पाठकहरूको प्रश्न
इजकिएलको किताबमा उल्लेख गरिएको मागोगको गोग को हो?
वर्षौंसम्म हाम्रा प्रकाशनहरूले मागोगको गोग भनेको सैतान हो र यो नाम त्यसलाई स्वर्गबाट निकालिएपछि दिइएको हो भन्दै आएको थियो। कुन आधारमा यस्तो निष्कर्ष निकालिएको थियो? प्रकाशको किताबमा विश्वभरिका यहोवाका सेवकहरूलाई आक्रमण गर्न नेतृत्व लिने सैतान हो भनिएको छ। (प्रका. १२:१-१७) यही तथ्यको आधारमा गोग भनेको भविष्यसूचक अर्थमा सैतानको अर्को नाम हो भन्ने सोचाइ राखिएको थियो।
तर त्यस्तो बुझाइले केही महत्त्वपूर्ण प्रश्नहरू खडा गऱ्यो। किन? यो कुरा विचार गर्नुहोस्: गोग पराजित भएपछि के हुनेछ? त्यसबारे यहोवाले त्यसलाई यसो भन्नुभयो, “म तँलाई शिकारी पक्षीहरू र जङ्गली पशुहरूका आहाराको निम्ति दिनेछु।” (इज. ३९:४) त्यसपछि यहोवाले यसो भन्नुभयो, “त्यस दिन गोगलाई म इस्राएलमा एउटा चिहान . . . दिनेछु। त्यहीं नै तिनीहरूले गोग र त्यसका सारा दललाई गाड्नेछन्।” (इज. ३९:११) तर अदृश्य प्राणीलाई “शिकारी पक्षीहरू र जङ्गली पशुहरू”-ले कसरी खान सक्छन् र? सैतानको “चिहान” पृथ्वीमा कसरी हुन सक्छ र? बाइबलले बताएअनुसार सैतानलाई एक हजार वर्षसम्म अगाध खाडलमा हालिनेछ। त्यसलाई न त कुनै चरा वा पशुले खानेछ न कतै गाडिनेछ।—प्रका. २०:१, २.
एक हजार वर्षपछि सैतानलाई अगाध खाडलबाट मुक्त गरिनेछ अनि “पृथ्वीको चारै कुनाका राष्ट्रहरू अर्थात् गोग र मागोगलाई बहकाउन त्यो निस्कनेछ र तिनीहरूलाई लडाइँको निम्ति जम्मा गर्नेछ।” (प्रका. २०:८) यदि सैतान आफै गोग हो भने त्यसले कसरी गोगलाई बहकाउन सक्छ र? इजकिएलको किताबमा र प्रकाशको किताबमा बताइएको “गोग”-ले सैतानलाई बुझाउँदैन भन्ने कुरा स्पष्ट छ।
त्यसोभए मागोगको गोग को हो त? यस प्रश्नको जवाफ पाउन हामीले परमेश्वरका जनहरूलाई आक्रमण गर्ने को हो भनेर बुझाउने शास्त्रपदहरू केलाउनुपर्ने हुन्छ। बाइबलले ‘मागोगको गोगले’ गर्ने आक्रमणबारे मात्र होइन तर “उत्तरका राजा” र “पृथ्वीका राजाहरू”-ले गर्ने आक्रमणबारे पनि बताएको छ। (इज. ३८:२, १०-१३; दानि. ११:४०, ४४, ४५; प्रका. १७:१४; १९:१९) के ती आक्रमणहरू बेग्लाबेग्लै समयमा गरिने आक्रमणहरू हुन्? होइन जस्तो देखिन्छ। बाइबलले एउटै आक्रमणलाई भिन्नाभिन्नै नामले चिनाएको छ। हामी किन त्यस्तो निष्कर्षमा पुग्न सक्छौं? किनकि परमेश्वरका जनहरूलाई आक्रमण गर्ने काममा सबै राष्ट्र सामेल हुनेछन् र त्यसको परिणामस्वरूप आरमागेडोनको युद्ध सुरु हुनेछ भनी धर्मशास्त्रमा बताइएको छ।—प्रका. १६:१४, १६.
परमेश्वरका जनहरूमाथि हुने आक्रमणबारे धर्मशास्त्रले बताएका यी सबै कुराहरू विचार गर्दा मागोगको गोगले सैतानलाई नभई राष्ट्रहरूको गठबन्धनलाई बुझाउँछ भन्ने निष्कर्षमा पुग्न सक्छौं। के त्यो गठबन्धनको नेतृत्व “उत्तरका राजा”-ले गर्नेछ? त्यसबारे हामी तोकेरै भन्न सक्दैनौं। तर यहोवाले गोगको बारेमा भन्नुभएको यो कुरा विचार गर्दा त्यस्तै हो जस्तो देखिन्छ, “घोडाहरूमा सवार भएर एक ठूलो दल, एक शक्तिशाली सेनाको साथ धेरै जातिहरूसित सुदूर उत्तरदेखि तँ आउनेछैनस्?”—इज. ३८:६, १५.
इजकिएलकै समयका अर्का भविष्यवक्ता दानियलले पनि उत्तरका राजाबारे यसो भने, “पूर्व र उत्तरका झूटा समाचारहरूले तिनलाई तर्साउनेछन्, र धेरैलाई नाश गर्न र नामेट पार्न रिसले तिनी झोंकिएर जानेछन्। तिनले समुद्र र पवित्र डाँडा, अर्थात् सबैभन्दा सुन्दर डाँडाका बीचमा आफ्नो शाही शिविर खडा गर्नेछन्। औ तिनलाई कसैले पनि सहायता नदिई तिनको अन्त हुनेछ।” (दानि. ११:४४, ४५) यो कुरा इजकिएलको किताबमा गोगको बारेमा बताइएको कुरासँग मिल्दोजुल्दो छ।—इज. ३८:८-१२, १६.
यो आक्रमणको परिणाम के हुनेछ? यसबारे दानियलले यसो भने, “छुटकारा दिने माइकल [येशू ख्रीष्ट] त्यस बेला [आरमागेडोनमा] . . . देखा पर्नेछन्, ती ठूला कप्तान माइकल, जसले [सन् १९१४ देखि] तिम्रा संगी-देशवासीहरूमाथि रक्षा गरिरहन्छन्। औ यस्तो संकष्टको समय [महासङ्कष्ट] आउनेछ, तिनीहरू एक राष्ट्र भएको समयदेखि त्यस बेलासम्म त्यस्तो ता कहिल्यै भएको थिएन। तर त्यसै बेला तेरा जातिहरूले, हरेक जसको नाउँ यस पुस्तकमा लेखिएको छ, तिनीहरूले छुटकारा पाउनेछ।” (दानि. १२:१) परमेश्वरका प्रतिनिधि येशू ख्रीष्टले चाल्नुहुने यस कदमबारे प्रकाश १९:११-२१ मा पनि बताइएको छ।
त्यसोभए प्रकाश २०:८ मा उल्लेख गरिएको “गोग र मागोग”-चाहिं को हो? हजार वर्षको अन्तमा हुने अन्तिम जाँचको दौडान केही मानिसहरूले यहोवाको विद्रोह गर्नेछन्। तिनीहरूले पनि महासङ्कष्टको अन्तिम चरणमा परमेश्वरका जनहरूलाई आक्रमण गर्ने राष्ट्रहरूले जस्तै हिंस्रक मनोवृत्ति देखाउनेछन्, जुन राष्ट्रहरूलाई इजकिएलको किताबमा ‘मागोगको गोग’ भनिएको छ। ती दुवै समूहलाई सदाका लागि नाश गरिनेछ। (प्रका. १९:२०, २१; २०:९) तसर्थ, हजार वर्षीय राज्यको अन्तमा विद्रोह गर्ने सबैलाई “गोग र मागोग” भन्नु उपयुक्त देखिन्छ।
हामी परमेश्वरको वचनका लगनशील विद्यार्थी हौं। त्यसैले “उत्तरको राजा”-को भूमिका कसले निर्वाह गर्नेछ भनेर उत्सुक भएर बाटो हेर्दै छौं। राष्ट्रहरूको गठबन्धनको नेतृत्व जसले लिए पनि हामीले दुईवटा कुरा भने स्पष्टसित बुझेका छौं: (१) मागोगको गोग र त्यसको दलको हार हुनेछ र तिनीहरू नष्ट हुनेछन्। (२) अहिले शासन गरिरहेका राजा येशू ख्रीष्टले परमेश्वरका जनहरूको रक्षा गर्नुहुनेछ अनि तिनीहरूलाई शान्ति र सुरक्षा छाएको नयाँ संसारतर्फ डोऱ्याउनुहुनेछ।—प्रका. ७:१४-१७.