प्रकाशको पुस्तकका पाठकहरू हो, रमाउनुहोस्
“जसले यो अगमवाणीका वचनहरू पढ़छ, र जस जसले सुन्छन्, र त्यसमा लेखिएका कुराहरू पालन गर्छन्, तिनीहरू धन्यका हुन्।”—प्रकाश १:३.
१. कस्तो परिस्थितिमा यूहन्नाले प्रकाशको पुस्तक लेखे अनि तिनले ती दर्शनहरू लेख्नुको कारण के थियो?
“म यूहन्ना, . . . परमेश्वरको वचन र येशू ख्रीष्टको साक्षीको निम्ति पत्मोस नाउँको टापूमा थिएँ।” (प्रकाश १:९) प्रेरित यूहन्नाले यस्तो परिस्थितिमा प्रकाशको पुस्तक लेखेका थिए। भनिन्छ, जबरजस्ती सम्राट् उपासना गर्न लगाएर मसीहीहरूलाई सताउने रोमी सम्राट् डोमिसियनको शासनकालमा (सा.यु. ८१-९६) तिनी पत्मोसमा कैदी भएका थिए। पत्मोसमा छँदा यूहन्नाले थुप्रै दर्शनहरू देखे र तिनले त्यो सबै लेखे। तिनले यी दर्शनहरू बताउनुको मनसाय प्रारम्भिक मसीहीहरूलाई तर्साउनु होइन तर तिनीहरूले सामना गरिरहेका अनि पछि सामना गर्ने परीक्षाहरू सहन सकून् भनेर बल, सान्त्वना र प्रोत्साहन दिनु थियो।—प्रेरित २८:२२; प्रकाश १:४; २:३, ९, १०, १३.
२. यूहन्ना र तिनका सँगी मसीहीहरूको परिस्थिति आजका मसीहीहरूका लागि किन चासोको विषय हो?
२ बाइबलको यो पुस्तक लेखिएको परिस्थिति आजका मसीहीहरूका लागि एकदमै महत्त्वपूर्ण छ। यहोवा र उहाँको पुत्र येशू ख्रीष्टको साक्षी भएकाले यूहन्ना सतावट भोग्दै थिए। तिनी र तिनका सँगी मसीहीहरू एकअर्काप्रति वैरभाव राख्ने समाजमा बाँचिरहेका थिए किनकि तिनीहरू असल नागरिक बन्न चाहन्थे तर यसो भन्दैमा सम्राट्को उपासना गर्न पनि त सक्दैनथे। (लूका ४:८) केही देशहरूमा आज पनि साँचो मसीहीहरू यस्तै अवस्थामा छन्। त्यहाँ “धार्मिक दृष्टिकोणमा के सही र के गलत” भनी सरकारले नै तोकेको हुन्छ। तसर्थ, प्रकाशको पुस्तकको सुरुका शब्दहरू अत्यन्तै सान्त्वनादायी छन्: “जसले यो अगमवाणीका वचनहरू पढ़छ, र जस जसले सुन्छन्, र त्यसमा लेखिएका कुराहरू पालन गर्छन्, तिनीहरू धन्यका हुन्, किनभने समय नजीकै छ।” (प्रकाश १:३) हो, सचेत र आज्ञाकारी भई प्रकाशको पुस्तक पढ्नेहरूले साँचो खुसी तथा थुप्रै आशिष् पाउनसक्छन्।
३. यूहन्नालाई दिइएको प्रकाशको स्रोत को हुनुहुन्छ?
३ प्रकाशको मूल स्रोत को हुनुहुन्छ अनि उहाँले कुन माध्यमद्वारा त्यो प्रकट गर्नुहुन्छ? प्रकाशको पुस्तकको पहिलो पदमा यसो भनिएको छ: “येशू ख्रीष्टको प्रकाश, जो परमेश्वरले चाँड़ै अवश्य हुनआउने कुरो के हो, त्यो आफ्ना दासहरूलाई देखाउनालाई, उहाँलाई दिनुभयो, र उहाँले आफ्नो दूतद्वारा आफ्ना सेवक यूहन्नाकहाँ पठाएर थाह गराउनुभयो।” (प्रकाश १:१) सरल भाषामा भन्ने हो भने, प्रकाशको मूल स्रोत यहोवा परमेश्वर हुनुहुन्छ अनि उहाँले त्यो येशूलाई दिनुभयो र येशूले दूत मार्फत यूहन्नालाई बताउनुभयो। अझ थप जाँच गर्दै जाँदा येशूले मण्डलीहरूलाई सन्देश दिन र यूहन्नालाई दर्शन दिन पवित्र आत्मा पनि चलाउनुभयो भनेर थाह पाउनेछौं।—प्रकाश २:७, ११, १७, २९; ३:६, १३, २२; ४:२; १७:३; २१:१०; तुलना गर्नुहोस् प्रेरित २:३३.
४. पृथ्वीका आफ्ना जनहरूलाई डोऱ्याउन यहोवाले अहिले पनि कुन माध्यम चलाइरहनुभएको छ?
४ यहोवाले पृथ्वीका आफ्ना सेवकहरूलाई सिकाउन अहिले पनि उहाँको पुत्र, “मण्डलीका शिर” चलाइरहनुभएको छ। (एफिसी ५:२३; यशैया ५४:१३; यूहन्ना ६:४५) यहोवा आफ्ना जनहरूलाई सिकाउन आफ्नो पवित्र आत्मा पनि चलाउनुहुन्छ। (यूहन्ना १५:२६; १ कोरिन्थी २:१०) येशूले प्रथम शताब्दीका मण्डलीहरूलाई आध्यात्मिक भोजन दिन “आफ्ना सेवक यूहन्ना” चलाउनुभए जस्तै आज उहाँले आफ्ना परिवार र उनीहरूको सहयोगीहरूलाई “ठीक ठीक समयमा” आध्यात्मिक भोजन दिन पृथ्वीमा भएका आफ्ना अभिषिक्त ‘भाइहरूको’ “विश्वासी र बुद्धिमान दास” चलाइरहनुभएको छ। (मत्ती २४:४५-४७; २५:४०) हामीले आध्यात्मिक भोजनको रूपमा पाउने “असल दान[को]” स्रोत र उहाँले चलाइरहनुभएको माध्यमलाई चिन्नेहरू धन्यका हुन्।—याकूब १:१७.
ख्रीष्टद्वारा निर्देशित मण्डली
५. (क) मसीही मण्डली र मण्डलीका निरीक्षकहरूलाई केसित तुलना गरिएको छ? (ख) मानव असिद्धताको बावजूद कुन कुराले हामीलाई खुसी हुन मदत गर्छ?
५ प्रकाशको पुस्तकको सुरुका अध्यायहरूमा मसीही मण्डलीहरूलाई सामदानसँग तुलना गरिएको छ। मण्डलीका निरीक्षकहरूलाई दूत (सन्देशवाहक) र ताराहरूसँग तुलना गरिएको छ। (प्रकाश १:२०)a ख्रीष्टले आफूबारे यूहन्नालाई यो कुरा लेख्न अह्राउनुभयो: “यी कुरा सातवटा तारा आफ्नो दाहिने हातमा लिने, र सातवटा सामदानका बीचमा हिंड़नेले भन्दछ।” (प्रकाश २:१) एसियाका सातवटा मण्डलीहरूमा पठाइएका सातवटा सन्देशहरूले सा.यु. प्रथम शताब्दीमा मण्डली र प्राचीनहरूका बलिया पक्ष र कमजोर पक्षहरू पनि थिए भनेर औंल्यायो। आज पनि यस्तै अवस्था छ। अतः हाम्रो शिर अर्थात् ख्रीष्ट मण्डलीहरूको माझमा हुनुहुन्छ भन्ने कुरा मनमा राख्यौं भने हामी अझ खुसी हुनेछौं। उहाँलाई मण्डलीहरूका गतिविधि थाह छ। निरीक्षकहरू लाक्षणिक रूपमा उहाँको “दाहिने हातमा” छन् अर्थात् तिनीहरू उहाँको अधीनमा र निर्देशनमा छन् अनि तिनीहरूले मण्डलीहरूलाई कसरी डोऱ्याउँछन्, त्यसको लागि तिनीहरू उहाँसमक्ष जवाफदेही छन्।—प्रेरित २०:२८; हिब्रू १३:१७.
६. निरीक्षकहरू मात्र ख्रीष्टसमक्ष जवाफदेही होइनन् भनेर कुन कुराले देखाउँछ?
६ तथापि, निरीक्षकहरू मात्र आफ्ना कार्यहरूका लागि ख्रीष्टसमक्ष जवाफदेही छन् भन्ने विचार गऱ्यौं भने हामीले आफैलाई धोका दिइरहेका हुनेछौं। ख्रीष्टले एउटा सन्देशमा यसो भन्नुभयो: “सबै मण्डलीहरूले थाह पाउनेछन्, कि म उही हुँ, जसले सबैको मन र हृदय खोतल्छ, र म तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसारै दिनेछु।” (प्रकाश २:२३) यो एउटा चेताउनीका साथै प्रोत्साहन पनि हो। ख्रीष्टले हाम्रो मनभित्र लुकेको मनोवृत्ति जान्नुहुने भएकोले यो चेताउनी हो। प्रोत्साहनचाहिं यस कारणले हो, हामीले गरेका प्रयासहरू ख्रीष्टलाई थाह छ अनि हामीले गर्नसक्ने सबै गऱ्यौं भने उहाँले आशिष् दिनुहुनेछ।—मर्कूस १४:६-९; लूका २१:३, ४.
७. फिलाडेल्फियाका मसीहीहरूले कसरी ‘ख्रीष्टका धैर्यको वचन पालन गरे’?
७ ख्रीष्टले लिडिया शहरको फिलाडेल्फिया मण्डलीलाई दिनुभएको सन्देशमा हप्काउनुभएको छैन। बरु, त्यसमा एउटा प्रतिज्ञा गरिएको छ र त्यो हाम्रोलागि असीम चासोको विषय हुनुपर्छ। “किनभने तिमीले मेरा धैर्यको वचन पालन गरेका हुनाले पनि तिमीलाई परीक्षाको समयबाट जोगाउनेछु। त्यो समय, जो यस पृथ्वीमाथि बस्नेलाई परीक्षा गर्नालाई सारा संसारमा आउनेभएको छ।” (प्रकाश ३:१०) “मेरा धैर्यको वचन पालन गरेका हुनाले” भन्ने युनानी वाक्यांशको अर्थ “मैले धैर्यबारे भनेका कुरा पालन गऱ्यौ” पनि हुनसक्छ। पद ८ अनुसार फिलाडेल्फियाका मसीहीहरूले ख्रीष्टका आज्ञाहरू मात्र पालन गरेका होइनन्, विश्वासी भई धैर्य धारण गर्नु भन्ने उहाँको सल्लाह पनि पालन गरेका थिए।—मत्ती १०:२२; लूका २१:१९.
८. (क) येशूले फिलाडेल्फियाका मसीहीहरूलाई कस्तो प्रतिज्ञा गर्नुभयो? (ख) “परीक्षाको समय[ले]” आज कस-कसलाई असर गरेको छ?
८ येशूले “परीक्षाको समयबाट जोगाउनेछु” पनि भन्नुभयो। त्यतिखेरका मसीहीहरूका लागि यसले के अर्थ राख्यो, हामीलाई थाह छैन। सा.यु. ९६ मा डोमिसियनको मृत्युपछि केही समयसम्म सतावट कम भयो। यद्यपि, ट्राजनको शासनकालमा (सा.यु. ९८-११७) फेरि सतावटको लहड चर्किएकोले थप परीक्षा ल्यायो। तर खास “परीक्षाको समय” चाहिं “अन्तको समयको” दौडान “प्रभुको दिनमा” अर्थात् हामी बाँचिरहेको समय हो। (प्रकाश १:१०; दानियल १२:४) प्रथम विश्वयुद्धको दौडान अनि त्यसको लगत्तैपछि आत्माअभिषिक्त मसीहीहरूले विशेष परीक्षाको सामना गरे। तर “परीक्षाको समय” अहिले पनि समाप्त भएको छैन। यसले महा संकष्टबाट बच्ने आशा गर्ने ठूलो भीडका लाखौं मानिसहरूलगायत “यस पृथ्वीमाथि बस्ने” सबैलाई असर गर्छ। (प्रकाश ३:१०; ७:९, १४) ‘येशूले धैर्यबारे भन्नुभएको वचन पालन’ गऱ्यौं भने हामी धन्यका हुनेछौं। त्यो वचन हो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।”—मत्ती २४:१३.
खुसीसाथ यहोवाको सार्वभौमिकताको अधीनमा बस्ने
९, १०. (क) यहोवाको सिंहासनको दर्शनले कुन कुन तरिकामा हामीलाई असर गर्नुपर्ने हो? (ख) प्रकाशको पुस्तक पढेर हामी कसरी रमाउनसक्छौं?
९ अध्याय ४ र ५ मा उल्लिखित यहोवाको सिंहासन र उहाँको स्वर्गीय बासस्थानको दर्शनले हामीलाई चकित पार्नुपर्ने हो। यहोवाको धार्मिक सार्वभौमिकताको अधीनमा खुसीसाथ रहँदै स्वर्गका शक्तिशाली प्राणीहरूले गरेको हृदयस्पर्शी प्रशंसाद्वारा हामी प्रभावित हुनुपर्छ। (प्रकाश ४:८-११) हामीले तिनीहरूको सोरमा सोर मिलाएर यसो भन्नुपर्छ: “सिंहासनमा विराजमान हुनुहुने र थुमालाई धन्यवाद, आदर, महिमा र राज्य सदा सर्वदा होस्।”—प्रकाश ५:१३.
१० त्यसै गरी, हामी पनि सबै कुरामा यहोवाको इच्छाको अधीनमा खुसीसाथ रहनुपर्छ। प्रेरित पावलले यसरी लेखे: “बात र काममा जे जे गर्छौ, सबै कुरा उहाँद्वारा परमेश्वर पितालाई धन्यवाद चढ़ाएर प्रभु येशूको नाउँमा गर।” (कलस्सी ३:१७) हामीले भित्री मन र हृदयबाटै यहोवाको सार्वभौमिकतालाई स्वीकाऱ्यौं अनि हाम्रो जीवनको हरेक पक्षमा उहाँको इच्छाअनुसार गऱ्यौं भने प्रकाशको पुस्तक पढेर हामी साँच्चै रमाउनेछौं।
११, १२. (क) शैतानी संसारको रीतिरिवाजलाई कसरी हल्लाएर नाश गरिनेछ? (ख) प्रकाश अध्याय ७ अनुसार त्यतिखेर को ‘खडा हुनसक्नेछ’?
११ आनन्दसाथ यहोवाको सार्वभौमिकताको अधीनमा बस्यौं भने व्यक्तिगत तवरमा हामी खुसी हुनसक्छौं भने त्यो सबैका लागि खुसीको आधार पनि हो। अब चाँडै नै प्रतीकात्मक अर्थमा एउटा ठूलो भैंचालोले शैतानी संसारको रीतिरिवाजको जग हल्लाएर नाश गर्नेछ। परमेश्वरको सार्वभौमिकताको प्रतिनिधित्व गर्ने ख्रीष्टको स्वर्गीय सरकारको अधीनमा रहन नचाहनेहरूले कहीं पनि लुक्ने ठाउँ पाउनेछैनन्। भविष्यवाणी यसो भन्छ: “पृथ्वीका राजाहरू, राजकुमारहरू, मुख्य मुख्य कप्तानहरू, धनीहरू, बलियाहरू, हरेक दास र स्वतन्त्र मानिस पहाड़का गुफाहरू र चटानहरू हुँदो लुके। औ तिनीहरूले पहाड़हरू र चटानहरूलाई भने, ‘हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेका सामनेबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाऊ, किनकि तिनीहरूको क्रोधको ठूलो दिन आएको छ, र को खड़ा हुनसक्छ?’ ”—प्रकाश ६:१२, १५-१७.
१२ यस प्रश्नको सन्दर्भमा अर्को अध्यायमा प्रेरित यूहन्ना महा संकष्टबाट आएका ठूलो भीड ‘सिंहासन र थुमाको अगाड़ि उभिरहेका’ छन् भनी वर्णन गर्छन्। (प्रकाश ७:९, १४, १५) तिनीहरू परमेश्वरको सिंहासनको अगाडि उभिनुको मतलब तिनीहरूले सिंहासनलाई मान्यता दिएका छन् अनि यहोवाको सार्वभौमिकताको पूर्ण अधीनमा छन्। त्यसकारण तिनीहरूले परमेश्वरसँग अनुमोदन प्राप्त सम्बन्ध राख्न सकेका छन्।
१३. (क) धेरैजसो पृथ्वीबासीहरूले कसको उपासना गर्छन् अनि तिनीहरूको निधार वा हातको छापले के चित्रित गर्छ? (ख) धैर्य धारण गर्नु किन आवश्यक हुनेछ?
१३ अर्कोतिर, बाँकी पृथ्वीबासीहरूले चाहिं जनावरले चित्रित गर्ने शैतानको राजनैतिक प्रणालीको उपासना गर्छन् भनी अध्याय १३ वर्णन गर्छ। तिनीहरूको “निधारमा” वा ‘हातमा’ छाप लगाइन्छ र तिनीहरू राजनैतिक प्रणालीलाई समर्थन गर्छन् भनेर आफ्नो सम्पूर्ण गतिविधि तथा सोचाइले नै देखाउँछन्। (प्रकाश १३:१-८, १६, १७) अध्याय १४ अझ यसो भन्छ: “यदि कुनै मानिसले त्यो जानवर र त्यसको मूर्तिलाई पूजा गऱ्यो, र निधार अथवा हातमा त्यसको छाप लियो भने, त्यसले पनि उहाँको क्रोधको कचौरामा नमिसाएर तयार गरिराखेको परमेश्वरको क्रोधको मद्य पिउनेछ, . . . परमेश्वरका आज्ञाहरू पालन गर्ने र प्रभु येशूमा विश्वास गर्ने पवित्र जनहरूको धीरज यसैमा छ।” (प्रकाश १४:९, १०, १२) जसै समय बित्दै जान्छ, यी प्रश्नहरू झन् झनै महत्त्वपूर्ण हुँदै जानेछन्: तपाईं कसलाई समर्थन गर्नुहुन्छ? यहोवा र उहाँको सार्वभौमिकतालाई वा जनावरले चित्रित गर्ने अभक्त राजनैतिक प्रणालीलाई? जनावरको छाप लगाउन इन्कार गर्ने अनि विश्वासी भई यहोवाको सार्वभौमिकताको अधीनमा रहेर धैर्य धारण गर्नेहरू धन्यका हुनेछन्।
१४, १५. प्रकाशको पुस्तकमा आरमागेडोनबारे वर्णन गर्दागर्दै बीचैमा कस्तो सन्देश दिइन्छ अनि त्यसले हाम्रोलागि कस्तो अर्थ राख्छ?
१४ “जम्मै पृथ्वीका” शासकहरू सार्वभौमिकताको विवादमा यहोवासँग मुठभेड गरेर सर्वनाश हुने बाटोमा लम्किरहेका छन्। आरमागेडोन अर्थात् “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लड़ाइँ[मा]” उक्त विवादको टुंगो लाग्नेछ। (प्रकाश १६:१४, १६) यहोवासँग युद्ध गर्न पृथ्वीका शासकहरूलाई जम्मा गर्ने कुरा वर्णन हुँदाहुँदै बीचैमा कुरा अर्कैतिर मोडिन्छ। येशू दर्शनको कुरा बीचैमा रोकेर यसो भन्नुहुन्छ: “हेर, म चोरजस्तै आउनेछु। त्यो धन्यको हो, जो सतर्क रहन्छ, र आफ्ना लुगाको रखवाली गर्छ। नत्रता त्यो नांगै हिंड़नेछ, र तिनीहरूले त्यसको लाज देख्नेछन्।” (प्रकाश १६:१५) उहाँले मन्दिरका लेवी पहरेदारहरूलाई संकेत गर्नुभएको हुनसक्छ। कसैलाई त्यसरी पहरा बस्दा निदाइरहेको भेटियो भने लुगा फुकाएर सबैको सामु बेइज्जत गरिन्थ्यो।
१५ कुरा स्पष्ट छ: आरमागेडोनबाट बच्न चाहन्छौं भने, हामी आध्यात्मिक तवरमा सतर्क रहनुपर्छ अनि यहोवा परमेश्वरको विश्वासी साक्षीहरू भनेर चिनाउने हाम्रो लाक्षणिक लुगाको रखवाली गर्नुपर्छ। आध्यात्मिक तवरमा आलस्य भएनौं अनि हरेस नखाइकन जोसिला भई “अनन्त सुसमाचार” घोषणा गऱ्यौं भने हामी धन्यका हुनेछौं।—प्रकाश १४:६.
‘अगमवाणीका वचन पालन गर्नेहरू धन्यका हुन्’
१६. प्रकाशका अन्तिम अध्यायहरू किन खुसी हुने खास कारण हुन्?
१६ हाम्रो गौरवमय आशाबारे वर्णन गर्ने अन्तिम अध्यायहरू पढ्दा प्रकाशको पुस्तकका आनन्दित पाठकहरू खुसीले झनै गद्गद हुन्छन्। त्यो आशा हो, नयाँ स्वर्ग र नयाँ पृथ्वी अर्थात् धार्मिक स्वर्गीय सरकार जसले नयाँ स्वच्छ मानव समाजमाथि शासन गर्नेछ अनि ‘सर्वशक्तिमान परमेश्वर’ यहोवाको प्रशंसा गर्नेछ। (प्रकाश २१:२२) थुप्रै अद्भुत दर्शनहरूपछि अन्तमा सन्देशवाहक दूतले यूहन्नालाई यसो भने: “यी कुराहरू विश्वासयोग्य र सत्य छन्। औ परमप्रभु, अगमवक्ताहरूका आत्माका परमेश्वरले आफ्ना दासहरूलाई झट्टै हुनआउने कुराहरू देखाउनालाई उहाँका दूत पठाउनुभयो। औ हेर, म चाँड़ै आउँछु। यस पुस्तकको अगमवाणी पालन गर्ने धन्यको हो।”—प्रकाश २२:६, ७.
१७. (क) प्रकाश २२:६ मा कस्तो आश्वासन दिइएको छ? (ख) हामी कुन कुरादेखि अलग रहन सतर्क हुनुपर्छ?
१७ प्रकाशको पुस्तकका आनन्दित पाठकहरूले उक्त शब्दहरूसित मिल्दोजुल्दो ‘पुस्तकका’ सुरुका शब्दहरू सम्झनेछन्। (प्रकाश १:१, ३) ती शब्दहरूले बाइबलको अन्तिम पुस्तकमा भविष्यवाणी गरिएका सबै “कुरो” ‘चाँडै हुनआउनेछ’ भनेर हामीलाई आश्वासन दिन्छन्। हामी अन्तको पनि अन्तिम समयमा बाँचिरहेका छौं र अब चाँडै प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएका घटनाहरू एकपछि अर्को गर्दै पूरा हुनेछन्। तसर्थ, शैतानको रीतिरिवाज हेर्दा एकदमै स्थायी देखिएला तर त्यसले हामीलाई लठ्याउनु हुँदैन। सचेत पाठकहरूले एसियाका सातवटा मण्डलीहरूमा पठाइएको सन्देशका चेताउनी सम्झन्छन् अनि भौतिकवाद, मूर्तिपूजा, अनैतिकता, मनतातो हुनबाट र गुटबन्दीमा फस्नबाट अलग्गै रहन्छन्।
१८, १९. (क) येशू किन आउनुहुनेछ अनि यूहन्नाले बताएको कुन आशामा हामी सहभागी हुन्छौं? (ख) यहोवा ‘आउनुहुने’ कारण के हो?
१८ प्रकाशको पुस्तकमा येशूले थुप्रैपल्ट यस्तो घोषणा गर्नुभयो: “म चाँड़ै आउँछु।” (प्रकाश २:१६; ३:११; २२:७, २०) शैतानको राजनैतिक प्रणाली, महान् बेबिलोन अनि अहिले मसीही राज्यले प्रतिनिधित्व गर्ने यहोवाको सार्वभौमिकताको अधीनमा बस्न इन्कार गर्नेहरू सबैलाई न्याय गर्न उहाँ आउनुहुनेछ। हामी प्रेरित यूहन्नासँग आफ्नो सोर मिलाउँदै यसो भन्छौं: “आमिन, आउनुहोस्, हे प्रभु येशू।”—प्रकाश २२:२०ख।
१९ स्वयम् यहोवा यसो भन्नुहुन्छ: “हेर, म चाँड़ै आउँछु, र हरेक मानिसलाई आफ्नो आफ्नो कामअनुसार दिने इनाम मसँग छ।” (प्रकाश २२:१२) हामीले अनन्त जीवनको गौरवमय इनाम चाहे प्रतिज्ञा गरिएको “नयाँ स्वर्ग[मा]” पाउने आशा गरेका हौं या “नयाँ पृथ्वी[मा],” इमानदार हृदय भएका मानिसहरूलाई जोसिलो भई यो निमन्त्रणा दिनसकौं: “ ‘आउनुहोस्।’ . . . जो तिर्खाउँछ, त्यो आओस्, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्।” (प्रकाश २२:१७) तिनीहरू पनि परमेश्वरद्वारा प्रेरित तथा प्रेरणादायी प्रकाशको पुस्तकका आनन्दित पाठकहरू होऊन्!
[फुटनोट]
a प्रकाश—त्यसको चर्मोत्कर्ष निकट! पृष्ठ २८-९, १३६ (पादटिप्पणी) हेर्नुहोस्।
पुनरावलोकनका लागि बुँदाहरू
◻ यहोवाले कुन माध्यमद्वारा प्रकाशका कुराहरू प्रकट गर्नुभयो अनि त्यसबाट हामी के सिक्छौं?
◻ एसियाका सातवटा मण्डलीलाई दिइएको सन्देश पढ्न हामी किन रमाउनुपर्छ?
◻ हामी “परीक्षाको समयमा” कसरी बच्नसक्छौं?
◻ प्रकाश भएको पुस्तकका शब्दहरूलाई ध्यान दियौं भने हामीले कस्तो आनन्द पाउनेछौं?
[पृष्ठ १५-मा भएको चित्र]
सुसमाचारको स्रोत चिन्ने धन्यका हुन्
[पृष्ठ १८-मा भएको चित्र]
जागा रहने धन्यका हुन्