उच्च अख्तियारवालाहरू प्रति मसीही दृष्टिकोण
“हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्, किनभने परमेश्वरकावाहेक अरूको अख्तियार हुंदैन औ अख्तियारहरूचाहिं परमेश्वरबाट खटिएका हुन्छन्।”—रोमी १३:१.
१, २. (क) पावल रोममा किन कैदी थिए? (ख) पावलले सिजरलाई गरेका उजुरीको कारण के प्रश्नहरू उठ्दछन्?
करिब ५६ सा. यु. मा प्रेरित पावलले रोमीहरूलाई उपरोक्त शब्दहरू लेखे। केही वर्ष पश्चात् तिनी स्वयं रोममा कैदी भए। किन? यरूशलेममा तिनलाई एउटा हुलले आक्रमण गरेको थियो र रोमी सिपाहीहरूले बचाएका थिए। सिजरियामा लगे पछि, तिनीमाथि झूटो आरोपहरू लगाइयो, तर रोमी बड़ा हाकिम, फेलिक्सका सामुन्ने योग्यतासाथ तिनले आफ्नो बचाउको निम्ति बहस गरे। धूस पाउने आशामा, फेलिक्सले तिनलाई दुई वर्षसम्म झ्यालखानमै राखे। अन्तमा, अर्को बड़ा हाकिम, फेस्टससँग, पावलले आफ्नो मामलाको सुनवाइ सिजरबाट होस् भनेर माग गरे।—प्रेरित २१:२७-३२; २४:१–२५:१२.
२ एउटा रोमी नागरिकको हैसियतमा यो तिनको अधिकार थियो। तर येशूले “संसारको शासक” वास्तवमा शैतान हो भनी उल्लेख गर्नु भएको थियो, र पावल आफैले पनि शैतानलाई “संसारको देव” भनेका थिए। यसकारण, पावलले फेरि त्यस राजकीय अख्तियारवालासँग नै बिन्ती गर्नु के उचित कुरा थियो र? (यूहन्ना १४:३०; २ कोरिन्थी ४:४) अथवा के रोमी अख्तियारवालासँग कुनै “सापेक्षिक अधिकार” थियो र, जसले गर्दा आफ्ना हकहरूको बचाउका निम्ति पावलले ती अख्तियारवालालाई गुहारनु उचित थियो? वास्तवमा, “हामीले मानिसहरूका भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नु पर्दछ” भन्ने प्रेरितहरूले अघि भनेका शब्दहरू अनुसार, परमेश्वर प्रति अनाज्ञाकारिता बिथोलित छैन भने, मानव शासकहरू प्रति मसीहीहरू आज्ञाकारी हुन वास्तवमा मिल्छ र?—प्रेरित ५:२९.
३. कुन परिपक्व दृष्टिकोण पावलले जाहेर गर्दछन्, र यसमा अन्तस्करण कसरी विथोलित छ?
३ रोमीहरूलाई लेखेको पत्रमा यी प्रश्नहरूको उत्तर दिन पावलले हामीहरूलाई मदद दिन्छन् र तिनले त्यहाँ मानव शासन प्रति एउटा परिपक्व दृष्टिकोण प्रस्तुत गर्दछन्। सर्वोच्च अख्तियारवाला यहोवा परमेश्वरलाई पूर्ण आज्ञाकारिता र “उच्च अख्तियारवालाहरूलाई” सापेक्षिक आज्ञाकारिता संतुलित ढङ्गमा दिने गर्दा, एउटा मसीही अन्तस्करणले निभाउनु पर्ने भूमिकाबारे पावलले रोमी १३:१-७ मा स्पष्ट पार्दछन्।
उच्च अख्तियारवालाहरूलाई चिन्नु
४. १९६२ मा कुन दृष्टिकोणमा छाँटकाँट गरियो, र त्यसबाट के प्रश्नहरू उठ्न सक्दछ?
४ केही वर्ष, अर्थात् १९६२ सम्म, यहोवाका साक्षीहरूले यहोवा परमेश्वर र येशू ख्रीष्टलाई उच्च अख्तियारवालाहरू भनी ठानेका थिए। तथापि, हितोपदेश ४:१८ मा भनिए अनुसार, ज्योति बढ़दै गयो, र यस दृष्टिकोणमा छाँटकाँट गरियो जसले गर्दा कसै कसैको मनमा प्रश्नहरू उठ्न सक्छ। के आज हामीले फेरि राजाहरू, राष्ट्रपतिहरू, प्रधान मंत्रीहरू, नगरपालहरू, बड़ा हाकिमहरू र संसारमा सांसारिक शक्ति सञ्चालन गर्ने अरू सबै नै उच्च अख्तियारवालाहरू हुन् र हामीहरू सापेक्षिक रूपमा तिनीहरूको अधीनमा छौं भन्नु ठीक होला र?
५. रोमी १३:१ को प्रसङ्गले हामीलाई उच्च अख्तियारवालाहरू को हुन् भनेर बुझ्न के मद्दत पुर्याउँछ र यसलाई बाइबलका विभिन्न अनुवादहरूले पनि कसरी समर्थन गर्दछ?
५ दोस्रो शताब्दी सा. यु. का लेखक आइरेनियसले भने कि तिनको समयमा कसै कसैका अनुसार “अदृश्य शासकहरू [वा] स्वर्गदूतिय शक्तिहरू” वारे पावलले रोमी १३:१ मा कुरा गर्दै थिए। हुनता आइरेनियस आफैले पनि उच्च अख्तियारवालाहरू भनेको “साँच्ची कै मानव अख्तियारवालाहरू” हुन् भनी ठानेका थिए। आरेनियसको विचार ठीक थियो भनी पावलका शब्दहरूको प्रसङ्गले देखाउँदछ। रोमी १२ अध्यायको अन्तका पदहरूमा, ‘शत्रुहरू’ समेत “सबै मानिसहरूका” सामुन्ने प्रेम र विवेकसाथ मसीहीहरूले कसरी व्यवहार गर्नु पर्छ भनी पावलले वर्णन गर्दछन्। (रोमी १२:१७-२१) “सबै मानिसहरू” भन्नाले, मसीही मण्डली बाहिरका व्यक्तिहरू स्पष्टतया बोध हुन्छ। यही कुरासँग सम्मत राख्दै, हेर्नुहोस्, कसरी विभिन्न अनुवादहरूले रोमी १३:१ को पहिलो भागको अनुवाद गरेकाछन्: “हरेकले देशका अख्तियारवालाहरूको आज्ञा पालन गर्नु पर्दछ” (टुडेज इङ्गिलिस भर्सन); “हरेकले शासकीय अख्तियारवालाहरूको अधीनतालाई स्वीकार गर्नु पर्दछ” (न्यु इन्टर न्याशनल भर्सन); हरेकले निजामती अख्तियारवालाहरूको आज्ञा मान्नु पर्दछ।”—फिलिप्स’ न्यु टेस्टामेन्ट इन मोडर्न इङ्गलिश.
६. पावलले कर र महसुल तिर्ने जस्ता शब्दहरू प्रयोग गरेको हुनाले, उच्च अख्तियारवालाहरू सांसारिक अख्तियारवालाहरू नै हुन् भनेर कसरी बोध हुँदछ?
६ ती अख्तियारवालाहरूले करहरू र महसुल माग गर्दछन् भनी पावल अझ भन्छन्। (रोमी १३:६, ७) मसीही मण्डलीले करहरू वा महसुल मागदैनन्; नता यहोवा वा येशू वा अन्य अरू “अदृश्य शासकहरूलेनै” माग्दछन्। (२ कोरिन्थी ९:७) सांसारिक अख्तियारवालाहरूलाई मात्र कर तिरिन्छ। यस अर्थसँग मिल्ने गरी पावलले रोमी १३:७ मा “कर” र “महसुलका” लागि प्रयोग गरिएका युनानी शब्दहरूबाट विशेष रूपमा देशलाई तिरेको रकम बोध हुन्छ।a
७, ८. (क) मसीहीहरू यस संसारका राजनैतिक अख्तियारवालाहरूका अधीनमा हुनुपर्छ भन्ने विचारलाई विभिन्न शास्त्रपदहरूले कसरी समर्थन गर्छन्? (ख) कति बेला मात्र मसीहीहरूले “अख्तियारवालाको” आज्ञाहरू पालन गर्दैनन्?
७ साथै उच्च अख्तियारवालाहरूका अधीनमा रहनु भनी पावलले दिएको सल्लाह, येशूले दिनु भएको “जे जे सिजरका हुन् सिजरलाई” दिनु भन्ने आज्ञासँग मिल्दछ र यहाँ “सिजरले” सांसारिक अख्तियारवालाको प्रतिनिधित्व गर्दछ। (मत्ती २२:२१) साथै यो कुरा पावलले पछि तितसलाई लेखेका यी शब्दहरूसित पनि मिल्दछ: “शासकहरू र अख्तियारवालाहरूका अधीनमा बसी उनीहरूका आज्ञा पालन गर्नू, र हरेक असल काममा तत्पर रहनु।” (तितस ३:१) तसर्थ, मसीहीहरूलाई शासकहरूले सामाजिक कामहरूमा भाग लिन अह्राउँदा, सो काम कुनै गैर-शास्त्रीय सेवाको सट्टामा, समझौताको रूपमा गरिएको होइन भने, अथवा त्यो यशैया २:४ मा उल्लेखित शास्त्रीय सिद्धान्तको विपरीत छैन भने, तिनीहरूले खुशी-खुशी त्यस आज्ञाको पालन गर्दछन्।
८ हामी यस संसारका सांसारिक अख्तियारवालाहरूका अधीनमा हुनु पर्दछ भन्ने कुरालाई पत्रुसले अझ पुष्टि दिए: “प्रभुको खातिर मानिसका हरेक विधानको अधीनमा रहो, चाहे राजाको, जो सर्वोच्च हुन् अथवा बड़ा हाकिमहरूको, जो खराब काम गर्नेहरूलाई बदला लिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उनीबाट पठाइएका हुन्छन्।” (१ पत्रुस २:१३, १४) यसै अनुसार, पावलले तिमोथीलाई दिएको अर्तीमा मसीहीहरूले ध्यान दिनु पर्दछ: “यसैकारण सबैभन्दा पहिले म अर्ती दिन्छु, कि अन्तरबिन्ती, प्रार्थना, विनम्र निवेदन, धन्यवादहरू सबै मानिसहरूका निम्ति, सब प्रकारका भक्ति र गम्भीरतामा हामीले शान्ति र चैनको जीवन बिताउन पाऔं भनेर राजाहरू र उच्च पदाधिकारीहरूका निम्ति पनि गरिउन्।”b—१ तिमोथी २:१, २.
९. मानव अख्तियारवालाहरूलाई उच्च भनी सङ्केत गर्दा यहोवालाई दिने महिमा किन कम हुँदैन?
९ सांसारिक अख्तियारवालाहरूलाई “उच्च” भन्दा, के यहोवाले पाउनु पर्ने महिमालाई हामी कम पार्दछौं? पार्दैनौं, किनभने उहाँ उच्च मात्र हुनु हुन्न। उहाँ उच्च भन्दा धेरैनै महान हुनुहुन्छ। उहाँ “सर्व सत्ताधारी प्रभु,” “सर्वोच्च परमेश्वर” हुनुहुन्छ। (भजनसंग्रह ७३:२८; दानियल ७:१८, २२, २५, २७; प्रकाश ४:११; ६:१०) मानव अख्तियारवालाहरूको अधीनमा बस्दा, सर्वोच्च अख्तियारवाला, सर्व सत्ताधारी प्रभु यहोवालाई हामीले चढ़ाउने उपासना कुनै हालतमा पनि कम हुँदैन। त्यसो हो भने, यी अख्तियारवालाहरू कुन हदसम्म उच्च छन्? यी अख्तियारवालाहरू अरू मानवहरूको तुलनामा र तिनीहरूको आफ्नै कार्यभारको क्षेत्रमा मात्र उच्च छन्। मानव समाजलाई शासन गर्ने र रक्षा गर्ने तिनीहरूको जिम्मेवारी हो र यसकालागि तिनीहरूले कानून र विधिहरू बनाएर राजकाज चलाउदछन्।
“उनीहरू परमेश्वरबाट खटिएका” हुन्
१०. (क) उच्च अख्तियारवालाहरू आ-आफ्ना “ठाउँमा” राखिएका छन् भन्ने पावलको बयानद्वारा यहोवाको आफ्नो अख्तियारवारे के प्रमाणित हुँदछ? (ख) केही शासकहरूलाई तिनीहरूको “ठाउँमा” बस्ने सम्बन्धमा, यहोवाले के अनुमति दिनु भएको छ, र त्यसबाट उहाँका दासहरू कसरी जाँचिएका छन्?
१० यी अख्तियारवालाहरू “परमेश्वरबाट खटिएर” आ-आफ्ना सम्बन्धित ठाउँमा खड़ा छन् भन्ने कुराबाट पनि यहोवा परमेश्वरनै यी अख्तियारवालाहरू भन्दा सर्वोच्च हुनु हुन्छ भन्ने कुरा बोध हुन्छ। तथापि, यस वयानले एउटा प्रश्न खड़ा गर्दछ। पावलले यी कुराहरू लेखेका केही वर्ष पश्चात्’ रोमी सम्राट नेरोले मसीहीहरूको विरोधमा भयङ्कर सतावटको एउटा भीषण अभियान चलाए। के परमेश्वर आफैले व्यक्तिगत रूपमा नेरोलाई त्यस ठाउँमा खटाएर राख्नु भएको थियो? कदापि थिएन! हरेक शासकलाई परमेश्वरले छानेर “आफ्नो अनुग्रह अनुसार” खटाउनु हुँदैन। बरू, शैतानले कहिलेकाहीं निर्दयी मानिसहरूलाई शासक बनाउनमा हात दिन्छ र त्यसलाई यहोवाले यसो गर्न मात्र होइन तर ती शासकहरू द्वारा आफ्ना समग्रतापालक सेवकहरूमाथि परीक्षाहरू आउन पनि दिनु हुन्छ।—अय्यूब २:२-१० सङ्ग तुलना गर्नुहोस्.
११, १२. सांसारिक अख्तियारवालाहरूलाई यहोवाले व्यक्तिगत रूपमा अख्तियारको स्थानबाट हटाउनु भएको र कहिले चाहिं स्थानमा रहन दिनु भएका कुन कुन घटनाहरू उल्लेखित् छन्?
११ तथापि, उहाँको उच्च उद्देश्य पूरा गर्नकालागि केही शासकहरू र सरकारहरूका सम्बन्धमा यहोवाले व्यक्तिगत रूपमा हस्तक्षेप गर्नु भएकोछ। उदाहरणकालागि, अब्राहामको समयमा कनानीहरूले कनानमा बस्ने अनुमति पाए। तापनि, यहोवाले पछि तिनीहरूलाई त्यहाँबाट हटाउनु भएर त्यो देश अब्राहामका सन्तानलाई दिनुभयो। उजाड़-स्थानको प्रवासको अवधिमा यहोवाले इस्राएलीहरूलाई अम्मोन, मोआब, र सेइर पर्वतका देशहरूमाथि आक्रमण गर्न दिनुभएन। तर तिनीहरूलाई उहाँले सिओन र ओगका राज्यहरूलाई नाश गर्ने आज्ञाचाहिं दिनुभयो।—उत्पत्ति १५:१८-२१; २४:३७; प्रस्थान ३४:११; व्यवस्था २:४, ५, ९, १९, २४; ३:१, २.
१२ इस्राएलीहरू कनानमा बसोबास गरेपछि, उहाँका जनहरूलाई असर पार्ने अख्तियारवालाहरूमाथि उहाँले प्रत्यक्ष चासो राखि नै रहनु भयो। समय समयमा, इस्राएलीहरूले पाप गर्दा, उहाँले तिनीहरूलाई मूर्तिपूजक अख्तियारवालाहरूको दास्त्वमा पर्न दिनु हुन्थियो। इस्राएलीहरूले फेरि पश्चाताप गरे पछि, उहाँले त्यस अख्तियारवालालाई देशबाट हटाइ दिनु हुन्थियो। (न्याय २:११-२३) अन्तत्वगत्वा, उहाँले अरू धेरै राष्ट्रहरूका साथ साथै, यहूदालाई पनि बेबिलनको कब्जामा पर्न दिनुभयो। (यशैया १४:२८–१९:१७; २३:१-१२; ३९:५-७) इस्राएलीहरू बेबिलनमा निर्वासनमा गए पछि, यहोवाले त्यस समय देखि हाम्रो समयसम्म उहाँका जनहरूमाथि असर पार्ने विश्व शक्तिहरूको उत्थान र पतन वारे भविष्यवाणी गर्नुभयो।—दानियल, अध्याय २, ७, ८ र ११.
१३. (क) मोशाको गीत अनुसार, मानिसहरूकालागि यहोवाले सिमाना किन तोकिदिनु भयो? (ख) यहोवाले पछि गएर, इस्राएलीहरूलाई आफ्नै देशमा किन पुन:स्थापित गर्नुभयो?
१३ मोशाले यहोवावारे यसो भन्दै गीत गाए: “जब सर्वोच्च परमेश्वरले जाति जातिहरूलाई तिनीहरूका अधिकार दिनुभयो, जब उहाँले सबै मानिस जातिलाई पृथक गर्नुभयो, तब उहाँले इस्राएलीहरूको संख्या अनुसार जाति जातिका सिमाना ठहराइ दिनुभयो। यहोवाको निज हिस्सा उहाँका मानिसहरू हुन्, याकूब उहाँको अधिकारको भाग हो।” (व्यवस्था ३२:८, ९; प्रेरित १७:२६ सङ्ग तुलना गर्नुहोस्) हो, आफ्ना उद्देश्यहरू पूरागर्नका लागि कुन अख्तियारवालाहरू रहने र कुनचाहिं नाश हुने भनी परमेश्वरले त्यहाँ आज्ञा दिनुभयो। यसप्रकार, उहाँले अब्राहामका सन्तानहरूलाई एउटा देश उत्तराधिकारको रूपमा छुट्याइ दिनुभयो र पछि तिनीहरूलाई त्यस देशमा पुन:स्थापित गर्नुभयो ताकि अन्तत्वगत्वा, भविष्यवाणी अनुसार, प्रतिज्ञा गरिएका सन्तान त्यहाँ देखापर्न सकोस्।—दानियल ९:२५, २६; मीका ५:२.
१४. मानव अख्तियारवालाहरूलाई यहोवाले तिनीहरूको सापेक्षिक ठाउँमा राख्नु हुन्छ भनेको अर्थ अकसर के हो?
१४ तथापि, यहोवाले अकसर शासकहरूलाई सापेक्षिक अधिकार प्रयोग गर्न पाउने ठाउँमा राख्नुहुन्छ भन्नुको अर्थ तिनीहरूलाई एक-अर्कासँग सापेक्षिक रूपमा अधिकार प्रयोग गर्ने अनुमति उहाँले दिनु हुन्छ तर त्यो अधिकार सधैं उहाँको आफ्नो अधिकार भन्दा तल्लो स्तरको हुन्छ। यसैकारण येशू पोन्तियस पिलातसको सामुन्ने खड़ा हुनु भएको बेलामा, ती शासकलाई उहाँले भन्नुभयो: “तपाईंलाई यो अधिकार माथिबाट नदिएको भए तपाईंको ममाथि केही अधिकार हुनेथिएन।” (यूहन्ना १९:११) यसको अर्थ परमेश्वर स्वयंले पिलातसलाई त्यस ओहदामा राख्नु भएको होइन। तर येशूमाथिको जीवन-मरणको अधिकार पिलातसले परमेश्वरको अनुमति द्वारा मात्र पाएको थियो।
“यो रीतिरिवाजको परमेश्वर”
१५. शैतानले यस संसारमा कुन प्रकारले अख्तियार चलाउँदछ?
१५ तर शैतान यस संसारको देव वा शासक हो भनेर बाइबलमा उल्लेखित कुराको विषयमा के भन्न सकिन्छ? (यूहन्ना १२:३१; २ कोरिन्थी ४:४) साथै, येशूलाई संसारका सारा राज्यहरू देखाएर शैतानले गरेको यो धाकबारे के भन्न सकिन्छ: “म यो सारा अख्तियार . . . यी सबै मलाई सुम्पिएको छ, औ जसलाई इच्छा गर्छु, म यो दिन सक्छु।” (लूका ४:६) शैतानले लगाएको धाकलाई येशूले खण्डन गर्नु भएन। पावलले पछि लेखेका कुराहरूसित शैतानका शब्दहरू मिल्दछ: “हाम्रो यो लड़न्त मानिसहरूका विरुद्धमा होइन, तर प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।” (एफिसी ६:१२) अझ, प्रकाशको पुस्तकमा शैतानलाई एउटा ठूलो अजिङ्गरको रूपमा प्रस्तुत गरिएको छ जसले संसारको राजनैतिक व्यवस्थाको प्रतीक अथवा एउटा जनावरलाई “त्यसको शक्ति, सिंहासन, र ठूलो अख्तियार” दिन्छ।—प्रकाश १३:२.
१६. (क) शैतानको अख्तियार सीमित छ भनी कसरी बुझ्न सकिन्छ? (ख) मानवजातिमाथि अख्तियार चलाउनलाई यहोवाले शैतानलाई किन अनुमति दिनुहुन्छ?
१६ तथापि, येशूलाई शैतानले भनेको त्यस बयानमाथि ध्यान दिनुहोस्, “यी सबै अख्तियार . . . मलाई सुम्पिएकोछ।” शैतानको यस बयानले यो देखाउँदछ कि उसले पनि अनुमति पाएर मात्र अख्तियार चलाउँदछ। परमेश्वरले यो अनुमति किन दिनुहुन्छ? अदनको बगैंचामा खुला रूपमा शैतनले परमेश्वरलाई झूट बाल्ने तथा अन्यायपूर्वक आफ्नो सार्वभौमिकता स्थापित गर्न खोज्ने दोष लगाएको समय देखि नै, शैतान संसारको शासक हुन गयो। (उत्पत्ति ३:१-६) आदम र हव्वा शैतानको पछि लागे र यहोवा परमेश्वरको आज्ञालाई उल्लङ्घन गरे। त्यसै बेलानै, यहोवाले सिद्ध न्यायको आधारमा, शैतान र उसका दुई जना नयाँ अनुयायीहरूलाई नाश गर्न सक्नुहुन्थ्यो। (उत्पत्ति २:१६, १७) तर शैतानका शब्दहरू यहोवाकालागि साँच्चै नै एउटा व्यक्तिगत चुनौति थियो। यसकारण परमेश्वरले बुद्धिमानी साथ शैतानलाई केही समयसम्म बाँची रहने र आदम र हव्वालाई मर्न अघि छोरा-छोरी जन्माउने अनुमति दिनुभयो। यसप्रकार, शैतानको चुनौतीको झुट्टापनलाई जाहेर हुन परमेश्वरले समय र मौका दिनुभयो।—उत्पत्ति ३:१५-१९.
१७, १८. (क) शैतान यस संसारको देव हो भनी हामी किन भन्नसक्छौं? (ख) कुन प्रकारबाट “परमेश्वर बाहेक” यस संसारमा “अरू अख्तियारवाला” छैन?
१७ अदनको समय देखि आजसम्म घटदै आएका घटनाहरूबाट, शैतानका आरोपहरू सम्पूर्णतया झुट्टा रहेछन् भनी साबित भएका छन्। शैतान वा मानव शासन अन्तर्गत् आदमका सन्तानहरूले सुख पाएकाछैनन्। (उपदेशक ८:९) बरू, परमेश्वरले आफ्ना जनहरूसँग गर्नुभएको व्यवहार द्वारा ईश्वरीय शासनको श्रेष्ठता प्रदर्शित भएको छ। (यशैया ३३:२२) तर आदमका धेरै जसो सन्तानले यहोवाको सार्वभौमिकतालाई इनकार गरेको हुनाले, तिनीहरू जाना-जानी अथवा अंजानमा, शैतानलाईनै आफ्नो परमेश्वर ठानेर पुज्दछन्।—भजनसंग्रह १४:१; १ यूहन्ना ५:१९.
१८ अब चाँड़ैनै अदनमा उठेका प्रश्नहरूको फैसला हुनेछ। परमेश्वरको राज्यले पूर्णरूपमा मानव जातिको प्रशासन चलाउनेछ र शैतानलाई कैदमा पार्नेछ। (यशैया ११:१-५; प्रकाश २०:१-६) तथापि, हाल, मानव जातिको समाज भित्र, नियमित रूपमा जिवन बिताउन सम्भव पार्नका लागि, कुनै न कुनै प्रकारको एउटा प्रबन्ध वा संरचना आवश्यक छ। यहोवा “गोलमालका परमेश्वर होइन, तर शान्तिका परमेश्वर हुनुहुन्छ।” (१ कोरिन्थी १४:३३) तसर्थ अदन बाहिर विकशित भएका समाजहरूमा उहाँले अख्तियारको संरचना हुने अनुमति दिनुभएको छ, र यस प्रबन्ध द्वारा मानिसलाई अख्तियार चलाउने अनुमति पनि दिनु भयो। यसरी “परमेश्वरका बाहेक अरू [द्वारा, न्यु.व.] अख्तियार” छैन।
पक्षपातरहितका अख्तियारवालाहरू
१९. के प्रत्यक मानव शासक शैतानको प्रत्यक्ष नियन्त्रणमा छ?
१९ अदनको समय देखि, मानव जातिमा शैतानले विस्तृत रूपमा आफ्नो स्वतंत्रता प्रयोग गर्दै आएको छ, र येशूलाई दिएको धाक अनुसार, पृथ्वीमा घटने घटनाहरू सञ्चालन गर्न त्यसले आफ्नो स्वतन्त्रता चलाएको छ। (अय्यूब १:७; मत्ती ४:१-१०) तथापि, संसारको प्रत्यक शासक प्रत्यक्ष रूपमा शैतानको अधीनमा छ भन्नु मिल्दैन। कोही कोही—प्रथम शताब्दीका नेरो र हाम्रो शताब्दीको एडल्फ हिटलर जस्ताले साँच्चैनै शैतानी आत्मा प्रकट गरे। तर अरूहरूले चाहिं गरेनन। साइप्रसका बड़ा हाकिम सर्गियस पौलस, “एउटा बुद्धिमान मानिस थिए जसले “परमेश्वरको वचन सुन्न चाहे।” (प्रेरित १३:७) अखैयाका बड़ा हाकिम, गल्लियो पावलका यहूदी विरोधीहरूको दबावमा पर्न चाहेनन्। (प्रेरित १८:१२-१७) अरू धेरै शासकहरूले उचित ढ़ङ्गमा, सुविवेक साथ आफ्नो अख्तियार चलाएका छन्।—रोमी २:१५ सङ्ग तुलना गर्नुहोस्.
२०, २१. मानव शासकहरू सधैं शैतानको इच्छा गर्दैनन् भनेर २० वीं शताब्दीका कुन घटनाहरूले दर्शाउँछ?
२० १९१४ देखि शुरू भएको “प्रभुको दिनमा,” शैतानको उद्देश्यलाई विफल पार्न यहोवाले मानव अख्तियारवालाहरू पनि चलाउनु हुनेछ भनेर प्रकाशको पुस्तकले भविष्यवाणी गरेको थियो। अभिषिक्त मसीहीहरूका विरुद्धमा शैतानले चलाएको सतावटको भेललाई “पृथ्वीले” निलनेछ भनी प्रकाशको पुस्तकले वर्णन गर्दछ। (प्रकाश १:१०; १२:१६) “पृथ्वीमा” भएका तत्वहरू, अर्थात् पृथ्वीमा हाल कायम मानव समाजले शैतानको सतावटबाट यहोवाका जनहरूलाई बचाउने थियो।
२१ के साँच्चैनै त्यसो भएको छ? छ। उदाहरणकालागि, १९३० र १९४०का दशकहरूमा, अमेरिकामा यहोवाका साक्षीहरूमाथि हुल्याहाहरूका आक्रमण, र अन्यायपूर्ण पक्राउहरूको कारण, ठूलो दबाब परेको थियो। अमेरिकाको सर्वोच्च अदालतले धेरैवटा निर्णय द्वारा तिनीहरूको कामलाई कानूनी मान्यता दिए पछि मात्र तिनीहरूले अलिक शान्ति पाए। अन्य स्थानहरूमा पनि, अख्तियारवालाहरूले परमेश्वरका जनहरूलाई मदद गरेकाछन्। करिब ४० वर्ष अघि, आएरलैण्डमा एउटा रोमन क्याथोलिक हुलले कर्क भन्ने शहरमा दुई जना साक्षीहरू माथि आक्रमण गऱ्यो। एउटा स्थानीय प्रहरी, साक्षीहरूको मद्दत गर्न आयो र एउटा कानूनी अदालतले आक्रमणकारीहरूलाई उचित सजाय दियो। गत वर्ष मात्र, फिजिमा, यहोवाका साक्षीहरूको गतिविधिलाई प्रतिबन्ध लगाउने एउटा प्रस्तावमा सुनवाइ भयो। एक जना प्रमुखले साहसपूर्वक साक्षीहरूका पक्षमा बोले र प्रस्ताव खारेज भयो।
२२. अरू कुन प्रश्नहरूको छलफल यस पछि गरिनेछ?
२२ सांसारिक अख्तियारवालाहरूले सधैं नै शैतानको इच्छानुसार गर्दैनन्। मसीहीहरू शैतानको अधीनमा नभइकन पनि उच्च अख्तियारवालाहरूका अधीनमा हुनसक्छन्। हो, परमेश्वरले यी अख्तियारवालाहरूलाई अख्तियार चलाउने अनुमति दिउञ्जेलसम्म, यहोवाका साक्षीहरू तिनीहरूको अधीनमा बस्नेछन्। तर यस प्रकारको अधीनताको अर्थ के हो? र उच्च अख्तियारवालाहरूबाट बदलामा मसीहीहरूले के पाउने आशा गर्न सक्छन्? यी प्रश्नहरूको छलफल पछि आउने लेखहरूमा गरिनेछ। (w90 11/1)
[फुटनोटहरु]
a उदाहरणकालागि, लूका २०:२२ मा “कर” (फोरोस) शब्दको प्रयोग हेर्नुहोस्। साथै युनानी शब्द टेलोस लाई यहाँ “महसुल” भनेर अनुवाद गरिएको छ, जबकि त्यसलाई मत्ती १७:२५ मा “कर्त्तव्यहरू” भनेर अनुवाद गरिएकोछ।
b “उच्च स्थान” भनी अनुवाद गरिएको हाइपेरोखे भन्ने युनानी संज्ञा, क्रिया हाइपेरेखेसित सम्बन्धित छ। “उच्च अख्तियारवालाहरूमा” भएको “उच्च” शब्द त्यही युनानी क्रियाबाट आएको हो। उच्च अख्तियारवालाहरू सांसारिक अख्तियारवालाहरू नै हुन् भन्ने कुराको प्रमाण यसबाट पाइन्छ। न्यु इङ्गलिस बाइबलमा रोमी १३:१: “प्रत्यक मानिस सर्वोच्च अख्तियारवालाहरूको अधीनमा हुनु पर्दछ,” भनेर गलत अनुवाद गरिएको छ। उच्च ओहदामा हुने मानिसहरू अरू मानिसहरू भन्दा उच्च भएतापनि, तिनीहरूलाई सर्वोच्च भन्नु मिल्दैन।
तपाईं कसरी जवाफ दिनु हुन्छ?
▫ उच्च अख्तियारवालाहरू को हुन्?
▫ परमेश्वर बाहेक अरू कसैको अख्तियार हुँदैन भनी हामी कसरी भन्न सक्छौं?
▫ यहोवाले संसारलाई शैतानको अख्तियारको अधीनमा बस्ने किन अनुमति दिनुहुन्छ?
▫ यहोवाले मानव अख्तियारवालाहरूलाई तिनीहरूको “सापेक्षित ठाउँहरूमा” कसरी राख्नु भएको छ?
[पृष्ठ १३-मा भएको चित्र]
रोमको आगलागि पछि, नेरोले साँच्चैनै शैतानको आत्मा प्रदर्शन गरे
[पृष्ठ १५-मा भएको चित्र]
साइप्रसका बड़ा हाकिम, सर्गियस पौलसले, परमेश्वरको वचन सुन्ने इच्छा गरे