पाठकहरूका प्रश्नहरू
◼ स्वर्गदूतहरू प्राकृतिक शरीरहरू नभएका आत्मिक व्यक्तिहरू हुन्, अतः तपाईं तिनीहरूलाई नक्साहरूमा पखेटा भएका जस्तागरी किन चित्रण गर्नु हुन्छ? के यो एउटा धार्मिक परम्परा हो कि?
बाइबलमा पाइएका लाक्षणिक वर्णनहरूको कारण, स्वर्गदूतरूलाई पखेटा भएका जस्तागरी हामीले अकसर चित्रण गर्ने गरेका छौं।
तपाईं ठीकै भन्नु हुन्छ—आत्मिक व्यक्तिहरूको साँच्चैका पखेटा भएका प्राकृतिक शरीरहरू हुँदैनन्—नता तिनीहरूका अनुहारहरू, हातहरू, खुट्टाहरू वा शरीरका अरू अङ्गहरू नै हुन्छन्। तापनि, समय-समयमा, स्वर्गदूतहरू परमेश्वरका सेवकहरूको सामुन्ने देखापर्दा, तिनीहरू साधारण मानिसहरू जस्तै देखिए होलान् किनभने तिनीहरू गल्तीले मानिस नै ठानिएका थिए।—उत्पत्ति १८:२, २२; १९:१; न्याय ६:११-२२.
तथापि, कहिले-काहीं मानिसहरूले स्वर्गदूतहरूलाई दर्शनमा देखेका छन् र तिनीहरूको वर्णन गरेका छन्। अगमवक्ता इजकिएलले “चार जना जीवित प्राणीहरू” देखे र यिनीहरू करूब वर्गका दूतहरू हुन् भनी तिनले पछिल्लो पटकको दर्शनमा वर्णन गरेका छन्। (इजकिएल १:५; ९:३; १०:३) यस प्रकारका प्रत्येक दूतको चार-चार वटा पखेटाहरू थिए जसबाट परमेश्वरका आज्ञाहरू बमोजिम, जुन सुकै दिशामा भएता पनि, वेग सित जान सक्ने तिनीहरूको योग्यता प्रदर्शित हुन्थ्यो। “तिनीहरू हिंड्दा हरेक सीधा सोझै हिंड्थे। . . . तिनीहरू यता उता नफर्की हिंड्थे।”—इजकिएल १:६, ९, १२.
तर दर्शनहरूमा देखा पर्ने दूतहरू सधैं एकै प्रकारका देखिन्दैन थिए। यशैयाले देखेका सराफ वर्गका स्वर्गदूतहरूको छ वटा पखेटाहरू थिए। (यशैया ६:१, २) इजकिएलले देखेका दर्शनहरू समेतमा नै भिन्नताहरू पाइन्छन्। प्रथम दर्शनमा, स्वर्गदूतहरूका खुट्टाहरू र चारवटा पखेटाहरूका प्रत्येक पखेटा मनि हातहरू र चारवटा मोहोड़ाहरू थिए (मानिसको जस्तो, सिंहको जस्तो, गोरूको जस्तो र चीलको जस्तो)। तिनको अर्को दर्शनमा, एउटा मोहोड़ा गोरूको जस्तो न भएर करूबको जस्तो थियो। शायद, यसबाट करूबहरूको महा-शक्तिलाई बोध गराउन खोजिएको हुन सक्तछ। एउटा लाक्षणिक मन्दिरको सजावटबारे अझ पछिको दर्शनमा, इजकिएलले दुईवटा मोहोड़ा भएको करूबहरू देखे जसको एउटा मोहोड़ा मानिसको र अर्को मोहोड़ा सिंहको थियो। (इजकिएल १:५-११; १०:७-१७; ४१:१८, १९) पालको अति पवित्र स्थानमा, साथै यरूशलेममा सुलेमानले निर्माण गरेका मन्दिरमा, दुईवटा पखेटा भएका करूबहरू थिए। यी करूबहरू वाचाको सन्दुकको सुनले बनेको ढकनामाथि थिए। सुनका यी दुईवटा करूबहरू आमने-सामने राखिएका थिए र दुवैका दुई पखेटाहरू सन्दुकमाथि फैलिएका थिए। (प्रस्थान २५:१०-२२; ३७:६-९) सुलेमानको मन्दिरमा, सन्दुक र त्यसको ढकनामाथि दुईवटा अझ ठूला, सुनले ढाकिएका करूबहरू उभिएका थिए र प्रत्येकको मास्तिर फैलिएका दुईवटा पखेटाहरू थिए।—१ राजा ८:६-८; १ इतिहास २८:१८; २ इतिहास ५:७, ८.
जोसेफसले लेखे: “ती करूबहरू वास्तवमा कस्ता थिए, कसैले केही भन्न अथवा कल्पना गर्न सक्तैनन्।” यसकारण, केही विद्वानहरू र चित्रकारहरूले प्रस्तुत गरेका स्वर्गदूतहरूको नक्सा (विशेषगरी करूबहरूको), पूर्वतिर पाइने पखेटा भएका जनावरका रूप लिएका देवताहरूको नक्साहरूमा आधारित हुन्छन्। तर यो भन्दा अझ भर पर्दो मद्दत हामी इजकिएलको यो टिप्पणीमा पाउँदछौं जहाँ तिनले देखेका स्वर्गदूतहरूको रूप “मानिसको जस्तै” थियो। (इजकिएल १:५) यसकारण, हाम्रा प्रकाशनहरूमा स्वर्गका दूतहरूको नक्सा प्रस्तुत गर्नु पर्दा, हामीले पनि तिनीहरूलाई अकसरगरी मानिसकै रूपमा प्रस्तुत गर्दछौं। हामी तिनीहरूलाई पखेटा भएको देखाउँदछौं किनभने विभिन्न स्वर्गदूतहरूका पखेटाहरू भएको वर्णन बाइबलमा धेरै पटक पाइन्छ र स्वर्गदूतहरू “उड़िरहेको” कुरा पनि बाइबलमा गरिएको छ।—प्रकाश १४:६; भजनसंग्रह १८:१०.
अन्तमा, रेवेलेशन—इट्स ग्रेन्ड क्लाइमेक्स एट हेन्ड! भन्ने पुस्तकको पाना २८८ मा, पखेटा भएको एउटा स्वर्गीय व्यक्ति प्रदर्शित गरिएको छ, जसको शिरमा मुकुट र हातमा साँचो छ। प्रकाश २०:१ मा गरिएको वर्णनको यो एउटा स्पष्ट चित्र हो: “अनि अगाध खाँदको साँचो र एउटा ठूलो साङ्गलो हातमा लिएको एउटा दूत स्वर्गबाट ओर्लेर आएको मैले देखें।” साँचो भएका यी स्वर्गदूत महिमावान येशू ख्रीष्ट हुनुहुन्छ भनी हामी बुझ्दछौं। यस नक्सामा उहाँलाई पनि पखेटाहरू सहित प्रस्तुत गरिएको छ किनभने दर्शनमा देखिने स्वर्गदूतहरूका अकसर पखेटाहरू हुन्थ्ये। (w3/1/91)