पाठकहरूका प्रश्नहरू
कोही कोही यहोवाका साक्षीहरूले धर्मसित सम्बन्धित ठाउँहरूमा जागिर खाने मौका पाएका छन्। यस्ता कामहरूप्रति धर्मशास्त्रीय दृष्टिकोण कस्तो छ?
आफ्नो परिवारको पालनपोषण गर भन्ने १ तिमोथी ५:८ को सल्लाह साँच्चै व्यवहारमा उतार्न चाहने मसीहीहरूलाई यस कुराले अप्ठ्यारोमा पार्नसक्छ। मसीहीहरूले निश्चय पनि त्यो सल्लाह पालन गर्नुपर्छ तर त्यसो भन्दैमा जुनै प्रकारको जागिर पनि खाए हुन्छ भन्नु मिल्दैन। मसीहीहरूले परमेश्वरको इच्छाअनुसार गर्नुमा मुछिएका अन्य कुराहरूप्रति पनि होसियार हुनुपर्छ भनी बुझेका छन्। उदाहरणका लागि, कुनै एक पुरुषले आफ्नो परिवारको पालनपोषण गर्ने भन्दैमा अनैतिकता वा हत्यासम्बन्धी बाइबलको नियमलाई उल्लघंन गर्नु मिल्दैन। (तुलना गर्नुहोस् उत्पत्ति ३९:४-९; यशैया २:४; यूहन्ना १७:१४, १६) एक मसीहीले महान् बेबिलोन अर्थात् झूटा धर्मको विश्व साम्राज्यबाट निस्केर आउने आज्ञाअनुरूप गर्नु पनि अत्यावश्यक छ।—प्रकाश १८:४, ५.
संसारभरि नै परमेश्वरका सेवकहरूले जागिरसम्बन्धी विभिन्न किसिमका परिस्थितिहरू सामना गर्छन्। हरेक किसिमका जागिरहरूका निम्ति नियमहरू बनाउनु असम्भव हुनुका साथै हाम्रो अधिकार बाहिरको कुरा हो। (२ कोरिन्थी १:२४) त्यसोभए तापनि कस्तो जागिर खाने भनी निर्णय गर्दा ध्यानमा राख्नुपर्ने केही पक्षहरूलाई विचार गरौं। जुलाई १५, १९८२ को प्रहरीधरहरा-को (अंग्रेजी) एउटा लेखमा परमेश्वरले दिनुभएको अन्तस्करणलाई कसरी सदुपयोग गर्ने भनी छोटकरीमा बताइएको थियो। पेटीमा दुई महत्त्वपूर्ण प्रश्न सोध्नुका साथै अन्य मदतकारी पक्षहरूको सूचि दिइएको थियो।
पहिलो महत्त्वपूर्ण प्रश्न हो: के बाइबलले त्यस प्रकारको जागिरलाई नै निषेध गर्छ? बाइबलले चोरी, रगतको दुरुपयोग तथा मूर्तिपूजा निषेध गर्छ भनी प्रहरीधरहरा-ले टिप्पणी गऱ्यो। माथि उल्लिखितजस्तै सरासर परमेश्वरको इच्छा विपरीत कार्यहरूदेखि मसीहीहरू अलग रहनुपर्छ।
दोस्रो प्रश्न हो: त्यस निषेधित काममा के तपाईंले सघाइरहनुभएको हुनेछ? स्पष्टतः जुवाघर, गर्भपात गर्ने क्लिनिक वा वेश्याघरमा जागिर खानु गैरधर्मशास्त्रीय कार्यमा सहभागी भइरहेको हुनेछ। तिनले कूचो लाउने वा फोन उठाउने जस्ता दिनदिनै गरिरहेको काम मात्रै किन नहोस्, तिनी परमेश्वरको वचनद्वारा निषेधित कार्यमा सहभागी भइरहेको हुनेछन्।
कस्तो प्रकारको जागिर खानु बेस हो र कस्तो होइन भनी निर्णय गर्न यी प्रश्नहरू विश्लेषण गर्दा मात्र पनि थुप्रै मसीहीहरूले मदत पाएका छन्।
उदाहरणका लागि, माथि उल्लिखित दुइटा प्रश्नबाट पनि किन साँचो उपासकहरू सीधै झूटो धर्मसित सम्बन्धित संगठन जस्तै चर्चको निम्ति वा चर्चमा काम गर्दैनन् भनी स्पष्ट हुन्छ। प्रकाश १८:४ मा यस्तो आज्ञा दिइएको छ: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्।” कुनै झूटो उपासना सिकाउने धर्ममा जागिर खाएमा त्यस मानिस महान् बेबिलोनको काम तथा पापमा सहभागी भइरहेको हुनेछ। त्यस मानिसको काम बगैंचे, कूचीकार, मिस्त्री वा लेखापाल जस्तोसुकै किन नहोस्, तिनले साँचो धर्म विपरीत उपासनालाई बढावा दिइरहेको हुनेछ। यसबाहेक चर्चलाई राम्रो बनाउन मर्मत गरिरहेको वा त्यस धर्मसित सम्बन्धित अन्य कार्य गरिरहेको देख्दा त्यस व्यक्तिलाई त्यही धर्मको मान्छे भन्ठान्नु स्वाभाविकै हो।
तर कोही व्यक्तिको चर्च वा कुनै अन्य धार्मिक संगठनमा जागिर स्थायी होइन भने नि? सायद तिनलाई चर्चको छिंडीमा पानीको पाइप फुटेकोले अकस्मात् कुनै पूर्व सूचनाबिना मर्मत कार्य गर्न बोलाइएको होला। तर के त्यो चर्चको छानामा इन्सुलेटर राख्ने प्रस्तावमा बोलपत्र लगाउनेभन्दा भिन्न छैन र?
यहाँ पनि थुप्रै परिस्थितिहरूबारे कल्पना गर्न सकिन्छ। अतः प्रहरीधरहरा-ले औंल्याएको थप पाँच बुँदाहरू पुनरावृत्ति गरौं:
१. के त्यो काम धर्मशास्त्रअनुसार आपत्तिजनक नभएको मानव सेवा मात्र हो? उदाहरणस्वरूप हुलाकीलाई लिनुहोस्। तिनी चिठीपत्र दिन जाने इलाकामा चर्च वा गर्भपात गर्ने क्लिनिक पनि छ भने तिनले निश्चय नै निषेधित कार्यको बढावा दिइरहेको हुँदैन। परमेश्वरले चर्च वा गर्भपात गर्ने क्लिनिकलगायत सबै भवनहरूमा घाम लगाउनुहुन्छ। (प्रेरित १४:१६, १७) अतः हुलाकीको काम गर्ने मसीहीले दिनदिनै आफूले मानव सेवा मात्र पुऱ्याइरहेको हो भन्ने निष्कर्षमा पुग्नसक्छन्। यो कुनै एक मसीहीले चर्चमा आपत्कालीन अवस्थामा पाइपको काम गर्दा वा चर्चको कुनै कार्यक्रम दौडान कोही मूर्छा पर्दा मदत गरे सरह हुनेछ। तिनले यो केवल आपत्कालीन अवस्थामा मानिसलाई मदत गरेको रूपमा लिनसक्छन्।
२. कुनै एक व्यक्तिको आफ्नो कार्यमा कुन हदसम्म अख्तियार छ? एक मसीही पक्कै पनि आफ्नो पसलमा मूर्ति, जन्तर, चुरोट वा रगतद्वारा बनिएको ससेज बेच्न राजी हुँदैनन्। तिनी पसल मालिक भएकोले कस्ता कुराहरू बेच्ने भनी निर्णय गर्नसक्छन्। मानिसहरूले तिनलाई चुरोट वा मूर्तिहरू बेचेर नाफा कमाउने जोड गर्लान् तर तिनी आफ्नो धर्मशास्त्रीय विश्वासअनुरूप चल्नेछन्। अर्कोतर्फ एउटा ठूलो पसलमा काम गर्ने मसीहीलाई पैसा लिने काउन्टरमा बस्ने, भुँइ सफा गर्ने वा हिसाबकिताब राख्ने काममा लगाइएको हुनसक्छ। कुन कुरा अर्डर दिने र बेच्ने भनी निर्णय गर्ने तिनको अधिकारको कुरा होइन, जस्तै चुरोट वा अन्य धार्मिक पर्वमा बेच्ने समानहरू।a (लूका ७:८; १७:७, ८ तुलना गर्नुहोस्।) यो अर्को बुँदासित सम्बन्धित छ।
३. कुनै व्यक्ति कुन हदसम्म मुछिएको छ? हामी उही पसलको उदाहरणलाई नै विचार गरौं। सायद पैसा लिने काउन्टरमा बस्ने काम पाएका वा तख्ताहरूमा सामान राख्ने काम पाएका व्यक्तिले कहिलेकाहीं मात्र चुरोट वा धार्मिक चीजबीजहरू राख्ने काम पाउनसक्छन् तर त्यो तिनको सम्पूर्ण कामको केवल एउटा सानो भाग हो। तर सोही पसलमा चौबीसै घण्टा चुरोट बेच्ने काम भने अर्कै कुरा हो! दिनदिनै तिनको काम मसीही विश्वासको विपरीत हुनेछ। (२ कोरिन्थी ७:१) त्यसैकारण कुन हदसम्म मुछिन्छ वा सम्पर्कमा आइन्छ विचार गर्नु महत्त्वपूर्ण छ।
४. तलब कहाँबाट पाइन्छ वा कुन ठाउँमा काम गरिन्छ? दुई परिस्थितिलाई विचार गर्नुहोस्। सार्वजनिक स्थल स्वच्छ राख्न गर्भपात गर्ने क्लिनिकले छेउछाउका बाटोहरू सफा गर्न कुनै मानिसलाई पैसा दिनसक्छ। तिनले तलब गर्भपात गर्ने क्लिनिकबाट पाउँछन् तर तिनको काम त्यहाँ होइन र तिनलाई क्लिनिकमा पनि कसैले दिनभरि देख्दैन। बरु तिनले जन सेवा पुऱ्याइरहेको मानिसहरूले देख्नेछन् र तिनले जहाँबाटै तलब पाउने भए तापनि धर्मशास्त्र विपरीत हुनेछैन। अब यसको ठीक विपरीत परिस्थितिलाई हेरौं। वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएका देशहरूमा यौनजन्य रोगहरू फैलिनदेखि रोक्न जनस्वास्थ्य सेवा विभागले परिचारिकाहरूलाई वेश्या घरहरूमा काम गर्न पैसा दिन्छन्। तिनले तलब जनस्वास्थ्य सेवा विभागबाट पाउने भए तापनि तिनको काम दिनभर वेश्याघरहरूमा हुन्छ र यसले अनैतिकतालाई सुरक्षित र स्वीकार्य जस्तो प्रस्तुत गर्छ। यी उदाहरणहरूबाट तलब कहाँबाट पाइन्छ र कहाँ काम गर्ने हो विचार गर्नुपर्छ भनी स्पष्ट हुन्छ।
५. त्यस कामले कस्तो असर पार्छ; आफ्नो अन्तस्करणलाई वा अरूलाई ठेस पुऱ्याउँछ कि? आफ्नो र अरू दुवैको अन्तस्करणको विचार गर्नुपर्छ। अधिकांश मसीहीहरूलाई केही खास काम (स्थानलगायत तलब आउने स्रोत) स्वीकार्य भए तापनि कोही व्यक्तिविशेषलाई आफ्नो अन्तस्करणमा धक्का पुग्ने जस्तो लाग्नसक्छ। असल उदाहरण बसाल्ने प्रेरित पावलले यसो भने: “सबै कुरामा इमान्दारीसाथ रहने इच्छा गरेर हाम्रो असल विवेक छ भनी हामी विश्वास गर्दछौं।” (हिब्रू १३:१८) हामीले आफूलाई खलबलाउने जागिर खानु हुँदैन साथै अरूबारे पनि आलोचनात्मक हुनु हुँदैन किनभने सबैको अन्तस्करण भिन्नाभिन्नै हुन्छ। एक मसीहीलाई आफ्नो जागिर बाइबल विपरीत नभएजस्तो लागे तापनि तिनको कामले गर्दा मण्डली तथा समुदायमा थुप्रैलाई खलबलाइरहेको महसुस गर्नसक्छन्। पावलले तल लिखित शब्दहरूमा सही मनोभाव देखाए: “हाम्रो सेवामा कलंक नलागोस् भनेर हामी कुनै कुरामा केही बाधा दिन्नौं, तर हरेक कुरामा हामी आफैलाई परमेश्वरका सेवकजस्तो देखाउँछौं।”—२ कोरिन्थी ६:३, ४.
अब हामी फेरि चर्चमा नयाँ झ्याल बनाउने, कार्पेट सफा गर्ने वा ताप उत्पादन गर्ने ठाउँ बनाउनेजस्ता जागिर खाने सन्दर्भमा सुरुको मुख्य प्रश्नमा फर्केर जाऔं। माथिका कुराहरू कसरी व्यवहारमा उतार्न सकिन्छ?
अख्तियारको कुरालाई विचार गर्नुहोस्। चर्चमा त्यस्तो काम गर्ने हो या होइन भनी निर्णय गर्नसक्ने त्यस मसीही मालिक हुन् या प्रबन्धक? अख्तियार भएका मसीहीले झूटा उपासनाको बढावा गर्ने कुनै काममा बोलपत्र लगाएर वा ठेक्का लिएर महान् बेबिलोनलाई सघाउन चाहन्छन्? के त्यो आफ्नो पसलमा चुरोट वा मूर्तिहरू बेच्नु बराबर हुनेछैन र?—२ कोरिन्थी ६:१४-१६.
यदि कुनै मसीही कस्तो कामहरू स्वीकार्ने निर्णय गर्न अख्तियार नभएका जागिरे मात्र हुन् भने अन्य पक्षहरू जस्तै कहाँ काम गर्ने र कुन हदसम्म समावेश हुन्छ जस्ता कुराहरू पनि विचार गर्नुपर्छ। एक जागिरेलाई कहिलेकाहीं अवसरमा कुनै सामान पुऱ्याउन वा नयाँ मेचहरू राख्न मात्र भनिएको हो वा चर्चमा आगलागी हुँदा वारुण नियन्त्रकलाई आगो निभाउने जस्ता मानव सेवा पुऱ्याउन भनिएको हो? थुप्रैले यो कार्यलाई चर्चमा रंग लगाउने काम वा यसको बगैंचा राम्रो बनाउने बगैंचेको कामभन्दा भिन्नै ठान्छन्। त्यस्तो ठाउँमा काम गर्न ठेक्का लिंदा मानिसहरूले त्यस मसीहीलाई त्यही धर्मको मान्छे भन्ठान्ने सम्भावना धेरै हुन्छ र अरूलाई पनि ठेस पुऱ्याइरहेको हुनसक्छ।—मत्ती १३:४१; १८:६, ७.
जागिर खाने सम्बन्धमा हामीले थुप्रै महत्त्वपूर्ण पक्षहरू छलफल गरिसक्यौं। यो विशेषगरि झूटो धर्मसित सम्बन्धित ठाउँहरूमा काम गर्न हुन्छ या हुँदैन भन्ने सन्दर्भमा छलफल गरिएको थियो। तैपनि, अन्य प्रकारका जागिरहरू खानुअघि पनि यी कुराहरूबारे विचार गर्न सकिन्छ। हरेक अवसरमा प्रार्थनापूर्वक आफ्नो परिस्थितिको विश्लेषण गर्नुपर्छ। माथि प्रस्तुत गरिएका बुँदाहरूले थुप्रै साँचो मसीहीहरूलाई सही निर्णय गर्न मदत गरेको छ र तिनीहरू यहोवासामु खडा हुनसकेको छ।—हितोपदेश ३:५, ६; यशैया २:३; हिब्रू १२:१२-१४.
[फुटनोट]
a अस्पतालमा काम गर्ने मसीहीहरूले यस अख्तियारको कुरालाई ध्यानमा राख्नुपर्छ। चिकित्सकले बिरामीलाई कुन औषधी र उपचारविधि प्रयोग गर्ने हो, आफै निर्णय गर्नसक्छन्। बिरामीलाई कुनै आपत्ति नभए तापनि आफूसित अख्तियार भएको मसीही चिकित्सकले बाइबलले रक्तक्षेपण वा गर्भपातबारे के भन्छ, थाह पाउँदा पाउँदै त्यसो गर्न कसरी सल्लाह दिनसक्छन्? त्यसको विपरीत एक स्वास्थ्य परिचारिकासित त्यस्तो अधिकार नहुनसक्छ। सधैंजसो डाक्टरले तिनलाई कुनै बिरामीको रक्त परीक्षण गर्न वा गर्भपातको निम्ति आएको बिरामीको हेरविचार गर्न भन्नसक्छन्। दोस्रो राजा ५:१७-१९ मा लिपिबद्ध उदाहरणअनुरूप रक्तक्षेपण वा गर्भपात गर्ने कुरा तिनको अधिकारभित्र नभएकोले बिरामीलाई मानव सेवा पुऱ्याइरहेको दृष्टिकोणले हेर्नसक्छन्। निस्सन्देह, तिनले आफ्नो अन्तस्करणको पनि विचार गर्नुपर्छ किनभने ‘परमेश्वरको सामु असल विवेकमा रहनुपर्छ।’—प्रेरित २३:१.