साँचो उपासकहरूको ठूलो भीड—तिनीहरू कहाँबाट आएका छन्?
“हेर, . . . हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़, सिंहासन र थुमाको अगाड़ि . . . उभिरहेका मैले देखें।”—प्रकाश ७:९.
१. प्रकाशको पुस्तकमा दिइएको भविष्यसूचक दर्शनहरू आज हाम्रो लागि ठूलो चासोको कुरा किन हो?
प्रेरित यूहन्नाले सा.यु. प्रथम शताब्दीको अन्ततिर यहोवाका उद्देश्यसित सम्बन्धित अद्भुत घटनाहरूको दर्शनहरू देखे। तिनले दर्शनमा देखेका केही कुराहरू अहिले हाम्रो समयमा पूरा हुँदैछन्। अरू चाहिं निकटतम भविष्यमा पूरा हुनेछन्। सारा सृष्टिसमक्ष आफ्नो नाउँ महिमित गर्ने यहोवाको महान उद्देश्यको नाटकीय चरमोत्कर्षमा यी सबै दर्शनहरू केन्द्रित छन्। (इजकिएल ३८:२३; प्रकाश ४:११; ५:१३) यसबाहेक, हामी सबैले जीवन पाउने प्रत्याशा पनि त्यसैमा समावेश छ। तर कसरी?
२. (क) चाथौं दर्शनमा प्रेरित यूहन्नाले के देखे? (ख) यस दर्शनसम्बन्धी कस्ता प्रश्नहरू हामी अब छलफल गर्नेछौं?
२ प्रकाशका दर्शनहरूको चौथौं श्रृंखलामा “हाम्रा परमेश्वरका दासहरूका निधारमा छाप नलगाउञ्जेलसम्म” स्वर्गदूतहरूले विनाशका बतासलाई रोकिराखेको यूहन्नाले देखे। त्यसपछि तिनले अति रोमाञ्चकारी घटना देखे। त्यो थियो, यहोवाको उपासना र उहाँको पुत्रको आदर गर्न एकताबद्ध भएका “कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़।” यो ठूलो भीड महा संकष्ट पार गरेर आउनेहरू हुन् भनी यूहन्नालाई भनियो। (प्रकाश ७:१-१७) यी “हाम्रा परमेश्वरका दासहरू” को हुन्? र महा संकष्ट पार गरेर आउने “ठूलो भीड़[मा]” को को समावेश हुनेछन्? के तपाईं तिनीहरूमध्ये हुनुहुनेछ?
“हाम्रा परमेश्वरका दासहरू” को हुन्?
३. (क) यूहन्ना १०:१-१५ मा येशूले आफू र आफ्ना अनुयायीहरूबीचको सम्बन्धलाई कसरी चित्रण गर्नुभयो? (ख) बलिदानरूपी मृत्युद्वारा येशूले आफ्ना भेडाहरूका लागि के सम्भव गराइदिनुभयो?
३ आफ्नो मृत्यु हुनुभन्दा लगभग चार महिनाअघि येशूले आफूलाई “असल गोठालो” अनि आफ्ना अनुयायीहरूलाई “भेड़ा” भनी सम्बोधन गर्नुभयो र यी भेडाहरूका लागि उहाँले आफ्नो जीवन बलिदान दिन लाग्नुभएको थियो। प्रतीकात्मक गोठमा उहाँले भेटाउनु भएको र तत्पश्चात् विशेष हेरचाह गर्नुभएको भेडाबारे उहाँले खास उल्लेख गर्नुभयो। (यूहन्ना १०:१-१५)a येशूले प्रेमपूर्वक आफ्नो भेडाको लागि प्राण अर्पण गर्नुभएर तिनीहरूलाई पाप तथा मृत्युबाट मुक्त गर्न चुकाउनु पर्ने छुटकाराको मोलको प्रबन्ध गर्नुभयो।
४. येशूले यहाँ उल्लेख गर्नुभएअनुसार भेडाको हैसियतमा संकलन गरिएका पहिलो व्यक्तिहरू को हुन् र तपाईं किन त्यस्तो जवाफ दिनुहुन्छ?
४ तथापि, त्यसो गर्नुअघि असल गोठालोको हैसियतमा येशू आफैले चेलाहरू जम्मा गर्नुभयो। येशूको उदाहरणको “ढोके” अर्थात् बप्तिस्मा दिने यूहन्नाद्वारा प्रथम चेलाहरू उहाँको सम्पर्कमा आए। ‘अब्राहामको मिश्रित वंशको’ सदस्य बन्ने मौकाप्रति अनुकूल प्रतिक्रिया देखाउने मानिसहरू येशूले खोज्दै हुनुहुन्थ्यो। (उत्पत्ति २२:१८; गलाती ३:१६, २९) उहाँले तिनीहरूको हृदयमा स्वर्गको राज्यप्रति मूल्यांकन जगाउनुभयो। र स्वर्गमा हुनुहुने आफ्नो पिताको घरमा तिनीहरूका लागि ठाउँ तयार पार्न जाँदैछु भनी तिनीहरूलाई आश्वासन दिनुभयो। (मत्ती १३:४४-४६; यूहन्ना १४:२, ३) उहाँले उपयुक्त ढंगमा यसो भन्नुभयो: “बप्तिस्मा दिने यूहन्नाका दिनदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ, र बलजफत गर्ने मानिसहरूले जबरदस्तसँग खोस्तछन्।” (मत्ती ११:१२) यो लक्ष्य प्राप्त गर्न उहाँको अनुसरण गर्ने व्यक्तिहरू येशूले भन्नुभएका गोठका सदस्यहरू प्रमाणित भए।
५. (क) प्रकाश ७:३-८ मा उल्लिखित “हाम्रा परमेश्वरका दासहरू” को को हुन्? (ख) आत्मिक इस्राएलीहरूलाई अझ धेरै व्यक्तिहरूले परमेश्वरको उपासनामा साथ दिनेछन् भनेर कुन कुराले देखाउँछ?
५ त्यस स्वर्गीय लक्ष्यतर्फ सफलतापूवर्क अघि बढ्ने मानिसहरूलाई प्रकाश ७:३-८ मा “हाम्रा परमेश्वरका दासहरू” भनेर पनि सम्बोधन गरिएको छ। (१ पत्रुस २:९, १६ हेर्नुहोस्।) त्यहाँ उल्लिखित १,४४,००० के जन्मजात यहूदीहरू मात्र हुन्? येशूको उदाहरणमा उल्लिखित प्रतीकात्मक गोठमा के जन्मजात यहूदीहरू मात्र छन्? अवश्य छैनन्; तिनीहरू परमेश्वरको आत्मिक इस्राएलका सदस्यहरू हुन् र अब्राहामको आत्मिक वंशको रूपमा तिनीहरू ख्रीष्टसँग साझेदार हुन्छन्। (गलाती ३:२८, २९; ६:१६; प्रकाश १४:१, ३) निस्सन्देह, तोकिएको संख्या पूरा हुने समय आउनेछ। त्यसपछि के हुनेछ? बाइबलले अगमवाणी गरेझैं अरू व्यक्तिहरू अर्थात् मानिसहरूको ठूलो भीडले यहोवाको उपासना गर्न यी आत्मिक इस्राएललाई साथ दिनेछन्।—जकरिया ८:२३.
“अरू भेड़ा”—के तिनीहरू अन्यजातिका मसीहीहरू हुन्?
६. यूहन्नाले १०:१६ ले कुन चाहिं उन्नतिलाई संकेत गर्छ?
६ यूहन्ना १०:७-१५ मा एउटा गोठको उल्लेख गर्नु भइसकेपछि येशूले यसो भन्नुहुँदै अर्को समूहलाई प्रस्तुत गर्नुहुन्छ: “मेरा अरू भेड़ा छन्, जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ, र तिनीहरूले मेरो सोर सुन्नेछन्, औ तिनीहरू एकै बगाल र एकै गोठालाका हुनेछन्।” (यूहन्ना १०:१६) यी “अरू भेड़ा” को हुन्?
७, ८. (क) अरू भेडाहरू अन्यजातिका मसीहीहरू हुन् भन्ने विचारको आधार किन गलत छ? (ख) पृथ्वीका लागि परमेश्वरको उद्देश्यसित सम्बन्धित कुन चाहिं तथ्यहरूले हामीलाई अरू भेडा चिन्ने मदत दिनुपर्ने हो?
७ यी अरू भेडा अन्यजातिका मसीहीहरू हुन् अनि अगाडि उल्लेख गरिएको गोठमा हुनेहरू चाहिं व्यवस्था वाचाको अधीनमा हुने यहूदी भनी मसीहीजगतका टिप्पणीकारहरूले सामान्यतया विश्वास गर्छन् र तिनीहरूको विचारअनुसार यी दुवै समूह स्वर्गमा जान्छन्। तर व्यवस्था वाचा जस्तो सुरक्षित पर्खाल भएको यहूदी गोठ भित्र पस्न येशूलाई ढोकेको खाँचो पर्दैन थियो। किनभने उहाँ बाहिरिया व्यक्ति हुनुहुन्न थियो। उहाँ जन्मजात यहूदी र व्यवस्था वाचाको अधीनमा हुनुहुन्थ्यो। (गलाती ४:४) यसबाहेक, स्वर्गीय जीवनको इनाम पाउने अन्यजातिका मसीहीहरूलाई अरू भेडा ठान्ने व्यक्तिले परमेश्वरको उद्देश्यको महत्त्वपूर्ण पक्षलाई ध्यानमा राखेको हुँदैन। यहोवाले प्रथम मानव दम्पतीलाई सृष्टि गर्नुभएर अदनको बगैंचामा राख्नुहुँदा उहाँको उद्देश्य यस पृथ्वीलाई आबाद गर्नु, पृथ्वीको सबै भू-भागलाई प्रमोदवन बनाउनु र त्यसको रेखदेख गर्ने मानिसहरूले सधैंभरि जीवनको आनन्द उठाउनु थियो भनेर स्पष्ट पार्नुभएको थियो। तर तिनीहरूले आफ्नो सृष्टिकर्त्ताको आदर तथा आज्ञा पालन गरेमा मात्र यी सबै पूरा हुनसक्थ्यो।—उत्पत्ति १:२६-२८; २:१५-१७; यशैया ४५:१८.
८ आदमले पाप गर्दा यहोवाको उद्देश्य विफल भएन। आदमले जुन मौकाको मूल्यांकन गर्न सकेन त्यसको आनन्द उठाउने सुअवसर आदमका सन्तानहरूले पाओस् भनेर यहोवाले तिनीहरूका लागि प्रेमपूर्ण प्रबन्ध गर्नुभयो। छुटकारा दिने व्यक्ति अर्थात् वंश खडा गर्नेछु भनी यहोवाले अगमवाणी गर्नुभयो जसद्वारा सारा जातिहरू आशिषित् हुनेथिए। (उत्पत्ति ३:१५; २२:१८) तर त्यो प्रतिज्ञाको अर्थ, सबै असल मानिसहरू स्वर्ग लगिनेछ भन्ने होइन। येशूले आफ्ना अनुयायीहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।” (मत्ती ६:९, १०) यूहन्ना १०:१-१६ मा रेकर्ड गरिएको उदाहरण दिनुभएपछि तुरुन्तै केही समयपश्चात् “सानो बगाल[लाई]” मात्र स्वर्गीय राज्य दिने उहाँको पिताको शुभेच्छा छ भनेर उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो। (लूका १२:३२, ३३) अतः आफ्नो भेडाको खातिर प्राण अर्पण गर्ने असल गोठालोको रूपमा येशूले आफैलाई प्रस्तुत गर्नुभएको उदाहरणमा ती अधिकांश मानिसहरूलाई समावेश नगर्नु गल्ती हुनेछ जसलाई येशूले आफ्नो मायालु रेखदेखमा ल्याउनुहुन्छ र जो उहाँको स्वर्गीय राज्यको पार्थिव प्रजाहरू हुन्छन्।—यूहन्ना ३:१६.
९. सन् १८८४ को प्रारम्भतिर बाइबल विद्यार्थीहरूले अरू भेडाहरू को हुन् भनी बुझेका थिए?
९ परमेश्वरको मौलिक उद्देश्य पूरा गर्ने परिस्थिति भएको पृथ्वीमा बाँच्ने मौका पाउने मानिसहरूलाई सन् १८८४ को प्रारम्भतिर नै वाच टावर-ले अरू भेडाको रूपमा चिनाइसकेको थियो। येशूको पार्थिव सेवकाईभन्दा अघिका मानिसहरू पनि अरू भेडामा पर्नेछन् भनेर ती प्रारम्भिक बाइबल विद्यार्थीहरूले बुझे। तथापि, तिनीहरूले कुनै कुनै विवरणहरू भने ठीकसँग बुझेका थिएनन्। उदाहरणका लागि, सबै अभिषिक्त जनहरूले आफ्नो स्वर्गीय इनाम पाइसकेपछि अरू भेडाहरू जम्मा गरिनेछन् भनी तिनीहरूले सोचेका थिए। तथापि, अरू भेडाहरू अन्यजातिका मसीहीहरू मात्र थिएनन् भनेर तिनीहरूले राम्ररी बुझेका थिए। यहूदी तथा अन्यजाति दुवैलाई अनि सारा राष्ट्र र जातिका मानिसहरूलाई यी अरू भेडाहरूबीच समावेश हुने खुला मौका छ।—प्रेरित १०:३४, ३५ तुलना गर्नुहोस्।
१०. येशूले साँच्चै नै आफ्नो अरू भेडा भनी सम्झनु हुने व्यक्ति हामी हुन चाहन्छौं भने कुन कुरा हामीसित मेल खाएको हुनुपर्छ?
१० येशूले दिनुभएको विवरणसित मेल खाने अरू भेडाहरूले आफ्नो जातीय पृष्ठभूमि जस्तोसुकै भए तापनि येशू ख्रीष्टलाई असल गोठालोको रूपमा स्वीकार्नु पर्छ। त्यसमा के के समावेश छ? तिनीहरूले निर्देशनअनुसार चल्ने नम्रता र इच्छुकता प्रकट गर्नुपर्छ। ती विशेषताहरू भेडाका गुणहरू हुन्। (भजनसंग्रह ३७:११) सानो बगालले जस्तै तिनीहरूले पनि “[असल गोठालोको] सोर” चिन्नुपर्छ र आफूमाथि प्रभाव पार्न खोज्नेहरूको लहलहैमा चल्नु हुँदैन। (यूहन्ना १०:४; २ यूहन्ना ९, १०) आफ्नो भेडाको खातिर प्राण अर्पण गर्नुभएर येशूले जे-जति गर्नुभयो तिनीहरूले त्यसको मूल्यांकन र त्यस प्रबन्धमाथि पूरा विश्वास गर्नैपर्छ। (प्रेरित ४:१२) यहोवालाई मात्र पवित्र सेवा चढाउन, पहिला उहाँको राज्यको खोजी गर्न, यस संसारदेखि अलग बस्न र एक-अर्काप्रति आत्म-त्यागी प्रेम देखाउन असल गोठालाले आग्रह गर्नुहुँदा तिनीहरूले उहाँको “सोर” सुन्नैपर्छ। (मत्ती ४:१०; ६:३१-३३; यूहन्ना १५:१२, १३, १९) येशूले आफ्ना अरू भेडा भनी सम्झनु हुने व्यक्तिहरूको विवरण के तपाईंसित मेल खान्छ? के तपाईं त्यस विवरणसित मेल खाने हुन चाहनुहुन्छ? येशूका अरू भेडाहरूमा सामेल हुने व्यक्तिहरूले साँच्चै कति अमूल्य सम्बन्ध गाँस्ने मौका पाउँछन्!
राज्य अख्तियारप्रति आदर
११. (क) आफ्नो उपस्थितिको चिह्नमा येशूले भेडा र बाख्राहरूबारे के भन्नुभयो? (ख) येशूले सम्बोधन गर्नुभएका भाइहरू को हुन्?
११ माथि उल्लिखित उदाहरण दिनुभएको केही महिनापश्चात् येशू फेरि यरूशलेम जानुभयो। मन्दिरको चारै किल्ला देखिने जैतून डाँडामा बस्नु भएपछि उहाँले आफ्ना चेलाहरूलाई ‘आफ्नो आगमन र जगत्को अन्तको चिह्नको’ विवरण दिनुभयो। (मत्ती २४:३) उहाँले फेरि भेडाहरूको संकलनबारे कुरा गर्नुभयो। अन्य कुराहरूको अलावा उहाँले यसो भन्नुभयो: “जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्, र जसरी गोठालाले भेड़ालाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ। औ उसले भेड़ाहरूलाई आफ्नो दाहिने हातपट्टि तर बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ।” राजाले ज-जसलाई ध्यान दिनुहुन्छ तिनीहरूले उहाँका “भाइहरू[लाई]” गर्ने व्यवहारको आधारमा न्याय गरिनेछ भनेर येशूले यस उखानमा देखाउनुभयो। (मत्ती २५:३१-४६) यी भाइहरू को हुन्? आत्मा-अभिषिक्त मसीहीहरू भएकोले तिनीहरू “परमेश्वरका छोराहरू” हुन्। येशू परमेश्वरको पहिलो पुत्र हुनुहुन्छ। अतः तिनीहरू ख्रीष्टका भाइहरू हुन्। तिनीहरू प्रकाश ७:३ मा उल्लिखित “हाम्रा परमेश्वरका दासहरू” अर्थात् ख्रीष्टसँग उहाँको स्वर्गीय राज्यमा भाग लिन मानवजातिबाट चुनिएका जनहरू हुन्।—रोमी ८:१४-१७.
१२. मानिसहरूले ख्रीष्टका भाइहरूलाई गर्ने व्यवहार किन ठूलो महत्त्वको छ?
१२ अरू मानिसहरूले यी राज्य हकदारहरूलाई गर्ने व्यवहार पनि अति महत्त्वपूर्ण छ। येशू ख्रीष्ट र यहोवाले तिनीहरूलाई जुन दृष्टिले हेर्नुहुन्छ के तपाईं पनि त्यही दृष्टिले हेर्नुहुन्छ? (मत्ती २४:४५-४७; २ थिस्सलोनिकी २:१३) यी अभिषिक्त जनप्रति व्यक्तिविशेषले देखाउने मनोवृत्तिले स्वयं येशू ख्रीष्ट र उहाँको पिता, विश्व–ब्रह्माण्डका सार्वभौम सत्ताधारीप्रतिको मनोवृत्ति प्रतिबिम्बित गर्नेछ।—मत्ती १०:४०; २५:३४-४६.
१३. सन् १८८४ मा बाइबल विद्यार्थीहरूले भेडा र बाख्राको उखानलाई कुन हदसम्म बुझेका थिए?
१३ यस उखानमा उल्लिखित “भेड़ा” पृथ्वीमा सिद्ध जीवनको प्रत्याशा पाउने व्यक्तिहरू हुन् भनेर अगस्त १८८४ अंकको वाच टावर-ले (प्रहरीधरहरा) सही उल्लेख गऱ्यो। ख्रीष्टले आफ्नो महिमित स्वर्गीय सिंहासनबाट शासन गर्नुहुँदा उक्त उखान लागू हुनुपर्छ भनेर पनि त्यतिबेला बुझिएको थियो। यद्यपि, उखानमा उल्लिखित छुटाउने काम उहाँले कहिले सुरु गर्नु हुनेछ र कहिलेसम्म चल्नेछ भनेर तिनीहरूलाई त्यतिबेला स्पष्ट थाहा थिएन।
१४. येशूको भविष्यसूचक उखान पूरा हुने समयबारे बुझ्न सन् १९२३ को सम्मेलन भाषणले बाइबल विद्यार्थीहरूलाई कसरी मदत गऱ्यो?
१४ तथापि, सन् १९२३ मा वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष जे. एफ. रदरफोर्डले सम्मेलनमा दिएको भाषणद्वारा भेडा र बाख्राको उखानको पूरा हुने समयावधिबारे स्पष्टीकरण दिए। तर किन? एउटा कारण त राजाका भाइहरू अथवा तिनीहरूमध्ये कोही यसै पृथ्वीमा हुनेछ भनी उखानले देखाउँछ। मानिसहरूबीच उहाँका आत्मा-अभिषिक्त अनुयायीहरूलाई मात्र वास्तवमा उहाँको भाइहरू भन्न मिल्छ। (हिब्रू २:१०-१२) सहस्राब्दीभरि यिनीहरू पृथ्वीमा हुनेछैनन्। फलतः येशूले वर्णन गर्नुभएको ढंगमा मानिसहरूले तिनीहरूको भलाई गर्ने मौका पाउनेछैनन्।—प्रकाश २०:६.
१५. (क) येशूको उखानको भेडालाई ठीकसँग चिन्न कुन उन्नतिहरूले बाइबल विद्यार्थीहरूलाई मदत गऱ्यो? (ख) भेडाहरूले राज्यप्रति मूल्यांकनको प्रमाण कसरी दिएका छन्?
१५ सन् १९२३ मा दिइएको उक्त भाषणमा भेडा र बाख्राबारे प्रभुले दिनुभएको विवरणसित मेल खाने मानिसहरूलाई चिनाउने प्रयत्न गरिएको थियो तर उखानको पूर्ण आशय बुझ्नअघि अरू कुराहरू जान्नु आवश्यक थियो। त्यसपछिका वर्षहरूमा यहोवाले प्रगतिशील ढंगमा यी महत्त्वपूर्ण जानकारीहरूतर्फ आफ्ना सेवकहरूको ध्यानाकर्षण गर्नुभयो। पृथ्वीमा भएका सबै आत्मा-अभिषिक्त मसीहीहरूको समूह “विश्वासी र बुद्धिमान दास” हुन् भनेर सन् १९२७ मा पाएको स्पष्ट ज्ञान यसमा समावेश छ; साथै यहोनादाबले येहूसँग राखेजस्तै घनिष्ठ सम्बन्ध यहोवाका अभिषिक्त दासहरूसँग राख्नुपर्छ भनेर सन् १९३२ मा बुझिएको कुरा पनि यसमा समावेश छ। (मत्ती २४:४५; २ राजा १०:१५) त्यसबेला प्रकाश २२:१७ को आधारमा विशेषगरि यी भेडाखाले मानिसहरूलाई अरूकहाँ राज्य समाचार पुऱ्याउन प्रोत्साहित गरियो। मसीह राज्यप्रति तिनीहरूको मूल्यांकनले प्रभुको अभिषिक्त जनप्रति मानवीय दया देखाउन मात्र नभई ख्रीष्ट मार्फत यहोवालाई आफ्नो जीवन समर्पण गर्न र अभिषिक्त जनहरूले गर्ने काममा जोशिलो भई भाग लिएर तिनीहरूसित घनिष्ठ सम्बन्ध राख्न पनि उत्प्रेरित गर्नेथियो। के तपाईं त्यसै गर्दै हुनुहुन्छ? ज-जसले त्यसो गर्छन् तिनीहरूलाई राजाले यसो भन्नुहुनेछ: “आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्को उत्पत्तिदेखि तिमीहरूको निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।” त्यस राज्यको पार्थिव क्षेत्रमा अनन्तकालीन सिद्ध जीवन बिताउने ठूलो प्रत्याशा तिनीहरूसमक्ष हुनेछ।—मत्ती २५:३४, ४६.
“ठूलो भीड़” —तिनीहरू कतातिर जाँदैछन्?
१६. (क) प्रकाश ७:९ मा उल्लिखित मानिसहरूको ठूलो जमात वा ठूलो भीडको परिचयसम्बन्धी कस्ता गलत धारणाहरू प्रारम्भिक बाइबल विद्यार्थीहरूका थिए? (ख) कहिले र कुन आधारमा तिनीहरूको दृष्टिकोण सुधारियो?
१६ प्रकाश ७:९, १० मा उल्लिखित मानिसहरूको ठूलो जमात, (अथवा ठूलो भीड) यूहन्ना १०:१६ मा उल्लिखित अरू भेडा र मत्ती २५:३३ को भेडाभन्दा अलग छ भनेर यहोवाका सेवकहरूले केही समयसम्म विश्वास गर्थे। तिनीहरू ‘सिंहासन अगाडि उभिरहेका छन्’ भनी बाइबलमा उल्लेख गरिएको हुँदा तिनीहरू स्वर्गमै हुनेछन् तर ख्रीष्टको साझे हकदारको रूपमा राज्य गर्न होइन तर सिंहासन अगाडि गौण स्थानमा हुनेछन् भन्ने अर्थ लगाइएको थियो। तिनीहरूलाई साँचो आत्म-त्यागको भावना नदेखाउने कम विश्वासी मसीहीहरू ठानिन्थ्यो। तर सन् १९३५ मा यस दृष्टिकोणमा भूलसुधार गरियो।b मत्ती २५:३१, ३२ जस्ता शास्त्रपदहरूको आधारमा प्रकाश ७:९ लाई जाँच गर्दा यहीं पृथ्वीमा भएका मानिसहरू पनि ‘सिंहासन अगाडि’ हुन सक्दा रहेछन् भनी प्रष्टियो। यसको अलावा वफादारसम्बन्धी परमेश्वरका दुई स्तरहरू छैनन् भनेर पनि औंल्याइयो। उहाँको अनुमोदन पाउने सबैले उहाँप्रति आफ्नो निष्ठा कायम राख्नुपर्छ।—मत्ती २२:३७, ३८; लूका १६:१०.
१७, १८. (क) सन् १९३५ देखि पृथ्वीमा अनन्त जीवनको आशा भएका मानिसहरूको वृद्धि हुनुको कारण के हो? (ख) ठूलो भीडमा हुनेहरूले कुन अत्यावश्यक काममा जोशिलो भई भाग लिइरहेका छन्?
१७ पृथ्वीसम्बन्धी परमेश्वरका प्रतिज्ञाहरूबारे यहोवाका जनहरूले निकै वर्षसम्म कुरा गरेका थिए। सन् १९२० मा तिनीहरूले पूरा हुने आशा गरेको घटनाले गर्दा “अहिले बाँचिरहेका लाखौं मानिसहरू कहिल्यै मर्नेछैनन्” भन्ने घोषणा तिनीहरूले गरे। तर जीवनका लागि यहोवाले गर्नुभएका प्रबन्धहरूलाई अगाँल्ने मानिसहरू त्यसबेला लाखौं थिएनन्। सच्चाइ स्वीकार्ने अधिकांश मानिसहरूमा पवित्र आत्माले स्वर्गीय जीवनको आशा पैदा गऱ्यो। तथापि, विशेषगरि सन् १९३५ पछि उल्लेखनीय परिवर्तन भयो। तर यसो भन्दैमा द वाचटावर-ले (प्रहरीधरहरा) पृथ्वीमा अनन्त जीवन पाउने आशालाई अवहेलना गरेको होइन। यहोवाका सेवकहरूले दशकौंदेखि यस आशाबारे कुरा गरेका थिए र यस सम्बन्धमा बाइबलले दिने विवरणसित मेल खाने व्यक्तिहरू खोजेका थिए। यद्यपि, यहोवाले आफ्नो समयमा ठूलो भीडका सम्भावित सदस्यहरू प्रकट गराउनुभयो।
१८ स्मरणार्थ समारोहमा उपस्थित हुनेहरूले निकै वर्षसम्म प्रतीकहरूमा भाग लिए भनेर उपलब्ध रेकर्डहरूले देखाउँछन्। तर सन् १९३५ पछिका २५ वर्ष भित्रमा ख्रीष्टको मृत्युको वार्षिक स्मरणार्थ समारोहमा भाग लिनेहरूको संख्याभन्दा उपस्थिति संख्या नाटकीय ढंगले शतप्रतिशत वृद्धि भएको थियो। यी अरू मानिसहरू को हुन्? तिनीहरू ठूलो भीडका सम्भावित सदस्यहरू हुन्। स्पष्ट छ, तिनीहरूलाई जम्मा गर्न र आउनै लागेको महा संकष्टबाट छुटकारा दिन तिनीहरूलाई तयार पार्ने यहोवाको समय आइसकेको थियो। अगमवाणी गरिएझैं तिनीहरू ‘हरेक जाति र सबै कुल र मानिस, र भाषा भाषाहरूबाट’ आएका मानिसहरू हुन्। (प्रकाश ७:९) येशूले अगमवाणी गर्नुभएको यस काममा तिनीहरू सबैले जोशिलो भएर भाग लिइरहेका छन्: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.
[फुटनोटहरू]
a मे १५, १९४६ र जुलाई १५, १९८० को द वाचटावर (प्रहरीधरहरा) हेर्नुहोस्।
b अगस्त १ र १५, १९३५ को द वाचटावर (प्रहरीधरहरा).
तपाईं कस्तो टिप्पणी दिनुहुन्छ?
◻ प्रकाश ७ अध्यायको दर्शन किन विशेष चासोको कुरा हो?
◻ यूहन्ना १०:१६ मा उल्लिखित अरू भेडा किन अन्यजातिका मसीहीहरूसम्म सीमित छैन?
◻ अरू भेडाको सम्बन्धमा बाइबलले दिने विवरणसँग मेल खाने व्यक्तिहरूमा कुन कुरा मेल खानुपर्छ?
◻ भेडा र बाख्राको उखानले राज्य अख्तियारप्रतिको आदरलाई कसरी जोड दिन्छ?
◻ प्रकाश ७:९ को ठूलो भीड जम्मा गर्ने यहोवाको समय आइसक्यो भनेर कुन कुराले देखाउँछ?