परमेश्वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं
“शरीर र आत्माका सबै किसिमका अशुद्धपनाबाट हामी आफैलाई शुद्ध पारौं, औ परमेश्वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं।”—२ कोरिन्थी ७:१.
१. उच्च पदमा बस्ने स्वर्गदूतहरूले पनि यहोवाको पवित्रतालाई मान्यता दिन्छन् भनेर हामीलाई कसरी थाह भएकोछ?
यहोवा पवित्र परमेश्वर हुनु हुन्छ। उच्च पदमा हुने स्वर्गदूतहरूले स्वर्गमा उहाँका पवित्रताको निश्चित् रूपमा घोषणा गर्दछन्। “सेनाहरूका परमप्रभु [NW यहोवा] पवित्र, पवित्र, पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।” यो रोमाञ्चकारी पुकारा, ई. पू. आठवाँ शताब्दीमा यशैया अगमवक्ताले देखेको दर्शनमा, सेराफहरूको थियो। ई. स. प्रथम शताब्दीको अन्तमा, प्रेरित यूहन्नाले “प्रभुका दिन” अर्थात् हाम्रो समयमा हुने कुराहरूको दर्शन देखे। तिनले यहोवाको सिंहासनको वरिपरि चार जीवित जीवातहरू देखे र तिनीहरूले निरन्तर यो घोषणा गरिरहेको सुने: “पवित्र, पवित्र, पवित्र प्रभु परमेश्वर [NW यहोवा] सर्वशक्तिमान हुनुहुन्छ, जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनआउनुहुनेछ।” यहोवाका स्वर्गीय आत्मिक सृष्टिहरूले तीन, तीन पटक गरेको यो घोषणाले सृष्टिकर्त्ताको सर्वोत्तम पवित्रतालाई महत्व दिन्छ।—यशैया ६:२, ३; प्रकाश १:१०; ४:६-८.
पवित्रता र अलग्याइ
२. (क) पवित्रताका कुन दुई भावहरू छन् र यी दुवैमा यहोवा कसरी पवित्र हुनुहुन्छ? (ख) मोशाले यहोवाको पवित्रतालाई कसरी महत्व दिएकाछन्?
२ पवित्राको अर्थ धार्मिक शुद्धता र निर्मलता मात्र होइन तर अलग्ग र चोखो रहेको पनि हुनु पर्छ। यहोवा सर्वोच्च ढङ्गमा सफा अथवा निर्मल हुनुहुन्छ; उहाँ अन्य राष्ट्रहरूका अश्लील देवताहरू भन्दा पूर्णतया अलग्ग हुनुहुन्छ। उहाँका पवित्रताको यो पक्षलाई मोशाले आफ्नो गीतमा यस प्रकार महत्व दिए: “हे परमप्रभु [NW यहोवा] देवताहरूमा तपाईंझैं को छ र? पवित्रतामा अति महान, प्रतापी कार्यहरूमा भययोग्य र उदेकका कर्म गर्नुहुने तपाईंझैं को छ र?”—प्रस्थान १५:११.
३. सारा इस्राएलीहरू कुन-कुन कुरामा पवित्र हुनु परेका थिए र यसमा यहोवाले तिनीहरूलाई कसरी मदद दिनु भयो?
३ पवित्र परमेश्वर यहोवा प्राचीन इस्राएलीहरू अर्थात् पृथ्वीमा भएका उहाँका मानिसहरू पनि पवित्र भएको चाहनु हुन्थ्यो। उहाँले यस कुराको माँग पुजारीहरू र लेवीहरूबाट मात्र होइन तर सारा जातिबाट गर्नु भयो। यहोवाले मोशालाई एसो भन्नुभयो: “सबै इस्राएली समुदायलाई भन, ‘तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु, [NW यहोवा] तिमीहरूका परमेश्वर पवित्र छु।’” (लेवी १९:२) यसकारण, यहोवाले तिनीहरूलाई आध्यात्मिक, नैतिक, मानसिक, शारीरिक र आफ्नो वेदी र मन्दिर सँग सम्बन्धित उपासनामा औपचारिक शुद्धता कायम राख्ने सहायता मिलोस भनेर नियमहरू दिनुभयो।
अलग्ग राखिएका मानिसहरू
४, ५. (क) शारीरिक इस्राएल एउटा पवित्र पारिएको जाति कसरी हुन सक्यो? (ख) आत्मिक इस्राएलीहरूले के आवश्यकता पूरा गर्नु परेका छन् र प्रेरित पत्रुसले यसलाई कसरी निश्चित पारे?
४ इस्राएलीहरूले परमेश्वरका नियमहरू पालन गरूञ्जेल, तिनीहरू वरिपरिका भ्रष्ट राष्ट्रहरूबाट छुट्टै देखिए। तिनीहरू पवित्र परमेश्वर यहोवाको सेवाका लागि छुट्टै राखिएका अथवा पवित्र पारिएका जाति थिए। मोशाले तिनीहरूलाई एसो भने: “परमप्रभु [NW यहोवा] तिमीहरूका परमेश्वरका निम्ति तिमीहरू एक पवित्र जाति हौ। परमप्रभु [NW यहोवा] तिमीहरूका परमेश्वरले पृथ्वीमा भएका सबै मानिसहरूमध्यबाट आफ्नो निम्ति एक विशेष जाति बनाउन भनी तिमीहरूलाई छान्नुभयो।”—व्यवस्था ७:६.
५ यसरी शुद्ध र अलग्ग भएर आत्मिक इस्राएल पनि बस्न आवश्यक छ। प्रेरित पत्रुसले आत्मिक इस्राएल हुन छानिएकाहरूलाई एसो भनेर लेखे: “आज्ञा पालन गर्ने बालकहरूले झैं तिमीहरूको अजान अवस्थाको समयमा तिमीहरूका अघिअघिका अभिलाषा अनुसार नभएर, तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ: ‘तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।’”—१ पत्रुस १:१, १४-१६.
६, ७. (क) प्रकाश ७ वाँ अध्यायमा “ठूलो भीड़का” सदस्यहरूको वर्णन कसरी गरिएको छ र तिनीहरूबाट स्वभावतः के माँग गरिन्छ? (ख) आउँदा पैराग्राफहरूमा कुन विषयको छलफल गरिनेछ?
६ प्रकाशको ७ वाँ अध्याय अनुसार, “ठूलो भीड़का” सदस्यहरू “सिंहासन र थुमाको अगाड़ि, सेता लुगा लगाएर” उभिएका छन् र तिनीहरूले “आफ्ना, आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता” बनाएका छन्। (प्रकाश ७:९, १४) तिनीहरूका सफा र सेतो लुगाहरूको अर्थ, मुक्ति दिन सक्ने ख्रीष्टको रगतमा तिनीहरूले विश्वास गरेका हुनाकारण, तिनीहरू यहोवाको नजरमा शुद्ध र धार्मिक साबित भएको हुनु हो। यसबाट यो स्पष्ट हुन्छ कि अभिषिक्त मसीहीहरूले मात्र होइन तर “अरू भेंड़ाहरूले” पनि यहोवालाई ग्रहणयोग्य उपासना चढ़ाउनका निम्ति, आध्यात्मिक र नैतिक पवित्रता कायम राख्नु पर्दछ।—यूहन्ना १०:१६.
७ अब हामी हेरौं, कसरी बितेका समयहरूमा यहोवाका मानिसहरूले आफूलाई पवित्र र शुद्ध राख्न पर्द थियो र त्यही सिद्धान्तहरू किन आज परमेश्वरका मानिसहरूमा पनि प्रयोग हुन्छन्।
आध्यात्मिक पवित्रता
८. कनानका धर्महरूबाट इस्राएलीहरूले आफूलाई के कारणहरूले गर्दा अलग्ग राख्नु परेको थियो?
८ अन्य राष्ट्रहरूका अशुद्ध धार्मिक रीति-थितिहरूबाट शारीरिक इस्राएलीहरूले आफूलाई सम्पूर्णतया अलग्ग राख्न परेका थिए। मोशा द्वारा बोल्नु हुँदै, यहोवाले इस्राएलीहरूलाई एसो भन्नुभयो: “होशयार बस! जुन देशमा तँ जान्छस्, त्यहाँका बासिन्दाहरूसँग तैंले करार नबाँध्नू, नत्रता त्यो तिमीहरूका निम्ति पासो बन्नेछ। तिनीहरूका थानहरू भत्काइदिनू। तिनीहरूका खामाहरू टुक्रा टुक्रा पारि दिनू, र तिनीहरूका अशेरा देवताहरू काटेर ढालिदिनू। तिमीहरूले अन्य कुनै देवताको पूजा नगर्नू, किनकि परमप्रभु [NW यहोवा] जसको नाउँ डाही हो, डाही परमेश्वर हुनुहुन्छ। [अथवा “एकाग्रचित्तसाथ चढ़ाएको भक्ति रूचाउने परमेश्वर,” न्यु वल्ड ट्रान्सलेसन रेफरेन्स बाइबल, पाद-टिप्पणी]; नत्रता त्यस देशका बासिन्दाहरू सित तिमीहरूले करार बाँध्ने छौ, र तिनीहरू आफ्ना देवताहरू पछि लागेर व्यभिचार गर्दा र आफ्ना देवताहरूका लागि बलि गर्दा, कसैले तिमीहरूलाई बोलाउनेछ र तिमीहरूले त्यसको बलिबाट केही खाने छौ।”—प्रस्थान ३४:१२-१५.
९. ई. पू. ५३७ मा बाबेल छाड़ने शेष विश्वासी जनहरूलाई के विशेष उपदेश दिइएको थियो?
९ कैयौं शताब्दी पश्चात्, बाबेलबाट यहूदामा फर्केर आउने बाँकी रहेका विश्वासी जनहरूलाई एसो भन्न यहोवाले यशैयालाई प्रेरित गराउनु भयो: “गइहाल, गइहाल, त्यहाँबाट जाऊ! अशुद्ध थोक नछोऊ! हे परमप्रभुका [NW यहोवाका] पात्र [यरूशलेममा पवित्र उपासना पुनःस्थापित गर्दा प्रयोग गर्नु पर्ने] बोक्ने हो, त्यसको बीचबाट निस्केर जाऊ। तिमीहरू आफूलाई शुद्ध पार।”—यशैया ५२:११.
१०, ११. (क) त्यस्तैगरी, प्रथम शताब्दीका आत्मिक इस्राएलीहरूलाई पनि के उपदेश दिइयो? (ख) १९१९ र १९३५ देखिन् यी उपदेशहरूको पालना कसरी भएको छ र अरू कुन ढङ्गमा अभिषिक्त जनहरू र तिनीहरूका साथीहरूले आध्यात्मिक शुद्धता कायम राखेका छन्?
१० त्यसरी नै, आत्मिक इस्राएलीहरू र तिनीहरूका साथीहरूले आफूलाई यो संसारका मूर्तिपूजक धर्महरूबाट अलग्ग राख्नु पर्छ। कोरिन्थका मण्डलीका अभिषिक्त मसीहीहरूलाई प्रेरित पावलले एसो भनेर लेखे: “मूर्तिहरूसित परमेश्वरको मन्दिरको के सम्बन्ध? किनभने हामीहरू जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ, ‘म तिनीहरूमा बास गर्नेछु, र तिनीहरूका बीचमा हिंड़डुल गर्नेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्।’ यसकारण, ‘“तिनीहरूका बीचबाट निस्केर आओ, र तिमीहरू अलग होओ” परमप्रभु [यहोवा NW] भन्नुहुन्छ, “औ अशुद्ध कुरो नछोओ”’; ‘“र म तिमीहरूलाई ग्रहण गर्नेछु।”’”—२ कोरिन्थी ६:१६, १७.
११ सन् १९१९ देखिन् शेष अभिषिक्त जनहरूका सदस्यहरू महान बाबेलका अशुद्ध र मूर्तिपूजक धर्महरूबाट स्वतन्त्र भएका छन्। (मलाकी ३:१-३) तिनीहरूले यो स्वर्गीय आह्वानलाई ध्यान दिएका छन्: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही सङ्गत हुन न पाओस्। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्।” (प्रकाश १८:४) १९३५ देखिन्, “अरू भेंड़ाहरूका” एउटा बढ़दो ठूलो भीड़ले यो आह्वान सुनेर तिनीहरूले पनि बाबेलका अशुद्ध धर्मलाई त्यागेका छन्। धर्म-त्यागीहरूका हानिकारक विचारहरूसँग कुनै सम्बन्ध न राखेर, अभिषिक्त जनहरू र तिनीहरूका साथीहरूले आफ्नो आध्यात्मिक पवित्रता कायम राख्छन्।—यूहन्ना १०:१६; २ यूहन्ना ९-११.
नैतिक शुद्धता
१२. (क) यहोवाले के नियमहरू द्वारा इस्राएलीहरूको नैतिक स्तर तिनीहरूका वरिपरिका राष्ट्रहरूको भन्दा धेरै नै उच्च पारिदिनु भयो? (ख) पुजारीगिरीका लागि के नियमहरू विशेष रूपमा कड़ा थिए?
१२ व्यवस्थाको वाचा द्वारा, यहोवाले इस्राएलीहरूको नैतिक स्तर, वरिपरिका राष्ट्रहरूको पतित अवस्था भन्दा धेरै नै उच्च उठाइ दिनु भयो। इस्राएलमा विवाह र परिवार जस्ता कुराहरू सुरक्षित व्यवस्थाहरू थिए। दश आज्ञाहरूका सातवाँ आज्ञा अनुसार व्यभिचार निषेध थियो। हर प्रकारको व्यभिचार कड़ा सजायको योग्य हुन्थ्यो। (व्यवस्था २२:२२-२४) व्यवस्था अन्तर्गत कन्याकेटीहरू सुरक्षित् हुन्थिए। (व्यवस्था २२:२८, २९) विवाहका नियमहरू पुजारीहरूका लागि विशेष रूपमा कड़ा हुन्थिए। प्रधान पुजाहारीले विवाहका लागि एउटी पवित्र कन्याकेटी छान्नु परथियो।—लेवी २१:६, ७, १०, १३.
१३. ख्रीष्टकी “दुलही” वर्गका सदस्यहरूको तुलना को सित गरिएको छ र किन?
१३ त्यसै गरी, महान प्रधान पुजाहारी, येशू ख्रीष्टकी “दुलही” अथवा १४४,००० अभिषिक्त मसीहीहरूको तुलना पनि “कुमारीहरू” सँग गरिएको छ। (प्रकाश १४:१-५; २१:९) तिनीहरू शैतानको संसार द्वारा आफूलाई दूषित पार्दैनन् र धर्म-शिक्षा र नैतिकतामा पवित्र रहन्छन्। प्रेरित पावलले कोरिन्थका अभिषिक्त मसीहीहरूलाई एसो भनेर लेखे: “किनभने ईश्वरीय डाहले म तिमीहरू प्रति डाही भएको छु, किनकि तिमीहरूलाई ख्रीष्टको निम्ति एउटी चोखी कन्याजस्तै गरी चढ़ाउनलाई मैले तिमीहरूलाई एउटै पुरूषसँग मग्नी गरिदिएको छु।” (२ कोरिन्थी ११:२) पावलले एसो पनि लेखे: “ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, र उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर शुद्ध पारि चोख्याउनुभयो, किन उहाँ आफैले यस्तो कुनै किसिमको दाग या चाउरी नभएको एउटा प्रतापी मण्डली आफ्नो निम्ति खड़ा गर्नलाई हो। तर त्यो चाहिं ता पवित्र र निर्दोष हुनुपर्छ।”—एफिसी ५:२५-२७.
१४, १५. (क) दुलही वर्गकाहरूको आध्यात्मिक पवित्रता साथ साथै कुन प्रकारको पवित्रता पनि आवश्यक छ र यो कुराको बोध शास्त्रमा कुन पदले गराउँदछ? (ख) नैतिक शुद्धताका यस्तै आवश्यकताहरू अरू भेंड़ाहरूमा पनि लागू हुन्छ भन्ने कुरा किन स्पष्ट छ?
१४ ख्रीष्टकी दुलहीको यो आध्यात्मिक पवित्रताका साथै त्यसका सदस्यहरूमा नैतिक शुद्धता हुनुपर्दछ। प्रेरित पावलले एसो भने: “न ठगीयौ। व्यभिचारीहरू, मूर्त्तिपूजकहरू, जारी गर्नेहरू . . . परमेश्वरको राज्यको हकदार हुने छैन। औ तिमीहरूमा कोही कोही यस्तै थिए, तर तिमीहरू पखालिएका र धर्मी ठहरेका छौ।”—१ कोरिन्थी ६:९-११.
१५ नैतिक शुद्धताका यी आवश्यकताहरू अरू भेंड़ाहरूमाथि पनि प्रयोग हुन्छ किनभने यहोवाले प्रतिज्ञा गर्नुभएको नया स्वर्ग र नया पृथ्वीबाट निम्न प्रकारका मानिसहरूलाई बहिष्कार गर्नु हुनेछ: “तर . . . घिनलाग्दाहरू, ज्यानमाराहरू, व्यभिचारीहरू . . . आगो र गन्धक बलेको कुण्डमा हुनेछ, जो दोस्रो मृत्यु हो।”—प्रकाश २१:१, ८.
आदरणीय विवाह
१६, १७. (क) नैतिक पवित्रताका लागि कुवाँरो जीवन बिताउन आवश्यक छैन भनेर शास्त्रले कसरी देखाउँदछ? (ख) विवाहगर्ने साथी रोज्ने सम्बन्धमा, एक जना मसीहीले परमेश्वर प्रति उचित डर कसरी प्रकट गर्न सक्दछ र प्रेरित द्वारा दिइएको उपदेशको वास्ता नगर्नु किन बुद्धिमताको कुरा हुने छैन?
१६ नैतिक शुद्धता कायम राख्नकालागि दुलही वर्गकाहरू र अरू भेंड़ाहरू अविवाहित रहन आवश्यक छैन। अनिवार्य कुवाँरो जीवन धर्म-शास्त्र विरूद्ध हो। (१ तिमोथी ४:१-३) विवाहको परिधि भित्र योन सम्बन्ध अशुद्ध होइन। परमेश्वरको वचनले एसो भन्दछ: “सबै विवाह चाहिं आदरणीय होस्, ओछ्यान नबिटुलिओस्, किनकि व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्वरले इन्साफ गर्नुहुनेछ।”—हिब्रू १३:४.
१७ तथापि, ‘परमेश्वरको डर राखेर पवित्रतालाई सिद्ध’ पार्न चाहने मसीहीले जो सँग मनलाग्यो, उसैलाई विवाह गर्न मिल्दैन। आफ्ना सङ्गी मसीहीहरूलाई ‘शरीर र आत्माका सबै किसिमका अशुद्धपनाबाट आफैलाई शुद्ध पारौं र परमेश्वरको डर राखेर पवित्रालाई सिद्ध पारौं” भन्नु अघि, प्रेरित पावलले यस प्रकार लेखे: “विश्वास नगर्नेहरूसँग असमान भएर एउटै हलोमा नजोतियौ। किनकि धर्म र अधर्मको के संसर्ग हुन्छ? . . . विश्वास गर्नेको विश्वास नगर्नेसित के हिस्सा?” (२ कोरिन्थी ६:१४, १५; ७:१) यहोवाका सफा र अलग्गिएका मानिसहरूको सदस्य भएर विवाह गर्न चाहने कुनै पनि मसीही पुरूष या स्त्रीले “प्रभुमा मात्र” विवाह गरेर अर्थात् यहोवाको एक जना समर्पित र बप्तिस्मा लिएको विश्वासी दासलाई रोजे भने, प्रेरितको सल्लाह पालना गरेको हुनेछ। (१ कोरिन्थी ७:३९) बितेका समयमा झैं, आज पनि, परमेश्वरका जनहरू मध्य समर्पित व्यक्तिहरूले धर्म-शास्त्रमा पाइने यो सल्लाहको वास्ता नगर्नु बुद्धिमानीको कुरा हुनेछैन। (व्यवस्था ७:३, ४; नहेम्याह १३:२३-२७ तुलना गर्नुहोस्) हाम्रा महान मालिक यहोवा प्रति उचित आदर देखाएको हुनेछैन।—मलाकी १:६.
१८. मसीहीहरूले अरू कुन ढङ्गमा आफ्नो विवाहलाई आदरणीय राख्न सक्दछन्?
१८ यस अलावा, इस्राएलमा, विवाहको परिधि भित्र पनि योन क्रियालाई नियन्त्रणगर्ने नियमहरू थिए। पत्नीको रजस्वला भएको बेलामा तिनीसँग पतिले सम्भोग गर्नु हुँदैन थियो। (लेवी १५:२४; १८:१९; २०:१८) यस प्रकार, इस्राएली पुरूषहरूलाई संयम र प्रेमपूर्ण विवेक देखाउन आवश्यक पर्थियो। के मसीहीहरू तिनीहरूकी पत्नीहरू प्रति यो भन्दा कम विवेकी हुनु उचित होला र? प्रेरित पत्रुस्ले मसीही पतिहरूलाई तिनीहरूकी पत्नीहरूसँग “बुद्धिमानीसाथ” बस्नु भने, अर्थात् तिनीहरू “निबर्ल पात्र जस्तै स्त्री जाति” हुन् भनेर तिनीहरूको बनौटको ख्याल राख्दै तिनीहरू सँग बस्नु भने।—१ पत्रुस ३:७.
“पवित्रताको बाटोमा” हिंड़ने गर्नु
१९, २०. (क) धेरै जसो मानिसहरू हिंड़ने फराकिलो बाटोको वर्णन गर्नु होस्। (ख) यहोवाका जनहरू शैतानको संसारबाट कसरी भिन्नै हुनु पर्दछ? (ग) परमेश्वरका जनहरू कुन बाटोमा हिंड़िरहेका छन् र यो बाटो कहिले देखिन् खोलियो र यसमा को मात्र हिड़न पाउँछन्?
१९ ती सबै कुराहरूबाट यहोवाका जनहरू र शैतानको संसार बीचको दिनहुँ फराकिलो हुँदैगएको खाँद अझ स्पष्ट गरी देखिन्छ। वर्तमान सांसारिक रीतिरिवाज झन-झन छाड़ा र भोगी भइरहेछ। येशूले एसो भन्नु भयो: “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो चौड़ा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्।” (मत्ति ७:१३) धेरै जसो मानिसहरू त्यही फराकिलो ढोका भित्र प्रवेश गरिरहेकाछन्। प्रेरित पत्रुसका शब्दहरू प्रयोग गर्ने हो भने, त्यो ढोका, “लुच्चाईं, अभिलाषा, मतवालापन, मोज-मजा, मद्यपान र घिनलाग्दा मूर्तिपूजाहरू” तिर लैजाने बाटो हो। (१ पत्रुस ४:३, ४) त्यसको अन्त विनाश हो।
२० अर्को तिर परमेश्वरका जनहरू एउटा बेग्लै बाटोमा छन्। शुद्ध जनहरू हिड़ने त्यो एउटा शुद्ध बाटो हो। अन्तको समयमा यो बाटो खोलिनेछ भनेर अगमवाणी, यशैया अगमवक्ताले गरेका थिए: “तर त्यहाँ एउटा मूल बाटो हुनेछ, औ त्यो चाहिं पवित्र बाटो भनिनेछ। कोही अशुद्ध जन त्यसबाट भएर जान पाउने छैन।” (यशैया ३५:८) यो अगमवाणीबारे टिप्पणी गर्दै, वर्ल्ड वाइड सेक्युरिटी अन्डर दी “प्रिन्स अफ पिस” पुस्तकमा एसो भनिएको छ: “१९१९ मा परमेश्वरका आनन्दित सेवकहरूका लागि एउटा लाक्षणिक बाटो खोलियो। यहोवाको नजरमा पवित्र हुन चाहनेहरू त्यो ‘बाटोमा’ अर्थात् ‘पवित्रताको बाटोमा’ हिंड़न थाले। . . . आज, ‘यो रीति-रिवाजको अन्तको समाप्तीमा हामी पुगी सकेकाछौं र पनि त्यो बाटो खुल्लै छ। त्यसको मोलगर्ने मानिसहरू लस्करै आइरहेकाछन् . . . आत्मिक प्रमोदवन तर्फ लैजाने ‘पवित्रताको बाटोमा” प्रवेश गरिरहेकाछन्।’”a
२१. दियाबलको झुण्डबाट यहोवाका सेवकहरूले आफूलाई कसरी र किन अलग्ग राख्नु पर्दछ र आउँदो लेखमा के विषयको छलफल गरिनेछ?
२१ हो, शेष अभिषिक्त जनहरू र तिनीहरूका साथीहरू अथवा अरू भेंड़ाहरू, पवित्रताको महत्व न राख्ने शैतानको यो संसारबाट, आफूलाई अलग्गै राखिएका मानिसहरू ठान्दछन्। “विनाशमा पुर्याउने . . . फराकिलो र . . . चौड़ा” बाटोमा हिंड़ने शैतानका मानिसहरूका लागि केही पनि पवित्र छैन। तिनीहरू आध्यात्मिक र नैतिक तौरमा मात्र अपवित्र छैनन् तर अकसर तिनीहरू हेर्नमा पनि भद्दा र शारीरिक तौरमा फोहोरी हुन्छन्। तापनि प्रेरित पावलले एसो भन्नु हुन्छ: “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं औ परमेश्वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं।” (२ कोरिन्थी ७:१) परमेश्वरका मानिसहरू कसरी मानसिक र शारीरिक तौरमा शुद्ध रहन सक्छन् भन्ने विषयको छलफल अर्को लेखमा गरिनेछ। (w89 6/1)
[फुटनोट]
a च्याप्टर १६, पाना १३४-३५.
पुनरावलोकनको निम्ति बुँदाहरू
◻ पवित्रताका कुन दुई पक्षहरू छन् र यहोवा परम-पवित्र हुनुहुन्छ भनेर किन भन्न सकिन्छ?
◻ इस्राएलीहरू कुन् दुई ढङ्गमा एउटा पवित्र राष्ट्र साबित् हुनु परेको थियो?
◻ आत्मिक इस्राएलीहरू र तिनीहरूका साथीहरू अथवा अरू भेंड़ाहरूले के आवश्यकता पूरा गर्नु परेको छ?
◻ विवाह गर्ने साथी रोज्दा, परमेश्वरको डरले हामीमा के असर पार्नु पर्ने हो?
◻ आज कुन दुई बाटोमा हिंड़न सकिन्छ र स्पष्ट रूपमा एउटा बाटो किन छान्नु पर्छ?
[पृष्ठ २१-मा भएको चित्र]
परमेश्वरको वचन भन्दछ: “विवाह आदरणीय होस्”