मात्र उदेकको काम गर्नुहुन्छ। उहाँको पराक्रमी नाउँ सदा सर्वदै धन्यको होस्।”—भजन ७२:१८, १९.
अत: साच्चै नै सुदिन फर्किंदैछ।